लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकतामा ९९ वटा क्रियाकलाप प्रस्ताव गरिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले पद सम्हालेपछि भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनालाई स्वीकृत गर्नुभएको हो । रणनीतिक योजनालाई यही असोजभित्र मन्त्रिपरिषद्बाट पारित गरेर कार्यान्वयन गर्ने योजना छ । प्रदेशमा सुशासन कायम गर्ने तथा त्यसनिम्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र गठन गरिने छभने नैतिकता तथा सदाचारिता प्रवर्द्धनलाई जोड दिइएको छ । व्यावसायिकता अभिवृद्वि, सार्वजनिक सेवा प्रवाह, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा, पारदर्शिता, सामाजिक जवाफदेहीतालाई समेटिएको छ । रणनीतिमा उत्तरदायित्व प्रवर्द्धन, सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, समन्वय, सहकार्य तथा साझेदारीलाई विषयगत क्षेत्रका रूपमा तोकिएको छ । सार्वजनिक प्रशासनका सबै क्षेत्रमा नैतिकता प्रवर्द्धन गरी निष्पक्ष, पारदर्शी, जवाफदेही, मितव्ययी तथा जनउत्तरदायी शासकीय क्रियाकलाप सञ्चालन गर्ने योजना प्रस्ताव गरिएको छ । कर्मचारी तथा जनप्रतिनिधिको पेशागत क्षमता अभिवृद्विका कार्यक्रम सञ्चालन, सार्वजनिक पदाधिकारीको नेतृत्व विकास, सार्वजनिक सेवालाई स्वच्छ बनाउने, सार्वजनिक गतिविधिमा नागरिकको सहभागिता, सशक्तीकरण, वित्तीय अनुशासन कायम गर्ने, आयोजना छनोट तथा कार्यान्वयनलाई वस्तुनिष्ठ बनाउने विषयलाई रणनीतिमा विशेष प्रथाथमिकता दिइएको छ । भ्रष्टाचारविरुद्ध रचनात्मक क्रियाकलाप रणनीतिक योजनाअनुसार माध्यमिक तहका विद्यार्थीमा नैतिक मूल्यमान्यता तथा भ्रष्टाचारविरुद्धका विषयबारे सघन रूपमा जानकारी दिने र त्यसलाई ‘प्रजेक्ट वर्क’ का रूपमा समावेश गरिने छ भने, जनप्रतिनिधि तथा कर्मचारीको तालिम तथा क्षमता विकासका कार्यक्रममा नैतिकता प्रवरद्धन हुनेगरी पाठ्यक्रम, तालिम सामग्री तयार गरिनेछ । त्यसैगरी, सार्वजनिक सेवामा अध्यात्मसम्बन्धी ज्ञान र पूर्वीय दर्शनको प्रभाव आन्तरिकीकरण गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय तथा प्रदेशस्थित अन्य धार्मिक एवं आध्यात्मिक संस्थासँग सहकार्य गरी कर्मचारी तथा जनप्रतिनिधिमा योग, ध्यान, सकारात्मक सोच विकासका व्यावहारिक अभ्याससहितका कार्यक्रमहरू सञ्चालन गर्ने, सदाचार र नैतिकता प्रवर्द्धनका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्ने, खोज पत्रकारिताका माध्यमबाट अनियमितता उजागर गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
वालिङ: गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेकोे छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा दुई पुल निर्माणको ठेक्का सम्झौता भई निर्माण अगाडि बढेको हो । स्याङ्जाको चापाकोट नगरपालिका–१० र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने गरी आँधीघाटमा निर्माण भइरहेको पुलको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सन्तोष कँडेलले बताउनुभयो । “दुई प्रदेशका स्याङ्जा र पाल्पा जिल्लालाई जोड्नेगरी कालीगण्डकी नदीका दुई ठाउँमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो”, उहाँले भन्नुभयो, “मूल्य अभिवृद्धि करसहित रु ५५ करोडमा एउटै ठेक्कामार्फत दुईवटा पुलको निर्माण भइरहेको छ ।” आँधीघाट र बाँसटारीमा दुई पुल निर्माण भइरहेको छ । आँधीघाटमा निर्माण भइरहेको पुल दुई सय २० मिटर लम्बाइको हुनेछ । दुईवटा फुटपाथसहित पुल साढे १० मिटर चौडाइको हुने भएको हो । एक दशमलव पाँच मिटर चौडाइका फुटपाथ पुलको दुवै किनारामा निर्माण गरिने भएको हो । सम्झौता भएको मितिले पुल निर्माणकार्य तीन वर्षमा सक्नुपर्ने भए तापनि कोभिडलगायतका महामारीका कारण समयावधि थप गरी २०८२ को चैतसम्म