पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

ढोरपाटन:  सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा निहुरो र अम्रिसो लगाएका हुन् । यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।  अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उहाँले योजना सुनाउनुभयो । तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल ३०० रोपनीमा फैलाउन सफल भइएको अध्यक्ष लामिछानेले बताउनुभयो । यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म रु तीन लाख लगानी भएको छ ।  हाल गाउँमै निहुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो । रेश गाउँमा पहिले निहुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताउनुभयो ।  “पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे, हाल बसाइँसराइले गाउँमा मान्छे कम छन्, पहिलेको जस्तो वस्तुभाउ पाल्दैनन्, त्यसले गर्दा वनमा झाडी पलायो”, उहाँले भन्नुभयो, “त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निहुरो र अम्रिसो लगाएका छौँ, अरू बिरुवा पनि फाटफुट लगाएका छौँ । वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम सुरु गरेका हौँ ।” स्थानीय धनबहादुर जिसी हाल लगाइएको निहुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा फैसा फल्ने बताउनुहुन्छ । तरकारीका रूपमा प्रयोग हुने निहुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उहाँको भनाइ छ । झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ ।  काठेखोला–७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा सङ्कलन गरी खेती बिस्तार गरेको सुनाउनुभयो ।  “पहिले निहुरो खोज्नका लागि धेरै टाढाको जङ्गलमा जाने गरेका थियौँ, हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ । काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने बस्तु रोपेपछि हामी सबै उत्साहित छौँ । उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ”, उहाँले भन्नुभयो ।

काठमाडौं:  एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तरसम्म ४–० गोलको अग्रता लिएको नेपालले मध्यान्तर पछि फेरि ४ गोल थप्यो । यसअघि  उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले हराएको थियो । यता श्रीलङ्का भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो 

काठमाडौं:  नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठनको रूपन्देहीमा भएको कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै अभिव्यक्ति दिएको तथा पार्टी सङ्गठनको ‘अर्ली’ अधिवेशनबाट नेतृत्व तथा कार्यसमिति चयनको माग गरेका विषयमा स्पष्टीकरण सोधेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभए आवश्यक कारबाहीसमेत गर्ने जनाइएको छ । पार्टीले अध्यक्ष नेपालको अदालतमा विचाराधीन मुद्दाबारे सार्वजनिक रूपमा नबोल्न निर्देशन दिएको छ । अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले गत जेठ २२ गते धारणा सार्वजनिक गरेकाले त्यस धारणासँग बाँझ्ने गरी पार्टी पङ्क्तिलाई कुनै अभिव्यक्ति नदिन, नलेख्न निर्देशन दिएको थियो । विद्यमान परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे आवश्यक निर्णय संस्थागत रूपमा लिने बताउँदै पार्टीले सार्वजनिक रूपले नबोल्न पार्टीका सबै तहका नेतालाई आग्रह गरेको थियो । पार्टीका बैठकमा आफ्ना धारणा राख्न तथा छलफल गर्न पाइने भएकाले कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिन सबैलाई निर्देशन दिइएको जनाइएको छ । पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पार्टी अध्यक्ष नेपालसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेपछि केही नेताहरूले पार्टी भावनाविपरीत अभिव्यक्ति दिन थालेकाले पार्टीले जथाभावी नबोल्न सूचीत गरेको हो ।

काठमाडौं:  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको छ । साथै तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाइने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीकोतर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरी, तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू गरिएको ८० घण्टे आमरण अनशन उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाबाट आजै तोडिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ देखि जारी छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईं, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, ई मोहन आचार्य, रङ्गमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सिना, आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेस), इन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजङ्ग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले आआफ्नो धारणा राख्नुभएको थियो । विभिन्न प्रस्तावमा धारणा राख्नेक्रम जारी रहेकाले कार्यसमितिको बैठक असार १९ गते दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालयमा पुनःबस्ने मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

पोखरा:  गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डीङ च्याम्पियन स्याङ्जा र नवलपुरले पर्वतलाई हराएको हो ।  पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हराएको छ । ९६ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई ९१ रनमा समेट्दै कास्कीले पहिलो जित हासिल गरेको हो ।  स्याङ्जाका लागि सिमाना केसी र कुशुम गोदारले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सिमानाले ४० बलको सामना गर्दै १ चौका र १ छक्काको मद्धतमा ३१ रन बनाउँदै आउट भइन् । कुशुमले २४ बलमा १ चौका प्रहार गर्दै १७ रन जोडिन् । रविना बुढामगर ४ र रन्जना साउद ३ रनमा नटआउट रहिन् । आरमिना अधिकारी ६, सलिना सेन शुन्य, अपेक्षा बुढाथोकी शुन्य, निरु जिटी शुन्य, ज्योत्सनिका मरासिनी १, सेरिना थापा ६, आकृति शुन्यमा आउट भइन् । कास्कीको लागि सुशिला डिम्टुक र चन्द्रमाया बरालले समान २÷२ तथा रचना चौधरी, यशोदा भुजेल र रिया तामाङले १÷१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रनका बनायो । कास्कीको जितमा रेखा तामाङले ३३ रनको उत्कृष्ट पारी खेल्दै अविजित रहिन् ।  उनले ३७ बलमा ३ चौका प्राहर गरिन् । शिखा दवाडी १ रनमा नटआउट रहिन् । कास्कीकी सिर्जना पौडेलले ३५ रनको योगदान दिइन् । उनले ५७ बलमा १ चौका प्रहार गरिन् । यस्तै श्रद्धा गुरुङ, चन्द्रमाया बराल २, रचना चौधरी शुन्य, विन्दु ठकरी शुन्यमा आउट भइन् । स्याङ्जाका लागि सिमाना केसीले ४ ओभरमा १४ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन् । निरु जिटीले १ विकेट लिइन् । दोस्रो खेलमा नवलपुरले पर्वतमाथि ४६ रनको जित हासिल गरेको छ । ७७ रनको विजयी लक्ष्य पाएको पर्वतलाई ९.५ ओभरमा ३० रनमै अलआउट गर्दै नवलपुरले जित हासिल गरेको हो । पर्वतका लागि कुनैपनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् ।  विपिशा विक १, गरिमा केसी शुनय, शुशिला भट्टराई ३, एन्जल अधिकारी १, योगिता केसी २, जिविका क्षेत्री ३, प्रतिभा खड्का ९, कृषा अखेली शुन्य, अनुशा पौडेल १ र रिजिता चापागाईँ शुन्यमा आउट भइन् । नवलपुरका लागि आयुषा चापागाईँँले ३.५ ओभरमा १ मेडनसहित १० रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् । उनी खेलको वुमन अफ दी म्याच घोषित भइन् । यस्तै पुर्णिमा सुनारले २ तथा श्रेया शर्माले १ विकेट लिइन् ।  त्यसअघि टस जितेर ब्याटिङ रोजेको नवलपुर १५.४ ओभरमा ७६ रनमा अलआउट हुन पुग्यो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।  उनले ४८ बलमा ३ चौका प्रहार गर्दै ३२ रनको योगदान दिइन् । मोनिका लामिछान ३, श्रेया शर्मा शुन्य, श्रेया गिरी १, आयुषा चापागाईँ शुन्य, पुर्णिमा  सुनार ४, यमुना पंगेनी शुन्य, वर्षा सुनार ३, निहारिका शर्मा शुन्य, लिजा गुरुङ, जिविका क्षेत्री १ रनमा आउट भइन् । पर्वतका लागि प्रतिभा खड्का र कृषा अखेलीले समान २÷२ तथा अनुसा पौडेल, जविका क्षेत्री र सुशिलाा भट्टराईले १÷१ विकेट लिइन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा कुल चार जिल्लाको सहभागिता रहेको छ ।   

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन एवं जर्मनीको म्यूनिच इन्टरनेश्नल स्कुलको सहयोगमा निमार्ण हुन लागेको खानेपानी टंकीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बुधबार शिलान्यास गरेका हुन् । लियो क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष कमल भण्डारीका अनुसार निमार्ण हुन लागेको टंकी १० हजार लिटर क्षमताको रहने र निमार्ण लागत दुई लाख ५० हजार देखी दुई लाख ८० हजार लाग्ने अनुमान गरिएको बताए ।  कुल लागत मध्ये दुई लाख लायन्स क्लब अफ अन्नपूर्णले र नपुग रकम माछापुच्छे मा.बि ले व्योहर्ने भण्डारीले जानकारी दिए ।  लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष एवं टंकी निमार्ण कार्यक्रमका सहजकत्र्ता सोनाम साङपोका अनुसार २२ वर्ष अघि पोखराका विद्यालयका बिद्यार्थीहरुको दिशा परीक्षणका क्रममा ७० प्रतिशत बिद्यार्थीहरुमा पानीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएको थियो ।  त्यसपछि विभिन्न दाताहरुको सहयोगमा पानी शुद्ध बनाउनका लागि पोखराका विभिन्न विद्यालयहरुमा गरि तीन सय थान यूरो गार्ड वितरण गरिएको जानकारी उनले जानकारी दिए ।  वितरण गरिएका ती यूरो गार्डहरुले सुरुमा रामै काम गरेपनि त्तकालीन अबस्थाको लोडसेडिङको समस्या र आवश्यक मर्मत संभारको अभावका कारण दुई तीन वर्षपछि काम नगरेपछि स्वच्छ पानीको निम्ती स्थाही समाधानका लागि सन २०१७ देखि खानेपानी टंकीको निमार्ण कार्य सुरु गरेको उनले जानकारी दिए ।  सन २०१७ देखि हालसम्म गरि ४९ बटा सम्पन्न गरेर बिद्यालयहरुलाई हस्तान्तरण गरिसकेको र निमार्ण हुन लागेको यो ५० औ खानेपानी टंकी रहेको उनले बताए । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण लायन बर्ष २०२५/२०२६ का अध्यक्ष सुकल्याण पराजुलीका अनुसार सन २०२५/२०२६ मा क्लबले पोखराका विभिन्न बिद्यालयहरुमा गरि आठ बटा टंकी निमार्ण गर्ने बताए ।  निमार्ण गर्ने आठ मध्ये यो पहिलो रहेको र अन्य सात टंकीको निमार्ण कार्य क्रमश सुरु गदै जाने जानकारी दिए । निमार्ण हुने प्रति टंकी बराबर क्लबले दुई लाख सहयोग गर्ने र त्यभन्दा बढी लागेको रकम सम्बन्धीत बिद्यालयले व्योहर्ने पराजुलीले बताए ।  टंकी निमार्णको लागि जर्मनीको स्कुलबाट एक टिम लिडर, एक शिक्षक र १५ जना विद्यार्थीहरु गरि १७ जनाको टोली पोखरा आएको छ । टोलीले टंकी निमार्णको लागि तीन दिन माछापुच्छे मा.बि. नाउँडाडामा गएर काम गर्ने समेत पराजुलीले जानकारी दिए ।  

काठमाडौं:    गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।   बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको समग्र अवस्था बारे राष्ट्रपति पौडेललाई जानकारी गराए ।   भेटमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टका साथै कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी थिए।     शिष्टाचार भेटका क्रममा प्रदेश प्रमुखहरूले आफ्नो कार्यक्षेत्रका सामाजिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे राष्ट्रपति समक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए ।   प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन तथा नियममा रहेका अन्यौलहरूको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन राष्ट्रपति समक्ष आग्रह गरेका थिए।     उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रदेशहरू बीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए।   पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताए ।     राष्ट्रपति पौडेलले भने, ‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ।’   प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको उनले बताए।     ‘त्यसो भएको हुनाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, सम्वाद र समन्वय हुन जरूरी छ,’ उनले भने, ‘प्रदेशको संरचनाले मात्र यसको राजनीतिक महत्त्व स्थापित हुँदैन, यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरूरी छ, चरित्रको बदलाव मुख्य कुरा हो, राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौ, प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गरौं, साथसाथै अन्तर प्रदेश सहकार्य र समन्वयमा जोड दिऔं, एक आपसको सहकार्यले सबैलाई लाभ पुग्ने छ भन्ने मलाई लाग्छ।’     प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता उनले औल्याए।   ​ मुख्य कुरा नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने उनको भनाइ छ।      

पोखरा:  पोखराको नदीपुरमा यही असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।  ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित असार २४ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्दै छौं, संस्थापक गुरुङले भने, ‘सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको फाउण्डेशनले आयोजना गरेको प्रतियोगिता पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा हुनेछ ।  फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।  संस्थापक गुरुङका अनुसार तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद तथा राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइने छ । यस्तै भेट्रान्स भलिबलमा ३८ वर्ष उमेर पुरा भएको खेलाडी मात्र समावेश गर्न पाइनेछ ।  उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।  यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।  क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने लामा अमृत फाउण्डेशन घान्द्रुकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा ५ समूहको मात्र सहभागिता भए राउण्ड रोविनको आधारमा सञ्चालन हुने अन्र्तराष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापामगरले बताए ।  ‘क्लबस्तरीय प्रतियोगितामा ६ टिमलाई मात्र समावेश गर्ने आयोजकले निर्णय गरेको छ, अहिलेसम्म ५ टिमले सहभागिता जनाउने जानकारी आएको छ’, थापामगरले भने, ‘प्रतियोगितामा ६टिमको नै सहभागिता भए लिग चरण र ५ टिमको मात्र सहभागिता भए राउण्ड रोविनको आधारमा सञ्चालन गर्छौ ।’ प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन गर्ने लामा अमृत फाउण्डेशनले जनाएको छ । प्रतियोगिताको पहिलो दिन दर्शकलाई निशुल्क प्रवेश रहेपनि दोस्रोदिन देखि टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुने आयोजकले जनाएको छ । 

काठमाडौं:  सात वटै प्रदेशका प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । बुधबार बिहान राष्ट्रिपति भवन शितल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरुले शिष्टाचार भेट गर्नुभएको हो । हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ हुनुहुन्छ । बुधबार बिहान सबै प्रदेशका प्रदेश प्रमुखहरुले राष्ट्रपति पौडेलसँग भेटघाट गर्नुभएको हो । भेटका क्रममा प्रदेश प्रमुखहरुले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराउनुभयो ।