पोखरा: त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति निजिकिदा गएरातिदेखि मौन अवधि सुरु हुने भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु हुनेभएपछि प्रचारप्रसारमा रोक हुनेछ । र कुनै पनि विद्यार्थी संगठनका उम्मेदवारहरुले भोट प्रचारप्रसारका गतिविधि गर्न पाउदैनन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको छ । यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो । स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने त्रिवीले जनाएको छ । हालसम्म कतिपय क्याम्पसमा नतिजा घोषणा भइसकेको छ भने केही क्याम्पसमा चुनाव हुने नहुने बारे अनिश्चित छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ । मतदान केन्द्रमा के–के लान मनाही छ ? भयरहित बनाउनका लागि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ, मसी लैजान निषेध गरिएको छ । मोबाइलदेखि पानीका बोतल लैजान मनाही छ । साथै त्रिविले मोबाइल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो । यस्तै धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्तुमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेनसमेत लैजान प्रतिबन्ध गरिएको छ । यस्तै लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ ।
गण्डकी: सबराज छन्त्याल ३९ वर्षको हुनुभयो । एक्काइस वर्ष पहिले छन्त्यालका बुवा टीका पनि ३९ वर्षकै हुनुहुन्थ्यो । जनयुद्धको रापताप चलेको थियो । देशमा सङ्कटकाल घोषणा भयो । यो विसं २०५८ फागुन आखिरीतिरको कुरा हो । युद्धरत माओवादीलाई आश्रय दिएको आरोपमा सरकारी सुरक्षा फौजले बागलुङको देवीस्थानका टीकासहित रोशनध्वज मल्ल र डोरबहादुर छन्त्याललाई नियन्त्रणमा लियो । साता दिन यातना शिविरमा राखेपछि सुरक्षाकर्मीले उनीहरूलाई चैत १ गते हेलिकोप्टरबाट ताराखोला पु¥याए । अहिलेको ताराखोला गाउँपालिका–२ अर्गल, गयार भन्ने ठाउँमा तीनै जनाको सामूहिक हत्या गरेर एकै चिहानमा गाडे । उक्त आतातयी घटना भएको २१ वर्षपछि बुवाको चिहान खोज्दै सबराज र उहाँका भाइ भीषण बुधबार अर्गल पुग्नुभएको थियो । रोशनध्वजकी धर्मपत्नी गौमला, छोराहरु गामु, सुगम, डोरबहादुरकी धर्मपत्नी फूलमाया र छोरी सपना पनि सँगसँगै जानुभएको थियो । घटना भएकै दिन पारेर उहाँहरु निसीखोलाको देवीस्थानदेखि ताराखोलाको अर्गल पुग्नुभएको हो । “घटना भएकै ठाउँमा सानो शोकसभा ग¥यौँ, बुवाको स्मृतिमा धुपबत्ती बाल्यौँ”, सबराजले भन्नुभयो, “सहिद परिवारका हिसाबले पहिलोपटक त्यहाँ पुग्दा हामी सबै भावुक पनि भयौँ, नरमाइलो अनुभूति पनि भयो ।” परिवारजनले सहिदको चिहान भएको ठाउँमा पहिलेदेखि नै जाने इच्छा देखाउनुभएको थियो । यसपालि बेला जु¥यो । वार्षिक पुण्यतिथि पारेर उहाँहरू गयार पुग्नुभयो । निरापराध मारिएका आफ्ना प्रियजनको चिहान छेउ उभिएर मौनधारण गरे, सहिदको सम्मानमा श्रद्धाका फूल चढाए र पार्टीको झण्डा गाडे । सहिदको स्मृतिलाई चीरस्थायी बनाउन गयारमा केही गर्ने सङ्कल्प पनि लिए । “परिवारजनका तर्फबाट त्यहाँ स्मृति स्तम्भ या अरु कुनै संरचना बनाउने सोच बनाएका छौँ”, सबराजले भन्नुभयो, “गाउँपालिकाले पनि गयारमै सहिद उद्यान बनाउन थालेको रहेछ, त्यो सुखद् कुरा हो ।” उहाँले युद्धमा आफन्त गुमाएका परिवारले न्याय र उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्नुभयो । गाउँकै मान्छेले माओवादीका सुराकी भनेर गलत सूचना दिएपछि रोशनध्वज, टीका र डोरबहादुर सुरक्षाकर्मीको निशानामा पर्नुभएको थियो । माओवादीको सहयोगी बनेको आरोपमा ज्यानै गुमाउन पुगेका उहाँहरू खासमा भने राष्ट्रिय जनमोर्चामा आबद्ध