पोखरा: विभागीय पुलिस क्लब र घरेलु टोली गण्डकीबीच लामाचौर कपमा उपाधिका लागि घम्साघम्सी हुदै थियो । अधिकांश प्रशंसक गण्डकीको पक्षमा देखिएपनि केही भने नेपाल पुलिस क्लबलाई हौसाउँदै थिए । ‘उमेरले कलिलै भए पनि जिम्मेवारी ठुलो छ । सबैले टर्की–टर्की भन्नेरैछन् । स्पाइक पनि तर्सिने गरी नै हान्ने रैछ, ‘दर्शक दिर्घामा आवाज सुनियो, ‘केटोलाई राष्ट्रिय टिममा देख्न पाइयोस् ।’ अग्लो, पातलो र निकै छरिताे ज्यान, उनको स्पाइकको प्रशंसा सायदै कम हुन्छ । त्यसैले पनि उनीमाथि प्राय दर्शकको नजर थियो । यद्यपी अघिल्लो खेलमा जस्तो आफ्नो कौशल भने देखाउन सकेनन् । उनी रुकुम पश्चिमको सानीभेरी ३ का १८ वर्षीय पहल गहतराज हुन् । मैदानका पहल भएपनि प्रशंसकका भने ‘टर्की’ हुन् । सुर्खेतको खेलमा आफुभन्दा अग्ला खेलाडी थिए। 'उनलाइ टर्की भनिने रहेछ । पछि मलाइ सेकेन्ड टर्की भन्दा भन्दै प्रशंसकबाट मायालु उपनाम टर्की पाए,' उनी सुनाउँछन् । नेपाल पुलिस क्लबका मुख्य ४ खेलाडी एसियन गेम्सका लागि चीन गएपछि पहलले स्क्वाडमा स्थान पाएका हुन् । काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड र किङ्स कपबाट चर्चामा आएका गहतराज ‘टर्की’ ले पोखरामा सम्पन्न लामाचौर कपको उपाधि नजितेपनि दर्शकको काफि मन जिते । नेपाल पुलिस क्लबबाट सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरेका गहतराजलाई नेपाली भलिबलको उदीयमान खेलाडीको रुपमा हेरिएको छ । रुकुम कपदेखि नेपाल पुलिस क्लबसम्मको यात्रा उमेरले बल्ल १८ पुगेका पहल गहतराज ‘टर्की’ छोटो समयमा नै भलिबलमा चर्चामा आएका छन् । स्थानीय क्लब र विद्यालयबाट भलिबलको विभिन्न प्रतियोगिता खेलिरहने पहलले पोखरामा सम्पन्न भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट खेलेका थिए । केही महिना अगाडि काठमाडौंमा नै सम्पन्न भएको राष्ट्रपति कपमा कर्णाली प्रदेशलाई भलिबलको उपाधि दिलाउन उनै पहलको प्रदर्शन महत्वपूर्ण रहेको थियो । रुकुम पश्चिमको गहतराज नेपाल पुलिसमा आवद्ध हुनुपछाडि रेफ्री गोपाल गुरुङको हात रहेको उनले बताए । केही महिना अगाडिरुकुम कपमा खेल सञ्चालन गर्न गएका रेफ्री गोपाल गुरुङको सल्लाहपछि नेपाल पुलिसमा स्थान बनाएका हुन् । यद्यपी उनीमाथि नेपाल पुलिस क्लबको नजर परिरहेको थियो । पहल क्लबमा आवद्ध भएको भर्खर २ महिना मात्रै भएको छ । २ महिनामा उनले २ वटा प्रतियोगिता खेलिसकेका छन् । ‘पुलिस क्लबमा आको बल्ल २ महिना भयो । अहिलेसम्म क्लबबाट जम्मा २ वटा गेम खेलेको छु । यहाँ खेल्नु र सिभिलमा खेल्नु धेरै फरक हुनेरहेछ,’ सुनगाभा न्यूजसँग भने । उनले गाउँ, जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको क्लबमा स्थान पाएकाले सपनाको नजिक रहेको बताए । ‘खेलाडीको सपना भनेकै देशको जर्सी पहिरिने नै हुन्छ नी । मेरो पनि त्यही छ, उनले भने, ‘मेहनत गर्दैछु । अहिले उमेर पुगेको छैन । उमेर पुगेपछि भर्ती लाग्ने हो । त्यसपछि बल्ल बाँच्न सक्ने स्थिति पनि बन्छ । गेमको स्किल पनि बढ्दै जान्छ ।’ उनले आफ्नो खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिने बताए । ‘दाईदिदीबाट भलिबल खेल्न कुनै रोकतोक थिएन । परिवारको साथ सहयोग पाए’, उनले भने, ‘कक्षा १२ पास गरिसकेको छु । पढाईलाई र खेललाई सँगै लाने योजना छ ।’ उनले आफु नेपाल पुलिस क्लबबाट खेल्न पाउनु पछाडी राष्ट्रिय खेलाडीका सदस्य भइसकेका रविन चन्द, विशाल विक लगायत पुलिस क्लबको सदस्यहरुको सहयोग रहेको सुनाए । ‘नेपाल पुलिस क्लबबाट खेल्ने सबै खेलाडी तथा दाइहरुको साथ सहयोग पाएको छु’, उनले भने, ‘स्थानीय क्लबबाट खेल्दा र विभागबाट खेल्दा धेरै नै फरक हुने रहेछ ।’