रहेको उहाँले बताउनुभयो । “हालसम्म आँधीघाटको पुलको भौतिक प्रगति ८५ प्रतिशत छ”, उहाँले भन्नुभयो, “काम तीव्रगतिमा अगाडि बढेकाले सम्भवतः २०८२ को नयाँ वर्षदेखि नै पुल निर्माण सम्पन्न भई सवारीसाधन चल्न सक्छन् ।” चारवटा स्पान रहने निर्माणाधीन पुलको तीनवटा स्पान निर्माण सम्पन्न भएको छ । एउटा स्पान निर्माणको काम अहिले जारी छ । आँधीघाटमा हाल झोलुङ्गे पुलबाट वारपार गरिरहेका यात्रीलाई पक्की पुल निर्माण सम्पन्न भएसँगै सहज हुने भएको हो । आँधीघाटमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै स्याङ्जाको चापाकोट पाल्पाको रामपुर–१० बर्दलेस्थित कालीगण्डकी करिडोरमा जोडिने छ । अहिले आँधीघाटमा रहेको झोलुङ्गे पुलबाट पैदलयात्री तथा मोटरसाइकल वारपार गर्दै आएका छन् ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ । पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो । हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो । महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ । नेताहरुको जिम्मेवारी तथा कार्यविभाजन तोक्न पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने जनाइएको छ । कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने छ । नेताहरूको कार्यविभाजनपछि देशभर सङ्गठन सुदृढीकरणका कार्यक्रम तथा भेला, प्रशिक्षण सञ्चालन गरिने सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
दमौली: तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिनुभयो । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ । पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ । त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ । विद्यालयले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रममार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो । विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्देश्यसहित मकैको खोस्टाबाट चकटी निर्माण गर्न सिकाइएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको रुचिअनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, विद्युतीय वायरिङलगायत सीप सिकाउन थालिएको छ । विद्यालयका शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई मकैको खोस्टाबाट चकटी बनाउन सिकाउनुभएको थियो । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको सीप र क्षमता वृद्धिमा सहयोग पुग्ने भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्, यसलाई निरन्तरता दिनुपर्छ ।” असहाय बालबालिकालाई पढाउँदै व्यास व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । व्यास नगरपालिका–१३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो । बाबुआमा बितेपछि अरुको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष बसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ । कक्षा १ र ६ मा अध्ययनरत उनीहरु अब आवासीय विद्यालय नगर समता विद्यालयमा बसेर अध्ययन गर्नेछन् । विपन्न, असहाय, टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिका–७ मा नगर समता विद्यालय स्थापना गरेको छ ।
जिल्लाका आठ स्थानीय तहलाई समेटेर ‘अलैँची जोन’ बनाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले तथ्याङ्क सङ्कलन गर्न थालेको हो । साविकमा भएका ११ अलैँची पकेट र दुई अलँैची ब्लकलाई स्तरवृद्धि गरेर अलैंची जोन स्थापना गर्न सर्वेक्षण थालिएको हो । जिल्लामा अलैँचीको सम्भावना बढी भएकाले यहाँका किसानले ब्लक र पकेटमार्फत उत्पादन गरिरहेका परियोजनाका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । ब्लक र पकेटलाई स्तरोन्नति गरी जोनमार्फत उत्पादन वृद्धि गर्ने उद्देश्यले सर्वेक्षण थालिएको उहाँले