काठमाडौँ: भर्खरै नयाँ सरकार निर्माण भएको छ । परम्परागत प्रतिस्पर्धी दलहरु नै सरकारमा सहकार्य गर्न सहमत भएर साझा समझदारी सार्वजनिक गरेका छन् । दलहरुका निर्णयले जनमतको प्रतिनिधित्व र स्वामित्व दुवै ग्रहण गरेको हुन्छ । सरकार र संसद् आवधिक हुन् तर दलहरु सर्वकालिक हुन् । दल र तिनका नीतिले देशको विकास समृद्धि र अग्रगतिका लागि भूमिका खेल्दछन् । संसद्मा रहेका दलहरु प्रतिस्पर्धी र सहयात्री दुवै हुन् । विषय र एजेन्डाका आधारमा दलहरुले सहकार्य गर्नु र प्रतिस्पर्धा गर्नु सामान्य विषय हुन् । पार्टीका कामकारबाही वा तिनका विचार निर्माणको भूमिकालाई प्रभावकारी बनाउन सक्दा मात्र नेपालको भविष्यप्रति आशा जगाउन सकिन्छ । लोकतन्त्र जनमतका आधारमा चल्ने व्यवस्था हो । लोकतन्त्रमा निर्धारित कानुनी व्यवस्थाका आधारमा निर्वाचनका माध्यमबाट जनमतको परीक्षण हुन्छ । जनमतको प्रतिनिधित्व दलहरुले गर्दछन् । संसद् जनप्रतिनिधित्व गर्ने सर्वोच्च थलो हो, जसले सरकारका कामहरुको परीक्षण, नयाँ कानुनको निर्माण वा संशोधन गर्दछ र विधि निर्माणका लागि छलफल र बहसमा भाग लिने गर्दछ । बहसको समाप्तिपछि निर्णयहरु कार्यान्वयनमा पठाउँछ । सामान्यतः संसदीय प्रणालीमा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुन्छन् र उनले नियुक्त गरेका संसद्का सदस्यहरु मन्त्रिपरिषद्का सदस्य हुन्छन् । कार्यकारी अधिकार ग्रहण गर्दछ्न् । संसदीय प्रणालीमा सरकारको गठन र विघटन संसद्हरुको हातमा हुन्छ । यो संसदको सामान्य प्रक्रिया पनि हो । संसद्मा दलहरुको उपस्थितिले नै मुलुकको शक्ति सन्तुलनको तस्बिर देखाउँछ । नेपालको संसद्मा यसअघि तेस्रो दलले पहिलो र दोस्रो दलको समर्थनमा सरकार सञ्चालन गरेको थियो । अहिले प्रमुख दुई दलको सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले ले दुई तिहाइ मतले विश्वास पनि प्राप्त गर्नुभएको छ । नेपालको राजनीतिक इतिहासमा यस्तो विश्वास निकै थोरै पटक मात्र प्राप्त भएको छ । यसैले यो अवसर ऐतिहासिक र महत्वपूर्ण छ । वर्तमान अवस्थामा सामाजिक लोकतन्त्रमा विश्वास राख्ने दलका नेता कार्यकर्ताले संसद्लाई वर्गसङ्घर्षको एउटा मोर्चाका रुपमा बुझ्नु उपयुक्त हुन्छ । विगतमा लोकतन्त्र र त्यसको अभ्यासमा कमजोरी रहन गएकाले मानिसका सामूहिक क्षमतामा विकास भएन । नेपाली समाजमा प्रकट भएको वर्गसङ्घर्ष र अन्य मुलुकमा प्रकट भएको वर्गसङ्घर्ष पृथक देखिन्छ । यो पृथक चरित्रले नेपाली क्रान्तिको चरित्र नै पृथक ढङ्गले अगाडि बढेको छ । नेपालको जस्तो वर्गसङ्घर्ष विश्वका अन्य मुलुकका कम्युनिष्ट पार्टीहरुले सामना गर्नु परेको थिएन । नेपालको क्रान्ति परस्पर विरोधीजस्ता लाग्ने पार्टीहरुका बीचको संयुक्त मोर्चाबाट सम्पन्न भयो । क्रान्तिलाई संस्थागत गर्न नेपालका बामपन्थी र प्रजातन्त्रवादीबीच प्रतिस्पर्धा र सहकार्य निरन्तर चलिरहेको छ । एउटै दलले राष्ट्रिय शक्तिका रुपमा आफूलाई विकास गर्न भने सकेको छैन । आज विज्ञान र प्रविधिको चुनौती, विकास र काममा मेसिनको प्रयोगले वर्गसङ्घर्ष र तिनमा देखापर्ने पक्षधरता पनि संसदीय सङ्घर्षमा नै प्रकट हुने गरेको छ । यद्यपि हामी समाजवादका आधार निर्माणका चरणमा छौँ । समाजवाद निर्माणको चरण लामो र क्रमबद्ध हुन्छ । नेपालमा समाजवादको आधार निर्माणका क्रममा उपचरणहरु पार गर्दै अघि बढ्नु पर्दछ । पुँजीवादको नभई नहुने चरणबाट गुज्रिएर मात्र समाजवादको यात्रा प्रारम्भ गर्न सकिन्छ । पुँजीवादी उत्पादनका साधन, प्रक्रिया र लाभको वितरण प्रणालीलाई सामाजीकृत गरेर मात्र समाजवादमा पुग्न सकिन्छ । तर यो प्रक्रियामा आत्मगत अवस्था भएर मात्र पुग्दैन, वस्तुगत अवस्था परिपक्व बन्नु पर्दछ । वस्तुगत अवस्था परिपक्व बनाउनका लागि सरकारले अगुवाइ गर्नुपर्दछ । यसका लागि संसदीय क्षेत्रमा श्रेष्ठता प्राप्त गरेर नेतृत्वमा पुग्नु वा सरकार सञ्चालनका प्रक्रियाबाट नीतिहरु परिवर्तन गर्ने प्रक्रियामा लाग्नु महत्वपूर्ण हुन्छ । नेपालमा संविधान निर्माणमा क्रियाशील हुने दलहरु नै यसको प्रभावकारी कार्यान्वयनमा उदासीन रहेको इतिहास छ । २०४७ सालको संविधान कार्यान्वयनमा आएपछि त्यसको रक्षा प्रयोग र विकासमा एकजुट हुनुपर्ने दलहरु नै विभाजित बने । तत्कालीन राजनीतिक शक्ति सन्तुलनबाट निर्मित यो संविधानको घेराबाट सबै व्यक्ति र शक्तिहरु बाहिर निस्कँदाको परिणाम नै त्यो संविधानको खारेजी भयो । विगतमा प्रणालीगत सुधार र विकास नगरेकाले नै लोकतन्त्रका जराहरु जनताका तहसम्म फैलिन सकेनन् । नयाँ संविधान कार्यान्वयनमा आएपछि पनि बर्तमान समयमा व्यवस्थापिका र यसका अङ्गहरुबीच सौहार्द्रपूर्ण अन्तरसम्बन्ध विकास गरेर नयाँ सोच र शैलीमा अघि बढ्नुपर्नेमा दलहरु एक अर्कालाई उपयोग गर्ने र सत्तामा टिक्ने भ्रममा केन्द्रित भए । परिणामतः जनतामा चरम निराशा, ठप्प प्रायः विकास निर्माण, कमजोर अर्थतन्त्र, चरम भ्रष्टाचार र उदासीनताले प्रश्रय पायो । यसबाट क्रन्तिका उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नै प्रश्नहरु उठ्न थाले । लोकतान्त्रिक प्रणालीमा नै प्रहार गर्न दक्षिणपन्थी शक्ति र प्रवृत्तिले चलखेल गर्न खोजे । जसले लोकतान्त्रिक क्रान्तिको नेतृत्व गरेका मुख्य ठूला दलहरुलाई क्रान्तिका उपलब्धिहरुको रक्षा गर्ने र समृद्ध मुलुक निर्माण गर्ने चुनौती स्वीकार गर्न आवश्यकता बोध भयो र यो गठबन्धन निर्माण भयो । विगतका गल्तीबाट सिक्ने र प्रतिस्पर्धात्मक क्षमता विकास गरेर लोकतन्त्रलाई स्थायित्व दिन जरुरी छ । व्यवस्थाप्रति जनविश्वास आर्जन गर्न, जनताका बीचमा गरिएका वाचा पूरा गर्ने र गरिएका काम र प्राप्त उपलब्धिहरुको युक्तिसङ्गत जनतामा विश्वास सिर्जना गर्नुपर्दछ । लोकरिझ्याइँमा विश्वास गर्ने दलहरुले समस्याको उठान त गरे तर समाधान दिने सामथ्र्यमा चुकेकाले आज प्रणालीमै प्रश्नहरु उठेका छन् । उठेका सबै प्रश्नको युक्तिसङ्गत र विश्वासनीय जवाफ सरकारले दिनुपर्दछ र विश्वास बढाउनुपर्छ । सङ्घीय लोकतान्त्रिक व्यवस्थाको जनविश्वासलाई जगेर्ना गर्न र जनतामा यस सङ्घीय व्यवस्था र जनप्रतिनिधिप्रति सिर्जना गरिएको भ्रमको पहाड भत्काउन सकिन्छ । दलका र तिनका क्रियाकलापबाट सङ्घीय लोकतान्त्रिक प्रणालीप्रति विश्वासमा बढोत्तरी गर्न सकिन्छ । प्रतिनिधित्व र नेतृत्वको सुनिश्चितताले मात्र व्यवस्थाप्रति विश्वास बढ्छ । वर्तमान सरकारका चुनौतीहरुपनि बेग्रेल्ती छन् । यसका लागि प्रभावकारी अनुगमन संयन्त्र हुन जरुरी हुन्छ । सबैभन्दा प्रभावकारी अनुगमन गर्ने संस्थाहरु भनेका आमजनसमुदाय नै हुन् । संसद्हरु निर्णय, प्रतिवेदन र निर्देशनहरु समयमा नै दिनसक्ने र कार्यान्वयन गर्न सक्ने हुनुपर्दछ । संसद्का काम कारबाहीहरुको अनुगमनका लागि संस्थागत संयन्त्र, पर्याप्त स्रोत र साधन, दक्ष जनशक्तिको आवश्यकता हुन्छ । अनुगमन मूल्याङ्कनलाई वस्तुगत र विश्वस्त बनाउन सरकारले काम गर्नुपर्दछ । सही ढङगले साधन, स्रोत र शक्तिको दक्षतापूर्ण परिचालन भएन भने सङ्घ, प्रदेश र स्थानीय तहका योजनाहरुको प्रभावकारी कार्यान्वयन हुन सक्दैन । सार्वजनिक शिक्षा, स्वास्थ्य, रोजगारी र सेवा प्रवाहका क्षेत्रमा समस्याहरु छन् । सहकारिता, सहअस्तित्व र समन्वयमा साथ अगाडि बढ्नु पर्ने तीनै तहका सरकारमा होडबाजी बढेको देखिन्छ । यसैलाई आधार बनाएर सङ्घीय प्रणालीका विपक्षमा हुनेहरुले आलोचनामा धेरै समय खर्चिएका छन् । राजनीतिको वर्तमान नेतृत्व क्रान्तिकालीन नेतृत्व हो । अब निर्माण र समृद्धिको नेतृत्व गर्ने समय हो । यही नेतृत्वले देखेको सपना समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले पूर्ण दक्षताका साथ काम गर्नुपर्दछ । यस प्रक्रियामा पन्छिएर तटस्थ वा नकारात्मक हुने छुट राजनीतिक दलहरुलाई रहँदैन । वर्तमानमा युवा पुस्ताको पेसाप्रतिको लगाव र चिन्तालाई नै ख्याल गर्नका लागि प्रणालीको विकास पहिलो अनिवार्य सर्त हो । वर्तमान गठबन्धनबाट संविधान र कानुन कार्यान्वयनमा उठेका प्रश्नको उत्तर दिन सकिन्छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ बनाउन सकिन्छ । राजनीतिक स्थायित्व सिर्जना गर्नका लागि पनि चुनौतीहरुको सामना दलहरुबीचको एकताबाट गर्न सकिन्छ । यो सहकार्यले नवनेपाल निर्माणमा देखापरेका चुनौतीको सामना गर्न सकिन्छ । संविधानको संशोधन, राष्ट्रिय हितको रक्षा, सुशासन र भ्रष्ट्राचार नियन्त्रण र विकास निर्माणमा तीव्रता दिनु वर्तमान सरकारको दायित्व हो । दुई ठूला दलबीचको समझदारी र परिपक्व नेतृत्वबाट समृद्धिको युगको नेतृत्व गर्न सकिन्छ । स्थिर सरकार र संसद्मार्फत प्रणालीको विकास सम्भव छ । संविधानले दिएको स्वतन्त्रतालाई उपयोग गरेर समाजलाई गतिशील बनाइरहनु पर्दछ । दल र तिनका नेतृत्वले कार्यकर्तालाई गतिशील र क्रियाशील बनाइरहेनन् भने संविधान आफैँले स्वतन्त्रता, भ्रातृत्व र समानताको सुनिश्चित गर्दैन । लोकतन्त्रमा दल र सरकार पृथक कुरा हुन् । सरकार आवधिक हो तर दलहरु सर्वकालिक हुन् । लोकतन्त्रको चरित्रले दलहरुलाई बदल्छ तर दलहरुको दर्शन, तिनलाई प्राप्त जनविश्वास र कार्यशैलीले मुलुकको लोकतन्त्रको भविष्य तय गर्दछ । यसैले हाम्रो मुलुकमा दल र तिनका क्रियाकर्ममा लोकतन्त्र निर्भर छ । नेपालमा आधारभूत रुपमा राजनीतिक काम सकिएको छ । अब आर्थिक विकासको काममा सबै दलको ध्यान केन्द्रित हुनु पर्दछ । लोकतान्त्रिक व्यवस्थामा पनि दलहरुले सरकारमा हुँदा र नहुँदा प्रदर्शन गर्ने व्यवहारले लोकतन्त्रलाई सहयोग पुगेको छ । सङ्घीयता एक जटिल पद्धति हो । यसको समुचित व्यवस्थापन गर्नु अहिलेको मुख्य कार्यभारको रूपमा बुझ्नुपर्दछ । नागरिकको जनमतबाट अनुमोदित भएको सङ्घीयताको फल प्राप्त गर्नका लागि प्रत्येक व्यक्ति थप जिम्मेवार र जवाफदेही बन्नुपर्दछ । संविधानले समाजवादसम्म जान सकिने प्रस्ट पारेको छ । नेपाली कांग्रेसले आफ्नो राजनीतिको प्रारम्भिक दिनमा लोकतान्त्रिक समाजवादलाई आफ्नो लक्ष्य निर्धारण गरेको थियो । नेपाली कम्युनिष्टहरु पनि पुँजीवादबाट गुज्रिएर नै समाजवादमा पुग्ने हुँदा दुवैको साझा गन्तव्य पुँजीको विकास र समृद्धि नै हो । दुवै दल एक भएर राजनीतिक स्थायित्व र मुलुक निर्माणमा सहमत भएका बेला द्रुत विकास प्राप्त गर्ने अवसरहरु छन् । लोकतन्त्र विधिको शासन हो । विधि निर्माता जनप्रतिनिधि हुन् । जनप्रतिनिधिहरु दलबाट आएका हुन्छन् तर ती प्रतिनिधिहरुको मूल स्रोतले हाम्रो लोकतन्त्रको मूल चरित्रमा प्रभाव पारिरहेको तथ्यलाई बिर्सन मिल्दैन । सरकारमा पुगेका जनप्रतिनिधिहरुलाई आसेपासेबाट जोगाउनु पर्दछ । आसेपासेहरुबाट मुक्त लोकतन्त्रले नै हाम्रा समस्याको समाधान र सुरक्षित भविष्यको निर्माण गर्दछ । संवैधानिक स्वतन्त्रताका लागि क्रियाशील हुनेछन् । लोकतन्त्र जति प्रभावकारी र सङ्घीयता सबल भए मात्र समृद्ध नेपाल बन्छ । सरकारले आफ्नै अनुभवबाट पाठ सिक्दै अघि बढ्ने, नियन्त्रणमुखी शासन सञ्चालनबाट सहजीकरणमुखी शासन सञ्चालनतिर बढ्ने, सुविधामुखी राजनैतिक र प्रशासनिक प्रणालीबाट सेवामुखी नेतृत्व प्रणालीतिर जान, राजनैतिक इच्छा शक्ति विकास गर्न सरकारले ध्यान दिनुपर्दछ । यही सहकार्यलाई सहज रुपमा अघि बढाउन सकिँदा नेपालको भविष्य उज्ज्वल बन्छ । लोकतन्त्र थप सुदृढ र प्रभावकारी बन्छ, जनविश्वास बढ्छ । (लेखक नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीका सचिव हुनुहुन्छ)
काठमाडौँ: फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बनेको छ । ओलम्पिकअन्तर्गत फुटबल, रग्बीलगायतका खेलका प्रतियोगिता भने गत बुधबार नै सुरु भइसकेका छन् । ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस पुगिसकेको छ । यसपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन् । टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ दक्षिण एशियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन् । अन्य खेलाडीहरुलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी गराइएको हो । नेपालले ओलम्पिकमा विभिन्न छ खेलमा सात खेलाडीलाई सहभागी गराउँदैछ । नेपालका अन्य खेलाडीहरुमा जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङ मा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन् । नेपालले पहिलोपटक ओलम्पिकमा ब्याडमिण्टनमा भाग लिन लागेको हो । नेपालले ओलम्पिकमा भाग लिएको यो १५ औं पटक हो । आज राति ११ बजेर ४५ मिनेट जाँदा पेरिसमा आयोजना हुने भब्य उदघाटन समारोहमा नेपालको पनि सहभागिता रहनेछ । ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ । यसमध्ये एशियाका ४४ वटा देशहरुले भाग लिदैछन् । ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ । नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो । पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेण्टस् सञ्चालन हुँदैछन् । यसअघि ओलम्पिकका लागि छनोट खेल पार गरी सहभागी हुन सफल नेपाली खेलाडीमध्ये पहिलो खेलाडीमा ताइक्वाण्डोकी खेलाडी संगिना बैध्य थिइन् । सन् २००४ मा ग्रीसको राजधानी एथेन्समा आयोजित ओलम्पिकमा उनी छनोट चरणमा जितेर भाग लिन सफल भएकी थिइन् । सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा ताइक्वाण्डो खेलाडी दिपक बिष्ट पनि छनोट खेल जितेर ओलम्पिक खेल्न गएका थिए । अन्य खेलाडीहरु भने कोटा तथा वाइल्ड कार्डको आधारमा ओलम्पिकमा सहभागी हुँदै आइरहेका छन् । ओलम्पिकमा एथलेटिक्स तथा स्विमिङ खेलमा अनिवार्य सहभागी पठाउनु पर्ने नियमअनुसार ती खेलमा नेपाली सहभागी बढी भएको पाइएको हो । विगतको सहभागिता सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकदेखि नेपालले ओलम्पिकमा प्रतिस्पर्धा गर्न सुरु गरेको थियो । त्यतिखेर नेपाली टिममा दुई धावक र चार जना बक्सरलाई समावेश गरिएको थियो । बक्सरहरु भने हङ्गकङस्थित गोरखा रेजिमेण्टमा कार्यरत नेपाली सैनिकहरु थिए । सन् १९६८ मा मेक्सिकोमा आयोजित ओलम्पिक बाहेक नेपालको ओलम्पिकमा सहभागिता छुटेको छैन । हालसम्म सबैभन्दा धेरै एथलेटिक्सका खेलाडीहरुले नेपालको तर्फबाट ओलम्पिकमा भाग लिएका छन् । सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित ओलम्पिकमा नेपालबाट दुई धावक सहभागी भएका थिए । सन् १९७६ मा क्यानडाको मोर्टियलमा आयोजित ओलम्पिकमा नेपालको तर्फबाट धावक बैकुण्ठ मानन्धरले मात्र भाग लिएका थिए । उनले लगातार चार वटा ओलम्पिकमा दौडेर नेपालबाट सबैभन्दा धेरै पटक ओलम्पिकमा सहभागी हुने अवसर प्राप्त गरेका थिए । सन् १९८० मा रुसमा आयोजना गरिएको ओलम्पिकमा नेपालबाट एथलेटिक्स, बक्सिङ र भारोत्तोलनमा १२ जना खेलाडी सहभागी भएका थिए । सन् १९८४ मा अमेरिकाको लसएन्जल्समा आयोजित ओलम्पिकमा पनि एथलेटिक्स, भारोत्तोलन बक्सिङमा ११ जना खेलाडी पठाइएको थियो । सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित ओलम्पिकमा नेपालको खेल टोली विगतमा भन्दा ठूलो थियो । त्यस प्रतियोगितामा नेपालले एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, जुडो, सुटिङ र ताइक्वाण्डो खेलमा १८ जना खेलाडीलाई सहभागी गराएको थियो । सन् १९९२ मा स्पेनको बार्सिलोना ओलम्पिकमा ताइक्वाण्डो, सुटिङ र एथलेटिक्समा पाँच जनाले भाग लिएका थिए । सन् १९९६ मा अमेरिकाको एटलाण्टामा एथलेटिक्स, भारोत्तोलन र सुटिङमा छ जना गएका थिए । यस्तै सन् २००० मा अष्ट्रेलियाको सिड्नीमा नेपालले एथलेटिक्स, स्विमिङ तथा सुटिङमा गरी पाँच खेलाडी पठाएको थियो । सन् २००४ मा ग्रीसको एथेन्समा नेपालबाट ताइक्वाण्डो, एथलेटिक्स, भारोत्तोलन र सुटिङमा छ जना खेलाडीहरु पठाइयो । सन् २००८ मा चीनको राजधानी बेइजिङमा आयोजित ओलम्पिकमा पनि एथलेटिक्स, जुडो, सुटिङ, स्विमिङ र ताइक्वाण्डोमा नौ खेलाडी सहभागी गराइएको थियो । सन् २०१२ मा लण्डन ओलम्पिकमा एथलेटिक्स, स्विमिङ र सुटिङमा भाग लिन चार जना नेपाली गएका थिए । सन् २०१६ मा दक्षिण अफ्रिकाको रियोदि जेनिरियोमा नेपालले एथलेटिक्स, स्विमिङ, जुडो र आर्चरीमा गरी छ जनालाई सहभागी गराएको थियो । सन् २०२१ को जापानको टोकियो ओलम्पिकमा एथलेटिक्स, स्विमिङ र एथलेटिक्समा पाँच जना खेलाडीले भाग लिएका थिए । गौरवमय त्यो क्षण सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सियोलमा भएको गृष्मकालीन ओलम्पिक प्रतियोगितामा नेपालले ताइक्वाण्डो खेलमा कास्य पदक पाएको थियो । खेलाडी विधान लामाले उक्त पदक जितेका थिए । सन् १९८६ मा बिधानसहित आठ नेपाली खेलाडीले सियोलमै एशियाली खेलकुदमा कास्य पदक पनि पाएका थिए । सम्पूर्ण नेपालीहरु गौरवान्वित बनेको त्यो खुसीको क्षण क्षणिक बन्न पुग्यो । त्यतिखेर ओलम्पिकमा ताइक्वाण्डो खेललाई प्रदर्शन खेलका रुपमा समावेश गरिएकाले खेलाडी लामाले जितेको पदकलाई आधिकारिक मान्यता प्रदान नगरिएपछि नेपाल आधिकारिक पदक तालिकामा अङ्कित हुनबाट बन्चित हुन पुगेको थियो । नगण्य उपलब्धि ओलम्पिकमा नेपाली खेलाडीहरुको सहभागिता १५ चोटी पुगे पनि हालसम्म सहभागितामै सिमित रहेको छ । एशियाली खेलकुदमा रजत पदकसम्म जित्न सकेको नेपालले हालसम्म ओलम्पिकमा भने कुनै पदक जित्न सकेको छैन । ओलम्पिकमा सहभागिता अझै पनि औपचारिकतामा सिमित रहेको छ । ओलम्पिकका लागि दीर्घकालीन योजना सञ्चालन नहुनाले यस्ता ठूला प्रतियोगितामा नेपालको सहभागिता खाली औपचारिकतामा सिमित हुन पुगेको हो । यस्ता प्रतियोगितामा विभिन्न खेलमा भाग लिनुभन्दा उचित प्रदर्शन गर्न सकिने सिमित खेललाई जोड दिनु उचित हुने गर्दछ । खेलाडीको क्षमताको मुल्याङ्कन नगरी कोटा प्राप्त भएकै आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनु उचित हुन्छ कि हुदैंन गम्भीर भएर सोच्नु पर्ने बेला पनि आएको छ । प्रतियोगिताको केही समयअघि खेलाडी जम्मा गरी दिइएको प्रशिक्षण ओलम्पिकजस्तो विश्व स्तरीय प्रतियोगिताका लागि अपर्याप्त भएको अनुभव विगतदेखि नै हुँदै आइरहेको छ । सिमित समय र सानो लगानीले ओलम्पिकमा सफलता सम्भव नभएको कुरा स्वयं खेल क्षेत्रसँग सम्बन्धित अधिकारी तथा प्रशिक्षकहरुले बताउँदै आइरहेका छन् । वर्षैभरि नियमित प्रशिक्षण, पर्याप्त मात्रामा खेल प्रतियोगितामा सहभागिता, वैदेशिक प्रशिक्षण र प्रतियोगितामा जाने अवसरले खेलाडीको क्षमता अभिवृद्धि गर्दै लैजाने गर्दछ । यसैगरी उनीहरुलाई यथोचित सुविधातर्फ पनि ध्यान दिनु जरुरी पर्दछ । यसै सिलसिलामा हालसम्म कैयौं स्थापित खेलाडीहरु समेत विदेश पलायन हुनु चिन्ताको विषय बनेको छ । नेपालमा सरकार परिवर्तनसँगै त्यसको प्रत्यक्ष असर खेलकुद क्षेत्रमा पनि पर्ने गरेको छ । खेलकुद क्षेत्रको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषदमा हुने गरेको पदाधिकारी परिवर्तनले पनि नेपालको समग्र खेलकुदको विकासमा असर पर्ने गरेको छ । नेपालमा भएका सयौं खेलकुद सङ्घ पनि नेपालको अन्तर्राष्ट्रिय असफलतामा जिम्मेवार रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीजस्ता विभागीय टिमहरुले खेलाडीहरुलाई रोजगार दिई नियमित रुपमा प्रशिक्षण सञ्चालन गरेर नेपालको अन्तर्राष्ट्रिय सहभागितामा यथाशक्य योगदान दिइरहेका छन् । दक्षिण एशियाली मुलुकहरुमध्ये भारतले हालसम्म ओलम्पिकमा ३५ वटा पदक जितिसकेको छ । यसैगरी पाकिस्तानले १० तथा श्रीलङ्काले दुई वटा पदक पाइसकेका छन् । अब नेपालले पनि ओलम्पिक जस्तो खेलकुद प्रतियोगितालाई औपचारिकतामा मात्र सिमित हुन नदिई पदक प्राप्तिका लागि उचित पहल गर्न जरुरी भसकेको छ । ओलम्पिक भनेको खेलाडीले राष्ट्रिय किर्तिमान भङ्ग गर्दा गौरव गर्ने क्षण होइन । पदक जितेर मुलुकको छवि जाज्वल्यमान बनाउने महत्वपूर्ण अवसर हो । नेपाल सरकारले पनि ओलम्पिकलाई उच्च प्राथमिकता दिई दीर्घकालीन वार्षिक योजना बनाउन तथा पदक प्राप्तसम्मका लागि आवश्यक पूर्वाधारहरु जुटाउन नेतृत्व लिनुपर्ने आवश्यकता देखिएको छ । (लेखक राजु सिलवाल खेलकूदमा अभिरुचि राख्ने पत्रकार हुनुहुन्छ)
