पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । ...

काठमाडौं:    घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमान्चक जितका साथ फाइनलमा स्थान बनाएको छ । श्रीलंकाले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ । जितको लागि २ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए । श्रीलंकालाई अन्तिम बलमा जितको लागि दुई रन चाहिँदा जमान खानलाई चरिथ असंलकाले पूरा गर्दै फाइनलमा पुर्याए । अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो । डेब्यू खेल खेलेका जमान खानले सुरुवाती चार बलमा दुई रन मात्रै दिएपछि अन्तिम दुई बलमा जितको लागि ६ रन चाहिँएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै जित पक्का गराए । श्रीलंकालाई अन्तिम १२ बलमा जितको लागि १२ रन चाहिँएको थियो । शाहिन शाह अफ्रिदीले ४१ औं ओभरमा ४ रन खर्चेर २ विकेट लिएपछि पाकिस्तानले जितको सम्भावना देखाएको थियो । श्रीलंकाको जितमा हिरो बनेका चरिथ असलंका ४७ बलमा ३ चौका र १ छक्कासहित ४९ रनमा अविजित रहे । ओपनर पाथुम निसांका २९ र कुशल परेरा १७ रनमा आउट भएका थिए । सदिरा समाराविक्रमा ५१ बलमा ४ चौकासहित ४८, दासुन शानका २, धनन्जय डि सिल्भा ५ र दुनिथ वेलालागे डक आउट भए । तेस्रो विकेटका लागि सदिरा र कुशलले १ सय रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । पाकिस्तानका इफ्तिखर अहमदले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । शाहिन शाह अफ्रिदीले ९ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । शादब खानको नाममा १ विकेट रह्यो । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ८६ रन बनाएका थिए । पाकिस्तानलाई छैटौं विकेटका लागि इफ्तिखर अहमद र मोहम्मद रिजवानले ७८ बलमा १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । इफ्तिखर अहमद ४० बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा क्याच आउट भए । ओपनर अब्दुल्लाह शफिकले ६९ बलमा ३ चौका र २ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । पाकिस्तानका ओपनर फखार जमान ४ रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि ओपनर अब्दुल्लाह शफिक र बाबर आजमले ६७ रनको साझेदारी गरेका थिए । बाबर ३५ बलमा ३ चौकासहित २९ रनमा आउट भए । स्पिनर दुनिथ वेलालागेको बलमा मिस भएपछि विकेटकिपर कुशल मेन्डिसले बाबरलाई उत्कृष्ट स्टम्पिङ आउट गरेका थिए । तीव्र गतिका बलर मथिसा पाथिरानको शर्ट बलमा पुल खेल्ने धुनमा शफिक प्रमोदबाट क्याच आउट हुन पुगेका थिए । पाथिरानाकै बलमा हरिस ३ रनमा कट एन्ड बाल्ड आउट भए । मोहम्मद नवाज १२ बलमा २ चौकासहित १२ रनमा महेश थिक्सेनाको बलमा बोल्ड आउट भए । श्रीलंकाका युवा तीव्र गतिका बलर मथिसा पाथिरानाले ८ ओभरमा ६५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । दुनिथ वेलालागेले ९ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । महेश थिक्सेनाले ९ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । प्रमोद मदुशानले ७ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर २ विकेट लिए । भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो । भारतले सुपर फोरको अन्तिम खेल शुक्रबार बंगलादेशसँग खेल्नेछ । फाइनल आइतबार हुनेछ । श्रीलंका साविक विजेता टोली समेत हो ।

