पोखरा: सहारा क्लब पोखराको आयोजनामा २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको मिति तय भएको छ । आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने क्लबले सोमबार पत्रकार सम्मेलनमा जनायो । यो संस्करण आहा रारा पोखरा गोल्ड कपको रजतजयन्ती संस्करण हो । क्लब अध्यक्ष केशवबहादुर थापाले अखिल नेपाल फुटबल संघबाट उक्त समय तालिका प्राप्त भएको जानकारी गराउँदै सोहीअनुसार तयारी सुरु भएको जानकारी दिए । प्रतियोगितामा केही विदेशी टोलीले पनि भाग लिने भए पनि टुंगो नलागिसकेको बताए । सहारा क्लब पोखराले २०५८ सालबाट पोखरा रंगशालामा निरन्तर रुपमा संचालन गर्दै आएको राष्ट्रिय–अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप नेपालका कुनै पनि फुटबल प्रतियोगितामा निरन्तर हुने एकमात्र प्रतियोगिता हो । आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको संरक्षक पोखरा महानगर पालिका, विशेष सहयोग राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, सहउपप्रायोजक पोखरा महानगरपालिका वडा नम्बर ९ रहेका छन् । कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आहा रारा पोखरा गोल्डकपले फुटबलको विकाससँगै पोखराको चिनारी फैलाउन मद्दत पुगेको बताए । मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले सहारा क्लबसँग सधैँ सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए । सहारा च्यारिटी डिनर नाइटबाट साढे १७ लाख बचत सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गरेको सहारा च्यारिटी डिनर नाइट–२०८२ को आयव्यय सार्वजनिक गरिएको छ । यसपालि नियमित देउसीभैलो कार्यक्रम स्थगित गरी क्लबले पहिलोपल्ट उक्त कार्यक्रम गरेको थियो । कात्तिक १४ गते पोखरामा सम्पन्न सहारा च्यारिटी डिनर नाइट कार्यक्रम भने अभूतपूर्व सफल बनेको छ । जसबाट १७ लाख ४१ हजार ६२६ बचत (केही उठ्न बाँकीसमेत) भएको क्लबले पत्रकार सम्मेलनबीच सार्वजनिक गरेको हो । कार्यक्रममा २४ लाख १९ हजार १७७ आम्दानी भएकामा खर्च कटाई सो रकम बचत भएको क्लब महासचिव गंगाराम पौडेलले बताए । आम्दानीतर्फ टिकटबाट १० लाख ८७ हजार, नगद सहयोग १० लाख ८९ हजार र उठ्न बाँकी २ लाख ४२ हजार छ । खर्चतर्फ सबैभन्दा बढी खाजा–खानामा ५ लाख ८३ हजार खर्च भएको उल्लेख छ । फोटो तथा भिडियोग्राफीमा ४० हजार, कलाकार प्रोत्साहन ३५ हजार, यातायातमा १० हजार, मञ्च डेकोरेसनमा ८ हजार ७ सय खर्च भएको छ । क्लबले २५ हजारभन्दा बढी सहयोग गर्ने दाताको नामसमेत सार्वजनिक गरेको छ । तीमध्ये हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसीबाट १ लाख ५१ हजार, निर्देशक प्रकाश केसीबाट १ लाख २५ हजार, सहारा युकेबाट १ लाख सहयोग प्राप्त भएको छ ।
पोखरा: पोखरामा मंगलबारदेखि क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा मंसिर ९ देखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । उक्त प्रतियोगिता पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ८ समूहको सहभागिता रहेको प्रतियोगिता संयोजक मनोज खड्काले बताए । पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए । यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।
पोखरा: दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ । सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । काठमान्डुका लागि बेन चार्ल्सवर्थ ४६ रन बनाए भने आकाश त्रिपाठीले ३९ रन जोडे । जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह र सञ्जय कृष्णमूर्तिले एकएक विकेट लिए । पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा छ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाए । यस्तै, मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए। लाहिरु मिलन्था सात रनमा आउट भए । काठमान्डु गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक÷एक विकेट लिए । एनपिएलको दोस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ । फ्रेन्चाइज प्रतियोगिताका रुपमा व्यावसायिक प्रतिष्ठानहरुका