काठमाडौं ।  अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्...

पोखरा:    जिल्ला कारागार कार्यालय कास्कीमा कैदीबन्दीहरु आन्दोलित भएका छन् ।    कारागारको आन्तरिक चौकीदारमा  आफुहरुको अनुकुल भन्दा बाहिरको मान्छे  नियुक्त गरिएको भन्दै 'क' ब्लकका कैदीबन्दीहरु आन्दोलित भएका हुन् ।   कारागारभित्र आइतबार दिउसोदेखि आन्दोलित कैदीबन्दीहरुले नाराबाज सहित टायर बालेर प्रदर्शन गरिएको थियो । भने, कारागार अगाडी प्रहरीहरु तैनाथ गरिएको छ ।   कारागारको चौकीदारमा कैदीबन्दीहरुको माग बमोजिमको न‍भई असक्षम, अलोकप्रिय चौकिदार नियुक्त गरिएको उनीहरुको आरोप छ।    कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी छन् ।

पोखरा:   जिल्ला प्रशासन कार्यालय कास्कीले सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारी साधन संचालनमा रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ। कार्यालयले आइतबार सूचना जारी गर्दै भारी वर्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै साँझपछि तोकिएको समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधन चलाउन रोक लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनाअनुसार, साउन ४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।  निर्णयअनुसार, अत्यावश्यक सेवाबाहेकका लामा दूरीका सवारी साधनलाई साँझ ४ बजेपछि र छोटो दूरीका सवारी साधनलाई साँझ ५ बजेपछि कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जान रोक लगाइएको छ। प्रशासनले यस वर्षको मनसुन सक्रिय रही साउन ३ गते रातिदेखि अविरल वर्षा भइरहेको र जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशमा थप भारी वर्षाको पूर्वानुमान गरेकाले मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि यो कदम चालिएको जनाएको छ। स्याङ्जा जिल्लासँगको समन्वयमा यो निर्णय लिइएको सूचनामा उल्लेख छ। प्रशासनले अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन संचालन नगर्न र गर्नैपर्ने भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गरी मात्र संचालन गर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ। यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले घान्द्रुक, लान्द्रुक,सिक्लेस र ताङतिङ जाने सडकमा समेत रातको समय सवारी साधन चलाउन प्रशासनले रोक लागएको छ। बर्षासँग आउने बाढी र पहिरोको जोखिम भएकाले रातीको समय उक्त गन्तव्यमा सवारी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।   यो पनि पढ्नुहोस   कास्कीको चार सडकखण्डमा सवारी सञ्चालनमा समय निर्धारण  

काठमाडौं:  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिँधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताउनुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा आज नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहितको टोलीले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मस्यौदामा संशोधनका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले जनतासँग सिँधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचनभित्र समानुपालितक प्रतिनिधित्व जरुरी भएको बताउनुभयो ।   “निर्वाचन विधेयकमा आएको संशोधनका विषयमा म पार्टीभित्र र अन्य राजनीतिक दलहरूसँग पनि सल्लाह गर्छु”, सभापति देउवाले भन्नुभयो, “प्रत्यक्ष निर्वाचन प्रणाली जनतासम्म पुग्ने मुख्य आधार हो, प्रत्यक्षभित्र पनि समानुपातिक सहभागिता चाहिन्छ ।” मञ्चका अध्यक्ष विश्वकर्माले बुझाएको विभिन्न २१ बुँदे सुझावपत्रमा महिला तथा महिलाभित्रको अन्तर–सामुदायिक समावेशीलाई सम्बोधन गर्न प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको जनसङ्ख्याको आधारमा कम्तीमा ५० प्रतिशत उम्मेदवारको व्यवस्था गरिनुपर्ने, दलित महिलालाई अल्पसङ्ख्यक महिलाहरूद्वारा प्रतिस्थापन गर्ने प्रस्तावमा दलित महिलालार्ई राजनैतिक सहभागिताको अधिकारबाट वञ्चित गर्ने हुँदा उक्त संशोधनको व्यवस्थालाई अविलम्ब हटाउनुपर्नेमा जोड दिइएको छ ।  पहिलो हुने निर्वाचित हुने निर्वाचनमा महिला र दलितका लागि चक्रीय प्रणालीबाट निर्वाचन क्षेत्र तोकिने गरी महिलाका लागि ५० प्रतिशत दलितका लागि १३ प्रतिशत निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने उहाँहरूको माग छ ।

काठमाडौं:   नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुग्नुभएको छ ।  आइतबार दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुगेर पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग भेट गर्न लाग्नुभएको हो ।  भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

काठमाडौंः   मुग्लिङ-नारायणगढ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खसेको छ । आइतबार दिउँसो साढे २ बजे आसपासको समयमा पहराबाट खसेको ढुंगो कारमा बजारिएको हो । सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी २९२८ नम्बरको सेत रंगको कारमा ढुंगो खसेको हो । ठूलो आकारको ढुंगो बजारिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन् । उक्त कारमा पाँचजना सवार रहेको खुलेको छ। जसमा पछाडि बसेका तीनजनाको सिटमै ढुंगो बज्रिएको थियो ।

पोखरा:  गएराति परेको अविरल वर्षासँगै आएको पहिरोले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ को एक विद्यालयमा क्षति पुगेको छ ।   अन्नपूर्ण गाउँपालिका–८ मोदी आधारभुत विद्यालयको भवनमा गएरातिकोे अविरल वर्षासँगै आएको पहिरोले क्षति पुगेको वडाध्यक्ष विजय गुरुङले जानकारी दिए ।  ‘गएराति परेको अविरल वर्षाले अन्नपूर्ण गाउँपालिका–८ स्थित मोदी आधारभुत विद्यालयमा पहिरोले क्षति पु¥याएको छ, वडाध्यक्ष गुरुङले भने, ‘ पहिरोले विद्यालयको ६कोठे भवनमा क्षति पुगेको छ, कक्षाकोठासँगै कार्यालयमा रहेका केही सामानहरु पुरिएका छन्, अहिले गाउँपालिका र प्रशासनबाट अनुगमन भइरहेको छ ।’ वडाध्यक्ष गुरुङका अनुसार त्यस विद्यालयमा १७ जना विद्यार्थीहरु अध्ययनरत छन् । पहिरोले विद्यालयमा क्षति पुगेपछि विद्यालय नजिक रहेको खाली घरमा विद्यार्थीहरुलाई अध्यापन गराउने गाउँपालिकाले तयारी गरेको छ ।  विद्यालय भन्दा करिव २ सय मिटर माथिबाट खसेको पहिरोले विद्यालयमा क्षति पुगेको वडा कार्यालयले जनाएको छ ।     

पर्वत: पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ। छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा विक दम्पती परेका थिए। गएराति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ। स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।     यो पनि पढ्नुहोस   पर्वतको लाङ्दी पहिरो: पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

पर्वत:   पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा  बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ ।  स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।  उहाँले पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी छ । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको  खोजी जारी राखेको प्रहरी प्रमुख विष्टले जानकारी दिनुभयो । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको उहाँको भनाइ छ । गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए भने उनीहरुकी २८ वर्षीया बुहारी पवित्रा  हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन्  ।    यो पनि पढ्नुहोस   पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

