काठमाडौं: नेपाल सरकारले आर्थिक वर्ष २०८२÷०८३ मा सुनचाँदी तथा हिरा–पत्थरका गरगहनाको व्यवसायमा कर वृद्धि गर्ने प्रक्रिया थालेपछि व्यवसायी महासंघले आपत्ती जनाएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष दियेशरत्न शाक्य र नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले सँयुक्त रुपमा आज विज्ञप्ती जारी गर्दै खारेजीको मागसहित गम्भीर आपत्ति जनाएको हो । उक्त विज्ञप्तीमा भनिएको छ, ‘व्यवसायीको विरोधका बावजुद पनि अघिल्लो वर्ष १० लाखभन्दा माथिका गरगहनामा मात्र लागू हुँदै आएको विलासिता कर यस वर्षदेखि सीमा नतोकी सम्पूर्ण गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर र हिरा–तथा बहुमुल्य पत्थर जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) प्रति हाम्रो गहिरो आपत्ति रहेको छ ।’ महासंघले सुनचाँदीका गरगहना नेपालमा विलासिताको वस्तु नभएको उल्लेख गर्दै भनेको छ, ‘बरु जन्म देखि मृत्युसम्म कुनै न कुनै रुपमा आफ्नो गच्छे अनुसार उपभोग गरिने संस्कृति, परम्परा र सामाजिक रीतिरिवाजको अभिन्न हिस्सा हुन् । विवाह, पूजाआजा, संस्कारदेखि आम सर्वसाधारणले बुझ्ने बचत र लगानीको एक माध्यमको रूपमा पनि सुनका गरगहनाको महत्वपूर्ण स्थान रहँदै आएको छ । सरकारले लागू गर्न खोजेको नयाँ कर संरचनाले उपभोक्तामाथि २ प्रतिशत देखि १३ प्रतिशत सम्मको प्रत्यक्ष आर्थिक भार थप्ने निश्चित छ, जसले बजारमा महँगी थप्नेछ । साथै, छिमेकी देशको बजारमा भन्दा अत्याधिक मुल्य बृद्धि भई यसले चोरीपैठारी तथा अवैध कारोबारलाईसमेत प्रोत्साहन गर्ने खतरा रहेको छ ।’ विज्ञप्तीमार्फत तिन महासंघले निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गर्नुपर्ने मागसमेत राखेको छ । सरकारका अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्य व्यवसायीमैत्री नभएको भन्दै लाखौं व्यवसायी, कालीगढ र मजदुरको रोजगारी र जीविकोपार्जन धरासायी हुने खतरा महासंघको ठहर छ । यस्ता छन्, तिन महासंघको मागहरु:- हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर (VAT) तत्काल पुनर्विचार गरी खारेज गरियोस् । सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गरियोस् । कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरियोस र त्यसबिना करको दायरा नबढाइयोस् । विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त Accredited Lab को व्यवस्था गरियोस् । नेपाल राष्ट्र बैंकवाट जारी गरिएको परिपत्र अनुसार बैंकहरुवाट निकासी गर्ने साना उद्योगका लागि १०० तथा २०० ग्रामको सुन आपूर्ति नगरिएको हुँदा सानो–सानो परिमाणमा सुनका गरगहना निकासी गर्न नसकीएकोले यसतर्फ ध्यान दिइयोस् । निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरियोस् ।
पोखरा: शुक्रबारदेखि आन्दोलनरत यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र आज (शनिबार) पनि कालो प्लेटका (सार्वजनिक यातायात) सवारी साधन ठप्प पारेका छन् । गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् । गण्डकी सरकारले आफुहरुलाई वार्ताका लागि नबोलाएकाले गण्डकी प्रदेशभरी सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा थन्काएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए । उनले यातायात व्यवसायीको माग पुरा नभए आगामी १९ गतेदेखि देशभर सार्वजनिक यातायात घर, ग्यारेजमा थन्काउने बताए । ‘हामी वार्ताका लागि सधैं तयार छौ । यदी हाम्रो माग सुनुवाई भएन भने १९ गतेदेखि देशभर आँधीबेरी ल्याउछौ र त्यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्छ ।’ नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने यातायात व्यवसायीहरुको माग छ ।
