म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

काठमाडौँ :      काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै  पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ ।     काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताउनुहुन्छ ।    फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआउनुभएका रामचन्द्र श्रेष्ठ बताउनुहुन्छ ।   राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उहाँले बताउनुभयो । महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ ।   महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ । महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।

लमजङ् :       यहाँ बाढीपहिरोले  जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेको छ ।  दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालयको भवन र फलेनी बस्ती जोखिममा परेको हो ।    गत जेठ २३ गतेयता निरन्तर वर्षा हुँदा थप पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताउनुभयो । “उपल्लो माझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ । उक्त भवनमाथि सडकबाट पहिरो खस्दा वडाको भित्तासम्म आइपुगेको छ ।    भवनको पछाडिको भागसम्म ढुङ्गामुढा र माटो थुप्रिएको छ भने वर्षा भइरहेमा भवन नै बगाउने स्थितिमा पुगेको छ,  उहाँले भन्नुभयो, “वर्षा भएपछि पहिराले जताततै लेदो माटो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएको छ ।”    वडाध्यक्ष गुरुङका अनुसार असार लागेपछि आजसम्म आइपुग्दा पानी पर्ने क्रम बढ्दै आएको र पहिरा पनि बढ्न थालेकाले सेवा प्रवाहसमेत डराइडराइ दिने गरिएकोे वडाका कर्मचारीहरुले बताए । पहिराले नजिकैको महेन्द्र ज्योति प्राविको भवनलाई पनि जोखिममा पारेको छ । उक्त विद्यालयको कक्षाकोठासम्म भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ ।     लप्सीबोट जाने सडकबाट पहिरो झरिरहेको छ भने केही दिनअघि गएको पहिरोले विद्यालयको तारजाली पुरेको छ । वडाध्यक्ष गुरुङले भन्नुभयो, “पहिरा निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र  छिर्छ सर्फा गर्दै काम गछौँ ।” वडा कार्यालयको करिब २० मिटर माथि सडकबाट आएको पहिरो रोक्नलाई पहिलो पटक यही असार ५ गते गाउँपालिकाबाट रु दुई लाख बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो तर पटक–पटक आएको पहिराले थप क्षति पुर्याउनाका साथै अन्य  दुईस्थानका सडक नै बगाएपछि आपत्कालिन परिस्थितिमा दुईघण्टासम्म हिँडेर छोटे खोलासम्म पुग्नुपर्ने बाध्यता भएकोे उहाँको भनाइ थियो ।    पहिरो गएयता कुलो सफा गर्ने क्रममा सर्पले टोकेर दुई जना घाइते भइसकेका छन् । त्यस्तै वडा कार्यालयभन्दा करिब २० मिटर परको निर्माणाधीन वडाको स्वास्थ्य चौकी भवन पनि आएको पहिराले आधा पुरेको छ । बस्तीमा पनि १० घर पहिराले जोखिममा पारेको छ । यही असार १ गतेको पहिरो र त्यसपछि  बेला–बेलामा खसेको पहिराले कोषलाल गुरुङ, प्रेम गुरुङलगायत अन्य व्यक्तिको घर जोखिममा पु¥याएकोे वडासदस्य लालबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिममा रहेका स्थानीयवासी दिउँसोभन्दा रातको समयमा पानी पर्दा डराइडराइ सुत्दै आएका छन् । 

   काठमाडौं :         काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत भेटिएपछि  सो क्षेत्र तनावग्रस्त भएको छ । मृतकका आफन्तले  हत्याको आशंका गर्दै स्कुलमा प्रर्दशन गरेका छन् ।   शनिबार बेलुका केएमसी स्कुलको होस्टलको क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशंका गर्दै स्कुलमा धर्ना दिइरहेका छन् ।   मृतकका आफन्तले स्कुलले एक दिन पनि विदा नदिएको, काम गरेको पैसा समेत नदिएको ,छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ ।   रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुन्डेको देखेको बताइएको छ । मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशंका गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् ।   मृतकका बुबा–आमा काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

