कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

तनहुँ:    तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका घरलाई क्षतिपूर्ति वितरण गरिने भएको छ ।       निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको चरण–१ अन्तर्गत संरचना निर्माणका लागि विस्फोट गर्दा सो आसपासका घर तथा भौतिक संरचनामा पुगेको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति वितरण गर्न लागिएको हो ।       क्षतिको असर र मूल्याङ्कन गरी क्षतिपूर्ति रकम सिफारिस गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको संयोजकत्वमा गठित उपसमितिको बैठक सम्पन्न भएसँगै सङ्कलन भएका विवरणअनुसार मूल्याङ्कन थालिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।       बैठकमा निर्माणका कारण ऋषिङ गाउँपालिका–१ का ९८ परिवार र व्यास नगरपालिका–५ बेतेनीका २० गरी ११८ परिवारका घर तथा संरचनाको मूल्याङ्कन गरी तयार गरिएको प्रतिवेदनमाथि छलफल गरिएको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रुप दिई क्षतिपूर्ति निर्धारण समितिसमक्ष पेस गर्ने निर्णय भएको छ ।”      यसैबीच, आयोजनाको बाँध निर्माणस्थल भन्दा माथिल्लो तटीय क्षेत्रमा पर्ने ऋषिङ–१ लोक्माका बासिन्दासँग परामर्श बैठक गरिएको छ । लोक्मावासीलाई दमौली क्षेत्रमा आवतजावत गर्न सहजीकरण गर्ने उद्देश्यले गरिएको परामर्श बैठकमा बाँध निर्माणस्थल क्षेत्रबाट सुरक्षित रुपमा आवतजावत गर्न विभिन्न विकल्पमा छलफल गरिएको भण्डारीले जानकारी दिनुभयो ।       उहाँले भन्नुभयो, “दैनिक रुपमा आवतजावतका लागि स्थानीयवासीले बाँध निर्माणस्थलको बायाँतर्फ व्यवस्था गरिएको सटल ट्रकको प्रयोग गर्ने सहमति भएको छ । निर्माण व्यवसायी सोङ्दा कालिकाले सटल ट्रकको व्यवस्था गरेर सुरक्षा मापदण्डहरु पूर्ण रुपमा पालना गरी स्थानीयलाई समूहगत रुपमा हरेक दिन बिहान ८ बजे, ११ बजे, दिउँसो १ः३० बजे, ३ बजे, साँझ ५ बजे र साँझ ७ बजे आवतजावत गराउने सहमति भएको छ ।”

चितवन:    राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताउनुभएको छ ।      बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गरिब तथा असहाय वर्गलाई प्राथकितामा राखेर सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थर्कीसँग अनुरोध गर्नुभयो ।        “स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको  विदितै छ । यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो”, राष्ट्रपति पौडेलले भन्नुभयो,  “दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवं प्रभावकारी नवीनतम् प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिने मैले विश्वास लिएको छु ।”        आवश्यक पूर्वाधार र अत्याधुनिक प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र (हब)का रुपमा विकास हुन लागेकामा खुसी व्यक्त गर्दै उहाँले अब उपचारका लागि यसअघिजस्तो राजधानी काठमाडौँ नै धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।        “क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न तथा अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विशेष ध्यान पु¥याउनु आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।         क्यान्सर रोगबाट ग्रसित प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले विदेशमा गएर उपचार गर्नुपरेकाले  स्वदेशमै यससम्बन्धी रोगको उपचार गर्ने सुविधा सम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गर्नुभएको स्मरण गर्दै उहाँले २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रुपमा यो अस्पताल निर्माण भएको बताउनुभयो ।        