जुम्ला: जुम्लामा भएको आगलागीमा एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर ज्यान गएको हो । गएराति साढे १० बजेतिर भएको आगलागीबाट तीन तले घरमा पूर्ण रुपमा क्षति पुग्नुका साथै बन्दनाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ तले घरमा बालिकासहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर भागे पनि बन्दना तेस्रो तलामा रहेकाले निकाल्न नसकिएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । टिनले छाएको ढुङ्गा र काठले बनेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा ज्यान गुमाएकी बन्दनाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगन गरेको छ । सोमबार एक सूचना जारी गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको हो । आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत २१ गतेदेखि सञ्चालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेको जनाएको छ । सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
पोखरा: जापान स्थित टोवा कर्पोरेशनले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । टोवा कर्पोरेशन र आजीसाई नेपाल एजुकेशन फाउण्डेशनको सहकार्यमा पोखरा स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो । निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटका सञ्चालक किसान सुनारका अनुसार जापानको टोवा, आसुका जापनीज ल्याङगोइज एण्ड इन्सटिच्युट, निहोङ्गो जापनीज इन्सटिच्युट, टोक्यो इन्सटिच्युट कलेज, उरावा इन्टरनेशल ,कलेज र सिबउरा इन्सटिच्युटमा भाषा अध्ययनका लागि विद्यार्थीहरुले छात्रवृत्तिको अवसर पाउनेछन् । सञ्चालक सुनारले जापान जाने अधिकांश विद्यार्थीहरु भाषा स्कुल तथा भोकेसनल कलेज वा विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ । ‘कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न सकेका छैनन्, उनले भने, ‘यही अवस्थालाई मध्यनजर गर्दै जापानी भाषा स्कुलमा जेहेन्दार तथा लगनशील विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।’ विगत दुईवर्षदेखि अध्ययनको शिलशिलामा जापान जान इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर प्रदान गर्दै आएको इन्सटिच्युटले यस यस वर्ष पनि विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । छात्रवृत्ति प्रदान गर्न १८ वर्ष पुगेको हुनुपर्ने, मोटरसाइकलको लाइन्सेस प्राप्त, १२ कक्षा पास गरेको र जापनीज भाषमा एन फाइब पास गरेको विद्यार्थीहरुले छात्रवृत्ति पाउन सक्नेछन् । छात्रवृत्ति प्राप्त गर्न फागुन पहिलो सातासम्म पोखरास्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटमा आएर आवेदन दिन सकिनेछ । निगाताले विगत ११ वर्षदेखि जापानमा विद्यार्थीहरुलाई अध्ययन भिषामा जापानका विभिन्न विश्वविद्यालय तथा स्कुल तथा कलेजमा पठाउने गरेको छ ।
काठमाडौं : माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यति एयरको प्रारम्भिक रिपोर्ट आएको छ। रिपोर्टअनुसार जहाज अवतरण गर्ने क्रममा जहाजका बेस लेगमा दुवै इञ्जिनका प्रोपेलरहरू फेदर गएको पाइएको छ। दुर्घटना जाँच आयोगले फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त 9N-ANC जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इञ्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको जनाएको छ। अतः उक्त जहाजका दुवै इञ्जिन प्रोपेलर फेदरमा किन गयो भन्ने बारेमा प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइ सकेको आयोगले जनाएको छ। दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्य सचिवहरूलाई पठाएको थियो। उक्त फ्लाईट डाटा रेकर्डर र भ्वाईस डाटा रेकर्डरको डाटाहरूको विश्लेषण गर्न आयोगको नेतृत्वमा TSIB Singapore, BEA France, TSB Canada, P & W Canada र EASA का प्रतिनिधिहरू समेतको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो। यसै सन्दर्भमा उल्लेखित सबै पदाधिकारीहरूबाट सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाईट र प्राविधिक पक्षहरूको थप अध्ययन पनि गरिएको थियो।
