पोखरा:    प्रदेशसभाअन्तर्गत रहेका विषयगत समितिले दिएका निर्देशन प्रदेश सरकारले पालना गर्नुपर्नेमा जोड दिइएको छ ।  संसदीय पत्रकार मञ्च, गण्डकीले गण्डकी प्रदेशसभा सचिवालय र संसद् सहयोग परियोजन...

म्याग्दी   :  चार दिनदेखिको निरन्तरको वर्षातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङ जिल्लाको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद भएको छ ।    म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी र बाग्लुङ–बेनी सडक अवरुद्ध भएपछि जनजिवन प्रभावित भएको छ । पर्वतको जलजला गाउँपालिका-९ ज्यामिरेमा खसेको पहिरोले आज बिहानदेखि मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।    बेनी नगरपालिका-२ हाँडेभिरमा शनिबार राति खसेको पहिरोका कारण बागलुङ–बेनी सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विस्तारका क्रममा रहेको मालढुङ्गा बेनी सडकका ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले डोजर परिचालन गरेर पहिरो पन्छाउन थालिएको जानकारी दिनुभयो ।    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले हाँडेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनगर्न बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयसँग समन्वय गरिएको बताउनुभयो । उहाँका अनुसार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरो पन्छाएपछि बेनी–जोमसोम सडक भने आज बिहानदेखि सञ्चालन आएको छ ।    सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङका सर्वसाधारणलाई बागलुङ, पर्वत, प्रदेश राजधानी पोखरामा आवतजावत गर्न समस्या भएको छ । सडक अवरुद्ध हुँदा उपचारका लागि बिरामीलाई अस्पताल पु¥याउनसमेत कठिन भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलुलगायत कृषिउपजको निकासीसमेत प्रभावित भएको छ । 

पोखरा  :  लौरो अभियानले गण्डकी प्रदेशबाट १० जनाले उम्मेदवारी घोषणा गरेको छन् । प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।  उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन् ।    गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङबाट राप्के गुरुङ, स्याङ्जा १ बाट अधिवक्ता सोम बहादुर नेपाली, नवलपुर १ बाट तुल्सी भुसाल, तनहुँ २ बाट विष्णु पराजुलीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।    यस्तै, प्रदेश सभा सदस्य पदका लागि कास्की १ (क) बाट सुचेन्द्र परियार, ३ (क)बाट खेम तिमिल्सिना, स्याङ्जा १ (ख)बाट नरेन्द्र बहादुर थापा क्षेत्री, स्याङ्जा १ (क) बाट मकुल मियाँ, कास्की १ (ख) बाट  महेश श्रेष्ठ, नवलपुर १ (क) बाट बद्री काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् ।    उम्मेदवारी घोषणा कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमी, रोहन कार्की, प्रवक्ता हरि कार्कीलगायत अभियानका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।    अभियानका प्रवक्ता हरि कार्कीले देशको परिवर्तनका लागि वैकल्पिक शक्ति एकजुट भएर लौरो अभियान बनेको बताए । ‘परिवर्तनप्रेमी वैकल्पिक तथा स्वतन्त्र शक्तिहरु एक ठाउँमा उभिएका छौं,’ उनले भने, ‘पूराना राजनीतिक पार्टीहरुलाई हेरि सक्नु भएको छ । अब हामीलाई हेर्नुस् ।’   अभियानका संयोजक सुमन सायमीले अभियानले देशका पूराना शक्तिलाई विस्थापित गर्ने बताए । ‘वैकल्पिक शक्तिलाई साझा चुनाव चिन्ह र साझा घोषणापत्र दिएर गोलबद्ध गराएर हिडेका छौं हामी । देश भरको माहोल हेर्दा हामी पूराना शक्तिलाई विस्थापित गर्न सक्छौं नै, अब अभियान्ता साथीहरुले चाहेको खण्डमा हामी संगठनको रुप दिन पनि सक्छौं,’ उनले भने ।   

