कञ्चनपुर: प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको कार्य सुरु गरिएको छ । वार्षिक कार्यक्रमअनुसार नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको कार्य सुरु गरेको हो । गिद्धका गुँड अनुगमनका लागि सङ्घका पदाधिकारी, कर्मचारी र स्वयंसेवक खटिएका छन् । “राष्ट्रियस्तरमै प्रत्येक वर्षको यसै दिनदेखि गिद्धको अवस्था, गुँडको अवस्था, बासस्थानबारे अध्ययन अनुगमनको कार्य हुँदै आएको छ”, सङ्घका चराविज्ञ हिरुलाल डगौराले भन्नुभयो, “यसै अवसरमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गिद्धको गुँडको अवस्थाबारे अनुगमनको कार्य गरिरहेका छौँ ।” उहाँका अनुसार कैलालीको खुटिया, बेली, जोनापुर र फकलपुर तथा कञ्चनपुरको लालझाडी, पर्सिया, कञ्ज, बन्साहा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गिद्धका गुँड अनुगमनको कार्य भइरहेको छ । कैलाली र कञ्चनपुरमा अनुगमनको कार्य पूरा भएपछि डडेल्धुरा र बैतडीमा पनि गिद्धको गुँड तथा अवस्थाका बारेमा अध्ययन अनुगमनको कार्य हुने उहाँले बताउनुभयो ।गिद्धका गुँड अनुगमनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयसँग समन्वय गरिएको चराविज्ञ डगौराको भनाइ छ । “क्यामेरा, बाइनाकुलर, टेलिस्कोप, जिपिएसको प्रयोग गरी अनुगमनको कार्य गर्छौं”, उहाँले भन्नुभयो, “यसबाट गुँड के कति छन् भन्ने जानकारी हुन्छ नै गिद्धको सङ्ख्या यकिन गर्ने कार्य पनि हुन्छ ।” गत वर्षको अनुगमनमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गरी डङ्गर, सानो खैरो, सेतो, हाडखोर, हिमाली र सुन गिद्धका गरी एक सय ४३ गुँड फेला परेका थिए । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आइयुसिएन०ले डङ्गर, सानो खैरो र सुन गिद्धलाई अति सङ्कटापन्न तथा सेतो गिद्धलाई सङ्कटापन्नको सूचीमा सूचीकृत गरेको छ । विश्वमा २३ प्रजाति र नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । गिद्धले आफैँले सिकार नगरी मरेका जनावरको सिनो मात्रै खाने भएकाले यसलाई अहिंसक मांसाहारी पन्छीका रुपमा लिइने गरिन्छ । सिनो खाने भएकाले यसले पर्यावरण सन्तुलित राख्नमा मद्दत पु¥याउने गर्दछ । एक सर्भेक्षणअनुसार गिद्धले सिनोको खोजीमा दैनिक १ सय किलोमिटरको रेडियसको दूरीमा उड्ने गरेको पाइएको छ ।
कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि ओपनर तथा कप्तान अनिलले सर्वाधिक ६२ रन बनाए । उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । उनले ३५ बलमा ६ चौका र २ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका थिए । अनिलको यो अर्धशतक प्रतियोगितामा नेपाली ब्याटरले बनाएको पहिलो अर्धशतक हो । कप्तान अनिल र अर्का ओपनर आसिफ शेखले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफले २९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । आसिफ मौषम ढकालको बलमा १०औं ओभरको चौथो बलमा आउट भए । लाहिरु मिलन्थाले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन जोडे । लाहिरु जिशान मक्सुदको एलबिडब्लु धरापमा परे । जिम्मी निशम १६ रनमा नट आउट रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । जनकपुरका लागि मोहम्मद मोहसिनले २ तथा किशोर महतो, हर्ष ठाकर, जिम्मी निशमले समान १ विकेट लिए । लगातार दुई खेलमा जितका साथ ४ अंकका साथ जनकपुर शीर्ष स्थानमा रहेको छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो । आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् । एनपिएलमा मंगलवार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो तथा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच दोस्रो खेल हुनेछ ।
