पोखरा: बेगनास तालमा मृत फेला परेको एक पुरुषको शवको सनाखत हुन सकेको छैन । बेगनास तालमा शुक्रबार मृत फेला परेका पुरुषको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीले आज (सोमबार) सूचना जारी गर्दै शवको पहिचान हुन नसकेको जानकारी दिएको हो । अन्दाजी ५०/५५ वर्षीय देखिने एक पुरुष शुक्रबार बेगनास तालमा मृत फेला परेका थिए । तालमा शव फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रम पोखरामा एनएमबी बैंकद्वारा आयोजित सौर्य उर्जा हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । गण्डकी प्रदेश सरकारको सडक मानवमुक्त प्रदेश निर्माणको परिकल्पनालाई सार्थक बनाउने क्रममा मानवसेवा आश्रमसँगको सहकार्यलाई उनले एक महत्वपूर्ण नीतिगत पहलकदमीको रूपमा व्याख्या गरेका छन् । सामाजिक उत्तरदायित्वका माध्यमबाट सञ्चालनमा रहेको मानवसेवा आश्रमलाई आश्रय, माया र सम्मान खोजिरहेका जीवनहरूको आशालु केन्द्र भन्दै सरकार सधैं यस सेवामूलक यात्रामा साथमा रहने प्रतिबद्धता उनको छ । मन्त्री थापाले आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेश सरकारले मानवसेवा आश्रमका विभिन्न इकाइहरूको व्यवस्थापनका लागि कुल रु। १ करोड १८ लाख १० हजार बजेट विनियोजन गरेको जानकारी गराए । जसमा पोखरास्थित आश्रमका लागि ७० लाख, लमजुङका लागि १२ लाख ६० हजार,गोरखा जिल्लाका लागि रु. १४ लाख ५० हजार र बागलुङका लागि रु. २१ लाख विनियोजन गरिएको छ । त्यस्तै, वर्तमानमा आश्रमलाई मासिकरूपमा दिइँदै आएको रु। ३ हजार सहयोग राशी न्यून रहेको महसुस गरिएको भन्दै मन्त्री थापाले यसमा आवश्यक समायोजन गरिने संकेत समेत दिएका छन् । “मानवसेवा आश्रम स्वयंसेवी भावना, समर्पण र सेवा प्रवाहको अनुपम उदाहरण हो। ऊर्जा हस्तान्तरणजस्तो सहयोगले यसको सेवा अझ प्रभावकारी र सशक्त हुने विश्वास लिएको छु। यस सेवामा ऊर्जा थप्नु भनेको समाजको मानवताको मुटुमा उज्यालो थप्नु हो।”, उनले भने । सामाजिक न्याय, समावेशी सेवा र दिगो ऊर्जा प्रवद्र्धनलाई मूलमन्त्र मानेर अगाडि बढिरहेको गण्डकी प्रदेश सरकारले यस्ता सहकार्यलाई अझ सुदृढ बनाउने उनले उल्लेख गरे । मानवसेवा आश्रम जस्ता संस्था सरकारका लागि साझेदार मात्र नभई समाज परिवर्तनका उत्प्रेरक भएको भनाई उनको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयकी सहायक प्रवक्ता सीता सापकोटा सुवेदीले जानकारी दिनुभयो । आदिवासी जनजाति आयोगले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सिफारिस गरेको थियो । २०७८ को जनगणना अनुसार गण्डकी प्रदेशको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७ छ । त्यसमध्ये ४ लाख ६४ हजार ३ सय १० (१८.८ प्रतिशत) मगर र २ लाख ७२ हजार २ सय ७० (११ प्रतिशत) गुरुङ समुदायका छन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरक्त मगर र गुरूङ भाषाको लागि प्रयोग लिपिलाईसमेत सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्नुपर्ने विधेयकमा उल्लेख छ । सरकारी कामकाजको भाषा प्रयोगलाई मानकीकरण, आधुनिकीकरण, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आवश्यक उपकरण, भाषा अनुवादसम्बन्धी प्रविधि र यन्त्रको आवश्यक व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने विधेयकमा उल्लेख छ ।
पर्वत: प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्ने भएका छन् । हालसम्म उपलब्ध परीक्षणसम्बन्धी सेवा पर्याप्त नहुँदा आधुनिक र थप परीक्षणका लागि पोखरा वा अन्य ठाउ जानुपर्ने बाध्यता अब हटेको अस्पतालले जनाएको छ । अस्पतालमा हालै थपिएका प्रयोगशालासम्बन्धी सेवाले धेरै बिरामीलाई जिल्लाकै उपचारले थप राहत प्रदान गर्ने भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त बाँस्तोलाले बताए । उनका अनुसार नयाँ थप गरिएका परीक्षण सेवामा भिटामिन डी, भिटामिन बी–१२, पीएसए, बी–एचसीजी, एन्टी टिपिओ, आइरन प्रोफाइल, एएनए, एन्टी डीएसडीएनए, फेरिटिन, सीआरपी