काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

ललितपुर:    उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य १ हुनुपर्ने बताउनुभएको छ ।   ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले आवश्यक नीतिगत तथा कानुनी व्यवस्थासहित भ्रष्टाचार अन्त्यका पक्षमा वर्तमान सरकार क्रियाशील रहेका बताउनुभयो ।   “भ्रष्टाचार एउटा सङ्गठित अपराध हो, यसले घूसखोरी र आर्थिक अनुशासनलाई बढावा दिएर मुलुकको विकासलाई सुस्त बनाउँछ, निर्वाचन प्रणालीलाई प्रभावित गरी राजनीतिक अस्थिरता बढाउँछ, भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रणका पक्षमा राज्य निर्मम र कठोर हुनुपर्दछ भन्ने मान्यताका साथ सरकारले काम गरिरहेको छ ।”  उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो, प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरुप पनि जटिल बन्दै गएको छ, राज्य अझ बढी सक्रिय हुन जरुरी छ, भ्रष्टाचारको अन्त्य गरी सुशासन सहितको सभ्य समाज निर्माणका लागि राज्य संयन्त्र अन्तर्गतका जिम्मेवार सबै अधिकारीहरु १ भई अघि बढ्नु पर्दछ ।”   संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनका आधारमा भ्रष्टाचारको विषय गम्भीर देखिएकाले त्यसको नियन्त्रणका लागि सम्बद्ध सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।  राज्य संयन्त्र अन्तर्गतका महत्वपूर्ण निकायमा विचौलिया हाबी हुने गरेकाले सुशासन  कायम हुन नसकेको उल्ल्ेख गर्दैै आवश्यक नियम कानुन तर्जुमा गरी भ्रष्टाचार अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।   प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जुनसुकै संस्थाको पनि नेतृत्व गर्ने व्यक्ति इमानदार भयो भने सदाचार कायम हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।  उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित २ विधेयकमाथि छलफल गरी यथासक्य छिटो समितिमा आएका छन् ।  “भ्रष्टाचार विश्वव्यापी समस्या हो, भ्रष्टाचार अन्त्यका लागि सक्दो प्रयास गरेका छौँ, अख्तियारसँग सम्बन्धित दुईवटा विधेयक समितिमा आएका छन्, ढिला नगरी छिट्टै पास गरी पठाउँछौँ”, सभापति खतिवडाले भन्नुभयो ।     अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन अभिवृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संसद्मा रहेका भ्रष्टाचार विरुद्धको ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनसम्बन्धी विधेयक यथासक्य छिटो पारित हुने विश्वास विश्वास व्यक्त गर्नुभयो ।  “अख्तियारले विकास र सुशासनका पक्षमा सुधारात्मक नीति लिएको छ, आयोगमा उजुरी पर्ने क्रम बढ्दो अवस्थामा छ, भ्रष्टाचार नियन्त्रण तथा रोकथाममा सार्वजनिक निकायहरु सबल र सक्षम हुनुप¥यो, भ्रष्टाचार न्यूनीकरणका लागि राज्यको तीनै तहले ध्यान दिनुपर्ने छ”, प्रमुख आयुक्त राईले भन्नुभयो ।     ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण श्रेष्ठले भ्रष्टाचारसँग सम्बन्धित समस्या दिनानुदिन बढ्दै गएको भनी चिन्ता व्यक्त गर्दै भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा समग्र राज्य एक हुनुपर्नेमा जोड दिनुभयो ।   मुख्यसचिव एकनारायण अर्यालले भ्रष्टाचारजस्तो जघन्य अपराध कुनै १ राष्ट्रको सीमाभित्र मात्रै सीमित नहुने धारणा व्यक्त गर्दैै भ्रष्टाचार नियन्त्रणका लागि सरकारी, सार्वजनिक, निजी क्षेत्रका साथै नागरिक समाजका बीच सहयोग र सहकार्य हुन आवश्यक रहेको बताउनुभयो ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणीन्द्र गौतमले २००५ डिसेम्बर ५ देखि लागू भएको भ्रष्टाचार विरुद्धको कानुन हाल १ सय ९१ वटा राष्ट्रमा लागू भएको जानकारी दिँदै हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिएको बताउनुभयो ।   सन् २००३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको र नेपालले सन् २०११ मा सो महासन्धिलाई अनुमोदन गरेको सो अवसरमा बताइयो ।  