  नवलपुर :      मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ ।    निकुञ्जले यस वर्ष छ वटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको छ  । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०७९/८० मा चार बाघ छाडिए पनि अझै तीन बाघ निकुञ्जको खोरमै रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका तीन बाघ नरभक्षी भएकाले छाडिएको छैन ।” जङ्गलमा लगेर छाडिएको बाघको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको पनि संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो ।   बाघको घाँटीमा स्याटेलाइट कलर जोडेपछि उक्त बाघ कहाँ कुन अवस्थामा छ भन्ने कुरा सफ्टवेयरको माध्यमबाट निकुञ्जमै बसेर जानकारी लिन सकिने उहाँले बताउनुभयो । खोरमा बाँकी रहेका तीनवटामध्ये एउटा बाघ बाँकेबाट ल्याइएको हो भने दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । छाडिएको बाघलाई मानिसको नजिक राखेर बानी–व्यवहार अध्ययन गरेपछि मात्र छाडिएको संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो ।   चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मानिससँग जम्काभेट भएर आक्रमण गरेका बाघलाई मात्र छाडिएको जानकारी दिनुभयो । “हामीले जनदबाबमा समातेका सबै बाघ नरभक्षी हुँदैनन् त्यसैले उनीहरुको आनीबानी, उमेर, व्यवहारको अध्ययन गरेर नरभक्षीबाहेकका बाघलाई जङ्गलमा लगेर छाड्ने गरेका छौँ”, उहाँले भन्नुभयो । उनीहरूको क्रियाकलापलाई अवलोकन गर्न स्याटेलाइट कलर घाँटीमा जडान गरिएको उहाँले बताउनुभयो ।    निकुञ्जको मुख्यालय कसारमा दुई र निकुञ्जको पूर्वी सेक्टर सौराहामा दुई गरी चारवटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । चालु आर्थिक वर्षमा मात्र चितवनमा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ भने ११ बढी मानिस घाइते भएका छन् । 

काठमाण्डैँ :       शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।   लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी विधेयकको मस्यौदा पनि तयार गरिएको छ ।    सङ्घीय शिक्षा ऐनमा निःशुल्क र अनिवार्य शिक्षा ऐन तथा  शिक्षा सेवा आयोग ऐन र राष्ट्रिय परीक्षा बोर्ड ऐनका केही विषय समायोजनका लागि तयारी गरिएकोे छ । सङ्घीय शिक्षा ऐनमा शिक्षक सेवा आयोगको मापदण्ड, सिद्धान्त र राष्ट्रिय शिक्षाको दर्शन, शिक्षा व्यवस्थापनबारे तीन तहका सरकारको स्पष्ट भूमिका, शिक्षकको तहगत प्रणालीका बारेमा पनि सम्बोधन हुने जनाइएको छ ।   मन्त्रालयका प्रवक्ता दीपक शर्माले ती विधेयक रायपरामर्शका क्रममा रहेको र सकेसम्म चाँडै सङ्घीय संसद्मा प्रस्तुत हुने अपेक्षा रहेको बताउनुभयो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा विधेयक छिटो सदनमा ल्याउन यसअघि निर्देशन दिइसकेको थियो ।

काठमाण्डौँ :       आज देशभर आंशिकदेखि सामान्य बदली रहनाका साथै  धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।  मनसुनी वायुको असरले देशभर आंशिकदेखि सामान्य बदली रहने र  धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।   आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र  नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने पनि विभागले जनाएको छ ।    वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन र  यातायात क्षेत्रमासमेत असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन  सबैमा अनुरोध गरिएको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।    बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डग्री र अधिकतम तापक्रम २८  दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 

रोल्पा :      अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ । लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको थियो ।   गत मङ्गलबार राति परेको अविलरल वर्षापछि आएको बाढीले पुल बगाएको थियो । अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो । सोही बाटो हुँदै लुङ्ग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत गर्ने गर्दछन् ।   लुङ्ग्रीका अध्यक्ष भरत थापाले भन्नुभयो, “पुल भत्किएपछि कतिपय स्थानीय पैदलयात्रा गर्न बाध्य छन् भने कतिपय अर्को बाटोबाट आवतजावत गर्छन्, निकट भविष्यमा पुल मर्मत गरी यातायात सञ्चालन गर्छौँ  । ” सो गाउँपालिकाको रु २७ लाखको लगानी रहेको सो पुलमा आर्थिक अनियमितिता भएको जनाउँदै सार्वजनिक आलोचनासमेत भएको थियो । 

    धरान :      धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् ।  पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र  ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् ।    शनिबार सोही क्षेत्रमा  वृक्षरोपण पनि गरिएको छ । पकुवाखोला क्षेत्रमा करिब २५० विभिन्न जातका फलफूल र बाँसलगायतका बिरुवा रोपिएको छ । पछिल्लो समय धरानमा खानेपानीको समस्या हुँदै आएको छ ।   खानेपानी अभाव टार्न नगरप्रमुख साम्पाङले खानेपानीको स्रोत खोजी गर्न उच्च प्राथमिकता दिनुभएको छ  । पकुवाखोलाको पानी उपयोग गर्न यसको सङ्कलनका लागि ‘इन्टेक’ बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।  विशेष गरी खानेपानीको मुद्दा उठान गरी स्वातन्त्रबाट नगरप्रमुखमा निर्वाचित भएपछि उहाँले खानेपानी व्यवस्थापनका लागि ध्यान दिइरहनु भएको  छ ।

