काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

पाल्पा:    नागरिकका गुनासो र अपेक्षा सङ्कलन गर्ने उद्देश्यले रामपुर नगरपालिकाले ‘जनप्रतिनिधिसँग संवाद’ कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले १० वटै वडामा सुझावसहित गुनासो सङ्कलन गर्ने उद्देश्यले अभियानका रूपमा कार्यक्रम अघि बढाएको हो । स्थानीय सरकारका कामबाट नागरिक सन्तुष्ट छन्रछैनन्, नगरका विभिन्न वडा तथा बस्तीमा भएका प्रगति तथा समस्याबारे स्थानीयसँग प्रत्यक्ष सुझाव सङ्कलन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ । जनप्रतिनिधि प्रत्यक्ष रूपमा वडावडामा पुगेर नगरवासीको गुनासो सुन्ने, विकास निर्माणका साथै सामाजिक काम, आवश्यकताका आधारमा बजेट निकासा, पूर्वाधार निर्माणमा भएका प्रगति र ढिलासुस्ती, आगामी कार्यक्रममा महत्वका साथ समावेश गर्नुपर्ने योजनालगायत विषयमा स्थानीयबाट सुझाव लिन अभियान सञ्चालन गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले आवश्यक सुझावसहित गुनासो प्रस्तुत गर्न स्थानीयलाई आग्रह गर्नुभयो । नगरपालिकाले वडावडामा सुरु गरेको उक्त कार्यक्रमले वडाभित्रका साना–ठूला सबै समस्या, विकास निर्माणका प्रगति, तत्काल गर्नुपर्ने कामलगायत विषयमा महत्वपूर्ण सुझाव दिन नागरिकलाई अवसर प्राप्त भएको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टङ्कनाथ पोखरेलले बताउनुभयो ।  “नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी सबैको उपस्थितिमा प्रत्यक्ष सहभागी भएर गाउँका समस्या, नागरिकका गुनासो, अपेक्षाअनुसार स्थानीय सरकारबाट भएका काम, आगामी दिनमा सुधार गर्नुपर्ने योजनालगायत विषयमा रचनात्मक सुझाव सङ्कलन गर्ने माध्यम यो कार्यक्रम बनेको छ”, उहाँले भन्नुभयो । नगरपालिकाले वडा नं १ बाट सुरु गरिएको कार्यक्रम दशवटै वडामा सञ्चालन गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताउनुभयो ।  उहाँका अनुसार वडा नं १ मा सहभागीले टोल विकास संस्थाको काम तथा संस्था दर्ता र सञ्चालनका लागि बजेट विनियोजन, विकास निर्माणसम्बन्धी प्रगति र ढिलाइ, वडामा सञ्चालित योजना सम्झौता, योजनाको नियमित अनुगमन र मुल्याङ्कन, सरकारी संरचनामा बनेका संरचनाको संरक्षण, सडक सुरक्षा, सवारीसाधनको भाडादर कार्यान्वयन, विद्यालयका शिक्षक दरबन्दी, आपराधिक क्रियाकलाप नियन्त्रणका लागि भएका पहल, आयआर्जनमूलक क्षेत्र, कृषि तथा पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नतिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट उपलब्ध गराउन सुझाव व्यक्त गरेका छन् । नागरिकबाट आएका सुझाव र वडाका समस्यालाई नगरपालिकाले आवश्यकता र महत्वका आधारमा प्राथमिकता दिएर काम गर्ने नगरप्रमुख थापाले बताउनुभयो ।  नागरिक र जनप्रतिनिधि एकै ठाउँमा सहभागी भएर नगर तथा वडाका विषयमा संवाद गर्दा तत्काल गर्नुपर्ने काम र समस्या समाधानका विकल्प प्राप्त भएका भन्दै आगामी नीति तथा कार्यक्रममा ती सुझाव समावेश गरी योजना सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो ।  वडावडामा संवाद कार्यक्रम सुरु गरेपछि जनप्रतिनिधिले नागरिकका समस्या सुन्ने र जानकारी लिने भएकाले आगामी दिनमा योजना कार्यान्वयनमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत पण्डितले बताउनुभयो ।  नगरपालिकाले थालेको उक्त कार्यक्रम सिधैँ नागरिकसँग जोडिएकाले नगरको समग्र विकास निर्माणमा महत्वपूर्ण प्रभाव पार्ने उहाँको भनाइ छ । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा नागरिकले जोड दिएका छन् ।  

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुभयो ।  प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।  चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यहीँ मङ्सिर १७  गते चीन प्रस्थान गर्नुभएको थियोे ।बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको थियो ।  साथै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली तथा राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । उहाँको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विभिन्न सहमतिमा हस्ताक्षर समेत भएको छ ।  प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुहुन्थ्यो ।

बागलुङ:    बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुग्नुभयो । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुग्नुभएका कँडेल पाँच वर्षपछि स्वदेश फर्किनुभयो ।  विदेशको दुःख देखेपछि स्वदेश फर्किनुभएका उहाँले काठमाडौँमा पाँच वर्ष होटल व्यवसाय गर्नुभयो । होटल व्यवसाय राम्रो भए पनि उहाँलाई गाउँघरको यादले सताइ रह्यो ।  आधा दशक होटल व्यवसाय गरेका सुरेश अन्तत विसं २०७७ मा गाउँ फर्कनुभयो । उहाँ गाउँ फर्कने समयमा देशभर कोरोना सङ्क्रमणको फैलिँदो थियो । कोरोना सङ्क्रमणका कारण गाउँमा पनि अन्य काम गर्ने वातावरण थिएन ।  कँडेलका घरमा बाबाआमाले पहिलेदेखि नै सामान्य रुपमा दूध बिक्री गर्दै आउनुभएको थियो । गाउँपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई भैँसी अनुदान दियो । अनुदानमा पाएको भैँसीले सुरेशलाई दूध उत्पादनमा लाग्ने हौसला दियो । उहाँले थप दुई वटा भैँसी लिएर व्यावसायिक रुपमै दूध उत्पादन गर्ने निधो गर्नुभयो ।  अहिले उहाँ जिल्लामै दुग्ध उत्पादन गर्ने अब्बल किसानका रुपमा परिचित हुनुहुन्छ । सुरेशको भैँसीपालन व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रो हुँदै गएको छ । अहिले उहाँलाई लन्डनमा नमिलेको खुसी भैँसी पालेर मिलेको छ । उहाँले भैँसी पाल्न थालेपछि वरपरका अन्य किसानले पनि व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छन् ।  कँडेललाई अहिले घरपरिवारको पनि दरिदो साथ छ । चार वर्ष अगाडि फार्म दर्ता गर्नुभएका कँडेलले वार्षिक १५ हजार लिटर दूध बिक्री गर्दै आउनु भएको छ । रु २ लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म रु २५ लाख बढी लगानी उहाँले गरिसक्नुभएको छ ।  उहाँको फार्ममा हाल ७ उन्नत जातका भैँसी छन् । बागलुङ बजार नजिक रहेको हुँदा दूध खपत राम्रो छ । कँडेलले वार्षिक रु २० लाखको दूध बिक्री गर्दै आउनुभएको छ ।  विदेशमा दुःख गर्नुभन्दा परिवारसँगै घरगोठ र बारीमा काम गरे पनि राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । लन्डन पुगेका बेला स्पेन, पोर्चुगल, फ्रान्ससमेत घुमेको अनुभव सुनाउँदै त्यो ठाउँमा बस्न मन नलागेपछि स्वदेश फर्किएको कँडेलले बताउनुभयो ।  विदेशको ठूलो सपना देखे पनि त्यहाँको जति दुःख आफ्नै खेतबारीमा गरे मनलाई सन्तुष्टि मिल्ने र आम्दानी पनि गर्न सकिने उहाँको भनाइ छ ।  “विदेशमा गएपछि सजिलै कमाइ हुन्छ भन्ने सोचेको थिएँ, त्यहाँ गएपछि दुःख त्यहाँको कामलाई हेरेर म आफ्नै ठाउँमा फर्किन्छु भनेर फर्किएँ, केही वर्ष होटल व्यवसाय गरे, त्यहाँ राम्रै भएको थियो, मलाई सहर बजारभन्दा गाउँनै ठिक लाग्यो र यहाँ आएँ”, कँडेलले भन्नुभयो, “अहिले मलाई गाउँ फर्किएकोमा कुनै पश्चाताप छैन, मैले जे गरे ठिक गरेँ जस्तो लाग्छ, मैले दुई वटा भैँसीबाट परीक्षणका लागि दूध उत्पादनमा लागेको थिएँ, अहिले मलाई लन्डनभन्दा भैँसीगोठमा सन्तुष्टि मिलेको छ ।” कँडेलले गाउँमा सहर बजारभन्दा केही दुःख भए पनि सम्भावना धेरै रहेको बताउनुभयो । पछिल्लो समय धेरै युवाको रोजाइ विदेश रहेको सुनाउँदै त्यहाँ (विदेश) गर्ने दुःख आफ्नै पाखा पखेरामा गरे राम्रो आम्दानी गर्न सकिने र आनन्दको जीवनयापन हुने उहाँको भनाइ छ । भैँसी पालेर दूध बिक्रीबाट आफ्नो परिवार राम्रोसँग चलेको कँडेल बताउनुहुन्छ ।

काठमाडौं:    नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।             “आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ”, बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो, “यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।”            यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगङ्गा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ ।  “अन्य सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडालगायत ठाउँमा भारी मतान्तरले विजयी हुनु, काठमाडौँको कीर्तिपुर नगरपालिकासहित १२ ठाउँमा उल्लेख्य मत पाउनुलाई जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिइएको छ”, प्रवक्ता सापकोटाले भन्नुभयो ।   जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीका रुपमा लिँदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको प्रवक्ता सापकोटाको भनाइ छ । उहाँले भन्नुभयो, “यो उपनिर्वाचनले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठनका लागि हामीलाई थप आधार दिएको छ । अब यही २७ गते स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बस्दैछ, त्यहाँ पनि समीक्षा हुनेछ । जिल्ला र प्रदेशहरुबाट पनि समीक्षा प्रतिवेदन आइरहेका छन् । हाम्रो प्रारम्भिक समीक्षाले परिणामलाई उत्साहवद्र्धन भनेको छ ।”   बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।  

बागलुङ:     ‘१ निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न अलकत्रा बिछ्याउन बाँकी छ ।  विसं २०७९ साउन ३० गते ठेक्का सम्झौता भएको एक निर्वाचन क्षेत्र एक रणनीतिकअन्तर्गतको बागलुङ बजारबाट सिगना हुँदै शान्तिपुर जोड्ने सडक कालोपत्रको चरणमा पुगेको हो । समयमा भुक्तानी नपाउँदा अघिल्लो असारदेखि गत असारसम्म एक वर्ष निर्माण ठप्प भएको सडक अहिले कालोपत्रका लागि ग्राभेल गरिएको छ ।  भौतिक पूर्वाधारको काम सकेको निर्माण व्यवसायीले भुक्तानी नपाउँदा निर्माणले गति लिन सकेको थिएन । पछिल्लो ३ महिनायता उक्त सडकको बागलुङ नगरपालिका–८ वडा कार्यालयसम्म कालोपत्रको तयारी गरिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।  सम्झौता अघि काम सक्नेगरि निर्माणले गति लिएको सडक भुक्तानीमा समस्या भएर रोकिए पनि अहिले कालोपत्रको काम गर्ने तयारीका लागि छ किलोमिटर ग्राभेल बिछ्याइसकिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिनुभयो ।  उहाँले सुरुमा सरकारले भुक्तानी दिन नसकेकाले एक वर्षसम्म निर्माणले गति लिन नसकेको स्वीकार गर्नुभयो । प्रमुख सुवेदीका अनुसार उक्त सडकको १० किमीमध्ये छ किमी कालोपत्रका लागि तयारी भएको र अन्य ४ किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ ।  “सुरुमा निर्माण व्यवसायीले अत्यन्तै छिटो काम गरेको थियो, पछि आर्थिक समस्याले भुक्तानी दिन नसक्दा काम रोकिएको थियो”, उहाँले  भन्नुभयो, “अहिले बोक्सेबाट वडा कार्यालयसम्म सबवेस र ग्राभेल बिछ्याएर कालोपत्र गर्ने तयारी भएको छ । आगामी चैतसम्म कालोपत्र सक्ने निर्माण व्यवसायीले कार्यसूची पेस गरेको छ ।” चैतसम्म छ किमी सकड कालोपत्र सक्ने तयारीका साथ निर्माणले अन्तिम रुप लिएको निर्माण व्यवसायी कर्ण विल्र्डस प्रमुख नवीन गुरुङले बताउनुभयो । उहाँले सम्झौता अनुसार निर्धारित समयभित्र काम सक्नेगरि काम गरिए पनि भुक्तानी रोकिएपछि काम रोकिएको उल्लेख गर्नुभयो ।  सम्झौता अवधिभित्र छ किमी सडक कालोपत्र गर्न अहिले धमाधम काम गरिरहेको बताउँदै बाँकी चार किमीमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गुरुङले जानकारी दिनुभयो ।  सडक निर्माण सुरु भएको ५ महिनामा ४० प्रतिशत काम सम्पन्न भए पनि आर्थिक अभावले काम छोडेर निर्माण व्यवसायी हिँड्दा ढिलाइ भएको स्थानीय राजन जिसीले बताउनुभयो । दश किमी कालोपत्र गर्न रु २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको थियो । सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण, सबवेस तथा छ किमी सडकमा ग्राभेल बिछ्याउने, आधा दर्जन घुम्ती ढलानलगायत काम सम्पन्न भइसकेका छन् ।

म्याग्दी:    मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ ।  थासाङ गाउँपालिकाले गुफामा पुग्ने पदमार्ग, सार्वजनिक शौचालय, आश्रयस्थललगायत पूर्वाधार निर्माण गरेपछि पर्यटक र भक्तजनको चहलपहल बढेको हो । थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले पर्यटक र भक्तजनको आकर्षण बढेसँगै गुफामा पूर्वाधार निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताउनुभयो ।  “भिरको बीच भागमा रहेको गुफामा पुग्ने पदमार्ग बनेपछि यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ”, उहाँले भन्नुभयो, “मुस्ताङ आउने पर्यटकको बसाइ लम्बाउनका लागि गुरुसाङ्वो गुफालाई नयाँ गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएका हौँ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा गुरुसाङ्वो गुफासम्म पुग्ने दुई सय ८६ मिटर रेलिङ र सिढीसहितको पदमार्ग, एक सय ९१ मिटर रिटेनिङ पर्खाल, दुई कोठे पक्की शौचालय निर्माण भएका छन् ।  गत आर्थिक वर्षमा गाउँपालिकाको रु पाँच लाख बजेटबाट एक सय २५ मिटर ढुङ्गाको सिढीसहित पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सकेन्द्र गौचनले जानकारी दिनुभयो ।  वडाध्यक्ष शेरचनका अनुसार गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माणका लागि चालु आवमा गण्डकी प्रदेश सरकारले रु २० लाख र गाउँपालिकाले रु १० लाख विनियोजन गरेको छ । बेनी–जोमसोम सडकको लार्जुङ र बोक्सीखोलाबाट नाउरीकोटसम्म सवारीसाधनमार्फत र त्यहाँबाट ४५ मिनेट पैदलयात्रा गरेपछि मानापाथी हिमालको फेदीस्थित पहाडको बीच भागमा रहेको गुरुसाङ्वो गुफामा पुगिन्छ । भिरालो गुफा करिब ५० मिटर लामो छ ।  गुफाभित्र गाईको सिङ्ग, भैँसीको थुन, हात्तीको सुढ, विभिन्न देवीदेवताका मुर्ति, पहाड, नदीनालालगायत आकृति देखिन्छन् । गुफाको मुनी झरना छ । वौद्ध धर्मावलम्बीका धर्मगुरु रिम्पोचेले तपस्या गरेकाले गुरुसाङ्वो गुफाको धार्मिक महत्व रहेको मुस्ताङका पूर्वसांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।  उहाँका अनुसार नाउरीकोट गाउँबाट गुफा नजिकै जोड्ने लामो झोलुङ्गे पुल निर्माणका लागि हालै सर्वेक्षण पनि भएको छ । गुफा परिसरमा समुदाय स्थलमा लामाहरूको बसोबासका लागि आश्रयस्थल निर्माण भएका छन् ।  सिक्सीमका १ जना वौद्ध धर्मावलम्बीले व्यक्तिगत लगानीमा गुम्बाबाट करिब पाँच सय मिटर तल छोर्तेन निर्माण गर्नुभएको छ ।   

काठमाडौं:   नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले तेस्रो जित निकालेको छ ।   यसअघि ब्याटिङ थालेको पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनाएका थियो ।    पोखरा एभेन्जर्सले दिएको १३९ रनको मध्यम लक्ष्यलाई जनकपुरले १७.१ ओभरमा ७ विकेटले जीत हाँसिल गरेको हो ।   जनकपुरको जीतमा लाहिरू मालिन्था ४५, आशिफ शेख ३३,  अनिल साह १ले एक रन बनाए।  जनकपुरका लागि हर्ष ठाकर १३ र जिमी नसिमले ४० रनको योगदान दिएका थिए ।    जनकपुरले यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ भने, पोखरा यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।   

काठमाडौं:    स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो । स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहनुभएका र सङ्गीतमा विशेष योगदान दिनुभएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही रु ५१ हजार र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो ।  “स्वरसम्राट नारायण गोपालको विषयमा हामीले जति चर्चा गरेपनि पुग्दैन”, उहाँले भन्नुभयो, “अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसङ्गीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ । उहाँले नेपालीलाई कालजयी गीत दिनुभएको छ ।” अध्यक्ष केसीले बुधबार देशभर उहाँको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिनुभयो । उहाँले धुम्वाराहीमा नारायण गोपाल सङ्गीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताउनुभयो ।  सम्मानित हुनुभएका सङ्गीतकार मुकारुङले नारायण गोपाल जस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्व रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “नारायण गोपाल सङ्गीतको विश्वविद्यालय हुनुहुन्छ । विगत छ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ । यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो । यो सम्मान मेरो लागि अस्कर अवार्ड भन्दा ठूलो छ । उहाँको गीत प्रत्यक्ष सुन्न पाउनु, सामीप्यता राख्न पाउनु मेरा लागि गौरवको विषय हो ।”  ‘सम्झनामा नारायण गोपाल’ अन्तर्गत श्रष्टाहरूले उहाँलाई गीतमार्फत सम्झिनुभएको छ । गायक दीव्यकुमार सिटौलाले ‘मलाई छोडी मेरै छायाँ’, गायक साजन लामाले ‘यति चोखो यति मिठो’, गायक राजेन्द्र श्रेष्ठले ‘गल्ती हजार हुन्छन’, गायक महेन्द्र गुरुङ र रोजी श्रेष्ठले ‘ए कान्छा ठट्टैमा यो जोवन’, गायक सम्भव जङ्गम थापा र सङ्गीत तिमिल्सिनाले ‘मेरो जोवन लौजाउ’, गायक रामकृष्ण ढकालले ‘तिमीलाई भुल्दा’, गायक छिरिङ भुटियाले ‘मन्दिरमा छकी मूर्तिमा माया’ लगायत गीत प्रस्तुत गर्दै स्वरसम्राट नारायण गोपालको स्मरण गर्नुभयो । विसं १९९६ असोज १८ गते जन्मनुभएका स्वरसम्राट नारायण गोपालको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो । प्रत्येक वर्या मङ्सिर १९ गते उहाँ र गीतसङ्गीतलाई स्मरण गर्दै स्मृति दिवसलाई मनाउने गरिन्छ । 

भोजपुर:    जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा ९छिन्तालुङ० आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो ।  सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् ।  गाउँपालिका र कोसी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । अरुण डाँडालाई गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार गरेर यहाँ पूर्वाधार विकासको काम भइरहेको बताउँदै पर्यटकीय गन्तव्य भएसँगै पालिकाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “अरुण डाँडा र यहाँ पुग्ने संरचनाको विकासका लागि आवश्यक काम भइरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँको वृहत्तर विकास गर्न करिब ८० रोपनी क्षेत्रमा विविध संरचना विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आर्थिक विकास र आम्दानीको स्रोतका रूपमा स्थापित गराउने लक्ष्यसहित काम भइरहेको छ ।” यहाँ आइपुग्ने सडक विस्तारसँगै पैदल मार्ग तथा विश्राम स्थल निर्माण गरिएको पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । यहाँबाट विभिन्न हिमश्रृङ्खलाका सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै यहाँ रहेको मन्दिरमा पूजाआजा गर्न पर्यटकहरू आउने गरेका उहाँको भनाइ छ । “पर्यटकीय क्षेत्र अरुण डाँडाको धार्मिक पनि महत्व छ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “यो स्थान घुम्न आउने मानिसका लागि प्राकृतिक सुन्दरका साथै मन्दिरमा भाकल गरी भाकल पूरा भएपछि पूजाआजा तथा दर्शन गर्न पनि आउने गरेका छन् ।”  यहाँ आउने पर्यटकको यकिन तथ्याङ्क नभएपनि यसअघि दैनिक १०–१५ जना आउने गरेकामा पूर्वाधार विकास भएसँगै दैनिक २५–३० जना आउने गरेका उहाँले जानकारी दिनुभयो ।  यस क्षेत्रको विकास गरी स्थानीयको जीवनस्तर उकास्ने गरी योजनाबद्ध रूपमा पूर्वाधार विकासको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । यहाँको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो ।  पर्यटकलाई लक्षित गरेर यहाँ चियाखेतीको सम्भावनाको अध्ययन गरी विस्तारको कामसमेत भइरहेको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।  पर्यटक प्राकृतिको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिन यहाँ आउने गरेका स्थानीय लालबहादुर तामाङले बताउनुभयो ।  सदरमुकामबाट नजिकको दूरीमा पर्ने अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उहाँको भनाइ छ । भोजपुर–लेगुवा मध्यपहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता भएको उहाँले उल्लेख गर्नुभयो ।  “गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेसँगै पर्यटकको सङ्ख्या बढेको छ”, स्थानीय तामाङले भन्नुभयो, “बिदाको समयमा आन्तरिक पर्यटक बढी आउँछन् । पछिल्लो समय यो स्थान धेरैको रोजाइमा पर्न थालेको छ ।” समुन्द्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा लिने गरिन्छ ।