काठमाडौं: बंगलादेशको राजधानी ढाकामा भएको लिगको अन्तिम तथा निर्णायक खेलमा भारतलाई पराजित गर्दै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ३–१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। १–० गोलले पछि परेको अवस्था उल्टाउँदै नेपालले पुनरागमन जित निकाल्न सफल भएको हो । भारतले पहिलो हाफमा २१ औं मिनेटमा अपूर्णाले गोलमा अग्रता लिएको थियो । नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन्। नेपालले ६९ औं मिनेटमा कप्तान प्रिति राईले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ गोलले अघि बढाएकी थिइन्। त्यसअघि दिपा शाहीमाथि भारतीय डिफेन्डरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। नेपालका लागि तेस्रो गोल अमिसा कार्कीले गरिन्। उनले खेल सकिन एक मिनेट बाँकी छदा उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। अन्तिम खेलपछि भारतको ४ अंक भएको छ। भुटानसँग खेल्नुअघि बंगलादेशको पनि ४ अंक छ। बंगलादेशलाई फाइनलमा पुग्न बराबरी भए पुग्छ। भारतले बंगलादेशको हारको कामना गर्नु पर्नेछ। यसअघि पहिलो खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–१ गोलले हराएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानमाथि ४० को जित निकालेको थियो। प्रतियोगितामा बंगलादेश र भारतले गोलरहित बराबरी खेलेका थिए।
काठमाडौं: छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा गर्दै पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै पहिलो पटक छैटो केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको हो । होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले २८–२६, १९–२५, २५–२२, २४–२६ र निर्णायक तथा पाचौँ सेट १५–९ ले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो भएको छ । उपाधि जितेको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । उपविजेता नेपाल एपिएफले १ लाख ५० हजार र तेस्रो भएको नेपाल पुलिस क्लबले ७५ हजार पुरस्कार पाएका छन् ।
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगरले प्रस्तावित सूचना प्रविधि (आइटी) पार्कको स्थलगत अवलोकन गरेका छन् । पोखरा महानगरपालिका १८ स्थित जामुखेबोटमा मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, शाखा अधिकृत खुबीराम पोख्रेल लगायतका टोलीको साथमा स्थलगत अवलोकन गरेका हुन् । अवलोकन पश्चात बोल्दै मन्त्री गाहामगरले प्रस्तावित आइटी पार्क निर्माणमा आफ्नो ध्यान केन्द्रीत भएको बताए । उनले उक्त पार्क निर्माणका लागि आफ्नो विशेष योजनामै समेटेर अघि बढ्ने बताएका थिए । तयार हुदै ‘डिपिआर’ आइटी पार्क निर्माणका लागि रत्न आधारभूत प्राथमिक विद्यालयको नाममा रहेको ९६ रोपनी जग्गाको भोगाधिकार प्रदेश सरकारले प्राप्त गरिसकेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सुचना अधिकारी खुबीराम पोख्रेलका अनुसार संभाव्यता अध्ययनसँगै जग्गा संरक्षणका लागि पर्खाल (कम्पाउण्डिङ) निर्माण भइसकेको छ । उनले हाल आइटी पार्कको डिपीआर (गुरुयोजना) तयार भइरहेको बताए । ‘अहिले एउटा कम्पनीले आइटी पार्कको डिपिआर बनाइरहेको छ, सुचना अधिकारी पोख्रेलले भने, ‘जेठ मसान्तसम्म डिपिआरको प्रतिवेदन प्राप्त हुन्छ ।’ पोख्रेलले १ करोड १० लाखको (भ्याटबाहेक) लागतमा इआरएमसी मल्ल स्लेट जेभीले डिपिआर तयार गरिरहेको बताए । ‘सुरुमा इबिडमार्फत इओआई माग गरेका थियौं । त्यसमध्ये १४ वटा कम्पनी दर्ता भए र त्यसबाट ६ वटा छनोट भएका थिए, शाखा अधिकृतसमेत रहेका पोख्रेलले भने, ‘त्यसपछि छनोट भएका ६ वटा कम्पनीलाई आरएफपी माग गर्दा ५ वटाको मात्र प्राप्त भयो र त्यसमध्यै सबैभन्दा बढी अंक इआरएमसी मल्ल स्लेट जेभीले प्राप्त गरेको थियो । अहिले त्यही कम्पनीले डिपिआर बनाइरहेको छ ।’ उनले गत मंसिर २७ गते उक्त कम्पनीसँग सम्झौता भएको बताउदै पहिलो चरणको प्रतिवेदन मन्त्रालयलाई प्राप्त भइसकेको जानकारी दिए । पोख्रेलका अनुसार इआरएमसी मल्ल जेभीले जेठ मसान्तभित्र डिपीआरको काम सक्नुपर्नेछ । त्यसपछि मात्रै पार्क निर्माणको प्रक्रिया अघि बढ्नेछ । इन्भेन्सनदेखि डाटा सेन्टरसम्मको योजना सो पार्कमा आइटीसँग सम्बन्धित नयाँनयाँ प्रविधिको उत्पादन गर्ने, प्रदेश सरकारले आफ्नो तथ्यांक भण्डारण एवं सुरक्षित गर्नेसँगै प्रदेशअन्तर्गत आइटीसँग सम्बन्धित सबै संस्थाहरुको कार्यालय राख्ने गरि पार्क निर्माणको योजना अगाडी बनाएको हो । सूचना प्रविधि पार्कमा डाटा सेन्टर, आइटीसँग सम्बन्धित नवप्रवर्तन (इन्नोभेसन) र नयाँनयाँ प्रविधि पत्ता लगाउने (इन्भेन्सन) जस्ता काम गरिने प्रदेश सरकारको योजना छ । यस्तै प्रदेश सरकार, स्थानीय सरकारलगायतका सरकारी कार्यालयले इन्टरनेटबाट चलाउने सबै तथ्यांकसमेत रहनेछन् । संघीय सरकारले तथ्यांकको सुरक्षित भण्डारका लागि हेटौँडामा राखेको रिकभरी सेन्टरजस्तै पोखरामा पनि डाटा सेन्टर हुने बताइएको छ । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालमा २०७६ असोज ९ गते बसेको मन्त्रिपरिषद्को निर्णयले पोखरामा आइटी पार्क बनाउने निर्णय गरेको थियो ।
काठमाडौं: टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ सय नाघेको अन्तर्राष्ट्रिय मिडिया बिबिसीले जनाएको छ । साथै हजारौँ संख्यामा घाइते भएका छन् । सोमबार बिहान स्थानीय समयअनुसार ०४:१७ मा (०१:१७ GMT) पहिलो भुकम्प ७.८ म्याग्निच्युडको गएको थियो । बिबिसीका अनुसार पहिलो भुकम्प पछि टर्किमा मात्रै ३ हजार ३ सय ८१ जनाले ज्यान गुमाएका र १५ हजार भन्दा बढि घाइते भएका छन् । करिब १३ घण्टा पछि पुनः दोश्रो शक्तिशाली भुकम्प ७.५ म्याग्निच्युडको गएको थियो । तर त्यसबीचमा सयौं पराकम्प गएका थिए । भुकम्पविदका अनुसार टर्कीको पहिलो भुकम्प अहिले सम्मको सबैभन्दा शक्तिशाली भुकम्प रहेको बताएका छन् । सोमबार बिहानको भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको थियो ।
काठमाडौं : अमेरिकी अन्तराष्ट्रिय विकाश नियोग(यूएसआईडी)की प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन् । यूएसआईडी प्रमुख पावर केहीबेर अघि काठमाडौं आइपुगेकी हुन् । नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल,परराष्ट्रमन्त्री बिमला राई पौड्याललगायत सरकारी अधिकारीहरू र नागरिक अगुवाहरूसँग भेटवार्ता गर्नेछिन्।
नवलपरासी: पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको कामले तीव्रता पाएसँगै भेडाबारी सडकखण्डको एक किलोमिटर सडक परीक्षणका रूपमा कालोपत्रे गरिएको छ । कालोपत्रे गरिएको सो सडकको नमुना परीक्षणसमेत सफल भएको छ । अब सडक कालोपत्रेको काम अघि बढाइने बुटवल–नारायणगढ सडकखण्डको ठेकेदार कम्पनी चाइना कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो सडकको काम अहिले पनि तीव्र गतिमा भइरहेको दाबी गरिएको छ भने विभिन्न ठाउँको माटो भर्ने र सम्याउनेलगायतका काम सकिएको छ । ती ठाउँमा पनि तरुन्तै कालोपत्रे गरिनेछ । आगामी असार मसान्तसम्म ५० प्रतिशत काम सक्ने लक्ष्यका साथ काम अघि बढेको परियोजनाका इन्जिनियर झाले बताउनुभयो । चिनियाँ ठेकेदार कम्पनीले निकै चासोका साथ बुटवल–नारायणगढ सडकखण्ड निर्माण गरिरहेको बताइएको छ । चीनबाट समेत ठेकेदारले एक अर्ब ५४ करोड रकम ल्याएर यो सडक निर्माण कार्यलाई थप तीव्रता दिएको इन्जिनियर झाको भनाइ छ । ४८ महिनाअघि सम्झौता भई निर्माण कार्य अघि बढेको सो आयोजनाको ३० प्रतिशतभन्दा बढी काम सकिएको छ । सडकमा पर्ने रुख कटान, बिजुलीको पोल गाड्ने, राजमार्गमा रहेका ठूला पुल र साना कल्भर्ट निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ । कालोपत्रेको काम मात्रै बाँकी रहने र त्यो काम पनि सकिएको विभिन्न ठाउँमा कालोपत्रे गर्ने काम सुरु भइसकेको आयोजनाले जनाएको छ । निर्धारित मितिअनुसार ४२ महिनामा सम्पन्न हुन नसकेर पुनः एक वर्ष म्याद थपिए पछि बुटवल–नारायणगढ सडकखण्डको निर्माण कार्यले तीव्रता पाउन थालेको हो । सर्वसाधारणमा अब भने सो सडक निर्माण पूरा हुने आशा पलाएको छ । अहिले ३० प्रतिशत बढी काम सकिएको र छ महिनाअघि सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि सडक निर्माणले तीव्रता पाएको बुटवल–नारायणगढ सडकखण्डको सरकारी पक्षका प्रमुख इन्जिनियर रमेश दृष्टि बताउनुहुन्छ । सो सडकखण्डमा दिनरात निर्माण कार्य भइरहेको छ, ठेकेदार पक्षले धमाधम कामलाई तीव्रता दिइरहेको छ भने अहिले आयोजना सम्पन्न हुनेमा स्थानीयवासीमा समेत आशा पलाएको देवचुलीका राजन अधिकारीले बताउनुभयो । सो आयोजनाको गैँडाकोट दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोस्रो खण्डका रूपमा स्वीकृत भई झन्डै १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले ४२ महिनाअघि ठेक्का पाएको थियो । ठेक्का सुरु भएको एक हजार २७८ दिन अर्थात् ७ जुलाई २०२२ मा ११३ किलोमिटर बुटवल–नारायणगढ सडक निर्माण सक्ने सम्झौतामा उल्लेख भए पनि सुरुको ४२ महिनामा १८ प्रतिशत काम भएको थियो । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सुरु भएको यो आयोजना राष्ट्रिय गौरबका आयोजनका रूपमा रहे पनि कामले गति लिन नसक्दा सम्झौता अवधिभन्दा झन्डै दुई वर्ष आयोजना धकेलिने र सन् २०२४ सम्म आयोजना सम्पन्न हुने जनाइएको छ । सो आयोजनाले सडकमा रहेका दुईतर्फी गरेर चार हजार ८३९ विद्युत्को पोल सार्ने काम भइरहेको, एक हजार २५ वटा टेलिफोनको पोल, २०२ सोलार पोलसमेत सार्ने कार्य भइरहेको आयोजनाका सरकारीस्तरका सडक विभागका प्रमुख इन्जिनियर रमेश दृष्टिले बताउनुभयो । यो आयोजनामा ४३ वटा ठूला पुल, ३९ वटा साना पुल ४६२ वटा कल्भर्ट पुल निर्माण अन्तिम चरणमा पुुगेको छ भने बजार क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण भइरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो । अहिले यो सडकखण्डमा ६५ जना चिनियाँ र २६५ जना नेपाली प्राविधिकले काम गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाको सरकारी पक्षको काम हेर्ने सडक डिभिजनल कार्यालय बुटवलले आयोजनाको काम र त्यसको निरूपण गर्ने निकाय ठेकेदार र मन्त्रालय भएकाले सडक डिभिजनले निरीक्षण गरी समयमा सडक निर्माणको काम अगाडि बढेको जनाएको छ ।
भक्तपुर :भक्तपुरको सुर्यबिनायक नगरपालिका -९ पलासेमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको लु ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट जाँदै गरेको प्रदेश २–००१च ०४११ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बनेपाका १९ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका न्यौपानेलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेको थियो। त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए। बस र बस चालक वृत्त जगातीको नियन्त्रणमा रहेको प्रहरीले जनाइएको छ ।
सन्धिखर्क : ‘म अरूबाट त सजिलै बच्न सक्छु तर मलाई आफन्तबाट बचाउनुस्’, यो भनाइ अर्घाखाँची जिल्लामा चरित्रार्थ भएको छ। जिल्लामा आफ्नैले नै सबैभन्दा नजिकका आफन्तलाई नै शंकास्पद तरिकाले आफन्तको हत्या गरेका छन्। सबैभन्दा नजिकको नाता पतिले पत्नीको, पत्नीले पतिको, दाजुले भाइको, साथीले साथीको हत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। घटना–१ : पत्नीद्वारा पतिको हत्या गएको मंसिर २४ गते राति अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ चिदिका तुमचौर बस्ने लक्ष्मी नेपालीले आफ्नै पति बलबहादुर सार्कीको झुन्डाएर हत्या गरिन्। बलबहादुरको झुन्डिएर मरेको भन्ने सूचनाका आधारमा प्रहरी घटनास्थल पुगि शंका लागेर अनुसन्धान गर्दै जाँदा पत्नी लक्ष्मीले पटुकाले घाँटीमा पासो लगाइ कर्तव्य गरी मारेको प्रहरी समक्ष स्वीकार गरिन्। पतिको हत्या गर्ने लक्ष्मीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना–२ : दाजुद्वारा भाइको हत्या गएको कात्तिक २ गते भूमिकास्थान नगरपालिका–१ साम्ने गाउँ बस्ने ६९ वर्षीय वीरबहादुर गमालको आफ्नै दाजु ७६ वर्षीय हिमबहादुर गमालले सोही वडाकै घोप्टेसाल भन्ने स्थानमा रहेको भीरबाट धकेलेर भाइको हत्या गरे। गिठा खोला साम्ने गाउँ सडक खण्ड (मोटरबाटो) देखि अन्दाजी ८० मिटर तल खस्न गई मृत्यु भएको भन्ने सूचना प्राप्त भई निजको मृत्यु सम्बन्धमा अनुसन्धान गर्दै जाँदा निजको आफ्नै दाजु हिमबहादुरले धकेलेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरे। भाइको हत्यामा संलग्न रहेको अभियोगमा हिमबहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। घटना –३ : पतिद्वारा पत्नीको हत्या गएको असोज ७ गते बेलुका अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका–३ बस्ने ५४ वर्षीय पिताम्बर भुसालले आफ्नै घरको सुत्ने कोठामा पत्नी ५० वर्षीया मनकला भुसाललाई ढुंगाको गोलो डल्लो (लोहोरो) ले टाउकोमा हानी हत्या गरे। महिलाको घटनास्थलमा नै मृत्यु भएको सम्बन्धमा गोप्य सूचनाको आधारमा मृतकका पति पिताम्बरलाई पक्राउ गरी थप अनुसन्धान गर्दा पत्नीको हत्या गरेको स्वीकार गरे। उनी अहिले पुर्पक्षको लागि कारागार चलान गरिएको जिप्रकाले जनाएको छ। घटना –४ : साथीद्वारा साथीको हत्या गएको साउनमा अर्घाखाँचीको पोखराथोकमा आफ्नै साथीको घरमा आएका विष्णुबहादुर पाण्डेको हत्या भयो। गाडी किनेको पैसा लिन भनी आफ्नै साथीसँग साथीको घर अर्घाखाँचीको पोखराथोकमा आएका पाण्डेको रूपन्देहीको बुटवलमा गाडिको कारोबार गर्दै आएका कुलचन्द्र गौतम (दीपक)ले हत्या गरे। माथिका यी चार त प्रतिनिधिमूलक घटना मात्र हुन्। अर्घाखाँची प्रहरी प्रमुख रिजालका अनुसार चालू आर्थिक वर्षमा मात्र ६७ प्रतिशत हत्या आफन्तबाट भएको छ। जिल्लामा ६ महिनामा ६ जनाको हत्या भएको छ। जसमा चार जनाको हत्यारा आफन्त नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यद्यपि मुद्दाको फैसला हुन बाँकी नै छ। यी घटनाले पछिल्लो समय आफन्तबाटै आफन्तलाई सुरक्षा पाउन कठिन भएको छ।
पोखरा: गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो । गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ । प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकामान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ ।

