पोखरा: गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शुक्रबार कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम दिएको छ । युआरएल मुख्य कार्यालय सभागृहचोक र युआरएलका १३ शाखामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्दै ग्राहकलाई गुणस्तरीय सेवा दिन तालिम आयोजना गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले रोगको निदान र उपचारमा प्रयोगशालाको भूमिकाबारे प्रकाश पारे । उनले भने, ‘प्रयोगशालाको रिपोर्ट गलत भयो वा समयमै आएन भने बिरामीको ज्यान नै जोखिममा पर्न सक्छ । आफन्त, चिकित्सक, अस्पताल व्यवस्थापनलाई दबाब बढ्छ । डाक्टरले रिपोर्टकै आधारमा उपचार गर्ने हो, कथंकदाचित रिपोर्ट गलत भए उपचार पनि गलत हुन सक्छ ।’ प्रयोगशाला गुणस्तर विज्ञ सुशील थापाले दक्ष प्राविधिक र अत्याधुनिक मेसिनको सम्बन्धबाट मात्रै गुणस्तरीय रिपोर्ट आउन सक्ने औंल्याए । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीका माइक्रोबायोलोजिस्ट डा सौगात प्रधानले कल्चर जाँच र त्यसको संवेदनशीलताबारे प्रकाश पारे । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले व्यावसायिक ल्याबमा कर्मचारीले आपसमा गर्ने व्यवहार र सेवाग्राहीलाई गर्नुपर्ने व्यवहारले ल्याबको परीचय दिने उल्लेख गरिन् । यसैगरी, युआरएलका टेक्निकल हेड भूपेन्द्र रेग्मी, टेक्नोलोजिस्ट सुशील थापा र बायोक्यामिस्टद्वय सुनिता श्रेष्ठ र अनुप भुसालले युआरएलले अहिले अपनाएको कार्यसम्पादन प्रक्रिया र रिपोर्टिङबारे जानकारी दिए ।प्रशिक्षार्थीलाई वरिष्ठ प्याथोलोजिस्ट डा सुदीप रेग्मीले हिस्टो प्याथोलोजी जाँचका प्रक्रिया र रिपोर्टिङबारे प्रकाश पारेका थिए । तालिममा शाखा इन्चार्ज र सहइन्चार्ज गरी ३० जना सहभागी थिए । युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले नयाँ टेस्ट, मेसिनहरुबारे जानकारी दिन र विश्वमा विकसित प्रयोगशालाका नयाँ तकनिकी सिकाउन तालिम आयोजना गरिएको बताए । उनले भने, ‘अब मेसिन उत्पादक कम्पनीकै विज्ञ झिकाएर तालिम दिने योजना छ । अहिलेको तालिममा आएका विषय लागू भए÷नभएको टिम बनाएर अनुगमन हुनेछ ।’ युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले सर्वाेत्कृष्ट प्रविधि, दक्ष कर्मचारी, चुस्त व्यवस्थापनसँगसँगै पछिल्लो समय विकसित प्रविधि, टेस्ट आदिलाई भित्र्याएर युआरएलअघि बढ्ने बताए । उनले भने, ‘गण्डकीको प्रयोगशाला क्षेत्रको पहिलो ल्याब युआरएल ल्याबका सबै क्षेत्रमा अग्रणी बन्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन कुनै दत्तचित्त छ ।’