क्वान्टिटेटिभ, आरए क्वान्टिटेटिभ तथा रेटिकुलोसाइट काउन्ट जस्ता विश्लेषणात्मक परीक्षण समावेश गरिएका छन् । यी परीक्षणबाट विशिष्ट स्वास्थ्य समस्याको पहिचान गर्न सहज हुने अस्पतालले जनाएको छ । यस सुविधामार्फत कुश्मा तथा आसपासका जिल्लाका सर्वसाधारणले उपत्यका वा अन्य सहर जानुपर्ने झन्झटविना अत्याधुनिक प्रयोशाला परीक्षण सेवा सुलभ रूपमा प्राप्त गर्न सक्ने भएका छन् ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । ओली तुर्कमेनिस्तानमा हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन गए राति (साउन १८) त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए । उनका अनुसार, एमाले विधान, २०४९ (संशोशन २०७८)को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले अध्यक्षको काम गर्ने उल्लेख छ । प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्कन कार्यक्रम छ ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि चार हजार तीन सय १९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताउनुभयो । अडिटको दुरी चार सय ५९ मिटर छ । बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिटलगायत उपकरण ल्याएको बताउनुभयो । मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा आवद्ध हुनेछ् । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताउनुभयो । कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेत्तृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रर्वद्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ । नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर रु आठ ४० पैसा र वर्षायामको दर रु चार रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु एक अर्ब नौ करोड र बर्खामा दुई सय ७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ । मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा तीन सय मेगावाट भन्दा बढी क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, एक सय ८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाई गर्नुभयो । सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानुभएको हो । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना हुनेछ । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलनका क्रममा एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल हाल एलएलडिसी समूहको अध्यक्षसमेत रहेको छ । एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशहरूले भाग लिने सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्ठित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल हुनेछ । ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देशहरू हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्ठित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्ठित विकासशील देशहरूले अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना गरिरहेका छन् । यसैगरी, प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको छ । सम्मेलनले सदस्य राष्ट्रहरूले झेल्नु परिरहेको समस्या समाधानका लागि रणनीतिक साझेदारीसहित लगानी वृद्धि गरी चुनौतीहरू सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आँकलन गर्न सहयोग पु¥याउने ठानिएको छ । यसैगरी यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न सम्मेलनको महत्त्वपूर्ण भूमिका रहने छ । यसअघि भूपरिवेष्ठित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अस्ट्रियाको भियनामा भएको थियो । करिब १० वर्षअघि भएको सो सम्मेलनमा ‘अल्माटी कार्ययोजना कार्यान्वयनको समीक्षासहित नयाँ र उदीयमान चुनौतीको सामना गर्न साझेदारी र अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरू’का विषयमा छलफल भएको थियो । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
