पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

काठमाडौं:  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ । यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर एक सय २८ रुपैयाँ तय गरिएको निगमले बिहिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची गएराती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

काठमाडौं:  सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।  कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिनुभयो ।  कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ । दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्‍याइ जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।

पोखरा:  गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ ।  आर्थिक वर्ष २०८१/८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ । बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष लक्ष्य नजिक पुगेको जनाउँदै आगामी वर्ष मन्त्रालयको प्रगति अझ बढ्ने उल्लेख गरे ।  “यसपालि जुन प्रगति हाँसिल भएको छ, त्यो सन्तोषजनक पक्ष हो । थोरै खर्च हुने प्रवृत्तिलाई निरुत्साहित गर्न यसपालिबाट आर्थिक वर्षको सुरुबाटै स्पष्ट कार्ययोजना बनाउँदै योजनाहरु कार्यान्वयन गर्न आवश्यक छ,” उनले भने ।  गण्डकी प्रदेश सरकारको करिब आधा बजेट भौतिक पूर्वाधार मन्त्रालयमा छ । कार्यक्रममा मन्त्री केसीले नियमित रुपमा कार्यालयहरुको प्रगतिको जानकारी लिई समयमै काम सकन गराउन पटक पटक निर्देशन दिने गरेका छन् ।  पहिलो चौमासिकमै २० लाखभन्दा माथिका योजनालाई ठेक्का प्रक्रियामा लैजान मन्त्रालयले लिखित निर्देशन दिएको थियो । उनले सालवसाली आयोजनाहरुको कार्यान्वयको तत्काल सुरु गर्न कार्यालय प्रमुखज्यूहरुलाई निर्देशनसमेत दिए । केसी अघिल्लो वर्षको भदौ १७ गते भौतिक मन्त्री नियुक्त भएका थिए ।  नियमित रुपमा काम गर्ने व्यवसायीलाई प्रोत्साहित गर्न र सहयोग गरी समयमै गुणस्तरीय कार्य गर्न उनले कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । कार्यालयहरुमा प्राविधिक कर्मचारीहरुको अभाव रहेकोमा यो वर्ष करारमा भर्ना गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । यातायात व्यवस्था कार्यालय कास्की सवारी चालक अनुमतिपत्रमा मन्त्रालयबाट ७ कर्मचारी काजमा खटाइएको  र २२ जनाको अस्थायी दरबन्दी स्वीकृतिका लागि निर्णय भइसकेको उनको भनाइ छ । यही वर्ष सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को समस्या समधान हुने मन्त्री केसीले विश्वास दिलाए । उनले भने, ‘सवारी चालक अनुमतिपत्र छपाई गर्न बजेट विनियोजन भई प्रक्रिया सुरु भइसकेकाले लाईसन्स छपाइको समस्या समेत चाँडै समाधान हुने देखिन्छ ।’ राइड सेयरिङसम्बन्धी नियमावली २०८२ तयार भई सकेको जनाउँदे उनले चाँडै त्यो कार्यान्वयनमा जाने प्रष्ट पारे ।  “यसमा यातायात व्यवसायीका केही असहमति छन्, त्यसलाई समाधान गर्न हामी निरन्तर वार्तामा छौं,” उनले भने, ‘नियमावली सौहार्दपूर्ण एवं सहज  वातावरणमा अविलम्व कार्यान्वयन हुने कुरामा म विश्वस्त छु ।’ कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असारे विकास नभईमात्र भुक्तानीमात्र हुने गरेको बताए ।  “हामी आफैं क्लिियर हुन जरुरी छ, समग्र वर्ष दिनको कामको भुक्तानी हुने हुँदा असारमा बजेट गएकोलाई असारे विकास भन्नु भएन,” उनले भने ।  मुख्यमन्त्री पाण्डेले असार १५ देखि २० गतेभित्र कामको अन्तिम भुक्तानी  दिने वातावारण बनाउने गरी काम गर्न निर्देशन दिए । यसपालि बहुवर्षीय योजनामा ७० प्रतिशत पुग्ने गरी रकम छुट्याइएको उल्लेख्य प्रगति हाँसिल हुने उनको भनाइ छ ।  आर्थिक मामिला मन्त्री डा टकराज गुरूङले आन्तरिक आम्दानी बढाउन राइड सेयारिङ सहयोगी हुने अपेक्षा गरे ।  भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारीले यो वर्ष यातायात र पूर्वाधार कार्यालय नवलपुरमा निर्माण गरिने बताए ।  उनले प्रदेश सरकारले हालसम्म बनाएका पुलहरुको विवरण भएको पुस्तिका हालै सार्वजनिक भएको जानकारी दिँदै छिट्टै सडकमा भएका कामहरुको प्रगति पुस्तिका सार्वजनिक हुने जानकारीसमेत दिए ।  कार्यक्रममा मन्त्रालय अन्तर्गतका पूर्वाधार विकास निर्देशनालय, पूर्वाधार कार्यालय, यातायात कार्यालय, सहरी विकास तथा भवन कार्यालयका प्रमुखहरु सहभागी थिए । उनीहरुले कार्यालयको वार्षिक प्रगति, भोग्नुपरेका समस्या, गर्न सकिने उपलब्धिहरुबारे प्रस्तुति राखेका थिए । समारोहमा २० निर्माण व्यवसायीलाई समय अगावै काम सम्पन्न गरेकोमा सम्मान गरिएको थियो ।

