काठमाडौं: भारत र श्रीलंकामा अर्को महिना सुरु हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) विश्वकपका लागि मंगलवार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको नामावली सार्वजनिक गरेको छ। बन्द प्रशिक्षणमा रहेका २४ बाट ९ खेलाडीले अन्तिम छनोटबाट बाहिरिएका छन्। उप कप्तान दिपेन्द्र सिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी,करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम परेका छन्। बन्द प्रशिक्षणमा रहेका कुशल मल्ल, आदिल अन्सारी, विनोद भण्डारी, भीम सार्की, साहब आलम, इशान पाण्डे, अभिनाष बोहरा , प्रतिश जिसी र रुपेशकुमार सिंह विश्वकप टोलीमा पर्न सकेनन् । दुई महिना अघि ओमानमा विश्व कप छनोट टोलीमा रहेका कुशल मल्ल र आदिल अन्सारी विश्व कप टोलीमा अटेनन् । उनीहरुको ठाउँमा बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन्। गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को प्रदर्शनका आधारमा प्रशिक्षणमा परेका उनीहरू अन्तिम १५ मा पर्न सफल भएका हुने । नेपालले यसपटक विश्व कपमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीको सामना गर्नेछ। माघ २५ गते इंग्ल्याण्डसँग खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ। नेपाल समूह चरणका आफ्ना सबै खेल भारत मुम्बईको वाङखडे मैदानमा खेल्नेछ। नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टि ट्वान्टी विश्व कप खेल्दैछ। तेस्रो पटक नै विश्वकप खेल्ने सोमपाल एक्लो नेपाली खेलाडी बन्नेछन्।
पोखरा: भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा भोलिदेखि प्रथम केआइइसी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुडिँखेल मैदानमा आयोजना हुनेछ । भेट्रान खेलाडीका लागि आपसी भाइचारा कायम गराउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संयोजक विरेन्द्र गुरुङले जानकारी दिए । ‘भेट्रान खेलाडीहरुलाई आफ्नो युवा उमेरको सम्झना दिलाउनका लागि यो प्रतियोगिताले मद्धत गर्ने हामीले विश्वास लिएका छौं । युवा अवस्थामा फुटबल खेलेर हिडेर आज परिवारसँग बस्दै आएका र फुटबलमै लागेका पुराना खेलाडीलाई मैदानमा उतार्ने हाम्रो योजना हो’ उनले भने, ‘यो प्रतियोगितामात्रै होइन । हाम्रो आपसी भाइचारा र सम्बन्ध विस्तार गर्ने थलो पनि हो ।’ पहिलो पटक प्रतियोगिता गर्न लागेकाले सबैले साथ र सहयोग गर्न उनले आग्रह गरे । उनका अनुसार प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लासहित कुल १८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा उच्च गोलकर्ताले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको रहेको छ । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ ।
लमजुङ: विभागीय टोली एपीएफ क्लबले ३३औं त्रिवेणी कपको उपाधि रक्षा गरेको छ। बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै एपीएफले दोस्रोपल्ट उपाधि जितेको हो। योसँगै एपीएफले १२ लाख रुपैयाँ हात पारेको छ। नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ। गत संस्करणमा भने एपीएफले वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो। यसपल्ट भने एपीएफलाई त्यतिधेरै संघर्ष गर्न परेन। करिब ७ वर्षपछि एपीएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले निर्धारित समयमै एपीएफलाई उपाधि चुमाए। एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे। खेलको ७७औं मिनेटमा युवराजको गोलमार्फ एपीएफले सुरुआती अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि नै प्रदीपले गोल गर्दै २–० को सहज जित पक्का गरे। योसँगै एपीएफले १२ लाख रुपैयाँ हात पारेको छ। नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ। नाल्मा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई २–० ले हराउँदै फाइनलमा पुगेको थियो। एपीएफले भने लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाएको थियो। खेलको ‘म्याच अफ दी म्याच’ युवराज घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे। व्यक्तिगत विधातर्फ एपीएफले एकलौटी सफलता जमायो। सर्वाधिक गोलकर्ता प्रदीप लामा र समीर थोकर घोषित भए। यी दुईले समान ३ गोल गरे। उत्कृष्ट गोलकिपर एञ्ज श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडी सन्तोष खत्री रहे। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रुपैयाँ प्राप्त गरे।
काठमाडौं: जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण क्याम्पमा २० जना खेलाडीबाट अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा पूजा महतो तथा अन्य खेलाडीमा रुविना क्षेत्री, सिता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरि र मनीषा उपाध्याय हुनुहुन्छ । नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ । छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ । १० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ । नेपालले दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४मा जिम्बावे र अन्तिम खेल जनवरी २६मा स्कटल्यान्डसँग खेल्ने छ । छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् । ग्लोबल छनोटका लागि क्यानले भारतीय हर्शल जयन्त पाठकलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरिसकेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो । छनोट अघि नेपालले आयरल्यान्ड र अमेरिकासँग अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।
काठमाडौं: यस पटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २२औं संस्करणमा हुनेछ । यसअघिका संस्करणभन्दा यसपल्टको कार्यक्रम ठ्याक्कै एउटा कारणले छुटिन्छ । यो हो, आयोजक सहर रूपमा पोखरा । अहिलेसम्म जति पनि कार्यक्रम भए, ती काठमाडौंमै भए । अब भने कार्यक्रम केन्द्रीय राजधानीभन्दा बाहिर पुग्ने भएको छ । यस्तोमा प्रश्न हुन्छ, पोखरा नै किन त ? पोखरामा अवार्ड कार्यक्रम हुनुको अर्थ के हो त ? सम्भवतः यसको उत्तर भने सजिलो छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो, राष्ट्रिय खेलकुद । यसको सुरुआत भएको थियो, २०३८ सालमा । त्यसयताको दोस्रो संस्करण २०४० मा पोखरामै भएको थियो । अहिले पनि राष्ट्रिय खेलकुदको इतिहास कोट्याउनुपर्छ, चार दशकभन्दा बढी समय अगाडि पोखरामा भएको त्यो प्रतियोगिता खुसी र गर्वले सम्झनेहरू धेरै छन् । पोखरा नै २०७९ पनि फेरि एकपल्ट नवौं राष्ट्रिय खेलकुद आयोजना भयोे । त्यसो त यो राष्ट्रिय प्रतियोगिताको मूल आयोजक राष्टिय खेलकुद परिषद थियो, तर पोखरा त्यसको मुख्य आधारस्थल थियो । त्यस अर्थमा पोखरा नेपाली खेलकुदको केन्द्र हो, खेलको भाषामा भन्दा ‘स्पोर्टस हब’ । पोखरासँग विशाल भौतिक संरचनाहरू रहेको छ । यत्तिको संरचना अन्यत्र पाइन्न भन्दा नै हुन्छ । अझ केही खेल पोखरामै मात्र हुन सक्ने स्थिति समेत छ । जस्तो केही साहसिक खेलहरू । त्यसमा सबैभन्दा अगाडि आउने नाम त ट्रायथलन र प्याराग्लाइडिङ नै भए । पोखराले केही असाध्यै नाम चलेका खेलाडी पनि जन्माएका छन् । तिनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । यस्ता खेलाडीको उत्पादनमा सहयोग पुराइरहेको छ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र यस्तै खालका स्पोर्टस अवार्ड कार्यक्रमले । विगतदेखि स्पोर्टस अवार्ड गर्दै आएको संस्था नेपाल खेलकुद पत्रकार मञ्च पनि हो । छोटकरीमा एनएसजेएफ । नेपाली खेलकुद पत्रकारको छाता संगठन मञ्चको नेपाली खेलकुदको सबैभन्दा ठूलो जिम्मेवारी भन्नु नै यो अवार्ड कार्यक्रमको आयोजना गर्नु हो । मञ्चको के मान्यता रहेको छ, यो अवार्ड कार्यक्रम अब काठमाडौंमै मात्र सीमित हुन्न । कार्यक्रम मोफसलमा हुने हो भने यो अवार्डको महत्व अझ बढ्नेछ । मञ्चको खास उद्देश्य त क्रमशः यो अवार्ड कार्यक्रमलाई सातै प्रदेशमा गर्ने रहेको छ, यसकै पहिलो खुड्किलो हो, पोखरा । मञ्चको के पनि तर्क रहेको छ, यो अवार्ड कार्यक्रम मोफसलमा पुगेपछि यसले एकातर्फ नेपाली खेलकुदको महत्व नजानिँदो तरीकाले बढ्ने छ नै, अर्कोतर्फ आम खेलाडीलाई स्टार हुनुको महत्व पनि थाहा हुनेछ । अहिलेसम्म जतिले यो अवार्ड जितेका छन्, त्यसमध्ये सबैको भनाइमा एउटा समानता पाइन्छ र यो हो, स्टार हुनुको अनुभव । मोफसलमा अवार्ड कार्यक्रम हुँदा त्यस क्षेत्रका खेलाडीले स्टारडम महसुस गर्नेछन् र यसैकै लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित हुनेछन् । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आईरहेको अवस्थामा यसपल्ट केन्द्रले गर्ने अवार्ड कार्यक्रम पहिलो पटक राजधानी बाहिर पोखरामा ल्याउनुमा महत्वपूर्ण भूमिका खेल्नेमा पर्छन्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य । उनी आफै नेपाली खेलकुदलाई मन पराउने व्यक्ति हुन् । उनकै शब्दमा भन्ने हो भने पोखरामा अहिलेसम्म धेरै खाले गतिविधि भए । खेलकुदका ठुल्ठूला प्रतियोगिता भए, त्यसमा १३ औं दक्षिण एसियाली खेलकुद पनि पर्छ । अनि उत्तिकै संख्यामा साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका हुँदै आइरहेको छ । साथै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा निरन्तर हुने पोखरा स्पोर्टस् अवार्डको १० औं संस्करण पनि वैशाखमा हुदैंछ ।
पोखरा: पोखरामा जारी २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा शिवालीले नेपाल शिर्ष वरियता प्राप्त सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नों नाम गराउँदा सुनिराले दोश्रो स्थानमै चित्त बुझाइन् । मेन्स सिंगल्सतर्फ पनि नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सिमित बनेको छ । उनलाई आयुष्मान हजुर घलेले २–१ को सेटमा पाखा लगाउँदै आफुलाई अन्तिम दुईमा उभ्याए । पहिलो सेट २–६ ले आफ्नो पक्षमा पारेका प्रदिपले दोस्रो र तेस्रो सेट क्रमश ६–४, ६–२ ले गुमाए । अर्को सेमीफाइनलमा भारतबाट आएका नेपाली खेलाडी करन बहादुर थापाले राजविर प्रधानलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे । यो संगै प्रतियोगिताको मुख्य इभेण्ट मेन्स सिंगलको उपाधीका लागि आयुषमान र करणको भेट पक्का भएको हो । ५५ वर्ष भन्दा माथीको पुरुष एकलतर्फ चन्द्र शाही प्रथम भएका छन् । जिवन घिमिरेलाई ६–०, ६–४ ले पराजित गर्दै शाहीले उपाधी रक्षा गरेका हुन् । ४५ वर्ष माथी पुरुष सिंगल्समा कमल भण्डारीले फाइनलमा देव क्षेत्रीलाई ६–२, ६–० को सोझो सेटमा हराउँदै उपाधि जिते । ३५ वर्ष माथी सिंगल्समा पूर्व नेपाल नं १ जितेन्द्र परियार र सन्तोष खत्री फाइनलमा भिड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनलमा जितेन्द्रले पेमा नोर्वुलाई ६–०, ६–२ ले तथा सन्तोषले भिष्म जङ्ग गुरूङलाई ६–४, ६–४ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम बुधबार हुने टुर्नामेन्ट सुपरभाइजर कुमार अधिकारीले जनाएका छन् ।
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४–२, ४–० को सेटमा पराजित गर्दै उपाधी जिते भने ६५ वर्ष माथि छ्याम्बा ढुन्डुपलाई जोडी बनाएका थापाले ध्रुव गुरुङ र बिदुर विष्टको जोडीलाई ४–१, ४–१ को सटेमा पराजित गर्दै दोहोरो उपाधि आफ्नों नाम गराए । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मेन्स डबल्स उपाधि प्रदीप खड्का र आयुषमान हजुर घलेको जोडीले जितेको छ । सोमबार भएको फाइनल खेलमा प्रदीप जोडीले नेहाल जंगबहादुर थापा र राजविर प्रधानको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् । ३५ वर्ष माथिको मेन्स डबलमा जितेन्द्र परियार र कुमार अधिकारीको जोडीले उपाधि जिते । फाइनलमा सन्तोष खत्री र भीष्म जंग गुरुङको जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै जितेन्द्र जोडीले सो उपाधि रक्षा गरेको हो । त्यसैगरी ४५ वर्षमाथिको मेन्स डबलतर्फ देव क्षेत्री र हिमाल शाहको जोडी प्रथम भयो । यो जोडीले फाइनल खेलमा रोहित सुनुवार र जोली टार्गेनको जोडीमाथि ६–२, ३–६ र सुपरटाईमा १०–५ को रोचक जित निकालेको हो । ५५ वर्ष माथिको डबल्स उपाधि उत्तमकुमार लामा र जितेन्द्र प्रधानको जोडीले जितेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा बिमलकुमार गुरुङ र हिमाल शाहको जोडीमाथि ४–६, ७–६ र ११–९ को नतिजा निकाल्दै उत्तम जोडीले सो उपाधि रक्षा गरेको हो । सिंगलतर्फ प्रदीप खड्काले प्रितम परियारलाई, आयुषमान हजुर घलेले नेहाल जंगबहादुर थापालाई, करणबहादुर थापाले दर्शिल श्रेष्ठलाई तथा राजबिर प्रधानले उगेन शेर्पालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनाए । ३५ वर्ष माथिको मेन्स सिंगलमा जितेन्द्र परियारले अनिल शाहीलाई, भिष्मजंग गुरुङले सोम रानालाई, प्रेम नोर्गुले विकास खड्कालाई तथा सन्तोष खत्रीले नविन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए । प्रतियोगिताका अन्य खेलहरु जारी रहेको अधिकारीले बताए ।
