पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब राइजिङ क्रिकेट क्लबले जित हासिल गरेका छन् ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ...

ताङतिङ युवा क्लबले ३१ औं चैत मेलाको अवसरमा गाउँकै पर्यटकीय गन्तव्य क्रपु डाँडाको नाममा आयोजना गरेको म्याराथनमा  नेपाल आर्मीका नरेन्द्रसिंह रावतले उपाधि जितेका छन् ।   ताङतिङ युवा क्लबको आयोजनामा पोखरा महानगरपालिका-१३ काहुँखोलादेखि मादी गाउँपालिका-२ ताङतिङसम्म शुक्रबार भएको २४ किलोमिटरको म्याराथन रावतले जितेका हुन् ।   उनले निर्धारित दूरी १ घण्टा ४५ मिनेटमा पूरा गरेको क्लबका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए । रावतले ४० हजार रुपैयाँ र मेडल पुरस्कार प्राप्त गरे ।   म्याराथनको विजेतामा आर्मीकै धावकको वर्चस्व रह्यो । उत्कृष्ट ७ मध्ये ५ धावक आर्मीकै रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।   आर्मीकै श्रीकोश राई १ घण्टा ४६ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पार गरेर द्वितीय भए । उनले ३० हजार रुपैयाँ र मेडल पाए ।   जुम्लाका दलबहादुर कुँवर तृतीय र रोल्पाका मनकुमार रोकामगर चौथो भए । कुँवरले १ घण्टा ४८ मिनेट ३५ सेकेन्डमा र मगरले १ घण्टा ५० मिनेट ३० सेकेन्डमा दूरी पूरा गरे । कुँवरले २० हजार रुपैयाँ, मगरले १० हजार रुपैयाँसहित मेडल पाए ।   आर्मीका सुवास कार्की पाँचौँ, गोविन्द कार्की छैटौं र रिकुलाल सिंजाली सातौं भए ।   सुवासले १ घण्टा ५१ मिनेट ३० सेकेन्ड, गोविन्दले १ घण्टा ५३ मिनेट ३० सेकेन्ड र रिकुलालले १ घण्टा ५५ मिनेट १० सेकेन्डमा दूरी पूरा गरेका थिए । उनीहरुले क्रमश: ८ हजार, ६ हजार र ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरे । म्याराथनमा ८७ जना धावक सहभागी थिए । 

पोखरामा चैत २९ गतेदेखि प्रथम एलिट भलिबल कप हुँदैछ ।   एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा बैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको  शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।   पोखरा–३ नदिपुरस्थित एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् ।   प्रतियोगिता संयोजकसमेत रहेकी उनले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने उल्लेख गरिन् ।   ‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा स्कलरसिपसँगै निशुल्क प्रशिक्षण गराउनेछौं । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ,’ उनले भनिन् ।   एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निशुल्क प्रशिक्षण गराउनेछ ।   प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।   प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्नेछन् ।   विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १५ सय प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५ सय र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ ।   दुवैतर्फ टिममा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताइन् ।   हालसम्म पुरुषतर्फ ९ र महिलातर्फ ७ टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिए । टिम दर्ताका लागि चैत २७ गतेसम्मका लागि समय दिइएको छ । खेल हेर्नका लागि प्यारापिट बनाइएको र १२ सयदेखि १५ सयसम्मको दर्शक क्षमता रहेको रोकाले बताए ।   कप्तान शाहीसहित ३ जना मिलेर नदिपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरुले महिला खेलाडीहरुलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् ।   विशेष गरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् ।   उनी भन्छिन्, ‘पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ । पहिलाको जुन साख छ पोखराको । त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो ।’

