काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले वैष्णवी माताको जात्राको पूर्वसन्ध्यामा आज बिहान यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेण्डर विमोचन’ कार्यक्रममा उहाँले समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । “समाजमा हुने विकृति, विसङ्गति र चोरीका घटनाको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो । सिसी क्यामरा नभएको ठाउँमा चोरीका घटना धेरै बढेको भन्दै यसलाई नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको प्रहरी वरिष्ठ गिरीले बताउनुभयो । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताउनुभयो । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टुँडालदेवीको विकासका लागि सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको उहाँको भनाइ छ । सामुदायिक सेवा केन्द्रले टुँडालदेवी मन्दिर परिसरमा पाँचकोठे क्रियापुत्री भवन सञ्चालन गरेको छ । उक्त क्रियापुत्री भवनलाई आज समाजसेवी ओजस्वी शाहले २५ थान कम्बलसमेत वितरण गर्नुभएको छ । काठमाडौँ महानगरपालिका–४ का वडाध्यक्ष मोहनबहादुर विष्ट, नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक अमरसिंह शाहलगायतले समाजमा हुने आपराधिक क्रियाकलाप अन्त्यका लागि प्रहरी र स्थानीयवासीबीच सहकार्यको खाँचो रहेको बताउनुभयो । विसं २०५९ मा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्रले काठमाडौँ–४ मा हुने विकृति विसङ्गति अन्त्यका लागि विभिन्न सामाजिक काम गर्दै आएको केन्द्रकी प्रमुख, प्रहरी सहायक निरीक्षक कल्पना थापा धमलाले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाली सेनाका पूर्वअधिकृत, नेपाल प्रहरीका पूर्वअधिकृतलगायतको सहभागिता रहेको थियो ।
काठमाडौँ, २७ चैत (रासस) प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो । प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थापा, मिनु गुरुङ, सुष्मा तामाङ र भूपेन्द्र थापामगरले प्रतिष्पर्धा गरेका थिए । नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर रहेका थिए । गुरुङले ५१ किलो, थापामगरले ६३, थापाले ५७ तथा तामाङले ४८ किलो तौल समूहमा प्रतिष्पर्धा गरेको मुख्य प्रशिक्षक थापामगरले जानकारी दिए । प्रतियोगितामा नेपालका धनकुमार मैनालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
तनहुँ: वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् । शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले सबै वडाका भूमिहीनलाई निस्सा वितरण सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी–७ शान्तिनगरबाट निस्सा वितरण सुरुआत गरेको हो । शुक्लागण्डकी–७ का ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । तीमध्ये ८६६ भूमिहीनको विवरण प्रविष्ट गरिएकामा पहिलो चरणमा २४७ लाई निस्सा वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । निस्सा वितरणसँगै लालपुर्जाको प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो । नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । यहाँका भूमिहीन विगत लामो समयदेखि लालपुर्जा पाउने आशामा बसिरहेका छन् । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् । बन्दीपुरले पनि भूमिही सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर–१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने उहाँले बताउनुभयो । यसैगरी बन्दीपुर–४ र ५ का १३० भूमिहीनलाई निस्सा वितरण गरिएको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाका छवटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गरिनेछ । “भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हाँै, निस्सा दिएपछि अब लालपुर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौँ”, उहाँले भन्नुभयो । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले उनीहरुले लालपुर्जा पाउने पक्का भएको अध्यक्ष थापाले बताउनुभयो ।