हुनुहुन्थ्यो । राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले रोशनध्वज तत्कालीन जिल्ला सदस्य र अन्य दुई सक्रिय कार्यकर्ता रहेको बताउनुभयो । “माओवादीलाई खाना, बास दिएको भन्ने शङ्कामा निर्मम यातना दिएर उहाँहरूको हत्या गरिएको थियो”, सचिव पोखरेलले भन्नुभयो । हेलिकोप्टरबाट भातखाने डाँडामा ओरालेपछि सुरक्षाकर्मीले कुट्दै गयार भन्ने ठाउँमा लगेर हत्या गरी गाडेको उहाँले बताउनुभयो । ताराखोलाको केन्द्र भातखाने डाँडाबाट अझै उकालो चढेपछि गयार आइपुग्छ । गयारलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रूपमा प्रयोग गरेको थियो । त्यहाँ एकैसाथ मारिएका तीनै जनालाई माओवादी र जनमोर्चा दुवैले सहिदका रूपमा सम्मान दिँदै आएका छन् । सहिद रोशनध्वजकी धर्मपत्नी गौमला र टीकाका छोरा सबराज निसीखोलाको कार्यपालिका सदस्यसमेत रहनुभएको छ । जनमोर्चाका कार्यकर्ता भए पनि जनयुद्धका सहिदकै रूपमा सूचीकृत गरिएको नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका उपाध्यक्ष ज्ञामनाथ गैरे बताउनुभयो । “उहाँहरूको हत्या भएको ठाउँमै गाउँपालिकाले सहिद उद्यान बनाइरहेको छ, पार्टीले पनि त्यसमा पहल लिइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसबेला जनमोर्चामा सक्रिय रहे पनि माओवादी आन्दोलनप्रति उहाँहरुको सदासयता र समर्थन थियो ।” युद्ध पर्यटनको नमूना योजनाका रूपमा गयारको सहिद उद्यानलाई अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत उद्यानमा पूर्वाधार निर्माणको काम भइरहेको छ । यसअघि त्यहाँ गण्डकी प्रदेश सरकारको बजेटबाट पदमार्ग, पोखरी र प्रतिक्षालय निर्माण गरिएको थियो । संरचना बनाउँदा स्थानीय सीप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ राखिएको छ । प्रतिक्षालय काठ र ढुङ्गाको बनाइएको छ । लामीडाँडा सामुदायिक वन क्षेत्रको एक हजार दुई सय ९१ वर्गमिटरमा उद्यानका संरचना बन्नेछन् । उद्यानमा सहिदका सालिक स्थापना, बगैँचा, विश्रामस्थल, धारा, शौचालयसहित अरु पूर्वाधार बन्न बाँकी नै छ । बजेटको स्रोत जुटाएर जतिसक्दो चाँडो उद्यान निर्माणलाई पूर्णता दिने योजनामा गाउँपालिका छ । जनयुद्धमा ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिनेछ । ताराखोला जनयुद्धबाट बढी प्रभावित ठाउँ हो । उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमूना युद्ध सामग्री पनि राखिने जनाइएको छ । युद्धबाट उठेको गाउँलाई पर्यटनका माध्यमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ । RSS
पोखरा: नागरिक समाजको भूमिका पछिल्लो समयमा खुम्चिँदै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । शान्तिका लागि साझा अभियान (कोक्यापं)ले बिहीबार पोखरामा आयोजना गरेको ‘नागरिक स्थान अनुगमन तथा विश्लेषण’ बिषयक गण्डकी प्रदेश स्तरीय अन्तक्र्रियामा बोल्दै उनीहरूले यस्तो अवस्थाको सिर्जना हुनु बिडम्वना भएको बताए । कोक्याक्पका बरिष्ठ कार्यक्रम संयोजक महेश भट्टले अनुगमनका क्रममा राज्यले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरेको पाइएको बताए । राज्य र गैरराज्यपक्षबाट नागरिक अधिकारलाई कुण्ठित बनाउनु दुःखद भएको भन्दै उनले नागरिक समाज र राज्यबिच सन्तुलन कायम हुनुपर्नेमा जोड दिए । राजनीतिक नेतृत्वमा पुग्ने नयाँनयाँ पात्रहरूका कारण समस्या भएको उनको भनाइ छ । कोक्यापका पूर्व अध्यक्ष उषा बरुवालले संस्थाले सुरुदेखि नै जातीय विभेद र छुवाछुतको सवालका मुद्दालाई उठाउँदै आएको बताइन् । महिला सशक्तिकरणका कुरा गर्दा आर्थिक सशक्तिकरणलाई पनि जोड दिनुपर्ने उनको भनाइ छ । कोक्याप अध्यक्ष पुष्प भुसालले नागरिक