काठमाडौं: मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने अवसर पाएको पनि एक वर्ष पूरा भएको छ । गत वर्ष असारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दा राजदूतको जिम्मेवारीमा रहेर सम्झन लायक केही गर्ने लक्ष्य लिएको थिएँ । म हरेक दिन दैनिक प्रक्रियाको सुरुआतमा स्थानीय पत्रिका पढ्ने गरेको छु । एक दिन पत्रिका पढ्ने सिलसिलामा रोजगार अनुमति प्रणाली ९इपिएस०मार्फत कोरियामा पाँच वर्ष रोजगारी गरेर नेपालमा आफ्नो गृहनगर गुल्मी फर्किएका पाल्पा र गुल्मीको सीमा नजिकै गौरव डेरी तथा प्रशोधन कम्पनी स्थापना गरेका रविलाल पन्थका बारेमा प्रकाशित लेख पढेर धेरै खुसी मिल्यो । त्यतिबेला म नेपाल आएको दुई हप्ता मात्र भएको थियो । नेपालका लागि कोरियाली राजदूतको भूमिकामा रहेर दुई देशबीचको सहकार्य विस्तार क्षेत्रका बारेमा सोच्दै थिएँ । त्यो लेख पढेपछि विदेशमा काम गरेको अनुभव भएका व्यक्तिले आफूले सिकेको सीप तथा पुँजी सदुपयोग गरेर स्वदेशमा नै व्यवसाय सुरु गरेका व्यवसायीहरुको सफलताका कथाहरू खोज्ने तथा उक्त माध्यमबाट नेपालमा रोजगारी सिर्जनाका लागि प्रेरणादायी भूमिका खेल्ने राजदूतका रुपमा आफ्नो परिचय दिने योजना बनाए । नेपालमा उद्यमशीलताका जटिलता व्यवसाय सुरु गर्नु भनेको एक कठिन निर्णय हो भन्ने लाग्छ । यद्यपि, एउटा भनाइ छः जीवनमा ‘नो–रिस्क नो–रिवार्ड’ व्यवसाय सुरु गर्नु एक कला हो जसमा विभिन्न स्रोतः पुँजी, अनुभव, जनशक्ति, सुविचार र मार्केटिङ क्षमता पनि चाहिन्छ । जुनसुकै क्षेत्रमा व्यवसाय थालनी गरेका व्यवसायीले तीन वर्षभित्र धेरै व्यक्तिहरुले निराशाको अनुभव गरेका उदाहरणहरु रहने गरेका छन् । त्यसैगरी, सफल व्यवसाय पनि तीन वर्षको अवधि पार गरेपश्चात् गन्तव्य निर्धारण हुने तथा समाजमा आफ्नो प्रस्तुति दिएका हुन्छन् । उद्यमी विकासका लागि समूहमा काम गर्ने क्षमता (टिम वर्क) समन्वय गर्ने भाषाको कला, समस्या समाधान गर्ने क्षमता, नेतृत्वदायी क्षमता, रचनात्मक चिन्तन, उद्देश्य केन्द्रित झुकाव, व्यावसायिक योजना बनाउने सीप, लगनशीलता तथा धैर्यता, व्यवस्थापन क्षमता, आर्थिक व्यवस्थापन, व्यापारिक सीप, जोखिम उठाउने क्षमता आदिले व्यवसायमा सफलता हासिल गर्न भूमिका खेल्दछ भन्ने गरिएको छ । सरकारी नीति निर्माता तहबाट आफ्नो भिजनमा स्टार्टअपलाई कसरी लिएर जाने र दूरदर्शिता कस्तो राख्ने भन्ने दृष्टिकोण निर्माण नगर्दा नेपालको स्टार्टअपको परिदृश्य प्रस्ट हुँदैन भन्ने लाग्छ । नेपालमा स्टार्टअपको इतिहास करिब १५ वर्ष पार गरेको छ । यसबीचमा नवउद्यमी तथा युवा उद्यमीले नवप्रवर्तनलाई व्यवसायका रूपमा जोगाउँदै सफल उद्यमका रूपमा स्थापित गरेका केही उदाहरण छन् । नेपाल सरकारले सन् २०३० सम्म स्टार्टअपका माध्यमबाट एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानअनुसार सन् २०२७ सम्ममा नेपालको स्टार्टअप बजार ५० करोड डलरको हुने देखाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग मन्त्रालय तथा विभिन्न सरोकारवालालाई समावेश गरेर ‘स्टार्टअप २०–३०’ को भिजन बनाएका बारेमा मलाई जानकारी रहेको छ । सो भिजनमा कर छुट, स्टार्टअपलाई सहुलियपूर्ण कर्जा वितरण, स्टार्टअप कोष तथा बोर्ड गठनलगायत विषय समावेश छन् । त्यो नीति कार्यान्वयन भएको खण्डमा स्टार्टअपलाई विकसित रुप दिन सकिन्छ भन्ने लाग्छ । अन्तर्राष्ट्रिय बजारमा जे कुरा अहिले अभ्यास भइरहेको छ, त्यसको अध्ययन गरेर लागू गर्न सकेमा नेपालका लागि स्टार्टअप नै देश विकास तथा रोजगारी सिर्जनाका लागि कोसेढुङ्गा साबित हुनेछ । अबको समय भनेको स्टार्टअपकै हो । नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई ‘स्टार्टअप नेसन’ बनाउने र अन्तर्राष्ट्रियजगत्मा नेपालको परिचय दिने लक्ष्य लिएको छ । त्यसका लागि राष्ट्रिय नीतिअन्तर्गत कार्यक्रम तर्जुमा गर्नु पर्दछ भन्ने लाग्छ । प्रविधिको युगमा आवश्यक जनशक्ति जुनसुकै देशबाट पनि हायर गर्न सकिन्छ । अतः प्रविधिको दायरा फराकिलो भएको छ । नेपालभित्रै गुणस्तरीय उत्पादन आउन थाले भने अहिले आयात भइरहेको वस्तु विस्थापित हुनेछन् । नवप्रवर्तनले उत्पादकत्व बढाउनाका साथै आयातलाई प्रतिस्थापन गरी निर्यातसमेत बढाउनेछ । नेपालमा व्यवसाय सुरुआती चरणमा पुँजी व्यवस्थापन, सीमित अवधिका लागि कर छुट, बैङ्कको सहुलियत ब्याज दरमा कर्जा व्यवस्थापनलगायत पक्ष सरकारी नीतिमा स्पष्ट हुनुपर्ने देखिन्छ । त्यसैगरी, सम्भावना भएका व्यवसायको पहिचान गरी प्रोत्साहन गर्ने निति अवलम्बन हुनुपर्ने देखिन्छ । उद्यमशीलतालाई प्रोत्साहन उद्योग स्थापना गर्न सजिलो छैन तर उद्योगबिना राष्ट्रको अर्थतन्त्र उकास्न सहज हुँदैन । त्यसैले सरकारले स्वदेशी कम्पनी र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्छ । नेपाल सरकारले हाल ठूलो मात्रामा आयात भइरहेको कृषि जन्य व्यवसाय, सञ्चार प्रविधि व्यवसाय प्रवद्र्धन गर्नेतर्फ केन्द्रित गरेमा अर्वौं रुपैयाँको आयातलाई विस्थापन गर्न सक्नेछ । सूचना प्रविधिको क्षेत्रमा नेपाल सरकारले वार्षिक रु २० अर्बभन्दा बढीको सेवा खरिद गर्ने गरेको देखिन्छ । नेपाली उद्यमीले सफ्टवेयरमा सेवा दिन सक्छन् भन्ने मेरो बुझाइ छ । नेपाली कम्पनीलाई विश्व बजारसम्म पुग्ने आधार तय गर्नका लागि सुरुमा देशभित्रै सेवा गर्ने अवसर दिनुपर्दछ । बहुसङ्ख्यक देशहरुले विभिन्न सहज नीतिमार्फत उद्यमशीलतालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेका छन् । दक्षिण कोरियाले पनि विभिन्न उद्यमशीलता नीतिहरू अवलम्बन गर्दै आएको छ । स्टार्टअप नीतिका दुई मुख्य पक्षमध्ये उद्यमशीलताको भावना विकास गर्ने र स्टार्टअप पूर्वाधार विस्तार गर्ने रहेको छ । उद्यमशीलतालाई बढावा दिनका लागि शैक्षिक संस्था वा निजी संस्थाले प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयका विद्यार्थी, कलेजका विद्यार्थी, सामान्य वयस्क र इन्जिनियरहरूलाई उद्यमशीलतासँग सम्बन्धित शैक्षिक अवसरहरू उपलब्ध गराउँदै आएको छ । स्टार्टअप प्रतियोगिता आयोजनामार्फत विजेतालाई आफ्नै व्यवसाय सुरु गर्न आवश्यक सहयोग गर्ने गरेका छन् । स्टार्टअप पूर्वाधार विस्तार गर्नका लागि लगभग दुई सय ५० स्टार्टअप इन्क्युबेसन सेन्टरहरू निर्धारण गरिएको छ । विश्वविद्यालय वा अन्य अनुसन्धान संस्थालाई नवीनतम् व्यवसाय प्रवद्र्धन गर्ने संस्थाका रुपमा सञ्चालनमा मा ल्याइएको छ । कोरिया सरकारले व्यापार वा व्यवसाय सुरु गर्ने प्रारम्भिक चरणहरूमा सम्भावना देखिएका व्यवसाय छनौट गरेर सुरुआती चरण तीन वर्ष स्टार्टअप पुँजीका रुपमा न्यूनतम् ब्याजदरमा आवश्यक पुँजी उपलब्ध गराउँदै आएको छ । व्यवसाय सुरु गर्नु भनेको एक प्रक्रिया हो, जसमा उद्यमशीलताको भावना भएको व्यक्तिले निर्णय लिन्छ र जोखिम लिन्छ । यद्यपि विभिन्न स्टार्टअपका लागि सरकारी स्तरको सहयोग पर्याप्त नहुन सक्छ । तर सरकारी सहयोगले स्टार्टअप प्रक्रियाका लागि तयारी गर्न र सफलताको सम्भावना बढाउन तथा जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा उल्लेख गरेअनुसार आर्थिक वर्षमा सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइनाका साथै अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरेको अवस्था छ । कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिनाका साथै सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गर्ने कार्यक्रम आउनु सुखद पक्ष हो भन्ने लाग्छ । प्रदेश र स्थानीय तहलाई पनि उक्त कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने नीतिले नयाँ स्टार्टअपका लागि सकारात्मक भूमिका खेल्ने देखिन्छ । उद्यमशीलता प्रवद्र्धनका लागि कोरियाको सहकार्य मैले ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राष्ट्रपतिलाई नेपालमा उद्यमशीलतालाई प्रोत्साहन गर्न सहयोग गर्ने प्रतिबद्धतासहितको परिचय दिएको थिएँ । नेपाललगायत विकासोन्मुख देशहरूले ओडिएमा केन्द्रित विकास साझेदारी परियोजनाहरूका लागि बाह्य सहयोग प्राप्त गर्न आवश्यक भए तापनि आफैँले आफ्नो विकास र उत्पादन वृद्धि क्षमता विस्तार गर्न प्रयत्न गर्नु सकारात्मक पक्ष हो भन्ने लाग्छ । कोरिया र नेपालबीच विकास साझेदारी परियोजना सन्दर्भमा नेपाललाई विगत १५ वर्षदेखि निरन्तर प्रमुख विकास साझेदार राष्ट्रको सूचीमा समावेश गरेर परियोजना सञ्चालन हुँदै आएको छ । यहाँ केही स्टार्टअप सम्बन्धित परियोजनाहरुका बारेमा सामान्य जानकारी दिन चाहन्छु । कोइकाले नेपाली श्रम मन्त्रालय, उद्योग मन्त्रालय तथा स्विस सरकारसँगको सहकार्यमा सन् २०२३ बाट कोरियामा रोजगारको अनुभव लिएर स्वदेश फर्किएका आप्रवासी कामदारको स्थिर बसोबास, उद्यमशीलता विकास परियोजनालाई प्रवद्र्धन गर्दै आएको छ । हाम्रो लक्ष प्रवासी श्रमिकहरूले विदेशमा श्रम गर्ने अवधिमा तयारी, वित्तीय शिक्षा, र उद्यमशीलता विकास प्रशिक्षण गर्दै आएका छौँ । विदेश जानुपूर्व, विदेशमा श्रम गर्ने चरण, स्वदेश फिर्ताको चरणसहित प्रत्येक चरणका लागि उद्यमशीलता विकास प्रदान गरी स्टार्टअप नवीनतम् व्यवसाय सञ्चालनका बारेमा प्रोत्साहन गरिरहेका छौँ । त्यसैगरी, नेपाली वित्तीय संस्थासँगको संयुक्त लगानीबाट स्वदेश फर्केका कामदारलाई कम ब्याजदरमा स्टार्टअप पुँजी उपलब्ध गराउने योजना पनि कार्यान्वयन चरणमा छौँ । कोइकाको सहयोगमा एक प्रसिद्ध कोरियाली पशुपालन कम्पनीले गोर्खाको पालुङटार क्षेत्रमा बङ्गुर तथा कुखुरापालनका