तनहुँ: “बस्ने घर नभए पनि बाँझो जमिनलाई उपयोग गर्दै सुन्तलाखेतीमा लागेको छु”, तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी निवासी मोहन रानाभाट भन्नुहुन्छ, “यहाँ बस्ने अवस्था छैन ।” उहाँ म्याग्दे–१ थानसिंस्थित जङ्गल बनेको पुख्र्यौली जमिन सफाइ गरी सुन्तलाखेतीमा व्यस्त हुनुहुन्छ । पानी अभावले गाउँबाट नै बस्ती सरेर बेँसी गुणादीमा झर्नुभएका मोहन अहिले बाँझो जमिनमा सुन्तलाखेती गर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अन्य खेती गर्न समस्या भए पनि सुन्तलाखेतीलाई कम पानीले पुग्ने भएकाले यसतर्फ आकर्षित भएको हुँ ।”बाँझिएको पुख्र्यौली जमिनको उपयोग गर्दै उहाँ अहिले नौ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरिरहनुभएको छ । आर्थिक वर्ष २०८०÷८१ मा उक्त बाँझिएको जमिन सफा गरी दुई सय ५० बिरुवा रोपेर उहाँ सुन्तलाखेतीमा लाग्नुभएको छ । चालु वर्षमा भने उहाँले ४४ सुन्तलाका बिरुवा थप्नुभएको छ । उहाँ भन्नुहुन्छ, “कोभिड १९ को बन्दाबन्दीपछि गाउँमै गरिएको खेतीले सुरक्षित बनाउँछ भन्ने महसुस भएर सुन्तलाखेतीतर्फ लागेको हुँ, आफ्नो जमिन खेर फालेर अन्य पेसामा लाग्नुभन्दा आफ्नैमा नाफाघाटा बेहोरौँला भनेर जङ्गल बनेको बाँझो जमिनमा सुन्तला लगाएको छु, केही वर्षमा उत्पादन लिनसक्ने देखिएको छ ।” सिँचाइ अभाव भएकाले कृषि ज्ञान केन्द्र तनहुँबाट हिलट्याङ्क अनुदानमा पाएपछि सहज भएको उहाँ बताउनुहुन्छ । उहाँ जस्तै व्यास नगरपालिका–१ हाई स्कुलटार निवासी नारायण रानाभाट पनि बाँझो जमिनको उपयोग गर्दै सुन्तलाखेतीतर्फ आकर्षित हुनुभएको छ । बाँझिएर जङ्गल बनेको पुख्र्यौली जग्गा फँडानी गरी सुन्तलाखेती गर्दै आउनुभएको छ । बिहान सुन्तलाको रेखदेख गर्न बगैँचामा पुग्ने र साँझ घर फर्किने गरेको उहाँ बताउनुहुन्छ । कृषि ज्ञान केन्द्रको सुन्तलाखेती विस्तार कार्यक्रमले सुन्तलाखेतीतर्फ किसान आकर्षित भएका छन् । झाडी बनेको जमिनको उपयोगलाई प्राथमिकता दिएर ल्याइएको सुन्तलाखेती विस्तार कार्यक्रमले यसतर्फ सर्वसाधारण आकर्षित भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछाने बताउनुहुन्छ । उहाँका अनुसार धेरै ठाउँमा बाँझो जमिनमा सुन्तलाखेती विस्तार भइरहेको छ । उहाँ भन्नुहुन्छ, “झाडी सफाइ गरी अहिले किसानले सुन्तलाखेतीको स्याहारसुसारले उत्पादन बढ्दो रहेको छ, यसले कृषिमा युवाको आकर्षण बढेको तथ्याङ्कले देखाएको छ ।” सुन्तला बगैँचाबाट नै खरिदबिक्री हुने हुँदा पनि किसान यस खेतीतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ । यहाँको सुन्तला विशेषगरी काठमाडौँ, चितवन, पोखरालगायत बजारमा बिक्री वितरण हुने गरेको छ । बाँझो जमिनमा गत आर्थिक वर्ष ५ हजार ६ सय बिरुवा रोपण गर्न अनुदान दिइएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले बताउनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न स्थानका दुई सय ५५ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरिएको छ । तीमध्ये १० रोपनी क्षेत्रफलको सुन्तलाका बिरुवा मरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “राम्रो बच्चा बनाउनका लागि सानो गरिएको स्याहारसुसारले भविष्यमा असल बनाउँछ भनिन्छ नि, त्यसैगरी सुन्तलाका साना बिरुवालाई पनि सरसफाइ तथा हेरचाह राम्रो भएमा उत्पादन राम्रो हुन्छ ।” जिल्लामा विशेषगरी बिज बिरुवा नै रोपण गर्ने गरिएको ज्ञान केन्द्रले जनाएको छ । “हाइब्रिडको प्राक्टिस भएको पाएका छैनौँ”, सूचना अधिकारी परियारले भन्नुभयो । जिल्लाकै देवघाट गाउँपालिका–२ नरमस्थित नर्सरीमा उत्पादित सुन्तलाका बिज बिरुवा अनुदानमा अन्य क्षेत्रका किसानलाई वितरण गर्ने गरिएको उहाँले बताउनुभयो । बसाइँसराइ गरेका थानसिं गाउँका स्थानीय गाउँमा फर्केर झाडी बनेको बाँझो जमिनमा सुन्तलाखेती गर्ने क्रम बढ्दै गएको छ । म्याग्दे–२ सुन्तलाखेतीको प्रख्यात ठाउँ हो । यसका साथै १ र ३ नम्बर वडाका केही स्थानमा सुन्तलाखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पकेट क्षेत्रको क्षेत्रफल बढ्ने क्रममा रहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका एक हजार ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो भने आर्थिक वर्ष २०८०÷८१ मा एक हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । आव २०७९÷८० मा ११ हजार चार सय ६० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ मा ११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन गरेको केन्द्रको तथ्याङ्मा उल्लेख छ ।चालु आर्थिक वर्षमा केही क्षेत्रफल वृद्धि हुनेगरी विस्तार भइरहेको केन्द्रले जनाएको छ । यस तथ्याङ्कका आधारमा पनि सुन्तलाखेतीको क्षेत्रफल वृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्षमा सुन्तलाखेतीकै लागि बजेट छुट्याएर आएकाले अझ सहज भएको र यसको क्षेत्रफलसमेत वृद्धि हुने देखिएको केन्द्रले जनाएको छ । राष्ट्रिय फलका रुपमा सूचीकृत सुन्तलाखेतीमा सरसफाइ र स्याहार पुगेमा उत्कृष्ट सुन्तला यहाँ उत्पादन हुने केन्द्रले जनाएको छ ।
खोटाङ: यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ । सुरुका वर्षमा प्रति केजी रु चार सय सम्मले बिक्री गर्नुभएका उहाँले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिप्नुभएको छैन । उहाँको फार्ममा करिब ४ हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ । किबीका बेर्नासमेत उत्पादन गर्दै आउनुभएका राईले गत वर्ष मात्र रु १४ लाख बढीको बेर्ना बिक्री गर्नुभएको थियो । करिब २५ रोपनी जमिनमा किबी खेती गर्नुभएका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किबी खेती गर्नुभएको छ । एघार वर्षअघिदेखि किबी खेती सुरु गर्नुभएका शेर्पाको फार्ममा यसवर्ष ११ हजार केजीभन्दा बढी किबी फलेको छ । शेर्पाले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पु¥याउने गरिएको छ । जिल्लाका स्थानीय हाटबजार तथा पसलहरुमा प्रतिकेजी रु एक सयदेखि रु एक सय ५० सम्ममा किबी बिक्री भइरहेको छ । विगतमा फार्मबाटै बिक्री भएको किबी यसवर्ष आफैँले ढुवानी खर्च व्यहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताउनुभयो । “मेरो फार्ममा ३ सय ७५ वटा वयस्क बोट छन् । एउटै बोटमा १ सय ५० केजीसम्म फलेको छ । दुईवटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु”, उहाँले भन्नुभयो, “यो वर्ष सबै बोटको किबी बिक्री हुने सम्भावना कम छ । गत वर्षमा बिक्री गरिएको ठाउँ (धरान, विराटनगर, काठमाडौँलगायत)मा सम्पर्क गरिरहेको छु । त्यहाँ पनि बजार छैन भन्दै आएका छन् । यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बनाएर बिक्री गर्ने सोचमा छु ।” किबी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित हुनुहुन्छ । किबी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउनुहुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकामा यो वर्ष बढेर ४० मेट्रिक टन भन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट वयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो । नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यावसायिक किबी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभयो । “किबी उत्पादन बर्सेनि बढ्दै जाने फल हो । जति वयस्क हुन्छ उतिनै उत्पादन पनि बढ्दै जान्छ । त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “गत वर्ष दश मेट्रिकटन किबी किसानले बिक्री गरेका थिए । प्रति केजी रु एक सय ६० का दरले हिसाब गर्दा रु १६ लाख हुन आउँछ । यो वर्ष पनि रु १ सय ५० कै दरले अनुमान गर्दा ४० मेट्रिकटनको रु ६० लाख बराबरको हुन्छ ।” नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किबीको बिरुवा रोपिएको जनाइएको छ । यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ । फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख विशन राईले बताउनुभयो ।किबी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिका–६ नेर्पाको तालखर्कमा रु एक करोडभन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । जिल्लाका अधिकांश लेकाली भेगमा बसोबास गर्ने किसानले पछिल्लो समय व्यावसायिक किबी खेती सुरु गरेका छन् । एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको व्यावसायिक खेती सुरु गरेका किसान आफूले उत्पादन गरेका किबी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन् ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले रु ५० करोडसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताउनुभएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनको पूर्ण सत्रमा मन्त्री भण्डारीले विदेशी लगानीकर्ताहरूले अनलाइन प्रणालीमार्फत स्वतः पूर्वस्वीकृति प्राप्त गर्ने जानकारी दिनुभयो । त्यसैगरी, एफडिआईको थ्रेसहोल्ड रु पाँच करोडबाट घटाएर रु दुई करोडमा पु¥याइएको र सूचना प्रविधि क्षेत्रमा लगानीको थ्रेसहोल्ड नभएको सो अवसरमा मन्त्री भण्डारीले सम्मेलनमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपालमा व्यापार गर्न नीतिगत र कानुनी पक्षमा सुधार गर्न ध्यान केन्द्रित गरेका छौँ, लगानीकर्तालाई दर्ता र सुविधा उपलब्ध गराउन १४ एजेन्सीलाई एउटै छानामुनि ल्याएर वन स्टप सर्भिस सेन्टर (ओएसएससी)स्थापना गरिएको छ ।” मन्त्री भण्डारीले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूले आफ्नो लगानीको नाफा र पुँजीको ‘ग्यारेन्टी’सहित उच्च दरमा प्रतिफल प्राप्त गरिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय व्यापार सम्झौतामा हाम्रा प्रतिबद्धताले नेपाललाई अन्तर्राष्ट्रिय व्यापारका लागि सबैभन्दा उदार र खुला बजार बनाएको छ ।” नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवद्र्धन गर्न सक्षम व्यापारिक वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “नियामक ढाँचालाई थप सुधार गर्न हाम्रा साझेदारहरूबाट प्रतिक्रिया र सुझावका लागि हामी खुला छौँ ।” मन्त्री भण्डारीले शिखर सम्मेलनमा भएको छलफल र विचार विमर्शले दिगो विकास, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र समृद्धिलाई अगाडि बढाउन अर्थपूर्ण साझेदारीका लागि मार्ग प्रशस्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक समृद्धिका हाम्रा साझा लक्ष्यलाई साकार पार्न पुँजी, नयाँ प्रविधि र विशेषज्ञता ल्याई हामीसँग साझेदार हुन सम्भावित क्षेत्रमा अन्वेषण गर्न म विश्वभरका व्यवसाय र लगानीकर्तालाई आमन्त्रित गर्दछु ।” ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय नारासहित नेपालले पर्यटन, जलविद्युत्, कृषि, औषधि र सुगन्धित वनस्पति, सूचना प्रविधि तथा उत्पादन जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर प्रदान गरेको सो सम्मेलनमा मन्त्री भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी द्विपक्षीय र त्रिपक्षीय व्यवस्थाका साथ हाम्रा छिमेकी मुलुक भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्ने अवस्थामा छौँ ।” साथै मन्त्री भण्डारीले नेपालले भारतसँगको आफ्नो बलियो र ऐतिहासिक सम्बन्धलाई महत्व दिएको उल्लेख गर्दै दुई देशको साझा इतिहास, सांस्कृतिक सम्बन्ध र आर्थिक अन्तर–निर्भरतामा यो सम्बन्धको जरा गहिरो रुपमा गाडिएको बताउनुभयो । नेपालमा पर्यटन र प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले भारत सबैभन्दा ठूलो स्रोत देश रहेको उहाँले उल्लेख गर्नुभयो । सम्बोधन गर्नु पूर्वभारतीय समकक्षी पियुष गोयलले मन्त्री भण्डारीको स्वागत गर्नुभएको थियो ।
अछाम: नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५÷६६ बाट निर्माण सुरु गरिएको थियो । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त गतिमा भइरहेको छ ।भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य रहेको छ । नेपाल(भारत–चीन) जोड्ने बहुउपयोगी यो सडक निर्माण गर्न दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ ।लोकमार्गको दक्षिणखण्डअन्तर्गत अछाम तर्फको ८० किलोमिटर, बाजुरा १२ किमी, डोटी ४० किमी र कैलालीको ७२ किमीसहित २ सय ४ किमी सडक खण्ड पर्दछ । जसमध्ये अछाममा ५७ किमी र कैलालीमा ७० किमीसहित एक सय २७ किमी ट्र्याक खोलिएको आयोजनाले जनाएको छ । अछामखण्डको २३ र कैलालीको २ किमी, डोटीको ४० र बाजुराको १२ किमी ट्याक खोल्न बाँकी रहेको छ ।सडक विभागले बजेट सुनिश्चितता नगर्दा र दक्षिणीतर्फको डोटी खण्डको ४० किमी ट्र्याक खोल्न रूख कटानको आदेश नआउदा निर्माणको काम अवरुद्ध भएको थियो । हालै मन्त्रिपरिषद्बाट रुख कटानको आदेश आएपछि चालु आर्थिक वर्षमा काम अगाडि बढाइने सेती लोकमार्ग (दक्षिण खण्ड)टीकापुर–लोडे–चैनपुर सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । यस लोकमार्गमा आवश्यक केही प्रस्तावित पक्की पुलमध्ये कैलालीतर्फ एउटा पुलको निर्माण सम्पन्न भएको छ भने दुई वटा पुल निर्माणाधीन अवस्थामा छन् । त्यस्तै अछामतर्फ एउटा पुलको निर्माण सम्पन्न भएको छ भने थप एउटा पुल बोलपत्र प्रक्रियामा छ । उत्तरीखण्डअन्तर्गत बझाङ जिल्लामा १ सय २८ किलोमिटर सडक पर्दछ । कैलाली खण्डमा १४ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ भने अछाम खण्डमा तीन किलोमिटर कालोपत्र भइसकेको छ । यस लोकमार्गको कुल लम्बाइ ३ सय ५९ किमी रहेको छ । चालु आर्थिक वर्षका लागि उत्तरी र दक्षिणीखण्डमा गरी रु ७० करोड बजेट विनियोजन गरिएको छ । लोकमार्गको १४४ किमी पहिलो पटक पैदलयात्रा सुदूरपश्चिमको गौरव आयोजनाका रूपमा रहेको लोकमार्गको एक टोलीले पहिलोपटक पैदलयात्रा गरेर अवलोकन गरेको छ । सडक योजना कार्यालय साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दको टोलीले हालै साँफेबगरदेखि कैलालीसम्मको एक सय ४४ किमी यात्रा गरेर सडकखण्डको वस्तुस्थित बुझेको हो । यो दूरी पार गर्न प्राविधिक टोलीले छ दिन लगाएको थियो । पहिलोपटक स्थलगत अवलोकन गरी दक्षिणखण्ड भित्रपर्ने सडक र पुलको अवस्थाबारे जानकारी लिइएको उहाँले बताउनुभयो । सेती लोकमार्ग निर्माण भए सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्नेछ । यहाँको पर्यटकीय क्षेत्रमा पनि उल्लेखनीय टेवा पुग्नेछ । यसले नेपालको चार धाममध्येको वैद्यनाथ धाम क्षेत्र, खप्तडलगायत क्षेत्रको प्रवर्द्धन तथा सहज पहुंँचमा सहयोग हुनेछ । यस्तै, भारतबाट मानसरोवर क्षेत्र जाने तीर्थयात्रीहरूलाई पनि सहज हुनेछ ।
काठमाडौंमा जारी पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । चितवनले १ सय १२ रनको लक्ष्य पाएको थियो । निर्धारित १७.१ ओभरमा ५ विकेट गुमाउँदै चितवनले लक्ष्य भेटेको हाे । चितवनका लागि सन्तोष कार्कीले ३१ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक २८ रन बनाए । लुक बेन्केनस्टेइनले १७ बलमा १ चौका र २ छक्काको २२ रन बनाए । उनी जेर्हाड एरास्मसकाे बलमा एलबिडब्लु धरापमा परे । ओपनर हसन इसाखिलले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा १२ रन जोडे । कप्तान कुशल मल्ल र रवि बोपाराले समान ११ रन जोडे । शरद भेषवाकर ११ रनमा नट आउट रहे । काठमाडौंका लागि साहब आलमले ३ तथा डान डाउथवेट तथा जेर्हाड एरास्मसले समान १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । आज दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा पोखरामा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा महानगरपालिका १० रामघाटस्थित पुन समाजको कोर्टमा प्रतियोगिता सञ्चालन गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार खुला पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उपविजतो बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । संयोजक गुरुङका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाउनका लागि नगद रु ६ हजार र महिलातर्फ सहभागिता जनाउनका लागि नगद रु २ हजार शुल्क निर्धारण गरिएको सचिव अर्जुन गुरुङले बताए । उनका अनुसार टिम दर्ता फोनमार्फत (९८५६०६६३४४,९८४६३४२०२३, ९८४७८००३८९ र ९८१७१८४७७९) पनि गर्न सकिने छ ।
काठमाडौं: आज सुनको मूल्य प्रतितोला रू १ हजार २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू १ लाख ४९ हजार ३ सय कायम भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू १ हजार ८ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।