काठमाडाैं: चीनको हाङझाउमा जारी एसियन गेम्सको पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । बुधबार समूह चरणमा दोस्रो हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा बुधबार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । समूह बीचमा रहेको नेपाल यसअघि बहराइनसँग पराजित भएको थियो ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका घोरबन्दामा तीजको अवसरमा सम्पन्न घोरन्दा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सराई एफसीले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक नव जागृती युवा क्लब (कालो) लाई ३–० गोल अन्तरतले पराजित गर्दै सराईले उपाधि जितेको हो । सराइलाई उपाधि दिलाउनका लागि फाइनल खेलमा आशिष रानाले २ र राम किशान पौडेलले १ गोलको योगदान दिएका थिए । उपाधिसँगै सराइले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आयोजक टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्याे । उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट र सर्वाधिक गोलकर्ताका रुपमा सराई एफसीका आशिष राना पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षक सोही क्लबकै गोबिन रानामगर घोषित भए भने उत्कृष्ट डिफेण्डरका रुपमा आयोजकका सन्दिप मगर र मिडफिल्डरका रुपमा सफल आचार्य पुरस्कृत भए । कुल ११ टिमको सहभागिताबाट विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, माथागढी गाउँपालिका ३ का वडाध्यक्ष तेज घर्तीमगर, पुरस्कारदाताहरु तथा आयोजक संस्थाका अग्रजहरुले पुरस्कार वितरण गरेका थिए । आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।
पोखरा: गण्डकी प्रदेशलाई लामाचौर भलिबल कपको उपाधि दिलाउन प्रतियोगिता भर सानदार प्रदर्शन गरेका गण्डकीका ओपन स्पाइकर रवि केसी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको फाइनलमा खेलामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी गण्डकी प्रदेशले उपाधि जितेको थियो । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वोत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, ब्लकरमा गण्डकीकै कप्तान हरि पाण्डे तथा गण्डकीकै रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए । पुलिसका कुल बहादुर थापा सर्भर, अभिषेक थापा सेटर र भीम गाहा उत्कृष्ट लिवेरो चुनिए । व्यत्तिगत विधाका सबै उत्कृष्टले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
पोखरा: गण्डकी प्रदेश भलिबल संघले पोखरा लामाचौरमा सम्पन्न भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा गण्डकी प्रदेशले विभागीय क्लब नेपाल पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । गण्डकी प्रदेशले पहिलो र तेस्रो सेट गुमाएपनि दोस्रो, चौथो र पाचौ सेटमा जित निकाल्दै उपाधि जितेको हो । गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको थियो । एकसमय नेपाल पुलिस क्लब (२२–१८)को अवस्थामा भएपनि गण्डकीले उत्कृष्ट खेल खेल्दै २२–२३ बनाएपनि पुलिसले पुनः तीन अङ्क जोड्दै पहिलो सेट जितेको थियो । दोस्रो सेटमा सुरुवाती अग्रता बनाउँदै गण्डकीले (९–९)को अवस्थाबाट लगातार पाँच अङ्क जोडेपछि दोस्रो सेटमा हावी हुँदै २५–१९ ले जितेको थियो । यस्तै फाइनल खेलमा तेस्रो सेटमा गण्डकीको २० र नेपाल पुलिस क्लबको २१ अङ्क हुँदा रेफ्रीको निर्णयमा पुलिसले असहमति जनाउँदा खेल केही समय रोकिएको थियो । उक्त सेट गण्डकीले २१–२५ ले गुमाएको थियो । चौथो सेटमा गण्डकी प्रदेश पुलिस भन्दा (२४–२१)को अवस्थामा भएपनि पुलिसले उत्कृष्ट खेल खेल्दै लगातार चार अङ्क जोड्दै २४–२४ को बराबरी गरेको थियो । प्रतिस्पर्धात्मक भएको चौथो सेट गण्डकीले २८–२६ ले जितेको थियो । पाँचौ तथा निर्णायक सेटमा