काठमाडौं: राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा यही असोज ११ र १२ गते रात्रिकालीन बस नचालाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर अतिभारी र भारी वर्षाको पूर्वानुमान गरेको जानकारी दिँदै प्राधिकरणले यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको हो । विभागले कोसी प्रदेशको झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङ मधेसको सिरहा, सप्तरी र पर्सा तथा बागमतीको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लामा भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । यस्तै गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, लुम्बिनीको रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, कर्णालीको जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाममा पनि वर्षा हुने अनुमान गरेको छ । प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन तथा तराई तथा मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ । पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न, माछा मार्न नदी किनारमा नजान सबैमा अनुरोध गरेको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको बैठकले खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो । प्राधिकरणले पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही सतर्क रहन तथा विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्नसमेत निर्देशन दिएको छ ।
मनाङ: जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ । त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन् । पर्यावरण संरक्षणका लागि जिल्लाको नासों गाउँपालिकाले ‘रिचार्ज’ पोखरी निर्माण गर्ने भएको छ । हिमाली क्षेत्रका तालतलैया तथा पानीका मुहान सुक्न थालेपछि रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ६ स्थित पोङ्कर ताल परिसरमा गाउँपालिकाको कार्यापालिका बैठक बसी रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले परेको असर र यसको न्यूनीकरण गर्न आवश्यक देख्यौँ, जसले गर्दा मनाङका तालतलैया, प्राकृतिक पानीका मुहान अहिले सुक्दै गएका छन्, यसको संरक्षणका लागि हामीले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेका हौँ ।” बैठकका साथै वडा नं ६ का भीमथाङ र पोङ्कर तालको स्थलगत अवलोकनसमेत गरिएको थियो । तीनवटा रिचार्ज पोखरी निर्माण गरिने ५ नंका वडाध्यक्ष थुतेन लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले वडा नं ६ का दुई स्थानमा रिचार्ज पोखरी निर्माण गरिनेछ । उहाँले भन्नुभयो, “वडा नं का लागि ३ नं मा रिचार्ज पोखरी निर्माण गरिसकिएको छ, अब भीमथाङ र तिल्चेमा रिचार्ज पोखरी निर्माण गर्ने भएका छौँ, बोर्ड बैठकबाट नै निर्णय गरेर प्रक्रिया अगाडि बढाउने भइसकेको छ ।” भीमथाङमा ५० लिटरको रिचार्ज पोखरी बनाएर पानीको मुहान संरक्षण गरिने योजनासहित अगाडि बढिरहेको वडाध्यक्ष लामाले बताउनुभयो । जलवायु परिवर्तनले परेको असर र यसको न्यूनीकरणका लागि समुन्द्री सतहदेखि चार हजार मिटर उचाइ वडा नं ६ भीमथाङ र पोङकर ताल रहेका छन् । उक्त बैठकले पालिकाभित्र रहेका पानीका मुहान सुक्दै जाने क्रम बढेकाले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय गरेको हो । पछिल्लो समय मनाङमा बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, हिमपात कम हुनु, समयमा हिमपात नहुने कार्य बढ्दै गएको छ । त्यसले पानीको मुहान सुक्नु र केही फरक स्थानमा पानीको मुहान देखिने भएको छ । त्यसको संरक्षणमा गाउँपालिकाले कदम चाल्न थालेको जनाएको छ । कम हिमपात तथा समयमा हिमपात नहुँदा यहाँका पानीका मुहान सुक्दै जाने क्रम बढ्दो छ । यसका साथै जलवायु परिवर्तनको असर न्यूनीकरण तथा पानीको मुहान संरक्षणका स्थानीय सरकारका साथै प्रदेश र संघीय सरकारले चासो दिनुपर्ने देखिएको छ ।
भोजपुर: दिनानुदिन बाँदरको उप्रदो बढ्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । बाँदरका कारण जिल्लाका तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्यामा परेका हुन् । बाँदरले खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि बस्ती नै छाड्नुपर्ने अवस्था रहेको किसानहरुको भनाइ छ । बाँदरका कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत बाँदरले दुःख दिने गरेको स्थानीयको भनाइ छ । बाँदरको उप्रदो बढ्न थालेपछि किसानले बस्ती नै छाड्न थालेका छन् । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेको स्थानीयको भनाइ छ । बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसाद राई गाउँपालिका दलगाउँका स्थानीय दलबहादुर मगरले बताउनुभयो । बाँदरको आतङ्क बढ्दा बस्ती नै खाली हुने अवस्था आएको उहाँको भनाइ छ । “किसानको मुख्य शत्रु नै बाँदर बनेको छ”, उहाँले भन्नुभयो, “बाँदरका कारण उर्वर जमिन बाँझिएका छन्, बाली लगाएर पनि बाँदरबाट बचाएर खाने अवस्था छैन, छिनभरमा वर्षदिनका मेहनत नष्ट पार्छन् ।” बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले वस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका उहाँले बताउनुभयो । दश÷बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतंक बढेको टेम्केमैयुङका स्थानीय महेन्द्र राईले बताउनुभयो । बाँदरका कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उहाँको भनाइ छ । “बाँदरबाट बचाएर अन्नबाली खाने अवस्था छैन”, उहाँले भन्नुभयो, “बाँदरले अन्नबाली पाक्न दिँदैन, कटेरा बनाएर हेरचाह गरेर पनि सम्भव छैन ।” बाँदर मकैको थाग्रा, धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयले स–साना ठहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको किसान राईको भनाइ छ । बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समय टेर्न छाडेको उहाँको भनाइ छ । “बाँदर धपाउने यन्त्र पड्काएर तर्साउँदा पनि भाग्न छाडेको अवस्था छ”, उहाँले भन्नुभयो, “दशदेखि १५ मिनेट मात्र बालीमा पस्दा सखाप नै पार्छन्, बाँदरले हैरान बनाएको छ ।” बाँदर आतङ्कले धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । यहाँका १८ भन्दा बढी घर परिवार बाँदरका कारण विस्तापित भएको वडाध्यक्ष नेपालको भनाइ छ । “बाँदरका कारण किसानलाई चुनौती थपिएको अवस्था छ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “बाँदरको उपद्रो बढ्दा बर्सेनि उर्वरभूमि बाँझो बन्दै गएका छन्, दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ, बाँदरले धेरै दुःख दिएपछि स्थानीयले बस्ती नै छाडेको अवस्था छ ।” बाँदरको व्यवस्थापनका लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ । स्थानीयस्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उहाँले बताउनुभयो । बाँदर समस्या अन्त्यका लागि राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
कैलाली: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले ‘तीनमहिने सङ्गठन विस्तार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यही असोज ८ र ९ गते दुई दिन धनगढीमा बसेको प्रदेश समितिको पाँचौँ पूर्ण बैठकले सङ्गठन विस्तार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले आगामी मङ्सिर १० गतेसम्म प्रदेशका नौवटै जिल्लामा पार्टी सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिनुभयो । त्यस्तै, मङ्सिर ११ गते कैलाली र कञ्चनपुरका सबै वडामा एकसाथ वडा सम्मेलन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । सचिव बुढाका अनुसार बैठकले पहाडी जिल्ला डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा मङ्सिर ११ देखि १७ गतेसम्म वडा सम्मेलन सम्पन्न गरिसक्ने गर्ने गरेको छ । उहाँले भन्नुभयो, “पहिलो चरणमा वडा केन्द्रित कार्यक्रम गर्छौं, दुई महिनाभित्र सदस्यता नवीकरण, वडा सम्मेलन गर्ने काम सम्पन्न गर्छौं, त्यसपछि पालिका सम्मेलनलगायतका काम अगाडि बढ्छन् ।” बैठकमा प्रदेश समिति सदस्यहरुलाई वडामा नेतृत्व गर्नेगरी जिम्मेवारी बाँडफाँट गरिएको पनि उहाँले बताउनुभयो । प्रदेश पदाधिकारी, प्रदेश समिति सदस्य गरी ६३ जनाले पार्टीको योजना केन्द्रित भएर बैठकमा सुझाव पेस गरेको सचिव बुढाले बताउनुभयो । माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा भएको बैठकमा पार्टीका उपमहासचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू ९एलडिसी० का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएकी जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडिसीको अध्यक्षका हैसियतले उहाँले अल्पविकसित देशहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको हो । पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले कोभिड–१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित भएका बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । “पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरु चरम गरिबीतर्फ धकेलिएका छन् । एलडिसीहरुमा समावेशी आर्थिक वृद्धि, दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन, ‘डिजिटल डिभाइड’कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक समस्या घटाउन जि‐२० को सहयोग महत्वपूर्ण हुनेछ”, परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै उहाँको निजी सचिवालयले जनाएको छ । जी‐२० को अध्यक्ष ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्रमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभयो । ब्राजिलले भोकमरी र गरिबी घटाउन विश्वव्यापी अभियान सुरु गर्न लागेकामा त्यसको उहाँले स्वागत गर्नुभयो । जी ‐२० मा एलडिसीका तर्फबाट प्रतिनिधित्व गर्ने औपचारिक संयन्त्र निर्माणको आग्रह परराष्ट्रमन्त्रीले गर्नुभयो । उहाँले हाल एलडिसीमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई कम गर्न जी‐२० कै नेतृत्वमा ‘क्लाइमेट चेञ्ज फण्ड’ स्थापना गर्न, एलडिसीका उत्पादनलाई कोटा निर्धारण गरी भन्सार छुटको व्यवस्थाका साथै ऋण मिनाहाका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ ।”