नवौं राष्ट्रिय खेलकुद : १ सय १४ स्वर्ण सहित आर्मी शिर्ष स्थानमा

पाेखरा | कात्तिक २, २०७९

नवौं राष्ट्रिय खेलकुद : १ सय १४ स्वर्ण सहित आर्मी शिर्ष स्थानमा तस्बिर फाइल

पोखरा : गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।   

 

हालसम्म ९ सय १६ पदकको छिनोफानो हुँदा आर्मीले  ११४ स्वर्ण, ७६ रजत र ५८ कास्य पदक सहित कुल २४८ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ कास्यपदक सहित १३५ पदक जितेको छ ।

 

अर्को विभागीय टिम एपीएफले ३७ स्वर्ण, ४३ रजत र ६६ काँस्य पदक सहित कुल १४६ पदक हात परेको छ ।

 

यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ कास्य पदक सहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ कास्य सहित कुल ९५ पदक आफ्नो पोल्टामा पारेको छ ।


यता एनआरएनएले १० स्वर्ण, ७ रजत ६ कास्य सहित २३ पदक, सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २४ कास्य सहित ३६ पदक, प्रदेश १ ले ५ स्वर्ण २० रजत र ३४ कास्य सहित ५९ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र २० कास्य पदक सहित ३२ पदक जितेका छन् ।

 

त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १५ रजत र २६ कास्य सहित ४४  र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ९ कास्य पदक सहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् ।

 

भारत्तोलन नेपाल पुलिस १२ स्वर्णसहित च्याम्पियन

 

विभागीय नेपाल पुलिस क्लब १२ स्वर्ण जित्दै भारत्तोलन प्रतियोगितामा च्याम्पियन बनेको छ । 

 

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा पुलिस सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै च्याम्पियन बनेको हो । 

 

दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो । 

 

सुदूरपश्चिमले ३ स्वर्ण र ३ कास्य जित्दा एपिएफले १ स्वर्ण, ६ रजत र २ कास्य भित्र्यायो । मधेश प्रदेशले १ रजत र ७ कास्य जित्यो ।

 

घरेलु टोली गण्डकी प्रदेश १ रजत र १ कास्यमा सीमित बन्यो ।  बागमती प्रदेशले १ रजत र लुम्बिनी प्रदेशले २ कास्य पदकमात्र जित्न सके । 

 

पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा विभागीय ३ र ७ वटा प्रदेश गरी १० टिमले भाग लिएका थिए । 

 

जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका थिए । तीमध्ये महिला तथा पुरुषतर्फ १०/१० इभेन्टमा खेल भएको हो । भारत्तोलन नेपालका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक दिलाउने सम्भावित खेलभित्र पर्दछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवधिभर विभिन्न कीर्तिमानी समेत बने । 

 

बुधबार साँझ समापनमा विजेतालाई राखेप उपाध्यक्ष शिव कोइराला, नेपाल भारत्तोलन संघ अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस), पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापति लगायतले पुरस्कार वितरण गरेका थिए । 

 

यसैबीच, अन्तिम दिन बुधबार ६ स्वर्णका लागि भएको प्रतियोगितामा पुलिसले थप ४ स्वर्ण जितेको हो । एपिएफले १ र सुदूरपश्चिमले १ स्वर्ण जिते । 

 

पहिलो खेल महिला ८७ केजी तौल समूहमा एपिएफकी नीशा बलालले स्वर्ण जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् । 

 

नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् ।

 

महिला ८७ केजी माथि नेपाल पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गरिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए । यस्तै, एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरेकी हुन् भने गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाएकी हुन् । घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो ।

 

पुरुष ९६ केजी तौल समूहमा नेपाल पुलिसका विशालसिंह बिष्टले क्लीन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण जिते । उनले स्न्याचमा १२० र क्लीन एण्ड जर्कमा १६१ गरी कुल २८१ तौल भार उठाउँदै स्वर्ण जितेका हुन् । एपिएफका तिलकबहादुर थापाले रजत जित्दा मधेश प्रदेशका संजय यादवले कास्य जिते । 

 

पुरुष १०२ केजी तौल समूहमा नेपाल पुलिसका सन्देश गुरुङले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जिते । उनले स्न्याचमा ११३ केजी भार उठाएका हुन् । उनले क्लीन एण्ड जर्कमा १३९ सहित कुल २५२ केजी भार उठाए । एपिएफका रणबहादुर नगरकोटीले स्न्याचमा ११२ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकोमा लगत्तै सन्देशले १ केजी बढी भार बहन गर्दै भंग गरिदिएका हुन् । नगरकोटीले क्लीन एण्ड स्न्याचमा १३८ सहित कुल २५० केजी भार उठाउँदा कास्य जितेका मधेशका उज्ज्वलकुमार मिश्रले कुल १९४ भार उठाए । उनले स्न्याचमा ८४ र क्लीन एण्ड जर्कमा ११० केजी भार बहन गरेका हुन् । 

 