काठमाडौं: अपी स्कुल धापासीको आयोजनामा ‘अपि क्रिकेट कार्भिनल’ हुने भएको छ ।   धापासी स्थित अपि स्कुलको मैदानमा भदौ ३० देखि २ गतेसम्म सञ्चालन हुने इन्डोर प्रतियोगितामा १२ टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अविनास बस्यालले जानकारी दिनुभयो ।   प्रतियोगितामा आयोजक अपि स्कुलको दुई टोली, युरो स्कुल, रेडियन्ट स्कुल, उज्जल शिशु निकेतन एकेडेमी, एलआरआई, मोक्क्ष, एन्जल हर्ट, नितेन मेमोरियल, थिलिङटार हाईअर सेकन्डरी, एभीएस र श्रीकामना बोडिङ स्कुलको सहभागिता रहने छ ।    सहभागी टोलीका खेलाडी कक्षा १० सम्म पढिरहेका सोही स्कुलको विद्यार्थी हुनुपर्ने आयोजकले जनाएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । १० ओभरको खेलमा प्रत्येक टोलीका आठ खेलाडीले खेल्नेछन् ।    प्रतियोगिताकाको विजेता र उपविजेता टोलीलाई ट्रफी प्रदान गरिने छ । स्कुल स्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्येश्यले प्रतियोगिता आयोजना गरिएको पनि संयोजक बस्यालले बताउनुभयो । 

काठमाडौं:    एसिया कपको सुपर फोरमा आज पाकिस्तानले श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा कोलोम्बोमा सुरु हुनेछ । यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । तर वर्षाको कारण खेल रद्द भएमा श्रीलंका नेटरनरेटको कारण फाइनलमा स्थान बनाउनेछ । सुपर फोर खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराउँदा भारतसँग २ सय २८ रनको लज्जास्पद हार व्यहोरेको थियो । उता श्रीलंकाले बंगलादेशलाई २१ रनले हराउँदा भारतसँग ४१ रनको हार व्यहोरेको थियो । भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । समान २ अंक भएपनि नेटरनरेटको कारण श्रीलंका दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । श्रीलंकाको नेटरनरेट माइनस ०.२०० र पाकिस्तानको माइनस १.८९२छ । पाकिस्तानले पछिल्लो भारतसँगको खेलबाट टोलीमा पाँच परिवर्तन गरेको छ । ओपनर फखार जमान, मध्यक्रमका ब्याटर अघा सलमान, तीव्र गतिका बलर हरिस रौफ, नसिम शाह र फहिम अशरफलाई बेन्चमा राखेको छ । युवा ओपनर मोहम्मद हरिस, मध्यक्रमका ब्याटर साउद सकिल, स्पिन अलराउन्डर मोहम्मद नवाज, तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध खेलाउनेछ । रौफ र शाह चोटका कारण टोलीमा नभएका हुन् । अन्य तीन खेलाडी कमजोर प्रदर्शनका कारण टोलीमा नपरेका हुन् । कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । यी दुई ब्याटरको उच्च प्रदर्शन बिना जित निकाल्न कठिन पर्नसक्छ । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी प्रमुख हतियार हुन् । रौफ र शाह नहुँदा बलिङ आक्रामण कमजोर बन्नसक्छ । उता भारतविरुद्ध ४२ रन बनाउनुको साथै पाँच विकेट लिएका स्पिनर दुनिथ वेलालागे पाकिस्तानलाई घातक बन्नसक्छन् । पाकिस्तानले भारतीय स्पिनर कुलदीप यादवविरुद्ध कमजोर प्रदर्शन गरेका थिए । श्रीलंकाका कप्तान दासुन शानका खराब लयबाट गुज्रिएका छन् । साविक वितेजा श्रींलका शानकाबाट सानदार प्रदर्शन चाहन्छ । ओपनर दिुमथ करुणारत्नेको स्थानमा कुशल परेरालाई मौका दिनसक्छ । कुशल मेन्डिस र सदिरा समाराविक्रमा प्रमुख ब्याटर हुन् । मथिसा पाथिराना र कसुन रजिथा तीव्र गतिका बतियार हुन् । दुवै टोलीलाई चोटले सताएको छ । आफ्ना प्रमुख बलर दुबै टोलीमा छैनन् । श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगा चोटका कारण यस प्रतियोगितामै छैनन् ।