राष्ट्रपति पौडेलले भरतपुरस्तिथ राष्ट्रियस्तरको अस्पताल क्यान्सर रोगका बिरामीको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणका क्षेत्रमा पनि अगाडि बढेकामा खुसी व्यक्त गर्दै क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याएर विशिष्टता अभिवृद्धि हासिल गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।        चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो ।  महामानव बिपी कोइरालाको स्मृतिमा  २०४८ सालमा तत्कालीन प्रधानमन्त्री जिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच सम्झौता भई यो अस्पताल स्थापना भएको हो । स्थापनाकालमा  १०० शय्या क्षमतासहितको क्यान्सर अस्पताल अहिले ५०० शय्यामा विस्तार भएको छ ।        सो अस्पतालले गत आव २०८०/८१ मा  छ हजार ७९५ क्यान्सरका बिरामीसहित एक लाख ८८ हजार ५१४ जनाको उपचार गरेको जनाएको छ ।

खोटाङ:    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा ६० फिट अग्लो हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।  पाँच वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ १९ गते शिलान्यास गर्नुभएको गुम्बा निर्माणको काम अहिले अलपत्र अवस्थामा छ ।       कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको गुम्बाको काम उपभोक्ता समितिमार्फत थालिएको थियो । करिब रु २१ करोड लगानीमा निर्माण सुरु गरिएको गुम्बाको अहिलेसम्म जगमात्र ठडिएको छ ।  वर्ष दिनअघि (विसं २०८० भित्र) नै निर्माण सम्पन्न भएर सञ्चालनमा आउनुपर्ने नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बाङ्गिन थालेको छ । निर्माणाधीन अवस्थामै अलपत्र परेको गुम्बाको काम पुनः अगाडि बढ्ने कुनै छाँटकाँट छैन ।       आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाले उपलब्ध गराएको रु १५ लाख बजेटमा फाउन्डेसनको काम भएको र आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशको रु ९९ लाख बजेटबाट ग्राउन्ड फ्लोर र पिलरको डन्डी ठड्याइएको थियो ।  प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत रु एक करोडभन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले रु ९९ लाखको सम्झौता गरिएको स्थानीय बासिन्दाको गुनासो छ ।      प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनी उपभोक्ता समितिले फरफारक गरे पनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले प्रदेशमा गुनासो गरेका थिए । गुम्बा निर्माणको काम सम्पन्न गर्नका लागि विसं २०७४ वैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।       नुनथलामा निर्माणाधीन गुम्बा योजनाका काममा अनियमितता भएपछि अलपत्र परेको वडाध्यक्ष भगेश्वर राईले बताउनुभयो ।  “प्रदेश र स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण योजनाको काम सुरु भएको गरिएको थियो, निर्माण उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द ग¥यो”, उहाँले भन्नुभयो, “जगमात्र ठड्याइएको योजनाको काम अहिले पूर्णरुपमा बन्द छ, अलपत्र यो योजना पूरा गर्नका लागि पहल गर्न वडामा आएको बजेटले सम्भावना छैन, थप बजेट माग्नका लागि पनि अनियमितता भएको विषयले बाटो बन्द भएको छ ।”      गुम्बा निर्माण योजनाका लागि पहिलो चरणमा प्रदेश सरकारबाट आएको रकम पूरा काम नगरी फरफारक गरेर हिँडेपछि निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङ सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । गुम्बा निर्माणमा आएको राज्यकोषको काम नै नगरी फरफारक गरेर योजना नै अलपत्र पार्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको माग छ ।       उपभोक्ता समितिका अध्यक्ष तामाङले भने प्रदेश सरकारबाट खटिएका इन्जिनियरले गरेको लागत अनुमानअनुसार नै आफूहरुले गुम्बा निर्माणको काम गरेको दाबी गर्नुभएको छ ।  “तोकिएको काम हामीले सम्पन्न गरेका छौँ, कसले के भन्छ, त्यो हामीलाई सरोकार भएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय रकम अभावका कारण निर्माणाधीन गुम्बाको काम रोकिएको छ, सरकारबाट बजेट प्राप्त नभएको खण्डमा चन्दा सङ्कलन गरेर भए पनि निर्माण सम्पन्न गर्ने योजनामा छौँ ।”      निर्माणको चरणमै उपभोक्ता समितिका कारण गुम्बा अलपत्र बनेपछि स्थानीय बासिन्दासमेत आक्रोशित बनेका छन् । निर्माणाधीन गुम्बा अलपत्र पार्ने व्यक्तिलाई सम्बन्धित निकायले समेत कारबाहीको दायरामा ल्याउन चासो नदिएको उनीहरुको आरोप छ ।  बौद्ध धर्मावलम्बीको जन्म तथा मृत्यु संस्कार गर्न, विवाह गर्न र बौद्ध शिक्षा दिने प्रयोजनका लागि गुम्बा निर्माण सुरु गरिएको उपभोक्ता समितिले जनाएको थियो । गुम्बा निर्माणका लागि गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मेनुका तामाङ (राई)ले एक रोपनी सात आना एक पैसा तीन दाम जग्गा निःशुल्क उपलव्ध गराउनुभएको छ ।       बहुउद्देश्यसहित निर्माण सुरु गरिएको सुविधा सम्पन्न गुम्बामा बौद्ध धर्मसँग सम्बन्धित १०८ मूर्ति राख्ने योजना बनाइएको थियो । यस्तै, बौद्ध धर्ममा माटोको मूर्ति पवित्र हुने धार्मिक मान्यताअनुसार गुम्बामा माटोका १०० तथा पित्तल र ढलौटका अन्य मूर्ति राखिने बताइएको थियो ।  पर्यटकीयस्थल नुनथलास्थित संसारीडाँडामा निर्माण हुने गुम्बाबाट सर्वोच्च शिखर सगरमाथासहितका उच्च हिमशृङ्खलाका साथै तराईका समथर भू–भागको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । नुनथलामा गुम्बा बनेपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको थियो ।

काठमाडौं:    अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।      तोलामा रु तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।  बुधबार प्रतितोला रु एक लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६० हजार ७०० निर्धारण भएको छ ।      त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ । 

मुस्ताङ:    मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५०  च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको छ ।       “वर्षमा ४०  जति च्याङग्रा बिक्री हुन्छ,” उहाँले भन्नुभयो “घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिनुभएको हो ।       याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङग्रा पालेका छन् । दशै तिहारमा पोखरा, काठमाडौ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ ।       सडक यातायात र बजारको सुबिधासँगै च्याङग्रा पाल्ने पेशा व्यवसायिक बन्न थालेको लोघेकर दामोदरकुण्ड –४ घाराका पेमा छिरिङ गुरुङले बताउनुभयो ।  “पहिले दशै तिहारका लागि एक महिना पहिलेनै च्याङग्रा हिडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँबस्ती र पोखरामा लैजाने गरिन्थ्यो,” उहाँले भन्नुभयो “अहिले गाउँबाटै प्रतिगोटा रु ३३ देखि ३५ हजारमा च्याङग्रा बिक्री भइरहेको छ ।”      तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ । बर्खामा समुन्द्रि सतहदेखि छ हजार मिटर उचाईको हिमालको फेदमा पुग्ने च्याङग्रा गोठहरु असोज लागेपछि बेशीतर्फ झार्ने गर्छन् ।       तीन÷चार वटा घरले वार्षिक रुपमा रु। एक लाख पचास हजार ज्याला दिएर च्याङग्रा हेर्न गोठाला राखेका छन् । स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरु च्याङग्रा गोठाला बस्ने गर्छन् ।       भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मुस्ताङमा १२ वटा मिश्रित ठूला च्याङग्रा फार्म छन् । २० देखि ५० वटाको संख्यामा च्याङग्रा पाल्ने कृषकहरुको संख्या धेरै रहेको केन्द्रका प्रमुख पशु चिकित्सक डा लालमणी अर्यालले बताउनुभयो ।       