स्याङ्जा: पोखराबाट भैरहवा छुटेको बसमा स्याङ्जाको गल्याङमा एक्कासी आगलागी भएको छ । पोखराबाट भैरहवाका छुटेको ना ७ ख ५३२३ नम्बरको बसमा स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाको सिमाना बायाँटारी नजिकै गोलाउदी खोलामा एक्कासी आगलागी भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ । आगलागीबाट कुनै मानविय क्षति नभएको ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ । बसमा आगलागी हुँदा बसको बनोटमा क्षति पुगेको छ ।
काठमाडौं: हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । आज आइतवार शेयर बजार परिसूचक नेप्से ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ विन्दुमा पुगेको छ । आज बैंकिङबाहेक सबै समूहको शेयर बढेर हरियाली हुँदा होटल तथा पर्यटन, बिमा, अन्य र जलविद्युत् समूहका शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय ८० वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर चार अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३६ करोड ६४ लाख बराबरको शेयर किनबेच भयो । आज नेपाल इन्सुरेन्स, प्रभु लाइफ इन्सुरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मन्छ्याम हाइड्रो गरी छ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै आठ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो । समग्रमा बजार बढेको दिन आज शुभम् पावर कम्पनी र सिटिज म्युचल फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज एक सय ९० वटा कम्पनीको शेयर बढ्दा २८ वटाको घटेको छ भने चार वटाको शेयर घटबढ भएन ।
ताप्लेजुङ: ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको छ । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ । घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिनुभयो । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ । अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ । ताप्लेजुङमा बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ । यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताउनुभयो । उहाँका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ । मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् । यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।
दाङ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ। दाङको घोराहीमा भएको सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै मन्त्री शर्माले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौतीका रुपमा देखा परेको बताउनुभएको हो। मन्त्री शर्माले भन्नुभयो,‘‘सूचना प्रविधि नेपालमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेको छ। तर यसलाई नियमन गर्ने गतिलो कानुन नहुँदा गलत प्रयोग हुने गरेको छ। यसलाई रोक्नुपर्ने चुनौती छ।’’ साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भंग हुँदै गएको भन्दै मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निमार्ण लागेको बताउनुभएको थियो। मन्त्री शर्माले भन्नुभयो,‘‘साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भंग हुने डर छ। त्यसलाई नियन्त्रणका लागि सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माणमा लागेको छ।’’ सूचना तथा प्रविधिको दुरुपयोग गर्दै विभिन्न खालका अपराध बढेको भन्दै मन्त्री शर्माले यसलाई रोक्नका लागि सबैको पहल आवश्यक रहेको बताउनुभयो। गलत प्रयोगका कारण बालबालिका, किशोर किशोरीदेखि आम नागरिक विभिन्न खालको फन्दामा पर्ने गरेको भन्दै मन्त्री शर्माले कानुन निमार्णसँगै सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो। मन्त्री शर्माले भन्नुभयो,‘‘अहिले गाउँगाउँमा इन्टरनेट र हातहातमा मोबाइल पुगेको छ। तर यसको कसरी प्रयोग गर्ने भन्ने कमै मानिसलाई मात्रै थाहा छ। जसले गर्दा धेरै मानिसले अनाहकमा दुःख पाइरहनुभएको छ। त्यो दुःखबाट मानिसलाई रोक्नका लागि सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सचेतना आवश्यक छ।’’ मन्त्री शर्माले सामाजिक सञ्जालको गलत प्रयोगको सिकार महिला हुनुपरेको भन्दै सूचना प्रविधि तथा सामाजिक सञ्जालका बारेमा महिला सचेत हुनुपर्ने बताउनुभएको थियो। मन्त्री शर्माले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो। त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोग सम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने बताउनुभयो। सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषय सम्बन्धी राष्ट्रिय सम्मेलनलमा सञ्चार, साबर सुरक्षा नीति, कानुनलगायतका विषयमा छलफल भइरहेको छ।
सिन्धुपाल्चोक: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ुआयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो, त्यतिबेला म प्रधानमन्त्री थिइनँ, खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो, आयोजनालाई व्यवस्थित बनाउन म पहल गर्छुु, उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताउनुभयो । ‘यसका बारेमा आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ’, उहाँले भन्नुभयो, ‘थप बजेटको प्रबन्ध गर्छौँ, बजेटको व्यवस्था भयो भने भइपरी आउने काम गर्न सहज हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको बताउनुभयो । ‘मेलम्ची खानेपानी आयोजना सम्पन्न भयो भनेर विकास समिति खारेज गरिएको थियो, त्यसबाट आयोजनालाई व्यवस्थापन गर्न समस्या भएकातर्फ मेरो ध्यानाकर्षण भएको छ’, उहाँले भन्नुभयो । यो क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको थियो । उहाँले आयोजनालाई नियमित र व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि पूर्ण सहयोग हुनुपर्ने बताउनुभयो । गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री प्रचण्डले स्थलगत अवलोकन गर्दै आउनुभएको छ । विसं २०७८ साल असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो । विसं २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाण्डौ उपत्यकामा वितरण थालिएको थियो । विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ साल चैतदेखि पुनःमेलम्चीको पानी वितरण थालिएको थियो ।