पोखरा: भोलिबाट सुरु हुने केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ ।  मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने केपी कपमा कुल १६ टिमले सहभागिता जनाउने भएका छन् ।  प्रतियोगिताको खेल तालिका सार्वजानिक भएसंगै पहिलो खेल पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लब बिच हुने भएको छ । दोस्रो तथा उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौं र हेटौडा एसएबिच हुनेछ ।  खेल तालिका अनुसार समूह ‘ए’ मा सिइसी काठमाडौं, हेटौडा एसए, पोखरा महानगर क्रिकेट क्लब र स्याङ्जा क्रिकेट क्लब रहेका छन् ।  समूह ‘बी’ मा चितवन क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एसोसिएसन, गण्डकी हिरोज क्रिकेट क्लब र हिमालयन क्रिकेट एसोसिएसन रहेका छन् ।  समूह ‘सी’ मा लुम्बनी खुकुरी क्रिकेट क्लब, मधेश प्रदेश क्रिकेट क्लब, हिमाल फ्रेन्ड क्रिकेट क्लब र कर्णाली एकेडेमी तथा समूह ‘डी’ मा सुन्दर हेरचाह क्रिकेट क्लब, आत्रेय क्रिकेट एसोसिएन, मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब रहेका छन् । यस अघि पहिलो संस्करणमा सात प्रदेश र तीन विभागीय क्लबको सहभागिता रहेको थियो । उक्त संस्करण मधेश प्रदेशले जितेको थियो ।  चैत्र २३ देखि ३० गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही नगद रु १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीका अध्यक्ष धु्रब आचार्यले जानकारी दिए ।  प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ । अध्यक्ष आचार्यले हाल सम्म २९ भन्दा बढि टिमले पत्र पठाए पनि अन्तिम चरणमा १६ टिमको मात्रै सहभागिता गराएको बताए ।  उनले क्रिकेट विकासका लागि अब ग्रासरुट स्तरमा जानुपर्छ भन्ने अवधारणा अनुरुप आफुहरुले यस पटक खुल्ला क्लबस्तरीय क्रिकेटको आयोजना गरेको सुनाए । उनका अनुसार हरेक टिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई समेत समावेश गराउन पाउनेछन् ।  उनले भने, ‘‘सहभागिता जनाउन चाहने टिमहरूको बारेमा निक्र्यौल गरेर १६ टिम मात्र सहभागिता गराएका छौं ।” पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै अध्यक्ष आचार्यले खेल पर्यटनमार्फत समेत यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने उल्लेख गरे । प्रतियोगितालाई सफल बनाउन सबै संग आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका उनले यूवा खेलाडी उत्पादनमा समेत यसको भूमिका हुने बताए ।  उनले भने–“अहिले धेरै यूवा खेलाडीहरूलाई यस्तो प्रतियोगिताहरूको खाँचो छ । जहाँ बाट उनीहरूको भूमिका राष्ट्रले प्राप्त गर्न सक्नेछ ।” प्रतियोगिता लिग कम नक आउटका आधारमा हुनेछ भने प्रतियोगितामा प्रवेश निशुल्क गरिएको छ ।  

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।   आज बसेको समितिको बैठकले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य सचिव टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै समयमा खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।   समितिका सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापन कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न तथा भव्यताका साथ तोकिएकै समयमा प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो ।   उक्त प्रतियोगिता २०८२ जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने तय भएको छ ।   यस्तै खेलकुद मन्त्री चौधरीले खेलकुद प्रतियोगिता समयमा नै सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले खेलाडीलाई पनि तयारी अवस्थामा राखिएको बताउनुभयो ।   व्यवस्थापनमा केही कठिनाइ आउने उल्लेख गर्दै उहाँले त्यसलाई ध्यानमा राखेर काम भइरहेको बताउनुभयो । समितिले प्रतियोगिता आयोजनाको तयारी तथा व्यवस्थापनको कार्यमा आबद्ध सम्पूर्ण तह, निकाय र पदाधिकारीबीच प्रभावकारी समन्वय तथा सहकार्य गरी कार्य अगाडि बढाउन निर्देशन दिएको छ ।   समितिका सदस्य रेखा शर्माले जुनसुकै हालतमा पनि पतियोगिता गर्नुपर्ने बताउनुभयो ।   समितिका अर्का सदस्य दीपा शर्माले प्रतियोगिता सम्पन्न गर्न मन्त्रालय र राखेपबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।   समितिका सदस्य रामप्रकाश चौधरीले पतियोगिता सम्पन्न गर्न मन्त्रालय र राखेपबीच तालमेल नमिलेको भन्दै समयमा नै प्रतियोगिता गर्नुपर्ने बताउनुभयो । समितिले प्रतियोगिताको तयारी र व्यवस्थापनबारे यही चैत २२ देखि २४ गतेसम्म स्थलगत अवलोकन गरी जानकारी लिने सभापति थापाले जानकारी दिनुभयो ।

