काठमाडौं: जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ । विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ । सो प्रणालीको प्रभावका कारण आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ । जारी विशेष बुलेटिनमा भनिएको छ, ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’ मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको छ । यस महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । आइतबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जनाइएको छ ।
पोखरा: पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको हो । टोलीले नेपालको मधेश प्रदेश तथा कोशी प्रदेशका मुख्य सहरहरुमा गण्डकी प्रदेशको पर्यटकिय गन्तव्यहरु प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रमहरु गर्ने छ । शनिबारबाट शुरु भएको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मंसिर २८ गते सम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले जानकारी दिए । पर्यटन व्यवसायीहरुको टोलीले मधेश प्रदेशको जनकपुरमा, कोशी प्रदेशको इलाम र विराटनगरमा कार्यक्रम गरी प्रवर्द्धन गरिने नाट्टा गण्डकी पुर्व अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । उनले त्यहाँ स्थित सरकार, स्थानिय निकाय, पर्यटन व्यवसायी, उद्योग व्यवसायी र पत्रकार संग अन्तरक्रिया गरी पोखरा र गण्डकी प्रदेश भ्रमणको निम्तो दिनेछ । उताबाट मात्रै नभै पोखराबाट पनि पर्यटक पठाउनका लागि छलफल हुने अधिकारीले बताए । नाट्टाले गण्डकी प्रदेश र पोखराको पर्यटन प्रवर्द्धनका लागि बेला बेलामा स्वदेश र विदेशमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । छलफलम भारतका पर्यटन व्यवसायीहरु पनि छलफलमा सहभागी हुने नाट्टा गण्डकीका महासचिब चेतबहादुर कार्कीले बताए । उनीहरु विदाइ गर्दै गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिब कुमानसिंह गुरुङले नेपालको पर्यटनको राजधानी शहर पोखरा र गण्डकी प्रदेश सबै मौसममा भ्रमणको लागी उपयुक्त हुने बताए । उनले प्रवद्र्धनका कार्यक्रमले दुबै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सहयोगी हुने बताए । विगतमा संस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि प्रवर्द्धनात्मक अवलोकन भ्रमण लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको कार्यक्रम संयोजक संगिता पौडेलले बताइन् । प्रर्वद्धनका कार्यक्रमले देश भित्रै आर्थिक गतिविधि बढाउने, स्थानिय संस्कृति, परम्पराको पहिचान गर्न एवं आन्तरिक पर्यटनलाई टेवा पुग्ने विश्वास लिएको बताइन् । भ्रमण टोलीमा ३० जना सहभागी रहेका छन् ।
पोखरा: पोखरा रङ्गशालामा सञ्चालन भइरहेको आइटिएफ जे–३० टेनिस प्रतियोगिताअन्तर्गत आज सम्पन्न सर्किट–१ को खेलमा एकलमा पुरुषतर्फ चीनका हाइनुओ गुओ र महिलातर्फ भारतकी माहिका खन्नाले उपाधि जितेकी छन् । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही मङ्सिर १७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा पुरुषतर्फ चीनका हाइनुओले भारतका आश्रव्य मेहेरालाई सोझो सेटमा पराजित गरे । हाइनुओले आश्रव्यलाई खेलमा ६–३ र ६–४ मा पराजित गरेका हुन् । महिलातर्फ भारतकी माहिका खन्नाविरुद्ध नेपाली खेलाडी सुनिरा थापा ‘टाइब्रेकर’ खेलमा पराजित भइन् । पहिलो सेट ६–२ ले माहिकालाई सुम्पिएकी सुनिराले दोस्रो सेट ७–६ र ७–४ ले गुमाउन पुगिन् । ‘पुरुष डबल्स’ फाइनलमा भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतकै आदित्य मोर र प्रकाश सरनलाई ६–२ र ६–१ ले पराजित गरे । ‘महिला डबल्स’ फाइनल खेलमा दिशा बेहरा र अर्जान खोरकिवाला (भारत) ले माहिका खन्ना र एन्जल पटेल ९भारत० लाई ६–३, २–६ र १०–५ ले पराजित गरेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिनुभयो । विजेता खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापालगायतले मेडल वितरण गर्नुभयो । प्रतियोगिताअन्तर्गत आजदेखि नै सर्किट–२ अन्तर्गतका ‘क्वालिफाइङ राउन्ड’का खेलहरू सुरु भएका छन् । सर्किट–२ मा विभिन्न देशका पुरुष २७ र महिला आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिस्टले पाँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् । त्यस्तै, डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३, सेमिफाइनालिष्टले छ र क्वाटर फाइनालिस्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरूको वरियता निर्धाण हुनेछ ।
विराटनगर: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताउनुभएको छ । कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’ को आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सम्झौताअनुसार नै यो सरकार अगाडि बढ्ने स्पष्ट पार्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट महत्त्वपूर्ण उलब्धि हासिल भएको चर्चा गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिनुभयो । नेपालले ऋणको भार बढ्न नदिन विआरआई सम्झौताबाट विभिन्न परियोजनाका लागि चीन सरकारबाट अनुदान पाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एमाले र कांग्रेसको गठबन्धन पूरा समयसम्म चल्छ, कांग्रेसले कुनै पनि अपठ्यारो हुने काम गर्ने छैन ।” ग्रामीण क्षेत्रमा पार्टीलाई बलियो बनाएमा मात्र कांग्रेस बलियो हुने बताउँदै सभापति देउवाले ग्रामीण क्षेत्र तथा स्थानीय तह बलियो भएमा मात्र कांग्रेसले विजय प्राप्त गर्न सक्छ भन्नुभयो । उहाँले सम्मेलनबाट पार्टीले महत्त्वपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टी विधानअनुसार चल्नुपर्ने भन्दै यसका लागि स्थानीय तहसम्म व्यवस्थित प्रशिक्षण अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले भर्खरै सम्पत्र भएको उपनिर्वाचनको परिणाम पार्टीका निम्ति सकारात्मक एवं उत्साह जनक भएको उल्लेख गर्दै संविधान संशोधनको अगुवाई पनि कांग्रेसले नै लिने बताउनुभयो । पार्टीका महामन्त्री गगनकुमार थापाले विधिको शासन स्थापना गर्न एमाले र कांग्रेसबीच समीकरण भएको बताउँदै संविधान संशोधनको लागि समीकरणमा रहेका दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो । कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने धारणा राख्दै पार्टीमा एकता हुनु आवश्यक छ भत्रुभयो । उहाँले पार्टीलाई सुसङ्गठित एवं प्रभावकारी बनाउन नेतादेखि कार्यकर्तासम्म एकता हुनुपर्ने आवश्यकता औँल्याउँदै संविधान र व्यवस्थालाई रक्षा गर्न यो राजनीतिक समीकरण भएको स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान संशोधनको विषयमा व्यापक छलफल हुनुपर्ने जिकिर गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्गठन सुदृढीकरणका लागि सम्मेलन फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाको सभापतित्वमा भएको सम्मेलनमा कांग्रेसका नेताहरू विजयकुमार गच्छदार, डा शशांक कोइराला, डा प्रकाशशरण महत, राजीव कोइराला, अमृत अर्याल, सरिता प्रसाईं, डिला सङ्ग्रौला, गोमा भट्टराईलगायत नेताहरूले सम्मेलन सफलताको सुभकामना व्यक्त गर्नुभएको थियो ।
सुनसरी: सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित टिप्पर गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६४३१ नंको टिप्परले ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका–७ बस्ने ४५ वर्षीय झलु उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयोे । टिप्परको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै ३ः३० बजे मृत्यु भएको उपरीक्षक तिमल्सिनाले बताउनुभयो । उक्त घटनापछि स्थानीयले टिप्पर आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको उहाँले बताउनुभयो । ठक्कर दिने गाडी र चालक इटहरी उपमहानगपालिका–१६ बस्ने ३३ वर्षीय अब्दुल रहमान अन्सरीलाई इलाका प्रहरी कार्यलय देवानगञ्ज सुनसरीले नियन्त्रणमा लिएको छभने घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताउनुभएको छ । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको आज यहाँ दोस्रो अधिवेशनको उद्घाटन गर्दै यहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने धारणा राख्नुभयो । अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताउनुभयो । विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उहाँले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने जिकिर गर्नुभयो । अब विभिन्न धारामा बाँडिएका शक्तिबीचको एकतालाई जोडेर लैजानुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । यसैगरी उहाँले जनयुद्धको तयारीदेखि पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक तथा भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो । अध्यक्ष दाहालले देशभर निराशा छाएको बेला विसं २०७९ मा नौवटा स्थानीय तह र हालै सम्पन्न उपनिर्वाचनमा पहिले पराजित भएका ठाउँमा पनि जितेर नयाँ इतिहास बनाएको बताउनुभयो ।