पुरुष १०९ केजी तौल समूहमा सुदूरपश्चिमका सुवास उपाध्यायले स्वर्ण जिते । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २५२ केजी भार बहन उठाउँदै स्वर्ण जितेका हुन् । नेपाल पुलिसका राजीव महर्जनले स्न्याचमा ११३ र क्लीन एण्ड जर्कमा १२५ गरी कुल २३८ केजी भार उठाउँदै रजत जिते । मधेशका एम.आशीक हुसेनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ११६ गरी कुल १९६ केजी भार बहन गरी कास्य जिते । 

 

यस्तै, पुरुष १०९ केजी माथि तौल समूहमा नेपाल पुलिसका सागर भण्डारीले स्वर्ण जिते । उनले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कम १३५ गरी कुल २५० केजी भार उठाए । आर्मीका पुकार गुरुङले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १२० गरी २३५ केजी भार उठाउँदै रजत जिते । कास्य जितेका मधेशका प्रतापकुमार चौधरीले कुल १८५ भार उठाए । उनले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ११० केजी उठाएका हुन् । 

 

सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसका सेमिफाइनल खेल सम्पन्न

 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधवार सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसका सेमिफाइनल खेलहरु सम्पन्न भएका छन् ।

 

पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्र्तगत प्रदेश नं. १ ले लुम्बीनी प्रदेशलाई २–० को सोझो सेटले पराजित गरी फाइनल पुगेको हो ।


त्यस्तै अर्को खेलमा नेपाल पुलिसले वाग्मती प्रदेशलाई  २–१ को सेटमा पराजित गरी फाइनलमा पुगेको छ ।

 

फाइनलमा पुगेका यि टोली बीच बिहीवार विहान ९ बजे स्वर्णका लागि प्रतिष्पर्धा हुने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए ।

 


जुडोः आर्मीले थप्यो ४ स्वर्ण, पुलिसले ३

 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको दोस्रो दिन नेपाल आर्मीले ४ स्वर्ण थपेको छ । ७ इभेन्टमा बुधबार नयाँ बजारको प्रदर्शनी केन्द्रमा खेल भएको थियो । 

 

दोस्रो दिनमा आर्मीले महिला पुरुषमा २/२ स्वर्ण जितेको हो । नेपाल पुलिस क्बलले ३ स्वर्ण जितेको छ । पुलिसका महिला खेलाडीले १  र पुरुष खेलाडीले २ स्वर्ण जितेका हुन् । 

 

८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण जितेका छन् । नेपाल पुलिस क्बलका मधु रोका मगरले रजत प्राप्त गरे भने वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदकमा चित्त बुझाएका हुन् ।

 

९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक जितेका छन् । नेपाल आर्मीका सुजन गुरुङले रजत पदक जित्दा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिमका सुरेश गिरीले काँस्यमा चित्त बुझाए । 

१०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण जितेका हुन् । उनीसँग फाइनलमा पराजित भएका मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत पाए । नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले काँस्य प्राप्त गर्न सफल भएका छन् । 

 

१०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जितेका छन् । आर्मीका रन्जेश गोलेले रजत पदक जिते भने वाग्मतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले काँस्यमा चित्त बुझाए ।

 

७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेकी छन् । पुनमसँग पराजित वाग्मती प्रदेशकी रञ्जना खड्काले रजत पदकमा चित्त बुझाइन् । नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले काँस्य पदक प्राप्त गरेका छन् ।

 

७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दिपा गुरुङले स्वर्ण जित्दा आर्मीकी निर्मला घर्ती मगरले रजतमा चित्त बुझाइन् । लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले काँस्य जितेका छन् ।  

 

७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक हात पार्दा नेपाल पुलिसकी पुजा राजवंशीले रजत पदक जितिन् । नेपाल पुलिसकी भावना घर्ती मगर र वाग्मतीकी अस्मिता गोलेले काँस्यमा चित्त बुझाए । 

 

मंगलबार ७ स्वर्णको छिनोफानो भएकोमा आर्मीले ४ स्वर्ण जितेको थियो ।  नेपाल पुलिस क्लबका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका थिए । कुल ८ स्वर्ण जितेको आर्मी च्याम्पियन हुने निश्चित छ । किनकी अब विहीबार मिक्स टिम इभेन्टको एक खेल हुनेछ । 

 

हालसम्म नेपाल आर्मीले ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ । पुलिसले ६ स्वर्ण, ३ रजत  र ८ कास्य प्राप्त गरेको छ । वाग्मती प्रदेशले २ रजत र ६ कास्य जित्यो । लुम्बिनीले १ रजत र ३ कास्य जितेको छ ।  मधेशले १ रजत र २ कास्य जितेको छ । एपिएफले १ रजत, प्रदेश नम्बर १ र सुदुरपश्चिमले २/२ कास्य जित्दा कर्णाली र एनआरएनएले १÷१ कास्यमा चित्त बुझायो । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकीले हालसम्म खाता खोल्न सकेको छैन् । 


    


 

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ।   आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...

थप पढ्नुहोस्

रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...

थप पढ्नुहोस्

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ।   परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...

थप पढ्नुहोस्