काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मङ्गलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग भएको भेटमा नेपाल– कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे छलफल भएको परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध पारस्पारिक सम्मान र समझदारीमा आधारित रहेको तथा त्यसलाई आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको थियो । त्यसैगरी उहाँहरूबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल– कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । परराष्ट्रमन्त्री डा देउवाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गर्नुभयो । भेटका क्रममा पछिल्लो समय रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपालीलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरूलाई दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्रीले सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायत क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि उहाँले सराहना गर्नुभएको थियो । मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गर्नुभएको थियो । नेपालमा प्रत्यक्ष लगानी गर्ने राष्ट्रमध्येको दक्षिण कोरिया प्रमुख देश हो । अघिल्लो आर्थिक वर्षमा नेपालमा दक्षिण कोरियाको करिब रु १२ अर्ब लगानी आएको थियो । नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, सुरक्षा परिषद्मा उम्मेदवारी दिएकाले कोरियाली सहयोगका लागि परराष्ट्रमन्त्रीले आग्रह गर्नुभएको थियो । त्यसैगरी, मन्त्री देउवाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि भेटवार्ता गर्नुभयो । त्यस क्रममा उहाँहरूबीच आपसी हित र साझा चासोका साथै भावी सहकार्यबारेमा कुराकानी भएको थियो । साथै परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, र सुरक्षा परिषद्मा नेपाललाई सघाउन फिलिपिन्ससँग अनुरोध गर्नुभयो ।
सिरहा: आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ । छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो । गम्भीर घाइते उहाँको उपचारार्थ विराटनगरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ । भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकतामा ९९ वटा क्रियाकलाप प्रस्ताव गरिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले पद सम्हालेपछि भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनालाई स्वीकृत गर्नुभएको हो । रणनीतिक योजनालाई यही असोजभित्र मन्त्रिपरिषद्बाट पारित गरेर कार्यान्वयन गर्ने योजना छ । प्रदेशमा सुशासन कायम गर्ने तथा त्यसनिम्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र गठन गरिने छभने नैतिकता तथा सदाचारिता प्रवर्द्धनलाई जोड दिइएको छ । व्यावसायिकता अभिवृद्वि, सार्वजनिक सेवा प्रवाह, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा, पारदर्शिता, सामाजिक जवाफदेहीतालाई समेटिएको छ । रणनीतिमा उत्तरदायित्व प्रवर्द्धन, सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, समन्वय, सहकार्य तथा साझेदारीलाई विषयगत क्षेत्रका रूपमा तोकिएको छ । सार्वजनिक प्रशासनका सबै क्षेत्रमा नैतिकता प्रवर्द्धन गरी निष्पक्ष, पारदर्शी, जवाफदेही, मितव्ययी तथा जनउत्तरदायी शासकीय क्रियाकलाप सञ्चालन गर्ने योजना प्रस्ताव गरिएको छ । कर्मचारी तथा जनप्रतिनिधिको पेशागत क्षमता अभिवृद्विका कार्यक्रम सञ्चालन, सार्वजनिक पदाधिकारीको नेतृत्व विकास, सार्वजनिक सेवालाई स्वच्छ बनाउने, सार्वजनिक गतिविधिमा नागरिकको सहभागिता, सशक्तीकरण, वित्तीय अनुशासन कायम गर्ने, आयोजना छनोट तथा कार्यान्वयनलाई वस्तुनिष्ठ बनाउने विषयलाई रणनीतिमा विशेष प्रथाथमिकता दिइएको छ । भ्रष्टाचारविरुद्ध रचनात्मक क्रियाकलाप रणनीतिक योजनाअनुसार माध्यमिक तहका विद्यार्थीमा नैतिक मूल्यमान्यता तथा भ्रष्टाचारविरुद्धका विषयबारे