काठमाडौं: यस वर्षको महाशिवरात्रीमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकाे छ । साथै पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी आउनुहुँदैछ । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामी बिहीबार पशुपति मन्दिर आइपुग्नुहुने जानकारी दिएको हो । यस वर्ष फागुन ५, ६ र ७ गते पशुपति शंकराचार्य पूजन महोत्सव कार्यक्रम राखिएकाले उहाँ सो कार्यक्रममा सहभागी हुन पशुपतिनाथ आउन लाग्नुभएको कोषले जनाएको छ । भोलि बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म उहाँले आशिर्वचन दिने कार्यक्रम रहेको छ । पशुपति परिसरमा महाशिवरात्रीको अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम हो । त्यस्तै, सो अवसरमा फागुन १ गतेदेखि नै लिङ्ग पुराणको कथा वाचनसहित विकास सन्तहरुको विशेष कार्यक्रम भइरहेको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन विभिन्न समितिहरु बनाएर तयारी तीव्र बनाएको छ । महाशिवरात्री पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्री पर्वलाई व्यवस्थित गर्ने तयारी गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताउनु भयो । पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मुल शिविर रहनेछ । मुल शिविरसँगै खोजखबर कक्षको व्यवस्थापन गरिने पनि उहाँले बताउनुभयो । उहाँले मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सीसी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ब्यारिकेड जडान लगायतको कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुने बताउनुभयो । मन्दिर परिसरमा स्वयंसेवकका लागि नेपाल स्काउट लगायतका चार हजार स्वयंसेवकहरु रहने छन् । पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको मुल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेन छन् । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुनेछ । त्यस्तै, जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग एक, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि एक, बज्रघर दक्षिणतर्फ एक, राममन्दिर नजिक बागमती पारी एक गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ । यसैगरी, चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहनेछ । कोषले प्लाष्टिक, काँच, सिसा जस्ता फुट्ने प्रकृतिको कप प्लेट र सामग्रीहरुको प्रयोगमा रोक लगाएको छ । दर्शन मार्गको रुपमा गुह्वेश्वरी—गौरीघाट, उमाकुण्ड—दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट—१ लाइन, मित्रपार्क— जयवागेश्वरी—इंटापाखा भएर भुवनेश्वरीस्थ्ति फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट—१ लाइन, बत्तिसपुतली—गौशाला, एयरपोर्ट—तिलगंगा भएर पिंगलास्थान—सुमार्गी भवन अघिबाट चार शिवालय— पञ्चदेवल हुँदै दक्षिण ढोकाबाठ १ प्लस १ लाइन गरी बाहिरी रुपमा तीन स्थानबाट दर्शन लाइनहरु रहनेछन् । तिलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एक लाइन हुनेछ भने नित्य दर्शनार्थीका लागि बिहान ७ बजेभित्र भुवनेश्वरस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था हुनेछ । त्यस्तै, पार्किङ तथा ट्राफिक व्यवस्थापनको लागि तिलगंगा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ । यसैगरी, एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा यात्रुहरुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ । सडक छेउमा फुटपाथका कुनैपनि पसल राख्न नदिने कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मांस, मदिरा तथा कुनैपनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले गाँजा, भाङ, जाँडरक्सी जस्ता पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवम् सेवन नगर्न आग्रह गरेको छ । कोषले यस पटकको महाशिवरात्रीमा करिव २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अभिलाषा राखेको छ ।
काठमाडौं: बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । १३.९० अंकले घटेको बजार २०९१.५६ बिन्दुमा आएर रोकिएको हो । यो ०.६६ प्रतिशतको गिरावट हो । बुधबार २५६ वटा धितोपत्रको ३३ हजार ४८३ वटा कारोबारबाट ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार उत्पादन तथा प्रशोधनबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाएका छन् । बुधबार युनिलिभर नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ । यसको मूल्य २२ हजार रुपैयाँ पुगेको छ । बाराही हाइड्रो, कर्पोरेट विकास बैंक, अरु भ्याली हाइड्रोसहितका कम्पनीको मूल्य बढेको छ । गरिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घट्यो । विजय लघुवित्त, माहुली लघुवित्त, पञ्चकन्यामाई हाइड्रोसहितका कम्पनीको मूल्य धेरैले घट्नेमा परेको छ ।
काठमाडौं: मोरङमा कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बेलबारी नगरपालिका-१ स्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीले जानकारी दिए। मादक पदार्थ सेवन गरी होहल्ला र कुटपिट गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोप उनीमाथि छ। उनीसँगै रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित पक्ष इलाका प्रहरी कार्यालय बेलबारीमा आएर अहिलेसम्म जाहेरी भनेको दिएको छैन। ‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउने छ।’ पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने बताए। उनको युट्युब च्यानल छ। आफ्नो युट्युब च्यानलबाट प्रसारित सर्ट भिडिओमा ‘म्याकुरी' थेगोले उनी चर्चित छन्।