लागि व्यावसायिक इन्क्युबेसन सेन्टर निर्माण गरेर पशुपालन क्षेत्रमा सीप हस्तान्तरण गरिरहेको छ । उक्त बङ्गुर तथा कुखुरापालनको लागि स्टार्टअपका रुपमा प्राविधिक ज्ञान हस्तान्तरण र नेपालमा आधुनिक पशुपालन व्यवसाय सञ्चालन गर्न महत्वपूर्ण भूमिका खेल्छ भन्ने लागेको छ । त्यसैगरी, कोरियाको हान्दोङ युनिभर्सिटीले त्रिभुवन विश्वविद्यालय ग्रेजुएट स्कूल अफ बिजनेससँग सहकार्य गर्दै १० वर्षदेखि सामाजिक उद्यमशीलता प्रर्वद्धनका साथै स्टार्टअपका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै वर्ष दूतावासले कोरियामा रोजगारीको अनुभव भएका र नेपालमा फर्किएर सफलतापूर्वक व्यवसाय गरिरहेका २६ जना व्यवसायीको वास्तविकतामा आधारित सफल व्यावसायिक कथाहरू समावेश गरी “तपाईं पनि मालिक बन्न सक्नुहुन्छ” नामक पुस्तक प्रकाशित गरेको छ । हामीले ती स्टार्टअप सफलताका कथाहरूले प्रवासी श्रमिकका लागि विदेश जानुपूर्व तथा स्वदेश फर्केका विदेशमा रोजगारीको अनुभव भएका कामदारहरुका लागि उद्यमशीलता प्रोत्साहनको अपेक्षा लिएर दूतावासबाट प्रकाशित पुस्तक निःशुल्क रुपमा वितरण गरेका छौँ । वैदेशिक रोजगारीको अनुभव लिएका र नेपाल फर्किएका धेरै व्यक्तिले नेपालमा नै व्यवसाय सञ्चालन गरेर धेरैभन्दा धेरै रोजगारी सिर्जना होस् भन्ने लक्ष्य लिएर सहकार्य गर्दै आएका छौँ र भविष्यमा पनि निरन्तरता दिनेछौँ । हामी निकट भविष्यमा नै नेपाल समृद्ध राष्ट्र भएको हेर्न चाहना लिएर विभिन्न क्षेत्रमा विकास साझेदारी कार्यक्रममा हातेमालो गर्दै आएका छौँ । अन्त्यमा अन्तर्राष्ट्रिय मान्यताअनुसार युवा भनेको सामान्यतया १५ देखि २९ वर्ष उमेर समूहका मानिसको समूहलाई भनिन्छ । नेपालको परिवेशमा राष्ट्रिय तथ्याङ्क विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार कूल जनसङ्ख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । त्यसैगरी, करिब ५६ लाख युवा वैदेशिक श्रम बजारमा रहेको देखिन्छ । नेपाल युवा राष्ट्र हो । सम्पूर्ण जनसङ्ख्याको औसत उमेर २० को हाराहारी रहेको छ । नेपालमा स्टार्टअप इकोसिस्टमलाई विस्तार गर्न उत्प्रेरणा गर्ने लक्ष्यका साथ नेपालका युवालाई उद्यमशीलताका लागि आवश्यक समन्वय गर्न प्रयत्नरत छौँ । नेपालमा स–साना स्टार्टअपको माध्यमबाट रोजगारी सिर्जना होस् भन्ने हाम्रो चाहना छ । सुरुआत सानो भए पनि हरेक व्यवसायको वृद्धि क्षमता असीमित हुन्छ । कोरियाको बहुराष्ट्रिय कम्पनी साम्सङ एउटा सानो चामल पसलका रूपमा भएको थियो । त्यसैगरी, हुन्डाई मोटर्सले अटोमोबाइल मर्मत गर्ने सानो व्यवसाय सुरु गरेर आज विश्वव्यापी कम्पनीका रूपमा स्थान लिन सफल भएको छ । यी र यस्तै ठूला कम्पनीहरु कोरियाको उद्यमशीलता आर्थिक गतिशीलताको महत्वपूर्ण स्रोत बनेका छन् । नेपालमा पनि सुरुआती चरणमा स–साना व्यवसायबाट सुरुआत भएका धेरै स्टार्टअपले भविष्यमा नेपालको प्रतिनिधित्व गर्दै विश्वमा परिचय दिन सक्नेछन् । मेरो एक वर्षको अनुभवले वैदेशिक रोजगारीको अनुभव भएका व्यक्तिहरुले नेपालमा कृषि, उत्पादनमूलक क्षेत्र, सेवा क्षेत्र आदिमा व्यवसाय सञ्चालन गरेर धेरै व्यक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गरेको र भविष्यमा पनि यो सङ्ख्या बढ्ने अपेक्षा लिएको छु । (नेपालका लागि गणतन्त्र कोरिकाली राजदूतसँग गरिएको कुराकानीमा आधारित)
राजन सुवेदी: चुनावमा जस्तो नेतामा अरु बेलापनि तदारुपता देखिने भए..., हो म यही सोच्छु । र आम नागरिकको मनोभावना पनि यही छ । चुनावताका जनतालाई बाड्ने विकासे ललिपप र प्रतिबद्धताहरु नतिजाको रागहरुसँगै तुहिन्छन् । यो एउटा नजिर नै बनिसकेको छ । नेकपा माओवादीले २०६४ को पहिलो संविधान सभामा स्पष्ट बहुमत पाएर पनि जनचाहना अनुरुप सरकार चलाउन नसकेको स्मरणीय छ । त्यसको एक दशकपछि २०७४ मा नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको स्पष्ट बहुमतसहितको नेकपा सरकार बन्यो । तर नतिजा उही शुन्य । यी र यस्ता कयौं नजिरकै कारण नेपाली राजनीतिज्ञहरुसँग जनताको वितृष्णा कति छ भन्ने प्रष्ट हुन्छ । देशको राजनीतिक घटनाक्रमनै रोटेसन हुनुपछाडि राजनीतिज्ञहरुको भूमिका अहम छ । विगत कोट्याउने हो भने हरेक दशकमा राजनीतिक परिवेश र घटनाक्रम हेरफेर भएका छन् । २०१७ सालदेखि राजनीतिलाई केलायौ भने २०२७ साल, २०३७/०३८ साल २०४५/०५६ सालको आन्दोलन २०५२ देखि सुरु भएको जनयुद्ध, २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन यि सबै परिवर्तनका खातिर गरिएका आन्दोलन थिए । देशले राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको स्थितिमा देश आइपुगेको छ । जनताका अधिकारका लागि भएका यी घटनाक्रमपछिको अवस्था हेर्ने हो भने आशाका चाङहरु दिनानुँदिन थुप्रिरहेका छन् । निमुखा नेपाली नागरिकको आशाका चाङहरुलाई अब भने ठुला कहलिएका पार्टीहरुले नजरअन्दाज गर्न मिल्दैन । किनभने पछिल्लो समय भएको तीनै तहको निर्वाचनले जनताको मनोभावना उदृत भइसकेको छ । निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु विजय बनेको तथ्य हामीमाझ छ । यही चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी उदाउनु, राप्रपा लगायतका पार्टीले आकार बढाउनु र केही मधेसी दलसँगै ठुला दल कहलिएका नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रले अपेक्षित मत गुमाउनु जनता कुन तहसम्म आजित छन् भन्ने एउटा दरिलो प्रमाण हो । अहिले निर्वाचित स्थानीयदेखि प्रतिनिधिसम्मका जनप्रतिनिधिसँग जनताका केवल गुनामा मात्रै छन् । २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो, माओवादी केन्द्र तेस्रो र नयाँ उदय भएको रास्वपा चौथों दलको हैसियतमा छ । यस्तै राप्रपा , जसपा, जनमत, नागरिक उनमुक्ति , लोसपा लगायतमा दलको पनि सदनमा स्थान छ । सांसदको जोडघटाउ मिलान र नेकपा एमालेको आडमाप माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बन्यो । विभिन्न मुद्धाहरुमा मत विभाजन भएपछि माओवादी एमालेको सत्तासमिकरण टुट्यो । अहिले नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको छ । यससँगै ओली सरकारको सबल र दुर्बल पक्षको सर्बत्र चर्चा छ । ओली सरकारसँग नेपाली नागरिकको गुनासोसँगै आशाका चाङहरुपनि थुप्रै छन् । साँच्चिकै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई साकार पार्न र वाहवापी पाउने हो भने ओली सरकारले जनताको आशाका चाङहरुलाई अधिकतम घटाउनै पर्ने देखिन्छ । ओली सरकारसँग आम नेपालीको अपेक्षाका चाङलाई बुँदागत रुपमा उल्लेख गरेको छु । महंगी नियन्त्रण भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता संघीयता बारे सुक्ष्म समीक्षा विकाश निर्माण र रोजगारी शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार क्षेत्रमा आमुल परिवर्तन केही ऐन तथा कानून संसोधन (बाझिने खालका) विकास निर्माणसम्बन्धि सार्वजनिक नियुक्तिमा समानता र पारदर्शिता देशको आर्थिक समस्याको समाधान आर्थिक समस्यालाई सुधार्नका लागि निम्न प्रकारका क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक छ । १) पर्यटन (आन्तरिक र बाह्य ) २) उद्योग कलकारखाना स्थापना तथा वृद्धि र स्तरोन्नति ३) कृषि, पशु, वन, जंगल ४) जलविद्युत परियोजना ५) निजि क्षेत्रसँगको सहकार्य (उद्योग सञ्चालन र वृद्धि ) ६) लगानी सम्मेलनमार्फत आर्थिक भित्राउने अभियान ७) आर्थिक उत्पादन गर्ने स्थानीय तह र प्रदेशलाई प्रोत्सहान र पुरस्कार ८) जडिबुटी उत्पादन, बजारीकरण र नियमन (गुणस्तर परिक्षणसहित) ९) प्राकृतिक स्रोत तथा साधनको व्यापक उपयोग (राजन सुवेदी कस्कीको रुपा गाउँपालिका २ का वडाध्यक्ष हुन् ।)
काठमाडौं: अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।” यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निक्र्यौल गर्नु जरुरी छ । मुकारले जस्तै आफूभित्र भएका स्वतन्त्रताको सम्भावनालाई जगाऔँ । गरिब र मध्यम वर्गका हरेक व्यक्ति आर्थिक स्वतन्त्रताभन्दा सुरक्षाको खोजीमा हुन्छन् । विशेष गरेर लगानी, उद्यमशीलता तथा व्यवसायभन्दा रोजगारी र ज्यालामा बढी भरोसा मान्ने स्वभावका हुने गर्छन् । वास्तवमा तिनीहरु जेलाई सुरक्षित भनिरहेका छन् त्यो नै सबैभन्दा जोखिम हुने गर्छ । खासगरी नोकरीलाई जति मायाका साथ सुरक्षित ठानेका छन्, त्यो नै सबैभन्दा जोखिम हो । हाम्रा नीति, नियम र कानुनहरुलाई हे¥यो भने हामीले सुरक्षित ठानेको जागिरमा के कति जोखिम छ थाहा पाइहाल्छौँ । सम्झनुहोस् तपाईंले सबैभन्दा सुरक्षित ठानेको निजामती सेवा वा सरकारी संस्थानका नोकरीहरु किन असुरक्षित बन्न सक्छ ? तपाईं शारीरिक वा मानसिक रुपमा अशक्त हुनु भयो भने नेपाल सरकारले के तपाईंलाई तलब दिइरहन सक्छ ? पक्कै सक्दैन । सामान्यतया ९० दिन बिनाजानकारी गयल हुनुभयो भने पत्रिकामा सूचना निकालेर नोकरीबाट बिदाइको प्रक्रिया सुरु हुनेछ । अझ निजी संस्थामा त्योभन्दा कम केही दिन वा हप्तामा नै जागिर हुनेछ । तर एउटा मध्यम परिवारका मान्छे त्यसैलाई सुरक्षित ठान्छ र ‘धनी बुबा गरिब बुबा’ पुस्तकका लेखक रोबर्ट टी. कियोसाकीले भने जस्तै ‘मुसा दौड’ मा आफूलाई बाँचुन्जेल दौडाइरहन्छ । धनीहरु यसैका लागि पैसाको खेल खेल्छन् तर गरिबहरु यसलाई बुझेर व्यावसायिक प्रणाली विकास गर्नुभन्दा तलब र पदोन्नतिका लागि बढी मरिहत्ते गर्छन् । ‘द प्याराबल अफ द पाइपलाइन’ मा लेखक बर्क हेजेसले दुई पात्र पाब्लो र बु्रनोको उदाहरण प्रस्तुत गर्दै एउटा सामान्य मान्छे कसरी धनी बन्न सक्छ ? कसरी आम्दानीको प्रणाली विकास गर्न सक्छ ? र कसरी सम्पत्ति सिर्जना गर्न सक्छ ? यसले कसरी धनी बनाउन सक्छ ? भनेर प्रस्तुत गरेका छन् । खासगरी ब्रुनो र पाब्लो एउटा गाउँमा बाल्टिनमा पानी बोकेर बेच्न तल्लीन रहन्छन् तर पाब्लो हाललाई ब्रुनोले