गण्डकीले सुरुवाती अग्रता बनाउँदै १५–११ ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । ‘लामाचौर कप’ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विजेता गण्डकीले नगद १ लाख ५० हजार १ सय ११ र उपविजेता भएको नेपाल पुलिस क्लबले १ लाख १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा तेस्रो भएको नेपाल एपिएफ क्लबले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । यस्तै महिलातर्फ भने नेपाल पुलिस क्लबले न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा सम्पन्न भएको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबल एवम् दोस्रो संस्करणको पुरुष भलिबलको आज सम्पन्न भएको हो । असोज २९ देखि असोज १ गतेसम्म सञ्चालन लामाचौर तीज महोत्सवमा आयोजित लामाचौर कपको पुरुष तर्फको फाइनल खेल घरेलु टिम गण्डकी प्रदेश र नेपाल पुलिस क्लब बिचको फाइनल खेल संचालनकै क्रममा लाइट प्रोटेस्ट (प्रकाशको कमी) भएको कारण स्थगीत भएको थियो ।
पोखरा: नेपाल पुलिस क्लबले उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । हजारौं दर्शक माझ पोखराको लामाचौरमा सोमबार सम्पन्न भएको फाइनल खेलमा विभागिय टोली पुलिसले चिरपरिचित प्रतिद्धोन्दी चन्द्रगिरी नगरपालीका न्यू डायमण्ड युथ स्पोटेर्स क्लवलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पोल्टामा पा¥यो । पुलिसले डायमण्ड माथि १८-२५, २५-२२,२५-१४ र २५-२० को सेटमा पराजित गरेको हो । पुलिसले उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कार आफ्नो पोल्टामा पार्न सफल भयो । उपविजेता भएको डायमण्डले १ लाख रुपैैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यस अघि लिग चरणको खेलमा पुलिसले अर्को विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजित गरेको थियो । ४ टिम सहभागि खेलमा पुलिसले आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भयो । पुलिसको कुल ३ खेलबाट कुल ८ अंकका साथ तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो भने डायमण्ड ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो । एपिएफको चार तथा एभरेष्ट भलिबल क्लब अंकविहिन भएको छ । त्यसै गरी पुरुष तर्फ घरेलु टिम गण्डकी प्रदेश र नेपाल पुलिस क्लब बिचको फाइनल खेल संचालनकै क्रममा लाइट प्रोटेस्ट (प्रकाशको कमी) भएको कारण स्थगीत भएको छ । पुलिसले पहिलो सेट २५—१९ आफ्नो पोल्टामा पार्दा दोश्रो सेट गण्डकीले २५—२२ मा आफ्नो पक्षमा पारेको थियो । स्थागित भएको खेल मंगलबार बिहान पुनः ९ः०० बजे पछि हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा पुरुष तर्फ ५ टिमको सहभागिता रहेको समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताउनु भयो । हरितालिका तिज पर्वको अवसरमा सोमबार बिहान लिग त्यस पछि फाइनल खेल भएको हो । समाजको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सव भएको हो । पुरुष तर्फ गण्डकी तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । कुल चार खेलबाट गण्डकीको ९ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो । समान खेलबाट समान अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । सोमबारनै एपिएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटले पराजित गरेको थियो । एपिएफको कुल चार खेलबाट दुई जित दुई हार सहित ७ अंक संकलन गर्दा मणिमुकुन्दको चारखेलबाट दुई जित र दुई हार सहित पाँच अंक प्राप्त गर्यो । गलकोट स्पोट्र्स क्लबको चार खेलबाट चार हारसहित अंकविहिन भएको छ ।यसपाली राष्ट्रिय खेलाडीहरु सहभागि नहुँदा पनि उक्त प्रतियोगितामा दर्शकको भने निकै उत्साहजन रुपमा सहभागिता रहेको थियो । पोखराको लामाचौर तीज महोत्सवको अवसरमा आयोजित राष्ट्रिय भलिवल कप अवलोकन गर्न दर्शकहरुको फाइनलको दिनमा निकै भिड भएर बिचमै टिकट बन्द गर्नु परेको थियो । महिला तर्फको फाइनल खेल पुलिस बिरुद्ध न्यू डायमण्ड बिचको खेल सुरु भएको केही समयमै टिकट बन्द गर्नु परेको थियो ।
