म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

काठमाण्डौँ:    धामीझाँक्री र एलोपेथिक औषधिमा निर्भर हुँदै आएका स्थानीयवासी पछिल्लो समय आयुर्वेदिक उपचारमा आकर्षित भएका छन् ।    नियमित हेल्थपोष्ट जाने बानी परेका बिरामीमा  जडीबुटी मिश्रण औषधिले राम्रो लक्षण देखाएपछि सामान्य उपचारका लागि पछिल्लो समय आयुर्वेदिक स्वास्थ्य केन्द्रतर्फ जान थालेका हुन्। आयुर्वेदिक उपचार सेवाका लागि आयुर्वेद विभागले रसुवाको पारच्याङ, भोर्ले, लहरेपौवा, स्याफ्रु तथा धुञ्चेसमेतको स्थानबाट सेवा प्रदान गरिरहेको छ ।      जिल्ला आयुर्वेद केन्द्र प्रमुख डा अमूल दाहालका अनुसार आयुर्वेदिक उपचारबाट चालु आर्थिक वर्षमा जिल्लाभर नौ हजार ९३३ पुरुष र तीन हजार २५२ महिला गरी कूल १३ हजार १८५ नागरिकले सेवा लिइसकेका छन् । जिल्लावासीलाई पहिला एउटा सिटामोलसमेत पाउन गारो हुने गरेकामा  अहिले दुईवटा अस्पताल, गाउँगाउँमा स्वास्थ्यचौकी, गाउँघर क्लिनिक, महिला स्वयसेविकाको व्यवस्थाका साथै ठाउँठाउँमा आयुर्वेदिक स्वास्थ्य केन्द्र र उपकेन्द्र सञ्चालनले उपचार सेवा निकै सहज भएको जिवजिवे महादेवस्थान टोलका समाजसेवी चिरञ्जीवी पौडेलले बताउनुभयो ।     कार्यरत चिकित्सकमध्ये जिल्ला अस्पतालमा डा आनन्द श्रेष्ठ, विजय खनाल, रमेश खरेल, एवं आयुर्वेदतर्फ डा बाबुराजा अमात्य तथा सत्यराज थपलियाको योगदान महत्वपूर्ण रहेको स्थानीय बासिन्दाले बताए ।यस्तै जडीबुटी औषधिका साथै परम्परागत रूपमा उपयोगमा  आएको धामीझाँक्रीको व्यवस्था अहिले पनि विद्यमान छ । गाउँ घरमा बिरामी पर्नासाथ पहिलो चरणमा झाँक्रीमार्फत  फुकफाक गराएर मात्र औषधि खुवाउने वा स्वास्थ्य केन्द्र लाने चलन अझै पनि विद्यमान छ । नियमित फुक्ने झाँक्रीले पनि अब एकपटक मात्र फुकेर छिटो अस्पताल लैजान  सुझाव दिन थालेका छन् ।       अस्पताल नहुँदादेखि चलिआएको पुरानो फुकफाकको चलन क्रमशः हटाउँदै लान आफूहरू पनि प्रयास रहेको सम्बद्ध झाँक्रीहरुले बताए । यो चलन हटाउन लामो समय लाग्छ । हामीहरूले छिटो अस्पताल लान सुझाव दिँदै अगाडि बढेका छौँ  सोनाम झाँक्रीले बताउनुभयो । 

काठमाडौँ:    रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ । दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क छ । सो जनसङ्ख्या विश्वको जनसङ्ख्याको तुलनामा झन्डै ११ प्रतिशत हुन आउँछ । वल्र्डओमिटरका अनुसार आज विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोड ९१ लाख २४ हजार रहेको छ ।       विश्वका ८२ देशका ३४ करोड ५० लाख जनता खाद्यान्न सङ्कटमा परेको विश्व खाद्य सङ्गठनले प्रकाशित गरेको बुलेटिनमा उल्लेख छ । पछिल्लोपटक विभिन्न प्रकारका द्वन्द्व, कोभिड र अस्वभाविक वातावरण प्रभावले खाद्यान्न उत्पादनमा सङ्कट उत्पन्न भएकाले भोकबाट भौतारिनुपर्ने जनताको आकार फराकिलो बन्दै गएको हो ।    संयुक्त राष्ट्र सङ्घले सचेत गराउँदै भनेको छ, “कुनै बेला खाद्यान्न सङ्कट उत्पन्न हुनसक्छ, त्यसबेला खाद्यान्न सञ्चित भएका राष्ट्रले खाद्यान्न निर्यात रोकेको खण्डमा त्यसले निम्त्याउने परिणाम भयावह हुनसक्छ ।” संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा विश्वबाट भोकलाई शून्यमा झार्ने नीति अगाडि ल्याएको छ । यो समयसम्म आइपुग्दा विश्वका झन्डै ८० भन्दा धेरै देशले सन् २०२२ सम्ममा झन्डै २२ दशमलव दुइ विलियन डलरअर्थात् रु २८ खर्ब १९ अर्ब ९१ करोड ९४ लाख ८० हजार भोक उन्मूलनका लागि खाद्यान्न उत्पादनमार्फत खर्च गरिसक्ने लक्ष्य लिएका छन् ।    पछिल्लोपटक नेपालको खाद्यान्न आयात चुलिँदै गएको विभिन्न तथ्याङ्कले पुष्टि गरेको छ । भन्सार विभागको तथ्याङ्कमा नेपालले खाद्यान्न, तरकारी, माछा मासु÷दुग्ध तथा दुग्धजन्य पदार्थ विश्वका झन्डै १८ भन्दा बढी देशबाट आयात गर्ने गर्छ । त्यसको हिसाब वार्षिक करिब रु दुई खर्बभन्दा बढी रहेको उल्लेख छ ।    एकातिर नेपाल राज्यले उत्पादन बढाउन विभिन्न कार्यक्रम लागू गरे पनि उत्पादन बढाउन सकेको छैन । विशेष गरी पढेलेखेका युवाको कृषिमा आर्कषण देखिँदैन । पढेपछि काम होइन, जागीर खोज्ने परम्परा छ । जागीर नपाएपछि रोजगारका लागि विदेश जाने चलन छ । त्यसैले नेपालको कृषि अर्थतन्त्र डामाडोल अवस्थामा पुगेको तथ्याङ्कले पुष्टि गर्दै आएको छ ।    खेतीपाती गरी खाने युवा विदेश गएकै कारण खेतीयोग्य जमिन बाँझो हुँदै गएको विज्ञले बताउँदै आएका छन् । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार झन्डै ५० लाख नेपाली कामका खोजीमा विश्वका ८४ भन्दा धेरै देशमा छरिएका छन् । सो सङ्ख्या नेपालको जनसङ्ख्याको झन्डै १७ प्रतिशत हुन आउँछ । नेपालको जनसङ्ख्या झन्डै तीन करोड पुगेको छ ।    विश्व खाद्य सङ्गठनले खाद्यान्न भनेपछि धान, मकै, गहुँ, फापर र कोदो मात्र बुझ्ने परम्परालाई त्याग्दै कार्बोहाइड्रेट प्राप्त हुने आलु, पिँडालु, सखरखण्ड, तरुल तथा इस्कुसलगायतका उत्पादन बढाउने र खानाखाने बानीमा समेत परिवर्तन नल्याउने हो भने विश्वमा भोकमरीको अवस्था डरलाग्दो हुने चेतावनी दिएको छ ।    संयुक्त राष्ट्रसङ्घले भनेको छ, “विश्वमा देखिएको वातावरण परिवर्तनले निम्त्याउने खतरालाई बेलैमा समय अनुकूलका खाद्य वस्तु उत्पादनमा जोड दिनुपर्छ ।” नेपालको संविधानले पनि खाद्य सम्प्रभुताको सुनिश्चितता गरेको छ । त्यसैले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन–२०७५ लागू भएको छ । ऐनको परिच्छेद–२ को दफा (३) ले प्रत्येक नागकिलाई खाद्यसम्बन्धी अधिकार तथा खाद्य सुरक्षाको अधिकार सुनिश्चितता गरेको छ तर, कार्यान्वयन पक्ष फितलो देखिएको छ ।    ऐनको दफा–१७ ले कृषियोग्य भूमिको दिगो व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ तर, स्थानीय तहका खेतीयोग्य जमिन धमाधम मासिँदै जान थालेका छन् । घर निर्माण गर्ने बहानामा जमिनको खण्डीकरण हुनु र खेतीयोग्य जमिनमा धमाधम निर्माणसम्बन्धी अन्य कार्य गर्न अनुमति दिनुले समेत खाद्य सम्प्रभुताको सुनिश्चितता लेखोटमा मात्र सीमित हुने त होइन भन्ने चिन्ताले कानुन व्यवसायीलाई समेत झस्काएको छ ।    सोही ऐनको दफा १७ को उपदफा (२) (क) मा स्थानीय निकायलाई कृषियोग्य भूमिको लागत तयार गर्ने, उपदफा (ख) बाँझो जमिन तथा अन्य जग्गाको पहिचान गर्ने (ग) भूमिको अभिलेख राख्ने (घ) भूमिसम्बन्धी अभिलेख अद्यावधिक गर्ने (ङ) बाँझो भूमिको प्रभावकारी व्यवस्थापन गर्न अन्य काम गर्ने वा गराउने भनिएको छ तर, कार्यान्वयन भने चुस्त दुरुस्त देखिँदैन । बरु उल्टै सम्म परेको खेतीयोग्य जमिनमा बाटो लैजाने र धमाधम प्लटिङ गरेर बिक्री वितरण गरिहाल्ने कार्य भने रोकिएको देखिँदैन ।   पछिल्लो समय जनसङ्ख्या वृद्धिलाई धान्न सक्ने गरी उत्पादन हुन सकेको छैन । विगत १० वर्षदेखि उत्पादनमा गिरावट आएको छ । यसको ज्वलन्त उदाहरण धान उत्पादनलाई लिन सकिन्छ । नेपालको प्रमखु खाद्यान्न बाली चामल हो । हालको जनसङ्ख्यकालाई धान्न झन्डै ६५ लाख मेट्रिक टन धानको आवश्यकता पर्छ तर, उत्पादन ५५ लाख मेट्रिक टनभन्दा माथि उकालो लाग्न सकेको छैन ।    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रकाशन गरेको तथ्याङ्कमा खेतीयोग्य जमिन मासिँदै गएको तथ्य छ । दश वर्षअघि झन्डै १६ लाख हेक्टर जमिनमा धानखेती हुन्थ्यो भने अहिले घटेर १४ लाख हेक्टरमा सीमित हुन पुगेको छ । सो तथ्याङ्कले–एकातिर धान हुने खेत मासिँदै जानु र अर्कातर्फ उत्पादनमा समेत गिरावट आउनुले विश्व खाद्य सङ्गठनले भनेजस्तै नेपालले पनि वैकल्पिक खेती लाउने परम्पराको थालनी गर्नु अत्यावश्यक भइसकेको देखिन्छ ।     