पोखरा:   कास्कीको पर्यटकीय गाउँ ल्वाङमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला आयोजना हुने भएको छ ।   स्थानीय ग्रिनहिल युवा क्लबले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला आयोजना हुने भएको हो ।   क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार उक्त मेला यही २४ गतेदेखि २७ गतेसम्म ल्वाङगाउँको खेलमैदानमा सञ्चालन हुनेछ ।    सो मेलामा मुख्य आकर्षणको रुपमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश गरिएको अध्यक्ष गुरुङले बताए ।   पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।   यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।     यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने खेल संयोजक अनोद  गुरुङले बताए ।   प्रतियोगितामा सहभागिता जनाउनका लागि फोनमार्फत पनि –९८०६६२५९८६, ९८१४११७२७७, ९८२७१६००३३, ९८४६५२८०२९ र ९७०८२४८०९२) टिम दर्ता गराउन सकिने क्लबका सचिव निरोज गुरुङले जानकारी दिए ।   उनका अनुसार सो मेलामा छेलो हान्ने, रस्साकस्सी, म्युजिकल चियर,बेलुन फुटाउने प्रतियोगिता, विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।    

रुपन्देही:   प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।       जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५।२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए ।      आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए ।  त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए । उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।       आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर तीन विकेट लिए । सागर ढकालले आठ ओभरमा २९ रन खर्चेर तीन विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशी र गुलशन झाले समान एकरएक विकेट लिए ।       प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तगत यसपटक ४६ वटा खेलहरु खेलाइएको थियो । यी सबै खेल पहिलो पटक काठमाडौँ बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिभागिय टोली सहित १० वटा टोलीहरुले सहभागीता जनाएका थिए ।

पोखरा:   पोखरामा यही चैत २३ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट’हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीलेले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबार जानकारी दिएको हो ।  मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले पोखरा रंगशाला क्रिकेट मैदानमा यहि चैत्र २३ देखि ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहेने बताए ।  उनले पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै खेल पर्यटनमार्फत समेत यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने उल्लेख गरे । लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही नगद रु १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ ।