भन्दा कम आम्दानी भए तापनि सँगै गाउँदेखि खोलासम्म पाइपलाइन बिच्छ्याउन थाल्छ तर जब ‘पाइपलाइन’ ओच्छाएर सफलता मिल्छ तब दीर्घकालमा बु्रनोको भन्दा धेरै आम्दानी पाब्लोको हुन जान्छ । अर्थात् पाब्लोबाट ऊ ‘पाब्लो द पाइपलाइन विल्डर म्यान’ बन्न पुग्छ तर ब्रुनो ‘बकेट क्यारियर’ अर्थात् ‘बकेट म्यान’ नै भइरहन्छ । पाब्लो आर्थिक रुपमा स्वतन्त्र हुन पुग्छ, ऊ जाँदा वा नजाँदा, बिरामी हुँदा वा नहुँदा सबै अवस्थामा आम्दानी भइरहन्छ तर ब्रुनो आफैँले काम गर्दा मात्र आम्दानी हुन सक्ने अवस्थामा रहन्छ । सधैँ ‘टाइम फर मनी ट्र्याप’ मा परिराख्छ । धनीहरु सधैँ पाब्लो जस्तै पाइपलाइन बिच्छ्याउन रुचाउँछन् । उनीहरु जान्दछन् पाइपलाइन नै ‘लाइफलाइन’ हो । आर्थिक स्वतन्त्रताका लागि हरेकले आफ्नो आम्दानीको पाइपलाइन बनाउन आवश्यक छ । हरेक धनीसँग आफू जान चाहेको गन्तव्यको स्पष्ट मार्गचित्र हुने गर्दछ । गरिबहरु हावामा मुक्का हाने जस्तै जिन्दगीको बास्केटबलमा बिनाबास्केट ‘स्कोर’ गर्न खोज्छन्, अझ अगाडि बढेरभन्दा गोलपोष्टबिना नै फुटबलमा गोल गर्न रुचाउँछन् । यसले उनीहरुलाई उद्देश्यहीन र दिशाहीन यात्रामा बरालिदिन्छ तर धनीहरु सधैँ स्पष्ट ‘ब्लुप्रिन्ट’ बोकेर आफ्नो यात्रामा लम्कने गर्दछन् । सम्पत्तिका विषयमा हामी स्पष्ट हुन आवश्यक छ । सिक्नका लागि काम गरौँ, कमाउनका लागि होइन धनीहरुले पनि जागिर गर्नेगर्छन् तर कहिले त्यसैबाट आर्थिक स्वतन्त्रता पाउने विश्वास गर्दैनन् । केवल अनुभव, सीप, बचत र ज्ञान लिनका लागि रोजगारी गर्ने गर्छन् । उनीहरु नोकरीसँग त्यस्तो प्रेम गर्दैनन् जुन मध्यम परिवारकाले गर्ने गर्छन्, जसको भरोसामा जीविकोपार्जन र सेवानिवृत्त कुर्न सक्छन् तर धनीहरु कहिले आफ्नो समय पैसाका लागि बर्बाद गर्न तयार रहँदैनन् । उनीहरुलाई थाहा छ समय सीमित छ तर पैसा असीमित छ । १२ महिना काम गरेर केवल आठ महिनाको मात्रै पारिश्रमिक पाइन्छ, करिब ३० प्रतिशत अर्थात् चार महिनामाथिको ज्याला पहिला कर तिरेर भुक्तानी हुने महिना वारि वा पारि जान नदिने अभियानले मानिसको समृद्धि र सम्पन्नताको ढोका ढक्ढक्याउन सक्दैन । यसैले नोकरीभन्दा थप केही गर्न आवश्यक छ । छुटको ‘अफर’ धनीहरु पनि सेलमा खरिद गर्न रुचाउँछन् तर गरिबहरुले जस्तो दरबारमार्ग र महलहरुमा होइन । उनीहरुलाई थाहा छ, ती सेलहरुमा गरिएको खर्च कहिले फर्केर आउन सक्दैन । यसैले उनीहरु शेयर बजार, रियलस्टेट र प्रतिफलमुखी लगानीका क्षेत्रहरु जहाँ पैसा बनाउन सकिन्छ त्यस्तो स्थानमा सेल लाग्दा किन्न रुचाउँछन् । सबैभन्दा गम्भीर प्रश्न केहो भने ‘वारेन्ट बफेट’ले भने जस्तै तिमी आफूलाई नचाहिने वस्तु जम्मा गरेर बस्छौँ भने त्यसको बदलामा चाहिने सामान छुट्ने छ । यसैले सेलमा जानुभन्दा पहिला त्यसलाई बुझ्ने कोशिस गरौँ । पहिला आफूलाई भुक्तान गरौँ एउटा सामान्य व्यक्ति त्यही गर्छ जो हामी गर्ने गर्छौं अर्थात् आम्दानीबाट सबैभन्दा पहिला खर्च, नपुगेमा कर्जा सापटी र त्यति गर्दा पनि पैसा नसकिएमा बल्ल आफूलाई भुक्तानी गर्ने आम मानिसको आदत हो । बेबिलानको ‘सबैभन्दा धनी मानिस’ पुस्तकमा लेखक जर्ज एस। क्लासनले खाली पर्स भर्ने सातवटा तरिका बताएका छन् । त्योमध्ये ‘सबैभन्दा पहिला आफूलाई भुक्तान गर्नूहोस्” एक चर्चित तरिका हो । ‘हरेक बिहान १० वटा अण्डा बास्केटमा राख्नुभयो र साँझमा नौवटा मात्रै निकाल्न थाल्नुभयो भने त्यो बास्केट भरिन कति समय लाग्ला सजिलै अनुमान गर्न सकिन्छ । अर्थात् धनीहरुले १०÷९० को त्यो सूत्र सिकेका छन् । यसैले सबैभन्दा पहिला जुनसुकै अवस्थामा पनि १० प्रतिशत आफूलाई भुक्तान गर्छन् अनि मात्रै बाँकी खर्च गर्ने गर्छन् ।’ उनीहरु पैसालाई काममा कसरी लगाउने जान्दछन् । तर एउटा गरिब व्यक्ति आम्दानी बढेसँगै खर्च बढाउन थाल्छ, अनि खर्चलाई नियन्त्रण गर्न सक्दैन । यो नै सबैभन्दा महाभूल हो । धनको अनौपचारिक शिक्षा पढौँ स्कुल शिक्षा र भान्छाको टेबलमा हुने शिक्षाको तागत फरकफरक हुने गर्छ । राज्य र शिक्षा नीति नागरिकलाई आर्थिक स्वतन्त्रताभन्दा पैसाको दासत्व स्वीकार्न लगाउने प्रकृतिको छ । रोबर्ट टी कियोसाकीले भने जस्तै ‘९७ प्रतिशत मानिससँग भएको सम्पत्ति र तीन प्रतिशत धनीसँग भएको धनदौलत बराबर हुनुको एउटै कारण अनौपचारिक शिक्षा हो ।’ उनको तर्क छ हरेक धनी व्यक्ति र सामान्य व्यक्तिले स्कूलमा लिएको शिक्षा समान छ तर उमेर बढ्दै जाँदा सम्पत्तिको मामलामा नतिजा किन फरक आउँछ ? कारण एउटै छ ती तीन प्रतिशत सम्भ्रान्त व्यक्तिले औपचारिक शिक्षाको साथ घरमा नै थप अनौपचारिक शिक्षा पाउन सफल भए । यसैको परिणाम धनको सम्बन्धमा अनौपचारिक शिक्षा पाउनेहरुले जागिरका लागि तयार पार्ने, लोकसेवाका लागि प्रोत्साहित गर्ने र पैसाको लागि मेहनत गर्न सिकाउने सीमित शिक्षा लिएकाहरुलाई काममा लगाएर आफू आर्थिक स्वतन्त्रता पाउन सफल भए । औपचारिक शिक्षाले हाम्रो सोच यसरी डो¥यायो कि दशैँको टीका लगाउँदा र जन्मोत्सव मनाउँदासमेत आफ्ना सन्ततिलाई आशीर्वाद दिँदा ‘स्कूल जाऔँ, राम्रो नम्बर ल्याऔँ र सुरक्षित जागिर खोजौँ’ भन्ने गर्छौं हामीले कहिले स्वीकार गरेनौँ । स्कूलमा त पैसाका बारेमा सिकाइ हुँदैन, बरु सबै समस्याको जड पैसालाई देखाइन्छ । जुनकुरा धनीहरुले बुझे र आफ्ना सन्तानहरुलाई पलङको सिरानीमा पल्टँदै गर्दा सिकाउन र थाले तर कमजोर परिवारकाले थाहा नै पाउन सकेका छैनन् । धनको जादुका लागि औपचारिक मात्र नभई अनौपचारिक शिक्षा मूल कुरा हुन आइपुगेको छ । लगानीमा भिन्नता हेरौँ धनीहरु घाँटीमाथि लगानी गर्ने गर्छन्् । तालिम, शिक्षा र प्रशिक्षण दिएर आफ्नो दिमागी कसरत गरिरहन्छन् । एउटा धनसम्बन्धी सूत्रमा अभ्यस्त भएपछि फेरि नयाँ सूत्र सिक्न थाल्छन् । उनीहरुलाई के थाहा छ भने त्यो गरीब होस् वा धनी हरेक व्यक्ति पैसा आउने काम दोहो¥याएर गर्ने गर्छ । गरिबहरु मान्नुहोस् बिहान मन नभएर पनि एउटा सवारी चालक पैसाका लागि साधन लिएर सडकमा निस्कन्छ । अर्को जागिरे रातभर आफ्नो नोकरीलाई गाली गरेर पनि १० बजे कार्यालयमा पुग्न हतारिन्छ तर धनीहरु पनि पैसाका लागि एउटै काम बारम्बार गर्ने गर्छन् तर उनीहरु आफूलाई मन परेको काम गर्ने गर्छन् । यसका लागि उनीहरुमा सिक्ने क्रम तबसम्म चलिरहन्छ जबसम्म आफूमा निपूर्णता आउँदैन । उनीहरु सिक्न रमाउँछन् तर एउटा मध्यम परिवारको मानिस घाँटीभन्दा तल लगानी गर्न रुचाउँछ । आफूलाई सम्पन्न देखाउन ब्रान्डेड कपडा, जुत्ता र चस्मामा लगानी गर्छ । अझ साथी र छिमेकलाई देखाउनकै लागि ठूला घर र गाडीहरु खरिद गर्छ । कहिले फिर्ता नहुने दायित्व बनेर भरिएको पर्स रित्ताउन मात्रै लागिपर्छ । यसले प्रतिफल दिन सक्दैन जुन कुरा धनीहरुले बुझेका हुन्छन् । प्रतिफल छिटो हुन सक्छ तर छोटो बाटो असम्भव आफैँ अर्बपति बनेकाहरु हेनरी फोर्ड र थोमस एडिसनजस्ता दुई हजारभन्दा बढी सफल व्यक्तिका बारेमा २० वर्ष लगाएर अध्ययन गरी लेखिएको ‘सोच्नुहोस् र धनी बन्नुहोस्’ पुस्तकका लेखक नेपोलियन हिलले लेखेका छन्, “‘गर्भे चिट्ठा’ नपरेका अर्बपतिहरुले कहिले छोटो बाटोबाट आफूलाई स्थापित गर्न सकेनन् र छोटो बाटोको रुचि पनि राखेनन्, जब सफलता नजिक आएको थाहा पाए तब छिटो हुने उपाय भने खोजी गरेको देखियो ।” कैयौँ छिटो सफल पनि भए । स्वयं वारेन्ट बफेटलाई हेर्ने हो भने जीवनको आठ दशक लगानी गरेर उनले बनाएको सम्पत्ति यदि त्यसको आधा दशक मात्रै गरेर छोडिदिएका भए के आजको यो सम्पन्नता सम्भव थियो ? अवश्य थिएन । यसैले धनीहरुले कारोबारी भएरभन्दा व्यवसाय र उद्योग नै स्थापना गरी लामो समयको अन्तरालमा शेयर बेचेर धनी भएको देखिन्छ । शेयर किनेर मात्र नभई सम्पत्ति सिर्जना र त्यसको शेयर बेचेर धनी हुन जान्नु आवश्यक छ । तर गरिबहरु आजको केही दिन वा हप्तामा लगानी गरेको दोब्बर वा कैयौँ गुणा सम्पत्ति बढ्ने लोभमा लगानी गर्ने गर्छन्, त्यो लगानी र व्यवसायमा सम्भव छैन । त्यसका लागि चिट्ठा किन्नु उपयुक्त हुन्छ । यसैले बफेटले भने जस्तै ‘लामो गतिमा दगुर्ने घोडामा बाजी लगाउनेहरुले कहिले हार्नु पर्दैन’ । धनीहरुले त्यो जानेका हुन्छन् । समग्रमा धनीहरुले मानिसको दिमागमा संसार हल्लाउन आउने विचारलाई कसरी वस्तुमा परिर्वतन गर्न सकिन्छ निरन्तर सिकिरहेका हुन्छन् । नयाँ सोच विकास गर्न र विकास भएका सोचलाई धनमा बदल्न आफूलाई निरन्तर प्रशिक्षित गर्दै आएका छन् । पैसाको सिद्धान्त पढेर नभई अभ्यासबाट मात्रै सम्भव देखिन्छ । यसैले धनीहरु शून्यबाट एक हुन सम्पत्ति सिर्जनाका नयाँ खोजमा निरन्तर आफूलाई लगाइरहेको देखिन्छ । सम्पत्तिको परिभाषा फेरिएर ‘टाइम इज मनी’ को स्थानमा ‘आइडिया इज मनी’ हुन आइपुगेको छ । संसारका केही धनीलाई उदाहरणका रुपमा लिने हो भने एलन मक्सले विवाइडी इलेक्ट्रिक भेकल, जेब बेजोफले अनलाइन कारोबार अमेजन र जुर्कर वर्कले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सम्पत्ति सिर्जना गरेर विश्वमा राज गरिरहेका छन् । हाल एलन मक्स न्युरोलिङ्कमार्पmत सम्पत्ति सिर्जना गर्न तल्लीन छन् । सबैभन्दा चाखलाग्दो विषय त आर्टिफिसियल इन्टेलिजेन्ट (एआई), द्रुतगतिको इन्टरनेट र रोबर्टको विकास जस्ता आधुनिक प्रविधिले गर्दा हिजो पाँच÷छ दशकमा जन्मने अर्बपति अहिले दुई÷तीन वर्षमा सजिलै सम्भव बनेको छ, जुन अनुसन्धान र विकासमा धनीहरु निरन्तर छन् । अर्कोतिर धनीहरु सधैँ छिटोभन्दा छिटो आर्जित आय (तलब र ज्याला आदि) लाई निष्क्रिय आय (भाडा र ब्याज आदि) र पोर्टफोलियो आय (शेयर र बन्डलगायत कागजी सम्पत्ति आदि) मा रुपान्तरण गर्न सक्रिय रहने गर्छन् । उनीहरुले बुझेका हुन्छन्, आर्जित आयलाई जतिछिटो बिर्सन सकिन्छ र बाँकी दुई आयको आकार र क्षेत्र बढाउन सकिन्छ । ‘फाइनान्सियल इनडिपेन्डेन्सी’ पुस्तकमा लेखक ग्रेन्ट सबाटियरले भने जस्तै ‘जीवनमा उति चाँडो आर्थिक स्वतन्त्रता र सेवा निवृत्ति लिन सम्भव छ’ । यसैले हरेक व्यक्तिले आम्दानीको पाइपलाइन, सम्पत्ति सिर्जना र आय रुपान्तरण कला जान्न, सिक्न र आफ्ना बालबालिकालाई सिकाउन थालौँ । धनीले कसरी खेल्छन् पैसाको खेल रु पढेर मात्रै पुग्दैन अलिकता अगाडि बढेर आफ्नो जीवनमा अभ्यास गरेर हेरौँ । (लेखक शेयर बजारका जानकार हुनुहुन्छ)
काठमाडौं: साउन महिना बहुत मोहक र मादक हुन्छ । यतिखेर बर्सिएको रिमझिम वर्षामा सर्वत्र उल्लास छाइरहेको हुन्छ, प्रकृतिका जीव, जीवात्मामा आनन्दको बीज फुटिरहेको हुन्छ, झिलिकमिलिक चम्किएको बिजुलीले आकाशको शोभा बढाइरहेको हुन्छ, आकाशमा नीलो चमकदार रङको बादल छाएर सप्तरङ्गी इन्द्रधनुष देखिन थाल्छ, चराचर जगत्मा हरियाली छाइरहेको हुन्छ । धर्तीको यस्तो अपूर्व सौन्दर्य देखेर बादलले प्रेमीको रूप धारण गर्छ । प्रेमरूपी वर्षा गराउन थाल्छ र हाम्रा स्वभावहरू पनि प्रकृतिअनुसार बदलिइरहेका हुन्छन् । साउनले हामीभित्रको प्रकृतिलाई पनि झक्झकाइरहेको हुन्छ । पूर्वीय वैदिक सभ्यतामा शिव प्रकृतिसँग जोडिएका छन् । जीवनको मूल तत्त्व भन्नु नै सत्यम्, शिवम्, सुन्दरम् हो । भगवान् शिव प्रकृति स्वरूपा हुन् । चार अक्षरले बनेको भगवान् शब्द आफैँमा प्रकृतिसँग जोडिएको छ जुन ‘भग’ र ‘आन’ मिलेर बनेको छ जसको अर्थ हुन्छः ‘भ’ को अर्थ भूमि, ‘ग’ को अर्थ गगन, ‘व’ को अर्थ वायु, ‘अ’ को अर्थ अग्नि र ‘न’ को अर्थ नीर९जल० । मानव शरीर यही पञ्च महाभूतले बनेको छ । यो पञ्च तत्त्व नै रुद्र हो । जन्मबाट मोक्षसम्म हाम्रा साथमा जे जान्छ, त्यो नै शिव हो जुनबिना प्रकृति छैन, पूजा छैन, जीवन छैन, मृत्यु पनि छैन । देवाधिदेव महादेव हाम्रा आलोक हुन्, भूमण्डल हुन् । अरू देवीदेवताको जन्मकथा प्रचलित छ तर उनी अजन्मा छन् । सृष्टिको रचनापूर्व पनि शिव नै थिए, सृष्टिको समाप्तिमा पनि उनी नै रहनेछन् । उनको अर्धनारीश्वर रूपले प्रस्ट प्रकृति ९महिला० र पुरुष दुवै उनै हुन् । वैदिक मान्यतानुसार उनी अनन्त हुन्, निर्माता हुन्, संहारक हुन्, अँध्यारो हुन्, उज्यालो हुन्, आन्दोलन हुन्, शान्ति हुन् । पृथ्वीको सारा शक्ति यहवी पञ्चाक्षरी मन्त्रमा टिकेको छः ॐ नम शिवायः । ॐ शिवजीको एउटै महामन्त्र हो । ॐ शब्द अ, उ र म मिलेर बनेको छ जसको सम्बन्ध पनि प्रकृतिसँगै छ ः अ– आकार अर्थात् मस्तिष्क, उ –उकार अर्थात् उदर र म – मकार अर्थात् मोक्ष । हाम्रा सारा क्रियाकलाप त्यही शिवतत्त्वद्वारा निर्धारित हुन्छ । हाम्रा आचरण, व्यवहार, कर्म, भोगाइ सबैमा शिव छन्, लोकका नशानशा प्रवाहित छ्न् । हाम्रा लोकगाथाहरू सुरु गर्दा एकादश रुद्रको आराधना नगरी सम्पन्न हुन सक्दैन भन्ने तथ्य पूर्व अरूण उपत्यकाको सङ्कलनमा रहेको मारूनी नाच्दा बन्धन बाँधिने शशीका यी गेडाहरूले व्यक्त गर्छन्ः ‘एकै र मुखे रुद्राक्ष माला हो गला है भिराँैला सखी गला है भिरौंँला जन्तरै बाँधौँला, मन्तरै बाँधाँला जुरावन्ती नारी हो सखी शरण ’ वैदिक सभ्यताअनुसार साउन शिवको अति प्रिय महिना हो । शिवत्व भनेको तपस्या, ध्यान र चिन्तनको बाटो हो । जब हामी यस बाटालाई अँगाल्छौँ, तब हामीमा शक्ति र ऊर्जा प्राप्त हुन्छ । यसबाट हामी अभय हुन्छौँ । जब हामीभित्र ऊर्जा प्रवाहित हुन्छ, शिव नृत्य गर्न थाल्छन् । प्रकृति आफ्नो रसरागसहित लीला गर्ने हुनाले पनि शिवलाई साउन प्रिय छ । वर्षको चौथो महिनाले हामीभित्रको प्राकृतिक शक्तिलाई बुझ्ने अवसर पनि प्रदान गरिरहेको हुन्छ । तप, ध्यान र चिन्तनद्वारा साउनमा शिवजीसँग गरिने साक्षात्कारले हामीलाई दिव्य प्रकृति र परम तत्त्व बुझ्ने अवसर प्रदान गर्छ । साउनमा महादेवलाई जल चढाइन्छ । पौराणिक कथानुसार समुद्र मन्थन गर्दा कालकूट विष निस्कियो । त्यसले सारा संसारलाई दग्ध गर्न खोजेपछि उनले त्यसलाई आफ्नो गलामा स्थापित गरे । यसरी उनको नाम नीलकण्ठ राखियो । विषको जलन रोक्न सारा देवताले गङ्गाजल चढाए । गङ्गा जलले शङ्करको जलन शान्त भए झैंँ साउनले धर्तीको जलन शान्त पार्छ । यसैले पनि साउन र शिवको गहिरो र सम्बन्ध छ । साउन महिना शिवको भक्तिको महिना हो । पुराणानुसार यो श्रावण नक्षत्र पूर्णिमामा पर्छ । त्यसैले साउनलाई श्रावण पनि भनिएको हो । हिन्दू पञ्चाङ्गानुसार वर्षको पाँचौँ महिना साउन महिना पर्छ । यसलाई हिन्दू आस्थाको प्रतीक मानिन्छ जुन प्रत्यक्ष रूपमा धार्मिक भावना र आस्थासँग जोडिएको छ । यतिखेर हिन्दू देवीदेवताका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । प्रायः यतिखेर शाकाहार भोजन गरिन्छ, व्रत, उपवास गरिन्छ, शिव महिमाको गीत गाइन्छः ‘उनै शिवजीको उनै शिवजीको नागको माला, बाघको छाला उनै शिवजीको’ हिन्दू धर्ममा सोमबारको सधैँ महत्त्व छ तर साउनको सोमबारको विशेष महत्व छ । यो सोमबार पूर्णतः शिवमा नै समर्पित छ । यतिबेला महिला, पुरुष दुवै व्रत बस्छन्, उपासना गर्छन् । विशेषगरी कुमारीहरू शिव जस्तै वर पाइयोस् भन्ने कामना गर्दै व्रत बस्छन् । सोमबारको व्रतबारे लोकमा एक कथा प्रचलित छः कुनै दिन शिव र पार्वती अमरावती नामक सहरको नजिकबाट जाँदै थिए । दुवै आराम गर्न एउटा मन्दिरमा रोकिए र समय बिताउनलाई खेल खेल्न थाले । खेलका क्रममा पार्वतीले पुजारीलाई कसले जित्छ भनेर भविष्यवाणी गर्न आग्रह गरिन् । पुजारी शिवको भक्त थियो । उसले सोचविचार नगरी आँखा चिम्लिएर शिवले जित्ने ठोकुवा ग¥यो । पछि पार्वतीले खेल जितिन् । उमाले उसको लापरबाहीका निम्ति कोढी हुनु परोस् भन्ने श्राप दिइन् । पुजारीलाई धेरै समयसम्म कोढी भएर बस्नु प¥यो । एक दिन स्वर्गबाट आएका परीहरूले उसलाई सोमबारको व्रत लिने सल्लाह दिए । व्रतपश्चात् ऊ पूर्ण रूपमा स्वस्थ भयो । सो घटनाको बेहोरा टाढाटाढासम्म फैलियो । त्यही दिनदेखि सो व्रतलाई प्रभावशाली मान्न थालियो । यसैले पनि साउनको सोमबारको विशेष महत्त्व छ । शिवरात्रि भन्ने बित्तिकै हाम्रो मानसपटलमा फागुनको महाशिवराशि आउँछ तर एक वर्षमा बाह्र शिवरात्रि पर्छ । त्यसमध्ये एउटा साउनको शिवरात्रि हो । यो शिवरात्री श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा पर्छ । यस दिनलाई विशेष महत्त्वको मानिन्छ । यही दिन काँवर यात्रीहरूले बोल बमका नारा घन्काउँदै शिवालयमामा जलले अभिषेक गर्छन् । शिव कल्याणकारी हुन् । उनी मात्र एक लोटा जलले पनि प्रसन्न हुन्छन् तर पनि साउनमा महादेवको पूजाको दौरान भक्तजनहरूले बेलपत्रसँगै बेलको फूल पनि चढाउँछन् । भनिन्छ यो फूल शिवको प्रिय फूल हो । यो फूल चढाउनाले पतिपत्नीबीचको सम्बन्ध गाढा हुनाका साथै सन्तान प्राप्तिको आशीर्वाद मिल्छ भन्ने लोकविश्वास छ । यो महिना उनलाई भाङ पनि चढाइन्छ । पुराणको कथानुसार विष पान गरेपछि उनको डाह शान्त पार्ने जडिबुटीमा भाङ पनि सामेल गरिएको थियो । उनको अर्को प्रिय फूल धतुरोको फूल हो । भक्तहरूले प्रायः यो फूल पनि चढाउँछन् । महादेवलाई अभिषेक गर्दा काँचो दुध पनि चढाइन्छ । यसलाई शुद्ध र पवित्र मानिन्छ । काँचो दुध चढाउनाले भक्तको मनोकामना पूर्ण हुन्छ भन्ने लोकविश्वास छ । शिवको पूजाका दौरानमा शिवलिङ्गमा मह पनि चढाइन्छ । यसो गर्नाले सबै पाप हट्नाका साथै व्यक्तिलाई मोक्ष प्राप्त हुन्छ भन्ने कथा प्रचलित छ । पूजा गर्दा ज्यादाजसो यस्ता मन्त्र जपिन्छः ‘ॐ त्रयम्बकं यजामहे सुगन्धित पुष्टि वर्धनमं । उर्वारुकमिव बन्धनाम् मृत्योमुक्षीय मामृतत । कर्पुर गौरं करुणावतारं, संसार सारं भुजगेन्द्रहारं सदा वसतं हृदयारविंदे, भवं भवानीसहितं नमामी ।’ शङ्करको प्रिय साउनमा धार्मिक आस्थासँग जोडिएका ऋषितर्पणी (जनैपूर्णिमा), गाईजात्रा, हरिशयनी एकादशी आदि पनि पर्छन् । यो महिना किसानका निम्ति पनि महत्त्वपूर्ण मानिन्छ । यतिखेर बर्सिएको वर्षा बालीनालीका निम्ति अमृत समान हुन्छ । ग्रीष्मको भीषण तापले सुकेका ताल, तलाउ, पानीका मुहानमा पनि यतिखेर नवजीवन सञ्चार भइरहेको हुन्छ । यी सबैका पछाडि शिरमा गङ्गा बोकेका शिवले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् भन्ने जनविश्वास छ । वास्तवमा साउन प्रकृति, ईश्वरसँग जोडिने र शिवभक्तिका निम्ति उत्तम महिना हो । शिव हाम्रा आदिदेव हुन् । उनको स्मरणले मात्र पनि हाम्रा दुःखहरू टाढा भाग्छन्। ॐ नम शिवाय: (लेखक नेपाली लोकसाहित्य र संस्कृतिका जानकार हुनुहुन्छ)
काठमाडौं: इतिहासको खोज र लेखनमा आजीवन आफूलाई समर्पित गरेका साधक ज्ञानमणि नेपालले ९२ वर्षको उमेरमा भौतिक देह त्याग गरेको धेरै समय भएको छैन । उनको साधनाबाट तीन दर्जनभन्दा बढी इतिहासका महत्वपूर्ण ग्रन्थहरु नेपाली समाजले प्राप्त गर्नु सामान्य उपलब्धि होइन । नेपाल देशको नाम कसरी नेपाल रहन पुग्यो भन्ने विषयको जिज्ञासा मेट्न उनले लेखेको “नेपाल निरुक्त” र “नेपालनिरुपण” पढे पुग्छ । इतिहासमा लामो कालखण्ड नेपाली राजनीतिको केन्द्रको रुपमा रहेको राजदरबारभित्र हुने गरेका षडयन्त्र, काटमार र खतरनाक खेलचुक्लीले देश कहाँ पुग्यो भन्नेबारे जिज्ञासा मेट्न उनको “नेपालको महाभारत” पढे पुग्छ । यस्ता महत्त्वपूर्ण इतिहासका ग्रन्थहरु देशका लागि समर्पण गरेर भौतिक रुपमा यो संसारसँग विदा माग्ने बेलामा पनि उनको सक्रिय चेतनाले नेपालको इतिहाससम्बन्धी चिन्ता ब्यक्त गरिरहेको उनीसँग भेट गर्न जानेहरुको अनुभव पढ्दा र सुन्दा थाहा हुन्छ । तर एउटा दुःखको कुरा के भने यतिका वर्ष इतिहासकार ज्ञानमणि नेपालले देशको इतिहास अन्वेषण र लेखनमा आफूलाई समर्पण गरे तापनि उनलाई राष्ट्रिय स्तरका पुरस्कार र सम्मान मिलेको खबर सुन्ने, हेर्ने र पढ्ने अवसर पाइएन । उनको छाँतीमा तक्मा सजिएको पनि देख्न पाइएन । यस अर्थमा ज्ञानमणि नेपालले देशका लागि जे जति दिए, बरु जीवनमा केही नलिई गए । सायद गीताको निष्फल कर्मप्रति उनलाई विश्वास थियो, त्यसैले यसबारे उनले कतै कहीँ गुनासो गरी लेखेको