बागलुङ: बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ । झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताउनुभयो । उहाँले गाउँपालिकाले अझै बढी पर्यटक भित्र्याउनका लागि झरना वरपर थप पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक दुई बढी पर्यटक आउने गरेको बताउनुहुन्छ । “पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्, यसले स्थानीयलाई उत्साहित बनाएको छ ।” वार्षिक करिब २२ हजार बढी पर्यटक भित्रिने गरेको भन्दै यस वर्ष लामो वर्षा हुँदा कम कम आएको उहाँले बताउनुभयो । “यस्तो ठाउँमा पर्यटक आउलान भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थालेकी, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै बढीलाई भित्र्याउन सकिन्थ्यो होला”, घर्तीले भन्नुभयो । गुल्मीको भुवाचिदीबाट घुम्न आउनु भएका आकाश पौडेलले सामाजिक सञ्जालमा गाईघाट झरनाको फोटो देखेको र निकै सुन्दर लागेर घुम्न आएको बताउनुभयो । “यसभन्दा अगाडि मेरा साथीहरु घुम्न आएका थिए, उनीहरुले राम्रो राम्रो फोटो खिचेर लगेका थिए, मैले पनि सामाजिक सञ्जालमा धेरै फोटो देखेको थिएँ, त्यही भएर घुम्न आएको निकै सुन्दर रैछ झरना, निकै आनन्द आयो घुम्न”, उहाँले भन्नुभयो । ताराखोला गाउँपालिका–१ का अध्यक्ष यमबहादुर श्रीसले आगन्तुकलाई आकर्षित गर्नका लागि झरनाको फेदमा पौडिने पोखरी, त्यस वरपर बगैँचा र विश्रामस्थल निर्माण गरेको बताउनुभयो । “झरना आकर्षक छ, जनप्रतिनिधिका रुपमा आएदेखि यसको विकास र प्रवद्र्धनमा लागेका थियौँ, अहिले पनि लागि रहेका छौँ”, अध्यक्ष श्रीसले भन्नुभयो, “झरना वरपर बगैँचा निर्माण गरेका छौँ, फेदमा पौडी खेल्न मिल्ने पोखरी बनाएका छौँ, अन्य संरचना पनि विस्तारै बनाउने तयारीमा छौँ ।” गत साउनमा ताराखोलामा आएको ठूलो बाढीले सडकदेखि झरना पुग्ने पुल बगाउँदा अहिले आगन्तुकलाई समस्या भएको छ । पुल निर्माणका लागि गाउँपालिकाले यस वर्ष रु २० लाख विनियोजन गरेको र प्रदेश सरकारसँग थप बजेट माग गरेर यसै वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने अध्यक्ष श्रीस बताउनुहुन्छ । “बर्खामा पनि पर्यटकको आगमन उल्लेख्य थियो, साउनमा खोलाले पुल बगाइदियो, त्यसपछि झरना अवलोकन गर्न आउने आगन्तुकलाई समस्या भयो, अहिले फड्के हालेर वारपार गर्ने व्यवस्था त मिलाएका छौँ तर त्यो जोखिमपूर्ण छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “यहाँ पुल निर्माणका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको छ, प्रदेश सरकारसँग पनि केही बजेट माग गरेर यसै वर्ष पुल निर्माण गर्ने योजना छ, जति सक्दो पर्यटकलाई भित्र्याउने प्रयासमा हामी छौँ ।”
मनाङ: हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने गरेका कारण बाल विकास कक्षाबाहेकका विद्यार्थी न्यून भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ मध्ये १४ विद्यालयमा बाल विकास कक्षा मात्रै सञ्चालनमा छन् । नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई विद्यालयमा बाल विकास कक्षामा मात्रै विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिनुभयो । “भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास कक्षाको पढाए सकिना साथ विद्यालय रित्तिने गरेका छन्”, उहाँले भन्नुभयो । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको छ । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उहाँको भनाइ छ । शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने न्यून रहेको चपाईले बताउनुभयो । विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उहाँले बताउनुभयो । जिल्लाका चार पालिकाका विभिन्न विद्यालय विद्यार्थीविहीन भएका छन् । “विद्यालय भवन र शिक्षक छन् । विद्यार्थी छैनन् । यस्तो अवस्थामा विद्यालय बन्द गर्नुबाहेक कुनै विकल्प छैन”, चपाईले भन्नुभयो, “केही विद्यालयमा इसिडीका विद्यार्थी छन् ।” बाढीपहिराको जोखिम, विद्यालय टाढा हुँदा अभिभावकले बालबालिकालाई जिल्ला बाहिर आफन्तकोमा वा छात्रावासमा राखी पठनपाठन गराइरहेको अनुसन्धानका क्रममा पाइएको उहाँले बताउनुभयो । जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर पढाउने अभिभावकको भनाइ छ । बाल विकासदेखि कक्षा १२ सम्म कूल पाँच सय ४५ विद्यार्थी तथा एक सय ६१ शिक्षक रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।
हेमजा: पोखरा २५ हेमजामा रहेको चौरासी नहरको नक्सांकन कार्य भोलि विहिवारदेखि शुरु हुदैछ । जसका लागि प्राविधिकको टोलीले बुधवार स्थलगत अवलोकन गरेको छ । पोखरा २५ का वडाध्यक्ष मोतिराज तिम्सिनाको नेतृत्व र वडा सदस्य सुभास भण्डारीको संयोजकत्वसहितको प्राविधिक टोलीले हेमजाको प्रगतिचोक (चाक्लेकुला)बाट सुईखेत कालिकाचोक (नहरको मुहान)सम्म स्थलगत अवलोकन गरेको हो । पुरानो र जीर्ण अवस्थामा रहेको यो नहर वर्षातको समयमा भत्किएर मानव बस्ती डुवान हुने साथै खेतियोग्य जमिनमा क्षति पुर्याउने भएकोले यसको दीर्घकालिन समाधानको लागि मर्मत सम्भार गर्नुपर्ने भएकोले शुरुवातमा नक्सांकन गरि डिपिआर तयार पारेर काम अगाडि बढाईने वडाध्यक्ष मोतिराज तिम्सिनाले बताए । साथै नहर आसपासको सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाउन पनि नक्सांकन कार्य महत्वपूर्ण रहेको उनको भनाई छ । यसैगरि चरणबद्व रुपमा डुवान क्षेत्रहरु सुन्दरीपुरी, म्याग्दीचोक लगायतका क्षेत्रमा नक्सांकन गरी तीन/चार ठाउँबाट नाला निर्माण गरेर खोलामा पानी लैजाने योजना रहेको वडाध्यक्ष तिम्सिनाले बताए । स्थलगत अवलोकनपछि पोखरा महानगरपालिकाका अमिन दिवाकर सुवेदीले ७ देखि १० दिन भित्रमा नहरको नक्सांकन सकिने जानकारी दिए । हेमजाको अधिकांश कृषि क्षेत्र तथा विशेष गरी विरुवा फाँट सिञ्चित हुने चौरासी नहर झण्डै चार किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो नहर पोखरा महानगरपालिका वडा नम्वर २५ मा पर्ने पुरानो नहर हो । नहर निर्माण समितिका सचिव कमलमणि त्रिपाठीले समयमै नहर क्षेत्रको सार्वजनिक जग्गा खोजी नभए अतिक्रमण हुने सम्भावना रहेको बताए । यति नै वर्ष पुरानो नहर भनेर आधिकारिक जानकारी नभएपनि करिव दुई÷ तिन सय वर्ष पुरानो चौरासी नहर सो समयमा ६ वटा गाउँका स्थानियहरुको जनश्रमदानबाट बनेको स्थलगत अवलोकनमा सहभागि ७२ वर्षीय मधुसुदन त्रिपाठी बताउँछन् । नहर खन्नको लागि आधुनिक औंजार नभएको उक्त समयमा कोदालो, गैंचि, गल, कोर्काे, घन लगायतका स्थानिय औजारले नहर निर्माण गरेको हो भन्ने आफ्ना हजुरबुवाहरुले सुनाउने गरेको उनले स्मरण गरे । बुधवार भएको स्थलगत अवलोकनमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका अधिकृत मानबहादुर थापा, जलस्रोल तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका इन्जिनियर सिमा के.सी, पोखरा महानगरपालिकाका अमिन गणेश गिरी, प्रकाश सिग्देल र दिवाकर सुवेदी, पोखरा २५ का प्राविधिक प्रतीक्षा अर्याल, अमिन जीवन कठायत, वडासचिव इश्वरीप्रसाद बास्तोलालगायत जनप्रतिनिधिहरु, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,नागरिक समाज, नहर निर्माण समितिका पदाधिकारी साथै स्थानियको सहभागिता रहेको थियो । वडाले चाक्लेकुला प्रगतीचोकदेखि चौरासी नहरको मुहान सुईखेतसम्म नक्सांकन गर्नको लागि उक्त क्षेत्रसँग जोडिएका जग्गाधनी तथा सरोकारवाला सबैको जानकारीको लागि सूचना निकालेर नक्सांकनको कार्य अगाडि बढाएको हो ।