नवलपुर  :   थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।   यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त) भनिन्छ । सप्तमीको दिन शनिबार महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरू झाम्टा र गीत गाउँदै यो पर्व मनाएका छन् ।    उनीहरुले भाद्र कृष्ण अष्टमी (आज)को दिनमा जितिया  मनाउँछन् । थारू अगुवा शिखाराम थनेतले जितियामा सामूहिक नाचगान र पूजाआजा हुने बताउनुभयो । उहाँले अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।    हिन्दू नेपाली महिलाले मनाउने तीज पर्वजस्तै थारू समुदायको जितिया पर्व रहेको उहाँको भनाइ छ । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन रहेको छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्‍याउने चलन पनि छ ।   सप्तमीको दिनमा दर खाएपछि अष्टमीको दिनमा महिला बिहानै उठेर नुहाइधुवाइ गरी सफा र चोखो कपडा लगाइ दिनभर पानी पनि नखाइ (निराहर) ‘उपास’ व्रत बस्ने मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले बताउनुभयो । बर्तालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै बर्तालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रहँदै आएको उहाँको भनाइ छ ।    भाद्र अष्टमी अर्थात् जितियाको मुख्य दिनमा रुखको चारैतिर बर्तालु महिला फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्ने उपप्रमुख चौधरीको भनाइ छ । विगतका वर्षमा गाउँको कुनै एक भद्र पुरुषले जीतवाहनको कथा (जितिया व्रत कथा) घण्टौँ लगाएर सुनाउने गर्ने प्रचलन रहेको भए पनि विस्तारै त्यो परम्परा हराउँदै गएको जनाइएको छ । कथा सकिएपछि सबै जना घर गएर फराहर (फलफूल तथा मिठो चोखो खाने) गर्थे ।    जितियाको तेस्रो तथा अन्तिम दिन नवमीमा सबेरै सबै बर्तालु महिला खोलामा नुहाएर निराकार प्रतिमूर्ति ( ‘गरग्वाङ’ ) बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि बर्तालुले दही चिउरा, केरालगायतका खानेकुरा खान बस्छन् । तर खानुभन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ ।    यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ । हिन्दू धर्मावलम्बी नेपाली महिलाले मनाउने तीजजस्तै थारू समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका नगरउपप्रमुख चौधरीले बताउनुभयो । पछिल्लो समय जितिया पर्वको रौनकता हराउँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।    “पुरानो पुस्ताले मनाउने गरेको जसरी अहिले जितिया मनाउने प्रचलन हराउँदै गएको छ”, उपप्रमुख चौधरीले भन्नुभयो, “यो पर्वको संरक्षणमा सम्पूर्ण थारू समुदायसहित सरकारले पनि चासो दिनुपर्छ ।” पछिल्ला दिनहरूमा जितिया पर्वमा विकृति भित्रिँदै पार्टीप्यालेसमा मनाउने प्रचलनसमेत बढ्दै गएको उहाँले बताउनुभयो ।   सार्वजनिक बिदा    जितियाका अवसरमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का चारवटा पालिकामा आज सार्वजनिक बिदा दिएको छ ।    मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइएको हो । । ती पालिकाले छुट्टछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन् । नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ ।    थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खासगरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् ।   

