काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट तथा कार्यक्रम पारित गराई कार्यान्वयनमा ल्याउन नसकेका स्थानीय तहका समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सहजीकरण गर्न विभिन्न तीन वटा टोली परिचालन गर्ने भएको छ । उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाले हालसम्म पनि चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम सभाबाट पारित गरी कार्यान्वयनमा ल्याउन नसकेकाले मन्त्रालयले टोली परिचालन गर्ने निर्णय गरेको सङ्घीय मामिलामन्त्री भगवती न्यौपानेका स्वकीय सचिव नारायण बुढापृथीले जानकारी दिए । अतः मन्त्रालयले त्यस्ता स्थानीय तहमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै सभाबाट यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने वातावरण निर्माणका लागि पहल गर्न मन्त्रालयको सहसचिवको नेतृत्वमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधिसमेतको संलग्नतामा बुधबारदेखि तीन वटा टोली परिचालन गर्ने निर्णय गरिएको हो । नेपालको संविधानले धारा ५९ मा आर्थिक अधिकारको प्रयोग र धारा ६० मा राजस्व स्रोतको बाँडफाँटको अधिकार सुनिश्चित गरी स्थानीय तहलाई आर्थिक स्वायत्तता प्रदान गरेको छ । उल्लिखित अधिकारको विधिसम्मत प्रयोग गर्दै स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न संविधानको धारा २३० मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँसभा वा नगरसभामा पेश गरी पारित गराउनु पर्ने व्यवस्था छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद विराजभक्त श्रेष्ठलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताए । त्यति मात्र होइन, उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न माग गरे । त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए । उनले आफूहरूले संसद् बैठक बहिष्कार गर्ने र बहिष्कार गर्ने दिनको भत्ता पनि नलिने बताए । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।
काठमाडौं: म्याग्दी जिल्लाको गुर्जाखानी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो १ बजेर २ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र तथा खानी तथा भूगर्भ विभागका अनुसार यो भूकम्पको स्थानीय परिमाण (एमएल) ४.५ मापन गरिएको हो। हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण आइनसकेको केन्द्रले जनाएको छ। तर भूकम्पको धक्का म्याग्दी तथा वरपरका जिल्लामा महसुस गरिएको जनाइएको छ।
काठमाडौं: ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ । नयाँ वानेश्वरस्थित संसद् भवनको शंकर हलमा भएको कार्यक्रममा समिति सभापति जीवन परियारले प्रतिवेदन सभामुख घिमिरेलाई बुझाएका हुन् । प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यतालिका सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ । कांग्रेस सांसद परियार सभापति रहेको समितिले सङ्घीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।
पाँचथर: पाँचथरको याङवरक गाउँपालिका–१ बिरुवामा बेपत्ता भएका दाजु–बहिनी मृत अवस्थामा भेटिएका छन् । गएको साउन १५ गते बिहानदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमाको आज बिहान बिरुवा खोलामा शव भेटिएको हो । उनीहरूको शव खोला किनारामा झन्डै दुई सय मिटरको फरकमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिनुभयो । बेपत्ता बालबालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली हिजो च्याङथापू पुगेको थियो । शिशिर कक्षा ४ र नानुमा कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययनरत थिए । वडाध्यक्ष खालिङका अनुसार बाबु बिर्खबहादुरले साउन १५ गते बिहान छोराछोरीलाई हजुरआमा कहाँ गएर खाना खाई स्कूल जानू भनेर पठाएको तर त्यसदिनभर उनीहरूको अवस्था थाहा नभएपछि अर्को दिन साउन १६ गतेदेखि खोजी थालिएको थियो । मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा हुनुहुन्छ । पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने समस्या भने रहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सबैभन्दा बढी समस्या देखिएको तुइन खोलामा ठूलो ढुङ्गा झारिएको छ । सँगै साना ढुङ्गा झारिएको भए पनि अझै सो क्षेत्र जोखिमपूर्ण रहेको उनको भनाइ छ । यस्तै जोखिम जलवीरेमा छ । झण्डै एक सय मिटर क्षेत्रमा साना ढुङ्गा खस्ने जोखिम रहेको हो । नाम्सी पुल क्षेत्रमा भित्तो काटिएको हुँदा ढुङ्गा खस्ने जोखिम छ । एक सय मिटर जति क्षेत्र जोखिममा रहेको घिमिरेले जानकारी दिए । तुइन खोला नजिकैको क्षेत्र पनि जोखिममा छ । ६० मिटर हाराहारी क्षेत्रमा ढुङ्गा खस्ने जोखिम छ । सो क्षेत्रमा सडक विस्तार गर्दा हल्का भित्तो काटिएको थियो । केही वर्षअघि यो सडक विस्तार गर्दा ठाउँठाउँमा भित्तो काटिएको थियो । ती क्षेत्रमा रकनेटिङ, वायो इञ्जिनियरिङलगायत प्रविधि प्रयोग गरेर पहिरो र ढुङ्गा खस्ने समस्या रोकथाम गरिएको हो । कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी देखिएका ठाउँमा रकनेटिङलगायतका काम गर्नुपर्ने आवश्यकता औँल्याए । विभागसँग परामर्श गरेर काम अघि बढाइने उनको भनाइ छ । वर्षातको समयमा सडक जोखिमपूर्ण भएकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । कार्यालयले ढुङ्गा र पहिरो खस्न सक्ने जोखिम भएकाले मुग्लिनमा एउटा लोडर तयारी अवस्थामा राखेको छ । यस्तै सेतीदोभानमा लोडर, जेसिभी एक्साभेटर, ट्रकटेलर, टिपर तयारी अवस्थामा राखेको छ । उनका अनुसार नाली बन्द हुन नदिन मिनी एक्साभेटर र आवश्यक जनशक्ति सडकमा नियमित परिचालन गरिएको छ ।
काठमाडौं: कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरूलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् । सहरी विकास मन्त्रालयमा मंगलबार गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा उनले मनसुनजन्य जोखिमको जानकारी लिएका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले बैठकमा अहिले देशका विभिन्न स्थानको मौसम र सम्भावित जोखिमबारे जानकारी लिँदै पूर्वतयारीमा रहन, घटना भए क्षति हुन नदिन, खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा रहन निर्देशन दिए । उनले सम्भावित जोखिम रहेको क्षेत्रमा ‘एसएमएस अलर्ट’, स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि ध्यानाकर्षण गराए । बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराए । भारी वर्षा हुँदा बबई नदी र राप्ती नदीको पश्चिम भागमा खतराको तह पार गरेकाले बर्दिया क्षेत्रमा अबको ४ देखि ५ घण्टामा डुबान पर्न सक्ने सम्भावना रहेको बताए । मधेश प्रदेशमा देखिएको खडेरीको अवस्थबारे पनि कार्यवाहक प्रधानमन्त्री सिंहले चासो राखेका थिए । सो क्रममा प्राधिकरणका प्रमुख भट्टले मधेशमा हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाईं भएको जानकारी गराए । बैठकमा मंगलबार (आज) राती कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको बारे पनि जानकारी गराइएको छ । यस्तै पानी पार्ने अर्को प्रणाली मकवानपुरमा सक्रिय हुने आँकलन गरिएको छ । बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।
