काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

  सुर्खेत:    कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ ।  प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैँमा पेचिलो बन्दै गएको छ । यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ । दुई वर्षअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश कास्कीको पोखरामा सम्पन्न भएको थियो ।  उक्त प्रतियोगिता सम्पन्न भएसँगै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मा कर्णालीले लिएर फर्केपछि त्यसका लागि प्रदेश गौरवको आयोजनाका रूपमा लिइएको वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतमा बन्दै गरेको रङ्गशालाको काम अन्तिम चरणमा पुगेको छ । रङ्गशाला १० हजार दर्शक बस्ने क्षमताको छ । तीन साताअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सुर्खेत पुगेर रङ्गशाला निर्माणको अवस्थालाई अवलोकन निरीक्षण गरी मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँगको बसाइमा प्रदेश सरकारको १५ दिनपछिको रिपोर्टिङबाट निर्धारित समयमा खेल हुने वा नहुने भन्ने निक्र्यौल निकालिने भनेर फर्कनुभएको थियो । यद्यपि २४ दिन बितिसक्दा पनि प्रगतिबारे प्रदेश सरकारबाट रिपोर्टिङ भएको छैन । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री भण्डारीका अनुसार खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माणकार्य तीव्र रूपले बढे पनि प्रतिकूल मौसमका कारण काममा ढिलाइ भएकाले यहाँको प्रगतिबारे जानकारी गराउन नसकिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “रङ्गशालावरिपरिको बाटो निर्माणका लागि असारमै ठेक्का लागेर काम सञ्चालन भइरहेको छ । विकट भूगोल छ तर १० वटै जिल्लाको बाटो प्रतिकूल मौसमले कतिबेला बिगार्ने हो । सधैँ ठीक हुन्छ भनेर सुनिश्चित गर्ने अवस्था छैन ।”  कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद तोकिएको समयमा नगर्ने अवस्था नरहेको तर सरकारले चाहेमा निर्धारित समयमै हुनसक्ने बताउनुभयो । तोकिएको समयमै दशौँ राष्ट्रिय खेलकुद गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहेको उहाँले जिकिर गर्नुभयो ।  प्रतियोगितालाई मध्यनजर गर्दै प्रदेश राजधानी सुर्खेतलगायत दशवटै जिल्लामा संरचना निर्माण भएका छन् । सदस्यसचिव सञ्ज्यालका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेशमा २४ वटा खेल सञ्चालन गर्न सकिनेछ ।  भौतिक संरचना पनि तीव्रगतिमा निर्माण भइरहेका छन् । वीरेन्द्रनगरमा मुख्य रङ्गशाला, क्रिकेट मैदानलगायत संरचना पनि निर्माण भइरहेका छन् । पूर्वाधारका कारण खेलकुद सर्ने अवस्था नरहेको दाबी प्रदेश खेलकुद विकास परिषद् गरेको छ । परिषद्ले तोकिएकै समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सक्षम र प्रतिबद्ध रहेको दाबी गरे पनि समयमै नहुने हो कि भन्ने आशङ्का उब्जिएको छ ।  “प्रदेशले पाएको जिम्मेवारी पूर्वाधारको निर्माण र व्यवस्थापनको हो जुन कुराको सम्पूर्ण तयारी हामीले गरेका छौँ”, सदस्यसचिव सञ्ज्यालले भन्नुभयो, “तोकिएकै समयमा प्रतियोगिता सञ्चालन गर्न सकिन्छ, हामीले यो धेरैपटक भन्दै आएका छौँ ।  एक महिनाभित्र रङ्गशालाको सबै काम सकिन्छ । यद्यपि प्रतियोगिता सञ्चालनको अन्तिम निर्णय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले नै गर्ने हो । पूर्वाधारका कारण प्रतियोगिता रोक्नुपर्ने अवस्था छैन ।” तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्दा खेलकुद क्षेत्रमा आशा पलाउँछ र यसले तोकिएकै समयमा खेलकुद हुन्छ भन्ने संस्कृतिको विकास हुने उहाँको भनाइ थियो ।   सदस्यसचिव सञ्ज्यालका अनुसार खेलकुद प्रतियोगिता तोकिएकै समयमा गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रचलन छ र नेपालमा पनि राष्ट्रिय खेलकुद नसार्ने प्रचलन स्थापित गर्दा भोलिका संस्करण समयमै गर्न सकिने हुन्छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले रङ्गशालाको भौतिक पूर्वाधार अवलोकन गर्दा एक महिनामै सम्पन्न हुने कुरामा शङ्का नभएको तर खेलाडीलाई खाने–बस्ने व्यवस्था मिलाउन चुनौतीपूर्ण देखिएको बताउनुभयो ।  मन्त्री चौधरीले भन्नुभयो, “पूर्वाधारको चिन्ता अब हुँदैन । एक हजार बढी खेलाडीको बसाल्ने क्षमता नदेखिएकाले जतिसक्दो छिटो बसोबासको प्रबन्ध मिल्नुपर्छ । हामीले तोकिएको समयमै खेलकुद प्रतियोगिता सम्पन्न गर्न सकेनौँ भने यो धेरै पर जानसक्छ ।” यता खेलाडीका लागि बजेटको व्यवस्था गर्नेतर्फ जोड दिइएको बताउँदै मन्त्री चौधरीले बसोबास प्रबन्ध र पूर्वाधारका विषयमा प्रदेश सरकारबाट परिपत्र हुने त्यसका आधारमा प्रतियोगिता सञ्चालनको मितिका लागि निर्णय लिने जनाउनुभयो ।  फेरि केही दिनपछि सुर्खेत पुगेर खेल सञ्चालन हुने सबै जिल्लाको पूर्वाधार अवस्था र अन्य व्यवस्थाका विषयमा जानकारी लिएर प्रतियोगिता सञ्चालनको मिति सुनिश्चित गर्ने उहाँको भनाइ थियो । हुम्लामा हुने हक्की खेलमा खेलाडीका लागि आउने स्वास्थ्य समस्याका बारेमा बुझेरमात्र त्यसको सञ्चालनको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।  परिषद्का अनुसार दशौँ राष्ट्रिय खेलकुद सञ्चालनका लागि प्रदेशभरमा १३ वटा ‘इन्डोर’ हल छन् । ती हलमा १४ वटा खेल खेलाउन सकिन्छ र बाँकी १० वटा ‘आउटडोर फिल्ड’ पनि भएकाले २४ वटा खेल खेलाउन सकिने पूर्वाधार यथेष्ट छन् । एउटा एथलेटिक्स खेलको ट्रयाकमा सिन्थेटिक लाग्न र एउटा इन्डोर हलको छाना छाउन बाँकी छ । २४ वटा खेलका हामीसँग खेलाडी पनि छन् ।  हुम्लामा हकी मैदान छ । मुगुमा कबड्डीको संरचना छ । जुम्ला र दैलेखमा इन्डोर हल, कालिकोटमा कभर्डहल छ । रुकुमपश्चिममा पनि हल छ । सल्यानमा टेबलटेनिसको हल छ । जाजरकोटमा पनि कुनै न कुनै खेल खेलाउन सकिन्छ । जहाँ पूर्वाधार छ, त्यहाँ खेल आयोजनाका साथै बसोबासको व्यवस्था गर्न सकिन्छ । सुर्खेतभन्दा बाहिरका जिल्लामा पनि लैजाँदा यसले आम कर्णालीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रतिको अपनत्व लिन सक्ने ठाउँ हुने जनाइएको छ ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ ।  त्यसैगरी साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ । अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा कायम रहेको थियो ।  त्यसैगरी युरो एकको खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा दर कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १४८ रुपैयाँ १८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा कायम रहेको थियो । केन्द्रीय बैंकका अनुसार बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेकामा आजका लागि खरिददर १७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७१ पैसा तोकिएको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।  क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७० र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा कायम भएको छ । जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ४१ र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ ।  राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा छ ।  मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८८ पैसा छ । हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

पोखरा:    कास्की प्रहरीले फार्मेसीबाट ड्रग्स विक्री गरेको आरोपमा रास्वपाका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।   यसअघि लागुऔषध कसुरमा पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका ७ स्थायी घर भई हाल पोखरा ४ नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापामगरले लागूऔषध TRUPAIN (Tapentadol) ९७ चक्की पोखरा महानगरपालिका ९ लखनचोकस्थित दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।    त्यसपछि प्रहरीले उक्त फार्मेसीका सञ्चालकसमेत रहेका ढाकाकुमारविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ (पुर्जी) अनुमति लिएको थियो ।   सोही आधारमा रास्वपाबाट सांसदसमेत बनेको डाक्टर श्रेष्ठलाई आज पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए ।    उनका अनुसार पक्राउ परेको श्रेष्ठमाथि थप अनुसन्धान अघि बढाइएको छ ।  

पोखरा:  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शंशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।       वीपी चिन्तन प्रतिष्ठानद्धारा आज (विहीबार) पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय नेपालमा कृषि क्रान्ति:सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै कोइरालाले भन्नुभयो– सरकारले कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्छ ।       युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको बताउँदै उहाँले आफ्नो परिवारको मुख्य पेशा पनि कृषि नै भएको भनाइ उहाँको छ । वीपी कोइराला कृषि पेशाप्रति आकर्षण हुने गरेको भनाइ पनि उहाँले राख्नुभयो ।       नेपालमा थुपै कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारी घटाउँदै जानुपर्ने भनाइ उहाँको छ । कृषिमा आत्म निर्भर हुन सक्यौ भने नेपालको खरबौ रुपैयाँ नेपालमा नै रहने उहाँले बताउनुभयो ।       नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले वीपीको विचारलाई आत्मसाथ गर्दै कृषि क्रान्ति ल्याउन सकयौ भने नेपालीको भविष्य यसैमा हुने बताउनुभयो । प्रजातन्त्रमा नेपाली जनतामा मालिक हुने भएकाले उनीहरुकै सेवामा दलका नेताहरु लाग्नुपर्ने  भनाइ उहाँको छ । कृषिलाई केन्द्र बिन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक भएको बताउनुभयो ।       नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवं गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आवद्ध भएको नेपालमा कृषिलाई बैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी हुने बताउनुभयो ।        दिगो विकास र अर्थतन्त्र सुधारको लागि सरकारले कृषिलाई नै पहिलो प्राथामिकाता दिनुपर्ने बताउँदै रेमिट्यान्सको भर पर्दा देशको अर्थतन्त्र कुनै पनि बेला ढल्न सक्ने भनाई उहाँको छ ।       नेकपा (माओवादी ) केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्म निर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बभताउनुभयो । जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको बताउनुभयो ।  कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्ने भनाइ उहाँको छ । उक्त कार्यक्रम वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेको अध्यक्षता एवम् नेपाली काँग्रेस कास्कीका सहसचिव शंकर ढुुङ्गानाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, विपी चिन्तन प्रतिष्ठानका सह अध्यक्ष पुष्पराज पराजुली, केन्द्रीय सदस्य नवराज गुुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछाने, डा. लक्ष्मीकान्त पौडेल, गणेशमान फाउन्डेशनका गण्डकी प्रदेश संयोजक दुर्गा तिमल्सिना, प्रतिष्ठानका बाग्लुङ अध्यक्ष गोविन्द कंडेल, स्याङ्जा अध्यक्ष जीवलाल काफ्ले लगायतले बोल्नुभएको थियो ।

पोखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।   लक्षित वर्गलाई समेट्न गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक अपाङ्गता नीति निर्माण भएर कार्यन्वयन भईरहेको छ, अपाङ्गताको क्षेत्र केन्द्रित भएर काम गर्ने गरी अपाङ्गता निर्देशन समिति छ’ बिहिवार राष्ट्रिय अपाङ्ग कोषले आयोजना गरेको ह्विलचेयर वितरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने ‘अपाङ्गता संम्बन्धी ऐनको तयारी भईरहेको छ ।’ प्रदेश सरकारले निर्माण गर्ने संरचना अपाङ्गमैत्री हुनुपर्ने नीति लिइएको बताउँदै उनले कार्यन्वयनकालागि प्रदेश सरकार मातहतका सबै निकायलाई निर्देशन दिइएको बताए । ‘यसअघि बनेका पुराना संरचना धेरैजसो अपाङ्गमैत्री छैनन्, अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने नीति सरकारको छ ।’  अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण, सशक्तीकरण, क्षमता विकास, सहायता सामग्री वितरण लगायतका काम सामाजिक बिकास तथा युवा खेलकुद मन्त्रालय मार्फत प्रदेश सरकारले गरिरहेको उनले बताए । ‘सबै खालको अपाङ्गता भएकाहरुलाई समेट्ने गरी अपाङ्गता निर्देशन समितिमा १० प्रकारको अपाङ्गता प्रतिनिधित्व गर्नेहरु हुनुहुन्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘यो समितिले नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनमा सरकारलाई सहयोग गर्नेछ ।’ जिल्लास्थित सामाजिक विकास कार्यलय मार्फत अपाङ्गता क्षेत्रमा सहयोग पुग्ने गरी हक अधिकारलागि बहस, पैरवी, समुदायमा आधारित पुर्नस्थापना, विउ पुँजी वितरण लगायतका कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेले अनुरोध गरे । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, व्यवशाय संचालन लगायत कार्यक्रम र अपाङ्गता भएकालाई प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरेको बताउँदै उनले भने ‘सरकारको साधन स्रोत, क्षमताले भ्याउँदा सम्म सहयोग थप्दै लगिनेछ ।’ यस क्षेत्रमा काम गर्ने दातृ निकाय, बिभिन्न संघ संस्थासँगको सहकार्यमा सरकारले समन्वय र नीतिगत सहजीकरण गर्दै जाने उनले बताए । राष्ट्रिय अपाङ्ग कोषले दैनिक आवश्यक पर्ने सहायक सामग्री कृतिम हात खुट्टा, क्यालिपर, बैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयर जस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको सभापति डेकराज भट्टराईले बताए ।  बिहिवार कोषले विषेशज्ञवाट नापजाँच एवं तालिम सहित ओम हङ्ग गिल ह्यूमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर मुख्यमन्त्री पाण्डेले ३२ जनालाई  बितरण गरेका हुन् ।

पोखरा:   कास्की प्रहरीले ड्रग्ससहित लामाचौरबाट एक महिलालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर जिमिरे बस्ने २८ वर्षीया सन्तु घर्ति मगर रहेकी छिन् ।   प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध बुप्रिनर्फिन १२७ एम्पुल, डाईजापाम १२७ एम्पुल, फेनरागन १२७ एम्पुल गरी जम्मा ३८१ (तिन सय एकासी) एम्पुल र नाइट्रोभ्याट १० लेखेको ८ चक्की बरामद गरिएको हो ।   कास्की प्रहरीलाई लामाचौरमा लागूऔषध विक्री वितरण भइरहेको भन्ने सूचना पुगेको थियो ।   सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।   पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:   पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् ।  पोउवासंघको अध्यक्ष पदका उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसाय सँगै आर्थिक चलायमानका लागि अन्तर्राष्ट्रिय उडान अत्यावश्यक रहेको बताउँदै पोखरामा लगानी सम्मेलन गरि अन्तर्राष्ट्रिय लगानीलाई समेत भित्राउन आवश्यक रहेको धारणा राखे ।  पोखरेलीले लामो संघर्ष र त्याग पश्चात अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि विभिन्न पक्षले उडान हुन नदिएको बताएका हुन् ।  ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निमित अन्तर्रांष्ट्रिय उडानको लागि लविङ गर्ने, स्वदेश िर विदेशी च्याम्बरहरुसँग सहकार्य र भगिनी सम्बन्धको विस्तार तथा लगानी सम्मेलन गरि लगानीको वातावरण तयार गछौ’ उनले भने, ‘अहिले युवा विदेशिने वाध्यतालाई पनि न्युनिरण गर्न आवश्यक छ । युुवा लक्षित कार्यक्रमहरु आजका आवश्यकता हुन् ।’   पोखराका अधिकांश सटर खाली हुनु आर्थिक मन्दी मुख्य कारण रहेको र यसका लागि नीति नियमको आवश्यकता रहेको कार्कीको भनाइ छ । कार्कीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएमा यहाँको पर्यटनसँगै उद्योग, कृषि र व्यापारले ठुलो फड्को मार्नेमा आफु आशावादी रहेको बताए ।  संघको उपाध्यक्षसम्म अमुल्य मतले विजयी गराउने सम्पुर्ण उद्योग व्यवसायी तथा व्यापारिहरुले अब एक पटक आफुलाई अध्यक्षका लागि भारी मत दिनेमा समेत आशावादी रहेको र नेतृत्वमा रहुन्जेल आफ्नो कुनैपनि व्यवसायमा नलाग्ने समेत प्रतिबद्धता व्यक्त गरे ।  पछिल्लो समय कार्कीलाई समर्थन गर्नेको लर्को चलिरहेको छ । गुट–उपगुट नसमाइ स्वतन्त्र रुपमा उठेकाले आफुहरुले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।   

काठमाडौं:    चित्रकार एससी सुमन श्रीलङ्कामा भइरहेको ‘कोलम्बो आर्ट एक्स्पो–२०२४’ सहभागी हुनुभएको छ ।       अन्तराष्ट्रियस्तरको कला प्रदर्शनीमा सहभागी हुनुभएका सुमनले मिथिला चित्रकला प्रदर्शन गर्नुभएको छ ।  उहाँको कलामा मिथिला संस्कृतिसँगै इतिहास, मानव सभ्यता, प्रकृति, राजनीतिदेखि ब्रहमाण्ड जगत्को भाव समेटिएको छ ।        एक्स्पोमा सहभागी कलाकार सुमनका अनुसार अन्तर्राष्ट्रियस्तरमा कला प्रदर्शनीमा सहभागी हुँदा एकअर्काको कलासंस्कृति अनुशरण गर्न पाइने बताउनुभयो ।    एक्स्पोमा कला शिविर, कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको उहाँले राससलाई बताउनुभयो ।       “सबै देशका कलाकार एकै ठाउँमा जम्मा हुँदा सिक्ने र सिकाउने मौका पाएका छौँ”, उहाँले भन्नुभयो, “यो एक्स्पोको अर्थ पनि कलाको विश्वव्यापीकरण गर्नु र मित्रताको सन्देश दिनु हो ।”  एक्स्पोमा आठ देशका ४० जना कलाकारको कला प्रदर्शनी गरिएको सुमनले जानकारी दिनुभयो । चारदशकदेखि मिथिला कलामा सक्रिय उहाँले बेलायत, चीन, श्रीलङ्कामा ४० पटकभन्दा बढी सामूहिक कला प्रदर्शन गरिसक्नु भएको छ । नेदरल्याण्ड, अष्ट्रेलियाजस्ता देशमा १८ भन्दा बढी एकल प्रदर्शन गर्नुभएको छ ।       ‘एनएसजी कलाकार समूह बङ्गलादेश, फ्याकल्टी अफ भिजुअल आर्ट र भिजुअल एण्ड पर्फमेन्स विश्वविद्यालय, श्रीलङ्काको कला सङ्कायको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो ।  एक्स्पोमा चित्रकला, मूर्तिकला, सिरामिक र प्रिन्टमेकिङलगायतका  विधामा कला प्रदर्शन गरिएका छन् । सेप्टेम्बर ६ तारिखदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय कला प्रदर्शनी सेप्टेम्बर १४ सम्म चल्नेछ ।

काठमाडौं:   श्रीलंकामा अर्को महिना हुने काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ खेलाडीको नेपाली टोली घोषणा भएको छ । नेपाल भलिबल संघले बिहीवार १२ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले बन्द प्रशिक्षणमा रहेका १८ मध्ये १२ खेलाडीको अन्तिम छनोट गरेको हो । भदौ ८ गतेबाट बन्द प्रशिक्षण गरिरहेको थियो । च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। केहि महिनाअघि काठमाडौंमा‌ भएको यू– १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो । सो प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले गत महिना माल्दिभ्समा सम्पन्न काभा यू–२० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।   नेपाली यू–२० टोली   पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दिनेश कुँवर ।