तनहुँ:  नयाँ घर बनेपछि खुसीले मख्ख हुनुहुन्छ, तनहुँ भानु नगरपालिका–४ का गोरे नेपाली । छाप्रोमा बस्दाको समयमा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डरबाट अब नेपाली मुक्त हुनुभएको छ।   ‘जनता आवास कार्यक्रम’ अन्तर्गत गण्डकी प्रदेश सरकारले दुई कोठे पक्की घर बनाइदिएपछि उहाँको डर र चिन्ता हटेको हो । विगत लामो समयदेखि कच्ची र जोखिम घरमा बस्न बाध्य भएका यहाँका विपन्न समुदायका व्यक्तिको ढिलै भए पनि अनुहारमा खुसी छाएको छ ।   इँटाको गारो रङ्गीन जस्तापाताले छाएको सुरक्षित घरमा यसपालिको दसैँ मनाउन पाउँदा खुसी लागेको नेपाली बताउनुहुन्छ ।   नयाँ घरमा बस्न पाइँँदैन कि भन्ने सपना पूरा भएको उहाँको भनाइ छ । जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ४६ सुरक्षित घर बनाएपछि गरिब तथा विपन्न घरपरिवारमा खुसी छाएको छ । वर्षौंदेखि छाप्रोमा बस्दै आएका घर परिवार नयाँ घर पाउँदा विपन्न समुदायका मानिस निकै खुसी छन् ।   जिल्लाका १० वटै पालिकामा विपन्न समुदायका लागि घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर तथा जनता आवास कार्यक्रमका संयोजक हिमाल आचार्य बताउनुहुन्छ । घर निर्माणपछि दुई सय ११ नयाँ घरमा सरिसकेका छन् भने ७१ जना दसैँसम्ममा सर्ने तयारीमा रहेको उक्त कार्यालयलले जनाएको छ ।   आव २०७५/७६ मा जनता आवास कार्यक्रम हस्तान्तरण गरिएपछि उक्त कार्यालयमार्फत घर निर्माण कार्य सुरु गरिएको हो । जिल्लाको देवघाट गाउपालिका–५ की सन्तमाया बोटे पनि नयाँ घरमा दसैँ मनाउन पाउने भएपछि खुसी लागेको बताउनहुन्छ । घर पाउँदा वर्षायाममा ढुक्कले बस्न पाएपछि छाप्रोमा बस्दा खेप्नुपरेको पीडा अन्त्य भएको उहाँको भनाइ छ।   निर्माण गरिएका घरमध्ये दुई सय ११ ले पूरै किस्ता लगेका र ७५ ले अन्तिम किस्ता लैजान बाँकी रहेको कार्यालयका सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्र जानकारी दिनुहुन्छ । रु नौ करोड पाँच लाख ९५ हजार बजेट विनियोजन भएकामा आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले रु तीन लाख ३२ हजार पाँच सय उपलब्ध गराएको थियो ।   सम्बन्धित लाभग्राहीले १० प्रतिशत लागत सहभागिता जनाउनुपर्ने प्रावधान थियो । पालिकामार्फत भवन निर्माण गर्दा लाभग्राहीलाई सम्झौता गर्न, रकम भुक्तानी लिन तथा अनुगमन गर्न सजिलो भएको कार्यालय प्रमुख सिनियर इञ्जिनियर दिनेशकुमार घिमिरे बताउनुहुन्छ ।   जग्गा जमिन भएका तर घर बनाउने रकम नभएका गरिब, दलित तथा लोपोन्मुख परिवारलाई उक्त कार्यक्रममा समावेश गरी निःशुल्क घर निर्माण गरिएको उहाँको भनाइ छ ।

गलकोट:   गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन ।   ढोरपाटनको मायाले उहाँलाई एक वर्ष नपुग्दै पुन: डोर्यायो । त्यसैले यसपटकको उहाँको यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’ सम्म नै पुग्यो ।   अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा ढोरपाटन क्षेत्रको भ्रमण सक्नुभएका गुरुङले यसपटक भने ढोरपाटनसँगै गुरिल्ला पदमार्गको ३५ दिने यात्रा एक्लै गर्नुभयो । साइकल र पदयात्रामार्फत पर्यटन प्रवद्र्धनमा लाग्दै आउनुभएका कास्कीको अन्नपूर्ण गाउँपालिका–४ निवासी २८ वर्षीय दिवस गुरुङले यस पटक गुरिल्ला पदमार्गको प्रवद्र्धनमा ३५ दिन बिताउनुभएको हो ।   