काठमाडौं:  नेपालबाट विगत केही समयदेखि स्थापित फुटबल खेलाडीसमेत विदेश पलायन भइसकेको अवस्थामा मुलुकमा खेलेर पनि बाँच्न सकिन्छ भन्ने सन्देश दिने लक्ष्यसहित नेपाल सुपर लिग फुटबल प्रतियोगिता एनएसएलको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ । एनएसएल फुटबल नेपालकै पहिलो फ्रेन्चाइज खेलकुद प्रतियोगिता मानिएको छ ।      विसं २०८१ नेपालमा व्यावसायिक खेलको विकासका दृष्टिले उपलब्धिमूलक वर्ष सावित हुन पुग्यो । यस वर्ष भलिबल, क्रिकेट, कबड्डीलगायतय खेलको व्यावसायिक आयोजना भइसकेको छ, जसले नेपालमा व्यावसायिक खेलको विकासका लागि समयोचित वातावरण बनाउन भूमिका खेलेको छ ।  यही चैत १६ गते सुरु भई एनएसएल फुटबलका खेल आगामी नव वर्ष वैशाखको १३ गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा सञ्चालन हुनेछ । सिङ्गल राउण्ड रोविनका आधारमा हुने लिग चरणमा २१ खेलसहित कूल २५ खेल हुनेछन् ।   प्ले अफमा प्रवेश गरेका चार टोलीले फाइनलसहित चार खेल खेल्न पाउनेछन् । यसपाली चिसो मौसम समाप्त भएपछि प्रतियोगिता हुन लागेकाले रङ्गशालामा दर्शकहरुको उपस्थिति उल्लेखनीय हुने अनुमान गरिएको छ । गत वर्षको मङ्सिरमा प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुँदा दर्शक चिसोमा पनि रङ्गशाला धाउन बाध्य भएका थिए ।      निजी क्षेत्रको नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्टले अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा आयोजना गरेको एनएसएल फुटबलमा गत वर्षको विजेता ललितपुर सिटी एफसी, काठमाडौँ रेजर्स, झापा एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीबीच प्रतिस्पर्धा हुँदैछ । तर गत सिजनका सहभागी स्पोर्टिङ इलाम तथा युनाइटेड वीरगञ्ज टोलीको भने यसपाली सहभागिता रहेको छैन । यसरी विगतमा भएको नौ टोलीको  सहभागिता सातमा झर्नु सुखद पक्ष होइन ।  मार्की खेलाडी        यस प्रतियोगिताका लागि नेपाली फुटबलमा पहिचान बनाइसकेका खेलाडीमध्येबाट प्रत्येक टोलीमा एक जनालाई मार्की खेलाडीका रुपमा चयन गरिएको छ । मार्की खेलाडी बन्न सफल भएकामा नेपाली राष्ट्रिय फुटबल टोलीका सुपरिचित अनुहार छन् ।  अनन्त तामाङ ललितपुरमा, लाकेन लिम्बू झापा, अञ्जन विष्ट चितवन, रोहन कार्की काठमाडौँ, समीर तामाङ पोखरा, मनिष डाँगी बुटवल र कृतिशरन्त छुन्जु धनगढीको टोलीमा मार्की खेलाडीका रुपमा रहेका छन् ।  नेपाली राष्ट्रिय टोलीका कप्तान एंव मुलुक बाहिरसमेत व्यावसायिक खेल खेलिसकेका गोल किपर किरण चेम्जोङको अनुपस्थिति भने नेपाली दर्शकहरुका लागि खड्किनेछ ।   पहिलो पटक अक्सन      नेपालमा केही महिनाअघि सम्पन्न नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट हुँदा खेलाडीहरुको अक्सन गरिएको थियो । तर फुटबलका लागि पहिलो पटक अक्सन एनएसएलका सिलसिलामा गरिएको थियो ।  कूल ६० खेलाडीहरुको गरिएको अक्सनमा सबैभन्दा महँगो खेलाडी सावित भएकामा समूह ‘ए’मा रहेका खेलाडी मणिकुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, जिलेस्पीजङ्ग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री छन् ।  उनीहरुले यो एउटै प्रतियोगिता खेलेर जनही रु चार लाखमा अनुबन्ध भएका छन् । तर अक्सनमा नेपाली राष्ट्रिय टोलीका लागि महत्वपूर्ण योगदान गरिसकेका भरत खवास, विकेश कुथुलगायतका खेलाडी नपर्नु दुःखद् पक्ष थियो । समूह ‘ए’ मा रहेका खेलाडी रु दुई लाखदेखि रु चार लाखसम्म तथा ‘बी’ समूहमा रहेकाहरु रु डेढ लाखदेखि रु दुई लाखसम्ममा अनुबन्ध भएका छन् ।   विदेशी खेलाडीसँग खेल्ने अवसर      यस प्रतियोगितामा नेपाली खेलाडीले विभिन्न मुलुकका खेलाडीसँग खेल्ने अवसर प्राप्त गर्दैछन् । भुटान, हाइटी, प्यालिष्टाइन, सियरालियोन, नाइजेरिया, लेबनान, मोरक्को, उज्वेकिस्तान, सर्बियालगायतका खेलाडी नेपालका विभिन्न टोलीमा संलग्न भई खेल्दैछन् ।  यसबाट नेपाली खेलाडीले विदेशी खेलाडीसँग व्यक्तिगत रुपमा परिचित हुने मौका पाउनुका साथै उनिहरुको खेल कौशल सिक्न मौका पाउँछन् जुन नेपालका लागि पनि उपलब्धिमूलक हुन जानेछ ।  प्रतियोगितामा सहभागी सातवटै टोली प्रत्येकले बढीमा छ जनासम्म विदेशी खेलाडीलाई टोलीमा समावेश गर्न पाउने नियम रहेको छ । त्यसमध्ये एक जना एशियाली मुलुकका खेलाडी हुनुपर्ने व्यवस्था छ । एक खेलमा हरेक टोलीले पाँच विदेशी खेलाडीलाई मात्र मैदानमा उतार्न सक्नेछ ।       