उहाँका अनुसार मुस्ताङमा हाल ५० हजार च्याङग्रा पालिएको छ । थासाङ बाहेक, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा व्यवसायिक च्याङग्रापालन भएको छ । यसवर्षको दशै तिहारका लागि मुस्ताङबाट च्याङग्रा निकासी हुन थालेको छ ।       बुधबारसम्म तीन सय ९७  च्याङग्रा निकासी गर्न स्वास्थ्य परीक्षण गरि सिफारिस दिएको केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । स्वास्थ्य परिक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ ।       स्थानीय व्यापारीले गाउँका किसानहरुबाट खरिद गरेर जोमसोममा च्याङग्रा ल्याउन थालेका छन् । देशका विभिन्न ठाउँका ब्यापारीहरुले जोमसोममा खरिद गरेका च्याङग्रा हिडाएर म्याग्दीको बेनीसम्म ल्याउँछन् ।       बेनी देखि ट्रकमा राखेर देशका विभिन्न बजारमा च्याङग्रा लैजाने गर्छन् । मुस्ताङबाट गत वर्ष रु। २० करोड भन्दा बढी मूल्य बराबरको सात हजार च्याङग्रा निकासी भएको थियो । यसपालीको दशै तिहारका लागि १० देखि ११ हजार च्याङग्रा निकासी हुने अनुमान गरिएको केन्द्रका प्रमुख अर्यालले बताउनुभयो । मुगु र डोल्पाको च्याङग्रा पनि मुस्ताङ हुदै बजार पठाउने गर्छन् ।       भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा जोन र स्थानीय तहका पशु सेवा शाखाहरुले मुस्ताङमा च्याङग्रापालन विस्तार र प्रर्वद्धन सम्बन्धी कार्यक्रममा जोड दिएका छन् ।       पिपिआर रोग विरुद्धको निःशुल्क खोप लगाउने ब्यवस्था मिलाएको भेटेरीनरी अस्पतालले च्याङग्राको नश्ल सुधार गर्न स्रोत केन्द्र स्थापना गर्ने, घुम्ती गोठ सुधार र घुम्ति पशु स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख अर्यालले बताउनुभयो ।       प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा जोन कार्यक्रमले परम्परागत रुपमा हुदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यवसायिक बनाई गुणस्तरीय मासु, ऊन र पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चार वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विभिन्न गतिबिधी गर्दै आएको छ ।       च्याङग्राको पाठापाठी उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्नुका साथै च्याङग्रालाई बन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको परियोजनाका प्रमुख नेत्र भट्टले बताउनुभयो ।  हिमचितुवाको आक्रमणबाट च्याङग्रा मर्ने समस्या र हिउँदको समयमा आहराको ब्यवस्थापन मुस्ताङको च्याङग्रापालनमा चुनौतिका रुपमा देखिएको किसान तथा कृषि प्राविधिकहरुले बताएका छन् ।

दाङ:    दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ ।  गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत्साहनका लािग पुरस्कृत गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।  धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारिएको र यसरी प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १२ हजार, रु १० हजार र रु आठ हजार पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।  “कार्यक्रम कार्यान्वयका लागि बुधबार नै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वानसमेत गरिसकेका छौँ । यसरी पन्ध्र दिनभित्र आवेदन दिइ मापदण्डबमोजिम छनोट भएकालाई पुरस्कृत गर्छौं”, अध्यक्ष विष्टले भन्नुभयो । कृषि शाखा प्रमुख बरसाती गडरियाकानुसार पुरस्कृत हुनका लागि कम्तीमा पाँच कठ्ठामा धानखेती गरेको हुनुपर्ने, खेती गरेको कित्ता नम्बर खुल्ने गरी १० वर्गमिटर नमूना लिनका लागि राख्नुपर्ने, काट्ने, दाउने तथा झार्ने समयमा गाउँपालिकाको कृषि विकास शाखालाई खबर गरी शाखाको रोहबरमा धानको तौल लिइने छ । आवेदनका लागि तोकिए बमोजिमको निवेदन, आवश्यक विवरण, आधिकारीक व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र जग्गाको लालपूर्जा वा भाडाको जग्गा भए सम्झौता पत्रको प्रतिलिपी र विवाह दर्ताको हकमा वडाको सिफारिस आवश्यक पर्ने जनाइएको छ ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन  (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार आजदेखि नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिनसम्म सञ्चालन हुने सम्मेलनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।  सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी छन् ।सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुने अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

सर्लाही:    जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।  बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमान्ले गोली हानी हत्या गरेका छन् । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।  घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् । 

गलकोट:     नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ ।  सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो।  ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारी हेलिकप्टर चाटर्ड गरेर आउने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्गमार्फत यहाँ भ्रमण तथा अवलोकनमा आउने गरेका छन् । यसैलाई लक्षित गरी पर्यटन विभागले चालु आर्थिक वर्षमा सूचना केन्द्र निर्माण गर्न लागेको जनाइएको छ ।  ढोरपाटन नगरपालिका उप्रमुख धनबहादुर कायतले पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएपछि पर्यटन विभागले यहाँ पर्यटन सूचना केन्द्र निर्माण गर्न लागेको जानकारी दिनुभयो । नगरपालिकाको वडा नं ९ स्थित पाखाथरमा आकर्षक पर्यटकीय केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरिएको उहाँले बताउनुभयो ।   कायातकानुसार पहिलो चरणमा रु चार करोड लागतमा पर्यटन सूचना केन्द्र भवन निर्माणका लागि श्री डोलेश्वर महादेव निर्माण प्रालिसँग सम्झौता भएको छ । पूर्वाधार निर्माणसँगै पार्क, सङ्ग्रहालय तथा पर्यटकका लागि आवश्यक पर्ने अन्य जानकारी दिन उक्त केन्द्रले निर्माण गर्न लागिएको हो ।  “ढोरपाटनमा पछिल्लो समय १५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन्, जसमध्ये पर्याप्त सूचना र पूर्वाधारको अभावमा पर्यटक अलमल भएको हामीले महसुस गरेका थियौँ”, उपप्रमुख कायतले, “पर्यटन विभागसँग गरिएको समन्वयले यहाँ सुविधासम्पन्न पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचना केन्द्रसँगै व्यवस्थित पार्क बनाइनेछ, सङ्ग्रहालयसमेत बनाइनेछ ।”  चालु आर्थिक वर्षमा रु चार करोड लागतमा उक्त पर्यटकीय पूर्वाधार केन्द्र निर्माण गरिने छ । पर्यटकीय पूर्वाधारसहित सूचना केन्द्र्र निर्माणका लागि जग्गाको व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नगरपालिकाले बनाएको थियो ।  यस कार्यमा सङ्घीय सांसद् देविप्रकाश भट्टचनले यहाँ भित्रिएका पर्यटकलाई धेरैभन्दा धेरै ठाउँमा पु¥याउन, यहाँको पहिचान, कला तथा संस्कृतिको विषयमा आवश्यक जानकारी दिन नगरपालिकाको मागअनुसार सूचना केन्द्र निर्माण योजना अगाडि बढेको बताउनुभयो ।  नेपालकै एक मात्र सिकार आरक्ष भएकाले महङ्गो शुल्क तिरेर नाउर र झारलको सिकार गर्न यहाँ पर्यटक आउने गरेकाले उहाँहरूको सहजताका लागि सूचना केन्द्र उपयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  ढोरपाटनमा आर्थिक वर्ष २०८०/८१ मा १५ हजार पाँच सय ७३ जना आन्तरिक र बाह्य पर्यटक भित्रिएका र त्यसबाट रु १९ लाख राजश्व सङ्कलन भएको आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पङ्गेनीले जानकारी दिनुभयो ।  उहाँले पर्यटकलाई ढोरपाटन प्रवेशद्वार देउरालीमा केही जानकारी दिने गरिए पनि सूचना केन्द्र स्थापना भएमा थप प्रभावकारी हुने बताउनुभयो ।