जुम्ला: यहाँका स्थानीयवासीले रातो हाब्रे (रेडपाण्डा) संरक्षण अभियान चलाएका छन् । तातोपानी गाउँपालिका–८ स्थित नदै सामुदायिक वन क्षेत्रमा १५ देखि २० वटासम्म रेडपाण्डा रहेको आँकलन छ । उक्त सामुदायिक वनक्षेत्र चार सय ९१ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । मछाली, बुढाबाडा र इमिल्चाका ५५ घरपरिवार हाल रेडपाण्डा संरक्षणमा जुटेको उक्त वन समितिका पूर्वउपाध्यक्ष वीरबहादुर रोकायाले जानकारी दिनुभयो । रेडपाण्डाको अध्ययन गर्न विदेशी तथा स्वदेशी आउन थालेपछि रेडपाण्डाको बासस्थान बचाउन स्थानीयवासी जुटेका हुन् । उक्त क्षेत्रमा डढेलो लाग्न नदिने, नियमित वृक्षरोपण गर्ने, वनफडानी रोक्ने र रेडपाण्डाको बासस्थान जोगाउने काम स्थानीयले गरेका छन् । रेडपाण्डाको बासस्थानका लागि निगालो, धुपी, घोडापाङ्गर, चुक, काठेओखर, खस्रु, सल्लो, झुलो, भोजपत्र र ठिङ्गोका बिरुवा रोपिएको छ । जङ्गलभित्र पोखरी निर्माण गरिएको छ । रोकायाले भन्नुभयो, “दुर्लभ रेडपाण्डाको बासस्थान गाउँ नजिकै भेटिँदा उत्साहित भएका छौँ । यसको संरक्षण जरुरी छ । के गर्दा रेडपाण्डाको बासस्थान जोगाउन सकिन्छ भन्ने विषयमा खोजी गर्न थालेका छौँ ।” सर्वसाधारणलाई सचेत गराउने, जङ्गल फडानी गर्नेलाई समुदायस्तरमा स्पष्टीकरण सोध्ने, अटेरी गरे क्षति हेरी जरिवाना तोक्ने गरिएको स्थानीय ६५ वर्षीय मुनबहादुर बुढाले बताउनुभयो । समुदायको रेडपाण्डाप्रतिको मोह देखेर रेडपाण्डा नेटवर्क काठमाडौँ र हातेमालो नेपाल जुम्ला शाखाले ती क्षेत्रमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना कार्यान्वयनमा ल्याएको हातेमालो नेपालका कार्यकारी निर्देशक टेकबहादुर रावतले जानकारी दिनुभयो । जिल्लाको सिञ्जा, तातोपानी, पातारासी गाउँपालिकाका ५ वटा सामुदायिक वनमा रातो हाब्रेको बासस्थान रहेको छ । पातारासीको महारुद्र आधारभूत विद्यालय र सिञ्जाको चुलेलगाउँ माविमा कक्षा–६ मा वातावरण संरक्षणसम्बन्धी पाठ्यक्रम तयार गरेर अध्ययन–अध्यापन भइरहेको छ । पातारासीको महारुद्र सामुदायिक वन पटमारामा १४ र सियालामुल सामुदायिक वनमा दुईवटा क्यामेरा राखिएको छ । प्रत्येक ४५ दिनमा तीनपटक क्यामेरा हेर्ने गरिएको छ । ४ वटा सामुदायिक वनमा १७ हजार बढी वृक्षरोपण गरिएको छ ।
महोत्तरी: लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेशका जिल्लामा जाडो निकै बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का किसान ठकाइ महतो भन्नुहुन्छ, “पुस नलाग्दै बढेको चिसोले काम सबै अलपत्र छ ।” चिसोले कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ । महोत्तरीसहितका मधेशका जिल्लामा पूर्व–पश्चिम राजमार्गभन्दा तलतिर हुस्सु र चिसोको कहर बढी छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ किसान रहिमन मण्डल बताउनुहुन्छ । मधेश गर्मी अलि बढी हुने ठाउँ भए पनि जाडो यतिसारो पहिले नभोगिएको मण्डलको अनुभव छ । उत्तरी क्षेत्रमा बिहान १० बजेतिर हुस्सु फाट्दै गएर घाम देखिए पनि दक्षिणतर्फ मध्य र सुदूरदक्षिणी भेगमा अपरान्हसम्म दिन हो कि रात छुट्याउन नसकिने सर्वसाधारण बताउँछन् । अपरान्हपछि हुस्सु हट्दै गए पनि कतिपय दिन घामै नदेखिएर साँझ पर्ने गरेको जलेश्वर–२ की शिला यादव बताउनुहुन्छ । मङ्सिरभित्रै बढेको चिसोले घरपालुवा पशुवस्तुको विजोग बन्दैछ । पशुवस्तुको आहाराको जोहो र चरनमा लैजान नपाइँदा समस्या भएको भङ्गाहा–४ रामनगरकी भैसीपालक किसान हिरादेवी दाहालको भनाइ छ । धेरै बढेको चिसोले पशुवस्तु जिङ्राउने र बिरामी हुने क्रम बढेको दाहालले बताउनुभयो ।यसैगरी बढ्दो जाडोले व्यापार पनि चौपट भएको व्यापारी बताउँछन् । अहिले मङ्सिर नसकिँदै चिसोले घर बाहिर निस्कन नदिएपछि पुस, माघ कस्तो होला भन्ने सम्झनाले नै अत्यास लाग्ने गरेको सर्वसाधारणको भनाइ छ । अहिलेको जाडोको कहरले ससाना नानी, पाका उमेरका वृद्धवृद्धा , गर्भवती र सुत्केरी महिलालाई स्वास्थ्य जोखिम बढ्दो छ ।खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुदिप ठाकुर बताउनुहुन्छ । यो चिसिँदो मौसमले गरिब बस्ती कष्टकर अवस्थामा पुगेका छन् । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् । यसैगरी जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपाली हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गर्नुभएको छ । तराईमा हुस्सु र सितलहरसँगै चिसो बढ्यो पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै आज बिहानैदेखि चिसो बढेको छ । दिउँसोको समयमा विगत एक सातादेखि मधुरो घाम लाग्दै आएको छ भने अहिले बिहानैदेखि हुस्सु लागेको हो । पूर्वी तराईमा घाम लाग्न छाडेपछि शीतलहर सुरु हुने गर्दछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ । महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई–मधेशका जिल्लामा हुस्सु तथा कुहिरो लाग्न थालेको छ ।चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाह्य, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोले बिहान स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि चिसो बढेकाले ढिलो गरी खुलिरहेका सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । उहाँले साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार चाँडैै सुनसान हुन थालेको उल्लेख गर्नुभयो । यहाँ न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् । कठङ्याङ्गिदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक सुन्दरहरैँचाका अशोक रिजाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सवारी साधन कम गतिमा बत्ती बालेर गुड्नुपरेको छ, हुस्सुले दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सावधानीपूर्वक सवारी चलाउने गर्छौँ ।” चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका छन् । बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम विराटनगर आउने हवाई उडान खराब मौसमका कारण सेवा प्रभावित हुन थालेको छ ।
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू २ हजार १ सय बढेको छ । सोमबार प्रतितोला रू १ लाख ५० हजार १ सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू १ लाख ५२ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू ६० ले बढेर रू १ हजार ९ सय २५ कायम भएको छ ।