साउन ७ गते बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङबाट सुरु गरेको यात्रा ३५ दिनमा समापन गरिएको थियो ।   उहाँले एकलरुपमै पैदलयात्रामा ३५ दिन बिताउनुभएको छ । म्याग्दी जिल्लाको दरबाङबाट सुरु भएको गुरिल्ला पदमार्ग गुरुङले भने ढोरपाटनबाट सुरु गरेर पूर्वी रुकुम हुँदै ३५ दिनमा रोल्पामा पुग्नुभएको थियो ।   “गत दसैँमा ढोरपाटन उपत्यकामा १४ दिन बिताएँ, एकल साइकल यात्रामा हिँड्न रुचाउने मलाई ढोरपाटन घुम्ने बाँकी रहर थियो, ढोरपाटन उपत्यकाबाहेक ढोरपाटन क्षेत्रमा धेरै घुम्ने स्थान रहेछ, ढोरपाटन उपत्यकासँँगै बुँकी क्षेत्रमै ११ दिन बित्यो”, गुरुङले यात्रा स्मरण गर्दै भन्नुभयो, “खासगरी १० वर्षे द्वन्द्वको समयमा प्रयोग गरिएको पदमार्गलाई नै गुरिल्ला पदमार्ग नामकरण गरिएको हो, यसको प्रवद्र्धन र विकास पछि पर्यटक ल्याउन आफू एकल यात्रामा निस्केको थिए, ढोरपाटनको बुँकीहुँदै पूर्वी रुकुम, ठाकुर, पेल्मा, माइकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङ पुगेर यात्रा सकेको थिए ।”   ढोरपाटन उपत्यकाबाट बुँकी एक दिनमै पुग्न सकिने भए पनि गुरुङले बुँकीमै केही दिन बिताउनुभएको थियो । माओवादी सशस्त्र द्वन्द्वका समयमा पनि रोल्पा हुँदै रुकुमबाट यही पदमार्ग प्रयोग गरेर तत्कालीन द्वन्द्वरत माओवादी आउजाउ गर्ने, युद्धका घाइतेलाई ओसार्ने तथा शव व्यवस्थापन गर्ने गरेका थिए ।   विसं २०७२ मा यही पदमार्गलाई पर्यटन बोर्ड र रोल्पा, रुकुमलगायतका जिल्लाका जिल्ला विकास समितिको पहलमा गुरिल्ला पदमार्ग नामकरण गरिएको थियो ।   गुरिल्ला पदमार्ग नामकरण गरेको आठ वर्ष पुग्नै लाग्दासमेत उक्त पदमार्ग चर्चामा आउन नसक्नु, ढोरपाटन शिकार आरक्षमा आएका पर्यटक उक्त पदमार्गप्रति आकर्षित नभएको पाइएकाले यसको विकास र प्रवद्र्धनका लागि ३५ दिने एकल पदयात्रा गरेको पदप्रदर्शकको समेत काम गर्दै आउनुभएका गुरुङले बताउनुभयो । “पथप्रदर्शकको काम गर्दा आफूले त्यस क्षेत्रको बाटो, कला, संस्कृति र भाषाको समेत जानकारी हुँनुपर्दछ भन्ने मान्यता हो”, उहाँले भन्नुभयो, “गुरिल्ला पदमार्गको प्रवद्र्धनका लागि सन्देश दिने मेरो एकल यात्रा हो, यो मार्गमा थुप्रै विदेशी तथा स्वदेशी पर्यटक आउने सम्भावना छ भने ढोरपाटन शिकार आरक्षमा आएका विदेशी शिकारीको बसाई लम्बाउनसमेत गुरिल्ला पदमार्ग सहयोगी बन्न सक्दछ ।”   म्याग्दीको दरबाङदेखि ढोरपाटनहुँदै पूर्वी रुकुमदेखि रोल्पा पुग्ने गुरिल्ला पदमार्ग पुग्न थोरैमा १४ दिनदेखि बढीमा २७ दिन निर्धारण गरिएको छ । गुरिल्ला पदमार्ग हिँडेर छोटो समयमा १४ दिन पुगेपनि घुम्दै फिर्दै पुग्न कम्तीमा १९ दिनदेखि २७ दिनसम्म लग्ने गरेको गुरुङको भनाई छ । गुरुङले आफूले गुरिल्ला पदमार्गको प्रवद्र्धनसँगै द्वन्द्वकालको प्रभावको अवस्था, मगर भाषा र संस्कृतिको अध्ययन गर्न समेत एकल पदयात्रा गरेको बताउनुभयो ।   दश वर्ष माओवादी द्वन्द्वका क्रममा तत्कालीन माओवादीले अत्यधिक प्रयोगमा ल्याएका भिर, पखेरा, गोरेटो, घोरेटो बाटोलाई नै एकीकृत गरेर पछि गुरिल्ला पदमार्ग नामकरण गरिएको हो । एकल पदयात्राका क्रममा स्थानीयसँग घुलमिल हुन सहज हुने र लामो यात्रामा साथ दिने साथीहरु पनि कम हुने भएकाले एकलयात्रा रोजेको गुरुङको बुझाइ छ ।   