म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

पोखरा:   गण्डकी प्रदेश सभाको चालु सातौं अधिवेशन अन्त्य भएको छ ।   माघ २१ गते सुरु भएको हिउँदे अधिवेशन ६ वटा विधेयक र प्रदेश सभा नियमावली पारित गर्दै मंगलबार रातिबाट अन्त्य गरिएको हो ।   मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार मध्यराति १२ बजेदेखि लागु हुने गरी  अधिवेशन अन्त्य गरेका हुन् ।     यस अवधिमा प्रदेश सभाका १६ वटा बैठक बसेका छन् । यो अधिवेशनमा सरकारले सदनमा १० वटा विधेयक दर्ता गराएको छ । ६ वटा पारित गरिएको हो ।   यो अधिवेशनले गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धी, सामयिक कर असुल गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।   यसैगरी गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेर अधिवेशन अन्त्य गरिएको हो ।   यस अवधिमा गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक प्रदेश सभामा पेस भएका छन् ।   यसैगरी, गण्डकी प्रदेशका दलित अधिकार तथा सशक्तीकरण, अपांगता भएका व्यक्तिहरुको अधिकार, खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएका छन् ।   गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशका घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक पनि प्रदेश सभामा पेस भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन् ।    भेटवार्तापछि बाहिरिने क्रममा राससका प्रतिनिधिलाई  प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले मोदीसँग सकारात्मक कुराकानी भएको बताएका हुन् ।    'म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ ।   अहिलेलाई यत्ति,' उनले भने । थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो ।   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो ।   यसअघि उनीहरुबीच संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो ।

बर्दघाट नगरपालिका‐१४ नारायणचोकदेखि त्रिवेणी जाने निर्माणाधीन हुलाकी सडक पाँच वर्षदेखि अलपत्र छ ।   यो खण्ड निर्माणका लागि बज्रगुरु र महालक्ष्मी जेभी कन्ट्रेक्सनले ठेक्का पाएको थियो ।   विसं २०७९ मा सम्पन्न हुने गरी २०७६ सालमा ठेक्का लिए हालसम्म ४० प्रतिशत मात्र काम भएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिनुुभयो ।   उहाँका अनुसार रु ५८ करोडको लागतमा १५ किलोमिटर सडक कालोपत्र गर्ने भनिएकामा तीन पटक पत्राचार गरे पनि ठेकेदारले थप काम अगाडि बढाएको छैन । ताकेता गर्दा पनि काम नभएपछि ठेक्का तोडेर कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।   प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आफूहरूले सडक निर्माणका लागि पटक–पटक अनशन बस्ने र विरोध प्रदर्शनमार्फत ध्यानाकर्षण गराइए पनि काम अगाडि नबढेको बताउनुभयो ।   उहाँका अनुसार सडकको धुलो घरभित्र पस्दा सडक वरपरका स्थानीय धुुलोले पीडित छन्, धुलोले आँखा चिलाउँछ , छाती दुख्ने समस्या हुन्छ ,काम गर्ने क्रममा तथा घरभित्र बस्दा नाक, मुखमा धुलो पस्छ , घर वरिपरी धुलैधुलो हुने, बिहान सफा गरेको घर बेलुका धुलै धुलोले हुने समस्या छ ।   बर्दघाट नगरपालिकाका उपाध्यक्ष रुद्रप्रकाश उपाध्यायले लामो समयसम्म काम नहुँदा यात्रुलाई मात्रै नभइ स्थानीय बासिन्दा धुँवाधुलोले निकै समस्या भएको बताउनुभयो ।   पृथ्वीचन्द्र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नरुल होदाले सडकको धुलोले त्यस क्षेत्रका नागरिकमा स्वासप्रस्वास, एलर्जी, आँखा चिलाउने, खोकी लाग्नजस्ता रोगको समस्या देखिने गरेको उल्लेख गर्नुभयो । 

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बेलुकी बस्दै छ ।   गण्डकी विश्वविद्यालयको कुलपति र प्रदेश नीति तथा योजना आयोगको सदस्य नियुक्तिबारे छलफल गरिनेगरि बेलुकी ५ बजे बैठक बस्ने तयारी गरिएको हो ।   हिजो (बिहीबार) मात्रै गण्डकी विश्वविद्यालयको कुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पेश गरेको थियो ।   ती मध्येबाट १ जना कुलपतिमा नियुक्त गर्नेबारे छलफल हुनेछ भने, अन्तिम निर्णयको टुंगो पनि आजै हुन सक्ने बताइएको छ ।   छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घलेले ३ जनाको सिफारिस गरेका थिए ।    जसमा प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम समावेश गरिएको बताइएको छ ।   यस्तै आजको बैठकबाट प्रदेश नीति तथा योजना आयोगको सदस्यमा २ जनालाई नियुक्त गर्नेबारे पनि छलफल हुने छ ।

नेपालको​ एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो ।   रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा संकटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ ।   ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् । अहिलेसम्म एकीन गणना नभए पनि सिकार आरक्षभित्र करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको उनले बताए । विसं २०७४ मा सिकार आरक्षले गरेको सर्वेक्षणमा रेडपाण्डाको संख्या निकै कम भएकामा अहिले झण्डै २०० देखि ३०० रहेको अनुमान गरेको सुवेदीले बताए ।   रेडपाण्डा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेको उनको भनाइ छ । ढोरपाटन सिकार आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा भेटिएको उनले जानकारी दिए ।   पहिलेको तुलनामा अहिले रेडपाण्डा बढी मात्रामा देखिने गरेको सुवेदीको भनाइ छ ।   'विसं २०७२ सम्म ढोरपाटनमा रेडपाण्डा छिटपुट रूपमा थिए, २०७४ सालमा सर्भे गर्दा सबै ब्लकमा रेडपाण्डा भेटिए, अहिले धेरै ठाउँमा बाक्लो रूपमा भेटिन्छन्', उनले भने, 'अहिले करिब ३०० को हाराहारीमा रेडपाण्डा ढोरपाटनमा रहेको हाम्रो आकलन छ, जुन सङ्ख्या मुलुकभरका राष्ट्रिय निकुञ्जमा भएको भन्दा बढी हो ।'   सिकार आरक्ष क्षेत्रबाहेक बागलुङका माथिल्लो वनक्षेत्रमा पनि रेडपाण्डा पाइने डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले बताए ।   बढ्दो डढेलो, जंगल फडानी र जनघनत्वका कारण यसको संरक्षणमा चुनौती बढेको उनको भनाइ छ ।   रेडपाण्डा संरक्षणका लागि स्थानीय सरकार जागरूक बन्नुपर्ने भन्दै स्थानीयलाई सचेत बनाउनुपर्ने पन्थीले बताए ।   खासगरी कर्णालीभन्दा पूर्वी क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा रेडपाण्डा पाइने गर्छ । अहिले मुलुकका २३ हिमाली तथा पहाडी जिल्लामा मात्रै रेडपाण्डा पाइन्छ ।   रेडपाण्डाले खाने निगालोको टुसासमेत संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ । यो लजालु स्वभाव हुनेहुँदा यसलाई सामान्य पनि बाधा पुग्ने काम गर्न नहुने पन्थी बताउँछन् 

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।   आज बसेको समितिको बैठकले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य सचिव टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै समयमा खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।   समितिका सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापन कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न तथा भव्यताका साथ तोकिएकै समयमा प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो ।   उक्त प्रतियोगिता २०८२ जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने तय भएको छ ।   यस्तै खेलकुद मन्त्री चौधरीले खेलकुद प्रतियोगिता समयमा नै सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले खेलाडीलाई पनि तयारी अवस्थामा राखिएको बताउनुभयो ।   व्यवस्थापनमा केही कठिनाइ आउने उल्लेख गर्दै उहाँले त्यसलाई ध्यानमा राखेर काम भइरहेको बताउनुभयो । समितिले प्रतियोगिता आयोजनाको तयारी तथा व्यवस्थापनको कार्यमा आबद्ध सम्पूर्ण तह, निकाय र पदाधिकारीबीच प्रभावकारी समन्वय तथा सहकार्य गरी कार्य अगाडि बढाउन निर्देशन दिएको छ ।   समितिका सदस्य रेखा शर्माले जुनसुकै हालतमा पनि पतियोगिता गर्नुपर्ने बताउनुभयो ।   समितिका अर्का सदस्य दीपा शर्माले प्रतियोगिता सम्पन्न गर्न मन्त्रालय र राखेपबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।   समितिका सदस्य रामप्रकाश चौधरीले पतियोगिता सम्पन्न गर्न मन्त्रालय र राखेपबीच तालमेल नमिलेको भन्दै समयमा नै प्रतियोगिता गर्नुपर्ने बताउनुभयो । समितिले प्रतियोगिताको तयारी र व्यवस्थापनबारे यही चैत २२ देखि २४ गतेसम्म स्थलगत अवलोकन गरी जानकारी लिने सभापति थापाले जानकारी दिनुभयो ।