पोखरा:   पोखरा १५ मा बिहीबारदेखि निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन भएको छ ।  पोखरा कम्युनिटी सेन्टरको आयोजना तथा वडा कार्यालय १५ को समन्वयमा ४ दिने निःशुल्क दन्त परीक्षण शिविर सुरु भएको हो ।   अमेरिकाको क्रिकल्याण्ड कर्नरस्टोन डेन्टल बाट आएका डा. से जिन एनको १५ चिकित्सकीय टोलीले अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण गरेको पोखरा कम्युनिटी सेन्टरका कोअर्डीनेटर प्रकाश पार्कले जानकारी दिए ।  वडाध्यक्ष तोरण बानियाँले शिविरमा अमेरिकाका दन्त विशेषज्ञको टोलीद्वारा विशिष्ट मेसिनबाट दाँतको परीक्षण भइरहेको बताए ।  अघिल्लो वर्षको दन्त शिविरबाट धेरै जनाको सकारात्मक प्रतिक्रिया आएको र यस्तै शिविरको माग वडावासीबाट आएकाले शिविर सञ्चालनका लागि समन्वय गरिएको प्रतिक्रिया दिए ।  उनले मेसिन लगायत औजार झिकाउन भन्सारमा समस्या रहेकोमा वडा कार्यालयको विशेष पहलबाट औजार ल्याउन सकिएको र शिविर पश्चात् यी औजार वडाका कुनै सहयोगी संस्थामा राखेर त्यहाँबाट वडावासीलाई निःशुल्क सेवा दिने बारे कुरा भइरहेको  बताए ।   एक महिनादेखि दाँतको दुखाइले राम्रोसँग सुत्न पनि नसकेको बताउने कोल पाटनकी गुमा बानियाँले शिविरमा चिकित्सकले दाँतको उपचार र परीक्षण गरेर औषधी दिएको बताइन् ।  पोखरा लक्ष्मी टोल बस्ने सिता परियारको चिसो र तातो खाँदा दाँत दुखाइको समस्या रहेकोमा शिविरमा चिकित्सकले दाँत सफाइ गरी समस्या देखिएको दाँत निकालेको बताइन् । ’निजी क्लिनिकमा जाँदा ८–९ हजार लाग्छ भनेका थिए, अहिले आफ्नै घर छेउमा निःशुल्क उपचार पाइयो’ खुसी हुँदै उनले भनिन् ।  निःशुल्क ४ दिने शिविरको पहिलो दिनमा नै एक सय बढी बिरामीले लाभ लिएका छन् ।  बिहीबार र शुक्रवारको शिविर वडा कार्यालय अगाडिको भवनबाट सञ्चालन हुनेछ भने बाँकी दुई दिन सानिपाटनस्थित कम्युनिटी सेन्टरको हलबाट शिविर सञ्चालन हुनेछ ।  शिविरलाई वडा सदस्य बलराम पौडेल तथा कार्यपालिका सदस्य मन्दिरा परियार लगायत कम्युनिटी सेन्टरका एक दर्जन युवायुवतीले सहजीकरण गरेका थिए । 

