कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

कास्की:    नेपालको पर्यटकीय राजधानी पोखरामा विश्व पर्यटन दिवसका अवसरमा मिनी सडक महोत्सवको हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले पर्यटन दिवसका दिन शुक्रबार साँझ फेवाताल किनार अम्बोटदेखि वाराही चोकसम्म एकदिने सडक महोत्सव गर्न लागेको हो ।  महोत्सवमा बाजा गाजासहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने महोत्सवका संयोजकसमेत रहनुभएका रेवानका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिनुभयो ।  ‘सडक मै खाउँ, सडक मै रमाउँ’ भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको उहाँले बताउनुभयो ।  रेवानका अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ यहाँका विभिन्न जातीय संस्कृति, भेषभुषा, सांस्कृतिक नृत्य, पर्यटकीय ठाउँहरूको दृश्यावलोकन वृत्तचित्र तथा स्वदेशी र विदेशी खानाका परिकार प्रस्तुत गरिने बताउनुभयो ।  यसैगरी विश्व पर्यटन दिवसका सन्दर्भमा पोखराका विभिन्न पर्यटनसँग सम्बन्धित संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।

काठमाडौं:    नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ ।  बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो । आज अमेरिकी डलर एकको खरिददर रु एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ छ पैसा रहेको छ । आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार नेपाली बजारमा युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा थियो । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा कायम भएको छ । यस्तै, आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा तय भएको छ । बुधवार अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८५ पैसा थियो । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ७८ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९९ रुपैयाँ ७५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ आठ पैसा छ । सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ३२ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा कायम भएको छ । आजको विनियमयदरअनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ आठ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा रहेको छ । यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३ रुपैयाँ ३५ पैसा तय हुँदा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ दुई पैसा र बिक्रीदर २० रुपैयाँ ११ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १४ पैसा र बिक्रीदर १७ रुपैयाँ २२ पैसामा कारोबार हुनेछ । आजको विनिमयदरअनुसार कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय २९ रुपैयाँ २१ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६७ पैसा कायम भएको छ । खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्नुहुँदै  प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताउनुभयो । समृद्री सतह वृद्धिका कारणबारे चर्चा गर्नुहुँदै उहाँले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।  “हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न लागौँ । उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्छ”, उहाँले भन्नुभयो,“ आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसङ्घलाई आग्रह गर्दछु ।” यसैबीच प्रधानमन्त्री ओलीले आजै राष्ट्रसङ्घको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई सम्बोधन गर्नुभएको छ ।  उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउनुहुँदै उहाँले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्नेमा जोडदार माग गर्नुभयो ।  प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा पनि दिनुभयो । 

काठमाडौं:    हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको  जनाएको छ ।  कोशी, मधेस ,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छभने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।     महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।  देशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।  त्यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भागका केही स्थानमा हुरीको  सम्भावना छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको  सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रमा हुन सक्ने बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको  जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्क रहन सम्बद्ध सबैमा अनुरोध गरेको छ । 

पोखरा:   रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाईते भएकी छिन् । मंगलवार विहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ बर्षीय कृष्णकुमारी घर्ती घाईते भएकी हुन् ।       रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्याङले वाँयाहातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।      उपचारपश्चात नयाँबजारस्थित छोरी रचना थापाको कोठामा आराम गर्दै आएकी छिन् । उनका अनुसार अहिले चट्याङको कारण वाँयाहातले राम्रो काम गरेको छैन र शरिरको एक हर सहनै नसक्ने गरि पोल्दछ ।   धारामा हात धुँन लाग्दा अचानक चट्याङ परेपछि थाहै नपाईकन घर भित्र विस्तरामा पुगेछु उनले भनिन् अस्पतालमा उपचार गरेर फर्केपछि अहिले पनि हात बढी पोल्दा घरको वरन्डामा राखेको मार्वल माथि राख्दै आएको छु चिसोले केही हदसम्म भएपनि आराम हुन्छ । रुपा गाउँपालिका वडा नं. ७ को भुमेकोटमा नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा बढी चट्याङ पर्ने गरेको स्थानीयवासिन्दाको गुनासो रहेको छ । चट्याङले रामकोटस्थित स्वास्थ्यचौकीमा समेत क्षेती पुगेको छ ।    

महोत्तरी:    यहाँको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।            पक्राउपर्नेमा जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले निजहरुउपर कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान अगाडि बढाएको छ ।            नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा विजयी हुनुभएका मुकेश सवार लु.प्र.०१–००१प।६३६२ नम्बरको मोटरसाइकल गत भदौ ९ गतेका दिन बिहानै जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका–८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको र वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो ।           घटना शङ्कास्पद रहेको भन्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले घटनाको अनुसन्धान गर्न सिआइबीको माग गरेका थिए ।  जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपश्चात् मुकेशको हत्या आरोपमा मुकेशकै साथीहरु  सञ्जीव र दिलीप पक्राउ परेका हुन् ।      घटनाको अघिल्लो राति सञ्जीव, दिलीप र अन्य दुई महिला साथीहरुले वडाध्यक्ष मुकेशलाई अबेर रातिसम्म बर्दिबासको विभिन्न होटलमा खुवाइपिलाइ गरेको, उनीसँगै अबेर रातिसम्म बसेको र बिहान उनको शव मृतावस्थामा फेला परेका कारण यस घटना शङ्कास्पद रहेको  माओवादी केन्द्रले जनाउँदै आएको थियो ।      पक्राउ परेका सञ्जीव र दिलीपलाई आजै कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थपगरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । 