लमजुङ: बेंसीशहरमा शनिबारदेखि सुरु भएको ३३ औँ संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बेंसीशहर नगरपालिका ८ सहजीस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा एपीएफले सुन्दरबजार फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । एपीएफको जीतमा समीर थोकरले खेलको २० औँ मिनेटमा पहिलो गोल गरे । यस्तै उनले ३० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। ३७ औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए । दोस्रो हाफको १८ औँ मिनेटमा मणि लामाले चौथो गोल गरे । २५ औँ मिनेटमा पुनः गोल गर्दै समीर थोकरले ह्याट्रिक पूरा गरे । ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका थोकर म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। साथै, पहिलो गोल गरेबापत भुजुङ घर भई हाल हङकङ बस्दै आएका रामकुमार गुरुङको तर्फबाट नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । दुई विदेशी खेलाडीसहित मैदानमा उत्रिएको सुन्दरबजार फुटबल क्लब गोलरहित रहँदा उसका समर्थक निराश बने । आइतबार बिहान ११ बजे एनआरटी काठमाडौं र भानु युनाइटेड (चक्रपथ, काठमाडौं) बीच पहिलो खेल हुनेछ । दिउँसो २ बजे सूर्यपुर चितवन र लमजुङ मस्र्याङ्दी युवा क्लब बेंसीशहरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो । द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र ८ काश्य गरेर कुल १४ पदक हात पारेको छ । समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए। प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको थियो । कबड्डीतर्फ छात्रामा रामेश्वरी माविलाई स्वर्ण, शहीद स्मृति आवासीय माविलाई रजत र प्रतिभा मावि तथा कालिका माविलाई काश्य पदक हात पर्यो । छात्रतर्फ कालिका माविलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गौरी शङ्कर मावि तथा भवानी कालिका माविलाई काश्य पदक प्राप्त भयो । कबड्डीमा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुने दुवै टिमले १२ हजार–१२ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे । भलिबल छात्रा तर्फ शान्ता माविलाई स्वर्ण, कालिका माविलाई रजत र टप्स बोडिङ स्कुललाई काश्य पदक प्राप्त भयो । छात्र तर्फ पोखरा युनाइटेड एकेडेमीलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गुरुकुल विद्यासदनलाई काश्य पदक हात पर्यो । भलिबलमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र प्राप्त गरे । एथलेक्टिस छात्रतर्फ कालिका मावि प्रथम भयो, कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय र हार्वड एकेडेमी तृतीय भए । छात्रा तर्फ छोरेपाटन मावि प्रथम, सगरमाथा मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय भए । एथलेटिक्स तर्फ ८४ विद्यालयका ६ सय ६५ छात्र छात्रा सहभागी भएका थिए । कराते तर्फ ४१ विद्यालयका छात्र तर्फ ६० र छात्रा तर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेको उनले जनाए । यो विधा मार्फत १२ स्वर्ण, १२ रजत र २४ काश्य गरेर कुल ४८ पदक वितरण गरिएको उनले खुलाए । मार्चपास तर्फ रत्न ज्योति मावि प्रथम भयो । कान्तिपुर एकेडेमी द्वितीय, हार्वड स्कुल तृतीय र युनिभर्स बोडिङ स्कुल सान्त्वना भए । मार्च पासमा ४० विद्यालयले सहभागिता जनाएका थिए । मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रकाशकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

