फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

काठमाडौँ:  मंगलबार एकैदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो ।    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    यस्तै यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढ्दै एक हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।   

गोरखा:  गोरखामा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत्यु हुनेमा आरुघाट गाउँपालिका १० गोरखाका मिनी ट्रकका चालक ४० वर्षिय उमेश श्रेष्ठ र मोटरसाइकलमा सवार दोलखाका ३२ वर्षिय विष्णु खड्का रहेका छन् ।   प्रहरीका अनुसार हिजो (सोमबार) दिउँसो करिब १ बजे गोरखा नगरपालिका ६ बिसौना मोडमा गोरखा बजार आउदै गरेको प्र.३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आएको बा ८६ प १७८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ ट्रक र मोटरसाइकल सडकबाट करिब २० मिटर तल खसेको थियो । ‘ ट्रकको ओभरस्पिड देखिएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिएर सडक किनारमा रहेको सर्वसाधारणलाई पनि लतारेर लगेको देखिन्छ ।' घटनामा खटिएका एक प्रहरी अधिकृतले सुनगाभा न्यूजसँग भने ।    उनले सो दुर्घटनामा परी ६ जना घाइते भएको जानकारी दिए । हाल घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।    सो घटनबारे थप अनुसन्धान भइरहेको गोरखा प्रहरीले जनाएको छ ।  

काठमाडौं:  भारतीय रेटिङ एजेन्सी ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ । उक्त मिडियाले फेब्रुअरी महिनाको सूची सेयर गरेको छ, जसमा शाहरुख खान भारतका सबैभन्दा लोकप्रिय अभिनेता बनेका छन् ।   महिला कलाकारतर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो स्थानमा छिन् ।   पठान रिलिजको कारण पनि पछिल्लो महिना शाहरुख चर्चाको शिखरमा रहे । सो महिनामा उनले बादशाहको मान्यतालाई यथावत् राख्न सके । सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन् । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को पोस्ट-प्रोडक्सनमा व्यस्त छन् ।   फिल्महरु पछिल्ला दिनमा लगातार असफल भइरहेपनि अक्षय कुमार लोकप्रियताको सूचीमा तेस्रो स्थानमा छन् । ऋतिक रोशन यतिबेला आफ्नो एक्सन थ्रिलर फिल्म फाइटरको सुटिङमा व्यस्त छन् । उनी लोकप्रियताको चौथो स्थानमा छन् ।   आफ्नो फिल्म ‘तु झुठी मैं मक्कर’का लागि चर्चामा रहेका रणवीर कपुर पनि सूचीमा पाँचौं स्थानमा परेका छन् । उनको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।   महिलातर्फ आलिया शीर्षस्थानमा   आलिया यतिबेला आफ्नो मातृत्वको आनन्द लिइरहेकी छिन् । यसबाहेक उनी आफ्नो फिल्म रकी र रोनीको प्रेमकथाको सुटिङमा पनि व्यस्त छिन् । उनले ओरम्याक्स पपुलर फिमेल स्टारको सूचीमा पहिलो स्थान हासिल गरेकी छन् ।   दीपिका पादुकोण अहिले अमेरिकाको लस एन्जलसमा छिन् । सोमबार सम्पन्न ओस्कार अवार्डमा उनी प्रस्तुतकर्ताको रूपमा देखा परिन् । उनी हालै ब्लकबस्टर फिल्म पठानमा शाहरुख खानसँग देखिएकी थिइन् । ओरम्याक्सकोे सूची अनुसार उनी हाल देशको दोस्रो सबैभन्दा लोकप्रिय महिला स्टार हुन् ।   अभिनेत्रीतर्फ सूचीको तेस्रो स्थानमा कियारा आडवाणी छिन् । कियारा र सिद्धार्थ मल्होत्राले सन् २०२३ को सुरुमा विवाह गरेका थिए । कियारा आफ्नो विवाहलाई लिएर केही महिनादेखि हेडलाइन्समा थिइन् । सायद यही कारण उनी यो सूचीमा रहिन् ।   कट्रिना कैफ दशकभन्दा बढी समयदेखि बलिउडकी शीर्ष अभिनेत्री हुन् । उनी अहिले सलमान खानसँग टाइगर ३ को सुटिङमा व्यस्त छिन् । चर्चित महिला स्टारको सूचीमा कट्रिना चौथो नम्बरमा छिन् ।   कृति सेनन हालै फिल्म ‘शहजादा’ मा कार्तिक आर्यनको अपोजिटमा देखिएकी थिइन् । उनको फ्यान फलोइङ पनि निकै उच्च छ । यो सूचीमा उनी पाँचौं स्थानमा परेकी छन् ।

काठमाडौं : सरकारले पूर्वराष्ट्रपतिलाई विभिन्न सेवासुविधा उपलब्ध गराउँदै आएको छ। जसमा २ लाख घरभाडा, मासिक ५० हजार रुपैयाँसहित अन्य सुविधा छन्। यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार घरभाडा र  मासिक ४० हजार दिने व्यवस्था छ।   पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलगायत पदाधिकारीलाई भत्तासँगै प्रतिव्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगीसमेत राज्यले उपलब्ध गराउने व्यवस्था छ।   काठमाडौं उपत्यका वा अन्य प्रदेशका राजधानीमा घर भए मर्मतका लागि भत्तासहित मासिक १ लाख रुपैयाँ दिने व्यवस्था छ। घर नभएका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भत्तासहित मासिक ७५ हजार रुपैयाँ छुट्ट्याइएको छ।    मासिक भत्ता, आवास सुविधासहित गाडी, निजी सचिवालय कर्मचारीको व्यवस्था, सुरक्षा व्यवस्था राज्यले उपलब्ध गराउने मापदण्डमा छ। तर, राष्ट्रपति वा उपराष्ट्रपति तथा पूर्वपदाधिकारीले मापदण्डबमोजिम पाएको सुविधा नलिन वा पाएको सुविधा जुनसुकै बखत पनि फिर्ता गर्न सक्छन्। सुविधा प्राप्त गर्ने पदाधिकारी वा विशिष्ट व्यक्तिको मृत्यु भएमा कानुनबमोजिम निकटतम हकदारले सम्बन्धित निकायमा १५ दिनभित्र फिर्ता गर्नुपर्ने हुन्छ।

जाजरकोट:  किसानको उत्पादन सङ्कलन गरी बजारसम्म पु-याउने उद्देश्यसहित निर्माण गरिएको कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन भएको छ । कर्णाली प्रदेश सरकार कृषि मन्त्रालयको ३५ लाख रुपियाँमा सो केन्द्र निर्माण गरिएको थियो ।    सो केन्द्रका लागि आर्थिक वर्ष २०७५/७६ मा २५ लाख र आर्थिक वर्ष २०७६/७७ मा १० लाख गरी कुल ३५ लाख बजेट प्राप्त भएको थियो । सो केन्द्र कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले निर्माण गरेको थियो ।    सङ्कलन केन्द्र प्रयोगविहीन भएपछि आफ्ना उत्पादन डोकोमा बोकेर पसल र गाउँघर चहार्दै बेच्न किसान बाध्य छन् । भेरी नगरपालिका–४ का एकदेव शर्माले सरोकारवाला निकायको लापरबाहीका कारण कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन अवस्थामै जीर्ण बन्दै गएको बताउनुभयो ।   कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले कृषि उपज सङ्कलन केन्द्र सञ्चालनका विषयमा अध्ययन गरी प्रक्रिया अघि बढाउने बताउनुभयो । सहकारी संस्थाका प्रबन्धक राजु केसीले सङ्कलन केन्द्र छिट्टै सञ्चालन गरिने बताउनुभयो ।  

पोखरा:  घट्टेखोला–धम्पुस–देउराली–खानीगाउँ हुँदै ल्वाङसम्म जोड्ने सडक निर्माण गर्नुपूर्व वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) गर्न टोली धम्पुस पुगेको छ।   आईईई रिपोर्ट निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), डिभिजन वन कार्यालय उक्त परियोजनको सम्बन्धित कन्सल्टेन्ट, स्थानीय सरकार, स्थानीय तथा सरोकारवालासहितको टोली धम्पुस पुगेको हो।    माछापुच्छ्रे गाउँपालिका–७ (धम्पुस)का वडा अध्यक्ष वैकुण्ठ भण्डारीको टोलीले स्थलगत अवलोकनसँगै नापजाँच गरेको बताउनुभयो। करिब तीन वर्षअघि १३ किलोमिटर सडक ५८ करोडको लागतमा निर्माण हुने अन्तिम चरणमा पुगेर पनि विभिन्न कारणले गर्दा टेन्डर प्रक्रियामा रोकिएको थियो। उक्त योजना केही संशोधनसहित पुनर्निर्माण हुने चरणमा भएकाले अब त्यसलाई सफल पार्न सबै पक्षले सहयोग गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो। उक्त परियोजना अघि बढाउन स्थानीय रूपमा कुनै समस्या नभएको दाबी गर्दै अध्यक्ष भण्डारीले एक्याप र वन कार्यालयको क्षेत्राधिकारसमेत पर्ने भएकाले त्यसका लागि आवश्यक समन्वय गर्दै आएको जनाउनुभयो।     सडकको दायाँबायाँ पर्ने स्थानीय परियोजनाका लागि आवश्यक जग्गा दिन राजी भएको अध्यक्ष भण्डारीले बताउनुभयो। स्थानीय दलबहादुर गुरुङले विकासको मेरुदण्ड नै बाटो भएकाले उक्त बाटो निर्माण प्रक्रियामा अब कुनै बाधा अवरोध नहुने बताउनुभयो। धम्पुसको घट्टेखोला, देउराली, खानीगाउँ हुँदै ल्वाङसम्म जाने गण्डकी प्रदेशकै नमुना सडक निर्माण प्रक्रिया समन्वय अभावले गर्दा ढिलाइ भएको भन्दै प्रदेशका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल स्थलगत अनुगमनमा पुग्नुभएको छ।    पूर्वमन्त्री बरालले प्रस्तावित आयोजनाले ग्रामीण सडक विस्तारका साथै स्थानीय कृषि, पर्यटन क्षेत्रलाई टेवा पु-याउने बताउनुभयो।  

पाल्पा:  तानसेनका व्यापारीले मनपरी रूपमा सडक तथा पेटीमा सामग्री राख्दा तानसेन बजार अव्यवस्थित बनेको छ।   पसलअगाडिको सडक तथा पेटी ओगटेर बिक्री गर्न राखिएका सामग्रीले बजारको सौन्दर्यमा नै असर परेको छ। तानसेनका अधिकांश व्यापारीले सडकको पेटीभन्दा बाहिरै सामग्री बिक्रीका लागि बिछ्याउने प्रचलन बढेको छ। सडक कब्जा गरेर बिक्रीका लागि सामान बिछ्याउँदा सडकमा यात्रुले सास्ती बेहोर्नु परेको छ।    तानसेन नगरपालिकाले सडकमा बिछ्याएका सामग्री हटाए पनि केही दिनपछि पुनः सडक कब्जा गरेर व्यापार गर्ने क्रम बढेको तानसेनका स्थानीय सुरेश श्रेष्ठले बताउनुभयो। पसलेले कपडा, खाद्यान्न सामग्री, तरकारी तथा फलफूल, निर्माण र हार्डवेयरका सामग्रीसमेत सडकमै राख्ने गरेका छन्। केही व्यक्तिहरूले घर तथा संरचना बनाउने नाममा सडकमै लामो समयसम्म निर्माणका सामग्री राख्ने गरेका छन्। पुरानो सहरका रूपमा विकसित भएको तानसेनका सडक आफैँमा साँघुरो छ।    साँघुरो सडकका कारण पछिल्लो केही वर्षयता अधिकांश समयमा सवारीसाधनको जाम हुने गरेको छ। केही पसलले खाद्यान्न, निर्माण, पेय तथा हार्डवेयरका सामग्री लोड–अनलोड गरेर घण्टौँ सडकमा सवारीसाधन ठड्याउँदा समेत नगरभित्र समस्या सिर्जना भएको शर्माले बताउनुभयो।    सडकमा समस्या हुने गरी व्यापार गर्नेमाथि निगरानी गरेर कारबाही गरिएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो। सडकमा ट्राफिक समस्या गर्नेलाई कारबाही गर्न नगर प्रहरी खटाएका छौँ, सूचना अधिकारी आचार्यले भन्नुभयो, “नगरप्रहरी नभएको बेलामा सडकमा सामान फिँजारेको हुन सक्छ, त्यसलाई पनि निगरानी गरेर कारबाही गर्छौं।’   

सल्यान:  सल्यानमा सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।    सोमबार दिउँसो गाउँबाट झन्डै दुई किलोमिटर टाढा बाहुनका जङ्गलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासि पड्किँदा घाइते भएका चित्रबहादुर घाइते भएका थिए ।    जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले घाइते रावतको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिनुभयो ।  उहाँका अनुसार बन्दुक बोकेका आइते रावत  बन्दुकसहित फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।   मृतक चित्रबहादुरको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीको भनाइ छ

पोखरा:  गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कास्की कारागारलाई २० लाख बजेट विनियोजन गरेको छ ।   आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले कारागार तथा कैदीबन्दीको अवस्था र समस्या बारे बुझ्न आज (सोमबार) निरीक्षण गर्ने क्रममा भौतिक संरचना मर्मत संभार गर्न उक्त रकम विनियोजन गरेको बताउनुभयो ।   उहाँले उक्त बजेटबाट कारागारको भौतिक संरचना मर्मत तथा संभार तथा व्यवस्थापनमा खर्चिनुपर्ने उल्लेख गर्नुभयो ।   मन्त्री गाहामगरले सो बजेटबाहेक खेलकुद र शैक्षिक समाग्री तथा अन्य आवश्यक समाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।  उहाँले सरकारले उपलब्ध गाराउनुपर्ने सबै समाग्रीमा कमी हुन नदिने बताउनुहुदै आगामी दिनमासमेत सहयोगका लागि तत्पर रहेको बताउनुभएको थियो ।    यस्तै मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले कारागारका लागि सो बजेट यथेष्ट नहुने बताउनुभयो । ‘अहिले हाम्रो मन्त्रालयले २० लाख छुट्याएको छ । यो रकम पर्याप्त होइन । तैपनी यहाँको समस्यामा मन्त्रलायको उपस्थिति  जनाउन खोजेका हौं, सचिव अधिकारीले भने, ‘आगामी दिनमा पनि थप सघाउन हामी कटिबद्ध छौ ।’   सचिव अधिकारीले आगामी आर्थिक वर्षको बजेटमा छुट्टै व्यवस्था गर्न कारागार तथा कैदीबन्दीको समस्याहरु लिखित रुपमा उपलब्ध गराउन जेलरसँग आग्रह गरेका थिए ।    यस्तै कास्की कारागार प्रमुख भिमराज कोइरालाले आवश्यक कच्चापदार्थमात्रै उपलब्ध भएको खण्डमा भौतिक पूर्वाधार निर्माणका लागि कैदीबन्दीनै सक्षम रहेको जानकारी दिए । ‘यहाँ बनाउनुपर्ने जे भएपनि कच्चापदार्थ र सामानको आवश्यकता हो, उनले भने, ‘दक्ष जनशक्तिको यहाँ कमी छैन । जे भन्यो त्यही बन्छ । तर सामान मात्रै चाहिएको अवस्था हो ।’    उनले कारागारको आन्तरिक व्यवस्थापनमा कैदीबन्दीहरुले  नै व्यवस्था मिलाएको बताए । ‘यहाँ भित्र छुट्टै टिम छ । आन्तरिक रुपमा व्यवस्थित बनाउनका लागि समस्या छैन । तर पूर्वाधार निर्माणका लागि भने सरकारले सहयोग गर्नुपर्छ ।’ कोइरालाले भने ।   कारागार अवलोकनको क्रममा कैदीबन्दीहरुले कारागारको क्षमता भन्दा बढी कैदिबन्दी रहेकाले बस्नमा समस्या भएको गुनासो गरेका थिए ।    ग​ण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापामगरसँगै, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङ, आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी बुद्धिराज गुरुङ तथा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक अजय केसी लगायतको सहभागिता रहेको थियो ।    कास्की कारागारमा महिला कैदीबन्दीका लागि छुट्टै ब्लक र पूरुषका लागि ब्लक ‘ए’ र ब्लक ‘बि’ गरी दुइवटा भवन छन् । सो तीन भवनमा हाल ४५ महिला ६ आश्रित नाबालिग र ६९४ पुरुष गरि कुल ७ सय ४५  कैदिबन्दी रहेका छन् ।