म्याग्दी: भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकामा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन भएको छ । नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । “भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमा विशेषज्ञ सहितको सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “प्रयोगशालाका सामग्री, उपकरण, औषधि र चिकित्सकसहितको टोली गाउँ गाउँमा पुगेका छन् ।” कार्यक्रममार्फत चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा प्रदान गरिने धवलागिरिका स्वास्थ्य शाखाका प्रमुख सम्झना खाती कार्कीले बताउनुभयो । मुटु, मिर्गौला, मधुमेह, उच्चरक्तचापलगायत रोगीहरुलाई पहिचान गर्ने र उनीहरुलाई निःशुल्क औषधि वितरण गरिने उहाँले बताउनुभयो । कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा मङ्गलबार भएको शिविरमा एक सय आठजनाले सेवा लिएका थिए । बुधबार वडा नं ४ मुदीमा शिविर सञ्चालन गरिएको छ । बेनी अस्पतालका चिकित्सक डा रामु सापकोटा, समीर भण्डारीसहितको टोलीले सेवा दिएको छ । धवलागिरि गाउँपालिकामा सातवटा वडा छन् । सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
तनहुँ: तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष रु ३ करोड बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ । स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट रु ३ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताउनुभयो । लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखभन्दा बढीको सुन्तला बिक्री हुने उहाँले जनकारी दिनुभयो । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताउनुभयो । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँका कृषकले सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय सुन्तलामा विभिन्न किसिमका रोग देखिँदा कृषक भने चिन्तित छन् ।” सोही वडाका स्थानीय जितबहादुर थापाका अनुसार रोग नलागेको भए रु ३ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान थियो । उहाँले भन्नुभयो, “रु ३ करोडको सुन्तला बिक्री हुने अनुमान छ, तर रोग नलागेको भए अझै धेरै बिक्री हुन्थ्यो होला ।” यहाँ करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन भए पनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुँदै आइरहेको छ । नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या हुने कृषक बताउँछन् । लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट तथा मुग्लिङ नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् । छापस्वाँरा र दगराका कृषकले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् ।नाल्दी र गाइघाटमा पुल नहुँदा ढुवानी खर्च महङ्गो हुने गरेको कृषक हरिकुमार श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँका स्थानीयले सुन्तला, अदुवा, केरा तथा अन्य फलफुल रोपवेबाट नै राजमार्गसम्म झार्ने गरेका छन् ।गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट तीन तिरबाट नदीले घेरिएको र उक्त ठाउँमा पुल नहुँदा समस्या भइरहेको बताउनुभयो ।
हुम्ला: हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । सर्केगाड–मारघोर सडकको ‘ट्र्याक’ खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते हुनुभएको थियो । दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उहाँको आज बिहान मृत्यु भएको उहाँका आफन्त रेशमराज रोकायाले बताउनुभयो । सर्केगाड–मारघोर खण्डको ट्र्याक खोल्ने जिम्मा श्रेया कन्स्ट्रक्सनले पाएको थियो । प्रदेश ०३–०१००३ क ६२४९ नंको स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज कँडेलले बताउनुभयो । जुम्ला गुठीचौकर गाउँपालिका–१ चुत्रा घर भएका ३६ वर्षीय स्काभेटर चालक लाक्पा महतारालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ । चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी आयोजना गरिएको हो । उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न सञ्चारमाध्यममा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक प्राकृतिक सम्पदा, पर्यटन क्षेत्र, कलासंस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिब एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनीमा राखिनेछ । सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे०का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रदर्शनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको छ । सान्तोङ प्रान्तका पूर्वउप–प्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह (नेपाल) र विन्जाओ फोटोग्राफर एसोसिएसनबीच सांस्कृतिक तथा व्यावसायिक फोटोग्राफीसम्बन्धी सामग्र्री आदानप्रदानमा सहकार्य गर्ने सम्झौता भएको एनएफपिजेका केन्द्रीय अध्यक्ष वन्तले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै विन्जाओका परराष्ट्र मामिला निर्देशक पाइमिईले फोटोग्राफीमार्फत नेपाल–चीनको मैत्रीसम्बन्ध बलियो बनाउनाका साथै चीनको वान बेल्ट वान रोडको अवधारणालाई पनि सहयोग पुग्ने बताउनुभयो । एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण सान्तोङ प्रान्तमा नेपालको मनमोहक फोटोहरू प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताउँदै फोटो प्रदर्शनीका माध्यमबाट २ देशबीचको सम्बन्ध थप सुमधुर बन्नाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: नियात्राकार, लेखक, संस्कृतिकर्मी, चित्रकार, साहित्यकार एवं सञ्चारकर्मी तिलक प्रसाद पुन पुर्जाको चौँठो कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्धारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार लोकार्पण गर्नुभएको हो। पुस्तकको लोर्कपर्ण गर्दै नगर प्रमुख आचार्यले पुर्जाद्वारा लिखित पुस्तकले नेपाली कलाकारिताको क्षेत्रमा क्रियाशील सुरकर्मीहरूलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका कला, साहित्य र सृजनाको विकास, प्रवद्र्धन र उन्नयनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रकृति मानव केन्द्रित जनअभियान नेपालका अध्यक्ष कृष्ण गौतमले पुर्जालाई प्रकृतिको नजिक रहेर साहित्यिक रचनामा तीक्ष्ण क्षमता राख्ने सर्जकका रूपमा उल्लेख गर्नुभयो । प्रकृति प्रतिको लेखक पुर्जाको समर्पण उदाहरणीय रहेको उहाँले बताउनुभयो । लेख तथा रचना मार्फत वातावरण प्रति सचेतना जगाउने सन्दर्भमा पुर्जा जस्ता सर्जकहरूको योगदान उल्लेखनीय रहेको गौतमले बताउनुभयो । ४६ जना सुरकर्मीहरूको कलाप्रतिको योगदान, संघर्ष र जीवनी बारेमा लेखिएको पुस्तक माथि प्रेस स्वतन्त्रता सेनानी बद्रिबिनोद प्रतिकले टिप्पणी सहित विवेचना र प्रेस स्वतन्त्रता नवराज सुवेदीले स्रष्टा परिचय राख्नु भएको थियो । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीका अध्यक्ष रुद्र बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, लेखक पुर्जा र समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल लगायतले पुर्जाको कृतिका बारेमा बोल्नु भएको थियो। यसअघि पुर्जाका लोकसंस्कृतिका सुसेलीहरू, बस्ती भित्र र साइनो नामका पुस्तकहरू प्रकाशित भइसकेका छन् । पुर्जाले सामाजिक, सांस्कृतिक र समसामयिक विषयवस्तुहरूमा कलम चलाउने गर्नुभएको छ । लामो समयदेखि पत्रकारितामा समेत क्रियाशील पुर्जा भुइमान्छेहरुको पक्षमा कलम चलाउन रुचि राख्नुहुन्छ ।
काठमाडौं: उपसभामुख इन्दिरा राना मगरले अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले आज यहाँ आयोजना गरेको ‘अपाङ्गता भएका बालबालिकाको निःसंस्थागतकरण, नीति र अभ्यासमा समावेशी गुणस्तरिय शिक्षा तथा अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगसम्बन्धी’ संवाद कार्यक्रममा अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन बनाउनुपर्नेमा उपसभामुख राना मगरले जोड दिनुभयो । उहाँले स्थानीय तहबाट नै अपाङ्गता बालबालिकाका मैत्री कानुन बन्नुपर्ने बताउनुभयो । शिक्षा विधेयक समावेशी बनाउन आफूले भूमिका खेल्ने उपसभामुख राना मगरको भनाइ थियो । अपाङ्गता भएका बालबालिकासम्बन्धी बनेका नीतिलाई कार्यान्वयन गर्न सबैले दबाब दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले अपाङ्गता भएका बालबालिकाको पहुँच शिक्षामा समग्ररुपमा अरु बालबालिका जस्तै पुर्याउनुपर्नेमा जोड दिँर्दै उपसभामुख राना मगरले बालबालिकाका लागि समावेशीकरण नीति बन्नुपर्ने बताउनुभयो । विश्व नै समावेशीको कुरा गरिरहेको बेला हामीले समानताको नीति बनाएर अभ्यास गर्नुपर्ने उहाँको भनाइ थियो । अपाङ्गता भएका बालबालिकाको शिक्षा र हेरचाह गर्न छुट्टै जनशक्ति उत्पादन गर्नुपर्ने उपसभामुख राना मगरले बताउनुभयो । कार्यक्रममा परिषद्का अध्यक्ष बमबहादुर बाँनियाले अझै पनि अपाङ्गता भएका व्यक्तिका लागि नीति बने पनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले अपाङ्गता भएका बालबालिकामाथि सरकारले लगानी गरेमात्र बालअधिकार सुनिश्चित हुने बताउनुभयो । कार्यक्रममा नीति र अभ्यासमा समावेशी गुणस्तरिय शिक्षासम्बन्धी प्रस्तुतिकरण गदै शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक सविता दङ्गालले ३३ विशेष र २३ एकीकृत विद्यालयबाट करिब ३३ हजार अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले अपाङ्गमैत्री पाठ्यक्रम बनाउने काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले करिब १ हजार ३ सय विद्यार्थीलाई बे्रललिपीका पाठ्य सामग्री उपलब्ध गराएको छ । यस्तै केन्द्रका अधिकृत दीपक माझीले अपाङ्गता जाँच उपकरणको संस्थागत प्रयोगका सम्बन्धमा प्रस्तुतिकरण गर्दै अझै पनि अपाङ्गता भएका व्यक्तिलाई सबै उपकरण पुर्याउन नसकेको बताउनुभयो । करिब १० हजार ८ सय ८२ अपाङ्गता भएका बालबालिका वैकल्पिक स्याहार केन्द्रमा रहेको परिषद्का अध्यक्ष बाँनियाले जानकारी दिनुभयो ।
म्याग्दी: सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सडक स्तरोन्नति तथा कालोपत्रका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो । आगामी चैतमा उक्त ठेक्का सम्झौताको समयावधि सकिँदै छ ।विसं २०५६ मा ट्र्याक खोलिएको बेनी नगरपालिका–१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो । अहिले सडक चक्लाउने, पर्खाल लगाउने, नाली बनाउनेलगायत काम भइरहेको र दैनिक ४० जनाले काम गरिरहेका सडक कार्यालयका इन्जिनियर अरुण सेढाइँले जानकारी दिनुभयो । सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किमी आरसिसी ढलान गर्ने उहाँको भनाइ छ । “अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ, ठेक्का अवधि सकिन चार महिना मात्र बाँकी छ, सयममा नै बजेट प्राप्त भए पुसमा ग्राभेल गर्ने, माघमा बेस बिछ्याउने र फागुनदेखि कालोपत्रको काम गर्ने योजना हो”, सेढाइँले भन्नुभयो । घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि भइरहेको सेढाईंले बताउनुभयो । सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक÷एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०÷४० करोड विनियोजन गरेको थियो । भकुण्डे तथा उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नाली निर्माण गर्ने काम सकिएको छ । पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दूरीमा पर्ने बेनी–३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किमी तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।
काठमाडौं: दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलले सैनिक शासनको घोषणा गरेको विषयमा अनुसन्धान तीव्र रुपमा भइरहेका बेला प्रहरीले बुधबार उहाँको कार्यालयमा छापा मारेको छ। जेल प्रशासनका अनुसार देशका पूर्व रक्षामन्त्रीले डिसेम्बर ३ को रातिको घटनालाई लिएर औपचारिक रुपमा पक्राउ पर्नुभन्दा केही समयअघि आत्महत्याको प्रयास गर्नुभएको छ । सैन्य शासन लागु भएपछि सेना र हेलिकप्टरहरू संसद्मा पठाइ सांसदहरूलाई यूनको सैन्य कानून घोषणालाई मतदान गर्नबाट रोक्नको लागि प्रयास गरिए पनि विपक्षी गठबन्धनले सेनाको घेरालाई तोड्दै संसद्मा राष्ट्रपतिविरूद्ध महाभियोगको प्रस्ताव दर्ता गरिएको थियो । दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रिय सभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ । विज्ञप्तिमा छापापछिको विकासक्रमको बारेमा थप विवरण दिइएको छैन । यसैबीच, पूर्व रक्षामन्त्री किम योङ ह्युनले हिरासतमा रहँदा मङ्गलबार मध्यरातमा आत्महत्याको प्रयास गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । किमलाई पहिलो पटक आइतबार पक्राउ गरिएको थियो । उहाँलाई औपचारिक रूपमा पक्राउ गर्नुभन्दा केही समयअघि नै उहाँले आत्महत्याको प्रयास गरेको न्याय मन्त्रालय र जेलका एक अधिकारीले बताएका छन् । बुधबार उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको प्रहरीले जनाएको छ । किमलाई ‘सैनिक कानून घोषणा गर्न महत्वपूर्ण भूमिकामा संलग्न भएको’ र ‘नागरिक अधिकारको प्रयोगमा बाधा पु¥याउन पदीय मर्यादाको दुरुपयोग गरेको’ आरोपमा पक्राउ गरिएको थियो । पूर्व रक्षामन्त्रीले आफ्ना वकिलहरूमार्फत भन्नुभएको छ, “यो स्थितिको सम्पूर्ण जिम्मेवारी ममाथि मात्र छ र मातहतका कर्मचारीहरूले मेरो ९रक्षामन्त्री०को आदेशको पालना गर्दै आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । उहाँलाई पूर्वगृहमन्त्री र ‘मार्शल ल’ कार्यान्ववयनको जिम्मेवारीमा रहेका जनरलसँगै यात्रा प्रतिबन्ध लगाइएको थियो । कोरियाली राष्ट्रिय प्रहरी एजेन्सीका आयुक्त जनरल चो जि–हो र सियोल महानगरीय प्रहरी कार्यालयका प्रमुख किम बोङ सिकलाई पनि बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । –घोषणामा के थियो – “उत्तर कोरियाली कम्युनिस्ट शक्तिले निम्त्याएको खतराबाट जोगाउन र जनताको स्वतन्त्रता र सुखलाई लुट्ने राज्यविरोधी तत्वलाई नियन्त्रणका लागि नागरिक शासन निलम्बन गरिएको हो,” युनले घोषणाका क्रममा भन्नुभएको थियो । उहाँको घोषणा कोरियाली जनताको विरोधका सामु लामो समय टिकेन र ‘मार्शल ल’ लागु भएको घोषणा भएको केही घण्टापछि उहाँले आफ्नो निर्णय फिर्ता लिनुभएको थियो । राष्ट्रपतिको घोषणासँगै सेनाप्रमुख जनरल पार्क आन–सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, ‘गलत प्रचार’, हडताल र ’सामाजिक अशान्ति भड्काउने जमघट’ माथि प्रतिबन्ध लगाइएको थियो । घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजिनामा दिनुभएको थियो भने उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो । घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बनपछि अनुसन्धान थालिएको छ ।
बागलुङ: निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको प्रवर्द्धन र बजारीकरणमा जोड दिन थालेको छ । चालु आर्थिक वर्षदेखि आलु र भाङको प्रवर्द्धन गरेर किसानलाई तत्कालै आम्दानीसँग जोड्ने योजनासहित गाउँपालिकाले बजारीकरण गर्न थालेको हो । निसीखोला गाउँपालिकाका अधिकांश ठाउँमा आलु फल्छ । स्थानीय जातको आलु स्वादिलो हुने भएकाले काठमाडौँ, पोखरा, बुटवल र भैरहवामा यहाँको आलु पुग्ने गरेको स्थानीय बताउँछन् । परम्परागत रूपमा गाउँपालिकाको उपल्लो क्षेत्रमा बर्खे र तल्लो क्षेत्रमा हिउँदे आलुको खेती हुँदै आएको छ ।ताराखोला र ढोरपाटनमा फल्ने आलु चर्चामा बढी छ घने निसीको भाङ चर्चित रहेको निसीखोला गाउँपालिकाको कृषि शाखाले जनाएको छ । पूर्वमा ताराखोला र पश्चिमका सहरमा ढोरपाटनको आलुको बढी चर्चा हुने गरेको छ । निसीखोलाका किसानले पनि हरेक वर्ष सयौँ किलो आलु बजार पुग्नेगरी उत्पादन गरे पनि प्रचारप्रचार र प्रवर्द्धनको अभावले अन्य गाउँको जस्तो चर्चा नपाएकाले यहाँ उत्पादित आलु र भाङको बजारीकरणमा जोड दिइएको कृषि शाखाका प्रमुख भक्तिप्रसाद रेग्मीले बताउनुभयो । रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बीउ लगाउने भएकाले निसीको आलुले बजार पाउनेमा गाउँपालिका विश्वस्त रहेको उहाँको भनाइ छ । चालु आवदेखि आलु र भाङको प्रवर्द्धन गर्दै किसानलाई प्रत्यक्ष रूपमा आम्दानीसँग जोड्ने पालिकाले योजना बनाएको शाखाका प्रमुख रेग्मीले बताउनुभयो । “यहाँ प्रशस्त भाङ उत्पादन हुन्छ, एक पटक स्वाद पाएकाले खोजेर लैजानुहुन्छ”, रेग्मीले भन्नुभयो, “यहाँको भाङ र आलु निसी बाहिरका मानिसलाई पनि चखाउने र बिक्री गर्ने योजना बनाएका छौँ ।” पालिकाले किसानलाई ज्ञान, सीप, प्रविधि र बजारीकरणमा सहयोग गर्दै कृषि उपजबाट आम्दानीसँग जोड्ने योजना अघि सारेको उहाँले जानकारी दिनुभयो । बागलुङमा बढी उत्पादन हुने भाङको केही हिस्सा निसीका किसानले ओगटेका छन् । आर्थिक आम्दानी पनि हुने र स्वाद पनि हुने भएकाले यहाँका किसानले पाखोबारी बाँझो नराख्न भाङ खेती गर्दै आएका रेग्मीले बताउनुभयो । बारीमा लगाएको आलुले जेठ, असारमा फसल लिइन्छ । आलु उकेरेपछि खाली बारीमा सिमी र भाङ लगाइने भन्दै पुनः अर्को पटक आलु लगाउने समयसम्म फसल लिन सकिने उहाँको भनाइ छ । जिल्लाको ताराखोला, निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका अधिकांश बारीमा भाङ उत्पादन हुने गरेको छ । सरकारले प्रतिबन्ध लगाएको लागुऔषधजन्य उत्पादन हुने गाँजा प्रजातिको रूखमा भाङ फल्छ । बागलुङका उच्च पहाडी भू–भागमा भाङको उत्पादन बढी हुने भए पनि यसको व्यावसायिक बजार नहुँदा किसान मर्कामा पर्दै आएका छन् ।