म्याग्दी:   सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब रु. १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ ।   मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु. १५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो ।   चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने रु. एक करोड १० लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ ।   झोलुङ्गे पुल बाहेकका आयोजनाहरु चालु आर्थिक वर्षभित्रनै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बताए । योजनाहरु मार्फत ग्रामिण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भई बसाईसराई घटाउने अपेक्षा गरिएको उनले बताए ।   सघन शहरी तथा भवन निर्माण योजना मार्फत रु। चार करोड ७५ लाख बजेट बिनियोजन भएको बेनी नगरपालिकामा एकिकृत शहरी पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तर्गत रु. तीन करोड १९ लाखमा ठेक्का सम्झौता भएको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नं.–७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना शुरु भएको छ ।   उक्त कार्यलय मार्फत रु. ६५ लाख ३८ हजार ५३ को लागतमा कुहुँ–टोड्के–झि र रु. एक करोड तीन लाख २८ हजार ६२ मा मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले सडक स्तरोन्नति योजना कार्यान्वयन भएको छ ।   योजनाका ईञ्जिनियर बिरबल सुनारले ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।   स्थानीय पूर्वाधार विकास आयोजना मार्फत रु. चार करोड ७० लाख ३६ हजार दुई सय ५० को लागतमा धवलागिरी गाउँपालिकाको मराङखोला माथी तीन सय ६५ र मुनाको दरखोला माथी तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन छन् ।