कास्की । राष्ट्रिय युवा संघ नेपाल मादी गाउँपालिकाको २ नं. वडा कमिटीद्वारा असोज १ गतेदेखि आयोजना गरेको खुला बास्केटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । ’न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराको साथ पोखरा बाझापाटन स्थित सत्य युवा क्लबको खेलमैदानम आयोजना भएको थियो । प्रतियोगितामा पुरुषतर्फ कास्की बास्केटबल एसोसिएसन विजयी भएको छ । मंगलबार कास्की बास्केटबल एसोसिएसन र ताङतिङ ए बीच भएको भएको फाइनल खेलमा कास्की बास्केटबल एसोसिएसन विजयी भएको हो । विजयी टिमले उपाधिसंगै उसले ८० हजार नगद ट्रफि र मेडल प्राप्त गरेको छ । दोस्रो भएको ताङतिङ ए ले ५० हजार ट्रफि र मेडल प्राप्त गरेको कार्यक्रम राष्ट्रीय युवा संघ मादि –२ कमिटी कास्कीका अध्यक्ष तथा खेल संयोजक क्षेत्रबहादुर गुरुङले जानकारी दिए । महिलातर्फ भएको खेलमा भने मर्दिखोला ए पहिलो हुँदै उसले नगद १५ हजार ट्रफि र मेडल प्राप्त ग¥यो । दोस्रो भएको मर्दिखोला बि ले १० हजार ट्रफि र मेडल प्राप्त गरेको गुरुङले जनाए । त्यस्तै पुरुष तर्फ निकेश मगर र महिला तर्फ छिरिङ छोके शेर्पा सर्वोउत्कृष्ट खेलाडी बन्दै क्रमश ३ हजार र २५ सय नगद र ट्रफि प्राप्त गरे। प्रतियोगितामा पुरुष तर्फ २३ टिम र महिला तर्फ ४ टिम सहभागी भएका थिए । कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुद्वारा केहि साँस्कृतिक प्रस्तुतिहरु पनि पस्केका थिए। त्यस्तै आयोजकलाई आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। शनिबार भएको उद्घाटन एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य वेद बहादुर श्यामले गरेका थिए । गुरुङले उद्घाटन सत्रमा बोल्दै यस्ता खेलकुद प्रतियोगिताहरु आयोजना गर्नले खेलकुदको विकासमा सहायता मिल्ने कुरा बताएका थिए । समापन कार्यक्रममा भने युवा नेता दर्शन लामाले खेलको महत्वको बारेमा बोलेका थिए ।
पोखरा : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको छ भन्नुभएको छ । उहाँले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा संविधानले आबद्ध गरेको उल्लेख गर्नुभयो । संविधानअन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको र जनता राज्यशक्तिको स्रोत भएको सन्देशमा भनिएको छ । “संविधान राज्यको मूल कानुन भएकाले यसको मर्म र भावनाबमोजिम राज्य व्यवस्था सञ्चालन गर्न, संविधानमा लिपिबद्ध जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आमनागरिकको पहुँचमा पुग्ने गरी वितरण गर्नेतर्फ हाम्रो ध्यान जान जरुरी रहन्छ”, प्रदेश प्रमुख गुरुङको सन्देशमा उल्लेख छ । केही समय अघि मात्रै स्थानीय तहको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्णरुपमा सम्पन्न भइसकेको भन्दै उहाँले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको तथा उक्त निर्वाचनपछि मुलुक राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय संरचनाअनुसार हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा समेत उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई उहाँले अनुरोध गर्नुभएको छ । संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न सबैमा प्रदेश प्रमुख गुरुङले अपिल गर्नुभएको छ ।