   म्याग्दी  ः    म्याग्दी सदरमुकाम बेनीको कालीपुलका व्यापारी सुरेन्द्र गौतम बिहान ५ बजे नै उठेर बेनी बजारको मंका खलःको भवनमा योग गर्न आउनुहुन्छ । गौतमजस्तै ३० भन्दा बढी सर्वसाधारण सोही समयमा योग गर्नका लागि योग कक्षामा हाजिर हुन्छन् ।      पछिल्लो समय म्याग्दीमा सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योगाशन अभ्यासमा आकर्षण बढेको हो । नवीन आनन्द योग केन्द्र म्याग्दीले विहीबारदेखि बेनीबजारस्थित मंका खलःको हलमा नियमित योग कक्षा सञ्चालन गरेको छ । योग सिक्न बेनी बजारका साथै ग्रामीण क्षेत्रबाट सर्वसाधारण आउने गरेका नवीन आनन्द योग केन्द्रका संस्थापक तथा योगगुरु नवीन जुग्जालीले बताउनुभयो ।      व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फूर्तिका लागि योगाशन सिक्न योग कक्षामा आएको सर्वसाधारण बताउँछन् । नवीन आनन्द योग केन्द्रले विगत १० वर्षदेखि जिल्लाका विभिन्न गाउँमा योग केन्द्र सञ्चालन गर्दै आएको छ । कोरोना सङ्क्रमणको जोखिमकालमा विभिन्न ठाउँमा योगाशन सञ्चालन गरेको केन्द्रले विगत तीन महिनादेखि सदरमुकाम बेनीमा योग गर्ने स्थानको अभावमा योग कक्षा सञ्चालन गर्न सकेको थिएन । तर अहिले मंका खलः म्याग्दीको नयाँ निर्माण गरिएको भवनमा हल भाडामा लिइ योग कक्षा सञ्चालन गरेको योग प्रशिक्षक जुग्गालीले बताउनुभयो ।      दिनभर घर व्यवहार र व्यवसायको कामले व्यस्त हुने व्यापारी, कार्यालयमा व्यस्त हुने कर्मचारी र गृहिणी योगप्रति निकै आकर्षित भएका योगगुरु जुग्जालीले बताउनुभयो । “म दिनभरी व्यापारको काममा व्यस्त हुन्छु तर बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, बेनीको कालीपुलस्थित संगम हाडवर्यरका सञ्चालक सुरेन्द्र गौतमले बताउनुभयो । “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।” गौतमले विगत आठ वर्षदेखि नियमित योगाभ्यास गर्दै आउनुभएको छ ।      बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी बिहानको समयमा एकै ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्ने गरेका छन् । बेनी नगरपालिका–७ की रचना पुनले खाना नपच्ने, रुघा लागिरहने र रक्तचाप बढ्ने समस्या नियमित योग गर्न थालेपछि व्यवस्थापन भएको अनुभव सुनाउनुभयो । “योग अभ्याससँगै स्वास्थ्यलाई हानी नगर्ने खानपान अपनाउन थालेपछि स्वास्थ्यमा सुधार आएको छ”, उहाँले भन्नुभयो ।      नवीन आनन्द योग केन्द्रका संस्थापक एवं योगगुरु जुग्जालीका अनुसार बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिंगा तातोपानी, बेग, लगायतका स्थानमा योगाभ्यास सञ्चालन गरिएको थियो । छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागी भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन् । योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक जुग्जालीले बताउनुभयो । “गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ,” उहाँले भन्नुभयो “आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ ।”      योगले मानिसको शारीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने प्रशिक्षक जुग्जालीले बताउनुभयो । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।      योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ । मन्दिर, विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सिकाउने गरिएको छ । नियमितरूपमा एकै ठाउँमा योगाभ्यास सञ्चालन गर्ने ठाउँको अभाव छ । सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाले दरवाङमा योग केन्द्रको भवन बनाएका छन् । बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण गरिएको छ । योग साधकको सङ्ख्या धेरै भएकाले पूर्वाधारको अभाव भएको नवीन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताउनुभयो ।