भरतपुर: बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो । बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा छन् ।
काठमाण्डौँ: सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला रु २००ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार १८५ कायम रहेको महासङ्घले जनाएको छ ।
काठमाण्डौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशयनी एकादशीका अवसरमा आज राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरूवा रोप्नुभएको छ । आजको दिन तुलसीको बिरुवा रोपी व्रत बस्नाले समाज, परिवार एवं स्वयंमा सुख, शान्ति तथा आरोग्य प्राप्ति हुने जनविश्वास छ । हिन्दू धर्म परम्परामा हरिशयनी एकादशीका दिनदेखि चतुर्मास व्रत प्रारम्भ भई ईश्वर उपासनाको महत्वपूर्ण समय सुरु भएको मानिन्छ । औषधीय गुणलेयुक्त तुलसीलाई स्वास्थ्यका दृष्टिले लाभदायी जडिबुटी मानिएकाले घरैमा तुलसीका बिरुवा हुर्काइ प्रत्यक्ष फाइदा लिन सकिन्छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीको उपचारमा तुलसी, घरेलु औषधिका रूपमा उपयोग गर्ने गरिन्छ । यसप्रकार परापूर्वकालदेखि नै हरिशयनी एकादशीको धार्मिक तथा स्वास्थ्यसँग सम्बन्धित पक्षको विशेष महत्व रहेको पाइन्छ ।
दाङ: दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उहाँकी छोरीहरू २० वर्षीया सोनु बिसी र १५ वर्षीया पविता बिसी रहेका छन् । त्यस्तै विषादी च्याउ खाएर घोराही–१२ हापुर निवासी ४२ वर्षीय लालबहादुर बस्नेत, उनकी श्रीमती ४० वर्षीया शान्ता बस्नेत र छोरा १६ वर्षीया समिर बस्नेत पनि बिरामी परेको प्रहरीले बताएको छ । बिरामीहरू सबैकोे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लालबहादुरको परिवारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
काठमाण्डौँ: सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ । तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो । घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा कोहलपुरस्थित शिक्षण असपतालमा मृत्यु भएको सूचना अधिकारी बोहराले बताउनुभयो । उहाँको मृत्युको अन्य कारण नखुलेको र शव परीक्षणपछि थाहा हुने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ ।
काठमाण्डौँ: नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर समितिले संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो कार्यकालमा महत्वपूर्ण काम गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म पर्सावासीलाई धन्यवाद भन्न र मन्त्रालयको काम गर्नुभन्दा अघि आशीर्वाद लिन वीरगञ्ज आएको हुँ ।” जिल्लाका सबै सडकको ‘डिपिआर’ बनाएर बोलपत्र आह्वान गर्नुका साथै पर्यटनको विकासका लागि चिडियाखाना बनाउने कामसमेत अगाडि बढाउने मन्त्री यादवले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री यादवलाई ५१ किलोको माला लगाएर सम्मान गरिएको थियो । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई लगायत नवनिर्वाचित जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।
रोल्पा: रोल्पा नगरपालिका(७ मा रहेको जनकिरण प्राथमिक विद्यालय घापाडाँडामा आठ छात्रा र ६ छात्र गरी १४ विद्यार्थी अध्ययन गर्छन् । कक्षा तीनसम्म पढाइ हुने यो विद्यालयको कक्षा एकमा ४, कक्षा दुई र तीनमा मा पाँच୵पाँच जना विद्यार्थीले अध्ययन गर्छन । विद्यालयमा प्रावि स्थायी शिक्षक एक, निजी स्रोत शिक्षक दुई, बालविकास शिक्षक एक र विद्यालय सहयोगी एक गरी पाँच जना शिक्षक कर्मचारी कार्यरत छन् । त्यहाँ १३ बालबालिका बालविकास केन्द्रमा भर्ना भएका छन् । रोल्पा नगरपालिका ५ मा रहेको ज्ञानज्योती आधारभूत विद्यालय धनडाँडामा दुई छात्रा र आठ छात्र गरी १० जना विद्यार्थीले अध्ययन गर्दछन् । कक्षा तीनसम्म संचालित यो विद्यालयको कक्षा एकमा एक छात्र, कक्षा दुईमा तीन छात्र र कक्षा तीनमा दुई छात्रा र चार छात्रले अध्ययन गर्छन् । यो विद्यालयमा बालविकास शिक्षक, स्वयमसेवक शिक्षक र विद्यालय सहयोगी एक୵एक गरी तीन जना शिक्षक कर्मचारी कार्यरत छन । त्यहाँ सात बालवालिका बालविकास केन्द्रमा भर्ना भएका छन् । रोल्पा नगरपालिका ८ जंकोटमा रहेको बागेश्वरी आधारभूत विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुन्छ । यो विद्यालयमा ९ छात्रा र १० छात्रसहित १९ विद्यार्थीले अध्ययन गर्छन् । विद्यालयमा कक्षा एक मा ६, कक्षा दुईमा तीन, कक्षा तीनमा चार, कक्षा चारमा दुई र कक्षा पाँचमा चार जना विद्यार्थीले अध्ययन गर्दछन् । यो विद्यालयमा प्राथमिक तह स्थायी शिक्षक तीन, बालविकास शिक्षक एक र विद्यालय सहयोगी एक गरी पाँच जना शिक्षक कर्मचारी कार्यरत छन् । त्यहाँ १३ जना बालवालिका वालविकास केन्द्रमा भर्ना भएका छन् । यी त ‘शैक्षिक हब’को नारा दिएको रोल्पा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रतिनिधि विद्यालय हुन्। नौवटा माध्यमिक र ५७ आधारभूत गरी ६६ वटा सामुदायिक विद्यालय रहेको रोल्पा नगरपालिकाका अधिकांश विद्यालयमा विद्यार्थी संख्या न्यून छन् । विद्यालय सुधारका लागि सरकारले बर्सेनि लगानी बढाउँदै लगे पनि रोल्पाका यी विद्यालयमा भने विद्यार्थी संख्या दिनानुदिन घट्दै जाँदा सामुदायिक विद्यालयहरु सरकारका लागि बोझ हुन थालेका छन् । सरकारले कक्षा एक–तीनका लागि हिमालमा ३० पहाडमा ४५ र तराईमा ६० विद्यार्थी हुनुपर्ने व्यवस्था गरेको छ । यसैगरी एक(पाँच संचालनका लागि हिमालमा ५०,पहाडमा ७५ र तराईमा १०० विद्यार्थी हुनुपर्ने मापदण्ड तोकेको छ । तर पहाडी जिल्ला रोल्पाको रोल्पा नगरपालिकाभित्रकै विद्यालय नै सरकारको यो मापदण्ड पूरा गरेका छैनन् । एक–तीन चलेका नगरपालिका भित्रका २१ विद्यालयमध्ये १८ विद्यालयमा विद्यार्थी संख्या ४५ भन्दा कम छ । यसैगरी २० भन्दा कम विद्यार्थी संख्या हुने आधारभूत (१–३) विद्यालय संख्या १० रहेका छन् । कक्षा १–५ चलेका ४६ सामुदायिक विद्यालयमध्ये २७ विद्यालयमा विद्यार्थी संख्या ७५ भन्दा कम छ । यसै गरी १–५ चलेका ११ आधारभूत विद्यालयमा विद्यार्थी संख्या ४० भन्दा कम छ । विद्यालयको यही दुर्दशा देखेर रोल्पा नगरपालिकाले ४ वर्षअघि विद्यालय समायोजनको कार्यक्रम अघि सारे पनि यसले सफलता पाउन सकेन । विद्यालय समायोजनले दुर्गमका विद्यार्थी पढ्नबाट वंचित हुने भन्दै विरोध भएपछि नगरपालिका पछि हटेको थियो । त्यस यता विद्यालय समायोजन कसैको प्राथमिकतामा परेको छैन । विद्यालय संचालनका लागि सरकारले विभिन्न शीर्षकमा ठूलो बजेट खर्च गर्ने गर्दछ । उसले शिक्षक तलब भत्ता, बालविकास शिक्षक,विद्यालय सहयोगी,विद्यालय सहायक कर्मचारी,नगर स्वयमसेवक शिक्षक जस्ता शीर्षकमा ठूलो रकम खर्च गर्ने गर्दछ । यसै गरी भौतिक निर्माण शौचालय प्रवलीकरण, कार्यसम्पादन अनुदान, राष्ट्रपति शैक्षिक सुधार, कम्प्युटर अनुदान, कोभिड स्वास्थ्य सामग्री आदि शीर्षमासमेत बजेट खर्च गरेको हुन्छ । छात्रवृत्ति, दिवा खाजा, वुक कर्नर, निस्शुल्क पाठ्यक्रम, प्रारम्भिक पढाइ कार्यक्रम, शिक्षकको समय सुधार अनुदान शीर्षमासमेत विद्यालयमा बजेट जाने गर्दछन् । विद्यालय संचालन अनुदान, विद्यालय सुधार योजना, तथ्यांक बुलेटिन, इन्टरनेट, प्रति विद्यार्थी बालविकास अनुदान, कक्षा एक विद्यार्थी भर्ना अनुदान आदि अनुदानसमेत सरकारले विद्यालयहरूमा पठाएको हुन्छ । ‘नेपाली परिवारमा जन्मदर घटेसँगै विद्यालयहरूमा विद्यार्थी संख्या घटेको देखिन्छ,’ रोल्पा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कर्ण पुनले भने, ‘एउटै परिवारमा धेरै सन्तान जन्मदा ग्रामीण क्षेत्रका विद्यालयहरुमा पनि विद्यार्थी प्रयाप्त हुन्थे जनचेतनामा आएको बदलावले जनसंख्या नियन्त्रण हुँदा यसको प्रभाव विद्यालयहरूमा देखिन्छ ।’ विद्यार्थी संख्या जे जति भए पनि उनीहरूको पठनपाठनको व्यवस्था गर्नु राज्यको दायित्व भएको विद्यालय व्यवस्थापन समिति महासंघ रोल्पा नगरपालिका अध्यक्ष जीतबहादुर डाँगीको भनाइ छ । विकल्पविना विद्यालय समायोजन गर्दा धेरै विद्यार्थीले पढाइ छाड्ने सम्भावना रहेकाले उचित विकल्प दिएर यसतर्फ कदम चाल्नु पर्ने डीगी बताउँछन् । सामुदायिक विद्यालय छाडेर सदरमुकामका निजी विद्यालय पढ्ने मोहले पनि सामुदायिक विद्यालयहरू रित्तिन लागेको अध्यक्ष डाँगीले बताए । सामुदायिक विद्यालयको भौतिक सुधारका साथसाथै गुणस्तर सुधारमा पनि सरकारको ध्यान जानु पर्ने उनको सुझाव छ ।
झापा: विर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनाल रहेको विर्तामोड इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको रहेको जनाएको हो । उनी सवार बा४२प १२८ नंको मोटरसाइकल सडकको किनारमा पल्टिएको र खनाल सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ । दुर्घटना र मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौँ: त्रिभुवन विश्वविद्यालयले एकपछि अर्को परीक्षामा लापरबाही गरेको नेविसंघले बताएको छ। निजी कलेजसँगको मिलेमतोमा प्रश्नपत्र बनाउने, गत वर्षकै प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्याउने र फरक विषयका प्रश्नपत्र वितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर आघात पुर्याउने काम त्रिविबाट भइरहेकै नेविसंघको आरोप छ। त्रिविले असार २२ मा व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३स् अर्गनाइजेशन बिहेव्यरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि(बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको छ। यस्तै असार २५ गते बिबिए छैटौं सेमेस्टरको नेप्लिज सोसाइटी एण्ड पोलिटिक्स एसओसी २०२ विषयको परीक्षामा पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्न सोधिएकोमा विद्यार्थीले विरोध गरेका थिए। त्रिविको यस्तो गैरजिम्मेवार, शंकास्पद तथा लापरवाहीपूर्ण कदमप्रति नेविसंघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष दुजाङ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि त्रिविले गत जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयका प्रश्नपत्रहरू गत वर्षकै हुबहु दोहोर्याएको थियो। ‘उक्त घटनाको छानबिन गर्न गठित छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन आजसम्म सार्वजनिक नगर्नु, दोषीलाई उम्काउने चलखेल गर्नु, पटकपटक परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रहार गरिरहनु, बिचौलिया र निजी कलेजसँग साँठगाठ गरिरहनु, आदि घटनाले विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार निकायहरू पतित भएको पुष्टि भैसकेको छ,’ नेविसंघले निकालेको विज्ञप्तिमा उल्लेख छ। परीक्षाजस्तो संवेदनशील विषयमा लापरबाही भएकोले त्रिवि पदाधिकारीले राजीनामा दिनुपर्ने नेविसंघको माग छ। ‘प्रश्नपत्र निर्माण तथा नियमन गर्ने निकायका जिम्मेवार व्यक्तिहरू तथा सम्पूर्ण विचौलियाहरूलाई कार्बाहीको दायरामा नल्याएको खण्डमा त्रिविविरुद्धमा नेविसंघ आन्दोलनको आँधिबेहरी सिर्जना गरि जस्तोसुकै कदम पनि उठाउन बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