काठमाडौं:    भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।       भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।      खेलमा पहिलो अग्रता भने भुटानले लियो । खेलको ४३ औँ  मिनेटमा छिमी तोब्देन दोर्जीले गोल गरे । त्यसपछि खेलको ५६ मिनेटमा नेपालका कृष्णबहादुर आलेले गोल गर्दै खेललाई एकरएक गोलको बराबरीमा ल्याए । यसैगरी खेलको ८५ औँ मिनेटमा नेपालका अर्का खेलाडी सुजन डङ्गोलले गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए ।      जीतसँगै नेपाल तीन खेलबाट ६ अङ्क जोडेर समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । दुई जीत र एक बराबरीसहित ७ अङ्क जोडेको पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।       नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता  भारतसँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनल खेलमा पकिस्तान र बाङ्लादेशबीच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल खेल यही असोज १२ गते हुनेछ ।

नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ ।    महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।   “बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ”, महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।     साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।   असोज १० गते बिहीबार दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।   साथै देशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।   असोज ११ गते (शुक्रबार) देखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै मेघ गर्जनरचट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।   साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ ।   साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।    असोज १२ गते ९शनिबार० देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका  केही  स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।   साथै देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका  केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।   असोज १३ गते (आइतबार) देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।   यस प्रणालीको प्रभावले विशेषगरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाइएको छ ।    यस्तै महाशाखाले ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेका छ । बालीनालीमा क्षति गर्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।    यी जिल्ला उच्च जोखिममा    महाशाखाका अनुसार विभिन्न ५३ जिल्लालाई रेड जोनमा राखेको छ ।   ती जिल्ला उच्च जोखिममा रहेको भन्दै विभागले विशेष बुलेटिनमार्फत सावधानी अपनाउन अनुरोध गरेको छ ।    महाशाखाका अनुसार कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङलाई उच्च जोखिममा राखिएको छ ।   यस्तै मधेस प्रदेशका सिरहा, सप्तरी र पर्सा पनि उच्च जोखिममा रहेका छन् ।   यस्तै बागमतीका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप उच्च जोखिममा छन् ।   गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ जिल्ला जोखिममा छन् ।    यस्तै लुम्बिनीका जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाम जिल्ला उच्च जोखिममा रहेको जनाइएको छ । 

काठमाडौं:    आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माइतीघरमण्डलामा प्रदर्शन गरेका छन् ।        ‘एशिया दलित राइटस् फोरम’को आयोजनामा भएको उक्त प्रदर्शनमा दलित समुदायलाई आर्थिकरुपमा सबल बनाउन राज्यले प्रभावकारी नीति र योजना ल्याउनुपर्ने माग राखिएको छ ।            प्रदर्शनमा एशिया दलित अधिकार मञ्चका महासचिव भक्त विश्वकर्माले सामाजिक न्यायबिना आर्थिक समानता सम्भव नहुने र सामाजिक सुरक्षा, स्वास्थ्यको अधिकार, वातावरणीय न्याय, जातीय विभेदको अन्त्य नभएको भन्दै दलित समुदायको अधिकारका लागि एकीकृत आन्दोलन आवश्यक रहेको बताउनुभयो ।      प्रदर्शन कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका कार्यक्रम व्यवस्थापक अभिषेक साह, जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्मा, दलित सेवा सङ्घका सञ्जुसिंह विश्वकर्मा, राष्ट्रिय नेपाल दलित कल्याण सङ्घ सिरहाका अध्यक्ष मोहन पासवान, र दलित महिला केन्द्र नेपालकी अध्यक्ष लक्ष्मी परियारलगायतका वक्ताहरुले आफ्ना धारणा राख्नुभएको थियो ।            प्रदर्शनकारीले जातीय विभेद, सामाजिक सुरक्षा, स्वास्थ्य अधिकार, खाद्य सङ्कट र वातावरणीय समस्याको समाधानका लागि राज्यले तत्काल कदम चाल्नुपर्ने मागसहितका ब्यानर र प्लेकार्ड बोकेका थिए ।      एशिया दलित अधिकार मञ्चकासँगै गैरसरकारी संस्था महासङ्घ, नेपाल, दलित गैरसरकारी संस्था महासङ्घ, नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ, दलित महिला सङ्घ, समन्यायिक समाज नेपाल, राष्ट्रिय दलित नेटवर्क, जागरण मिडिया, समता फाउण्डेशनलगायत सङ्घसंस्थाले पनि प्रदर्शनमा एक्यबद्धता जनाउँदै भाग लिएका थिए ।             प्रदर्शनकारीले आर्थिक न्यायबिना सामाजिक न्याय सम्भावना नरहेकाले दलित समुदायको आर्थिक उत्थानका लागि राज्यको ठोस नीति र कार्यान्वयनको माग गरेका छन् ।