नेपाली तथा विदेशी खेलाडीको यस सहकार्यले नेपाली खेलाडीलाई भोलिका दिनमा सम्भावनाको ढोका खोल्न सहयोगी सिद्ध हुने अनुमान गर्न सकिन्छ । यसै प्रतियोगिताका लागि विभिन्न टोलीले करार गरेर भित्र्याएका विदेशी प्रशिक्षकको प्रशिक्षण पनि नेपाली खेलाडीका लागि अविश्मरणीय मौका हुनेछ । विदेशमा रहेका नेपाली खेलाडी पनि      एनएसएल फुटबलमा प्रत्येक टोलीले गैरआवासीय नेपाली खेलाडीलाई पनि सहभागी बनाउन पाउने नियम बनाइएको छ । विदेशमा रहेका नेपालीलाई पनि टोलीमा समावेश गरिएबाट उनीहरुले स्वदेशमा आफ्नो खेल प्रदर्शन गर्न पाउनेछन् ।  गत वर्षको संकरणमा नेपाली राष्ट्रिय फुटबल टोलीमा महत्वपूर्ण खेलाडीको पहिचान बनाएका विमल घर्तीमगर अष्ट्रेलियाबाट यो प्रतियोगिता खेल्न नेपाल आएका थिए । फुटबलमै रमाइलो        केही समयअघि दशरथ रंगशालामा सम्पन्न केपी वली कप फुटबलको फाइनलका दिन ख्वप ब्याण्डका बहुचर्चित गायक कुमार सागरको प्रस्तुतिलाई फुटबल प्रेमीहरुले अत्यधिक रुचाएका थिए ।  एनएसएल फुटबल प्रतियोगिताको उद्घाटनका बेला शनिबार साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ । हालका चर्चित गायक दुर्गेश थापाले रङ्गशालामा आफ्नो  विविध गीत प्रस्तुत कार्यक्रम रहेको छ । त्यो शून्य रङ्गशालाको सम्झना      विश्वमै कोभिडको सङ्क्रमण बढिरहेको बेलामा २०७८ सालमा नेपालमा पहिलो पटक एनएसएल फुटबल आयोजना भएको थियो ।  त्यस्तो जोखिमपूर्ण अवस्थामा प्रतियोगिता हुनुहुन्न भन्ने आवाज उठिरहेको बेला आयोजकले दशरथ रङ्गशालाको मैदानमा दर्शकहरुको उपस्थितिविना नै प्रतियोगिताको पहिलो संस्करण आयोजना गर्नु साहसिक कदम थियो ।  खेल गतिविधि शून्य अवस्थामा रहेका बेला विभिन्न मुलुकका खेलाडी यो प्रतियोगिता खेल्न नेपाल आएका थिए । नेपाली फुटबल प्रेमीले विश्वव्यापी महामारीका बेलामा घरमै बसेर टेलिभिजन तथा सामाजिक सञ्जालका माध्यमबाट खेल हेरेर अत्यधिक मनोरञ्जन लिएका थिए ।  आयोजकले अखिल नेपाल फुटबल सङ्घसँग कोभिडको प्रकोपअघि नै सम्झौता गरी प्रतियोगिता सुरु गर्ने लक्ष्य राखे पनि कोभिडका कारण प्रतियोगिता नरोकेर दशरथ रङ्गशालामा पहिलो पटक दर्शकविनाको खेल सञ्चालन गर्नु चुनौतिपूर्ण कार्य थियो । अब महिला फ्रेन्चाइज पनि      नेपाली महिला फुटबल खेलाडीहरुको प्रतिनिधित्व विभिन्न अन्तरराष्ट्रिय लिग भइरहेको भए तापनि नेपालमा भने यसको व्यावसायिक अभ्यास सुरु हुन सकेको छैन ।  नेपालको प्रतिनिधित्व गर्दै सावित्रा भण्डारी फ्रान्स, अन्जिला तुम्बापो सुब्बा ग्रिस तथा रेखा पौडेल संयुक्त अरब इमिरेटसमा स्थानीय क्लबमा आबद्ध भएर व्यावसायिक लिग खेलिरहेका छन् ।  अब नेपालमा पनि महिलाहरुको फ्रेन्चाइज लिग हुने भएपछि व्यावसायिक खेलको माहोल बन्न सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घले वार्षिक क्यालेण्डरमा आगामी २०८२ साल मङ्सिर १५ गतेदेखि माघ १५ गते फ्रेन्चाइज महिला लिग गरिने भएको कुरा उल्लेख गरिएको छ ।      समग्रमा नेपालको खेल क्षेत्रमा निजी क्षेत्रको झुकाव बढ्दै जानु समग्र खेलकुद जगतकै लागि सुखद पक्ष हो । यसले खेलकुदको व्यावसायीकरण गर्दै खेलाडीलाई जीवनयापनमा सहजता प्रदान गर्ने गर्दछ ।  खेलकुद प्रतियोगिता आयोजनाका साथै क्लबहरुमा लगानी गर्न निजी क्षेत्रबाट देखाएको उत्साहको निरन्तरताका लागि सरकारले यथोचित वातावरणको सिर्जना गरिदिनु पर्दछ ।  आयोजक पक्षले पनि तेस्रो संस्करणसमेत राजधानी केन्द्रित गरिएकाले आगामी वर्षका प्रतियोगिता बाहिर जिल्लामा आयोजना गर्नुपर्ने आवश्यकता देखिएको छ ।      करिब एक महिना जारी रहने एनएसएल प्रतियोगितामा नेपाली दर्शकले पक्कै पनि नेपाली तथा विदेशी खेलाडीको रोमाञ्चकारी खेल हेर्ने अवसर पाउनेछन् ।  यो प्रतियोगिताका माध्यमबाट नेपाली खेलाडीको सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । समग्रमा एनएसएल फुटबल प्रतियोगिताले नेपाली फुटबलको स्तर अभिवृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ ।