फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

काठमाण्डौं: सरकारी अनुमति र प्रकृयाबिना पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण सेमिनार गर्न खोज्ने दुई जना विदेशी नागरिक काठमाण्डौंमा पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बेलारुसका ३० वर्षीया रीता फियाडोसिक र ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जाल टिकटकमार्फत् विज्ञापनबारे जानकारी गराइ पोल्याण्डमा रोजगारीका बारेमा हिजो शनिवार र आज आइतवार सेमिनार गर्ने बताएका थिए । पक्राउ परेका उनीहरुको बारेमा वैदेशिक रोजगार विभागलाई जानकारी गराइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

काठमाडौं:     नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ ।  तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको बताउनुभयो । उहाँले यसअघि नै ट्रान्सपोर्टले ३५ सय टन कृषि सामग्री र ४ हजार टन साल्ट टे«निङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाई सकिएको बताउनुभयो ।  उहाँले केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आएको बताउनुभयो । उहाँले तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार एक सय टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने तयारी गरेको बताउनुभयो ।  सत्यालले बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको बताउनु भयो। उहाँले तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक ९ वटासम्म मलका कन्टनर ल्याएको बताउनुभयो ।  उहाँले तातोपानी नाका नेपालको चीनसँगको नजिकको नाका भए पनि नेपालतर्फको सडक मार्गमा समस्या रहेको बताउनु भयो। उहाँले सडक मार्ग राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने बताउनुभयो ।  उहाँले सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमा नै मल ल्याएर दिने गरी आयात गरिरहेको बताउनुभयो । उहाँले भन्सारमा आएको मलको परीक्षण र इन्फेक्सन प्रक्रिया तत्काल गरिदिए एक हप्तामा नै कृषि सामग्री कम्पनीलाई बुझाउन सकिने बताउनुभयो ।  रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत मल ल्याइएको सिल्क कम्पनीले जानकारी दिएको छ । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदयसिंह विष्टले खाद्यान्न, लत्ताकपडा, इलेकट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो यो साता रासायनिक मल आयात भइरहेको बताउनुभयो ।  उहाँले चीनबाट तातोपानी नाका हुँदै आयात एकदमै कम रहेको बताउनु भयो । उहाँले पछिल्लो समय आयात भइरहेको अवस्था हेर्दा भन्सार कार्यालयले राजश्व सङ्कलन गर्ने लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो ।  उहाँले तातोपानी नाकाबाट चालु आर्थिक वर्षमा ४ अर्ब ६२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य भएपनि अहिलेसम्म २ अर्ब ५४ करोड अर्थात् ४५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको बताउनु भयो । उहाँले तातोपानी नाकामा भइरहेको आयातको अवस्थालाई हेर्दा कम्तीमा ६२ प्रतिशतसम्म राजश्व सङ्कलन हुने अवस्था देखिएको बताउनुभयो। त्यस्तै, तातोपानी भन्सार व्यवस्थापनको जिम्मेवारी पाएको ट्रान्सिल ट्रमिनल्सका प्रबन्धक अनिरुद्ध थापाले पछिल्लो एक सातादेखि दैनिक ८ कन्टेनर रासायनिक मल आयात भइरहेको बताउनुभयो।  उहाँले तातोपानी नाकामा पछिल्लो समय दैनिक ३ सय टन मल आयात भइरहेको बताउनु भयो। प्रबन्धक थापाले भन्सारमा रासायनिक मल ७ हजार १ सय टन मल राख्नसक्ने क्षमता रहेकाले त्यही अनुसार आयातकर्ता कम्पनीलाई आग्रह गरिएको बताउनुभयो।  उत्तरी नाकाबाट पनि रासायनिक मल भित्र्याएकाले यो वर्ष कृषकहरूले समयमै प्रयोग गर्न पाउने देखिएको छ । चीनबाट मल ल्याउन साल्ट ट्रेडिङले आव्हान गरेको ग्लोबल टेन्डरमार्फत सिल्कले अनुमति पाएको थियो । भारत हुँदै ल्याउने विकल्पमा गत वर्षदेखि तातोपानी नाकाबाट मल ल्याउन थालिएको छ । भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रूपमा एकतर्फ रूपमा सञ्चालनमा आइरहेको थियो । तर गत मे १ तारिकदेखि आयात निर्यातका लागि नाका सञ्चालनमा आएको छ ।  

काठमाडौं:   वैदेशिक रोजगारीका लागि आठ महिनाअघि पोर्चुगल पुगेका बाँके खजुराका एक युवाको मृत्यु भएको छ ।   खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको शुक्रवार सुतेकै अवस्थामा ज्यान गएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिएका छन् ।   उहाँ रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए।

काठमाडौँ:  राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ ।    केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र , महामन्त्रीहरू भास्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय, प्रशिक्षण, सङ्गठन र स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि आजको कार्य सम्पादन समितिमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।   कार्यसम्पादन समितिको बैठक पुतलीसडक स्थित बज्र कम्प्लेक्समा आज दिउँसो १ः३० बजे बस्नेछ ।

काठमाडौं:   हावाहुरी र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।   चट्याङ र हावाहुरीका कारण मानवीय क्षति हुने जोखिम धेरै हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका हुन् । पहाडी क्षेत्रका धेरैजसो ठाउँमा आज पनि बेलुकीपख मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् वरुण पौडेलले बताएका छन् ।   उनका अनुसार बेलुकीपख काठमाडौंसहित केही पहाडी जिल्लाका हल्का वर्षाको सम्भावना पनि छ । पहाडी क्षेत्रमा हल्का हावाहुरी पनि चल्ने उनले बताए ।   तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन । तर दिउँसो र बेलुकाको समयमा तीव्र गतिमा हावा चल्न थालेको छ ।   विशेषगरी आज मधेस प्रदेश र कोशी प्रदेशका केही ठाउँमा तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले बताएका छन् । 

दाङ:   नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिष्ट पोलिटिष्क’ मुलुकलाई नफाप्ने बताएका छन् ।   वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएका रास्वपा र स्वतन्त्रहरु प्रति लक्षित गर्दै उनले मुलुकमा देखिएको समस्या र संकटलाई पपुलिष्ट पोलिटिष्कले निकास दिन नसक्ने बताएका थिए । प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘समाजको कुनै क्षेत्रमा चर्चा हासिल गर्ने र राजनीतिमा आउने अहिले जुन होडबाजी चलिरहेको छ, यसले मुलुकमा उत्पन्न समस्याको समाधान  गर्न सक्दैन ।’ उनले पपुष्टि पोलिटिष्क कही पनि फाप्न नसकेको भन्दै युक्रेनका राष्ट्रिपतिको पनि उदाहरण  दिएका छन् । ‘कलाकारलाई राष्ट्रिपति बनाउदाको पीडा के हुन्छ भन्ने कुरा युक्रेनका नागरिकलाई भोगिरहेका छन्,’ उनले भने, ‘त्यसकारण नेपाली जनताले पनि पपुलिष्ट पोलिटष्कबाट जनताको समस्या समाधान हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ ।’   ‘राजनीतिको विकल्प भनेकै राजनीतिक विचार धारामा उभिएका दलहरु नै हुन्,’ उनले भने, ‘समाजलाई बदल्ने हो भने नीतिगत नेतृत्वका आवश्यकता पर्दछ । र, त्यो नीतिगत नेतृत्व गर्ने सामर्थ नेकपा एमालले मात्र राख्न सक्दछ ।’

धनगढी:    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार मन्त्रिपरिषद विस्तार भएको गर्नुभएको छ।  मुख्यमन्त्री नियुक्त भएको सय दिनपछि उहाँले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको हो। अझै पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली छ। नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख देवराज जोशीसमक्ष शनिबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो।  नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसका बझाङबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय,  नेकपा ९माओवादी केन्द्र० का अछामबाट निर्वाचित झपटबहादुर साउद सामाजिक विकासमन्त्री र कैलालीबाट निर्वाचित माओवादीकै रमेशसिंह धामी उद्योग, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ।  माओवादीबाटै डडेलधुराकी समानुपातिक प्रदेश सभा सदस्य गीतादेवी माललाई उद्योग, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री शाहसमक्ष राज्यमन्त्री माललेसमेत शनिबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ। शपथ ग्रहण कार्यक्रममा सभामुख भीमबहादुर भण्डारी, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही र प्रदेश सभा सदस्य सहभागी हुनुहुन्थ्यो। रेशम चौधरी संरक्षक रहेको उन्मुक्ती पार्टीले दुई वटा मन्त्रालय मागेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली राखिएको छ। उन्मुक्तीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मात्र दिन खोजिएको थियो।  सरकार विस्तारपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक पार्टी चाँडै सरकारमा सामेल हुने बताउनुभयो। उहाँले मन्त्रिपरिषद विस्तारले आगामी वर्षको बजेट निर्माणमासमेत सहज हुने बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा मन्त्री सात र राज्यमन्त्री तीन गरेर १० जनालाई मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ। शनिबार मन्त्रिपरिषद विस्तार भएपछि सो संख्या सात पुगेको छ। सातमध्ये छ जना मन्त्री र एक राज्यमन्त्री छन्।  नेपाली कांगेसका संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको सरकारमा सुरुदेखि नै कांगेसकै प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाही आर्थिक मामिलामन्त्री हुनुहुन्छ।

पर्सा:    पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा सुरु गरेको छ ।   सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा अभियान्ता पैदलयात्रा सुरु गरेका हुन् । प्रदूषित सिर्सिया नदीको पानी बोकेर पैदलयात्रामा निस्केको अभियनता सरोजराय यादवले बताउनुभयो । वीरगञ्जबाट सुरु भएको पैदलयात्रा ११ औँ दिनमा राजधानी काठमाडौं पुग्ने र सिंहदरबार अगाडि सिर्सिया नदीको पानी पोखेर विरोध जनाउने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । यसपछि पनि सरकारले ध्यान नदिए माइतीघरमा धर्ना बस्ने कार्यक्रम रहेको उहाँको भनाइ छ । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले पनि अभियान चलाउँदै आएको छ । नदी प्रदूषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीतिअनुसार नदीमा फोहोर गर्नेलाई महानगरपालिकाले जरिवाना गरिसकेको छ ।  पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट निष्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको छ । महानगरले उद्योगलाई पनि कारबाही गर्ने तयारीअनुरुप मरियम लेदरसहित पाँच वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ । सिर्सिया नदीलाई फोहोररहित बनाउने महानगरपालिकाको लक्ष्य भएकाले जथाभावी फोहर नफ्याँक्न पटक पटक आग्रह गरे पनि उद्योगीले बेवास्ता गर्दै आएकाले कारबाही गर्न लागेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको अनुगमनसमेत गरेको थियो । महानगरका उपप्रमुख इम्तियाज आलम नेतृत्वको अनुगमन टोलीले केही महिनाअघि श्री निधि टेक्सटाइल्स प्रालि, ब्रिटानीया नेपाल प्रालि, शक्ति दाल मिल र शक्ति वायरमा पुगेर अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा ती उद्योगले उद्योगबाट निस्कने फोहर पानी सोझै नदीमा मिसाउने गरेको पाइएपछि फोहर व्यवस्थापन गर्न उद्योगीहरुलाई सुझाव दिएपनि कार्यान्वयन नभएपछि कारबाही गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ । सिर्सिया नदी सफा बनाउने अभियनमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नुपर्नेमा उद्योगी जिम्मेवारीबाट पन्छिँदै आफ्नो स्वार्थ मात्रै हेर्ने गरेकाले अब सिधै कारबाही गरिने महानगरपालिकाले जनाएको छ । बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको र्सिसिया नदी पर्साको वीरगञ्ज सहर हुदै भारतको रक्सौल सम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट उत्सर्जित हुने रसायनयुक्त प्रदूषित पानी र फोहोर पदार्थ सिधै नदीमै उत्सर्जन हुँदै आएका कारण सिर्सिया नदी विगत तीन दशक यतादेखि प्रदूषित बनेको हो । छाला, डिस्टीलरी, टेक्सटाइल, घिउ साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी खोलामा बगाइन्छ । जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिन्छ । जसले गर्दा सिर्सिया नदी प्रदूषित र दुर्गन्धित बनेको हो । सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटकपटक आन्दोलन गर्दै आएका छन् ।

