म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

   काठमाडौं:   गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता नै नेपाल सरकारको सफलता हुने बताउनु भएको छ । नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक पदमा पदान्नोति भएका १७ जनालाई गृह मन्त्रालयमा बधाई र निर्देशन दिँदै गृहमन्त्री खाणले नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।    ‘गृहमन्त्री खाणले भन्नुभयो, ‘‘प्रहरीको उच्च ओहदामा पुग्नुभएकोमा नेपाल सरकार र गृह मन्त्रालयका तर्फबाट हार्दिक बधाई, नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’’   प्रहरी अधिकृतहरूले सरकारले उपलब्ध गराएको सीमित स्रोत साधन उपयोग गरेर उत्कृष्ठ जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । गृहमन्त्री खाणले अहिले प्रहरी नायब महानिरीक्षक भएकाहरू नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कार्यसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोशिश गर्न पनि निर्देशन दिनुभयो ।    उहाँले बढुवाका लागि भन्दा उत्कृष्ट कार्यसम्पादनका लागि प्रतिष्पर्धा गर्न पदोन्नति भएका अधिकृतहरूलाई निर्देशन दिनुभयो ।  नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको पनि उहाँले बताउनु भयो । अहिले प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका १७ जनामध्ये चार महिला छन् । किरण बज्राचार्य, मिरा चौधरी, दुर्गा सिंह र किरण राणा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका हुन् ।    यसअघि असार ८ गते नायब प्रहरी महानिरीक्षकमा बढुवा सिफारिस भएका १७ जना प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबाट प्रहरी प्रधान कार्यालयमा  दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको थियो ।    गृहमन्त्रीले नयाँ नायब प्रहरी महानिरीक्षकहरूलाई निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, प्रहरी महानिरीक्षक सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, गृह मन्त्रालयका सहसचिवहरू टेकबहादुर केसी, फणिन्द्रमणि पोखरेललगायतको सहभागिता थियो ।

मकवानपुर:   मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।      मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो बागमती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना ७ त ८०७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको हो ।       उक्त ट्याक्टरमा सवार २१ घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्थामा गम्भीर रहेका छन् । उनीहरूलाई उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको छ । 

काठमाडौं :   अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् ।   प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका छन् । उपस्थित सबै जनाले आइन्दा लाइभ दोहोरीमा छाडा शब्द नगाउने भन्दै प्रतिबद्धता जनाएको प्रतिष्ठानअन्तर्गतको विकृति विसंगति रोकथाम कार्यदल संयोजक शिव हमालले  बताए ।   ‘उहाँहरुलाई सचेत गराइएको छ । स्पष्टीकरण सोधिएको छ र आइन्दा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउनुभएको छ,’ हमालले भने, ‘दोहोरीको द पनि नजान्नेलाई गाउन लगाएर भएन । अर्काले लेखेर गीत गाएको देखिएको छ । हामीलाई उहाँहरुलाई चेतावनी दियौं ।’   तर प्रतिष्ठानले सचेत गराउँदै स्पष्टीकरण सोधेको यो पहिलोपटक भने होइन । यसअघि पनि स्पष्टीकरण सोधिएको थियो, तर प्रत्यक्ष दोहोरी कलाकारसामु प्रतिष्ठान निरीह देखिएको छ ।   पछिल्लो समय लाइभ दोहोरीको नाममा छाडापन बढेको गुनासो बढेको छ । कतिपय अग्रणी कलाकार समेत यस्तो कार्यमा संलग्न रहेको पाइएको छ ।