म्याग्दी:   रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ ।   परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ ।   मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ ।   त्यसमा स्थानीयवासीका साथै आन्तरिक पर्यटकहरू रमाउन गरेका स्थानीय याम रोकाले बताए । यस वर्ष पनि मङ्गलबार विधिपूर्वक भूमे र स्थानीय शक्तिपीठका रूपमा परिचित मण्डली बजैको पूजा गरियो र बुधबार गाउँको सांस्कृतिक चिनारीलाई प्रस्तुत गरिएको उनले बताए ।   यहाँ हरेक वर्षको चैत महिनामा पर्ने उजेली मङ्गलबारको दिनमा भूमेपूजा गर्ने प्रचलन छ । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमेपूजामा मोसो, छ्याङका छोक्रा एकापसमा दलेर नाचगान गर्ने अनौठो प्रचलन छ ।   गाउँको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देशविदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका पाँच सयभन्दा बढीले यसपटक भूमेपूजा गरेको वडाअध्यक्ष थकप्रसाद पाइजाले बताए ।   “पहिले गाउँका स्थानीयले मात्र पूजा गर्थे, हाल यहाँको भूमेपूजामा हुने मौलिक र अनौठो संस्कृतिले छिमेकीगाउँ र आन्तरिक पर्यटकहरू पनि यहाँ आउने गरेका छन् । देशविदेशमा पुगेका स्थानीयवासीसमेत भूमेपूजालाई ठूलो चाडका रूपमा मनाउन आएका छन्”, उनले भने ।   भूमेपूजा यहाँको सांस्कृतिक चिनारी नै बनेको छ ।   छ्याङलाई भूमेपूजामा मुख्य प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ भने भूमे थानमा पूजा गरेपछि मोसो र छ्याङको छोक्रा दलेर बाजागाजासँगै नाचगान गर्दै खुसियाली मनाउने चलन रहेको छ । यसलाई यहाँ पुग्ने आन्तरिक पर्यटकहरूले अनौठो संस्कृतिका रूपमा लिने गरेका छन् ।   प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् र खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमेपूजा गर्ने प्रचलन रहेको स्थानीयवासी बताउँछन् ।   भूमेपूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव हुनेगर्छ ।   भूमेपूजाका अवसरमा टोपानाच प्रदर्शन गरिन्छ । छेमाहरूले टोपानाच प्रदर्शन गरेका हुन् भने सरमाजाले, जुरेचल्ला, दुलहादुलहीको कलस जुधाउने नाचसँगै पुख्र्यौली र थालीनाचलगायतका मौलिक कला र संस्कृति प्रदर्शन गर्ने गरिएको चिमखोलाका वडाअध्यक्ष पाइजाले जानकारी दिए ।   यस पटक भूमेपूजाका अवसरमा चिमखोलामा स्थानीय मण्डली युवा क्लबको आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक मेला सुरु भएको छ ।   भूमेपूजा र मेलामा रमाउनका लागि जिल्लाका विभिन्न ठाउँका युवायुवतीसँगै देशविदेशमा छरिएकाहरू चिमखोलामा पुगेका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरु गरेको छ ।   पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्धेश्यसहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।   गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पर्यटकीय गाउँ बनाएर पर्यटक भित्र्याउँदै स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्य लिइएको बताउनुभयो ।   पहिलो चरणमा गाउँपालिकाले वडा नम्बर १ को गिरानचौर र वडा नम्बर ६ को हिलेखर्कलाई पर्यटकीय गाउँ बनाउने प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो । पर्यटकीय गाउँ बनाउन प्रत्येक गाउँलाई रु ४० लाख बजेट विनियोजन गरिएको चुमानको भनाई छ ।   उहाँले भन्नुभयो, “प्रत्येक वडाका एक गाउँ छनोट गरी पर्यटकीय गाउँ बनाउने प्रक्रिया सुरु भएको छ, त्यस ठाउँमा पर्यटकमैत्री पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्छौं ।” सुरुमा आँबुखैरेनी पर्यटकीय पालिका हो र भन्नेमा धेरैले शङ्का गर्ने स्थिति रहेको स्मरण गर्दै चुमानले भन्नुभयो, “केही धार्मिक स्थललाई धार्मिक पर्यटकीय स्थलको रुपमा दावी गथ्र्यौ, तर अहिले गाउँपालिका धेरै पर्यटकीय स्थल भएको ठाउँ हो भन्ने आधार खडा गर्न सफल भएका छौं ।” धार्मिक रुपमा छिम्केश्वरी, अकला, आँधीमूल, पञ्चकन्या मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न खोजिएको चुमानको भनाई थियो ।   त्यस्तै पूर्वाधारको हिसाबले पछाडि परेको आँबुखैरेनी–२ ऐनापहरालाई आरामस्थलका रुपमा विकास गरिएको उहाँले बताउनुभयो ।   ऐनापहरामा पूर्वाधार निर्माण गरी रोजगारी सिर्जनाका साथै गाउँपालिकाको आन्तरिक आम्दानी वृद्धि गरिएको उहाँले बताउनुभयो ।   ऐनापहराका ढुङ्गामा कृत्रिम आकृति निर्माण गरी यहाँ विभिन्न पूर्वाधार निर्माण गरिएको छ । ऐनापहरा पार्कमा टिकट शुल्क राखेर पालिकाले चालु आर्थिक वर्षमा रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ ।   त्यस्तै मस्र्याङ्दीको कृत्रिम तालमा मोटरबोट सञ्चालन, आँबुखैरेनी–१ को आँधीमूलमा कृत्रिम ताल निर्माणको प्रक्रिया थालिएको चुमानको भनाइ छ । मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो ।   आँधीमूलमा प्रसिद्ध मन्दिरसमेत रहेकाले धार्मिक पर्यटनलाई जोडेर यहाँ पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको चुमानको भनाई छ ।   उहाँले भन्नुभयो, “आँधीमूल आफैमा प्रसिद्ध धार्मिकस्थल हो, यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटकसमेत आउनुहुन्छ, धार्मिक पर्यटनलाई जोडेर यस ठाउँको विकास गर्न चाहेका छौं ।”   यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माणको काम भइरहेको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ ।   यहाँ ताल निर्माण गरी पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको चुमानको भनाई छ ।