काठमाडौं:   भारत एसिया कपको फाइनलमा प्रवेश गरेको छ । भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले एक खेल अगावै ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो ।  जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेलालागेले ४६ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहेपनि जिताउन सकेनन् । दुनिथले बलिङमा पाँच विकेट समेत लिएका थिए । धनन्जय डि सिल्भाले ६६ बलमा ५ चौकासहित ४१ रनमा आउट भए । भारतलाई तीव्र गतिका बलर जस्प्रित बुमराहले उत्कृष्ट सुरुवात दिलाएका थिए । बुमराहले तेस्रो ओभरको पहिलो बलमै ओपनर पाथुम निसांकालाई विकेटकिपर लोकेश राहुलबाट ६ रनमा क्याच गराए । बुमराहकै बलमा कुशल मेन्डिस १५ रनमा वैकल्पिक फिल्डर सूर्यकुमार यादवबाट क्याच आउट भए । मोहम्मद शिराजले ओपनर दिमुथ करुणारत्नेलाई फस्ट सिलिपमा शुभमन गिलबाट २ रनमा क्याच गराएपछि श्रीलंका ७.१ ओभरमा २५-३ को अवस्थामा पुगेको थियो । सदिरा समाराविक्रमा ३१ बलमा १ चौकासहित १७ रनमा राहुलबाट स्टम्पिङ आउट भए । कुलदीप यादवको बलमा ठूलो सट खेल्ने धुनमा उनी मिस भएपछि आउट हुन पुगेका थिए । चरिथ असलंका ३५ बलमा २ चाकासहित २२ रनमा कुलदीपकै बलमा आउट भए । रविन्द्र जडेजाले कप्तान दासुन शानकालाई फस्ट स्लिपमा रोहित शर्माबाट ९ रनमा क्याच गराएपछि श्रीलंका २५।१ ओभरमा ९९(६ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि धनन्जय डि सिल्भा र दुनीथले ७५ बलमा ६३ रनको साझेदारी गरेका थिए । रविन्द्र जडेजाको बलमा डि सिल्भा मिडअनमा गिलबाट क्याच आउट भए । सिल्भाको विकेटसँगै जितको सम्भावना लगभग समाप्त भएको थियो । भारतका कुलदीप यादवले ९.३ ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । रविन्द्र जडेजाले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले दुई, हार्दिक पान्ड्या र मोहम्मद शिराजले एक एक विकेट लिए । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४९.१ ओभरमा २ सय १३ रनमा अल आउट भएको थियो । भारतका कप्तान रोहित शर्माले ४८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५३ रन बनाए । भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ११.१ ओभरमा ८० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर श्रीलंकाको स्पिन आक्रामण सामु भारतीय ब्याटिङ चल्न सकेन । युवा स्पिनर दुनिथ वेलालागे र पार्टटाइम स्पिनर चरिथ असलंकाले सानदार बलिङ गर्दै मध्यम योगफलमै रोकेका थिए । दुनीथले आफ्नो पहिलो बलमै शुभमन गिललाई १९ रनमा बोल्ड गर्दै भारतको साझेदारीमा ब्रेक लगाएका थिए । भारतका शीर्ष चार ब्याटरलाई आउट गर्दै दुनीथले श्रीलंकालाई खेलमा हाबी बनाएका थिए । दुनिथले १४ औं ओभरको पाँचौं बलमा विराट कोहलीलाई ३ रनमा दासुन शानकाबाट क्याच आउट गराए । १६ औं ओभरको पहिलो बलमा उनले रोहित शर्मालाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । लोकेश राहुललाई दुनीथले ३९ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । उनले ३६ औं ओभरको अन्तिम बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर कुशल मेन्डिसबाट पाँच रनमा क्याच आउट गराउँदै पाँच विकेट पूरा गरे । अम्पायरले आउट नदिएपनि श्रीलंकाले रिभ्यु लिँदै हार्दिकलाई पेभेलिएन फर्काएको थियो । अर्को एन्डबाट असंलकाले उत्कृष्ट बलिङ गरे । असंलकाको ३५ औं ओभरको दोस्रो बलमा ईशान किशन ३३ रनमा क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए । ईशानले ६१ बलमा १ चौका र १ छक्का प्रहार गरे । दुनीथले एक्स्ट्रा कभरमा सानदार क्याच लिएका थिए । असलंकाले रविन्द्र जडेजालाई ४ रनमै क्याच आउट गराए । असंलाकाले जस्प्रित बुमराहलाई ५ रनमा बोल्ड आउट गरे । बुमराहलाई आउट गरेको अर्को बलमा कुलदीप यादव स्लिपमा शून्यमा क्याच आउट भए । श्रीलंकाका २० वर्षीय युवा स्पिनर दुनीथ वेलालागेले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए । चरिथ असलंकाले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका छन् । यी दुबै स्पिनरको करिअरको उत्कृष्ट प्रदर्शन हो । अर्का स्पिनर धनन्जय डि सिल्भाले विकेट लिन नसकेपनि १० ओभरमा मात्रै २८ रन खर्चेर दबाबमा राखेका थिए । स्पिनर महेश थिक्सेनाले ९.१ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । सुपर सिक्स खेलमा भारतले पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनले रहाएको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । बंगलादेश सुरुवाती दुई हारका साथ फाइनल दौडबाट बाहिरिएको छ । बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ । श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ ।