काठमाडौँ: नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तलीले बेबारिसे बनाएर छाडेको क्रिकेट रंगाशाला जिम्मा लिएर निर्माण गर्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले भने– ‘चितवनमा धुर्मुस सुन्तलीले बनाएको रंगशाला बेवारिसे भएर बसेको छ । त्यसलाई सरकारले तुरुन्त लिनुपर्यो र त्यसलाई तिर्नुपर्ने पैसा तुरुन्त तिरेर त्यसको निर्माण सुरु गर्नुपर्यो । त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रंगशालालाई बिस्तार गर्नुपर्यो र मुलपानीको रंगशालालाई बनाउनुपर्यो ।’ उनले खेलाडीबाट अपेक्षा गर्ने खेलाडीले जितेको बेलामा एक दुई लाख रुपैयाँ दिएर अघिपछि भने सरकारले कानमा तेल हालेर बस्ने काम गरेको बताए । उनले भने– ‘खेलाडीलाई जन्माउने भनेको आधारभूत संरचनाहरु, रंगशालाहरु बनाउनुपर्यो । महिला टोलीले सार्कमा जितेर आए उनीहरुले माग गरेका थिए महिलाहरुका लागि एउटा भलिबल रंगशाला बनाइदेउ भनेर तर त्यसमा सरकारको तातो लागेको छैन । त्यसैले क्रिकेटमा हाम्रो संभावना छ । महिला भलिबलमा हाम्रो सम्भावना छ, सार्क फुटबलमा हाम्रो संभावना छ यस्ता सम्भावना भएका खेललाई अगाडि बढाउन सकिएको छैन ।’
पोखरा: अखिल क्रान्तिकारी विप्लव निकट विद्यार्थी नेता सचिन सीले पोखरास्थित पृथ्वीनारायण क्याम्पसलाई राजनीतिक दलहरुले भर्ती केन्द्र बनाएकोे आरोप लगाएका छन् । पोखरामा आज (आइतबार) पृथ्वीनारायण क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) विप्लव, अखिल छैठौं र अखिल क्रान्तिकारी संयुक्तले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सचिन सीले यस्तो आरोप लगाएका हुन् । ‘पिएन क्याम्पसमा झाडु लगाउने देखि क्याम्पस प्रमुखसम्म राजनीतिक दलबाट नियुक्त गर्ने प्रचलन छ, सचिनले भने, ‘त्रिविको कार्यतालिका अनुसार आज चैत ५ गते निर्वाचन हुनुपर्ने हो तर प्रशासन र स्ववियु निर्वाचन समितिले निर्वाचन गराउन सकेन ।’ उनले क्याम्पसका कर्मचारीले नै विद्यार्थीका सूचना चुहावत गरेपछि निष्पक्ष रुपमा निर्वाचन गर्न नसकेको बताए । ‘ त्रिविको कार्यतालिका अनुसार देशभरका आंगिक र सम्बन्धप्राप्त क्याम्पसमा निर्वाचन हुने पर्ने हो , उनले भने, ‘प्रशासनबाट नै सूचना चुहावट भएपछि निष्पक्ष रुपमा निर्वाचन गराउन नसकेपछि प्रशासन र स्ववियु निर्वाचन समिति पछि हटेको छ ।’ उनले क्याम्पस प्रशासनको त्रुटी प्रतिको आन्दोलनमा चार विद्यार्थीको एकवद्धता रहेपनि अखिल (क्रान्तिकारी) प्रचण्ड निकट विद्यार्थी नेताहरु आन्दोलनबाट पछि हटेको आरोप समेत लगाए । अखिल (क्रान्तिकारी) विप्लव सचिवालय सदस्य प्रकाश सीले क्याम्पस प्रशासनबाट चुहावट भएको विद्यार्थीहरुको व्यक्तिगत विवरणको विषयमा छानविन गर्नुपर्ने, क्याम्पस प्रशासन वा त्रिविबाट तलवभत्ता पाएका प्राध्यापक कर्मचारीहरुले स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने माग राखेको बताए । सर्वोच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा चैत्र ८ गतेसम्म निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि नगर्न अन्तरिम आदेश जारी गरेको छ । क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) विप्लव, अखिल छैठौं र अखिल क्रान्तिकारी संयुक्तले प्रेस विज्ञप्ति निकाल्दै इतिहास बोकेको स्ववियुलाई विभिन्न ढंगले बदनाम बनाउने प्रयास भएको र आज चैत ५ गते देशभर हुने भनिएको स्ववियु निर्वाचन त्रिविका आंगिक र सम्बन्धप्राप्त क्याम्पसहरुमा एकैसाथ नहुने अवस्था सृजना भएको उल्लेख गरेको छ । पृथ्वीनारायण क्याम्पसमा फागुन २५ गतेदेखि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको कार्यालयमा ताला लागेपछि निर्वाचन अनिश्चित बनेको छ ।
काठमाडौँ: आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको हो । यसअघि, सुनको उच्च मूल्यको कीर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो । आज भने तोलामै १ लाख १० हजार रुपैयाँ पुगेको हो । यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पसरकलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आज (आइतबार) हुँदै छ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्यार्थीले आफ्नो प्रतिनिधि चयन गर्न सक्नेछन् । शुक्रबारसम्म दुईवटा आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त सयौँ कलेज÷क्याम्पसमा युनियन निर्विरोध गठन भइसकेको अधिकारीले जानकारी दिनुभयो । समन्वय समितिले निर्वाचन सम्पन्न नहुन्जेलसम्म विद्यार्थी, कर्मचारी, प्राध्यापक सबैलाई जिम्मेवार भएर आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।
पोखरा: कलाकार बालकृष्ण समद्धारा विश्वविख्यात चित्रकार साल्भाडोर डालीको उपमा पाएका दुर्गा बराल ‘वात्सायन’ले जीवनका ४५ बर्ष बढी नेपाली चित्रकलामा बिताए। जीवनको ८० बर्ष पार गर्दासम्म उनले चित्रकला त्यागेका छैनन् । नेपाली चित्रकला र काटुर्नको श्रीवृद्धीमा उनले सारा जीवन खर्चिए । सामाजिक विषयवस्तु र प्रकृतिका विषयमा अनेकन चित्र बनाए । नेपाली राजनीति र सामाजिक क्षेत्रका विकृतिमाथि चोटिलो कार्टुन प्रहार गरे । शान्त र हसिलो स्वभावका बात्सायनका कार्टुनमा राजनीतिमा देखिएका विकृतिमाथि दरिलो बिद्रोह झल्किन्छ, जसले कुनै समय सत्ता, संसद र प्रतिपक्षीमा बसेका दलहरुसमेत त्रसित बनेका थिए । चित्रकारिता प्रतिको लगावकै कारण उनले जीवनका अनेक आरोह अवरोहको सामना गरे । पढ्न भन्दा चित्र बनाउन ध्यान दिए । उनले विषयलाई अक्षरमा भन्दा चित्रमा बुझे । समाज र राजनीति शब्द र आवाजमा होइन, चित्रमा उतारे । चित्रकारितामा उनको जीवनपर्यन्त लगाव देखेर शनिबार पोखराले उनलाई रथारोहणसहित अभिनन्दन ग¥यो । कलाकारलाई राज्यले होइन, आम नागरिक र सर्वसाधारणले सम्मान दियो । उनी सम्मानित बने । वात्सायनको घर अगाडि शनिबार विहानदेखि विभिन्न थरीका मानिसका भिड थिए । त्यहाँ विद्यार्थी थिए । विभिन्न जातजाती, भाषा, धर्म र संस्कृतिका अग्रज उपस्थित थिए । कलाकारिता र साहित्यका अनुरागीहरु नहुने कुरै भएन । सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । उनको घरबाट रथयात्रा गराएर वात्सायन दम्पत्तिलाई विन्ध्यवासिनी मन्दिर पु¥याइएको थियो । पोखरेलीले वात्सायनको रथयात्रा हुने घर अगाडी श्रद्धास्वरुप घर अगाडी तामाको गाग्रीमा पानी भरेर फुल राखेका थिए । व्यंग्यचित्रकार बराललले चित्रकलाको माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै जन्मभूमी पोखरा परिक्रमा गरी नागरिक अभिनन्दन गरिएको हो । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखरामा क्रियाशील झन्डै तीन दर्जन वाङमयिक संघसंस्था लगायतले बराललाई नागरिक अभिनन्दन गरेका हुन् । बराल निवास नदीपुरबाट सुरु भएको रथयात्रा पोखरा बजार परिक्रमा गरी विन्ध्यवासिनी मन्दिरमा पुगेर नागरिक अभिनन्द गरिएको थियो । बराललाई व्यंगचित्रकारितामा लाग्न साथ र सयोग गर्दै आएकी जीवनसंगिनी पार्वतीलाई पनि रथारोहणमा संगै राखेर अभिनन्दन गरिएको थियो । वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, कवी तीर्थ श्रेष्ठ लगायतले बराललाई नागरिक अभिनन्दन गरेका थिए । सानै उमेर देखि धुलीमाटीमा औंलाले चित्र बनाएर चित्रकारिता सुरु गरेका बराल अहिले पनि चित्रकारितामा सक्रिय रहेर समाजका विकृति विसंगतीलाई चेटीलो प्रहार गर्दै सभ्य समाज निर्माणकालागि घच्घच्याउँदै आएका छन् । नेपाली चित्रकारितालाई अतियतार्थवादी धारमा डोर¥याउन गरेको अतुलनीय योगदानको कदरस्वरुप रथारोहण गर्न लागिएको पोखेरेली सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए । बरालले पोखरालाई पानी रंगको चित्रकारितामा स्थापित गर्दै युवा पुस्तालाई चित्रकारितामा लाग्न प्रेरित गर्दै आएका छन् । वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै बरालले व्यंग्यचित्रकारितामा सर्वोच्च शिखरका रुपमा आफूलाई उभ्याउनु भएको वरिष्ठ साहित्यका सरुभक्त श्रेष्ठले बताए । बराल पोखरामा जन्मेका विश्वस्तरीय व्यंग्यचित्रकार रहेको पनि उनले बताए । चित्रकारिताका साथै फोटोग्राफी कला र प्रशिक्षणमा पनि उनको योगदान रहेको छ । राजधानी काठमाडौं बस्न छाडेर जन्मभूमि पोखरालाई कर्मथलो बनाएका बराल देशविदेशसम्मै परिचित छन् । बराल व्यंग्यचित्रका बादसाह रहेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए । कलाको माध्यमबाट समाज र राजनीतिका विकृती तथा विसंगतलाई चिर्न कसैले सकेको छ भने त्यो नाम वात्स्यायन रहेको उनले श्रेष्ठले बताए । बराल कलाका माध्यमबाट साहित्यीक गतिविधि गर्न प्रोत्साहित गर्ने अभिभावकको रुपमा रहेको पनि श्रेष्ठले बताए । नेपाली कला क्षेत्रमा लामो समय काम गरेका बरालले दर्जनौं पुरस्कार एवम् सम्मान पाएका छन् । बरालले सन् १९६५ मा राष्ट्रिय कला प्रदर्शनी, नाफा, बिपी पत्रकारिता पुरस्कार, जगदम्बाश्री, प्रवल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्कार, वासुदेव लुइँटेल लगायतका पुरस्कार पाइसकेका छन् । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिक मार्फत वात्स्यायनले कार्टुन करिअर सुरु गरेका थिए । को हुन वात्सायान १९९९ चैत ५ गते कास्कीको आर्बा (हालको पोखरा १३) मा जन्मेका दुर्गा बराल ‘वात्स्यायन’ विश्वस्तरका व्यंग्यचित्रकार हुन् । पोखरामा ‘वाटर कलर स्कूल’ सुरु गर्ने श्रेय बराललाई जान्छ । बराल व्यंग्यचित्रकारिताबाट चर्चित रहे पनि पानी रङ्गको चित्र, फोटो ग्राफीमा उनको उतिकै दक्षता रहेको छ । व्यवसायिक रुपमा चित्र र फोटो ग्राफी समेत गरेको अनुभव उनि संग छ । उनले पोखरामा इगल आई स्टुडीयो चलाएर चित्र र फोटोग्राफीको व्यवसाय पनि गरेका थिए । जीव विज्ञानका विद्यार्थी बराल पढ्नमा भन्दा चित्र कोर्नमा सानै देखि मन पराउथे । पेन एन्ड इङ्कमा कोरिएका चित्र (चोक र तमसुक शृङ्खलामा रचिएका चित्र) तथा एक्रेलिकमा कोरिएका चित्र (द फेसेज अफ टाइम एन्ड कलर्स अफ सेन्सिबिलिटी नामक प्रर्दशनीमा प्रदर्शित कला)मा उनको आफ्नै मौलिकता देख्न सकिन्छ । चोक र तमसुक शृङ्खलामा रचिएका चित्र नेपाली कलाको कोशेडुंगा रहेको कवि तीर्थ श्रेष्ठ बताउँछन् । बरालको ‘समयको अनुहार र समयका रङ्गहरु’मा देशको पिढा (द्धन्द्धको प्रभाव) समेटिएको कवि श्रेष्ठ बताए । बरालले चार एकल चित्रकला प्रर्दशन गरेका छन् । उनको पहिलो चित्रकला प्रदर्शनी सन् १९७३ मा नेपाल ललित कला प्रतिष्ठान, काठमाडौंमा भएको थियो । यसैगरी सन् १९८३ मा नेपाल–भारत सांस्कृतिक केन्द्र, काठमाडौं, सन् २००४ मा सिद्धार्थ आर्ट ग्यालरीमा र चौथो प्रदर्शनी सन् २००६ मा ग्यालरी नाइन लाजिम्पाटमा भएको थियो । स्वदेश तथा विलेशमा थुप्रै सामूहिक चित्रकला प्रर्दशनीमा उनि सहभागी भएका छन् । कार्टुनको क्षेत्रमा वात्स्यायनबाट बढी चिनिएका बराल यसैका माध्यमबाट आफूलाई नेपालकै सर्वोत्कृष्ट काटुनिस्टका रुपमा स्थापित गराएका छन् । साठीको दर्शकको मध्यतिर २० वर्षे कलिलो उमेरमै उनले नयाँ सन्देश साप्ताहिक पत्रिकामार्फत् आफ्नो कार्टुन करिअर सुरु गरेका थिए । साहित्यिक पत्रिका प्राङ्गण र राष्ट्रपुकार, मातृभूमि, सुरुचि, देशान्तर, गोरखापत्र, कान्तिपुर र द काठमाडौं पोस्ट जस्ता पत्रपत्रिकामा काम गरेका थिए । कला क्षेत्रमा पाँच दर्शकभन्दा बढी समय विताइसकेका बरालले नेपाली राजनीतिक विकृति र त्यसको कुरुप तस्वीरलाई आफ्नो कलामार्फत जीवन्त देखाइदिने गरेका छन् । बरालले एकल कार्टुन प्रर्दशनी पनि गरेका छन् । उनको प्रकाशित कृतिमा वात्स्यायन एन्ड हिज बाब्र्सः अ कार्टुनिस्ट्स टेक अन पोस्ट १०९० नेपाल (भोल्युम १) रहेको छ । वात्स्यायन एन्ड हिज बाब्र्स (भोल्युम २), प्रकाशोन्मुख रहेको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)को भोलि (आइतबार) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिनुभयो । ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले विद्युतीय मतदानका लागि सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२/१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ । उहाँले चार क्याम्पसमा मतपरिणाम सोही दिन सार्वजनिकसमेत हुने बताउनुभयो । त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् । त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार छ सय ९९ र धरानमा एक हजार नौ सय ४१ मतदाता छन् । स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुँदैछन् । रामलक्ष्मण इनोभेसनका सञ्चालक रिमालले विद्युतीय मेसिनमा मतदाताले पहिले प्रत्यक्ष मतदान गरिसकेपछि समानुपातिकका लागि मतदान हुने बताउनुभयो । उहाँका अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य तथा समानुपातिक गरी पाँच मतपत्र हुनेछन् । बिहान ८ देखि अपराह्न ४ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।
पोखरा: पोखरामा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’लाई रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा पोखरामा क्रियाशील दजएन बढी वाङ्ममय तथा सामाजिक संघसंस्थाले अभिनन्दन गरेका हुन् । नदीपुरस्थित उनको घरबाट सुरू भएको रथयात्रा बगर, ट्याक्सी चोक,बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । बाजागाजासहितको रथयात्रालाई स्थानीयले घरघर अघि फूल र घडाले स्वागत गरेका थिए । समारोहमा पोखरा महानगरसहित विभिन्न संघसंस्थाले सम्मानपत्रले सम्मान गरे । रथारोहणमा वरिष्ठ साहित्यकाहरू सरुभक्त, तीर्थ श्रेष्ठ, वरिष्ठ गायिका हरिदेवी कोइराला लगायतका कलाकार सहभागी थिए। साहित्यकार, कलाकार, नागरिक समाज, विद्यार्थीलगायतले ब्यानरसहित उपस्थिति जनाएका थिए। समारोहमा उनको धर्मपत्नी, छोराहरू र परिवारका सदस्यको पनि उपस्थिति थियो। वात्स्यायन १९९९ सालको चैत ५ गते कास्कीको आर्बा (हाल पोखरा-१३) मा जन्मिएका थिए । पोखरालाई ‘पानी रङको विद्यालय’का रुपमा चिनाउने मुख्य श्रेय उनै कलाकार वात्स्यायनलाई जान्छ । करिब ३० को दशकमा पोखरामा ‘इगल आई’नामक आर्ट स्टुडियो खोलेर उनले पोखरामा पानीरङ चित्र्याएका थिए ।
पोखरा: सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ ले स्पष्ट भनेको छ, ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइनेछैन ।’ यसैलाई आधार मानेर प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले पनि सोही कुरालाई परिभाषित गरेको छ । तर पछिल्लो समय राइङ सेयरिङको नाममा कानूनको धज्जी उडाउँदै इनड्राइभ (निजी सवारी साधन) ले यात्रु बोक्ने गोरखधन्दा चलाइरहेको छ । इन्ड्राइभले काठमाडौंसँगै पछिल्लो समय पोखरामा पनि गतिविधि व्यापक बनाएको छ । पोखराका मुख्य चोकहरुमा अवैधरुपमा इन्ड्राइभ सेवा प्रदायक मोटरसाइकल र ट्याक्सीहरु तैनाथ हुन्छन् । यद्यपि उनीहरु भने खुलेरै इनड्राइभ सेवाको बारेमा बताउदैनन् । किनभने उनीहरुलाई इनड्राइभ अवैध हो भन्ने थाहा छ । यतिमात्र नभएर इनड्राइभरलाई भेटेको खण्डमा ट्राफिकले २ हजार जरिवानासहित कारवाही गर्न पाउने अधिकार छ । त्यसैले इनड्राइभरहरु खुल्दैनन् । यस्तो गैरकानूनी गतिविधिबारे सरोकारवाला र प्रदेश सरकार पनि जानकार छ । तरैपनि चुपचाप छ । ‘इनड्राइभ गण्डकी प्रदेशमा दर्ता पनि छैन । स्वीकृत पनि लिएको छैन’, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका प्रवक्ता टिकाराम पौडेलले सुनगाभा न्यूजसँग भने, ‘त्यसैले यो अल्टिमेट्ली कानून बर्खिलाप छ ।’ उनले इन्ड्राइभ प्रदेशमा दर्ता नभएको र स्वीकृत नलिएकाले कानून विपरित भएको दोहोर्याए । रातो प्लेटको सवारी साधन निजी प्रयोजनमा मात्रै प्रयोग हुने व्यवस्था कानूनमै स्पष्ट उल्लेख गरेको बताउदै सार्वजनिक काममा प्रयोग गर्न नपाईने बताए । ‘रातो प्लेटको सवारी भनेको निजी प्रयोजनका लागि हो, प्रवक्ता पौडेलले भने, ‘संघीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ ले पनि त्यही भन्छ । कुनै पनि सवारी जे प्रयोजनमा दर्ता भएको हो त्यही प्रयोजनमा प्रयोग हुनुपर्छ भन्छ । अन्यथा कानून विपरित मानिन्छ ।’ उनले संघीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संसोधनको प्रक्रियामा रहेको बताउदै भने, ‘ऐन संसोधनको प्रक्रियामा छ त्यहाँ यो विषयको सबै कुराहरु समेटियो भने प्रदेशले पाउने अधिकार अनुसार हामी अघि बढ्न सक्छौ ।’ प्रवक्ता प्रौडेलले केन्द्रले नै इन्ड्राइभलाई रोक्न नसकेको बताए । ‘संघीय सरकारले त केन्द्रमै रोक्न सकेको छैन, उनले भने, ‘हामीले नै हात हालेर अघि बढ्न सक्ने अवस्था नै छैन ।’ उनले इनड्राइभको दर्ताका लागि मापदण्ड पनि स्पष्ट नभएको बताए । ‘अहिलेसम्म त्यस्तो स्पष्ट कार्यविधि र मापडण्ड छैन, उजुरी र प्रयोजन विपरित प्रयोग भएको प्रमाणित भए ट्राफिक प्रहरीले कारवाही गर्ने हो ।’ इनड्राइभले गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रलायमा न दर्ता गरेको छ । नत स्वीकृति नै लिएको छ । त्यसैले यसले राज्यलाई राजस्व (कर) तिर्दैन । यतिमात्र होइन यसको पोखरामा कार्यालय पनि छैन । डिजिटल प्रविधिको प्रयोगले सेवा दिदै आएको इनड्राइभले अनलाइन दुनियामा व्यापक गतिविधि बढाएको छ । प्राय इनड्राइभलाई पेशा नै बनाएर लागिरहेका छन् भने कतिपय अतिरिक्तरुपमा यात्रु बोक्ने गरेको पाइएको छ । एक इन्ड्राइभरले दैनिक १ हजार ५ सय देखि २ हजार ५ सय रुपैयाँसम्म कमाउन सक्ने बताए । ‘मैले आज १५ सय कमाए, लेकसाइडबाट एउटा विदेशीलाई सराङ्कोट पुर्याएर लेकसाइड छोडेको थिए’, ति इन्ड्राइभरले भने, ‘मान्छे पायो भने त दिनमा २५ सय रुपैयाँसम्म कमाइन्छ । तर लुकीलुकी काम गर्न परेको छ ।’ अर्का इन्ड्राइभरले बिहान र बेलुकी मात्रै अनलाइनमा बस्ने गरेको बताए । ‘मैले दिनमा त जागिर गर्छु, त्यै बिहान र बेलुकी अफिसबाट निस्केपछि काम गर्छु । त्यस्तो कमाई हुन्न तेज जोहो गर्न सजिलो भाछ । जागिर जाने आउने बेला मेसो मिल्दा बोक्छु ।’ पोखरामा इनड्राइभमा संलग्नहरुको अनलाइन समूह छ । जहाँ कोहीपनि व्यक्ति सदस्य बन्न सक्छ । र, व्यवसायमा जोडिन सक्छ । पछिल्लो हप्ता एकैदिनमा २१ जना यस समूहमा जोडिएका छन् । उनीहरुले फेसबुक पेजमा ड्राइभरहरुको नाम र संख्या उल्लेख गरेका छन् । तर अहिले पेजमा जोडिन सहज भने छैन । सोही पेजमा रहेका एक जनाले इनड्राइभको वैधानिक र दर्ताबारे प्रश्न गरेपछि एडमिनले उनीसहित २ महिला सदस्यलाई पनि हटाएका छन् । त्यसपछि एडमिनले निकै कडाई गरेका छन् । उनीहरुको समूहको नाम ‘राइडर्स युनियन टिम’ हो । हाल इन्ड्राइभमा आबद्ध समूह नै पोखरामा ७ वटा छन् । इनड्राइभले आफ्नै भाडादर कायम गर्दै मनोमानी भाडा असुल्दै आएपछि ट्याक्सी व्यवसायीहरु चिन्तित बनेका छन् । ‘उनीहरुले नत सरकारले कायम गरेको भाडा लिन्छन् नत कर नै तिर्छन । हामीलाई त रुनु न हाँस्नु बनाएको छ, एक ट्याक्सी चालकले भने, ‘यसकै कारण हामीले हाम्रो समिति छाड्न परेको छ ।’ रातो प्लेटले यात्रु बोक्न पाइदैनः अध्यक्ष गिरी गण्डकी पब्लिक लिमिटेडका अध्यक्ष गान्धीराज गिरीले इनड्राइभ अवैध भएकाले गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गरिसकेको बताए । उनले रातो नम्बर प्लेटले यात्रु बोक्न नपाइने र स्वतस्फूर्त भाडादर कायम गर्न नपाइने बताउदै नियमन गर्न आवश्यक रहेको बताए । ‘इनड्राइभ त इल्लेगल काम हो त्यसैले ट्याक्सी व्यवसायीमाथी चुनौती बढेको छ, उनले भने, ‘रातो प्लेटले सार्वजनिक काम गर्न पाउदैन भन्ने कानूनमै स्पष्ट उल्लेख छ । यो विषय सरकारसँग भनिसकेका छौं ।’ उनले कानून विपरित कार्य भएकाले ट्राफिक प्रहरीलाईसमेत जानकारी दिइसकेको बताए । ‘अवैध रुपमा निजी सवारीले यात्रु बोकेकाले उक्त गतिविधिलाई रोक्न हामी सबैलाई ध्यानाकर्षण गरिसेकेका छौ । सरकारले यसको छिटै निचोड निकाल्नुपर्छ ।’ उनले भने । गिरीका अनुसार गण्डकी पब्लिक लिमिटेडसँग गण्डकी प्रदेशभरबाट ७ सय ७५ आबद्ध छन् । उक्त लिमिटेड बाहेक अन्य व्यवसायीहरुक गरि गण्डकी प्रदेशमा करिब २ हजार बढी ट्याक्सी छन् । हाल इनड्राइभकै कारण समिति विवादित बन्न थालेको छ । कतिपय ट्याक्सीले समिति छाडिसकेका छन् । र मासिक शुल्कसमेत तिर्न छाडिसकेका छन् । अध्यक्ष गिरीले ट्याक्सी व्यवसायीलाई मासिक शुल्क अनिवार्य नगरेको बताए । ‘तपाइहरुले अनिवार्य तिर्नुस् भन्ने हुदैन । मन लागेकाले तिर्ने हो त्यसले दुर्घटना भए क्षतिपूर्ती पाउँछ, गिरीले भने, ‘शुल्क नतिरे क्षतिपूर्ती नत्र पाउन्न ।’ उनले इनड्राइभको विषयलाई वार्ताबाटै हल गर्नका लागि पहल गरिरहेको बताए । ‘गैरकानूनीरुपमा देखिएको इनड्राइभलाई वार्ता र संवादबाटै रोक्न पर्छ भनेर सरकारसँग पटकपटक बसेर ध्यानाकर्षण गरेका छौं , उनले भने, ‘यतिमात्र नभएर ट्राफिक प्रहरीलाई पनि जानकारी गरेका छौ अब केही दिनमै अनुगमन हुन्छ भन्ने बुझेका छौं ।’