पोखरा:    लेखनाथ नेवा खलको आह्वान एवम् लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव गरिनेभएको छ । आगामी पुस ६ गते पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा यःमरी उत्सव गरिने भएको आज आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवम् कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुुका श्रेष्ठले जानकारी दिनुुभयो ।  नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गरिएको उहाँले बताउनुुभयो । संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उहाँले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्नाका लागि लेखनाथ क्षेत्रमा पहिलोपटक यो उत्सव गर्न लागिएको जानकारी दिनुुभयो ।  उत्सवका क्रममा विशेषतः यःमरीसँगै समयवजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकारहरू उपलब्ध गराइने उहाँले बताउनुुभयो । लेखनाथ नेवा खलःका संस्थापक अध्यक्ष प्रेम लिगलले हाम्रा प्राचीन संस्कार र संस्कृतिहरू हाम्रो सभ्यताका पहिचान भएको बताउँदै यिनीहरूको प्रवद्र्धन गर्दै युवा पुस्तामाझ हस्तान्तरण हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो ।  यःमरी पुन्हीका अवसरमा खाइने नेवारी परिकार यःमरीको नेवारी संस्कृतिमा विशिष्ट महत्व रहेको उहाँको भनाइ छ । गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले प्राचीन कालदेखि लेखनाथका विभिन्न स्थानमा नेवार समूदाय बस्दै आएको बताउँदै हाल लेखनाथका विभिन्न नौवटा इकाईमा नेवाःसमूदाय संगठित बनेको जानकारी दिनुुभयो । लेखनाथ क्षेत्रमा मात्रै करिब २४५ घरधुरी नेवार समूदायको रहेको उहाँले बताउनुुभयो ।      लेखनाथ नेवा मिसा पुचका अध्यक्ष मीना श्रेष्ठको अध्यक्षता एवम् सचिव संगीता श्रेष्ठले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष पवित्रा श्रेष्ठले गर्नुुभएको थियो । लेखनाथ क्षेत्रमा नै पहिलोपटक गरिएको यो उत्सव नेवाः संस्कृतिको जगेर्नाका साथै पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।   

ढोरपाटन:    आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका  अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए ।  बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो हातमा थमाए ।       कलिलो सागको मुठा पाएपछि अतिथिहरु मुस्काउन थाले । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको साग दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए ।  आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको रायो साग कासेलीका रुपमा दिएको वडा अध्यक्ष गौतमले बताउनुभयो ।       वडा नम्बर ११ स्थित रायडाँडा, तमाखुबारी र धारापानीका किसानले उत्पादन गरेको सागलाई खरिद गरी मायाको चिनोको रुपमा दिएको अध्यक्ष गौतमको भनाइ छ । वर्षौँदेखि यहाँका किसानले रायो साग बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि मायाको चिनो साग हालेर दिइएको अध्यक्ष गौतमले बताउनुभयो ।      गौतमले भन्नुभयो, “रायो साग त हाम्रो वडाको पहिचान हो, यहाँ उत्पादन भएको रायोको साग अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले रायडाँडालाई साग उत्पादनको ‘हब’ हो भनी चिनाउन जरुरी छ, त्यसले गर्दा हामीहरुले बाहिरबाट आउने पाहुनालाई कोसेली तथा उपहारका रुपमा साग दिने गछौँ ।”      बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले वडा नम्बर ११ ले राम्रो कामको सुरुवात गरेको बताउनुभयो । मायाको चिनोमा फजुल खर्च गर्ने प्रचलन चलेको बेला यस वडाले आफ्नो पहिचान बोक्ने चिजलाई उपहार दिन सुरुवात गरेको भन्दै अन्य ग्रामीण क्षेत्रका नागरिकले स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिन आवश्यक रहेको बताउनुभयो ।       बागलुङ नगरकै सबैभन्दा दुर्गम वडाका रुपमा रहेको रायडाँडा कृषिमा निकै सम्भावना बोकेको भन्दै पालिकाले यहाँका किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइरहेको बताउनुभयो । 

काठमाडौं:    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।  अर्थ मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त तथा निजी क्षेत्रमा लगानी परिचालनलगायतका विषयमा छलफल भएको हो । “नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानको विषयमा छलफल भयो । अमेरिकी सहयोगमा एमसिसी, युएसएआईडिलगायतका कार्यक्रमबाट सञ्चालित परियोजनाको कार्यान्वयनका सम्बन्धमा पनि छलफल भयो”, अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले भन्नुभयो, “अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसी)बाट नेपालको निजी क्षेत्रमा पनि लगानी भइरहेकामा त्यसलाई अझ कसरी प्रभावकारी बनाउन र विस्तार गर्न सकिन्छ तथा नेपालमा थप पुँजी कसरी भित्र्याउन सकिन्छ भन्नेबारे उहालेँ चाँसो देखाउनुभएको छ । यसमा हामीले निजी क्षेत्रबाट  लगानीलाई प्रोत्साहन गर्न सरकारको तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाएका छौँ ।” अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न मन्त्री लुलाई आग्रह गर्नुभयो । अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले  अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी दिनुभयो ।

कञ्चनपुर:    बेलौरी नगरपालिका(६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपन्छीका प्रजाति आइपुग्छन् ।  विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी आइतबार मात्रै ताल क्षेत्रमा आइपुगेका हुन् ।चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड यहाँ आइपुगेको हो ।  तालमा यसअघिनै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँसलगायत पुगेका छन् । घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ ।  यसको तौल तीनदेखि पाँच किलोसम्म हुने गर्दछ । सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, पङ्खको रङ खैरो हुने कलहाँस जलपन्छीमा सुुन्दर पन्छीका रुपमा रहेको छ ।  सेतो पुच्छर र पछाडिको छेउको साथ सादा, खैरो(खैरो हुन्छन् । माथिल्लो भाग गाढा खैरो, टाउको, घाँटी हल्का खैरो र तल्लो भाग सेतो रङको हुन्छ ।  “कलहाँस ताल क्षेत्रमा पुगेपछि रौनकता छाएको छ”, चरा संरक्षणकर्मी सुवन चौधरीले भन्नुभयो, “यस पन्छीले लस्करै जलविहार गरेको दृश्य मनमोहक हुने गरेको छ ।”    उहाँका अनुसार कलहाँसले आहारका रुपमा सीमसार क्षेत्रमा उपलब्ध हुने घाँसलाई पूरै जरासहित खाने गर्दछन् । प्रजनन समयमा यस हाँसले सिमसार क्षेत्रमा गुँड बनाई बच्चा कोर्लने गर्दछ ।  शिकारका लागि ताल क्षेत्रमा विषादी राखेर मार्ने गरिएकाले यसको सङ्ख्या भने घट्दो छ । साइबेरिया, युरोपलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि बसाइँसराइ गरी आइपुग्ने कलहाँस गर्मी सुरु हुनअगावै पुरानै ठाउँमा फर्कने गर्दछन् । चिसो छल्न र जलविहारका लागि मात्रै प्रवासी पन्छी यहाँ आउने गरेका छन् । प्रजननको समय सुरु हुनअगावै फर्कने गरेका छन् । जल पन्छीका लागि आश्रयस्थलका रुपमा रहेका तालतलैया र सिमसर क्षेत्रलाई संरक्षण गर्नुपर्ने चराविज्ञ हिरुलाल डगौरा बताउनुहुन्छ ।  “सिमसार क्षेत्र मासिँदै जाँदा प्रवासी पन्छी आउने क्रममा केही वर्षदेखि कमी देखिएको छ”, उहाँले भन्नुभयो, “जल पन्छीको जलविहार गर्ने जलाधार क्षेत्रलाई संरक्षण गर्नु सबैको दायित्वभित्र पर्दछ, सिमसार क्षेत्रलाई चरा पर्यटनका रुपमा विकास गर्न सकिन्छ, यसका लागि स्थानीय तहले चासो देखाउनुपर्छ ।”  

पर्सा:     भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुग्नुभएको छ । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उहाँ महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आउनुभएको हो । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ ।       “केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ”, दर्शनार्थी यादवले भन्नुभयो, “परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरुको उल्लेख्य मात्रामा हुनुहुन्छ ।” बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ ।  पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरुको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् ।      गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई मेलामा दशनार्थीहरुको सहभागिता अत्यधिक रहेको बताउनुभयो ।  “विगतका वर्षमा जस्तै यसपालिको पञ्चवर्षीय गढीमाई मेलामा श्रद्धालु भक्तजनको उपस्थिति निकै बाक्लो छ”, उहाँले भन्नुभयो, “सम्भवत् महिनाभरिको मेलामा करिब एक करोडभन्दा धेरै दर्शनार्थीहरु उपस्थिति हुने अपेक्षा राखेका छौं ।” जसमा भारतीय पर्यटकको हिस्सा ६० प्रतिशत र स्वदेशी पर्यटकको ४० प्रतिशतको हाराहारीमा हुने अनुमान छ ।            गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म नै अत्यधिक भीडभाड र घुइँचो छ । अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ ।  कलैयादेखि बरियापुरमा दुई पाङ्गे मोटरसाइकल, तीन पाङग्रे अटोरिक्सा, ई–रिक्सा, जीप, कार, भ्यान, बस, मिनीबस, ट्रकलगायतका सवारीसाधनमा चढेर मन्दिरको दर्शन गर्न आउनेको घुइँचो देखिन्थ्यो । ग्रामीण भेगका दर्शनार्थीहरु ट्र्याक्टर रिजर्भ गरेर आउने गरेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक निलु दुवलले गढीमाई पञ्चवर्षीय मेलामा सवारीसाधनको भीडभाड अत्यधिक रहेको बताउनुभयो ।  “दिनरात जुनसुकै बेलामा पनि दर्शनार्थीहरुको उपस्थित भइरहनुभएको छ”, उहाँले भन्नुभयो, “पर्याप्त जनशक्ति खटाएर ट्राफिक व्यवस्थापन भइरहेको छ ।” दश हजारभन्दा बढी राँगाबलि      आइतबार विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइएको थियो ।  आइतबार ६ बजेदेखि दिउँसोसम्म राँगा बलि दिइएको थियो । पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिका अनुसार करिब १० हजारभन्दा राँगाको बढी दिइसकेको छ । आज पनि बिहानैदेखि बोका बलि चढाउने काम भइरहेको छ ।