सघन रूपमा जानकारी दिने र त्यसलाई ‘प्रजेक्ट वर्क’ का रूपमा समावेश गरिने छ भने, जनप्रतिनिधि तथा कर्मचारीको तालिम तथा क्षमता विकासका कार्यक्रममा नैतिकता प्रवरद्धन हुनेगरी पाठ्यक्रम, तालिम सामग्री तयार गरिनेछ । त्यसैगरी, सार्वजनिक सेवामा अध्यात्मसम्बन्धी ज्ञान र पूर्वीय दर्शनको प्रभाव आन्तरिकीकरण गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय तथा प्रदेशस्थित अन्य धार्मिक एवं आध्यात्मिक संस्थासँग सहकार्य गरी कर्मचारी तथा जनप्रतिनिधिमा योग, ध्यान, सकारात्मक सोच विकासका व्यावहारिक अभ्याससहितका कार्यक्रमहरू सञ्चालन गर्ने, सदाचार र नैतिकता प्रवर्द्धनका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्ने, खोज पत्रकारिताका माध्यमबाट अनियमितता उजागर गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा भएपछि स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी र कोरला नाका पुग्ने जोकोहीलाई सञ्चार गर्न सहज भएको बताउनुभयो । एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो । नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण भएका भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् ।
बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको हो विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी थालेको छ ।
मुस्ताङ: विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो । समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन् । यद्यपि बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ । लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको यो बस्ती प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले सम्पन्न छ । माटोको पर्खालभित्र रहेको सीमित यो ऐतिहासिक बस्ती पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । दरबार र गुम्बा, सांस्कृतिक राजा, मुखिया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जीवनशैली लोमान्थाङ पहिचान र विशेषता हो । लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य लाक्पा वाङदी गुरुङका अनुसार यो करिब छ सय वर्ष पुरानो बस्ती हो । “यस्तो बस्ती सायद कहीँकतै अस्तित्वमा नरहेकाले लोमान्थाङ विश्वकै अनुपम धार्मिक एवं ऐतिहासिक सम्पदा हो भन्ने हामी दाबी छ”, उहाँले भन्नुभयो, “मुस्ताङका प्रथम राजा अम पालले स्थापना गरेको ‘माटोको सहर’ लोमान्थाङ विश्वभरका मानिसहरुका लागि कौतुहलताले भरिएको गन्तव्य पनि हो ।” माटोको पर्खालभित्र प्राचीन बस्ती दुई सयभन्दा बढी घरधुरी रहेको लोमान्थाङ बस्ती माटो जमाएर बनाएको करिब दुई मिटर फराकिलो र आठ मिटर अग्लो पर्खालले घेरिएको छ । दुई सय ८० मिटर उत्तर–दक्षिण र एक सय ६० मिटर पूर्व–पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्ती प्रवेश गर्ने एउटै मात्र ढोका छ । पर्खाल बाहिरका बस्ती पछि बसेको हो । लोमान्थाङको पुरानो बस्तीलाई गुथाङ (वज्रसाधु महाकाल), डोल्मा ल्हाखाङ (तारा), पोतलिङ (अवलोकेश्वर) र ज्यथाङ (ज्याम्पा÷मैत्रेय) गरी चार देवीदेवताको नामबाट चार टोलमा बाँडिएको छ । विसं १४९७ मा आमेपालले लोमान्थाङलाई स्वतन्त्र अधिराज्य घोषणगरी बस्तीको चारैतिर पर्खालले घेरी चार तले लोमान्थाङ दरबार बनाएका वडा सदस्य गुरुङले सुनाउनुभयो । यहाँ लोवा समुदायका विष्ट, गुरुङ र दलित समुदायको बसोबास छ । माइला छोरा लामा र माइली छोरी भुमा बस्ने यहाँको चलन रहिआएको छ । संस्कारगत कार्यमा लामा र झुमाको भूमिका हुन्छ । व्यापार, पशुपालन र खेती किसानी यहाँका बासिन्दाको आम्दानीको स्रोत हो । पछिल्लो समय यहाँका बासिन्दाहरु जापान, युरोप, अमेरिका देश जानेक्रम बढेको छ । यहाँ कुनै पनि प्रकारको मुद्दा नभएका व्यक्तिलाई बुद्धिमान र ऋण नभएकालाई साहुका रुपमा चिनिन्छ । अधिकांश मुद्दा, झै–झगडा परिवार वा गाउँभित्रै मुखियाबाटै हुने गरेको छ । महिलाले बख्खुको अगाडि पाङ्देन र पछाडि केदेन लगाउँछन् । अगाडिपट्टिको पाङ्देन विवाहितले मात्र प्रयोग गर्छन् । विवाहको सङ्केत नै पाङ्देन हो । गाउँमा कसैको घर निर्माण गर्दा गाउँलेले दुई÷तीन दिन बिनाज्याला सहयोग गर्ने परम्परा अझै पनि कायमै छ । सांस्कृतिक राजा, ऐतिहासिक दरबार र गुम्बा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सांस्कृतिक राजा अस्तित्वमा छन् । राजपरिवारका सदस्यहरुको उपस्थितिमा चाडपर्व, सभासमारोह र विशेष कार्यक्रम हुने स्थानीयवासी कर्म आङ्गेलले बताउनुभयो । “सांस्कृतिक रुपले हाम्रो समाजमा राजा अस्तित्वमै छन्”, उहाँले भन्नुभयो, “महत्वपूर्ण कार्यक्रम सांस्कृतिक राजपरिवारका सदस्यहरुको उपस्थितिमा हुन्छ ।” लोमान्थाङका अन्तिम तथा २५औँ पुस्ताका राजा जिग्मे परवल विष्टको विंस २०७३ मङ्सिरमा मृत्यु भएको थियो । विसं १४९७ देखि १८४६ सम्म छुट्टै स्वतन्त्र राज्यका रूपमा रहेको लोमान्थाङ विसं १८४६ मा बृहत् नेपालमा गाभिएपछि तत्कालीन राजा रणबहादुर शाहले तत्कालीन तेह्रौँ राजा वाग्याल दोर्जे परवललाई नेपालमा गाभिएको आश्रित राज्यका रूपमा लालमोहर लगाइदिएका थिए । नेपाल एकीकरणपछि आंशिक अधिकारसहित स्वतन्त्र छाडिएका चार रजौटामध्ये लोमान्थाङमा पनि एक रजौटा रहे । नेपालले लोमान्थाङबाट औपचारिक रूपमा भने २०७४ देखि भुरे राजा÷रजौटाको शासनलाई अन्त्य गरेको हो । मुलुकमा राजतन्त्रको अन्त्यसँगै तत्कालीन मुस्ताङी राजाले पनि आफ्नो भूमिका राजाका रूपमा नरहेको घोषणा गरेका थिए । गणतन्त्रपछि राज्यबाट प्राप्त हुँदै आएको सुविधा रोकिएको थियो । मुस्ताङी राजा आमे पालले इसं १४४० मा निर्माण गरेको पाँचतले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ । ढुङ्गा, माटो र काठले बनेको यो दरबार विसं २०७२ को भूकम्पका कारण चर्किएपछि मर्मत गरिएको थियो । बाहिरबाट हेर्न सकिने विशाल दरबारभित्र पस्न भने रोक लगाइएको छ । यही दरबारबाट तत्कालीन मुस्ताङी राजाले राज्य सञ्चालनका गतिविधि गर्दथे । १५औँ शताब्दीमा निर्माण भएको थुप्तेन, छयोदेन र झयाम्पाल गुम्बा पनि लोमान्थाङको ऐतिहासिक र धार्मिक सम्पदा हुन् । काठ, ढुङ्गा, माटोले बनेका गुम्बाभित्र कलात्मक थाङ्का र मूर्तिहरु छन् । वार्षिक तीन हजार पर्यटक सन् २०२४ को सेप्टेम्बर २२ सम्म दुई हजार ११ जना विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका रेञ्जर मदन पौडेलले बताउनुभयो । वर्षको अन्तसम्म पर्यटक आगमनको सङ्ख्या तीन हजार नाघ्ने अनुमान गरिएको छ । लोमान्थाङ अन्नपूर्ण संरक्षण क्षेत्रमा समेटिएको छ । सन् २०२३ मा ७० देशका तीन हजार चार सय ८४ जना विदेशी नागरिक उपल्लो मुस्ताङ घुमेका थिए । सन् २०२२ मा तीन हजार एक सय १२, सन् २०२१ मा तीन सय ३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाविस र वडा नं ५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ । उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन रु ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ । तथ्याङ्कअनुसार मुस्ताङ भित्रने कूल पर्यटक सङ्ख्याको १० प्रतिशत पर्यटक पनि उपल्लो मुस्ताङ जादैनन् । आएका पर्यटक पनि पर्याप्त समय नहुँदा सबै ठाउँ घुम्न नपाउँदै हतारहतार फर्कनुपर्ने समस्या छ । विदेशीको तुलनामा केही बढी नेपालीहरु उपल्लो मुस्ताङ घुम्न गए पनि उनीहरुको आधिकारिक तथ्याङ्क छैन । सबै वर्ग र आर्थिक हैसियतका पर्यटकका लागि अनुकूल किसिमको शुल्क निर्धारण र प्रक्रिया नभएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन बढ्न नसकेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो । मौलिक सम्पदा, संस्कृतिको संरक्षण र प्रवर्द्धनगरी पर्यटन विकासका लागि पहल गरिए पनि अर्धनिषेधित क्षेत्र र महँगो प्रवेश शुल्कका कारण समस्या भएको अध्यक्ष गुरुङले बताउनुभयो । निषेधित क्षेत्रका कारण विदेशी सजिलै छिर्न नपाउने र स्थानीयको आर्थिक उपार्जनमा समस्या भएको हो । बिदा र चाडपर्वका समयमा घुम्न आउने नेपालीहरुले उपल्लो मुस्ताङको पर्यटन तथा होटल व्यवसाय निर्भर छ । लोमान्थाङमा रहेका २५ वटा होटलमा दैनिक चार सय जना पर्यटक बास बस्नसक्ने क्षमता रहेकोे मिस्टिक होटलका सञ्चालक रामबहादुर गुरुङले बताउनुभयो । लोमान्थाङमा सडक यातायातको सुविधा पुगेको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ । साथै मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएकामा आजका लागि भने खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ १८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्री दर एक सय ७९ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ४९ पैसा र बिक्री दर एक सय ५८ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ४४ पैसा र बिक्री दर ९१ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८८ पैसा र बिक्री दर ९९ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ ६६ पैसा र बिक्री दर एक सय चार रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिद दर नौ रुपैयाँ २८ पैसा र बिक्री दर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६१ पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ०७ पैसा र बिक्री दर चार रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ १६ पैसा र बिक्री दर १३ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९३ पैसा र बिक्री दर २० रुपैयाँ ०२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ १६ पैसा र बिक्री दर १७ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपैयाँ ३९ पैसा र बिक्री दर तीन सय ५५ रुपैयाँ ९९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेश,बाग्मती, गण्डकी ,लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतासको चल्ने सम्भावना छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी , बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रका सर्वसाधारणलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं: बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँमा काठमाडौँ छाड्नेका लागि लक्षितगरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ । दसैँका अवसरमा सार्वजनिक सवारीसाधनबाहेक पनि दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारीमा काठमाडौँ छाड्ने र भित्रनेको सङ्ख्या पनि लाखौँमा हुने गरेको छ । तर के लाखौँ मानिस सवार हुने हजारौँ सवारीसाधनलाई थेग्नेगरी सडक संरचना निर्माण गरिएको छ त ? जानकारहरु सडकको अवस्था राम्र्रो नभएको बताउँछन् । कतिपय स्थानमा सडक निर्माण भइरहेको छ भने कतिपय स्थानमा मर्मतसम्भारको काम चलिरहेको छ । तर दसैँसम्म ती काम पूरा हुनेमा उनीहरुको शङ्का छ । विशेषगरी काठमाडौँ भित्रने प्रमुख नाका नागढुङ्गादेखि धादिङतर्फको सडकमा अहिले धमाधम स्तरोन्नति भइरहेको छ । सडक बिग्रेको अवस्थामा छ । अहिले पनि सो खण्डमा स्तरोन्नति धमाधम भइरहेको छ । तर पनि दसैँसम्म पूरा हुने अवस्था भने देखिन्न । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिइसक्नुभएको छ । मन्त्री दाहालकै निर्देशनअनुसार अहिले धामाधम सडक मर्मतको काम अघि बढेको र काम सम्पन्न हुने सडक विभागले जिकिर गरेको छ । विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहतपर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत भइरहेको बताउनुभयो । “खानेपानी तथा विद्युत्का कारण पनि कतिपय स्थानमा सडक भत्काउँदा खाल्डाखुल्डी छन्, त्यस्ता स्थानमा मर्मतको जिम्मेवारी उहाँहरुकै हो”, उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको हकमा लक्ष्यभन्दा बढी प्रगति हासिल भइसकेको छ भने बाँकी काम दसैँसम्म सम्पन्न भइसक्नेगरी काम गरिरहेका छौँ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले चाडपर्वको छेकोमा यात्राका अवधिमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न र यात्रुलाई आवतजावतमा सहज व्यवस्था गर्नका लागि सडक सुधारको योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । “मन्त्री दाहालको संयोजकत्वमा सातै प्रदेशका सरकारका सम्बन्धित मन्त्रीसहितको समिति बनेको छ, समितिको छलफल पनि भइरहेको छ”, उहाँले भन्नुभयो, “सरकार सडक सुरक्षालाई लिएर गम्भीरताका साथ काम गरिरहेको छ ।” उहाँका अनुसार दसैँसम्म तीन हजार आठ सय ५६ दशमलव ४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ । जसमध्ये सोमबारसम्म सात सय ७२ दशमलव ८५ किलोमिटर सडकमा काम भइसकेको छ । ढकालले सडक सुरक्षाको नीति कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको जानकारी दिनुभयो । “यात्रुको सुरक्षित र सहज यात्राका लागि यातायात व्यवसायीहरु, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, स्थानीय तह र नेपाल प्रहरीलगायतसँग छलफल भइसकेको छ”, उहाँले भन्नुभयो, “चाडपर्व लक्षित सडक सुरक्षा व्यवस्थापन गर्न अनुगमन कार्य चुस्त बनाउने हाम्रो योजना छ ।” चाडपर्वका बेलामा आवतजावत बढी हुने, गाडीको गति असीमित हुनसक्ने र दुर्घटनाको जोखिम बढ्नसक्ने उल्लेख गर्दै ढकालले उक्त समयमा निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने बताउनुभयो । “सडक सुरक्षामा मानवीय पक्ष पनि जिम्मेवार हुन्छ । मानिसले आफ्नो दायित्व पूरा गरेमात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ, त्यसैले नागरिकका तहबाट पनि सहयोगको अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो । सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मतसम्भारका लागि रु छ अर्ब बजेट विनियोजन गरेको जनाइएको छ । सडक विभागका अनुसार विभाग मातहत मुलुकभर १८ हजार ९७ किलोमिटर सडक रहेको छ । जसमध्ये सात हजार २६ किलोमिटर सडक मर्मतसम्भार हुने विभागका सूचना अधिकृत अमित शर्मा भुसालले जानकारी दिनुभयो । पटके मर्मतसम्भार हुने (तत्काल मर्मत गर्ने) सडक पाँच हजार सात सय ४६ किलोमिटर रहेको र आवधिक र पुनर्वासबाहेक मर्मत गर्नुपर्ने सडक छ हजार किलोमिटर रहेको उहाँको भनाइ छ । “दसैँअघि तीन हजार आठ सय ५६ किमी सडकलाई खल्डारहित बनाउने योजना छ । जसमध्ये सोमबारसम्म सात सय ७२ किमीमा काम भइसकेको छ ।” उहाँका अनुसार सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि एक सय ११ वटा ठेक्का लगाइएकामा हालसम्म जम्मा चार वटा ठेक्का सम्पन्न भइसकेका छन् । उहाँका अनुसार काठमाडौँ भित्रने प्रमुख मार्गमा नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण भत्किएका सडक निर्माणको काम भने दसैँ अगाडि पूरा हुने अवस्था छैन । “नागढुङ्गा सडकखण्ड ममर्त नभइ स्तरोन्नति गरिने भएकाले दसैँ अगाडि यो आयोजना पूरा हुने अवस्था छैन”, उहाँले भन्नुभयो, “मुग्लिङ–पोखरा सडकखण्डको पनि काम सकिने अवस्था नभएकाले यात्रामा केही असहजता भने हुने अनुमान छ ।” पूर्वाधारविद् राजेन्द्रराज शर्माले सडक निर्माणमा गुणस्तरमा ध्यान नदिने, क्षमताभन्दा बढी लोडको सवारीसाधन गुडाउने तथा अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयको अभावमा बर्सेनि यात्रुले दुःख पाउने गरेको बताउनुभयो । “दिगो सडक निर्माणका लागि गुणस्तरमा विशेष ध्यान दिनुपर्छ, त्यसबाहेक भौगोलिक अवस्थाबारे पनि राम्रो अध्ययन तथा अनुसन्धान आवश्यक हुन्छ”, उहाँले भन्नुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत गर्नेको सङ्ख्या बढ्ने हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो । “सडक राम्रो नहुनु, सवारीसाधनको चाप बढी हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारगरी यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारीसाधन सञ्चालन गर्नुलगायतका कारण दसैँमा दुर्घटनाको जोखिम बढी हुने गरेको छ”, उहाँले भन्नुभयो, “दुर्घटना रोक्नका उपत्यका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दसैँमा सजकताका साथ जाँचमा कडाइ गर्ने योजना छ ।”