वा अन्तर्वार्ता दिएको पढ्न, हेर्न र सुन्न पाइएको छैन । ज्ञानमणि नेपालजस्ता सच्चा साधकले पुरस्कार वा सम्मान मागेर हिड्न पनि सुहाउने कुरा पनि भएन । यो त पुरस्कार तथा सम्मानका संस्थापक र ब्यवस्थापकहरु स्वयम्ले मूल्याङ्कन गर्ने पक्ष हो । तर इतिहासकार नेपालको जीवनभर उनको पक्षमा यस्तो मूल्याङ्न भएको देखिएन । अर्का इतिहासकार दिनेशराज पन्तका शब्दमा इतिहासकार नेपाल मुर्खमण्डलीको घेराबन्दीमा परे । मुर्खमण्डलीले इतिहासकार नेपालको योगदानको बारेमा सोधीखोजी गर्न आवश्यक नै ठानेन । हराउँदैछ विद्वत पूजा परम्परा राजा जनक यस्ता राजा थिए, जसको दरबारमा विद्वानहरुको नियमित जमघट हुन्थ्यो, शास्त्रार्थ चल्थ्यो । शास्त्रमा ठूलो विश्वास थियो, राजा जनकमा । राजा जनककै समयमा एउटा अत्यन्तै तीक्ष्ण दिमागका किशोर थिए । उनको शरिर आठ ठाउँमा बाङ्गिएकाले उनको नाम नै अष्टाबक्र थियो । शरिर अनाकर्षक र कुरुप भए पनि अष्टाबक्र साधनाले खारिएको दार्शनिक र शास्त्रज्ञानी थिए । एक दिन राजा जनक घुम्न निस्किएका थिए । उनले बाटामा ऋषि भेषधारण गरेका एक ब्यक्तिलाई देखे । उनी तत्कालै घोडाबाट ओर्ले, र ऋषिलाई प्रणाम गरे । तर ऋषिको अत्यन्तै अनौठो र अनाकर्षक शरिर देखेर राजा जनक तीनछक्क परे । अष्टाबक्रले थाहा पाइहाले कि, राजा जनकले आफ्नो शरिर देखेर आफूप्रति घृणाको धारणा बनाइरहेछन् । त्यसपछि उनले राजा जनकलाई भने,“हे, राजन् १ कुनै पनि मन्दिर टेढो भएर त्यो माथिको आकास टेढो हुँदैन । कुनै पनि मन्दिर गोलो वा लाम्चो हुँदैमा आकास पनि गोलो वा लाम्चो हुने होइन । किनकी आकासको मन्दिरसँग कुनै सम्बन्ध हुँदैन । आकास मन्दिरजस्तो आकारयुक्त हुँदैन, निराकार हुन्छ । त्यस्तै आत्मा पनि निराकार हुन्छ । आत्मा आकासजस्तै निराकार भएकैले नित्य हुन्छ, तर शरिर अनित्य हुन्छ । शरिरको बाङ्गोटिङ्गो आकार आत्मामा आउन सक्दैन । त्यसैले हे, राजन् ! ज्ञानीहरुसँग आत्मदृष्टि रहन्छ भने अज्ञानीसँग केवल चर्मदृष्टि रहन्छ । चर्मदृष्टि त्यागेर आत्मदृष्टि ग्रहण गरी जब हेरिन्छ, तब चित्तबाट घृणा दूर भएर जान्छ । चर्मदृष्टिबाट त अज्ञानीले मात्रै हेर्छ, ज्ञानीहरुले चाहिँ आत्मदृष्टिबाट हेर्छ ।” अष्टाबक्रको यस्तो विद्वत वाणीले राजा जनक तत्काल पग्लिहाले । उनले अष्टाबक्रलाई आफ्नो दरबारमा आउन निम्तो दिए । आफ्नो दरबारमा सम्मानजनक आसनमा बसाई राजा जनकले अष्टाबक्रसँग अनेकौँ जिज्ञासाहरु राखे । उनै राजा जनकको प्रश्न र अष्टाबक्राको उत्तरले कालान्तरमा “अष्टाबक्र गीता”को जन्म भयो । यसलाई पूर्वीय दर्शनमा महत्त्वपूर्ण ग्रन्थ मानिन्छ । उनै अष्टाबक्रजस्ता विद्वत प्रतिभाहरुको कदर गर्ने भएकाले राजा जनकको नाम आज पनि श्रद्धाका साथ लिइन्छ । हाम्रो देशमा विद्वानहरुसँग नजिक हुने, उनीहरुसँग जिज्ञासा राख्ने र उनीहरुबाट ज्ञान र दर्शनहरु सङ्ग्रह गर्ने परम्परा क्रमशः हराउँदै जान थालेको छ । त्यसमाथि पनि ज्ञानमणि नेपालजस्ता विद्वत इतिहासकारहरुले बडो मेहनत गरेर तयार पारिदिएका ग्रन्थहरु पढ्ने, त्यसको विश्लेषण गर्ने र पाठ सिक्ने परम्परा अब एकादेशको कथाजस्तै हुन पुगेको छ । यस्तो परम्परा कायम रहे देशमा मुर्ख वा तजबिजी पुस्ताको मात्रै जन्म हुनेछ । विद्वत् पूजा परम्परा हराउँदै जाँदा बौद्धिक जगत पाखा पर्दै जानेछन् । देश र समाजलाई मार्गदर्शन गर्ने पक्ष पाखा पर्दै जाने क्रम जारी रहे देश कहाँ पुग्ला ? विद्वत् पूजाको दूर्लभ अभियान एक जना अभियन्ता छन्, जो लामो समयदेखि विद्वत पूजा अभियानमा एक्लै जस्ता छन् । उनी हुन्, शेषराज शिवाकोटी । लामो समय न्यायसेवामा समर्पित उनी हाल सेवानिवृत्त छन् । उनी विद्वत पूजालाई नै आफ्नो धर्म र कर्म ठान्दै स्वयम्सेवा गरिरहेछन्, लामो समयदेखि । शिवाकोटी बेलाबेलामा विद्वत ब्यक्तित्वहरुको सम्मान गर्छन् र उनीहरुलाई केवल ताम्रपत्र र दोसल्लाले सम्मान गरेर औपचारिकता मात्र निर्वाह गर्दैनन्, सम्मानीत प्रतिभाको अभिनन्दन ग्रन्थ नै प्रकाशित गर्छन् । एकै व्यक्तिको अभिनन्दन ग्रन्थको सङ्ख्या धेरै पनि हुनसक्छ । उदाहरणका लागि, एकै जना विद्वान नयराज पन्तको विषयमा उनले ३० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित गरेका छन् । जीवित हुँदा १० र निधनपछि २० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित भए । यस्तै रोचक घिमिरेबारे १० र धनबज्र बज्राचार्यबारे नौ अङ्कसम्म अभिनन्दन ग्रन्थ प्रकाशित गरेर विद्वत पूजा परम्परालाई धानेका उनले प्रकाश दर्नालसम्म आइपुग्दा अभिनन्दन ग्रन्थ प्रकाशन हुने “ज्ञानगुन”ले दुई सय २४ अङ्क पार गरिसकेको छ । नारायणगोपाल र पारिजातको निधनपछि यस्ता स्मृति र अभिनन्दन ग्रन्थ प्रकाशनमा ल्याउने चलन चलाएका उनले जीवित ब्यक्तित्त्वहरुको पनि अभिनन्दन ग्रन्थ प्रकाशित गर्न पर्छ भन्ने मान्यताका साथ प्रशिद्ध हास्यब्यङ्ग्यकार बासुदेव लुइँटेलबाट यस्तो चलन सुरु गरे । हालै भौतिक रुपमा यो संसारबाट टाढा हुन पुगेका इतिहासकार ज्ञानमणि नेपालका बारेमा पनि तीनवटा अभिनन्दन ग्रन्थ शिवाकोटीले प्रकाशनमा ल्याए । शिवाकोटीले २०७९ माघ २७ गते श्रीपञ्चमीमा “ज्ञानगुन”को दुई सय ११ औं अङ्कलाई इतिहासकार नेपालको औँ शुभजन्मोत्सव अङ्कका रुपमा प्रकाशित गरेर नेपालको ९१ औँ जन्म दिनलाई भब्यता प्रदान गरेका थिए । यसरी विद्वानहरुको पूजा परम्परा कायम राख्दा शिवाकोटीले ब्यहोर्नु परेको अवस्थाको बान्की पनि अचम्मको छ । कुनै बेला नयराज पन्तको स्मृतिमा कार्यक्रम आयोजना गर्दा एउटा सानो कोठामा आफूसहित सात जना मात्रै भेला हुनु परेको पनि शिवाकोटीका लागि बिर्सिनसक्नुको घटना हुन पुगेको छ । हुन त असल मानिसहरुको सानो जमात् मुर्खमण्डलीको ठूलो भीडभन्दा कैयौँ गुणा उत्तम हुन्छ । मुर्खको उपदेशभन्दा विद्वानको गाली महिमायोग्य र उपयोगी हुन्छ । सिद्धार्थ गौतम जब ज्ञान प्राप्त गरेपछि बुद्ध बने, त्यसबेला उनको उपदेश सुन्ने केवल चार जना मात्रै थिए । तिनै चार जना बुद्धको सन्देश बोकेर चारैतिर फैलदा बुद्धका अनुयायीहरु प्रशस्तै जन्मिए । विद्वत् पूजा परम्परा धानिरहेका शिवाकोटीजस्ता दुर्लभ अभियन्ताहरुलाई पनि राज्य र समाजले चिन्न आवश्यक छ । केका लागि विद्वत् पूजा ? समाजका घटनालाई सुक्ष्मतम दृष्टिकोणले अध्ययन गर्ने र अनुभवहरुलाई समेत निफनेर घटनाका कारणहरु पत्ता लगाउने काम समाज विज्ञानका विद्वानहरुले गर्ने गर्छन् । समाजका घटना र अनुभवहरुको अध्ययन र विश्लेषणबाटै सामाजिक दर्शन र सिद्धान्तहरुको प्रतिपादन हुन्छ । यसका लागि विशेष धैर्यता, बुद्धि र मेहनत आवश्यक हुन्छ । साधनाबिना यस्ता कठिन काम सम्पन्न हुन सक्दैन । मानिसले एउटै दर्शन वा सिद्धान्त प्रतिपादन गर्न पनि सम्पूर्ण जीवन समर्पण गरेको उदाहरण प्रशस्तै पाउँछौँ । विद्वत् वर्गबाट प्रतिपादित दर्शन वा सिद्धान्तले समाज र राज्यलाई उचित दृष्टि दिन्छ । यसले शान्ति, प्रगति, उन्नति र भातृत्वको विकासमा सयोग पुर्याउँछ । त्यसैले विद्वत् वर्गबाट राज्य र समाज ऋणी हुन्छ । त्यहीँ ऋण चुक्ता गर्न पनि विद्वत पूजा परम्पराको आवश्यकता हुन्छ । जुन देशमा विद्वत पूजा हुन्छ, त्यो देश जहिल्यै प्रगतिपथमा लम्केको हुन्छ । इतिहासकार ज्ञानमणि नेपालले आफ्नो बुद्धि र साधनाले देश र समाजलाई ऋण बोकाएर गएका छन् । (लेखक राजकुमार दिक्पाल पत्रकार हुनुहुन्छ)
काठमाडौं: गएको जेठ १५ गतेका सामाजिक सञ्जालहरुको सरसर्ती सर्भे गर्ने हो भने जनताको धेरै असन्तुष्टि पोखिएको भेटिन्छ । प्रश्न एउटै छ– गणतन्त्रले के दियो ? जनताको यो प्रश्नमा जनताकै जवाफ खोजी पसे अनेकन व्यथा र वास्तविकताको बेलिविस्तार छ त्यहाँ । मुलुकमा गणतन्त्र आएपछि नेताहरुले खाना, छाना र नाना सुनिश्चित हुने बताएको भए पनि जनतासम्म यो आश्वासन अनुसारको ‘डेलिभरी’ नपुगेको त देखिएकै छ । यसैमा नागरिकको निष्कर्ष छ “गणतन्त्र जनताको घरदैलोसम्म आएन, जनताले कुनै सेवा र सुविस्ता पाएनन् । सरकार लगभग बर्सेनि फेरिन्छ । गणतन्त्रको फल जनतासम्म जस्ताको त्यस्तै पुग्नै सकेन, पु¥याउनै सकिएको छैन । यसकारण जनतालाई आएन गणतन्त्र ।” अहिले मात्र होइन, बर्सेनि आउने गणतन्त्र दिवसमा जनताले गर्ने प्रश्न यही हो । हुन त जनताले गर्ने यो प्रश्न जस्तै मुलुकमा गणतान्त्रिक शासन व्यवस्थाले कतै केही नदिएको भने होइन । विकास निर्माणको शिलान्यास भइरहेकै छ, जनताले पाउनुपर्ने सेवाका लागि आधारशीलाहरु बनिरहेका छन् । तर पनि देशबाट विरोजगारीको सूचक नघट्दा विमानस्थलबाट बाहिरिने नागरिकको लाम झन् बढेको, महँगी र भ्रष्टाचार बढेको र देशभित्रै प्रशस्त रोजगारीलगायतका सम्भावनाहरुको कमीका कारण युवा वर्ग निरास हुँदै जाँदा गणतन्त्रले नागरिकलाई के दियो भन्ने प्रश्न प्रतिदिन पेचिलो बन्दै गएको हो । यसकारण जनतामा निराशा पैदा भएको छ, यसलाई बढ्न दिनु हुँदैन । यतिखेर मुलुकको शासन सत्ता फेरिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा ९एमाले०ले सत्ता साझेदारी गर्ने गरी अघि बढेका छन् । नयाँ सत्ता समीकरण बनेसँगै नेपाली राजनीतिको तापक्रम पनि बढेको छ । सहमतिअनुरूप एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालको नेतृत्व गर्नुहुने सहमति भएको छ । सोहीबमोजिम नै आइतबार केपी ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ भने उहाँको सरकारमा नेपाली कांग्रेस पनि सक्रिय रुपमा सहभागी छ । माथि भनिए झैँ नेपाली नागरिकका आशा अपेक्षाहरु पूरा नहुँदा उनीहरुमा निराशाको थुप्रो थपिँदैछ । बेरोजगारीको अवस्था त्यस्तै रहेकाले विदेसिने युवाको लर्को झन्भन्दा झन् लामो देखिँदैछ । एकपछि अर्कोगरी सरकार र यसका लागि आवश्यक समीकरणहरुमा फेरबदल आइरहेकै छ । उता प्रदेश सरकारका क्रियाकलाप तथा अस्थिरताका कारण पनि जनतामा किन चाहियो यो खर्चिलो सङ्घीयता भन्ने प्रश्न