पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश संग्रहालयको प्रचारप्रसार गर्न नसकेको बताएका छन् । पोखरा महानगरपालिका ९ नयाँबजार स्थित प्रदेश संग्रहालयको प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन् । ‘संग्रहालय अवलोकन गर्न आउने पर्यटक तथा दर्शकहरु समक्ष संग्रहालयको महत्वबारे प्रचारप्रसार गर्न सकेका छैनौं, मुख्यमन्त्री अधिकारीले भने, ‘ संग्रहालय भनेको विश्वविद्यालय हो, लोपउन्मुख अभिलेख, वस्तुहरु भोलिका अनुसन्धानकर्ताहरुका लागि महत्वपूर्ण साम्रागी हो त्यसैले संग्रहालय विश्वविद्यालय हो, यसको प्रचारप्रसार गर्न सरकार र नागरिकको दायित्व भित्र पर्छ ।’ उनले संग्रहालय भनेको संस्कृतिको राजधानी भएकाले लोपउन्मुख विभिन्न जातजातिको भाषाशैली जिवनशैली र लोपउन्मुख संस्कृति लगायत अन्य लोपउन्मुख वस्तुहरुको संरक्षणमा जोड दिए । प्रदेश संग्रहालयको प्रशासनिक भवन प्रदर्शनी केन्द्रसँगै जोदिदा कार्यालय व्यवस्थापनमा असहज भएपछि नयाँ दुईतले भवन निर्माण गरिएको प्रदेश संग्रहालयले जनाएको छ । गण्डकी प्रदेशको आर्थिक सहयोगमा १ करोड ८९ लाख ८६ हजार ६ सय २२ रुपैयाँको लागतमा स्लेट चन्द्रज्योति जेभीले प्रदेश संग्रहालयको प्रशासनिक भवन निर्माण गरेको हो । संग्रहालयको प्रशासनिक भवन निर्माण भएपछि पहिलेको कार्यालयलाई सूचना केन्द्रको रुपमा विस्तार गर्ने लक्ष्य संग्रहालयले लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै २०४१ सालमा सर्वसाधारणका लागि खुल्ला गरिएको क्षेत्रीय संग्रहालयमा संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारको सामित्वमा आएको छ ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरा स्वास्थ्य चौकीको प्रसूति सेवा प्रभावित भएको छ । प्रसूति सेवाका लागि जनशक्ति नहुँदा उक्त सेवा प्रभावित भएको हो । भीमापोखराका गर्भवतीहरू गर्भ परीक्षण तथा प्रसूति सेवाका लागि सदरमुकाम बागलुङ बजार जान बाध्य छन् । स्वास्थ्य चौकीमा दुई जना सिनियर अहेव, दुई जना अनमी, एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगी गरी छ जनाको दरबन्दी रहेको छ । तर हाल एक जना हेल्थ असिस्टेन्ट र कार्यालय सहयोगीका भरमा स्वास्थ्य चौकी सञ्चालन भइरहेको छ । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा गाह्रो भएको भीमापोखरा चौकीका हेल्थ असिस्टेन्ट आशिष सापकोटाले बताउनुभयो । स्वास्थ्य चौकीमा सात महिनादेखि दुई अहेव र एक अनमीको दरबन्दी रिक्त छ । कोभिड सङ्कटको बेला स्वास्थ्य चौकीमा कार्यरत एक सिनियर अहेव गाउँपालिकाले बोलाए पनि फिर्ता गरिएको छ । “साधारण स्वास्थ्य सेवा त म एक्लै गरिरहेको छु,” हेल्थ असिस्टेन्ट सापकोटाले भन्नुभयो, “बर्थिङ सेन्टरको काम अहिले पूर्ण रूपमा प्रभावित छ ।” काठेखोला गाउँपालिका–६ को बिहुँकोट स्वास्थ्य चौकीमा पनि एक जना अनमीका भरमा सञ्चालन हुँदै आएको छ । गाउँनजिकै स्वास्थ्य चौकी रहे पनि सामान्य बिरामी पनि उपचारका लागि सदरमुकाम बागलुङ बजार पुग्नुपर्नेे स्थानीयको गुनासो छ ।
काठमाडौं : कीर्तिपुरबाट प्रहरीले सट्टाबाजीको आंशकामा एक जनालाई पक्राउ गरेको छ। त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको बेला एक व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। उनका अनुसार उनी सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाट नियन्त्रणमा लिएको हो। 'अहिले उहाँलाई आशंका लागेर नियन्त्रणमा लिएका हौं,' उनले भने, 'अहिले अनुसन्धान गरिरहेका छौं।' त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।