साथै निजी क्षेत्रबाट करोडौं लगानी गरिएको एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि हिमालय महोत्सवका रुपमा दोस्रो प्रतियोगिताको सुरुआत आज सोमबारदेखि हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने २४ दिनको उक्त प्रतियोगिताको उद्घाटन खेलको सबै टिकट तत्कालै बिक्री हुनु एनपिएल क्रिकेटप्रति अत्यधिक दर्शकको अपार मोहका साथै प्रतियोगिताको अपार प्रतीक्षाको सङ्केत मान्न सकिन्छ । यस प्रतियोगितामा गत वर्षको विजेता जनकपुर बोल्डसका साथै उपबिजेता बनेको सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स तथा कर्णाली याक्ससमेत गरी आठवटा टिमको सहभागिता रहेको छ । यी सबै टिमका लागि निजी क्षेत्रले उत्साहका साथ ठूलो लगानी गरेको छ । प्रतियोगिता ‘राउण्ड रोबिन’को आधारमा सञ्चालन हुनेछ भने त्यसपछि हुने ‘प्ले अफ’ खेलहरुले प्रतियोगिताको नतिजा निर्धारण गर्नेछ । यसपटक एनपिएल क्रिकेटका मार्की खेलाडीहरुमा जनकपुर बोल्डसका आशिफ शेख, सुदूरपश्चिम रोयल्सका दिपेन्द्रसिंह ऐरी, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, चितवन राईनोजका कुशल मल्ल, बिराटनगर किङ्सका सन्दिप लामिछाने, लुम्बिनी लायन्सका रोहित पौडेल र कर्णाली याक्सका सोमपाल कामी रहेका छन् । मार्की खेलाडीहरुले जनही २० लाख रुपैयाँको दरले पारिश्रमिक प्रदान गरिंदैछ । टिममा परेका अन्य खेलाडीहरुलाई रु एक लाखदेखि १५ लाखसम्म पारिश्रमिक प्रदान गरिनेछ ।
काठमाडौं: दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली याशिवले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा साविक विजेता कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि रक्षा गरेको हो । सुरुवाती दुई सेट कर्णालीले २६–२४, २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि ललितपुरले उत्कृष्ट पुनरागमन गर्दै २५–१३, २५–१७ को अग्रता बनायो । निर्णायक सेटमा कर्णाली १५–८ ले विजयी भयो । यसअघि पोखरामा भदौ २० देखि २८ गतेसम्मका लागि तय भएको प्रतियोगिता जेनजी आन्दोलनका कारण बिचैमा रोकिएर काठमाडौँमा भएको हो । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो ।
पोखरा: तेस्रो संस्करणको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा विजय डाँडामा तीन दिनसम्म भएको प्रतियोगितामा आठ देशका ४५ खेलाडी सहभागी थिए । प्रतियोगिता छ वटा ट्रेल कुल ५ किलोमीटर ३६३ मिटर दूरीका साथमा छ वटा विधामा खेलाइएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । ३० देखि ३९ वर्ष सम्मका मास्टर्स ुएु विधामा नेपालका राजन भण्डारी प्रथम हुन सफल भए । भण्डारीले निर्धारित दूरी १४ मिनेट ५ मिलिसेकण्डमा पार गरेका थिए । त्यस्तै अस्ट्रेलियाका स्टेफन विलियम्स दोस्रो भएभने नेपालकै मुनेश घले तेस्रो हुन सफल भए । विलियम्सले निर्धारित दूरी १५ मिनेट ५९ सेकेन्ड ८१ मिलिसेकेन्डमा पार गरेका थिए भने घलेले १६ मिनेट २६ सेकेन्ड ५२ मीलिसेकण्डमा पार गरेका थिए । यता मास्टर्स ुबीु तर्फ पनि नेपालकै शक्ति गुन्सेकर प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १६ मिनेट १७ सेकेन्ड ३७ मिलिसेकेन्डमा पार गर्न सफल भए । यता सोही दूरी नेपालकै रवि कार्कीले १६ मिनेट ५० सेकेन्ड ४६ मिलिसेकेन्डमा पार गर्दै दोस्रो भएभने १७ मिनेट ३० सेकेन्ड ३७ मिलिसेकेन्डमा उक्त दूरी पार गर्दै प्रयास तामाङ तेस्रो बने । यता जुनियर तर्फको विधामा प्रसन्न महर्जन प्रथम, दिप्सन थापा दोस्रो र स्वप्निल रायमाझी तेस्रो बन्न सफल भए । पर्सनले निर्धारित दूरी १५ मिनेट ४९ सेकेन्ड २० मिलिसेकेन्डमा पार गरेका थिए भने दिप्सनले १५ मिनेट ५० सेकेन्ड ३५ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै स्वप्निलले भने उक्त दूरी १६ मिनेट ५८ सेकेन्ड ८५ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै खुला महिलातर्फको विधामा लक्ष्मी मगर प्रथम र कृपा डंगोल दोस्रो हुन सफल भइन् । लक्ष्मीले निर्धारित दूरी २० मिनेट एक सेकेन्ड ८० मिलिसेकेन्डमा पार गरेकी थिइन् भने कृपा डंगोलले २० मिनेट १५ सेकेन्ड ४० मिलिसेकेन्डमा पार गरेकी थिइन् । यता इलिटतर्फको विधामा भने हिकमत बिक प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १३ मिनेट ९ सेकेन्ड ७४ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै यस विधामा तेन्जिङ गुरुङ दोस्रो र अनिल बिक तेस्रो हुन सफल भए । तेन्जिङले १३ मिनेट ५८ सेकेन्ड ५६ मिलिसेकेन्डमा उक्त दूरी पार गरेका थिए भने अनिलले १४ मिनेट २९ सेकेन्ड १६ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै ५० वर्षमाथिका भेट्रान्स विधामा भने थाइल्याण्डका मार्क डटी प्रथम हुन सफल भए भने दोस्रो र तेस्रो नेपालका क्रमश मिङ्गुर दोर्जे शेर्पा र अनिल बास्कोटा भए । थाइल्याण्डका मार्कले निर्धारित दूरी १३ मिनेट ५५ सेकेन्ड १८ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै उक्त दूरी शेर्पाले १७ मिनेट २२ सेकेन्ड ७५ मिलिसेकेन्डमा पार गरेका थिए भने बास्कोटाले १८ मिनेट ५६ सेकेन्ड १८ मिलिसेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी थिए । सबै खेलाडीलाई छ वटै ट्रेलमा खेलाइएको थियो । समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामाआयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
पोखरा: तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो । प्रतियोगिताको उत्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । उत्घटान सत्रमा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टहरु भइरहने भएकाले पोखरा साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए । साथै विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न बढी नै रुचाउने गरेको उनले बताए । ‘ड्रागन बोट रेस, क्रस कन्ट्रीलगायत धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुँदै आएकोले पनि खेलकुद सँगै पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुगेको छ ।’ मेयर आचार्यले भने । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी छन् । १३ बढी देशका १ सय खेलाडी सहभागी हुने अपेक्षा आयोजक कम्पनी डन टिल डस्कले गरेपनि गत भदौ २३ र २४ गते नेपालमा भएको जेन्जी आन्दोलनले नकारात्मक असर पारेको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माको भनाइ छ । ‘सहभागी सोचे भन्दा कम भएपनि जति आउनुभएको छ, उहाँहरू पोखराको यो मौसम र भौगोलिक बनावटले निकै खुसी हुनुहुन्छ । त्यसमाथि स्थानीय नागरिक र स्थानीय निकायले देखाएको समन्वयकारी भूमिका निकै प्रसंसनीय छ ।’ (डाइरेक्टर शर्माले भने । उद्घाटन सत्रको अध्यक्षता गरेका पोखरा वडा १३ का वडाध्यक्ष किरण बरालले ’पोखरा इन्डूरो रेस’ पोखराकै ब्रान्डका रूपमा स्थापित भइसकेको बताए । प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ । समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामाआयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
पोखरा: तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्कका अनुसार कात्तिक २७ देखी २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ५० खेलाडी सहभागी हुने प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार १३ बढी देशले दर्ता गरेपनि नेपालमा भएको जेन्जी आन्दोलनले परेको नकारात्मक असरका कारण अरु देशले दर्ता रद्द गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । आयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ । प्रतियोगिताले खेलकुदलाई मात्र नभई खेलकुदसँगै पर्यटन प्रबर्धनलाई महत्वपूर्ण टेवा पुराउने विश्वास गरिएको छ ।
काठमाडौं: नेपाल प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको एनपीएलको खेल तालिका अनुसार पहिलो दिन एक खेल मात्र हुनेछ। सो खेल साँझ ४ बजे सुरु हुनेछ। दोस्रो दिन दुई खेल हुनेछ। एनपीएलको दोस्रो दिन चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्। सो खेल दिउँसो पौने १२ बजे सुरु हुनेछ। सोही दिन विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। सो खेल साँझ ४ बजे सुरु हुनेछ।