उठ्ने गरेको छ । मुलुकको अर्थतन्त्र बलियो छैन, बल्लतल्ल चलेको अवस्थामा छ । कोरोना महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण विगतका केही वर्ष यतादेखि यहाँ पनि सङ्कट बढेकै छ । उद्यमी व्यवसायीका सटर बन्द भइरहेका समाचार आइरहेकै छन् । सरकारले दिनुपर्ने ‘डेलिभरी’ जनतासम्म पुग्न सकेको छैन । यस्तो बेलामा नयाँ सरकार बनिरहेकाले नेपाली जनताले यसप्रति ठूलो आशा अपेक्षा राखेका छन्, जुन अस्वाभाविक होइन । देशको समग्र आर्थिक, राजनीतिक र सामाजिक विकासका साथै जनजीविकाका धेरै सवालमा यो नयाँ सरकारका लागि सुनौलो अवसर प्राप्त भएको छ । संविधान संशोधन मिडियामा आए झैँ दुई ठूला दलको सत्ता समीकरणको एउटा एजेण्डा संविधान संशोधन पनि देखिएको छ । यो संविधानको संशोधन गर्नुपर्ने पक्षमा समयसमयमा मुद्दाहरू नउठेका भने होइनन् । संविधान संशोधनको अर्थ अहिले नेपाली नागरिकले यो संविधानबाट जेजति अधिकार पाएका छन्, त्यसमाथि अरु थप्ने हो । भएको अधिकारलाई अझ बलियो बनाउने हो, जनताले पाएका अधिकारको कटौती होइन । बलियो अर्थात् वैधानिक अङ्क गणीत हुँदा संविधान संशोधन त हुन्छ तर त्यति नै बलियो राज्य संयन्त्रको स्वरुप आमनागरिकको भावना र आकाङ्क्षा बिना भने असम्भव छ । त्यसैले सबैको सहयोग र समर्थनबाट संविधान संशोधन हुनुपर्दछ र त्यो नेपालको राजनीतिक स्थिरताका लागि हुनुपर्दछ । स्थिरताका लागि अहिलेको मिश्रित निर्वाचन प्रणालीमै संशोधन आवश्यक छ । अहिले देशमा देखिएको राजनीतिक अस्थिरताको मूल जड मिश्रित निर्वाचन प्रणाली हो भन्नेमा नेपालका सबै दलले लगभग आत्मसात् गरिसकेका पनि छन् । तर पनि अहिले संविधानमा रहेको व्यवस्थाबाट भएको समानुपातिक प्रतिनिधित्व कसरी सुनिश्चित होला भनेर पनि अबको संशोधनमा सोच्न छुटाउनु हुँदैन । यसकारण संविधान संशोधनको प्रक्रियाको थालनी गर्नुअघि अहिलेको संविधानले दिएका जनताका अधिकारहरुलाई थप बलियो बनाउने र अरु आवश्यकताअनुसार संशोधन गरिनुपर्दछ । निर्वाचन प्रणाली त फेर्ने तर अहिले संसद्मा महिला, जनजाति, दलित, अल्पसङ्ख्यक आदिको जे जति प्रतिनिधित्व छ त्यसलाई कटौती गर्ने भनेको होइन । अहिलेको निर्वाचन पद्दति महँगो पनि भएको छ । निर्वाचन प्रणालीमा संशोधन भनेको यसमा पनि परिवर्तन हो । त्यसैले प्रणालीमा संशोधन गर्ने र चुस्त दुरुस्त बनाउने गर्नुपर्दछ । अहिलेकै निर्वाचन प्रणालीबाट हुने चुनावबाट कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था नरहेको धेरैले अनुभव गरिसके । यसबाट संसद्मा धेरै पार्टीको प्रतिनधित्व त हुन्छ तर यसैका कारण सरकार निर्माण अस्थिरताको कारक बन्दछ । यो वा त्यो दलका कारण सरकार ढल्यो या बन्यो भन्ने अवस्था बनेको छ । त्यसैले प्रत्यक्ष निर्वाचन प्रणालीबाटै धेरै सिटहरु चुनिनेगरी निर्वाचन प्रणाली बनाउनसके यसबाट आफ्ना मतदाताहरुप्रति जनप्रतिनिधि पनि जवाफदेखि हुनेछ । यसले सो जनप्रतिधिनिले निर्वाचनका बेला गरेका बाचाअनुसार काम गर्न पनि सहज हुनेछ । ऊ आफ्ना मतदाताहरुप्रति पूर्णतः जवाफदेही हुनेछ । यसबाट कुनै पनि दलको स्पष्ट बहुमत आउने अवस्था सिर्जना हुन्छ र त्यसले नै देशमा सरकारको स्थायित्व प्रदान गर्न सक्दछ । त्यसैले अहिले संविधानमा भएको सबैको समावेशी प्रतिनिधित्वलाई यो निर्वाचन प्रणालीमा पनि सुनिश्चित व्यवस्था गर्न सकिन्छ । यसबमोजिम नै संविधान संशोधन गर्नु जरुरी देखिन्छ । सुशासन र समावेशी आर्थिक विकास अहिले मुलुकमा सुशासनका साथै समावेशी आर्थिक विकास आवश्यक छ । सरकारकासामु यो पनि अर्को एक अपेक्षा हो । समावेशी आर्थिक विकासको अर्थ समानुपातिक नभएर समतामूलक वितरणमा आधारित विकास मोडल हो । जस्तो कि तेस्रो विश्वका कतिपय देशहरुले पिछडिएको समुदायका एकाध व्यक्तिलाई राज्यका निकायमा नियुक्त गरेर समानुपातिक अर्थात् सबै वर्ग क्षेत्र र समुदायका नागरिकको सहभागिता देखाउने गर्दछन् । कुनै एक पिछडिएको समुदायका नागरिकलाई राजदूत या राष्ट्रिय योजना आयोगमा सदस्य बनाएर त्यसलाई मोडलका रुपमा देखाउने गर्दछन् । यसरी समानुपातिक कोटामा गरिने नियुक्ति समावेशिताको मूल्यमान्यता होइन । त्यसैले समावेशी आर्थिक विकास भनेको यस्ता एकाध व्यक्ति या समुदाय नभएर राज्यका अवसर सबैलाई समतामूलक वितरण र त्यसको विकास मात्र हो । भारतमा हामीकहाँ जस्तो समानुपातिक निर्वाचन प्रणाली या प्रतिनिधित्व छैन । तर पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबका साथ, सबका विकास’ भन्ने नारा त्यो भन्दा बढी वैज्ञानिक देखिन्छ । उनले सबको विकासको सोचअनुसार विकासका कार्यक्रम पनि त्यसै अनुसार परिलक्षित गर्ने प्रणालीको विकास गरेका छन् । अहिले मुलुकको अर्थतन्त्र बल्लतल्ला तङ्ग्रिएको अवस्थामा छ । देशको अर्थतन्त्र सङ्कटमै त होइन, सहज अवस्थामा पनि छैन । कोरोना महामारी तथा विश्वव्यापी आर्थिक मन्दीकाकारण विगतका केही वर्षयता निकै सङ्कटपूर्ण रुपमा गुज्रिएको नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किने तयारीमा देखिएको मात्र छ । अवस्था तरल रहेकाले कुनै बेला परिस्थिति गम्भीर पनि बन्न सक्छ । त्यसैले अहिले नै अर्थतन्त्रमा देखिएका समस्याहरु सरकार, राष्ट्र बैंक, विकास साझेदार, निजी क्षेत्र लगायत सबै मिलेर समाधान गर्नुपर्छ । ओली सरकारसँग पनि अर्थतन्त्रले सङ्कटमोचनको रोडम्यापको अपेक्षा गर्छ नै । सरकारको नेतृत्वमा सबै सरोकारहरुको सहभागितामा विचार विमर्श नगर्ने हो भने सङ्कटको डिलतिरै अड्किएको अर्थतन्त्रलाई प्राण दिन गाह्रो पनि पर्न सक्छ । सङ्घीयता र प्रदेश सरकार अहिले नेपालको सङ्घीय शासन प्रणालीलाई नै बदनाम गर्ने औजारका रुपमा प्रदेश सरकारहरु प्रयोग भइरहेको अवस्था देखिँदैछ । कहिले कुन त कहिले कुन गरी महिनैपिच्छेजस्तो प्रदेश सरकार बनेका, ढलेका तथा सरकार ढाल्न गरिएका हर्कतहरु राजधानीका अखबारका मुख्य समाचार बनिरहेका हुन्छन् । अनि ती समाचारहरुप्रति कुनै पनि नागरिकले सकारात्मक प्रतिक्रिया दिएको देखिँदैन । यो अवस्था र परिस्थिति देख्दा लाग्छ देशमा सङ्घीय शासन व्यवस्थाको उपादेयतालाई समाप्त पार्ने अन्तिम किस्ता यिनै प्रदेश सरकारहरु नै बन्न जाँदैछन् । त्यस्तो अवस्था नआओस् । यसप्रकारको नकारात्मक सन्देश प्रवाह गर्नेगरी भइरहेका कार्यलाई रोक्न सरकारले संविधान संशोधनमार्फत नै केही व्यवस्था गर्नु जरुरी छ जसले प्रदेश सरकारहरुलाई पनि स्थायित्व दिन सकोस् । यसको समाधान टाउकामा जुम्रा प¥यो भनेर टाउको नै काटेजस्तो व्यवस्थालाई बदनाम ग¥यो भनेर मुलुकको प्रादेशिक संरचनाको विकल्प खोज्ने नभएर यसैमा सुधार हो । यसैलाई जनताको घरआँगनको सरकारका रुपमा विकास गर्नु नै यसको विकल्प हो । अहिले नागरिकले प्रदेश संरचना काम छैन भन्न थालिसकेका छन् । नेपालजस्तो सानो देशमा यी कैयौँ सरकार नेपालका लागि आर्थिक बोझ भएको तर्क जनताले दिइरहेका छन् । त्यतातर्फ जाँदा व्यवस्थाप्रति नै प्रश्न उठ्ने खतरा रहन्छ । बरु प्रादेशिक संरचनालाई कामयवी बनाउने र त्यसबाट जनताको आफ्नै सरकारको भाव दिलाउनेगरी छरितो, मितव्ययी र चुस्त दुरुस्त बनाउन सकिन्छ । बृहत् सोच, खोज र अनुभवबाट संविधान संशोधन गरेर यो काम गर्नुपर्ने अपेक्षा पनि यो सरकारसँग जनताले गरेका छन् । (लेखक एकराज पाठक राससका प्रमुख समाचारदाता हुनुहुन्छ)
पोखरा: सर्वोच्चको फैसलाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको सरकारलाई मन्त्रीमण्डल बिस्तार र विश्वासको मत लिने ढोका खुला गरेको छ । यता राप्रपालाई तटस्थ भएर बस्ने बाटो बन्द भएको छ । राप्रपाले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ, कि मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिने कि मध्यावधि निर्वाचनमा लैजाने ? सुनगाभा न्यूजले गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङसँग यही प्रंसगबारे कुराकारी गरेका छौं । विस्तृत रुपमा प्रस्तुत छ, किरण गुरुङको अभिव्यक्ति: राप्रपा अनिर्णयको बन्दी बन्दा मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गठित गण्डकी प्रदेशको सरकारप्रतिको अन्यौलता, पूर्व मुख्यमन्त्री सुरेन्द्र पाण्डेको रिट निवेदन खारेजी गर्ने सर्वोच्चको फैसलासँगै समाप्त भएको छ । सर्वोच्चको यस फैसलाले मुख्यमन्त्री खगराज अधिकारीको सरकारलाई मन्त्रीमण्डल विस्तार र विश्वासको मत लिने ढोका खुला गरेको छ भने अब राप्रपालाई तटस्थ भएर बस्न नमिल्ने अवस्था पनि उत्पन्न गराएको छ । राप्रपाले वर्तमान गठबन्धनको सरकारलाई विश्वासको मत नदिने हो भने गण्डकी प्रदेश सिधै मध्यावधि निर्वाचनमा धकेलिनेछ । किनकी एमाले र माओवादीको गठबन्धन कायम रहँदासम्म गण्डकी प्रदेशको संसदको समिकरणलाई हेर्ने हो भने अन्य कसैको नेतृत्व वा कुनै गठबन्धनलाई बहुमत नपुग्ने प्रष्ट देखिन्छ । त्यसैले मध्यावधि निर्वाचनमा नजाने हो भने राप्रपाले मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा बनेको वर्तमान गठबन्धनको सरकारलाई विश्वासको मत दिनु बाहेक अन्य कुनै विकल्प देखिदैन । हालै राप्रपाको केन्द्रीय समितिको निर्णयलाई विश्लेषण गर्दा पनि वर्तमान गठबन्धनको संघीय सरकारलाई समर्थन नगर्ने निर्णय गरेको भएपनि प्रदेश सरकारको हकमा भने परिस्थिति अनुसार समर्थन गर्न र सरकारमा सहभागी हुनसमेत सकिने विकल्पलाई खुला राखेको देखिन्छ । सर्वोच्चको निर्णय पश्चात राप्रपालाई आफ्नो निर्णयअनुसार आन्दोलनलाई कायमै राख्दै गण्डकी प्रदेशको वर्तमान गठबन्धन सरकारलाई समर्थन र सहभागी हुने बाटो खुला भएको छ । मध्यावधि निर्वाचनमा नजाने हो भने अब राप्रपालाई अनिर्णयको बन्दी हुने बाटो बन्द भएको छ । विश्वास छ, छिटोभन्दा छिटो निकट भविष्यमा गण्डकी प्रदेशको वर्तमान गठबन्धनको सरकारलाई समर्थन गर्ने र सरकारमा पनि सहभागि हुने सकारात्मक निर्णय हुनेछ ।