   काठमाडौं:   सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज उद्घाटन गर्नुभयो ।    सोही अवसरमा सरकारका प्रवक्ता कार्कीले आइटी क्षेत्र मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आजको युग सूचना र प्रविधिको युग हो, आज संसार एउटा ग्लोबल भिलेजको रुपमा परिणत भएको छ, सूचना र सञ्चार प्रविधिलाई हामीले विकास गरेर अब त्यसबाट मुलुकलाई अधिकतम लाभ दिलाउने दिशामा अग्रसर हुनु जरुरी छ ।” सूचना र प्रविधि क्षेत्रको महत्वलाई बुझेर विदेशीएका युवालाई त्यस क्षेत्रमा आकर्षित गर्दै आइसीटिभित्र मुलुकको भविष्य खोज्नुपर्ने उहाँको भनाइ छ ।   मन्त्री कार्कीले जलस्रोत, पर्यटन र व्यावसायिक कृषिमा जस्तै आइटीको क्षेत्रमा पनि स्वर्णिम भविष्य रहेको बताउनुभयो । आइटीको क्षेत्रमा रहेको सम्भावनालाई आगामी दिनमा व्यावहारिक रुपमै अवसरमा परिणत गर्नुपर्ने उल्लेख गर्दै उहाँले देशलाई समृद्ध बनाउने सरकारको लक्ष्य अनुरुप अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।    विभागले अनलाइन सेवाअन्तर्गत सूचना व्यवस्थापन प्रणाली गत वर्षदेखि सुरु गरेको थियो । चालु आर्थिक वर्षमा ९२७ पत्रपत्रिका, ३८ टेलिभिजन, २५१ रेडियो र १४ ९७ अनलाइनले दरबन्दी बुझाएको विभागले जनाएको छ । हालसम्म प्रेस प्रतिनिधि प्रमाणपत्र लिने पत्रकारको सङ्ख्या ३१  हजार २५ रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।    चालु आवमा दुई हजार ९२ प्रेस पास वितरण गर्नुका साथै दुई हजार ५५७ प्रेस पास नवीकरण गरिएको छ । त्यसैगरी चालु आवमा दर्ता ६६२ र नवीकरण ६७७ गरी हालसम्म तीन हजार ४६३ अनलाइन दर्ता भइसकेको महानिर्देशक हमालले जानकारी दिनुभयो ।   सञ्चार सचिव डा बैकुण्ठ अर्यालले डिजिटल नेपालको आकाक्षा पूरा गर्ने उद्देश्यले सञ्चार मन्त्रालयका ९० प्रतिशत सेवा अनलाइनबाटै प्रदान गर्दै आएको जानकारी दिनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्का र नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।        विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र जारी तथा नवीकरण,  अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण, पत्रपत्रिका तथा पत्रकारको अभिलेख व्यवस्थापन, सार्वजनिक सूचना व्यवस्थापन र वितरण, प्रेस रजिष्ट्रारको कार्य जिम्मेवारी सम्पादन, सरकारी कार्यक्रमको औपचारिक फोटोग्राफी, सङ्ग्रह र वितरण तथा सूचनामूलक र ज्ञानवर्धक सामग्री प्रकाशन वितरणलगायतका कार्य गर्दै आएको छ । सोही अवसरमा सञ्चारमन्त्री कार्कीले विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो ।

काठमाण्डौँ :       अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतबार शिष्टाचार भेट भएको छ।    सो भेटमा कतारी राजदूत अहमद अल हेलले कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल २०२२ का लागि आमन्त्रण गरेको अर्थमन्त्री शर्माले जनाएका छन्।  उनले विश्वकप हेर्नका लागि आमन्त्रण गरेकोमा राजदूतलाई धन्यवाद समेत दिएका छन्।    फिफा विश्वकप फुटबल २०२२ का खेलहरू आगामी मंसिर ५ देखि पुस ३ सम्म कतारका ५ शहरका ८ रंगशालामा  हुँदैछन्।  प्रतियोगितामा भाग लिने ३२ वटै टिमको टुंगो लागिसकेको छ।

पोखरा:  पोखरा महानगरपालिकाको फोहोर ल्याण्डफिल्ड साइड विवाद समाधान गर्न आइतबार महानगरका प्रमुखलाई वडा नम्वर ३३ का स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।   पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा ल्याण्डफिल्ड साइड निर्माण गर्न पोखरा ३३ को टिमुरपाटा स्थान तोकिएको बजेट समेत प्रस्ताव गरेपछि त्यस निर्णयको विरोध गर्दै स्थानीयले महानगरका प्रमुख धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।    पोखरा ३३ का स्थानीय किरण थापाले अहिले ल्याण्डफिल्ड साइड बनाउने भनेर जुन ठाउँ महानगरले तोकेको छ, त्यसलाई सच्चाएर पोखराको १ देखि ३३ नम्वर वडाका विभिन्न ठाउँमा ल्याण्डफिल्ड साइडको स्थान बनाउन अध्ययन गर्न महानगरलाई सुझाव दिएका बताए ।   पोखरा ३३ को टिमुरपाटा भन्ने स्थानमा ल्याण्डफिल्ड साइड बनाउन त्यहाँका स्थानियहरुसँग प्ररामर्श नगरी उक्त स्थानका स्थानियहरुसँग छलफल परामर्श नगरी हचुवा भरमा जवरजस्ती रुपमा उक्त स्थान महानगरले छनोट गरेको स्थानीयको आरोप छ ।    पोखरा ३३ को टिमुरपाटामा फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइड निर्माण गर्ने महानगरको तयारीसँगै त्यहाँका स्थानीयले यसको विरोध गर्दै आएका छन् ।    थापाका अनुसार पोखरा ३३ आवादी भएको क्षेत्र भएकाले त्यसमा क्षेत्रमा ल्याण्डफिल्ड साइड निर्माण गर्दा विभिन्न क्षेत्रमा असर गर्ने भएकाले उचित क्षेत्रमा ल्याण्डफिल्ड साइडको अध्ययन गर्न उनको सुझाव छ ।    पोखराको टिमुरपाटामा महानगरको ल्याण्डफिल साइड निर्माण गर्ने प्रस्तावलाई सच्चाउन र पोखरा क्षेत्रमा उत्पादन हुने फोहोरको वर्गिकरण छुट्टाएर ल्याण्डफिल्ड साइडमा लैजानुपर्ने अर्का स्थानीय डिल्लीराम बरालको आग्रह छ ।   यस विषयमा महानगर प्रमुख धनराज आचार्यले अब अन्र्तराष्ट्रिय एयरपोर्ट सञ्चालन गर्ने तयारी गर्दा अहिले प्रयोग भैरहेको ल्याण्डफिल्ड साइडले त्यसमा असर गर्ने भएकाले पनि ल्याण्डफिल्ड साइड सार्न महानगर लागिपरेको बताएका छन् ।  

चितवन :       चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो ।    प्रजा २०६० सालमा पक्राउ परेका थिए । पन्ध्र वर्ष काराबासको सजायपछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ गैँडा मारेको स्वीकार गरेका थिए । जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार राति धादिङको मलेखुबाट पक्राउ गरेको छ ।    सिआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिनुभयो । विसं २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०÷२२ वर्षको माउ गैँडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए ।    त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनका क्रममा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चारवटै गैँडाको शिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको बताइएको छ । 

पाँचथर :        शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए ।    पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको थियो । रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।   शुक्रबार राति १२ः३० बजेबाट स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी थालेका थिए । स्काभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको हो । रुपलालका तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको र छोरा र कान्छी छोरी अध्ययनका क्रममा झापा थिए । पहिरो गएका समय रुपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने उच्छिटिएर बाँच्न सफल हुनुभएको थियो । घरभन्दा करिब ३०० मिटर माथिबाट पहिरो आएको स्थानीयवासीले बताएका छन् । वर्षा लाग्नुअघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा सम्पन्न नहुँदा पहिरो गएको स्थानीयवासीको भनाइ छ ।

काठमाण्डौँ :        नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।      बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेको छ । यस्तै बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी कार्यदिशाका बारेमा पनि छलफल गरिने भएको छ ।   गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन । महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गर्नाका साथै  २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो ।   महाधिवेशनपछि पटकपटक सर्दै आएको बैठकले साङ्गठनिक काम कारवाहीका अलावा, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीका बारेमा समेत छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुहुने भएको छ ।