गुरिल्ला पदमार्गको प्रवद्र्धन र विकासका लागि यसको स्तरोन्नति गर्न आवश्यक रहेको, पदयात्राको विषयमा सूचना बोर्ड नभएको, कतिपय अवस्थामा गोरेटो मार्ग नकोरिएको र बस्ने खाने व्यवस्थापन नभएको पाइन्छ उहाँले सुनाउनुभयो । यो पदमार्ग धौलागिरि चक्रिय पदमार्ग र अन्नपूर्ण चक्रिय पदमार्गभन्दा कम नभएको पनि उहाँले बताउनुभयो ।   विसं २०७२ को भूकम्पको समयमा राहत र उद्धारका लागि गोरखा गएको सन्र्दभमा गुरुङले नेपाल सोचेभन्दा धेरै बृहत् रहेछ भन्ने ठानेपछि त्यसलगत्तै पर्यटन प्रवद्र्धनसहित एकल यात्रा गर्दै आउनुभएको छ ।   उहाँले इन्धन अभाव झेलेको नाकाबन्दीको समयदेखि साइकल यात्रासमेत गर्दै अउनुभएको छ ।   उहाँले सबैभन्दा बढी ४२ दिने एकल साइकल यात्रा २०७५ सालमा गर्नुभएको थियो । गुरुङले २९ जिल्लालाई समेटेर गेरेको साइकल यात्रापछि गुरिल्ला पदमार्ग लामो यात्रा भएको बताउनुभयो ।

पोखरा:  गण्डकी प्रदेशका ११ जिल्लामध्ये यसहप्ता कास्कीमा सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका महाशाखा प्रमुख डा. नारायण श्रेष्ठका अनुसार गण्डकीको ११ जिल्ला भन्दा कास्कीमा बढी डेङ्गुका बिरामी भेटिएको जानकारी दिए ।    जनवरीदेखि सेम्टेम्बर (पुसदेखि भदौ)सम्म कास्कीमा ३२ जना डेङ्गुका बिरामी भेटिएका छन् । तर हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अहिलेसम्म डेङ्गु संक्रमित नभेटिएको महाशाखा प्रमख डा. श्रेष्ठले बताए ।    उनका अनुसार बागलुङमा २६, गोरखामा २६, पर्वतमा २१, लमजुङमा २०, नवलपुरमा ८  म्याग्दीमा ७, स्याङ्जामा ७, जनामा डेङ्गुको संक्रमण भेटिएको हो ।   महाशाखाका अनुसार गण्डकी प्रदेशमा अघिल्लो हप्ता ५६ जना र यो हप्तामा २९ जनामा डेङ्गु भेटिएको हो ।    गत वर्ष म्याग्दीमा मात्र २ हजार १ सय ५२ जनामा डेङ्गु संक्रमण भेटिएपनि यो वर्ष सचेतनामूलक र सरसफाइ अभियान सञ्चालन हुँदा म्याग्दीमा अहिले संक्रमण दर निकै कम पाइएको महाशाखा प्रमुख डा. श्रेष्ठले बताए ।    वर्षातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।  एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ ।    उच्च ज्वरो आउनु ,आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाई र पखाला, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कालो दागजस्ता लक्षण देखिने गर्दछ ।    • डेँगुमा के हुन्छ?    -डेंगुलाई  Break Bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ ।    •​ परिचय   -डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।  • मुख्य)लक्षणहरु:- - अचानक उच्च ज्वरो आउनु,   - आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु, - सबै शरीर दुख्नु, - घांटी बस्नु, - साना बिमिरा आउनु,  शरीर चिलाउनु, - वाकवाकी लाग्नु र वान्ता आउनु, - छटपटी हुनु, - रिंगटा लाग्नु, - निद्रा नलाग्नु, - हड्डी तथा मांशपेशी निकै दुख्नु, -आँखा तथा घांटी रातो हुनु, - छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ, - ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५/७ दिनमा पोजिटिभ देखिन्छ, -१५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ ।    • ( विशेष) सतर्कता  -ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।  - आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्रावजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।  - बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।  - जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी र फलफुल र गेडागुडीको रस, दाल आदि।  