पोखरामा जारी नवौं पिएम कप एनभिए लिग भलिबल प्रतियोगितामा गण्डकी प्रदेश अपराजित रहदैं पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । डिफेण्डिङ च्याम्पियन टिपटप हेल्प नेपाललाई घरेलु मैदानमा प्रतिस्पर्धात्मक ३–२ को सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा शीर्षस्थानमा रहेको हेल्प नेपाल विरुद्ध गण्डकीले २५–१८, १९–२५, १४–२५, २५–२० र १५–११ ले पराजित गर्याे । गण्डकीको यो छैटौं खेलसँगै छैटौं जित हो । यो जीतसँगै गण्डकीले २ अंक बटुल्दै १७ अंकसहित लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । हेल्प नेपाल भने, छैटौं खेलमा ५ जित र १ हारमा १६ अंकसहित दोस्रो स्थानमा तल झरेको छ । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
पोखरा: राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । आगामी नेतृत्वका लागि क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दिएका छन् । सुरुमा भोटिङ पनि उनीहरूले नै गरेका छन् । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक फरक बुथ राखिएको छ । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् । महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् ।
काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।
विराटनगर: धरानका मेयर हर्क साम्पाङले भरतपुर महानगरकी मेयर रेणु दाहाललाई लक्षित स्ट्याटस लेख्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर साम्पाङले जनताको शक्तिलाई ढुङ्गा हान्न र भएको संरचना भत्काउन नभई आफूले देश बनाउन प्रयोग गरेको उल्लेख गरेका छन् । भरतपुरका मेयर दाहाललाई देश निर्माण गर्ने भिजन के हो त्यो पनि सिकाउने बताएका छन् । उनले लेखेका छन्, ‘स्वदेशी उत्पादनमा जोड दिनु पर्छ । यो हो भिजन । बिचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी ?’ उनले मेयर दाहालको पाटीलाई सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी बनिसकेको भन्दै बिचराको संज्ञा दिएका छन् । केही दिन अघि मेयर दाहालले हर्क साम्पाङले ठुला योजना गर्नु पर्थ्यो भन्ने अभिव्यक्ति दिएको भन्दै साम्पाङ आक्रोशित भएका छन् । उनले दाहालका बुवा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई जोडेर समेत मेयर रेणुलाई गाली गरेका छन् । उनले लेखेका छन्, ‘रेणुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्टाइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रहेन छ त ?’ उनले धरानमा एयरपोर्ट बन्न नसकेको दोष समेत प्रचण्डलाई थोपारेका छन् । उनले लेखेका छन्, ‘एयरपोर्ट मागेको तपाईँकै पार्टीको सुदन किराँती मन्त्री थिए र तपाईँकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदै छ किन चाहियो धरानमा भने ।’ उनले अहिलेका पाटी ठिक नभएको र विभेद गरेको आरोप लगाए । उनले लेखेका छन्, ‘अहिलेका पार्टी ठिक छैनन् । विभेद मात्रै विभेद गर्छ ? ।’ उनले दाहाललाई प्रचण्ड प्रधानमन्त्री हुँदा भरतपुरमा मात्रै बजेट हालिदिएको आरोप लगाए । उनले लेखेका छन्, ‘तपाईँको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईँकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् । प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । पक्राउ परेपछि सोही प्रसंगमा मिडियाकर्मीले के भन्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफिदै भने–‘निरंकुश सरकारले गर्ने काम भनेकै यही हो । यसमा हामीले अचम्म मान्नुपर्ने कारण नै छैन । जे पनि भोग्न तयार छौ ।’ सिंहदरबार भित्रै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेपछि अध्यक्ष लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं: राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो । राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने, सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए । प्रहरीले उनीहरुलाई त्यहीँ रोक्ने प्रयास गरेको थियो । त्यसपछि उनीहरुले सरकारविरोधी नारा लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए ।