काठमाडौं: सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिनुभयो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ । समितिमा संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल भएको छ । प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुभएको छ ।
पोखरा: विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा यहीँ असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगिताका बिजेता गतवर्षको भन्दा दोब्बर पुरस्कार राशिसहित पुरस्कृत हुने भएका छन् । आयोजक संस्था पोखरा क्लिकले सरोकारवालासँगका विभिन्न चरणका छलफलबाट प्राप्त सुझाव र सल्लाहलाई अनुशरण गर्दै प्रतियोगिताका इभेन्टलाई पनि व्यवस्थित गरी नगद पुरस्कार राशिमा करिब ६६ प्रतिशतले वृद्धि गरेको हो । गत वर्ष ६८ हजार नगद राशिद्वारा छ जना धावक पुरस्कृत भएकामा यस वर्ष नगद दुई लाख छहजार रुपैयाँसहित १८ धावक पुरस्कृत हुने भएका छन् । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । यस्तै, दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने प्रतियोगिता संयोजक दीननाथ बरालले बताउनु भयो । गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो । यसैगरी, वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत हुने भएका छन् । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरेको आयोजक संस्थाले जनाएको छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने कार्यक्रम व्यवस्थापक सागर सुनारले जानकारी दिनुभयो । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग जोडिने भएकाले प्रतियोगितालाई खेलकुदसँगै पर्यटन र अर्थतन्त्रसँग जोडेर बृहत् आयामबाट हेर्नुपर्नेमा धारणा राख्नुभयो । पुुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले पुम्दीभुम्दी क्षेत्र आफैँमा पर्यटकीय सम्भावना बोकेका स्थान भए तापनि यस्ता कार्यक्रमले अन्य गन्तव्यको प्रवद्र्धनमा सहयोगी हुने बताउनु हुन्छ । विश्व शान्ति स्तुप समितिका सचिव दुर्गाबहादुर गुरुङले पुम्दीभुम्दीमा पर्यटकीय सम्भावना बोकेका तारेभिर, फिलिङ्गघारी, थाप्लेडाँडालगायतका क्षेत्रको प्रवद्र्धन गरी पर्यटकीय राजधानी पोखरा आएका पर्यटकको बसाइँ लम्ब्याएर आर्थिक समृद्धिसँगै पुम्दीभुम्दीलाई पर्यटकीय गन्तव्यको हब बनाउने प्रतियागिताको उद्देश्य रहेको धारणा राख्नुहुन्छ । कालाबाङ घरेडी बुद्धपार्क समितिका अध्यक्ष लाल गुरुङले खेल पर्यटन पर्वद्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड उद्घोषका साथ अन्नपूर्ण, माछापुच्छ«ेलगायतका हिमशृङ्खलाको दृश्यावलोकनसहित सञ्चालन हुने हुने दौड प्रतियोगिताले विश्वको ध्यान खिच्ने सामथ्र्य राख्ने बताउनु हुन्छ । प्रातियोगिताका प्राविधिक ओम गुरुङले दोस्रो पर्वतीय दौडको आरम्भ बिन्दु विश्व शान्ति स्तुपः, जाँचबुझ बिन्दु विशाल पुम्दीकोट महादेव मन्दिर र समापन बिन्दु पछिल्लो पर्यटकीय गन्तव्य कालाबाङ घरेडी बुद्ध पार्कसम्म गरी आठ किलोमिटर निर्धारण गरिएको बताउनु भयो । १६ लाख ९१ हजार रूपैयाँ लागत लाग्ने प्रतियोगितामा विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्लगायत स्थानीय व्यावसायिक संस्थाको सहयोग रहेको पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतम बताउनु हुन्छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा २२ को सहकार्य रहेको प्रतियोगितामा मेडिकल पार्टनर रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कारसमेत प्रायोजन गरेको छ । प्रतियोगिताको अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ भने आधिकारिक ड्रिङ्किङ वाटरकारूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।
मुस्ताङ: वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ । यहाँको वडा एक खिङ्गा गाउँबाट यस वर्षको ‘यार्तुङ’ पर्व थालिएको हो । सोमबार खिङ्गा गाउँका गाउँलेले यार्तुङ पर्व हर्षोल्लासमय रूपमा मनाएका छन् । ‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ । यसैका खातिर बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको भन्दै खिङ्गा गाउँमा यार्तुङ पर्व मनाइएको हो । बर्खायाममा उवा र जौं लगायतका अन्नबाली थन्क्याएर खेतबारीमा फापरबाली छरेपछि वारागुङ मुक्तिक्षेत्रमा ‘यार्तुङ’ पर्व मनाइने गरिन्छ । यार्तुङ पर्वका बेला यहाँका स्थानीय नागरिक फुर्सदिला हुन्छन् । यही फुर्सदिलो महिनामा धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सदीयौँदेखि मनाइने गरिएको हो । यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गरिने प्रचलन रहेको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरकफरक तिथिमा यार्तुङ पर्व मनाइने गरिएको छ । खिङ्गा गाउँमा औपचारिक रूपमा यार्तुङ पर्व मनाउने क्रमको प्रारम्भ भएको उहाँले बताउनुभयो । खिङ्गाबाट सुरु भएको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमशः यहाँका सबै स्थानमा गुरुङ, विष्ट र लोवा समुदायले मनाउने प्रचलन छ । सोमबार खिङ्गा गाउँमा सबै घरका स्थानीय नागरिक समाजघरमा एकतृत भएका थिए । समाजघरमा जम्मा भएका स्थानीय गुरुङ समुदाय गाउँकै गुम्बामा सामूहिक रूपमा यार्तुङ पर्वको धार्मिक पूजापाठमा उपस्थित भए । गुम्बामा पुजारीद्वारा पूजापाठ सकेपछि पुनः समाजघरमा खानपान गरेर यार्तुङ पर्वको कार्यक्रममा सहभागी भएको वडाध्यक्ष गुरुङको भनाइ छ । स्थानीय पुरुष तथा महिलाको आफ्नो जातीय मौलिक वेशभूषा पहिरिएर मुक्तिनाथ मन्दिर र त्यहाँको नरसिंह गुम्बाको दर्शनमा निस्किएका थिए । अठार वर्षदेखि ६० वर्षसम्मका पुरुष तथा महिलाहरुले धार्मिक तथा सांस्कृतिक प्रचलनअनुसार यार्तुङ पर्वलाई आत्मसात् गर्दै खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको यात्रा पूरा गरेका थिए । पुरुषहरू वेशभूषामा चिटिक्क सजिदै घोडामा सवार थिए भने महिला घोडाको अघिअघि स्थानीय भाषामा यार्तुङसम्बन्धी गीत गाउँदै मुक्तिनाथतर्फ लागेका थिए । महिलाले स्थानीय भाषामा गीत गाउँदै यार्तुङ पर्व आयो, यार्तुङमा सबैलाई राम्रो भयो, अनिष्ट भएन, प्रकृतिले साथ देओस र सबैतिर शान्ति छाओस् भन्ने कामना गरेको खिङ्गा गाउँकी स्थानीय सेर्केनी गुरुङले उल्लेख गर्नुभयो । यार्तुङमा गाइने स्थानीय भाषाको गीतलाई फेन्दुन छोकी रिला भन्ने गरिएको स्थानीय सेर्केनी गुरुङको भनाइ छ । यहाँको खिङ्गा गाउँबाट दर्जनौँ घोडाको लावालस्करसहित निस्किएको टोलीले मुक्तिनाथ मन्दिर र त्यहाँको गुम्बा दर्शन गरी पुराङ रानीपौवामा फर्किएको थियो । खिङ्गा गाउँका युवाले मुक्तिनाथस्थित पुराङ रानीपौवामा साहसिक रूपमा घोडा दौडाएका थिए । गाउँका पुजारीसहित निस्किएको यार्तुङ टोलीले रानीपौवामा स्थानीय स्याब्रो नाच र स्थानीय भाषाको गीत गाउँदै रमाइलो गरेका थिए । स्थानीय याङजुङ गुरुङले यार्तुङ पर्वमा घोडा चढेर मनाउनैपर्ने प्रचलन रहेको बताउनुभयो । “यार्तुङमा घोडा नचढेमा यार्तुङ पर्वको कुनै अर्थ हुँदैन, यार्तुङमा घोडा चढ्ने, तारा खेल्ने र स्थानीय सांस्कृतिक मौलिकता पस्किएरमात्र यार्तुङ पर्वको औचित्य हुने गुरुङले बताउनुभयो । यार्तुङ पर्वमा गाउँका पुजारीले भोजन गरेपछि मात्रै गाउँले भोजन गर्न पाउने सांस्कृतिक प्रचलन रहेको उहाँले उल्लेख गर्नुभयो । यहाँको खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको करिब पाँच किलोमिटर दूरीमा घोडाका लस्कर निस्किएको थियो । घोडाको लस्कर निस्किँदा दुर्घटनाको जोखिम हुने भएकाले करिब एक घण्टा मुक्तिनाथ सडकमा सवारी चलाउन रोक लगाइएको थियो ।
पोखरा: पोेखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएको जलाशय भित्र निर्माण गरिएको भगवान शंकरको जटाबाट निस्कने जलधाराको केदारेश्वर महादेव मणी मन्दीरका पीठाधिस चिद्घन चैतन्यजी महाराजले आज एक समारोहबीच उद्घाटन गर्नु भएको छ । विद्यालयको आन्तरिक स्रोत र डिभिजन वन कार्यालय कास्कीको सहयोगमा निर्माण गरिएको सो उद्यानको लागत ५ लाख ९२ हजार रहेको छ । सो उद्यानको उद्घाटन गर्नुहुदैँ चैतन्यजी महाराजले आत्मसन्तुष्टि प्राप्त गरी स्थिर मन भएर गरेको धर्म मात्र सार्थक हुने बताउँदै धर्मले सबैलाई एकतामा बाध्ने स्पष्ट पार्नुभयो । उहाँले धर्मको बारेमा बोल्नुहुदैँ कुनै व्यक्तिको काम र कर्तव्यबाट पनि प्राप्त हुने स्पष्ट पार्नु भयो । भोकभोकै बसेर मन्दिरको दर्शन गरी लाखौं दान गरे पनि मनमा शान्ती र स्थितरता भएन भने त्यस्तो व्यक्तिले गरेको धर्मको कुनै अर्थ नहुने स्पष्ट पार्नु भयो । उहाँले धर्म र संस्कृति भनेको राष्ट्रको मुल मर्म भएकाले कुनै पनि अभिभावकले आफ्ना सन्ततीलाई धर्मको बारेमा सिकाउनुभयो । गुरु चैतन्यले विदेश जाने छोराछोरीहरुलाई विदेश नजान आग्रह समेत गर्दै देशमै बसेर सेवा गर्न प्रेरित गर्नुभयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष एवम् गोरखा पत्र दैनिकका व्युरो प्रमुख रमेश पौडेललाई पत्रकारीता क्षेत्रबाट धर्म संस्कृति र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रध्यायानाध्यापक श्रीकृष्ण सिग्देल, प्रा। डा जग्गनाथ रेग्मी लगायतले धर्म संस्कृति र संस्कृत शिक्षाका बारेमा बोल्नु भएको थियो । सो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । यहाँ हाल २६० जना विद्यार्थी अध्ययनरत रहेका छन् । ७० जना विद्यार्थीहरुलाई निशुल्क आवास तथा भोजनको व्यवस्थासमेत विद्यालयले गर्दै आएको छ । जसका लागि गुरुकुल शिक्षाको संर्वद्धन र प्रर्वद्धनका लागि भन्दै अक्षयकोष खडा गरिएको छ । सो कोषमा हालसम्म ६५ लाख रुपैयाँ जम्मा भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । संस्कृत विद्यालय भएपनि सो विद्यालयमा वेद कर्मकाण्ड लगायत अंग्रेजी, विज्ञान, गणित विषयसमेत पढाई हुदाँ सो विद्यालयमा आउने विद्यार्थीको संख्यामा वृद्धि भएको सो विद्यालयका प्रअ सिग्देलको भनाई छ ।
पोखरा: इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एशमोसिएसन(एगा) पोखराले यही साउन ९ गतेदेखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोई शहरमा पोखराको पर्यटन प्रवद्र्धन गरेको छ । संस्थाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत स्वदेश एवम् विदेशमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा यस वर्ष अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत इन्डोनेसियाको बाली र भियतनामको हानोई लगायत शहरमा प्रवद्र्धनात्मक कार्यक्रमहरू सम्पन्न गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो । भ्रमणका क्रममा बालीबाट कला र संस्कृतिबारे धेरै जान्न र बुुझ्न पाइएको उल्लेख गर्दै लम्सालले त्यहाँबाट हामी नेपालीले धेरै सिक्न सक्ने बताउनुुभयो । कला र संस्कृतिको संरक्षण गर्न सकेमा त्यसबाट पर्यटकीय रुपमा धेरै फाइदा लिन सकिने अनुभव त्यहाँबाट हासिल भएको उहाँको भनाइ छ । कार्यक्रमकै क्रममा प्रवद्र्धन टोलीले स्थलगत रुपमा हानोईको ग्रामिण क्षेत्रमा रहेको सिल्कका कपडाको उद्योगहरूको अवलोकन समेत गरेको थियो । कार्यक्रमको इन्टरनेशनल ट्राभल्स व्यवस्थापनको सहजीकरण एगा पोखराका पूर्व अध्यक्ष विश्वराज पोखरेलले गर्नुुभएको थियो । भ्रमणका क्रममा तत्तत् स्थानका पर्यटन व्यवसायी एवम् सर्वसाधारणलाई पोखरा सहित नेपाल भ्रमणका लागि आग्रह गरिएको पोखरेलले जानकारी दिनुभयो । प्रवद्र्धन टोलीमा अध्यक्ष लम्साल सहित पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेल, निवर्तमान अध्यक्ष इन्द्रप्रसाद भण्डारी, पूर्व अध्यक्षहरू कृष्णकुमार श्रेष्ठ, विश्वराज पोखरेल, जीवनाथ गौतम, कार्यसमितिका पदाधिकारी सहित ३५ जनाको सहभागिता रहेको थियो ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उहाँकाअनुसार गत वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ तीन लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, आंशिकतर्फ एक लाख १४ हजार ६४० गरी र कूल जम्मा पाँच लाख दश हजार ९८७ परीक्षार्थी सहभागी भएको उहाँको भनाइ छ ।
पोखरा: पेशागत दक्षतालाई प्रवद्र्धन गर्ने उद्देश्यले जनप्रिय बहुमुखी क्याम्पस पोखरामा प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम साउन १८ गतेदेखि २३ गतेसम्म जनप्रिय क्याम्पसको अन्नपूर्ण हलमा सञ्चालन हुनेछ । तालिमको उद्घाटन गर्दै युजिसीका अध्यक्ष प्राडा देवराज अधिकारीले देशभरका सामुदायिक क्याम्पसमा गुणस्तरीय पठनपाठन सुनिश्चित गर्न ७ वटा तालिम केन्द्रहरू स्थापना गरिएको जानकारी दिए । विद्यार्थी भर्ना दरमा कमी र कक्षा छाड्ने दरमा वृद्धि हुनुको पछाडि प्रभावकारी अध्ययन–अध्यापनको अभाव एक कारण हो, अध्यक्ष अधिकारीले भने, त्यसैले नेहेप प्रोजेक्ट अन्तर्गत जनप्रिय क्याम्पस जस्ता अग्रणी क्याम्पसहरूलाई तालिमको जिम्मेवारी दिइएको हो । उनले गण्डकी प्रदेशका ११ ओटा क्युएए प्रत्यायन प्राप्त सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरू सहभागी रहेको तालिमले व्यवहारिक शिक्षामा सुधार ल्याउने अपेक्षा गरिएको बताउँदै अध्यक्ष अधिकारीले सहभागी प्राध्यापकहरूलाई दोस्रो चरणमा तालिम दिनका लागि योग्य बनाउने उद्देश्य रहेको बताए । कार्यक्रममा लुम्बिबनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा युजिसीका प्राविधिक सल्लाहकार प्राडा हृदयरत्न बज्राचार्यले तालिम केन्द्रको सञ्चालनले दक्ष प्रशिक्षक उत्पादन हुने र सामुदायिक क्याम्पसहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले सामुदायिक क्याम्पसहरूका लागि प्राध्यापक तालिम कार्यक्रम ऐतिहासिक उपलब्धि भएको बताउँदै सहभागीलाई तालिमको मर्म आत्मसात् गर्न आग्रह गरे । क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्दै आएको र सन् २००७ देखि नै उच्च शिक्षामा सुधारको अभियानमा सक्रिय रहँदै आएको जानकारी दिए । यस वर्ष क्याम्पसले तीनवटा तालिम सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए । तालिममा जनप्रिय, म्याग्दी, गलकोट, जनज्योति, मस्र्याङ्दी, द्रव्यशाह, आदिकवि भानुभक्त, कालिका, गुप्तेश्वर महादेव, कन्या, पोखरा बहुमुखी क्याम्पसका ३० जना प्राध्यापक सहभागी रहेका छन् ।
मकवानपुर: नेपाली कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा (२)अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले सरकारका लागि आह्वान गरेको केही बेरमै बानियाँले दाबी पेस गरेका हुन् । बानियाँले सत्ता साझेदार नेकपा एमाले र कांग्रेसका तर्फबाट प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेको उनीनिकट कार्यकर्ताहरू तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।
पोखरा: बेगनास तालमा मृत फेला परेको एक पुरुषको शवको सनाखत हुन सकेको छैन । बेगनास तालमा शुक्रबार मृत फेला परेका पुरुषको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीले आज (सोमबार) सूचना जारी गर्दै शवको पहिचान हुन नसकेको जानकारी दिएको हो । अन्दाजी ५०/५५ वर्षीय देखिने एक पुरुष शुक्रबार बेगनास तालमा मृत फेला परेका थिए । तालमा शव फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