रौतहट: बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । जिप अनियन्त्रित भई रुखमा ठोकिएको थियो । दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको प्रहरी नायब राईले जानकारी दिनुभयो । मृतकहरूको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो । दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
दाङ: घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताउनुभयो । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उहाँले बताउनुभयो ।“अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ”, सञ्चालक गौतमले भन्नुभयो । साढे ७ सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने उहाँले बताउनुभयो । छिट्टै सञ्चालनमा आउन लागेकोे जीपलाइनसँगै स्काई साइक्लिङ पनि हुनेछ । स्काई साइक्लिङ भने एक सय ५५ मिटर लामो रहने छ । घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन र स्काई साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उहाँ बताउनुहुन्छ । हालसम्म रु एक करोड बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ । घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो । जीपलाइनका लागि रु १ हजार ८ सय ५० शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताउनुभयो ।
पोखरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको आज (आयोजित पत्रकार सम्मेनल मार्फत जानकारी दिइएको हो । कास्की जिल्ला कमिटीका अध्यक्ष सन्तोष पोख्रेलले विद्यार्थीहरुलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । पृथ्वीनारायण क्याम्पसमा २ दिन चल्ने महोत्सवमा शैक्षिककार्यक्रमदेखि विविध सांगीतिक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए । उनका अनुसार महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै अनुसन्धान र विकासमा विश्व विद्यालय विषयमा अन्तरसंवाद हुनेछ । यस्तै चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र लाइभ कन्सर्ट हुनेछ । यस्तै दोस्रो दिन पर्यटन र पोखरा विषयक अन्तरसंवाद हुनेछ । यसैगरी कविता प्रतियोगिता, चित्रकला, अन्तरसंवाद कार्यक्रम (स्थानीय सरकार), सांस्कृतिक नृत्य प्रतियोगिता, पुरस्कार वितरण तथा लाइभ कन्सर्ट हुनेछ । लाइभ कन्सर्टतर्फ डिमर्चा ब्याण्ड, देउराली ब्याण्डको प्रस्तुती रहनेछ भने, रचना रिमाल (२६ गते) र टुकीको पनि प्रस्तुती रहनेछ । महोत्सव पिएन क्याम्पसको साइन्स बिल्डिङ परिसरमा आयोजना हुने अनेरास्ववियु कास्कीले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ः०० बजे सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो । गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ ।
सुनसरी: धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान, इटहरी, विराटनगरलगायत पूर्व क्षेत्रका साथै पोखरा र काठमाडौँबाट पनि गल्फ खेल्न आउने गरेका छन् । हाल यहाँ विभिन्न ठाउँबाट दैनिक ४० देखि ५० भन्दा बढी गल्फ खेल्न आउने गरेका क्लबका अध्यक्ष हरिबहादुर राईले बताउनुभयो । उहाँका अनुसार क्लबमा अहिले ८० जना सदस्य आबद्ध हुनुहुन्छ । सन् १९६२ मा स्थापना भएको उक्त गल्फ कोर्सले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको राईको भनाइ छ । क्लबमा २०७३ सालदेखि गल्फ खेल्दै आउनुभएका खेलाडी जीतेन्द्र राई ‘सिङ्गल हेण्डी क्याप’ खेलाडीका रूपमा सक्रिय हुनुहुन्छ । सुरुमा स्वास्थ्यका लागि खेलेको बताउँदै उहाँले अहिले यसको अनिवार्य अभ्यास गर्ने सोख बसेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विशेषगरी यो खेल मैले स्वास्थ्यका लागि लिएको हुँ । यो खेल खेल्न त्यति सजिलो भने छैन । सिक्नका लागि लामो समय लागे पनि यो खेल ‘जिरो इञ्जोर’ खेल भएकाले यसमा रमाइरहेको छु ।” आफूले गल्फ खेल्न थालेपछि विभिन्न टुर्नामेन्टमा सहभागी भएर उपाधिहरू पनि जितेको जीतेन्द्रले जानकारी दिनुभयो । प्रोफेसनल गल्फ नेपाल एशोसिएसनले गरेको टुरमा आफू सिङ्गल हेण्डी क्याप भएकाले ‘स्टण्डसाइड’को खेलाडी भएर ‘टिम इभेन्ट’मा प्रथम स्थान हासिल गरेको उहाँले बताउनुभयो । पछिल्लो समय गल्फ आयआर्जन गर्ने प्रभावकारी माध्यम बन्दै गएकाले पनि खेलाडीको आकर्षण बढेको उहाँको बुझाइ भनाइ छ । धरानमा ब्रिटिश क्याम्प स्थापना भएपछि क्याम्पभित्र सन् १९६२ मा १८ होलको गल्फ कोर्स बनेको उक्त कोर्सका सदस्य राजु राईले जानकारी दिनुभयो । धरान लाहुरेको सहर भनेर पनि चिनिने भन्दै धरान गल्फ क्लब ब्रिटिसको संस्था नोफिल गिफ्टले स्थापना गरेपछि ब्रिटिस लाहुरेलाई सन् १९६२ हस्तान्तरण गरेको उहाँले बताउनुभयो । “सन् १९८९ जुलाईमा ब्रिटिस लाहुरेले क्याम्प छोडेपछि गल्फ कोर्स क्लब विस्थापित भयो”, राजुले भन्नुभयो, “विस्तारै धरानका स्थानीयहरू गल्फप्रति आकर्षित हुँदै गएपछि नयाँ सदस्य बनाएर पुनःसञ्चालन गरिएको हो ।” गल्फ खेलले धरानमा आन्तरिक र बाह्य पर्यटन भित्र्याउनमा महत्वपूर्ण भूमिका खेलिरहेको उहाँको दाबी छ । सदस्य राजुले यहाँ अहिले धेरैजसो विदेशी पर्यटक गल्फ खेल्न आउने गरेका जानकारी दिनुभयो । इङ्ग्ल्याण्ड, इटाली, फ्रान्स, अष्ट्रेलिया, सिङ्गापुर, युकेलगायत देशका पर्यटक यहाँ गल्फ खेल्न आउने गरेका उहाँले बताउनुभयो । राजुले भन्नुभयो, “नेपालमा गल्फ कोर्स क्लब थोरैमात्रामा छन्, जसमा पूर्वमा धरानमा मात्र रहेको गल्फ कोर्स पूर्वको गहना जस्तै बनेको छ । यहाँ सबैभन्दा सस्तोमा खेल खेलाइँदै आइएको छ ।” उहाँले गल्फको विकासमा सरकारले ध्यान दिन आवश्यक रहेकामा जोड दिनुभयो । गल्फ खेल स्वास्थ्यका लागि लाभदायी मानिन्छ । शान्त रूपमा खेलिने भएकाले यो खेललाई ‘माइन गेम’ भनेर चिन्ने गरिन्छ । गल्फ खेल्दा शारीरिक र मानसिक स्वास्थ्यमा फाइदा पुग्ने खेलाडीहरूको अनुभव छ । खेलाडी राजुले गल्फ खेल्दा ढाड दुख्ने, जोर्नी नसासम्बन्धी बिरामीका लागि लाभदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “गल्फ खेल्न अरु खेल जस्तो उमेरको हदबन्दी रहँदैन । सबै उमेर समूहकाले यो खेल खेल्नु लाभदायक हुन्छ ।” विसं २०८० फागुनमा धरान गल्फ कोर्समा ‘ड्राइभिङ रेञ्ज र पार्किङस्थल’ निर्माण गरेपछि प्रभावकारी व्यवस्थापन भएको छ । धरान गल्फ क्लब र नेपाली सेनाको काली शक्ति इञ्जिनियरिङ गणको सहकार्यमा निर्माण गरिएको ड्राइभिङ रेञ्ज र पार्किङले यहाँ आउने खेलाडीको व्यवस्थापनमा सहज बनाएको क्लबका सदस्य राजुले बताउनुभयो । क्लबका अध्यक्ष हरिबहादुर राईले नेपालमा पनि गल्फ उत्कृष्ट खेलका रूपमा विकास हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “गल्फ खेल्नका लागि विभिन्न ठाउँबाट धरान आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।”