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बीच प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउनुभएको छ । संविधान दिवस २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले सीमित साधनस्रोत, अधिकार हस्तान्तरण हुन नसक्नाका साथै जनशक्ति व्यवस्थापनमा ढिलाइ भएकै कारण अपेक्षित काम गर्न नसकिएको अनुभूति भए पनि क्षमताअनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको बताउनुभयो । “संविधानतः उल्लेखित कतिपय अधिकार प्रदेशमा हस्तान्तरण गर्न ढिलाइ भइरहेको छ । प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान हो”, सन्देशमा भनिएको छ, “वित्तीय स्र्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइ भएकै कारण प्रदेश तहले चाहेजस्तो गरी काम हुन नसकेको अनुभूति भएको छ ।” सहकार्य, समन्वय र सहअस्तित्वलाई संविधानले आत्मसात् गरेको उल्लेख गर्दै उहाँले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी गरी दिगो विकासका लक्ष्य प्राप्तिका लागि तीन तहका बीच समन्वय जरुरी रहेको बताउनुभयो । लगातार सात दशकको सङ्घर्षबाट नेपाली नागरिकले आफ्नो संविधान लेखनमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाएको उहाँको भनाइ छ । संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज भएको उल्लेख गर्दै मुख्यमन्त्रीले यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै उनीहरूका आवश्यकताको सम्बोधनका लागि हामी प्रयासरत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालको संविधानले मौलिक हकमार्फत प्रत्याभूत अधिकारको कार्यान्वयन गर्दै आधारभूत आवश्यकतामा सबै नागरिकको पहुँच पु¥याउन संविधान दिवसले प्रेरणा दिने मुख्यमन्त्रीले मन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।
म्याग्दी : चार दिनदेखिको निरन्तरको वर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङ जिल्लाको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद भएको छ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी र बाग्लुङ–बेनी सडक अवरुद्ध भएपछि जनजिवन प्रभावित भएको छ । पर्वतको जलजला गाउँपालिका-९ ज्यामिरेमा खसेको पहिरोले आज बिहानदेखि मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका-२ हाँडेभिरमा शनिबार राति खसेको पहिरोका कारण बागलुङ–बेनी सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विस्तारका क्रममा रहेको मालढुङ्गा बेनी सडकका ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले डोजर परिचालन गरेर पहिरो पन्छाउन थालिएको जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले हाँडेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनगर्न बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयसँग समन्वय गरिएको बताउनुभयो । उहाँका अनुसार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरो पन्छाएपछि बेनी–जोमसोम सडक भने आज बिहानदेखि सञ्चालन आएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङका सर्वसाधारणलाई बागलुङ, पर्वत, प्रदेश राजधानी पोखरामा आवतजावत गर्न समस्या भएको छ । सडक अवरुद्ध हुँदा उपचारका लागि बिरामीलाई अस्पताल पु¥याउनसमेत कठिन भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलुलगायत कृषिउपजको निकासीसमेत प्रभावित भएको छ ।