दाङ:  दाङको तुलसीपुरमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान ११ बजे तुलसीपुर–घोराही सडकखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा रा १ त ३४७८ नम्बरको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको छ। दुर्घटना पछि ट्याक्टरले च्यापेको अवस्थामा रहेका दुबै जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएको तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए।  गम्भीर घाइते उनीहरूलाई नजिकैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। त्यहाँ चेकजाँच गर्ने क्रममा चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक मगरले बताए। सोही दुर्घटनामा परी ट्याक्टरमा सवार सोही ठाउँका १५ वर्षीय धनबाहदुर चौधरी र तुलसीुपर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी पनि घाइते छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीको बाँया हातमा चोट छ।

काठमाडौं:  आईसीसी महिला टी–२० विश्वकप छनोट नेपालमा हुने भएको छ। नेपाल अर्को वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म हुने आईसीसी महिला टी-२० विश्वकप २०२६ छनोटको आयोजक बनेको हो।  २०२६ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप  छनोट खेलका लागि १० टोली सहभागी हुनेछन्। उत्कृष्ट ४ टोली विश्वकपमा छनोट हुनेछन्।   २०२४ को आईसीसी महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण बंगलादेश र आयरल्यान्ड स्वतः छनोट भइसकेका छन्।   थाइल्यान्ड र नेपाल एसिया क्षेत्रबाट विश्वकप छनोट खेलका लागि योग्य भएका थिए। अमेरिकाबाट अमेरिकाले यो स्थान सुरक्षित गरेको थियो।  बाँकी रहेको ५ स्थानका लागि अफ्रिका स्थानका लागि अफ्रिका र युरोपबाट २ टोली छनोट हुनेछन् भने पूर्वी एसिया प्रसान्त क्षेत्रबाट एक टोली छनोट हुनेछ।   नेपालमा हुने छनोट खेलमा १० टोलीको सहभागी हुनेछ। त्यसलाई ५/५ टोलीको दुई समूहमा विभाजन गरिनेछ।  त्यसपछि एक सुपर सिक्स स्टेज रहनेछ र फाइनल खेल हुनेछ।  छनोट खेलको तालिका पछि सार्वजनिक गर्ने आईसीसीले जनाएको छ।  

काठमाडौं:   सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।  सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुन: स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायत स्वीकार गर्ने निर्णय निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो। राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्था लगायत निकायका पदाधिकारी र कर्मचारी पारिश्रमिक तथा सेवा सुविधामा एक रुपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न रामु प्रसाद डोटेल, पर्वतको संयोजकत्वमा, रमेश प्रसाद शिवाकोटी, दोलखा र चण्डी प्रसाद घिमिरे, ललितपुर सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय समेत भएको छ ।                 

काठमाडौं:  नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरूबिच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक विषय वस्तुमा छलफल हुने छ ।  भेटवार्तामा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

पोखरा:  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी सङ्गठनभित्र असमझदारी बढाउन हुँदैन भन्नुभएको छ । नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी सङ्गठनभित्र एकआपसमा स्वच्छ प्रतिष्पर्धा हुने भए पनि यही प्रतिष्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताउनुभयो ।  उहाँले भन्नुभयो, “पार्टी व्यक्तिगत महत्त्वाकाङ्क्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो । ” कांग्रेसका सस्थापक नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको जनाउँदै केन्द्रीय सदस्य देउवाले उहाँहरूका मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न् जरुरी छ भन्नुभयो  “उहाँहरूले धेरै ठुलो योगदान गर्नुभएको छ उहाँहरूले देखाउनुभएको मार्गदर्शनमा कांग्रेस पार्टी हिड्नु एकदमै जरुरी छ”, उहाँले भन्नुुभयो, “हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ ।” आसन्न पार्टीको १५औँ महाधिवेशनमा  आन्तरिक प्रतिष्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एक ढिक्का भएर  पार्टी झन बलियो र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।  नयाँ दलले सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रसंग उल्लेख गर्दै डा देउवाले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नु जरुरी भएको धारणा राख्नुयो । पछिल्ला समयमा ‘देशमा केही भएको छैन‘ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको जनाउँदै उहाँले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु हामी सबैको दायित्व भएको बताउनुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालिन राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य मान्यतालाई भुल्न नहुने बताउनुभयो ।  गुट गुटमा विभाजित नभै पार्टीलाई एकताबद्ध बनाएर लैजानु अपरिहार्य भएको उहाँको भनाइ छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस राष्ट्रका जस्तासुकै चुनौतीलाई समाधान गर्दै अघि बढ्न सक्ने पार्टी भएको बताउनुभयो ।