पोखरा: गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबलको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ बागलुङले जितेको छ । स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले पर्वतलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । बागलुङले पहिलो सेट २५–१९ ले जितेको थियो । निकै प्रतिस्पर्धात्मक भएको दोस्रो सेट २७–२९ ले गुमाएको थियो । तेस्रो सेट २५–२२ ले जितेको बागलुङले चौथो सेटमा शुरुवाती ३ अङ्कले पछि परेको बागलुङले २१–२१ पछि उत्कृष्ट पुनरागमन गर्दै २८–२६ले जित्दै उपाधि जितेको हो । यस्तै महिलातर्फ भने जिल्ला भलिबल संघ म्याग्दीले पर्वतलाई सोझो ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको छ । म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले विजयी हुँदै प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबलको उपाधि जित्न सफल भएको हो । यस्तै महिलातर्फ नै जिल्ला भलिबल संघ स्याङ्जा तेस्रो भएको छ । जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै तेस्रो हुन सफल भएको हो । पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ नवलपुरले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही १५ हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल प्राप्त गरेका छन् । महिला तथा पुरुष भलिबल प्रतियोगिताका उपाधि बिजेता र उपविजेतालाई गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा फागुन ४ गते पोखरामा बिशेष सम्मानको साथ पुरस्कार बितरण गरिने प्रदेश खेलकुद परिषदले जनाएको छ ।
मुस्ताङ: मुस्ताङको थासाङ गाउँपालिका ३ धम्पु सडकमा आज बिहान बस दुर्घटना घाइते भएका १३ जनालाई पोखरा रिफर गरिएको छ । बसमा सवार १७ जनामध्ये १३ जनालाई पोखरा रिफर गरिरहेको र ४ जनाको लेते प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । बसमा दुई भारतिय नागरिक सहित १२ जना पुरुष, ४ जना महिला र १ जना नाबालक रहेको मुस्ताङ प्रहरीले जनाएको छ । मुस्ताङ प्रहरीका अनुसार म्याग्दी कोरला यातायातको ना ७ ख ७४४० नम्बरको बस बुधबार बिहान ८ः३० बजे बेनी–जोमसोम सडकबाट कालिगण्डकी नदीमा खसेको हो। दुर्घटनामा बिमती परियार, शर्मिला परियार, लक्ष्मी परियार, सुनिल परियार, राजकुमार बुढाथोकी, उमेश सापकोटा, पेमा छेतेन बिक, सुग्रिब परियार (नाबालक) र भारतीय नागरिक सुनिल पटेल, अपिता गोगय गम्भीर घाइते भएका हुन् । बस दुर्घटनामा घाइते भएका पेमा छेतेन बिक र सुनिल परियार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौं हिडेका थिए । बस दुर्घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र लेते प्रहरी चौकीबाट प्रहरी टोली र स्थानीयबासी उद्दारमा खटिएका थिए । बस दुर्घटना कसरी भयो भन्ने भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबलको उपाधि महिलातर्फ जिल्ला भलिबल म्याग्दीले जितेको छ । स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा जिल्ला भलिबल संघ म्याग्दीले पर्वतलाई सोझो ३–० को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले विजयी हुँदै प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबलको उपाधि जित्न सफल भएको हो । यस्तै महिलातर्फ नै जिल्ला भलिबल संघ स्याङ्जा तेस्रो भएको छ । जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै तेस्रो हुन सफल भएको हो । पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ नवलपुरले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ । पुरुषतर्फको फाइनल खेल जिल्ला भलिबल संघ बागलुङ र पर्वतबीच खेल केही समयमा हुनेछ । प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही १५ हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल पाउनेछन् । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल फागुन १ गतेदेखि जारी छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ९ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७३ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८२ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रुपैयाँ ४ पैसा र बिक्रीमा ९२ रुपैयाँ ४६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५० पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रुपैयाँ ३८ पैसा र बिक्रीमा ३० रुपैयाँ ५२ पैसा पाइन्छ। बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ९२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १२ पैसा तोकिएको छ।
कास्की: गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ । गत वर्ष चैत २३ गतेको बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका बिदाबारे निर्णय गरेको थियो । बिदाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित छ । २०७९ सालमा प्रदेशले दिने सार्वजनिक बिदामा प्रदेश सरकारको स्थापना दिन पनि समावेश गरिएको छ । संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिनसक्छ । गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषद्ले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दशैंमा बिदा दिने निर्णय गरेको थियो ।
काठमाडौं: नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला दुई सय रुपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