रसुवा:    रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आज (शनिबार) देखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत  आरम्भ  भएको  १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन्  । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । गोसाइँकुण्ड मेलाको पहिलो दिन आज तीर्थ पुग्ने भक्तजनले दिनभरिनै कुण्डमा स्नान तथा विशेष पूजा गर्ने गर्दछन् । समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुग्नुभएको धार्मिक मान्यता रहेको छ । त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई  पानीको प्यास मेट्नु भइं त्यही जलले बनेको पोखरीमा शिव शङ्कर भगवान् विराजमान रहनुभएको बताइएको छ । कुण्डमा डुबुल्की मारेपछि  शक्तिले उकालोमा जाँदा लागेको सम्पूर्ण थकाइ समाप्ति भएको अनुभव प्राप्त हुँदै आएको छ । निलाद्री पर्वतअर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ । कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एक पटक गोसाइँकुण्ड पुग्नै पर्ने मान्यता रहिआएको छ । स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल ९टङ्कु गुरु० ले उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गङ्गा पूजन गरी गोसाइँकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुङ्गा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाइँकुण्ड जानुपर्ने, कुण्डमा भगवान्को दर्शन गरी फर्किदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा  पुण्य मिल्ने मान्यता रहेको बताउनुभयो । आज पहिलो दिन करिब पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजनको आउनेक्रम जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिनुभयो । दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने परम्परा रहिआएको छ । यस वर्षको गङ्गा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने प्रक्षेपण गरिएको जनाउँदै लाङटाङ राष्ट्रिय निकुञ्जले भनेको छ सबै यात्रुको सङ्ख्यात्मकरूपमा लगत राखिने छ । यात्रुको चापलाई मध्यनजर राखी नेपाल प्रहरीले यथेष्ट सुरक्षा प्रबन्ध मिलाइसकेको जनाउँदै जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले कुनै स्थानमा सुरक्षा चाहिएमा वा उद्धार गर्नुपर्ने अवस्था सिजर्ना भएमा नेपाल प्रहरीको निःशुल्क फोन नं १०० मा खबर गरिदिन यात्रुसमक्ष  अनुरोध गरिएको बताउनुभयो । ट्राफिक व्यवस्थापनअन्तर्गत यात्रुले ल्याएका सवारी साधन धुञ्चेमा पार्किङ एवं सुरक्षाको प्रबन्धसमेत तय गरिसकिएको  उहाँले जानकारी दिनुभयो । यात्रुको चापलाई मध्यनजर राख्दै भोजनको उचित व्यवस्थापनका लागि होटल व्यवसायीले आवश्यक दाल, चामल, नुन, तेलजस्ता खाद्यान्न धार्मिक मार्गका चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्डसमेतका सबै स्थानमा भण्डारण गरिसकेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेल ९निसान० ले बताउनुभयो । हिमाली क्षेत्रमा उकालो चढ्दै जानुपर्ने भएका कारण वातावरण सहजताको लागि काठमाडौंबाट एक दिन धुञ्चे, भोलिपल्ट चोलाङपाटी वा लौरीविनायक बसेर शरीरमा लेकाली हावापानीको वातावरण मिलाउँदै तेस्रो दिन कुण्ड पुगेर स्नान गर्दा लेक लाग्ने समस्या हल हुने उहाँको भनाइ थियो । गोसाइँकुण्डका यात्रुले बास, निगालोको मात्र लठ्ठी प्रयोग गरी वन सम्पदा संरक्षणमा योगदान पुर्‍याउन र आफूबाट उत्पन्न फोहरलाई सुरक्षित स्थानमा फ्याकी  वातावरणको संरक्षणमा समेत सहयोग गरिदिन लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ । यसैगरी, हिमालय पुत्री पार्वती माता विराजमान रहनुभएको रसुवाको गतलाङस्थित पार्वती कुण्डमा समेत स्नान तथा पूजाआजाका लागि भक्तजनको ओहरदोहर भइरहेको छ । गोसाइँकुण्डमा उकालो हिँड्नुपर्ने र पार्वती कुण्डमा भने सवारी साधनबाटै पुग्न सकिने भएका कारण गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनले पार्वती कुण्ड स्नान गरेर भए पनि धार्मिक लाभ प्राप्त हुने जनाइएको छ ।