काठमाडौं:    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । असन्तुष्ट पक्षले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाइ बर्खास्तीको माग गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । एन्फामा ८६ जना सदस्य रहेकोमा ४९ जना सदस्यले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गराएका छन् । कुल सदस्यको ४० प्रतिशतले अविश्वासको प्रस्ताव दर्ता गराउन सक्ने र दुई तिहाइ बहुमतले अविश्वासको प्रस्ताव पारित गर्नुपर्ने हुन्छ । अविश्वासको प्रस्ताव दर्ता भएसँगै अध्यक्ष र महासचिव स्वतः बर्खास्तीमा परेको असन्तुष्ट पक्षको दाबी छ । अहिलेकै अवस्था रहेमा नेपाली फुटबल समाप्त हुने चिन्ताका कारण अविश्वासको प्रस्ताव दर्ता गराएको उनीहरूले बताएका छन् । अविश्वासको प्रस्ताव दर्ता भएकै कारण आज सोमवारका लागि तोकिएको साधारणसभा अनिश्चित बनेको छ 

पोखरा:  पोखरामा असोजको तेस्रो साता पहिलो संस्करणको सिक्स ए साइड यू–२३ एमेच्युर फुटसल प्रतियोगिता हुने भएको छ ।   प्रतिभावान र उदीयमान खेलाडीलाई लक्षित गरी आगामी असोज २३ र २४ गते पोखरामा राजकुमार श्रेष्ठ (फुटबल रेफ्री) को नेतृत्वमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।   उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता समूहले शिल्ड, ट्रफी तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । यस्तै प्रतियोगिताबाट   सर्बाेत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित २ हजार र उत्कृष्त गोलरक्षकलाई ट्रफीसहित १५ सय रुपैयाँले पुरस्कृत गरिने  छ ।   श्रेष्ठले नयाँ तथा प्रतिभावान खेलाडीलाई उत्पादनमा सघाउ पुर्याउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरेको बताए ।    उनका अनुसार हस्पिटलचोकस्थित पैयुम फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ४ हजार निर्धारण गरिएको  छ ।   सो प्रतियोगितामा ए, बि,  सी डिभिजन फुटबल र फुटसल लिग खेलेका यू–२३ खेलाडीहरुपनि सहभागिता जनाउन पाउने छैनन् ।   

काठमाडौं:      नेपाली राष्ट्रिय फुटबल टोली र म्यानमारको राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । म्यानमारको यंगोन अन्तराष्ट्रिय रंगशालामा खेल नेपाली समय अनुसार खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।   यि दुई टोलीबीच शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । अन्जन विष्टले पेनाल्टी पाएको अवसरको सदुपयोग गर्न नसक्दा नेपालले म्यानमारसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ । गोल गर्न असफल भएसँगै अन्जनले नेपालको लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गर्ने मौका गुमाएका छन् । हरि खड्का र निराजन रायमाझीको नाममा समान १३ गोल छ । अन्जनको १२ गोल छ । सोही खेलमार्फत त्रिभुवन आर्मी फुटबल क्लबका जिलेस्पी जंग कार्की र जावलाखेल युथ क्लबका हिसुब थपलियाले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन् । अर्को महिना लाओसविरुद्ध हुने विश्व कप छनोटको तयारीको सिलसिलामा नेपालले फिफा डेटमा मैत्रीपूर्ण खेल खेलेको हो ।