पोखरा :  गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद आउन ठिक एक महिना बाँकी छँदा प्रतियोगिता अन्तर्गतका ३६ खेलका खेलस्थल सार्वजनिक गरिएको छ ।   प्रदेशको राजधानी सहर पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने टुङ्गो लगाइएको हो । खेलस्थल र खेलतालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ ।   खेल स्थल सार्वजनिक गर्न निर्धारित समयभन्दा केही ढिलाइ भएकामा आज राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा एक कार्यक्रम आयोजना गरी सबै खेलका खेलस्थल र खेल तालिका सार्वजनिक गरेको हो ।   आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताका लागि कास्कीसहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको छ ।   नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन  पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रङ्गशालमा हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताउनुभयो । बास्केटबल पुरुष पोखरा रङ्गशाला र महिलाको खेल पृथ्वीनारायण क्याम्पस, आर्चरी, फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ ।    यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ ।    रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने निर्णय परिषद्ले गरेको छ ।   यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । यसैगरी पूर्वाधार अभावमा सुटिङ भने काठमाडौँमा खेलाइने भएको छ ।    यसैगरी परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्ष्यगरी नेशनल स्पोर्टस् काउन्सिल एप सञ्चालनमा ल्याएको छ । सो एपबाट खेलको तयारी, नतिजालगायतका सबै विवरण जानकारी दिइने परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । उहाँका अनुसार खेलस्थल र खेल तालिका बनिसकेकाले तयारीका काम अघि बढाइएको छ ।    परिषद्ले पहिलो पटक खेलाडीको अनलाइन दर्ता सुरु गरिएको जनाएको छ । प्रत्येक टोलीले खेलाडीको अनलाइन फाराम भर्नुपर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भए पनि परिषद्ले सोअघि नै खेल तालिका बनाएको छ । नवौँअन्तर्गतको पुरुष क्रिकेट हाल राजधानी काठमाडौँमा जारी छ । क्रिकेट महिला असोज २३ गतेदेखि पोखरामा सुरु हुनेछ ।   प्रतियोगिताको मूल ट्रफी भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट सार्वजनिक गरिने र सातै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा ट्रफी प्रदर्शनी र्‍याली आयोजना गरिने सदस्य सचिव घिसिङले बताउनुभयो ।    ट्रफी र्‍यालीका लागि ओलम्पियन दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यसीय कार्यदल गठन भइसकेको र प्रदेशगत प्रदर्शनी असोज १ गतेदेखि सुदूरपश्चिमबाट सुरु गरी क्रमशःअन्य प्रदेश तथा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा लगिने परिषद्ले जनाएको छ ।   खेलस्थल सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय गौरवसँग जोडिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतियोगिताका लागि आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै सरकारी तथा निजी क्षेत्र मिलेर सफल पारिने प्रतिबद्धता जनाउनुभयो । 