काठमाडौं: स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्लीतर्फ लगिएको छ । नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उहाँलाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको जानकारी दिनुभयो । श्वास फेर्न समस्या भएपछि गएराति नै उहाँलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उहाँ नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
पोखरा: पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले विविध कार्यक्रम गरी १२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा हस्पिटलले मुटुको निःशुल्क जाँच र रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । यस्तै, २ सय ४१ जनाले निःशुल्क मुटु जाँच गराए । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हर्ट सर्जरी गरेका जगन्नाथ तिमिल्सेनालाई ओपिडी कार्ड हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । उनले पोखरामा चरक अस्पतालले गुणस्तरीय सेवा दिइरहेको बताउँदै अझ प्रगति र स्तरीय सेवा दिन सकोस् भन्ने वार्षिकोत्सवमा शुभकामना व्यक्त गरे । मुटु जाँच शिविरमा मनमोहन कार्डियो भास्कुलर सेन्टर काठमाडौंका मुटुरोग विशेषज्ञद्वय डाक्टर अनील भट्टराई, डाक्टर सूर्य देवकोटा र डाक्टर साहेवकुमार जैसवाल, डाक्टर अभिनव प्रधानले निःशुल्क रुपमा मुटु सम्बन्धी परामर्श दिएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए । उनका अनुसार ‘म जाँच्छु मेरो मुटु’ भन्ने नाराका साथ आयोजित शिविरमा ओपिडी र इसिजी सेवा निशुल्क थियो भने ल्याब जाँचमा ३० प्रतिशत र मुटुको भिडियो एक्सरेमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पोखरेलले बताए । चरक मेमोरियल हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेका अध्यक्ष इन्जिनियर बुद्धिराज अधिकारी, डाक्टर अनिल भट्टराई र डाक्टर सूर्य देवकोटा, अस्पतालका प्रमुख कार्यकारी अधिकृत कमलराज ढकाल लगायतले चरक हस्पिटल र पोखराको स्वास्थ्य क्षेत्रको बारेमा बोलेका थिए ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले विभिन्न खेल गतिविधिहरुलाई पर्यटन सँग जोडेदै समग्र प्रदेशको विकास गरिने बताएका हुन । मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको वताउँदै खेल क्षेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको यहाँको कर्भड हल र रंगशालाको स्तरोन्नतीको लागी प्रदेश सरकारले केही न केही सहयोग गर्ने बताएका थिए । उनले पोखरालाई पर्यटकिय राजधानी घोषणा गरिएको अवस्थामा अन्य क्षेत्रको साथसाथै खेल पर्यटनको माध्यमबाट पनि प्रदेशलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा चिनाउन चाहेको बताउँदै प्रदेशभित्रका खेलकुद एवं पर्यटकिय पुर्वाधारहरु निर्माणमा प्रदेश सरकार लागिरहेको बताए । प्रदेश सरकारले मुस्ताङमा हाई अल्टिच्यूड खेल मैदान निर्माण गरि संसारभरका खेलाडीहरुलाई ल्याएर खेलाउने योजना समेत सुनाए । ओलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टु ओलम्पियन’ कार्यक्रम गरिरहेको र प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरूलाई आर्थिक सहयोग पनि गरिरहेको उनले जानकारी दिएका थिए । उत्त अवसरमा पोखरा महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक अभावका कारण रंगशाला निर्माणले पुर्णता नपाएको बताउँदै यसमा प्रदेश सरकारको ध्यानार्कषण गराएका थिए । यसैविच शनिवार भएको उद्घाटन खेलमा आयोजक आर्दश क्लबले विजयी शुरुवात गरेको छ । आदर्श युवा क्लव र एन्फा तनहुँका विचमा भएको खेलको पहिलो हाफको ४१औं मिनेटमा आदर्श युवा क्लबका सजिन मगरले डि एरियाबाट गरेको पहिलो गोल नै निर्णायक बनेको हो । खेलको दोस्रो हाफमा पनि दुवै समुहको प्रतिष्पर्धात्मक खेलले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो । सुरुवाती देखि नै अग्रता लिएको आदर्श युवा क्लबले खेलको दोस्रो हाफमा पनि रक्षात्मक रुपमा खेलेको थियो भने खेल जित्ने दवावमा रहेको एन्फा तनहुँले निर्धारीत समयमा गोल फर्काउन नसकेपछि आयोजक नै विजयी भएको हो । शनिवार भएको खेलको म्यान अफ दी म्याच आदर्शका सजिन मगर घोषित भएका छन् । उनलाई वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले नगद पाँच हजार पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत आईतबार नेपाल आर्मी सिद्धिदल गण र शसस्त्र प्रहरी बल गण्डकी मुख्यालय विच प्रतिष्पर्धा हुनेछ । निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको छ । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैया र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैया सिल्ड,मेड र प्रमाण पत्र प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाईएको छ ।