ढोरपाटन:   ‘थाम राम’ निसीखोलाको विशिष्ट मौलिक संस्कृति हो । यो सयौँ वर्ष पुरानो मानिन्छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा यतिबेला यो संस्कृतिले रौनक छाएको छ ।  विशेषगरी साउने सङ्क्रान्ति पर्वसँग साइनो जोडिएको थाम रामलाई स्थानीयले संरक्षणमा जोड दिएका छन् । स्थानीयको भाषामा ‘थाम’को अर्थ तरुनी तन्नेरी हात समाएर नाचगान गर्ने, दौडिने र ‘राम’को अर्थ मेला भन्ने बुझिन्छ ।  हरेक वर्ष साउन १ गते गाउँका युवायुवती जम्मा भएर लेकमा पुगेर फूल टिप्ने गर्छन् । गीत गाउँदै, नाच्दै र रमाइलो गर्दै फूल टिप्न लेक पुगेका उनीहरु साँझ गाउँ फर्किएर सङ्क्रान्ति मनाउने गर्छन् । भोलिपल्ट थामडाँडामा जम्मा भएर तरुनीतन्नेरीलाई लेकबाट लिएको फूल लगाइदिने, नाचगान गर्ने र हात समातेर दौडिने गर्छन् । हात समाएर दौडिने संस्कृतिलाई स्थानीयले थाम खेल्ने भन्छन् । थाम खेल्नेमा युवायुवतीदेखि बूढाबूढीसम्म सहभागी हुन्छन् । यो संस्कृतिलाई नयाँ पुस्ताले पनि चासो दिएका छन् । यसरी थाम खेल्दा देवीदेवता खुसी हुने धार्मिक मान्यता छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार पहिलेपहिले थाम खेल्ने जोडीले मायाप्रेम गर्ने र विवाह गर्ने गर्थे । तर पछिल्लो समय त्यो चलन भने कम भएको छ । थाम राम युवायुवतीको जमघट हुने माध्यसमेत रहेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।  “थाम राम यो क्षेत्रको ऐतिहासिक संस्कृति हो, यसमा मगर समुदायको पहिचान जोडिएको छ, लेकमा फूल टिप्न जाँदा देउरालीमा ध्वजा बाँध्ने, फूल चढाउने र पूजा गर्ने गरिन्छ, यसरी फूल चढाउँदा पितृ खुसी हुने जनविश्वास छ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “लेकमा फूल टिप्ने र थाम खेल्ने चलन त धेरै पहिलादेखि मनाइँदै आएको छ, हामीहरू पनि यसलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ ।” यो संस्कृति द्वन्द्वकालमा हटेको थियो । विसं २०५७ देखि रोकिएको संस्कृति स्थानीयले गत वर्षदेखि पुनः मनाउन थालेका छन् । स्थानीय ६८ वर्षीय नैनसिंह बुढामगरले यो संस्कृति कहिलेदेखि मान्न सुरु भएको भन्ने यकिन नभएपनि बूढापाकाले भनेअनुसार बाइसेचौबीसे राजाका पालादेखि सुरु भएको हुनसक्ने बताउनुभयो । थाम रामले वर्षौँदेखि टाढिएका प्रेमीप्रेमिका, आफन्त जमघटको अवसर जुटाउने उहाँको भनाइ छ ।  बुढामगरले भन्नुभयो, “थाम राम पुरानो संस्कृति हो, यसबेला फूल टिप्ने, तरुनी तन्नेरीलाई लगाइदिने, नाचगान गर्ने र मनका वेदना पोख्ने गरिन्छ, पहिलेपहिले अहिलेको जस्तो फोनको जमान थिएन, तरुनीतन्नेरी भटे हुनका लागि कुनै मेला महोत्सव हुनुपथ्र्यो, त्यसका लागि स्थानीयले लेकमा गएर फूल टिप्ने र थाम खेल्ने एउटा समय तोके सोहीअनुसार अहिले चल्दै आएको भन्ने लाग्छ, त्योसँगै धार्मिक आस्थासँग पनि यसको महत्व जोडिएको छ ।” यहाँको रिग युवा क्लबले थाम राम संस्कृतिको संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको छ । युवालाई एकीतृत गर्ने र पाका पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरणको प्रयास गरिएको छ । युवालाई बूढापाकासँगै राखेर सिकाउने कार्य गरेको क्लबका अध्यक्ष भुवनसिंह घर्तीमगरले जानकारी दिनुभयो । युवाले चासो नदिए संस्कृति नै लोप हुने उहाँको भनाइ छ ।