समाज अब आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका बिषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले २०६२/६३ सालको जनआन्दोलनमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको तर लोकतन्त्र प्राप्तपछि नागरिक समाजको भूमिकामा संकुचन हुँदै गएको बताए । आवश्यक परे नागरिक समाजको खोजी गरिने तर अन्याय र अत्याचारकोविरूद्ध बोल्दा धम्कीको सामाना गर्नुपर्ने उनको भनाइ छ । राजनीतिक अस्थिरतका कारण मानवअधिकारकर्मी जोखिममा रहेको उनले सुनाए । गौरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष पदमराज पहारीले राज्यले भौतिक निर्माणको बिषयलाई बढी प्राथमिकता दिँदा महिला, दलित तथा बालबालिका आवश्यक शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनुपरेको बताए । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा अधिकृत बिष्णुमाया पौडेलले पछाडि परेका वर्गलाई मूलधारमा नल्याएसम्म सक्षम समाजको परिकल्पना गर्न नसकिने बताइन् । बालगृह महासंघ नेपालका केन्द्रीय महासचिव विजय प्रधानले पछिल्लो समय नागरिक समाजका आवाज सुन्नेै नचाहने प्रवृत्ति हावी हुँदै गएको बताए । बालहितकारी परियोजना कास्कीका संयोजक केशव पौडेलले नागरिक समाज साँच्चिकै नागरिक समाज हुनुपर्ने बताए । समुदायमा काम गर्दा अधिकारकर्मीलाई डलरवादीको आरोप लगाइनुका साथै धम्कीको सामना गर्नुपरेको उनको भनाइ छ । दलित महिला संघ (फेडो) कास्कीमा कार्यक्रम संयोजक इश्वरी विकले जातीय विभेदका घटना हुँदा दलितले मात्र आवाज उठाउनुपर्ने हो भन्दै प्रश्न गरिन् । दलितमाथि विभेद हुँदा आवाज कम उठ्ने गरेको उनको भनाइ छ । मानवअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेलले सरकरी नीति नियम बनाउँदा महिलालाई पनि सहभागी गराउनुपर्ने बताइन् । कार्यक्रममा कोक्यापका गण्डकी संयोजक बिरबहादुर किसान, कार्यक्रम व्यवस्थापक सरोज नेपाल, राष्ट्रिय मानवअधिकार आयोगका टंक अधिकारी, वडा न.२८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने, फेडो कास्कीका सचिव सरस्वती परियार लगायतले नागरिकले सभ्य र सक्षम समाजको परिकल्पना गरेको बताए ।
काठमाडौं: आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । नेपालले युएईलाई डिएल मेथोडमा ९ रनले हराउँदै विश्वकपमा छनोट भएको हो ।
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५१ अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा भने ओरालो लागेको छ । विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर रू एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारपछि बजार पुँजीकरण रू २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार दुई सय ७८ पुगेको छ । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रू चार करोड ९४ लाख ९२ हजार छ सय १९ बराबरको कारोबार भयो । नविल बैंक रू तीन करोड ९६ लाख ८३ हजार सात सय ३१, हिमालयन डिस्टिलरी रू तीन करोड ८३ लाख दुई हजार पाँच सय ८५, नेपाल लाइफ इन्स्योरेन्स रू तीन करोड ३० लाख तीन हजार आठ सय ६१ र सिद्धार्थ बैंकको संस्थापक शेयर रू दुई करोड ५६ लाख बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त, शुभम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी चार दशमलव ९८,किसान लघुवित्त चार दशमलब ९३ र विन नेपाल लघुवित्तका लगानीकर्ताले चार दशमलब २५ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त पाँच दशमलव ७६, नयाँ सारथी लघुवित्त चार दशमलब ८०,प्रभु लाइफ इन्स्योरेन्स चार दशमलब ७४, ग्रीन डेभलपमेन्ट बैंक चार दशमलब ६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलव २० प्रतिशतले शेयर मूल्य बढेको छ ।