पोखरा :अभिनेता पल शाहविरूद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ। उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले शाहलाई १५ दिनभित्र झिकाउने आदेश भएको जानकारी दिए। उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहको मुद्दामा सुनुवाइ गर्दै सोमबार प्रत्यर्थी झिकाउने आदेश दिएको हो। नाबालिगलाई बालयौन दुराचार गरेको आरोपमा जिल्ला अदालत नवलपरासीले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। सो फैसलाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। १७ वर्षीया नाबालिग गायिकामाथि जबरजस्ती करणी आरोपमा शाहमाथि जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो। सो मुद्दामा अभिनेता शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाइसकेका छन्। बलात्कार आरोपमा शाह गत फागुन १५ गते पक्राउ परेका थिए। हाल उनी तनहुँ कारागारमा छन्।
कास्की: पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज ८ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (सोमबार) भएको पहिलो खेलमा पिएन क्याम्पसले नमस्ते ब्रदर्शलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्याे । खेल संयोजक विनोद गुरुङका अनुसार निर्धारित समय गोलरहित भएपनि खेला ट्राइबेकरमा पुगेको थियो । बिटी क्लब सि र याम्दी एफसीबीच भएको दोस्रो खेल १–१ गोलमा निर्धारित समय सकिएपछि ट्राइबेकरमा ४–३ गोल अन्तरले जित निकाल्यो । यस्तै मेरो नेपाल क्लब र माइती गोर्खाज्बीच भएको तेस्रो खेलपनि गोलरहित भएपछि ट्राइबेकरमा २–१ अन्तरले टाइबेकरमा माईती गोर्खाज् विजयी बन्यो । चौथो खेलमा हिमालय एफसीलाई जि नाइनले २–० गोल अन्तरले पराजित गर्याे र जि नाइनको जीतमा सुमन सुनार र आशिम रोकाले समान १/१ गोलको योगदान दिए । यस्तै पाँचौ खेलमा नव प्रतिभा एफसीले सपोर्ट डेभलपमेन्ट फोरमलाई ३–० गोलको फराकिलो अन्तरले पाखा लगायो । नव प्रतिभाको जीतमा राहुल थापाले २ गोल रुविन गुरुङले १ गोल गरे । छैटौं खेलमा ब्रदर्श युनाइटेडले घान्द्रुकलाई ५–२ गोलको अन्तरले सहज जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्याे । युनाइटेलको जीतमा सफल गुरुङ, करण तामाङ, सुशान्त थापामगर र सुरेन्द्र राईले समान १/१ गोल गरेका थिए भने एक गोल घान्द्रुकको तर्फबाट आत्मघाती गोल भएको थियो । यता घान्द्रुकको तर्फबाट निन्ती सुनार र सफल आचार्यले सान्त्वना गोलका रुपमा समान १/१ गोल फर्काए । सातांै खेलमा दिव्यज्योती क्लबलाई त्रिशक्ति क्लबले २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्याे । त्रिशक्तीको जितमा टाइसन क्षेत्री र प्रवेश ठकुरीले समान १/१ गोलको योगदान दिए । आज भएको अन्तिम तथा आठौं खेलमा शितलज्योती क्लबले लामागाँउलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । शितलज्योतीको जीतमा दिपेश गुरुङ र सुजन बुढाथोकीले समान २ गोल गरे भने निश्चल जिसीको १ गोलको योगदान दिए । खेल संयोजक गुरुङका अनुसार मंगलबार पनि पहिलो चरणको ६ खेल र २ खेल दोस्रोचरणका २ खेल हुनेछन् । आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
काठमाडौं : बलात्कार अभियोग लागेका मनोज पाण्डेलाई सात वर्ष कैद सजाय भएको छ। सौन्दर्य प्रतियोगितामा बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले सात वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय सुनाएको हो। न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई उक्त सजाय तोकिएको हो। यसअघि जिल्लाले बालयौन दुर्व्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो। एक युवतीले आफू नाबालिग हुँदा ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताका क्रममा पाण्डेले बलात्कार गरेको आरोप लगाएकी थिइन्।
जाजरकोट: ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । वि.सं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म सकिएको छैन । सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । मौखिक तथा लिखित पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौता अनुसारको काम नगर्दा आफूहरू हैरान भएर अन्तिम पटक पत्र लेखेको प्रमुख कर्णको भनाइ छ । तोकिएको समयमा स्पष्टीकरण पेस नभएमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ । यस अवधिमा केही काम भए पनि मजदुरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका –१० का सुरेन्द्र थापाले बताउनुभयो । रुकुम पश्चिम आठबीसकोट नगरपालिका– ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गर्नुभयो । गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख नपाएको बताएका छन् । स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले रु ६ लाख रकम नपाएको बताउनुभयो । मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंको नामबाट आफूले काम गर्ने भन्दै छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्का बैङ्क ग्यारेन्टी समेत राखी काम सुरु गरेका थिए । तर सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की रकम कार्यालयले फिर्ता लिएपछि काम नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए । कूल रु नौ करोडमा उक्त पुल निर्माण गर्ने सम्झौता भएको थियो ।
पोखरा: ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार रेम विक र राजाराम पौडेल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट बर्षेनी एकजनालाई प्रदान गर्ने गरि यो पुरस्कार स्थापना गरेको हो । लामो समय चलचित्र पत्रकारितामा बिताएका रेम र राजाारामलाई क्रमशः जित प्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०७८ र ०७९ प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ । रेम चलचित्र पत्रकार संघ कास्कीको पूर्व अध्यक्ष हुन् भने राजाराम संघका सल्लाहकार हुन् । आगामी माघ २८ गते संघको पाँचौ अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । संघका अनुसार यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । ‘हामीले यो पुरस्कारलाई ऐतिहासिक मानेका छौँ । पहिलोपटक हामीले हाम्रै संस्थाका संस्थापक अध्यक्षलाई पुरस्कृत गरेका थियौं । दोस्रो र तेस्रो पुरस्कार संघका पूर्व अध्यक्ष र सल्लाहकारलाई सम्मान गर्न पाउँदा खुशी लागेको छ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्कीका कार्यबाहक अध्यक्ष सन्तोष सुवेदीले भने–‘र, यो पुरस्कार स्थापना गर्न हामीलाई सहयोग गर्ने पोखराको पुरानो फिल्म व्यवसायी घराना जितप्रसाद द्वाको परिवारलाई पनि विशेष धन्यबाद दिन चाहन्छौँ ।’ सुवेदीले यो पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वाले नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाईरहेका पत्रकारहरुलाई थप हौसला प्रदान गर्न स्थापना भएको बताए । संघले प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीको सँयोजकत्वमा संघकै संस्थापक अध्यक्ष श्रीराम सिग्देल र गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका अध्यक्ष गुञ्ज गुरुङ सदस्य रहेको समिति गठन गरेको थियो । सोही छनौट समितिले सिफारिश गरेअनुसार रेम र राजारामलाई पुरस्कार प्रदान गर्ने गरि संघको माघ १९ गते बसेको कार्यसमिति बैठकले निर्णय गरेको थियो । जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले २०७७ सालदेखि प्रदान गर्न सुरु गरेको थियो । पहिलो पुरस्कार संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिएको थियो । गिरीले २०७९ मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएपछि संस्थाबाट राजीनामा दिएका थिए । २०६५ सालबाट बिग एफएमबाट पत्रकारिता शुरु गरेका रेम र २०६० सालबाट हिमचुली एफएमबाट पत्रकारिता शुरु गरेका राजाराम हालसम्म पनि चलचित्र पत्रकारितामा क्रियाशिल छन् ।हाल रेम मेनसमाचार डटकम र राजाराम रेडियो अन्नपूर्णमा आबद्ध छन् । पुरस्कारदाता द्वा परिवारले चलचित्रको उत्थानका लागि निरन्तर कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्न आफ्नो परिवारको नाममा पुरस्कार स्थापना गर्न पाउँदा निकै खुशी लागेको बताएको छ । ‘हामी तेस्रो पुस्तासम्म यही चलचित्र व्यवसायमै छौँ । र, चलचित्रकर्मीलाई पत्रकारिताको माध्यमबाट सदैव सहयोग गर्ने पत्रकारहरुलाई हौसला प्रदान गर्ने गरि पुरस्कार प्रदान गर्ने चलचित्र पत्रकार संघको अभियानसँग जोडिन पाउँदा हामीलाई खुशी लागेको छ ।’ पुरस्कारदाता द्वा परिवारका सदस्य तथा मिडटाउन सिनेमाज्का संचालक उत्तम द्वाले भने–‘चलचित्र पत्रकारहरुसँगको यो सहकार्य हाम्रो परिवारले सँधै गरिरहनेछ ।’ पुरस्कारदाता जितप्रसाद द्वा पोखराका पुराना चलचित्रकर्मी हुन् । द्वाले २०३६ सालमा बुटवलमा कालिका चलचित्र मन्दिर संचालन गरि चलचित्र व्यवसायमा हात हालेका थिए । हाल उनको नाती पुस्ताले यो व्यवसायलाई विस्तार गरिरहेको छ । पोखराको पुरानो चलचित्र घर ‘बिन्दबासिनी हल’सँगै उनकै नेतृत्वमा वाराही ‘क’, ‘ख’, श्रीकृष्ण र मिडटाउन सिनेमाज् हाल संचालनमा छन् । त्यो बाहेक नेपालकै अग्रणी चलचित्र वितरण कम्पनी ‘एफडी’ पनि द्वा परिवारले नै संचालन गरेको कम्पनी हो ।

