राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्र्तगत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाइले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । कागबेनी देखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ । जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको एक सय १० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ । पच्चीस किलोमिटर लामो चराङ–छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ । यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्मको सडक गाभ्रेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताउनुुभयो ।
पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट स्पोर्टस प्रालिले पहिलो संस्करणको एमेच्योर फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आगामी कात्तिक १४ र १५ गते प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको प्रतिनिधि राहुल गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले नगद रु ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता समूहलाई नगद रु २७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गरिने उनले बताए । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर र एउटा समूहलाई अनुशासित टिमको रुपमा ट्रफी र मेडलसहित पुरस्कृत गरिनेछ । प्रतियोगितामा सहभागिता जनाउनका लागि ४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । टिम दर्ता फोनबाट पनि गर्न सकिने (९८५६०१८२५०, ९८०६५१४८८०) आयोजकले जनाएको छ ।
म्याग्दी: कास्कीको नयाँ पुुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएको छ । तेह्र वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–सरौ–ताङले–भूमरकोट–फलाते–डाँडाकेटेरो–थामको डिल–हम्पाल–जलजला–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएको हो । पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले आधारभूत स्तरको पूर्वाधार तयार भएको पदमार्ग ४५औँ विश्व पर्यटन दिवसका अवसरमा बिहीबारदेखि सञ्चालन गरेको जानकारी दिनुभयो । “पदमार्ग, आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।” विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिविस, सङ्घीयतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको रु एक करोड ६० लाख सहयोगमा नयाँ पुुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको खड्काले बताउनुभयो । ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । साथै पदमार्गमा १० वटा विश्रामस्थल निर्माण भएको छ । हम्पालबाट जलजला जोड्ने पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालुु आर्थिक वर्ष २०८१÷८२ मा रु ३० लाख बजेट विनियोजन गरेको प्रदेशसभा सदस्य भक्त कुँवरले बताउनुभयो । जलजला समुद्री सतहबाट तीन हजार छ सय १० मिटरको उचाइमा रहेको मोहेरेडाँडाबाट घोडेपानी जोड्ने पदमार्ग करिब १५ वर्षदेखि सञ्चालनमा छ । यो पदमार्गले पर्वतको मोदी गाउँपालिकाको १, २, ३ र ५ नम्बर, जलजला गाउँपालिकाको ५ र ६ तथा म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडालाई समेटेको छ । हिमाल, पहाडी भूगोल अवलोकन गर्दैै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्लेमा घरबास (होमस्टे) सञ्चालन भएको छ । मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्माण समुदायको विबधितायुुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो । दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ । पदमार्गमा चिया पसल र रेष्टुन्ट तथा सामुदायिक लज सञ्चालन भएका छन् । पूर्वजानकारी दिइ आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुुमाउने व्यवस्था मिलाउँदै आएको छ । पदमार्ग प्रवर्द्धनका लागि गण्डकी प्रदेशस्तरीय ४५औँ विश्व पर्यटन दिवसका अवसरमा गन्तव्य प्रवर्द्धन कार्यक्रम आयोजना भएको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोग, मोदी गाउँपालिका र पोखरा पर्यटन परिषद्को सहकार्यमा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले कार्यक्रमको आयोजना गरेको हो । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, प्रदेशसभा सदस्य भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी पौडेल सहभागी कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता छ । नयाँपुुलबाट लौसीबोट हुँदै पदयात्रा गरेर बिहीबार साँझ भुुकको नमूना सामुदायिक होमस्टेमा बसेको टोलीले शुक्रबार भुकबाट डाँडाकटेरे–फलामे–भुमरकोट–ताङले हुँदै सरौसम्म पदयात्रा गर्ने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो । अन्नपूूर्ण चक्रीय पदमार्गको महत्त्वपूर्ण स्थल नयाँपुल र घोडेपानीलाई जोड्ने यो पदमार्गमा पर्यटक भित्र्याउनका लागि पदयात्रा आयोजना गरेको उहाँले बताउनुभयो । सडकका कारण पुराना पदमार्ग विस्थापित हुँदा पोखरामा आउने पर्यटकको बसाइ छोटिएकाले नयाँ गन्तव्यको पहिचान र प्रर्वद्धनमा टानले जोड दिएको अध्यक्ष आचार्यले बताउनुभयो । पोखराबाट नजिक पर्ने भएकाले पनि यो क्षेत्रमा पर्यटन विकासको सम्भावना छ । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री बस्यालले पर्यटनको विकास गरी ग्रामीण क्षेत्रको बसाइसराइ रोक्न सकिने बताउनुभयो । घरबास र पर्यटन व्यवसाय सञ्चालन गरी विदेशिन लागेका युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउन सकिने तथा पर्यटक आगमन र बसाइ लम्ब्याएर राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने उहाँको भनाइ छ । प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानी नजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुण्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषणा गरेको छ । सडकका कारण छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहायक गन्तव्य पहिचान गरेर पर्यटकको बसाइ लम्ब्याउन सरकार तथा निजी क्षेत्रले सक्रियता देखाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा चिनिएको घोडेपानीमा यसअघि म्याग्दीको पोखरेबगर–घार–शिख–चित्रे, कास्कीको नयाँपुल–उल्लेरी, म्याग्दीको नागी–जलजला–मोहरे, कास्कीको घान्द्रुक–टाडापानी हुँदै गइन्थ्यो ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताउनुभएको छ । राष्ट्रसङ्घीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको सङ्घीय संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक पारित गरेर पीडितमैत्री कानून बनाएको उल्लेख गर्नुभयो । फोरमले यस वर्ष सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्रको पुनःमूल्याङ्कनः समृद्धि र प्राथमिकता भन्ने शीर्षकमा बैठक आयोजना गरेको थियो । मन्त्री राणाले भन्नुभयो, “अहिलेको विश्वमा शान्ति निर्माणको प्रक्रिया एक जटिल विषय बन्दै गएको छ, दिगो र समाजको स्थायित्वका लागि द्वन्द्वको वास्तविक कारण पहिचान हुनुपर्दछ ।” आगामी वर्ष सन् २०२५ को शान्ति निर्माण प्रक्रियाको अवधारणालाई पुनःमूल्याङ्कन गरेर यसलाई दिगो र सक्षम तरिकाले अगाडि बढाउन जरुरी रहेको उहाँको भनाइ थियो । मन्त्री राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोस जस्ता निकायसँग साझेदारी गरेर अगाडि बढनुपर्नेमा सुझाव दिनुभयो । नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री राणाले सकारात्मक सोच, व्यवहार र संस्कृतिको मूल्य मान्यताका आधारमा शान्ति पूर्ण र हिंसारहित समाज निर्माण ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पोखरा: गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना भएपछि आवधिक योजना बनाएर काम अघि बढाउने सुनाएका छन् । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ मा गरेका कामको समीक्षा गोष्ठीको समापनमा बोल्दै बिहीबार मन्त्री पाठकले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने बताए । उनले आवधिक योजना बनाउँदा प्रदेशको बजेट हेरेर तयार गर्ने र ठूलो सपना नदेख्ने बताए । ‘म मन्त्री भएको २३ दिन भयो । अबको एक हप्ताभित्र कार्ययोजना तयार हुन्छ,’ मन्त्री पाठकले भने, ‘ठूलो सपना नदेखी जे प्रदेश सरकारसँग बजेट छ, जहाँ बजेट विनियोजन भएको छ त्यसलाई पूर्णत खर्च गर्ने गरेर, सदुपयोग गर्ने गरेर अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका साथ काम गर्ने सोचाइ बनाएको छु ।’ स्वास्थ्य मन्त्रालयले छुट्टै अस्तित्व पाएकाले आत्मबल, इच्छाशक्तिसहित काममा लाग्न उनले स्वास्थ्यकर्मीलाई आग्रह गरे । अस्पताल, स्वास्थ्य कार्यालय, प्राकृतिक चिकित्सालय, आयुर्वेदसहित स्वास्थ्य क्षेत्रमा समस्याको फेहरिस्त लामो रहेकाले त्यसलाई सम्बोधन गर्न सामूहिक सहकार्य आवश्यक रहेको मन्त्री पाठकले बताए । जनतासँग जोडिएर काम गर्ने स्वास्थ्यकर्मीको मनोबलमा गिरावट आउने कुनै काम नगर्ने मन्त्री पाठकले प्रतिबद्धता जनाए । ‘स्वास्थ्य स्वयंसेविका जसले जनताको स्वास्थ्यको पहिलो सूचना लिएर स्वास्थ्य केन्द्रमा जान अभिप्रेरित गर्छ त्यस तहलाई हामीले विशेष ध्यान दिनुपर्ने छ भन्ने मलाई लाग्छ,’ उनले भने । आयुर्वेद चिकित्सा, आयुर्वेद उपचार पद्धतिलाई पनि प्राथमिकताका साथ अघि बढाउने मन्त्री पाठकको भनाइ थियो । भौतिक सेवासुविधा पाउन नसके त्यसले परिणाम पनि दिन नसक्ने मन्त्री पाठकले बताए । ‘हाम्रा कति कार्यालयमा पुराना गाडी चढ्नुभएको छ । थोत्रा मोटरसाइकल चढ्नुभएको छ । आयुर्वेद संस्था हेरेँ । त्यहाँ एउटा पनि गाडी छैन । २०–३० वर्ष पुरानो भएपनि हुनुपर्ने त्यो छैन,’ उनले थपे, ‘एक–दुई ठाउँमा अत्यन्तै थोत्रा मोटरसाइकल छन् । आज मर्मत गरेर चलायो भोलि फेरि मर्मत गर्नुपर्ने खालको साधनको अवस्था छ । जनताको घर पुग्न, औषधि ठाउँमा पु¥याउन, जनशक्ति ठाउँमा पु¥याउन गाडीको व्यवस्था हुन आवश्यक छ ।’ मन्त्री पाठकले स्वास्थ्यकर्मी आफ्ना सिपाही भएको र उनीहरूको सक्रियता नभई लडाइँ स्वास्थ्य क्षेत्रका समस्यालाई नजितिने जिकिर गरे । जनतासँग जोडिने भएकाले स्वास्थ्य कार्यालयको नाम फेरेर जनस्वास्थ्य कार्यालय राख्ने योजना रहेको उनले सुनाए । तीन दिनसम्म चलेको गोष्ठीमा मन्त्रालयअन्तर्गतका कार्यालय, अस्पताल, आयुर्वेद केन्द्रलगायतका प्रगति, आगामी कार्यदिशा, समस्याबारे छलफल, स्वास्थ्य सेवासँग सम्बन्धित विषयमा प्यानल बहस, विभिन्न रोगको अवस्था र नियन्त्रणका उपायलगायत विषयमा छलफल भएको थियो । गोष्ठीको अन्तिम दिन बिहीबार गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय, आयुर्वेद केन्द्र, पालिका, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।
काठमाडौं: आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिनेछ । दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार दिवसलाई भव्य र सभ्य रूपमा मनाउनका लागि तीन तहका सरकारको सहकार्यमा निजी क्षेत्रका पर्यटन व्यवसायी, गैरसरकारी संस्था र समुदायको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । मूल समारोह समितिले राष्ट्रिय नाचघरमा आयोजना गर्ने औपचारिक समारोहमा विभिन्न मन्त्री, सरकारी उच्च अधिकारी, विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहनेछ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिध्यतामा कार्यक्रम हुनेछ । पर्यटनसम्बद्ध विशिष्ट व्यक्तित्वहरूबाट शुभकामना आदनप्रदान गरिनेछ । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने कार्यक्रम छ । यस्तै बिहान ठमेलमा प्रभातफेरी गरिनेछ । उक्त कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ । दिवसकै सन्दर्भमा प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा आज ‘ठमेल नखः’ महोत्सव हुँदैछ । ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । ठमेल पर्यटन विकास परिषद् र दी काठमाडौँ पोष्टको सहकार्यमा हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्धितीय संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताउनुभयो । पर्यटन दिवसलाई लक्षित गरेर ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’को दोस्रो संस्करण काठमाडौँमा बिहीबार सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो । विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन ९डब्लुटीओ० सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । दिवसको उद्देश्य अन्तर्राष्ट्रिय समुदायको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मूल्यहरूलाई प्रभाव पार्न पर्यटनको महत्वबारे चेतना जगाउनु रहेको जानकार बताउँछन् ।
काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा जनाइएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ । यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरी चल्ने सम्भावना छ । मौसम बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका तराई भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने बाढी, पहिरो र डुबानको जोखिमका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन ती भेगका सर्वसाधारणमा विभागले अनुरोध गरेको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र बिक्रीदर ९९ रुपैयाँ ६५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ४० पैसा र चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा छ । साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा कायम छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३ रुपैयाँ २४ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९७ पैसा र बिक्रीदर २० रुपैयाँ ०६ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २४ पैसा कायम छ । आजका लागि कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५९ पैसा तथा बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ २६ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ८६ पैसा कायम भएको छ । खुला बजारमा विदेशी मुद्राको विनिमयदर फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५ः३० बजे महासभामा सम्बोधन गर्नुभएको हो । उहाँले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गर्नुभयो । सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराउनुभयो । “दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ । पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकार्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ ।” इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताउनुभयो । उहाँले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग गर्नुभयो । महासभामा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्छ ।