काठमाडौं: काठमाडौं महानगरपालिका ३२ वटै वडामा आज (बिहीबार) बाट निःशुल्क कानुनी सहायता सुरु भएको छ । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले विवादहरू समाधानका लागि महानगरका ३२ वटै वडामा निःशुल्क कानुनी सहायता सुरु गरिएको बताउनुभयो । जसका लागि महानगरले नेपाल ल क्याम्पसँग सम्झौता गरेको छ । क्याम्पसका स्नातक उत्तीर्ण गरेका ३२ जना कानुनी परामर्शका लागि वडामा खटिने छन् । प्रवक्ता मानन्धरका अनुसार महानगरका वडाका सामान्य विवादहरू महानगरको न्यायिक समितिसम्म आउने गरेका कारण वडामै विवाद समाधान गर्नका लागि यो व्यवस्था गरिएको हो । उहाँले भन्नुभयो, ‘‘महानगरका वडाहरूबाट सामान्य किसिमका विवादहरू समाधानका लागि न्यायिक समितिमा आउने प्रवृत्ति बढी भयो । सबै समस्या समाधानका लागि समय धेरै लाग्ने देखियो । त्यसकारण चाप कम गर्न वडामै समाधान गर्नका लागि यो व्यवस्था गरिएको हो ।’’ वडामा खटिने कानुनी व्यक्तिले पनि विवाद समाधान गर्न नसकेको विषयमा महानगरको न्यायिक समितिले समाधान गरिदिने उहाँको भनाइ छ ।
म्याग्दी: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक छ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक छ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनुभयो । “चैते दशैंको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो “पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।” निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ । यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी-गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधबारदेखि हटाइएको छ । बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म सवारी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ ।
काठमाडौं : आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य पछ्यारहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। पहिलो ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरमा कुशल तेस्रो नम्बरमा क्रिजमा उत्रिएका कुशल मल्ललाई पनि गुमाएको थियो। यद्यपि, तेस्रो विकेटका लागि भीम सार्कीसँग ६१ रनको साझेदारी गर्दै कुशलले एकदिवसीय करिअरको पाँचौं अर्धशतक बनाएका हुन्। दोस्रो ओभरमै दुई महत्त्वपूर्ण विकेट गुमाएको नेपाल कठिन अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान रोहित पनि १६ रन बनाएर आउट भएका थिए। भीम ३० बलमा २४ रन बनाएर खेलिरहेका छन्। नेपालले १६ ओभरमा तीन विकेट गुमाएर ९८ रन बनाएको छ। नेपाललाई जितका लागि ३४ ओभरमा दुई सय १३ रन आवश्यक छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो। यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफ खानले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले। त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्। नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै,ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए। सन्दीपले १० ओभरमा ८०,सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।
काठमाडौं : आसिफ खानको आक्रमक अविजित शतकप्रेरित यूएईले आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गर्यो। यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले। त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्। नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए। सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