ताप्लेजुङ: ताप्लेजुङसदरमुकाम फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान तथा अनुसन्धान केन्द्र बनेको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा भौतिक संरचना बनेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण भएको संरचना कूल लागत रु एक करोड ५७ लाख छ । काठमाडाँैस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको सो भवनको अङ्ग्रेजी अक्षर एल आकारको जग बसेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको छ । निर्माण कम्पनीका सुभरभाइजर अमृत भट्टराईका अनुसार यो स्रोत केन्द्र बनाउँदा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री र स्थानीय उत्पादनका सामग्री प्रयोग भएको जानकारी दिनुभयो । गोबर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर स्रोत केन्द्रको निर्माणमा प्रयोग गरिएको छ । उल्लेखित सामग्रीको मिलानले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकुलित प्रकृतिको हुने उहाँले बताउनुभयो । नेपालमा यस्ता कमै संरचना रहेको र त्यो तहको संरचना हिमाली जिल्ला ताप्लेजुङमा पनि बनेकामा पूर्वी नेपालकै लागि गौरवकै विषय भएको हिमाली संरक्षण मञ्चले जनाएको छ । विसं २०७६ मङ्सिरदेखि भवनको निर्माण सुरु भएको हो । गएको असार मसान्तमा सम्पन्न हुनुपर्नेमा महामारीका कारण लामो समयको लकडाउनले तोकिएको समयमा पूरा गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । भवन निर्माणकार्य ९९ प्रतिशत सम्पन्न भएको र अबको केही समयमै संरचना निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । देउराली भित्री वन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निमाकृपा शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीयस्तरमा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन तथा सदुपयोग गर्न, पर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडीबुटी, रेडपाण्डा र संरक्षित जङ्गली जनावर, पक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी हुने उहाँको भनाइ छ । मञ्चका सचिव विवश केदेमले पाथीभरा क्षेत्र रेडपाण्डाका लागि उपयुक्त बासस्थान भएको क्षेत्र भएकाले यो केन्द्रलाई अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गरिने बताउनुभयो ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७ हजार चोरी भएको आचार्यले बताउनुभयो । चुडामणि शर्माको मेडिकल, नयनसिंह थापाको घर र मनबहादुर परियारको पसलबाट पनि चोरी भएको छ । उहाँहरुको के–कति चोरी भएको भन्ने विषयमा खोजी भइरहेको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको शाखा रहेको घरमा समेत तोडफोड भएको आचार्यले बताउनुभयो । चोरी भए, नभएको विषयमा खोजी भइरहेको छ । चोरी भएका सबै घर तथा पसलमा झ्याल, ढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ । बिहीबार राति साढे २ बजेसम्म बजारमा गस्ती गरेको प्रहरीले चोरीका विषयमा आज बिहानमात्रै जानकारी पाएको जनाएको छ । घटनाका विषयमा खोजी र अनुसन्धान भइरहेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार हरि शर्माले जानकारी दिनुभयो । तीन महिना पहिला कुश्मीशेरा बजारकै हेमलाल पौडेलको पसल फोडेर चोरी भएको थियो । प्रहरीले त्यतिबेला चोरी गर्नेलाई समेत पक्राउ गर्न सकेको छैन । तीन महिनापछि कुश्मीशेरा बजारमा पुनः चोरीका घटना बढेको स्थानीयवासी बताउँछन् ।
वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिनुभयो । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो । कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै सेवा लिँदै आएका छन् । श्रम मन्त्रालयले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शीरूपमा सेवाप्रवाह गर्न अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीतिअनुसार अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको भनाइ छ । आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो–छरितोरूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशनानुसार पुनः श्रम स्वीकृतिसँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालको भनाइ छ । कागजात जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुनसक्ने भएकाले तीन दिनअघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई कार्यालयले अनुरोध पनि गरेको छ ।
हुम्लाः हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य शिविरबाट ३६० नागरिक लाभान्वित भएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा २११ महिला र १४९ पुरुषले सेवा लिएका थिए । सेवा लिनेमा १०१ ज्येष्ठ नागरिक समेत रहेका आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख कृष्णचन्द्र जोशीले जानकारी दिनुुभयो । सदरमुकाम सिमकोटसम्म आउन नसक्नेले सहजै सेवा लिन सकेको बताइएको छ । शिविरमा ग्यास्टिक, रुघाखोकी, दम, ज्वरो, पखाला, उच्च रक्तचावलगायत बिरामीको उपचार गरिनुका साथै औषधिसमेत वितरण गरिएको थियो । सिमकोट र सर्केगाड गाउँपालिकाका सेवाग्राहीले पनि सेवा लिएका थिए ।