  धरान:    धरान उपमहानगरपालिकाले मेयर चढ्ने गाडी बिक्री गर्ने निर्णय गरेको छ।   मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबार कार्यपालिकाकोे बैठकबाट पारित भएको हो। मेयर हर्क साम्पाङले मेयर चढ्न प्रयोग हुने गाडी बिक्री गर्ने प्रस्ताव गरेका थिए।   ‘धरानका धेरै बाटो खाल्डाखुल्डीले बिग्रेको छ। नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको हो,’ मेयर साम्पाङले भने। मेयर निर्वाचित भए पनि साम्पाङ प्रायस् आफ्नो मोटरसाइकल प्रयोग गर्छन्। धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन्।   ‘उहाँले धेरैजसो आफ्नै बाइक प्रयोग गर्ने हो, गाडी चाहिएको छैन, त्यसैले काम लाग्दो अर्को साधन किन्ने निर्णय भएको हो,’ मेयरको सचिवालयले भन्यो, ‘अब बिक्रीका लागि कानुनी प्रक्रिया पूरा गर्ने काम सुरु भएको छ।’

बाँके:     बाँकेमा केही समयअघि भएको रगतको अभावको समस्या अहिले हटेको छ । बाँके रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो ।    “हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको छ । अहिले रगत अभाव पनि टरेको छ”, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार केन्द्रले सङ्कलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा बाँकी व्यक्तिगत स्वयंसेवकको रहेको छ ।   रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्र र कोहलपुर रक्तसञ्चार केन्द्रले आवश्यक पर्ने बिरामीका लागि दैनिक सरदर ८० पिन्ट रगत उपलब्ध गराउँदै आएको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक कम भएका कारण रगतको माग पनि घटेको श्रेष्ठले बताउनुभयो ।   यसैगरी रगत अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयंसेवकको सङ्ख्या बढाउन बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ । जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगत अभावमा बिरामीका आफन्त भौतारिँनुपर्ने र बिरामीको अकालमै ज्यान जाने अवस्थाको अन्त्य भएको छ ।   स्वयंसेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत सङ्घ, सङ्गठनले समय–समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन सहयोग पु¥याएको छ ।  रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास केन्द्रले गरेको छ ।   रेडक्रस बाँकेका अध्यक्ष गोवद्र्धनसिंह सम्झनाका अनुसार केन्द्रद्वारा सङ्कलित रगतमध्ये सबैभन्दा बढी रगत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा प्रयोग हुने गरेको छ ।   

काठमाण्डौँ:     बागमती प्रदेशसभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ ।    उक्त दिन बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार फलफल भई प्रतिवेशनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेशसभाका सबै सदस्यलाई असार २९ गते हुने बैठकमा सहभागी हुन सूचना सम्प्रेषण गरिएको छ ।    बागमती प्रदेशसभाको बैठक यसअघि असार १६ गते बसेको थियो । उक्त बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गर्नुभएको थियो ।

तुलसीपुर:   कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।    दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैहुनुहुन्छ । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उहाँले सत्य सावित गर्नुभएको छ ।    रिमबहादुर सानोमा विद्यालय जान पाउनु भएन । विद्यालय जाने उमेरमा उहाँलाई घरको कामले फुर्सद भएन । उहाँले विद्यालयको अनुभूति गर्न पाउनु भएन । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहनुभएको छ । “मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्यो”, उहाँले भन्नुभयो, “बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु ।”   आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउनुहुन्छ । “अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन”, उहाँले विगत सुनाउनुभयो । रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना हुनुभएको हो । त्यसयता उहाँ नियमितरुपमा विद्यालय गइरहनुभएको छ । उहाँले बिहान र बेलुकाको समयमा घरको काम भ्याउनुहुन्छ । उहाँले दिउँसोको समयको सदुपयोग गरिरहनुभएको छ ।    “घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु”, रिमबहादुरले भन्नुभयो, “दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु ।” आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो । भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उहाँ बताउनुहुन्छ । रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । “उमेरले पढ्न छेक्दो रहेनछ”, रिमबहादुरले भन्नुभयो, “त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ ।”   रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी हुनुहन्छ । श्रीमान्को पढ्ने इच्छामा सहयोग गर्ने उहाँले बताउनुभयो । “पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु”, लालमतीले भन्नुभयो । श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उहाँको भनाइ छ ।    रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो । “यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ”, उहाँले भन्नुभयो । शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउनुहुन्छ । अहिले विस्तारै सबै बानी परेका छन् । “रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो”, प्रधानाध्यापक खत्रीले भन्नुभयो, “अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ ।”

भक्तपुर:    भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो ।    दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।   प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ । 

काठमाण्डौँ:    आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷ चट्याङसहित वर्षा हुुने भएको छ ।    जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।   हाल देशको प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आङ्शिकदेखि सामान्य बदलीका साथै सोही प्रदेशका थोरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्का वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र मधेस प्रदेशका एक–दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।   शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही र बाँकी प्रदेशमा आङ्शिकदेखि सामान्य बदली रहनेछ ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

सुर्खेत:   उज्यालो र सुरक्षित सहर बनाउने उद्देश्यले वीरेन्द्रनगरका नौ स्थानमा हाइमार्स लाइट (बढी उज्यालो शक्ति भएको बत्ती) जडान गर्न थालिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा यहाँका नौ स्थानमा सो लाइट जडान गर्न लागिएको हो ।    नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको बजेटअन्तर्गत रेडियो नेपाल, मूलपानी, शिवालय, सहकारी र वीरेन्द्रनगर–१२ को सत्यनारायण, कुमाइ, तीनकुने चोक, मुख्यमन्त्री निवास, बाङ्गेसिमल प्रहरीचौकी क्षेत्रमा बत्ती जडानको काम सुरु भइसकेको छ । नगर प्रमुख मोहनमाया ढकालले थप बत्ती जडानले रात्रिकालीन सहरी सौन्दर्यता, शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापन प्रभावकारी हुने बताउनुभयो ।    नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले निर्माण व्यवसायी कम्पनी कोभाल्ट इन्टरनेशनल काठमाडौँले जडानको काम सुरु गरिसकेको जानकारी दिनुभयो । प्रदेश सरकारले बजेट पठाउन ढिलाइ गर्दा बल्ल काम सुरु भएको उहाँको भनाइ छ । यसका लागि प्रदेश सरकारले रु एक करोड रकम पठाएको छ ।     नगरपालिकाले बत्ती जडानका लागि रु एक करोड नौ लाख लागत स्टिमेट गरी ठेक्का आह्वान गरेको थियो । कोभाल्ट इन्टरनेशनलले घटेर रु ६५ लाख ८९ हजारमा बत्ती जडान गर्न ठेक्का पाएको हो । वीरेन्द्रनगर नगरपालिकाले यसै वर्ष १२ स्थानमा रु एक करोड २० लाख लागतमा ‘हाइमार्स लाइट’ जडान गरिसकेको छ ।