पोखरा: साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ । कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारहरूको समेत प्रभावशाली प्रस्तुति रहेको कार्यक्रममा दर्शकको उल्लेखनीय उपस्थिति देखियो। पृथ्वीचोकको माहोल निकै रमाइलो र सांगीतिक बनेको थियो । सिनेमा प्रचारका लागि पोखरा आएका पल शाहलाई दर्शकले उत्साहपूर्वक स्वागत गरे । स्टेजमा नै केक काटेर उनको स्वागत गरिएको थियो । जसले कलाकार र फिल्म दुवैप्रति पोखरेली दर्शकको माया झल्किएको छ । सिनेमा मोहर को कथावस्तु, प्रस्तुति र कलाकारहरूको समर्पणले नेपाली सिनेमामा नयाँ स्वाद दिने विश्वास गरिएको छ । प्रचारप्रसारको यो शैलीले दर्शक र कलाकारबीचको सम्बन्धलाई अझ बलियो बनाएको देखिन्छ । चलचित्र मोहरको कथा पश्चिम नेपालका ग्रामिण परिवेश, सामाजिक द्वन्द्व, प्रेम, र सांस्कृतिक अस्मितालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । फिल्ममा सांगीतिक भावनालाई जीवनकथा सँग जोड्ने प्रयास गरेको अभिनेता पल शाहले जानकारी गराए । सिनेमामा पल शाह प्रमुख भूमिकामा छन् भने पारिवारिक सम्बन्ध, प्रेममा विश्वासघात, अनि आत्मसम्मान जस्ता गम्भीर विषयहरूलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । यसले विशेष गरी युवापुस्ता र ग्रामिण परिवेशका दर्शकहरूलाई प्रत्यक्ष रुपमा जोड्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ । पोखरामा आयोजित मोहर साँझमा पल शाहले दर्शकहरूलाई धन्यवाद दिँदै ‘मोहर’ आफ्नो करियरको विशेष सिनेमामध्ये एक भएको उल्लेख गरे । चलचित्रको विषयवस्तसँग आफू निक्कै नजिक भएको र सिनेमाको कथाले दर्शकको मन छुने विश्वास उनको छ । गायक थानेश्वर गौतमले ‘मोहर’ को गीत दर्शकलाई सुनाए । सिनेमा लोक शैली र जीवन्तताका विषयमा प्रकाश पार्दै मोहरमा समावेश अन्य गीतहरूसमेत समकालीन लोकभावनामा आधारित रहेको जानकारी उनले गराएका छन् । सांगीतिक, कथात्मक र दृश्यात्मक दृष्टिले मोहर एक अलग शैलीको सिनेमाका रूपमा चिनिने आँकलन गरिएको छ। लोकसंस्कृतिमा आधारित समसामयिक कथावस्तु, लोकप्रिय कलाकारहरूको सहभागिता र संगीतको गहिरो प्रभावले गर्दा चलचित्रले राम्रो स्थान बनाउने विश्वास समेत गरिएको छ । ओम प्रतिकको कथा र निर्देशन रहेको मोहरमा पल शाह सँगै अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी लगायतका कलाकारको अभिनय छ । फिल्ममेकर प्रालीको प्रस्तुतिमा निर्माण उक्त सिनेमाका निर्माता चुम्बनजंग शाही हुन् ।
काठमाडौं: दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलिमिटर वर्षा भएको छ भने बर्दियाको मानपुरमा एक सय ६७ मिलिमिटर वर्षा भएको छ । बाँके र दाङमा अति भारी वर्षा हो भने बर्दियामा धेरै भारी वर्षा भएको छ । दाङमा पछिल्लो एक घण्टामै २५ मिलिमिटरभन्दा बढी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राति पश्चिम नेपालमा बढी वर्षा हुने जानकारी दिनुभयो । यद्यपि अन्य प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । वर्षा गराउने सानो प्रणाली बनेको भएर आज दिउँसो र रातिमा पश्चिम क्षेत्रमा बढी पानी पर्ने उहाँले बताउनुभयो । यद्यपि मनसुन न्यूनचापीय प्रणालीको असर भने नेपालभरि नै छ । जसका कारण अझै केही दिन मनसुन सक्रिय भइरहनेछ । पछिल्लो छ घण्टामा मात्र दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा, बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने बबई, पश्चिम राप्ती नदी, डुडुवा खोलालगायत अन्य साना खोलामा आकस्मिक बाढी तथा होचा भूभागमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर अधिकांश बदली छ । लुम्बिनी प्रदेशका अधिकांश स्थान, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएको महाशाखाले जनाएको छ ।