काठमाडौं: नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुग्नुभएको छ । काठमाडौँ आउनुहुनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग हुनुहुन्छ । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउनुहुने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरूले भाग लिनुहुनेछ । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उहाँहरू सहभागी हुनुहुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । सैनिक मुख्यालय जङ्गी अड्डामा यही फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उहाँहरूको भेटघाट र छलफल हुनेछ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सोही दिन साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरूको सहभागिता रहनेछ । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाउँदैछ ।
काठमाडौं : सुनको मूल्य घटेको छ। आज सुन तोलामा ५०० सयले घटेको हो। मूल्य घटेसँगै प्रतितोला सुनको मूल्य १ लाख २ हजार ५०० रूपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य १ ला २ हजार रूपैयाँ तोकिएको छ। बिहीबार सुन तोलामा ६०० रूपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रूपैयाँले खरिदबिक्री भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार २७५ रूपैयाँले किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको थियो।
काठमाडौँ: नेपाल वायुसेवा निगमले यात्रुहरूको सुविधालाई ध्यानमा राखेर आज (फागुन ५ गते) देखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ । निगमले बिहीबार सूचना जारी गर्दै टिकट काउन्टर बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला रहने व्यवस्था गरेको जानकारी गराएको छ । साथै शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजे देखि बेलुका ५ बजे सम्म बिक्री कक्ष खुल्ला रहने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
काठमाडौं: अनेरास्ववियुको अध्यक्ष पदमा समिक बडाल विजयी भएका छन् । बडाल ९६५ मतसहित विजयी भएका हुन् । अनेरास्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत कुमार खकुरेलका अनुसार उनका निकटतम प्रतिपस्र्धी आरसी लामिछानेले ३५६ मत , अध्यक्ष पदका उम्मेदवार लोकेश निरौलाले ११३ र मोति विकले ७८ मत ल्याए । अनेरास्ववियुको नवनिर्वाचित अध्यक्ष बडाल यसअघि महासचिव थिए । २०६२ को स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा बडाल स्ववियु सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ को लागि विश्व प्रसिद्ध स्पोर्ट्स ब्रान्ड एडिडाससँग सहकार्य गरेको छ । नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र मञ्चबीच बिहीबार सम्झौता भएको छ । मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र रुट्स फेसनको तर्फबाट प्रबन्ध निर्देशक सन्जिव तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । दुई पक्षबीच तीन वर्षका लागि सम्झौता भएको हो । सम्झौताअनुसार एडिडासले हरेक वर्ष अवार्डमा १० लाख रुपैयाँ बराबरको सामग्री प्रदान गर्नेछ । एडिडासले यसअघि पनि स्पोर्ट्स अवार्डमा सहकार्य गरेको थियो । सम्झौतापछि रुट्स फेसनका प्रवन्ध निर्देशक तुलाधरले भन्नुभयो, ‘नेपालकै प्रतिष्ठित एनएसजेएस पल्सर स्पोटर्स अवार्डसँग पुनः जोडिन पाउँदा हामी धेरै खुसी छौं । खेलाडी र खेलकर्मी सम्मानमा जोडिन पाउँदा हामीले आफुलाई गौरवान्वित ठानेका छौं । यसअघि पनि हामीले मञ्चसँग सहकार्य गरेका थियौं । तर विविध कारण बीचमा सहकार्य निरन्तर हुन सकेन । आगामी वर्षहरूमा पनि हाम्रो सहकार्यले निरन्तरता पाउने विश्वास छ ।” त्यस्तै मञ्चका अध्यक्ष सुवेदीले एडिडास जस्तो विश्वस्तरीय ब्रान्डको साथ पाउनुले स्पोर्ट्स अवार्डको उचाई अझ वढेको बताउनुभयो । ‘करिब १० वर्षपछि एडिडास र मञ्चबीच पुनः सहकार्य भएको छ । एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिसँग धेरै समयपछि जोडिन पाउँदा हामी धेरै खुसी छौं । यो तीन वर्षको सहकार्यले बाँकी वर्षहरूमा पनि निरन्तरता पाउने हामीले विश्वास लिएका छौं,’ सुवेदीले भन्नुभयो । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड यही फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हँुदै छ । अवार्डमा यसपटक वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्ड गरी ९ विधा समावेश छ । जसमा पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् । अवार्डको चर्चित विधा पिपल्स च्वाइस अवार्डको मनोनित खेलाडीहरू सार्वजनिक भइसकेका छन् । यस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा, भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई समर्थकहरूले विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । त्यसको मतभार ५० प्रतिशत हुनेछ । त्यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेजमा गएर आफूलाई मनपर्ने खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिनेछ । यसको मतभार २५ प्रतिशत हुनेछ । त्यसबाहेक खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरूले पनि मतदान गर्नेछन् । खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकले गर्ने मतदानको मतभार समान १२।५ प्रतिशत हुनेछ । मनोनयनमा परेका खेलाडीलाई फागुन २१ गते राति १२ बजेसम्म मतदान गर्न सकिनेछ । उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडीको मनोनयन केही दिनमा सार्वजनिक हुनेछ ।
पोखरा: माछापुच्छ्र्रे हिमालको काखमा रहेको कास्की जिल्लाको उत्तर भेगमा रहेको माछापुच्छ्रे गाउपालिका वडा नं. ४ को रमणीय गाउँ लाहाचोक गाउँको प्रवद्र्धन गर्ने उद्धेश्यले हाइकर्स क्लब नेपालको समुह शनिबार उक्त गाउँ पुगेको छ । स्वस्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार संचालन हुँदै आएको एक दिने छोटो पदयात्रा (हाइकिङ) को ३१ औं श्रृङखला लाहाचोक गाउँमा गरेको थियो । पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाको मिलन चोकमा भेला भई पैदल यात्रा सुरु गरेका उक्त समुहलाई क्लबका संयोजक कृष्ण रानाभाटले हाइकिङले स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेकोले छिट्टै विधिवत रुपमा दर्ता गरिने जानकारी गराएका थिए । २०७६ साल देखि नियमित रुपमा हुँदै आएको हाईकिङ कोरोना भाइरसका कारण केही महिना स्थगित भएको र कोरोना भाइरसको असर कम भए पश्चात पुनः नियमित रुपमा संचालन भइरहेको क्लबका सदस्य तथा कानुनी सल्लाहकार अधिवक्ता नोज घर्तिमगरले वताए । विद्यार्थीदेखि गृहणीसम्म सहभागी भई रमाईलो गर्दै पैदल हिडेर स्थानिय वस्ती, खोलानाला, वनजंगल, विभिन्न विकास निर्माणका कार्यलाई प्रत्यक्ष रुपमा अवलोकन गर्दै ४ देखि ५ घण्टा संगै हिड्नु नै हाइकिङको उद्धेश्य रहेको रेडियो सफलताका स्टेसन म्यानेजर मधु अधिकारीले वताए । लाहाचोकका व्यवसायी राजेन्द्र अधिकारीले हाइकर्स क्लबका सदस्यहरुलाई लाहाचोकमा स्वागत गर्दै रहेका विभिन्न देवी देवताका मन्दिरहरु, प्रचारप्रसारको पर्खाइमा रहेको पर्यटकीय पातीखोला गुफा, काल भैरब मन्दिर, नवनिर्मित माछापुच्छ्रे गाउँपालिकाको प्रशासनिक भवन, व्यवसायीक रुपमा गरिएका कृषि तथा पशु पालनको अवलोकन गराएका भएको आइटि व्यवसायी पितम सेन ठकुरीले वताए । यस अगाडि कास्की, स्याङ्जा र तनहुँका विभिन्न गाउँहरुमा हाइकर्स समुह पुगेको र फागुन महिनाको अन्तिम शनिबार स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँमा जाने तयारी गरिएको छ । पोखराको पृथ्वीचोकलाई केन्द्रमा राखेर वेलुकी ५÷६ वजेभित्र फर्किनु पर्ने भएको कारण जाँदा वसमा जाने र फर्किदा बाँगेदेखि फेदीखोलासम्म ३ देखि ४ घण्टा हिडेर आउने तयारी रहेको पनि क्बलले जानकारी दिएको छ ।