बताउनुभयो । पकेट र ब्लक बाहेकका किसानले पछिल्लो समय अलैँची उत्पादन गर्न थालेको पाएपछि जोन स्थापनाको पहल थालिएको पौडेलले उल्लेख गर्नुभयो । बागलुङका १० मध्ये आठ स्थानीय तहका केही वडालाई समेटेर तीन हजार हेक्टर क्षेत्रमा अलँैची खेती पु¥याउने उद्देश्य राखिएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा अलैँची जोन स्थापनाका लागि रु एक करोड दुई लाख बजेटसमेत विनियोजन भएको छ । जिल्लाको ताराखोला, काठेखोला, बरेङ र बडिगाड तथा जैमिनी र गलकोट नगरपालिकाका साथै निसिखोला गाउँपालिका र बागलुङ नगरपालिकाका केही वडालाई समेटेर जोन स्थापना गरिने परियोजनाका प्रमुख पौडेलले बताउनुभयो । जिल्लाको ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका बाहेकका आठ स्थानीय तहका ३० वडामा यो कार्यक्रम लागू गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “साविकका ब्लक र पकेटलाई स्तरवृद्धि गर्दै नयाँ क्षेत्र विस्तार गर्नका लागि बागलुङमा तीन सय हेक्टरमा अलैँची जोन बनाउन थालिएको छ, क्षेत्रलाई बढाएर पाँच सय हेक्टर पु¥याउन पर्वतको केही क्षेत्र समेत विस्तार गर्न आवश्यक छ”, पौडेलले भन्नुभयो, “जोनले पुरानो अलँैची बगैँचा व्यवस्थित गर्ने, बिरुवा उत्पादन गर्ने र नयाँ क्षेत्र विस्तार गर्नेदेखि सिँचाइ सुविधा र उपकरण वितरण गर्नेछ ।” अलैँचीको उत्पादन र बजारीकरणको अवस्था विस्तारै सुधार हुँदै गएकाले आलु जोन, बाख्रा जोनसँगै अलैँची जोन स्थापना गर्न लागिएको परियोजना कार्यालयले जनाएको छ । हाल जिल्लामा ४० मेट्रिक टन अलैँची उत्पादन भइरहेकामा उत्पादितमध्ये अधिकांश भारत निर्यात हुने गरेको छ । अलैँचीको बजार मूल्य भने एकनासको नभएको किसान बताउँछन् । अलैँचीमा डढेलो रोगको सङ्क्रमण बढिरहेको समयमा जोन कार्यक्रमले सहजता हुने ताराखोलाका अलँैची किसान कुलबहादुर घर्तीमगरले बताउनुभयो । उहाँले अहिले ११ रोपनी जग्गामा अलँैचीखेती गरिरहेको जानकारी दिनुभयो । भारतीय व्यापारी अलैँची खरिद गर्न गाउँ आउने गरेका छन् । व्यापारीले प्रतिकेजी न्यूनतम रु एक हजार पाँच सयदेखि रु दुई हजार पाँच सयमा सुकेको अलँैची खरिद गरेर लैजाने गरेका किसान बताउँछन् । अलँैची पर्याप्त उत्पादन गर्न सके बजारको चिन्ता नरहेको किसानको भनाइ छ । अलैँंचीको समस्या निराकरण गर्ने, बगैँचा विस्तार गर्ने, सिँचाइको व्यवस्था मिलाउने, दाना सुकाउन आधुनिक भट्टी निर्माणलगायत काम गर्ने लक्ष्य परियोजनाले राखेको छ ।
काठमाडौं: शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । शुक्रबार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा कायम भएको थियो । यस्तै, युरोपियन यूरोको आजको मूल्य एकको खरिदर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कामय भएको छ भने शुक्रबार यसको एकको खरिददर १४९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसा निर्धारण भएको थियो । केन्द्रीय बैङ्ककानुसार शुक्रबार युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३९ पैसा कामय भएकामा आज एकको खरिदर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ १२ पैसा कायम भएको छ । यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७८ पैसा र बिक्रीदर ९१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २१ र बिक्रीदर १०३ रुपैयाँ ६७ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा कायम छ । राष्ट्र बैङ्ककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ०४ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०५ पैसा छ । हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १२ पैसा र बिक्रीदर १७ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ २० पैसा र बिक्रीदर ४३९ रुपैयाँ १७ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा कायम भएको छ । राष्ट्र बैङ्कले यस विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दरभने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