पोखरा:  मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ का लागि नेपाली राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ ।   एन्फाका अनुसार मुख्य प्रशिक्षक गौरव बस्नेतले आज (आइतबार) १४ सदस्यीय टोली घोषणा गरेका हुन् ।   सो टोलीको  गोलकिपरमा आशिष दंगल, सागर गुरुङ फिक्सोमा विजय श्रेष्ठ, सरोज तामाङ, साँजे स्याङ्तान, अलामा आदिल हमिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्वोल शाही, रजत तिवारी, दिपेश घले र पिभोटमा सुजित बुढाथोकी, मणिकुमार लामा छन् ।   उनीहरुले मंगोलियामा हुने खेलमा सहभागिता जनाउने छन् ।   

पोखरा:   कास्की जिल्ला जिम्न्याष्टिक्स संघको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सोमबहादुर साईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्ष एन शोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा दिपेन्द्र अधिकारी, सहकोषाध्यक्षमा अर्जुन गुरुङ, तथा सदस्यहरुमा मीनबहादुर थापा, सुवर्णराज पन्त, पविन बास्तोला, दिपेश राना, रामबहादुर क्षेत्री, मुना लामिछाने र बालकुमारी गुरुङ रहेका छन् । कार्यक्रममा निर्वाचन समितिका संयोजक नेपाल जिम्न्याष्टिक्स संघकाँँ केन्द्रीय सदस्य योगेन्द्र बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारी, निर्वाचन समति सदस्य केशवशरण पौडेल, राजु कायस्थ र राजु केसीले सपथ खुवाएका थिए । कार्यक्रममा कास्की जिल्ला जिम्याष्टिक्स संघका सचिव प्रकाशचन्द्र सापकोटाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष थमन बहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन सभाले सर्वसम्मत पास गरेको थियो । यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका उपाध्यक्ष ध्वजकुमार गुरुङले अव हुने दशौ राष्ट्रिय खेलकुद महोत्वसलाई लक्षित गरेर खेलाडी उत्पादन गर्न सुझाव दिए । ‘सुस्ताएको जिम्न्याष्टिकलाई चलायमान गराएर कास्कीमा पनि जिम्न्याष्टिक खेल छ है भन्ने अवस्था तपाईहरुले ल्याउनुभएको छ’ उनले भने, ‘अव यहाबाट खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल्न अवस्था ल्याउने दायित्व संघको काधमा आएको छ ।’ उनले जिम्याष्ट्रिका हरेक गतिविधिमा प्रदेश खेलकुद परिषदले समन्वय गरेर अगाडि बढ्ने विश्वास दिलाए । कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले संघले गरेका गतिविधि उदाहरणीय भएको बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारीले संघका हरेक गतिविधिमा अभिभावकत्व ग्रहण गर्ने बताए । नेपाल जिम्न्याष्टिक्स संघका केन्द्रीय सदस्य योगेन्द्र बहादुर गुरुङले नयाँ कार्यसमितिले अझै उत्कृट कार्य गरेर अगाडि बढ्न सुझाव दिए । कास्की जिल्ला जिम्न्याष्टिक्स संघका सल्लाहकार केशवशरण पौडेलले विद्यालय जिम्न्याष्टिक्स संघमा रहेर काम गरेको अनुभव सुनाउदै खेलाडी उत्पादन गर्न कास्कीमा रहेका निजि तथा सामुदायिक विद्यालयमा जिम्न्याष्टिक्स सिकाउनु पर्ने उल्लेख गरे । कास्की जिल्ला जिम्न्याष्टिक संघका कार्यवहाक अध्यक्ष राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव राजु केसीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चाल गरेका थिए ।