, उनले भने । मन्त्री थापाले तथ्याङ्कको विश्वसनियतामा शंका नआउने गरी यथार्थपरक तथ्याङ्क उपलब्ध गराउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले तीनै तहको सरकार मिलेर नै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने उल्लेख गरे । घोकन्ते विद्या भन्दा पनि संस्कारमुखी शिक्षा आजको आवश्यकता रहेको भनाई उनको छ । फलस्वरुप मन्त्रालयले यसपालीको बजेटमा समेत व्यवसायिक र नैतिकवान शिक्षालाई जोड दिएको उनले बताए । फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा लगायतका कार्यक्रम महत्वपूर्ण रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापाले सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको सर्टिफिकेटमा नामथर, जन्ममितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताए । जसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने भनाई उनको छ । सही तथ्याङ्कको आवश्यकतालाई उनले जोड दिएका छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेश स्तरमा शैक्षिक तथ्याङ्कको विश्वसनियता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । उनले मन्त्रालयले बिग्रदो, हराउँदो संस्कारलाई परिवर्तन गरि समाज र व्यक्तिलाई सुधार गर्न शिक्षाको क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उल्लेख गरे । मन्त्रालय अन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयहरुलाई प्रभावकारी बनाउन साझेदारी मोडलमा बजेट विनियोजन गरेको जानकारी उनले गराएका छन् । शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कान सहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गरे । कार्यक्रम असोज १० र ११ गते दुई दिन सम्म चल्ने उनले बताए । कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुुखहरु र ८५ वटै पालिकाका शिक्षा, युुवा तथा खेलकुद शाखाका प्रमुखहरुको सहभागिता रहेको छ ।
लमजुङ: लमजुङको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले चिलेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले उनीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा चिलेको उनले बताए । घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । घरबाट विद्यालयसम्म आउँदा जङ्गलको बाटो पर्ने प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा –८ स्थित सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । पोखराको लेखनाथ क्षेत्रमा पनि सुपथ मूल्य पसल खोल्ने सम्बन्धमा कर्मचारी उपलब्ध भएमा सञ्चालन गर्न सकिने कुरा आएकाले त्यसबारे पनि सम्बद्ध पक्षसँग छलफल बढाइएको उनले बताए । सुपथ मूल्य पसलमा चिनी, नुुन, तेल, पीठो, मैदा, चामल लगायतका सामानहरू पाइने जनाइएको छ ।
कञ्चनपुर: मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने संभावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडी बढाएका छन । बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण यही असोज १२ गते सम्म सामान्यदेखि भारी वर्षा हुने अनुमान सहितको सूचना जारी गरिए पछि स्थानीय तहहरुले नदी तटीय क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण,विपदमा खटिने विषयगत शाखाहरु,स्थानिय विपद व्यवस्थापन समिति, वडा कार्यालय, वडा व्यवस्थापन समिति, सामुदायिक विपद व्यवस्थापन समितिलाई सतर्क अवस्थामा राखेको छ । वर्षाले विशेष गरी कृषिमा बढी प्रभाव पार्ने भएकाले सो अवधिमा धानबाली नकाट्नका लागि जानकारी दिन नगर प्रहरीलाई परिचालन गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले बताउनु भयो । “किसानको धानबालीमा वर्षाले प्रभाव पार्ने भएकाले सचेत गर्ने कार्य गरि रहेका छौं” उहाँले भन्नुभयो, “यो संगै थारु बाहुल्य क्षेत्रमा नदीनाला र पानी जम्मा हुने ठाउमा माछा मार्ने कार्य गरिने हुदा वर्षा भैरहेका बेला चटयाङ पर्ने संभावना हुने भएकाले त्यस बारे पनि सचेत पार्दै छौं ।” बाढी, डुवान र कटानको जोखिम देखिएमा सम्बन्धीत वडा कार्यालय, सुरक्षा निकायमा खवर गर्नका लागि आग्रह गरिएको उहाँले उल्लेख गर्नु भयो । भारी वर्षा भएमा बस्ती नजिक बाढी र डुवानको जोखिमलाई मध्यनजर गरी वडा कार्यालय र सम्बन्धीत सरोकारवालाहरुको समन्वयमा सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाईएको उहाँको भनाइ रहेको छ । विपद्को समयमा जेष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, गर्भवती,बालबालिकाको विशेष ध्यान राख्नका लागि सर्वसाधारणमा आग्रह गरिएको अधिकृत बिष्टले बताउनु भयो । तत्काल खोज, उद्धार, प्राथमिक उपचार र राहतका लागि स्थानीय तहले आपतकालीन केन्द्रका सम्पर्क व्यक्ति र सुरक्षा निकायका सम्पर्क फोन नम्बरहरु जारी गरेका छन । बाढीजन्य जोखिमलाई मध्यनजर गरी भीमदत्त नगरपालिकाले नगर प्रहरी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनका लागि आग्रह गर्ने कार्य शुरुआत गरेको छ ।