मनाङ: जिल्लाको प्रवेशद्वार आगन तालगाउँ खेलाडी र कलाकारले भरिभराउ भएको छ । आजदेखि यहाँ आयोजना हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्पर्धा गर्न प्रतिष्ठित खेलाडी र कलाकारहरूको आगमन भएको हो । मनाङमा हिउँचितुवा र याकको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा दिगो विकास गर्ने उद्देश्यले आयोजित खेलमा भाग लिन देशका विभिन्न भागबाट कलाकार तथा खेलाडीको आगमन भएको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । विभिन्न सङ्घसंस्थाका साथै स्थानीय तह, खेलाडी, कलाकार, स्थानीयवासीको सहयोगमा चेतना फैलाउन गत वर्षदेखि प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रमलाई निरन्तरता दिइरहेको ‘एन्ट फाउण्डेसन’का निर्देशक प्रशान्त ताम्राकारले भन्नुभयो, “हामी हाम्रो प्रकृतिको संरक्षण गर्न जरुरी छ । यहाँको पर्यटन प्रवर्द्धनका साथै चेतनामूलक कार्यक्रमले लोपोन्मुख वन्यजन्तुको संरक्षणका साथै जैविक विविधता संरक्षणमा टेवा पुग्नेछ ।” जैविक विविधता संरक्षण समाज नेपालका निर्देशक पारसविक्रम शाहले पर्यटकीयस्थल मनाङको पर्यटन प्रवर्द्धनका साथै यहाँको जैविक विविधतालाई बचाउने अभियानका रुपमा खेलकुद प्रतियोगितालाई लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेको वैज्ञानिकहरूको भनाइलाई आत्मसात गर्दै सम्पदाको संरक्षणमा जुट्नुपर्छ । एकैपटकमा धेरै प्रभाव पार्न नसके पनि आमनागरिक सचेत हुनेछन् ।” चामे गाउँपालिका–५ का स्थानीय फुर्वा लामाले कार्यक्रमपछि जिल्लामा केही प्रभाव परेको बताउनुभयो । उहाँले विभिन्न सङ्घसंस्थाको सहकार्यमार्फत सञ्चालित चेतनामूलक कार्यक्रमले स्थानीयलाई सचेत तुल्याएको बताउनुभयो । जैविक विविधता संरक्षण समाज नेपाल र ऐन्ट फाउन्डेसनको संयुक्त आयोजनामा चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाको सहकार्यमा विभिन्न सङ्घसंस्था, राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल सङ्घको सहयोगमा जिल्लाका विभिन्न स्थानमा ‘हिउँ चितुवा र याकको लागि सँगसँगै’ भन्ने नाराका साथ मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।
पोखरा: असोज ३ गते । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, जिल्ला समन्वय समिति, कास्कीले आफ्नो प्रथम जिल्ला परिषद्का अवसरमा शैक्षिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई बिहिवार पोखरामा सम्मान गरेको छ । आफूले काम गरेका विद्यालयहरूको चौतर्फी विकासमा भूमिका खेलेका भन्दै सम्मानित हुने प्रधानाध्यापकहरूमा माछापुच्छ्रे मावि, माछापुच्छ्रे-२ का प्रधानाध्यापक सन्तोष आचार्य, विन्ध्यवासिनी मावि, पोखरा-१६ का प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, निष्पक्ष मावि, माछापुच्छ्रे-५ का प्रधानाध्यापक दुर्गाबहादुर रावत, शिवालय मावि, रूपा-२ (हाल: कालिका मावि, पोखरा-३३० का प्रधानाध्यापक रुपिन्द्र प्रभावी, अमरसिंह माविका प्रधानाध्यापक शेरबहादुर थापा, रतनपाण्डे माविका प्रधानाध्यापक डिल्लीराम बराल, धनुबाँस कालिका मावि, मादीका प्रधानाध्यापक गोपाल सापकोटा र बाँकोट आधारभूत विद्यालय, अन्नपूर्णका प्रधानाध्यापक महेश न्यौपाने रहेका छन् । त्यसै गरी रतनपाण्डे माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरदचन्द्र बराल, शिशुकल्याण माविका विव्यस अध्यक्ष श्रीभद्र बराल, सहिदस्मृति माविका शिक्षक मधुविलास न्यौपाने, सीताराम माविका शिक्षक सुरेन्द्र बराल, लिटिल फ्लावर बोर्डिङ स्कुलका शिक्षक शम्भुप्रसाद अधिकारी र सरस्वतीटीका माविका लेखापाल रमेश कार्कीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । नेपाल सरकारका पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले उनीहरूलाई सम्मान गरेका थिए । शर्माले नेपालको शिक्षा मन्त्रालय नै विदेशी पैसाबाट चलेको खुलासा गरे । ‘उनीहरूको पैसामा हाम्रो देश पढाउन लगाउने कुरा पनि भएन । हाम्रो पाठ्यक्रममा देश पढाउने स्थिति छैन ।’ उनले भने, ‘उनीहरूकै निर्देशनअनुसार बनेका पाठ्यक्रमअनुसारको पढाइले विदेशीका लागि जनशक्ति तयार भएका छन् ।’ आफू शिक्षामन्त्री हुँदा शिक्षा ऐन तयार पारेर मन्त्री परिषद्बाट पास गरी राष्ट्रपतिकहाँ लैजाँदा काङ्ग्रेस ( एमालेका सङ्घरसङ्गठनले नमानेको भन्दै राष्ट्रपतिले लालमोहर लगाउन नमानेको प्रसङ्ग स्मरण गर्दै उनले भने, ‘त्यो ऐन पारित भएको भए नेपाली शिक्षा धेरै अघि बढ्ने थियो ।’ उनले नेपालको माटो पढाउने शिक्षा दिनुपर्नेमा जोड दिँदै शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तनको खाँचो औँल्याए । शिक्षकहरू स्वच्छ र निष्कलङ्क छवि भएका व्यक्ति भएको बताउँदै नेकपा ९माओवादी केन्द्र० का सचिवसमेत रहेका शर्माले सबैभन्दा पवित्र कर्म नै शिक्षण भएको बताए । राष्ट्रका सच्चा सेवक र क्रान्तिका बाहक शिक्षक नै भएको उनको भनाइ थियो । उनले अबको १० वर्षभित्र समाजवादी क्रान्तिको अनुहार देख्न पाउने विश्वास व्यक्त गरे । शिक्षकका साथमा विद्यार्थी, अभिभावक र सिङ्गो समाज रहने बताउँदै शर्माले शिक्षकले ठिक ढङ्गले विद्यार्थीलाई पढाए समाज परिवर्तनको बाटोमा जान सक्ने बताए । उनले शिक्षकहरूसँग माटो र क्रान्तिकारी आशावादी विचार पढाउन आग्रह गरे । शिक्षक राजनीतिक दलले बनाएका नभई राजनीतिक नेता बनाउने नै शिक्षक भएको भन्दै शर्माले देशका इमानदार र असल बाहक शिक्षक भएको विचार राखे । कार्यक्रमका अध्यक्ष तथा सङ्गठनका जिल्ला अध्यक्ष महेन्द्रमणि पौडेलले शिक्षकका समस्या हिजोभन्दा आज बढ्नुको कारण खोजी गर्नुपर्ने बेला आएको धारणा राखे । हाम्रा भन्दा राम्रा प्रधानाध्यापक, शिक्षक, अध्यक्ष र कर्मचारीलाई सम्मान गरिएको जानकारी दिँदै पौडेलले शिक्षकले आफूले काम गरेका विद्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए । राज्यले कम्तीमा पनि न्यूनतम दरबन्दी दिनुपर्ने माग गर्दै उनले शिक्षामा कम्तीमा २० प्रतिशत लगानी हुनुपर्ने उनको विचार थियो । सङ्घीय शिक्षा ऐन जारी गरेर शैक्षिक समस्याहरूको समाधान गर्नुपर्ने उनको माग थियो । कार्यक्रममा सङ्गठनका निवर्तमान जिल्ला अध्यक्ष तारानाथ पौडेल, बराह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन रोका, पत्रकार तथा पुराना शिक्षक नेता कोमलनाथ बराल, गण्डकी प्रदेशका शिक्षक सङ्गठनका फ्य्राक्स इन्चार्ज मित्रशरण शर्मा, कास्कीका शिक्षक सङ्गठनका फ्य्राक्सन इन्चार्ज विश्वप्रकाश लामिछाने, पूर्व अध्यक्ष गोपालमणि लामिछाने, शोभा तमु, शिवभक्त देवकोटा, सम्मानित व्यक्तिहरूका तर्फबाट रुपिन्द्र प्रभावीलगायतले बोलेका थिए । सचिव सचिन सुवेदीको सञ्चालनमा भएको उद्घाटन सत्रमा उपाध्यक्ष प्रकाश रिजालले स्वागत गरेका थिए । यसैबिच, प्रथम जिल्ला परिषद्ले जिल्ला समन्वय समितिका अध्यक्ष महेन्द्रमणि पौडेलको संयोजकत्वमा ४९ सदस्यीय जिल्ला परिषद् गठन गरेको छ । असोज ५ गते जनप्रिय मावि, पोखराको सभाहलमा गण्डकी प्रदेश परिषद् आयोजना गरिएको पौडेलले जानकारी दिए ।
पोखरा: गण्डकी सरकारले बनाएर कार्यान्वयनमा रहेका केही कानून संशोधन गर्ने भएको छ । केही गण्डकी प्रदेश ऐन संशोधनको विधेयक संसद्मा दर्ता गरिएको छ । अहिले ५ वटा ऐन संशोधन गर्न लागिएको हो । गण्डकी प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन, लोक सेवा ऐन, खानेपानी तथा सरसफाइ ऐन र वन ऐन संशोधन गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।