पोखरा : लौरो अभियानले गण्डकी प्रदेशबाट १० जनाले उम्मेदवारी घोषणा गरेको छन् । प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन् । गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङबाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, प्रदेश सभा सदस्य पदका लागि कास्की १ (क) बाट सुचेन्द्र परियार, ३ (क)बाट खेम तिमिल्सिना, स्याङ्जा १ (ख)बाट नरेन्द्र बहादुर थापा क्षेत्री, स्याङ्जा १ (क) बाट मकुल मियाँ, कास्की १ (ख) बाट महेश श्रेष्ठ, नवलपुर १ (क) बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमी, रोहन कार्की, प्रवक्ता हरि कार्कीलगायत अभियानका अभियन्ताहरुको उपस्थिति रहेको थियो । अभियानका प्रवक्ता हरि कार्कीले देशको परिवर्तनका लागि वैकल्पिक शक्ति एकजुट भएर लौरो अभियान बनेको बताए । ‘परिवर्तनप्रेमी वैकल्पिक तथा स्वतन्त्र शक्तिहरु एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘पूराना राजनीतिक पार्टीहरुलाई हेरि सक्नु भएको छ । अब हामीलाई हेर्नुस् ।’ अभियानका संयोजक सुमन सायमीले अभियानले देशका पूराना शक्तिलाई विस्थापित गर्ने बताए । ‘वैकल्पिक शक्तिलाई साझा चुनाव चिन्ह र साझा घोषणापत्र दिएर गोलबद्ध गराएर हिडेका छौं हामी । देश भरको माहोल हेर्दा हामी पूराना शक्तिलाई विस्थापित गर्न सक्छौं नै, अब अभियान्ता साथीहरुले चाहेको खण्डमा हामी संगठनको रुप दिन पनि सक्छौं,’ उनले भने ।
नवलपुर : थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् । उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया मनाउँछन् । थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताउनुभयो । उहाँले अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उहाँको भनाइ छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्याउने चलन पनि छ । सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहर) ‘उपास’ व्रत बस्ने मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो । बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उहाँको भनाइ छ । भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर बर्तालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्ने उपप्रमुख चौधरीको भनाइ छ । विगतका वर्षमा गाउँको कुनै एक भद्र पुरुषले जीतवाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउने गर्ने प्रचलन रहेको भए पनि विस्तारै त्यो परम्परा हराउँदै गएको जनाइएको छ । कथा सकिएपछि सबै जना घर गएर फराहर (फलफूल तथा मिठो चोखो खाने) गर्थे । जितियाको तेस्रो तथा अन्तिम दिन नवमीमा सबेरै सबै बर्तालु महिला खोलामा नुहाएर निराकार प्रतिमूर्ति ( ‘गरग्वाङ’ ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि बर्तालुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन् । तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका नगरउपप्रमुख चौधरीले बताउनुभयो । पछिल्लो समय जितिया पर्वको रौनकता हराउँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । “पुरानो पुस्ताले मनाउने गरेको जसरी अहिले जितिया मनाउने प्रचलन हराउँदै गएको छ”, उपप्रमुख चौधरीले भन्नुभयो, “यो पर्वको संरक्षणमा सम्पूर्ण थारू समुदायसहित सरकारले पनि चासो दिनुपर्छ ।” पछिल्ला दिनहरूमा जितिया पर्वमा विकृति भित्रिँदै पार्टीप्यालेसमा मनाउने प्रचलनसमेत बढ्दै गएको उहाँले बताउनुभयो । सार्वजनिक बिदा जितियाका अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का चारवटा पालिकामा आज सार्वजनिक बिदा दिएको छ । मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइएको हो । । ती पालिकाले छुट्टछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन् । नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ । थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् ।