पोखरा: पोखरा लेकसाइडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्सले असोज ४ गते पोखरामा हुन गइरहेको दोस्रो पुम्दी—भुम्दी पर्वतीय दौड प्रतियोगितामा सहकार्य गर्ने भएको छ । होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र दोस्रो पर्वतीय दौड प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्यमा सम्झौता भएको हो । करिब सात रोपनी क्षेत्रमा फैलिएको होटलमा हाल तीन स्वीट रुमसहित डिलक्स र सुपर डिलक्स गरी ३८ रुम रहेकामा आउँदो असोजमा २४ रुम नयाँ थप हुने अर्को एक तीन सय सिट क्षमताको सभाहल निर्माणपछि जम्मा ६२ रुममा दुई सभाहल सहित फूलफेजमा होटल सञ्चालन हुने सञ्चालक भट्टराईले जानकारी दिनुभयो । फेवाताल, माछापुच्छ«े र अन्नपूर्ण हिमालशृंखलासहित मेथलाङ डाँडा नजिकको दृश्यावलोकन गर्न सकिने होटल सुरु भएको एक वर्षमै ट्रिप एडभाइजरमा पोखराका उत्कृष्ट पाँच होटलमध्ये एकमा पार्न सफल होटलसँग सहकार्य गर्न पाउँदा प्रतियोगितामा रौनकता थपेको संयोजक बरालले जानकारी गराउनु भयो । कन्फरेन्स हल, स्पा, साउना, स्ट्रिम, मसाज, खुला पार्किङ सुविधा भउको उक्त होटलमा दुई सयभन्दा बढी पाहुना को सिट क्षमताको रेस्टुरेन्टबाट समेत सेवा लिन सकिने सञ्चालक भट्टराईले बताउनु भयो । रेस्टुरेन्टले हरेक दिन एकोष्टिक लाइभ म्युजिकसहित कन्टिनेन्टल, नेपाली र भारतीय परिकारको स्वाद पस्कदै आएकाले पर्वतीय दौडसँगको सहकार्यले थप प्रचारप्रसार हुने पोखरा क्लिकका बजार व्यवस्थापक सागर सुनार बताउनुहुन्छ । सञ्चालक भट्टराईले होटल स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा फेवातालमा १० हजार माछाको भुरा छाड्दै वातावरण संरक्षणमा इट्टा थप्ने प्रयास गरेकोमा पर्वतीय दौडमा सहकार्य गर्न पाउँदा गौरवबोध भएको बताउनुभयो । विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा आयोजना हुने प्रतियोगितामा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्य रहेको छ । मेडिकल पार्टनर रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कारसमेत प्रायोजन गरेको प्रतियोगिताको अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ । प्रतियोगिताको आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । प्रतियोगितालाई सफल बनाउन विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद् लगायत स्थानीय व्यावसायिक संस्थाहरूको सहयोग रहेको छ ।
काठमाडौं: पूर्व राष्ट्रपति रामवरण यादवले तनहुँको राजनीतिक तथा सामाजिक नेता स्व. तारापति भट्टराईको ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक आदर्श अहिले राजनीतिक शिक्षामा अपरिहार्य भएको बताउनुभएको छ । काठमाडौँमा तारापति स्मृति प्रतिष्ठानले आयोजना गरेको भट्टराईको स्मृति ग्रन्थ लोकार्पण गर्दै उहाँले, युवा पुस्तामा निष्ठा र आदर्शको राजनीति सिकाउन अग्रजहरुको योगदान अभिलेखन र पुस्तान्तरण गर्नु पर्ने बताउनुभयो । ‘संसारले अभ्यास गरेको उन्नत लोकतान्त्रिक अभ्यास देशले उपयोग गरिरहेको छ । यसमा केही राम्रा अभ्यास भएका छन् । केही विकृति पनि देखिएका छन् । अहिले राम्रा काम र प्राप्त उपलब्धिका विषयमा कुरा नै हुँदैन । खाली नराम्रा कुरा मात्र गरिन्छन् । यसकारण राम्रा कुराको प्रवर्धन गर्दै विकृतिलाई सच्याउँदै जानु पर्ने आवश्यकतालाई अग्रजले देखाएको निष्ठालाई सिकाइ बनाउन सकिन्छ ।’ उहाँको भनाइ थियो । उहाँले, स्व। भट्टराईले आफू पाउन नभइ जनतालाई दिन गर्नु भएको योगदान, पुस्तान्तरणका लागि उपयुक्त सिकाइ भएको उल्लेख गर्नुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय सभा सदस्य पदम परियार, गण्डकी प्रदेश सभा सदस्यहरु अशोक श्रेष्ठ र जितप्रकाश आले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, शुक्ला गण्डकी नगरका प्रमुख कृष्णराज पण्डितसहितका वक्ताहरुले जनताको माझमा बसेर प्रजातन्त्र प्राप्त गर्ने अभियानका कुशल पथ प्रदर्शकका रुपमा चर्चा गर्नुभयो । यस्तै पूर्वमन्त्रीहरु अर्जुननरसिंह केसी, शंकर भण्डारी, डा. रामचन्द्र अधिकारी, नरहरि आचार्य, संविधान सभा सदस्य रामचन्द्र पाखरेल लगायत वक्ताले तनहुँलाई आधुनिक विकासको पथमा लैजान भट्टराईको योजना आधार भएको उल्लेख गर्नुभयो । राजनीतिमा निष्ठा र आदर्शको प्रवर्धनका लागि तारापतिजस्ता अगुवाका बारेमा स्थानीय सरकारले जनताको इतिहासका रुपमा अभिलेखन गर्नु पर्ने उहाँहरुको सुझाव थियो । कार्यक्रममा उहाँका समकालीनहरु गोपीबहादुर गुरुङ्सहितका वक्ताहरुले भट्टराईको राजनीतिक, सामाजिक र आध्यात्मिक जीवनका बारेमा चर्चा गर्नुभएको थियो । यसरी बोल्ने वक्ताहरुले तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरबाट दमौलीमा सार्न, जिल्लामा सडक, ढल निकास र खानेपानीको सुविधाका लागि पूर्वाधार निर्माण गर्न, शैक्षिक सुधार गर्न तथा पञ्चायत शासनमा बसेर लोकतान्त्रिक अभियान सञ्चालन गर्न उहाँले गर्नुभएका क्रियाकलापका विषयमा चर्चा गर्नुभएको थियो । स्मृति ग्रन्थमा समकालीन राजनीतिक र सामाजिक क्षेत्रका ४० जना लेखकले भट्टराईसँग सम्बन्धित घटना र विषयसँग सम्बन्धित लेख समावेश छन् । प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले विभेदरहित समाजको कल्पनामा तारापतिले देखाउनु भएको बाटो बर्तमान राजनीतिक अवस्था सुधारका लागि सान्दर्भिक भएको धारणा राख्नुभयो । स्व. नेता भट्टराईको संक्षिप्त चिनारी १९८९ चैत्र १ गते जन्मनुभएका तारापति भट्टराई नेपाली कांग्रेसका सरल र सादगी नेता हुनुहुन्थ्यो । २०६१ साल असार २१ गते परमधाम हुनुभएका भट्टराईले जीवनभर प्रजातन्त्रमार्फत नागरिक स्वतन्त्रता र सरल जीवनयापनका लागि राजनीतिक तथा सामाजिक नेतृत्व गर्नुभयो । ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक दर्शन उहाँको जीवनको अनुकरणीय पक्ष हो । यसका लागि उहाँले रुपान्तरणका लागि अभियान र कार्यक्रम सञ्चालन गर्नुभयो । २००७ सालदेखि राजनीतिक नेतृत्वमा उहाँको महत्वपूर्ण भूमिका छ । शासन व्यवस्था परिवर्तनका अनेक आयाममा नेतृत्व गर्नुभएका भट्टराईले पञ्चायत कालमा पदीय दायित्व ग्रहण गर्दै प्रजातन्त्र र नागरिक स्वतन्त्रताका पक्षमा काम गर्नुभयो । नेपाली कांग्रेसले सञ्चालन गरेको भद्र अवज्ञा आन्दोलनलगायत अभियानमा उहाँको अग्रणी भूमिका थियो । २०१५ सालमा राजा महेन्द्र पश्चिमाञ्चल क्षेत्रका लागि पैदल भ्रमण गएका बेला सदरमुकाम बन्दीपुर थियो । सदरमुकाम जान आउन ढोर, रिसिङ्ग, घिरिङ्गलगायत पश्चिम तनहूँका जनतालाई ३र४ दिन हिड्नुपर्ने नदीनाला, अनगिन्ती खोला पार गर्नु परेकोले मर्का परेको जनाउँदै उहाँले दमौली वा खैरेनीटारमा सदरमुकाम सार्न निवेदन गर्नुभएको थियो । २०१५ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता भट्टराई २०१७ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकार विघटन, संसदीय व्यवस्था माथि प्रतिबन्ध र राजनेताहरूको गिरफ्तारी गर्ने राजा महेन्द्रको कदम विरुद्ध अभियान सञ्चालन गर्दा कष्टपूर्ण जेल जीवन बिताउनु परेको थियो । २०१८ सालमा जनताको पक्षमा कार्य गर्ने उद्देश्यले पञ्चायतको चुनावमा सरिक हुनुभयो । तनहुँको तत्कालीन राईपुर गाउँ पञ्चायतबाट प्रधानपञ्चमा निर्वाचित हुनुभयो । उहाँको सक्रियता र अभियानको समर्थन गर्दै तनहुँबासीले २०२० सालमा उहाँलाई जिल्ला पञ्चायत सदस्यमा निर्वाचित गरे । तनहुँको सदरमुकाम बन्दीपुरबाट जिल्लाको केन्द्र भाग दमौलीमा सार्ने, दमौलीमा सदरमुकाम सार्ने क्रममा सहादत प्राप्त गर्नुभएका निर्मल रानाभाटको स्मृतिमा दमौलीमा निर्मल माध्यमिक विद्यालय स्थापना गर्ने, दमौलीमा एकीकृत र योजनाबद्ध बस्ती निर्माणमा उहाँको नेतृत्वदायी भूमिका थियो । जिल्ला पञ्चायत तनहुँका सभापति भएको समयमा राजा महेन्द्रबाट संविधान सुधार गर्न सुझाव माग हुँदा जिल्ला पञ्चायतबाट प्रजातन्त्रको बहाली, बालिग मताधिकार, मानव अधिकारलगायत जनताका पक्षमा संविधान बन्नुपर्छ भन्ने प्रस्ताव पारित गराउनुभएको थियो ।