काठमाडौं: नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ का सम्बन्धमा देशभरका सुरक्षा निकाय तथा न्यायिक एव अर्धन्यायिक निकाय अनविज्ञ हुनु अत्यन्तै चिन्ताको विषय बनेको छ । राज्यको तर्फबाट तर्जुमा गरिएका ऐन, कानुनबमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित तवरले स्वास्थ्य सेवा प्रवाहमा समर्पित हुने उचित वातावरण सिर्जना गरिदिन अनुरोध गर्दछौं”, ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको उल्लेख गर्दै सङ्घले आपत्ति जनाएको छ । गत मङ्गलबार उपचारका क्रममा भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पतालमा तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी अभद्र व्यवहार गरिएको घटनाका सम्बन्धमा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको छ । यस्तै अन्य अस्पतालमा भएका घटनाप्रतिसमेत सङ्घले ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीले भन्नुभयो, “नारायणी अस्पताल वीरगञ्ज, सिन्धुली अस्पताल, सिरहा अस्पताललगायत देशका विभिन्न ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड भएका घटनाक्रमले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेको अवस्था छ ।” उपचार प्रक्रियामा चित्त नबुझेका अवस्थामा कानुनी बाटो अवलम्ब गर्नुभन्दा अस्पताल तोडफोड र अभद्र व्यवहार गर्नेक्रम बढेको उल्लेख गर्दै सङ्घले आपत्ति जनाएको छ ।
काठमाडौं: मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो । सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकोले आज बिहान अस्पताल भर्ना गरिएको हो । राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै ५ बजे उपचारका लागि भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिको स्वास्थ्य सामान्य छ । गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनः समस्या देखिएको हो । राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।
काठमाडौं: राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ । समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सरकारले २०७१ साल असार २ गते सो समितिको गठन गरेको थियो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो । समितिका अध्यक्ष डा किरण पौडेलले स्थापनाको दिवसका अवसरमा ‘चुरेको माटो चुरेलाई, सफापानी सबैलाई’ भन्ने साझा लक्ष्यमा अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ । उहाँले चुरे संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा सहयोग पुर्याउने वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्तालगायत स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिनुभएको छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भू-भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । चुरे क्षेत्र भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुको वासस्थान र जैविक मार्ग हो । बलौटे ढुङ्गा एवं माटो ढुङ्गा सङ्गुरीकाले बनेका कारण चुरे भूभाग निकै कमजोर छ । अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ । यस्तै गतिविधिका कारण तराई मधेस मरुभूमिकरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चुरे–तराई मधेस क्षेत्रका ३७ जिल्लाका तीन सय २५ स्थानीय तहका करिब ५८ प्रतिशत मानिसको जीवन पद्धतिसँग सम्बन्धित यो क्षेत्रका एक सय ६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण संरक्षण क्षेत्र कायम गरी नेपाल सरकारले समितिको गठन गरेको थियो । चुरे क्षेत्र भौगोलिक हिसाबले कमलो र कान्छो भए तापनि जैविक र सांस्कृतिक सम्पदामा धेरै धनी छ । चुरे क्षेत्र बाघ, भालु, गैँडा, हात्ती, अर्ना र अन्य वन्यजन्तुको वासस्थान रहनुका साथै विविध किसिमका जडीबुटीजन्य वनस्पतिको खानी पनि हो । तराई र मधेस क्षेत्रमा सिँचाइको लागि आवश्यक पर्ने पानीको प्रमुख स्रोत भनेको चुरे र मध्य पहाडी शृङ्खलाबाट बग्ने नदी प्रणाली र यिनले पुनर्भरण गरेका भूमिगत जलस्रोत हो । तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउने हो भने चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई उनीहरूको प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररूपमा बाँच्न दिनुपर्ने हुन्छ । अध्यक्ष पौडेलले ‘प्रकृति स्वच्छ भए मात्र हाम्रो जीवन सुरक्षित हुन्छ र प्रकृतिलाई हामीले संरक्षण गर्यौं भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ’ भन्ने तथ्यलाई कसैले पनि बिर्सनु नहुने बताउनुभएको छ । चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराइ र भौतिक पूर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढ्दो छ । “बढ्दो भौतिक विकासले चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितिकीय प्रणालीलाई आज कसरी पुनःस्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ”, अध्यक्ष पौडलले भन्नुभयो । चुरे क्षेत्रमा भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र बालुवाजस्ता प्राकृतिक स्रोतको सङ्कलन तथा उत्खनन गर्न उहाँले आह्वान गर्नुभएको छ ।
स्याङ्जा: अर्जुनचौपारी गाउँपालिका ६ सिउडबारीमा धारिलो हतियार प्रहार गरी १० वर्षीय बालकको हत्या भएको छ । स्थानीय हर्षित देवकोटाको धारिलो हतियार (हँसिया) प्रहार गरी शुक्रवार साँझ हत्या भएको हो । गर्धन र कन्चटमा प्रहार गरी हत्या गरेका बालक (देवकोटा)को शव घरदेखि टाढा खर बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले बताए । हत्या भएका देबकोटाको बुवा रोजगारीको लागि वैदेशिक रोजगारमा रहेको बताइएको छ । हत्या भएका बालक परिवारको एक मात्र छोरा थिए । स्कुलबाट आएका हर्षित बेपत्ता भएपछि खोजी गर्ने क्रममा हत्या भएको खुलेको थियो । प्रहरीले बालकको हत्याको आरोपमा सोही ठाउँ बस्ने २२ वर्षीय सुजन चुवाई (सुवेदी) लाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।