नवलपुर:  नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।    चार दिनको अन्तरालमा दुम्किबासबाट सर्दी जानेबाटोमा दुईपटक बाघले मानिसलाई आक्रमण गरेपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका हुन् । गत शुक्रबारमात्रै विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय सुवास विकलाई बाघले आक्रमण गरेको थियो ।   विनयी त्रिवेणी– १ होङ्सी जाने गेट नजिकै मोटरसाइकलमा सवार रहँदा बाघले उहाँमाथि आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विकको खुट्टामा चोट लागेको छ । कृष्ण विकले चलाएको मोटरसाइकलमा सवार सुवासलाई बाघले आक्रमण गरी तान्दै गर्दा सँगै रहेको ट्रक चालकले ट्रकले लखेटेपछि उहाँको ज्यान जोगिएको थियो । मङ्गलबार सोही क्षेत्रमा बाघले मानिसलाई आक्रमणको प्रयास गरेको छ ।   मोटरसाइकलमा सवार दुई जनालाई बाघले आक्रमणको प्रयास गरेको विनयी त्रिवेणी–३ सर्दीका स्थानीय यादव पौडेलले बताउनुभयो । दुम्किबासबाट सर्दी मोटरसाइकलमा जाँदै गर्दा सर्दी निवासी दुर्गाप्रसाद पौडेल र रवि जिसीलाई बाघले आक्रमणको प्रयास गरेको हो । दुवै जनाले भागेर ज्यान जोगाउन सफल भएको पौडेलले जानकारी दिनुभयो ।   दुम्किबासबाट होङ्सी जाने गेट हुँदै सर्दी जाने बाटो भएर आवतजावत गर्दा बाघको आक्रमण जोखिम बढेको छ । गत वर्ष दुम्किबास क्षेत्रमा बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाएका थिए । गत वर्ष बाघले लगातार मानिसलाई आक्रमण गरेपछि नरभक्षी बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास असफल बनेको थियो ।   अहिले फेरि लगातार सोही क्षेत्रमा बाघले आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । बाघ सोही क्षेत्रमा रहेको र कुनै पनि समय मानिसलाई आक्रमण गरी मानवीय क्षति पु¥याउन सक्ने भन्दै समयमै सम्बन्धित निकायले यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । “लगातार बाघले आक्रमण गर्न थालेको छ, कुनै पनि समय मानवीय क्षति हुनसक्छ, सम्बन्धित निकायले समयमै क्षति हुन नदिन सचेत हुनुपर्छ”, स्थानीय यादव पौडेलले भन्नुभयो, “यो बाटो भएर हिँडडुल गर्दा समेत सबैले सावधानी अपनाउन आवश्यक छ ।”

पोखरा : कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ्रे बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो ।   जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री किन्न अहिलेसम्म सरकारी निकायबाट पैसा नपाएकाले आर्थिक सहयोगका लागि याचना गरिएको थियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङको खेलाडी छनोट गरेर प्रशिक्षण अहिले प्रशिक्षण सञ्चालन भइरहेको छ ।    शाहीले लेख्नुभएको छ, “नवौँ राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन, प्रदेश खेलकुद परिषद् र मन्त्रालयबाट खेल सामग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीलाई उतारौँला भनेर बस्ने हो भने हात लागे शून्य होलाजस्तो लागेर सामाजिक सञ्जालबाटै हात फैलाउन बाध्य भएँ ।” शाहीले सामाजिक सञ्जालमा यस्तो भनाइ राख्नु भएपछि त्यसमा तीव्र प्रतिक्रिया आइरहेको छ । धेरै खेलप्रेमीले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रको गौरवसँग जोडिएको प्रतियोगितामा खेलाडीलाई आवश्यक सामग्री उपलब्ध हुनुपर्ने आवाज छ ।    शाहीको जस्तै पीडा अन्य धेरै खेल सङ्घ र यसका पदाधिकारीको छ । प्रदेशस्तरीय छनोटबाट खेलाडी छनोट गरेर बसेका खेल सङ्घले खेलाडीलाई आधारभूत सुविधासमेत उपलब्ध गराउन सकेका छैनन् । गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता आउन एक महिनाभन्दा कम समय बाँकी रहँदासमेत खेलाडीका लागि आधारभूत सुविधा र खेल सामग्री प्राप्त नभएपछि सामाजिक सञ्जालबाटै पीडा व्यक्त गरेको अध्यक्ष शाहीले बताउनुभयो ।    उहाँले भन्नुभयो, “प्रतियोगितामा भाग नलिउँ खेलाडीको वर्षौंको मिहिनेत खेर जाने, लिउँ न खेल सामग्री छ, न खेल पोसाक ।” प्रदेशका खेलाडीको हितको लागि जिल्ला अध्यक्षको नाताले आफूले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर सामाजिक सञ्जालबाट सहयोगको अपिल गरेको उहाँले बताउनुभयो । “खेलप्रेमी व्यक्ति वा संस्था जो कसैले कास्की जिल्ला फेन्सिङ सङ्घको खातामा सहयोग गर्न सक्नुहुनेछ । हिसाब पारदर्शी हुने वाचा गर्दछु, गण्डकी प्रदेशकै इज्जतको सवाल छ त्यसैले सबैमा विनम्र अनुरोध गरेँ ।” शाहीले भन्नुभयो ।   फेन्सिङको खेल सामग्री नेपालमा पाइँदैन । भारत वा चीनबाट ल्याउनुपर्ने हुन्छ तर अहिलेसम्म बजेटको उपलब्ध नभएको शाहीले गुनासो गर्नुभयो । सामाजिक सञ्जालमा अपिल गरेपछि सहयोग प्राप्त हुन थालेको छ । केही दिनमै शाही आफैँ खेल सामग्री नेपालरभारत सीमा रक्सौलसम्म जाने योजनामा हुनुहुन्छ । भारतीय कम्पनीसँग कुराकानी भइरहेको उहाँले जानकारी दिनुभयो ।   नवौैँमा खेल सामग्रीका लागि  फेन्सिङ सङ्घले  रु सात लाख बजेट माग गरेको छ । फेन्सिङका खेल सामग्री तरबार(सोड), इलेक्ट्रिक डिभाइस जडित ज्याकेट, पञ्जा, हेलमेट, चेस प्रोटेक्टरलगायतका सबै खेल सामग्री बाहिरबाट ल्याउनुपर्ने हुन्छ । एक जना खेलाडीका लागि रु ३० हजार बराबरको खेल सामग्री आवश्यक पर्दछ तर परिषद्बाट एकमुष्ट सबैलाई गरी रु ६० हजार मात्र उपलब्ध हुने जवाफ पाएपछि निरास बन्नुपरेको र सहयोगका हात फैलाउनुको विकल्प नभएको अध्यक्ष शाहीले गुनासो गर्नुभयो ।   उहाँले भन्नुभयो, “अभ्यासका लागि हलबाहेक अहिले हामीले सुविधाका नाममा केही पनि पाएका छैनौँ । खेलाडी खेल्दै गर्दा घाइते हुँदासमेत रङ्गशालाभित्र प्राथमिक उपचार नपाउने अवस्था छ, खेलाडीको सुविधा के हो अहिलेसम्म यकिन छैन भने आधारभूत सामग्री पनि पाइएन ।” प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले केही खेलका खेल सामग्री स्वदेशमा नपाइने र बाहिरबाट खरिद गर्नुपर्ने भएकाले यसमा सम्बन्धित खेल सङ्घको पनि अग्रसरता आवश्यक हुने बताउनुहुन्छ ।   राष्ट्रिय खेलकुदजस्ता महत्वपूर्ण प्रतियोगिता आउँदै छ भनेपछि सङ्घले पनि यसमा विशेष चासो र जागरुकता देखाउनुपर्ने उहाँको भनाइ छ । फेन्सिङका खेल सामग्री नपाएको बारेमा आफूहरूलाई जानकारी भए पनि स्वदेशमा नपाउने भएपछि तत्कालै उपलब्ध गराउन सम्भव नभएको गुरुङले बताउनुभयो ।   उहाँले भन्नुभयो, “कतिपय खेलको प्रकृति अलि जटिल हुन्छ, खेल सामग्री किन्न चाहे पनि नपाउने अवस्था छ । फेन्सिङमा पनि प्रदेशले लगानी गर्न नचाहेको होइन, दुईरतीन लाख बजेट दिन तयार छौँ तर तत्कालै खेल सामग्री पाउन सम्भव छैन, खरिद प्रक्रिया ऐनअनुसार जानुपर्दा ढिलाइ भएको हो ।” परिषद्ले सुरुआतमा जिल्ला छनोट, खेल सामग्री र छनोट प्रतियोगिताका लागि भनेर खेल सङ्घलाई रु एक करोड २० लाख बराबर बजेट उपलब्ध गराइएको सदस्य सचिवले बताउनुभयो ।