पोखरा: पोखरा लामाचौरमा जारी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा गण्डकीले पुलिसलाई ३–२ को सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । गण्डकी तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । कुल चार खेलबाट गण्डकीको ९ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो । समान खेलबाट समान अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । सोमबारनै एपिएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटले हराएपनि फाइनल प्रवेशका लागि पर्याप्त हुन सकेन । एपिएफको कुल चार खेलबाट दुई जित दुई हार सहित ७ अंक रह्यो । मणिमुकुन्दको चारखेलबाट दुई जित र दुई हार सहित पाँच अंक रह्यो । गलकोट स्पोट्र्स क्लबको चार खेलबाट चार हारसहित अंकविहिन भयो । फाइनल खेल आजै हुनेछन् ।
काठमाडौं: एसिया कपमा भारतले आठौं पटक उपाधि जितेको छ । आज भएको एसिया कपको फाइनलमा भारतले घरेलु टोलि श्रीलंकालाई १० विकेटले हराउँदै आठौं पटक उपाधि जितेको हो । जितको लागि ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे । ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमा अल आउट भएको थियो । श्रीलंकाको यो ओडिआईको दोस्रो कम योगफल हो । श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । ओडिआईमा सर्वाधिक कम योगफलमा जिम्बावे र अमेरिका समान ३५ रनमा अल आउट भएका छन् । जिम्बावे २००४ मा श्रीलंका र अमेरिका २०२० मा नेपालसँग समान ३५ रनमा अल आउट भएका थिए । श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए । श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा ५ खेलाडीले खाता खोल्न सकेनन् । एक समय ५.४ ओभरमा १२–६ को दयनीय अवस्थामा पुगेको श्रीलंकालाई सातौं विकेटका लागि दुनिथ वेलालागे र कुशल मेन्डिसले २३ रनो साझेदारी गरेका थिए । कुशल मोहम्मद शिराजकै १२ औं ओभरको दोस्रो बलमा बोल्ड आउट हुन पुगेका थिए । शिराजले ब्यक्तिगत छैटौं विकेट पूरा गरेका थिए । कुशल आउट भएसँगै श्रीलंको झिनो आशा समाप्त भएको थियो । श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए । तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको चार विकेट लिएपछि भारत पुरै खेलमा हाबी बनेको थियो । चौथो ओभरको पहिलो बलमा शिराजले अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए । एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट भएका थिए । पहिलो बलमै चरिथ असलंका ईशान किशनबाट क्याच आउट भएका थिए । ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए । तर अन्तिम बलमा सिल्भा पनि एज लागेर राहुलबाट क्याच आउट भएपछि संकटमा पुर्याए । शिराजले छैटौं ओभरको चौथो बलमा कप्तान दासुन शानकालाई योर्करमा बोल्ड आउट गर्दै आफ्नो पाँच विकेट पूरा गरेका थिए । भारतका मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ६ विकेट लिए । हार्दिक पान्ड्याले २।२ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले १ विकेट लिए । यसअघि भारतले सन् १९८४, १९८८, १९९०र९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । भारतले समूह चरणमा नेपाललाई १० विकेटले हराएको थियो । पाकिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो । भारतले सुपर फोरमा श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग ६ रनले हार्न पुगेको थियो ।