बैतडी:    वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो । उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ । हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो ।

काठमाडौं:    धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।  मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्ड भेटाएका हुन् ।  धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्वीर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गर्नुभएको थियो । साविक मुना गाविसको जङ्गलमा पहिलोपटक रेडपाण्डा भेटिएको स्थानीय पुनले जानकारी दिनुभयो ।  डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बञ्चेडाँडामा भेटिएको उक्त जनावर रेडपाण्डा भएको पुष्टि गर्नुभयो । “भिडियो र तस्वीरका साथै त्यहाँ भेटिएको दिसाका आधारमा म्याग्दीको धौलागिरि क्षेत्रमा रेडपाण्डाको बासस्थान रहेको पुष्टि भएको छ”, उहाँले भन्नुभयो, “रेडपाण्डा संरक्षणका लागि मन्त्रालय र दातृ निकायका परियोजनामा कार्यक्रम प्रस्ताव गर्छौं ।” विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालका अनुुसार यसअघि रेडपाण्डाको बासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन ।  “आठ वर्षअघि लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन”, उहाँले भन्नुभयो, “संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमको प्रभावका कारण रेडपाण्डाको सङ्ख्या वृद्धि भएर देखिन थालेका हुन् ।” रेडपाण्डाका बासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपाण्डाको महत्वबारेमा जानकारी गराइएको थियो ।  रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको महत्वबारेमा जानकारी पाएपछि समुदाय स्तरमा पनि संरक्षणमा चासो बढेको छ ।   गुर्जा, लुलाङ र मुनाको जङ्गलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धाौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र मुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो ।   धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा डिभिजन वन कार्यालय र सङ्घ संस्थासँग समन्वय गरेर सचेतनामूलक अभियान सञ्चालन गरिने बताउनुुभयो ।  “रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौ,” उहाँले भन्नुभयो, “रेडपाण्डा अवलोकनका लागि पर्यटक भित्र्याउने सम्भावना पनि छ ।” रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जङ्गलमा पर्याप्त छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।  पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ ।  विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ । 

काठमाडौं:     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पु¥याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताउनुभएको छ । फोटो पत्रकार क्लब (पीजे क्लब) ले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले फोटो प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासलाई दृश्यमार्फत प्रस्तुत गरिएको र प्रदर्शनीले नेपालको ऊर्जा विकासमा एडीबीको भूमिकालाई स्पष्ट पारेको उल्लेख गर्नुभयो ।      हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष आनन्द चौधरी र कलाकार विजय बराललगायत विशिष्ट व्यक्तित्व, विभिन्न विद्यालय ,कलेज तथा आमसर्वसाधारणले अवलोकन गर्नुभएको थियो ।        नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडीबी र नेपाल सरकारबीच सहकार्य पाँच दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी गरेको हो ।  अवलोकनपछि पत्रकारहरुसँग बोल्दै हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले यस प्रदर्शनीवाट नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पु¥याएको सहयोग र नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एडिवीको कति भूमिका छ भन्ने देखाएको बताउनुभयो ।      स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष आनन्द चौधरीले नेपालको ऊर्जा विकासमा एडिबीको सहयोगको पाटोलाई यस फोटो प्रदर्शनीले देखाएको उल्लेख गर्नुभयो । प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी चार विधामा विभाजन गरिएको छ ।