पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता आगामी पुष २६ देखि २८ गते सम्म सञ्चालन हुन भएको छ । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो संस्करणको गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता पुष २६देखि २८ गतेसम्म सञ्चालन हुन लागेको हो । गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् भने , सेमिफाइलनबाट बाहिरिने दुईटिमलाई नगद ५०÷५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उल्कृष्ट स्पाइकर,मिडल ब्लकर,डिफेन्डर, सेटर,सर्भर खेलाडीलाई नगद रु ७÷७ हजार र उत्कृष्ट प्रशिक्षकलाई ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैया रहेको छ । युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको र गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिककृष्ण अर्यालले बताए । गाउँपालिका सामाजिक विकास समिति संयोजक हरि ब.क्षेत्रीले खेल अवधिका लागि आयोजकले सहभागी खेलाडीहरुको विमा गर्ने उल्लेख गरे ।
पोखरा: पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् । अस्पतालमा उपचारत संगम मिश्र बुवा औषधी किन्न गएका समयमा बेपत्ता भएका थिए । तनहुँ स्थायी घर भएका संगम मिश्र बिरामी भएपछि लामाचौरबाट गएको मंसिर २५ गते उपचारका लागि मणिपाल अस्पतालमा आएका थिए । आफ्नो बुवा औषधी लिन गएको समयमा अस्पतालबाट बेपत्ता भएका संगम खोजतलाज गर्ने क्रममा सेती नदीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले जानकारी दिए । मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड फेला पारेको थियो । ‘परिवारले पोखरा–१६स्थित सेती नदीको ड्याम खोलेर खोजतलास गरिदिन आग्रह गरेपछि आज (दिउँसो ) ड्याम खोलेर खोजतलाज गर्ने क्रममा पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदीमा संगम मृत फेला परेको सूचना अधिकारी विकले बताए । सेती नदीमा मृत फेलाका संगमको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेको छ । उनको यो रायसँगै जिल्ला अदालतको आदेश बदर भएको हो । यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए । दुवै न्यायाधीशहरु बीचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको हो । उच्च अदालतको यो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिन पाउँछन् । खाणले पनि आफूलाई धरौटीमा छाड्ने आदेश गलत भएको भन्दै साधारण तारेखमा छाड्न माग गर्दै सर्वोच्चमा निवेदन दिन पाउँछन् । उच्च अदालत पाटनले गत १५ मंसिरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो । २० मध्ये बालकृष्ण खाँणको हकमा मात्रै दुई न्यायाधीशबीच राय बाझिएको थियो । नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् । गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा छन् ।
चौध महिना अगाडि २०७९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र ? सूर्यविनायक नगरपालिका–५ सृजनानगर बस्दैआएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबीच बुढेसकालको साहारा बन्ने सङ्कल्पसहित गतवर्ष विजयादशमीका दिन विवाह भएको थियो। बुढेसकालको साहारा बन्ने अपेक्षा गरेकी मायादेवीको शव पाँचदिनदेखि काठमाडौं मेडिकल कलेजको भक्तपुर दुबाकोटस्थित शवगृहमा राखिएको छ भने उनका पति दानकाजी विगत चारदिनदेखि जगातीस्थित प्रहरी बृत्तको हिरासतमा छन्। मृतक शाक्यका बाबु भक्तबहादुर र आमा यतिखेर छोरीको शवसमेत बुझ्न नपाउँदा पीडित भएका छन् भने पति शाक्यलाई यतिखेर पत्नी हत्याको अभियोग लागेको छ। गत आइतबार राति खाना खाएरसँंगै सुतेकी मायादेवी बिहान ओछ्यानमै मृत्यु फेला परेकी थिइन्। सँगै सुतेकी श्रीमतीको राति कतिबजे र कसरी मृत्यु भयो आफूलाई थाहा नभएको र बिहान उठ्दा मात्र मृत्यु भइरहेको अवस्थामा आफूले पाएको दानकाजीको जिकिर छ। सोमबार बिहान ५ बजे दानकाजीले आफूलाई घट्नाबारे जानकारी गराए पनि खाना खाएर सँंगै सुतेकी छोरीको मृत्यु स्वभाविक नभइ हत्या भएको भक्तबहादुर बताउँछन्। सँगै सुतेकी श्रीमतीको मृत्यु भएको थाहै नपाउने भन्ने हुदैन, यति मात्र होइन शरीरमा निलडाम देखिएको र मुखमा घाउ भएकाले पनि घटना भवितव्य नभइ हत्या नै भएको भक्तबहादुर बताउँछन्। मृतकका बहिनीज्वाइँ कृष्ण गोसाईंले शव परीक्षण रिपोर्टअनुसार बेलुकाको खाना नै नपचेको अवस्थामा उनको मृत्यु भएको देखाइएकाले राति १० देखि ११ बजेभित्रै हत्या भएको आशङ्का भएकोे बताउँछन्। ‘हामीले पोष्टमार्टम गर्ने चिकित्सकसँग पनि भेटेर कुरा गर्यौं, रिपोर्ट पनि हेर्यौं, चिकित्सकले नै स्वाभाविक मृत्यु नभएको र शङ्कास्पद रहेको भन्नुभएको छ, हामी न्याय चाहन्छौं प्रहरीले निष्पक्ष छानबिन गरेर हत्यारा सार्वजनिक नगरेसम्म शव उठाउदैनौं,’ उनले भने। िमृतकको दाहिने हातको कुममा, दुबै छातीमा, गलामा, खुट्टामा पिठ्युमा निलडाम रहेको, छाला लछारिएको, मुखभित्र घाउ रहेको, रगत जमेको पाइएको र शव परीक्षण गर्ने चिकित्सकले निसास्सिएर मृत्यु भएको हो, मृत्यु स्वभाविक होइन, शङ्कास्पद छ भनेको अवस्थामा शव बुझ्न नसकिने उनी बताउँछन्। भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठक घट्ना शङ्कास्पद रहेको बताए। ‘घटना शङ्कास्पद भएकाले मृतकको पतिलाई हामीले चारदिनदेखि नियन्त्रणमा लिएर म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने मृतकको माइतीपक्षले भने घट्नाको वास्तबिकता बाहिर ल्याएर हत्यामा संलग्नलाई कारबाही अगाडि नबढाएसम्म शव नबुझ्ने बताएका छन्।
ढोरपाटन: बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ । बजारबाट निस्कने फोहर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशक अघि बुर्तिबाङ बजार सानो थियो । फोहर पनि थोरै निस्कन्थ्यो । सबै फोहर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए । र त्यही जलाउने गरेका थिए । तर अहिले बजारबाट निस्कने फोहर व्यवस्थापनमा समस्या भएको छ । नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ । बजारको फोहर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ । खोलाले बगाएर फोहर पुनः बजारसम्म पुर्याउँछ । फोहरले तमानखोला प्रदूषित बनेको छ । तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ । देशकै नमूना सहर भनिए पनि फोहर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ । आर्थिक वर्ष २०६७÷६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेका छैनन् । खोलामा बग्ने फोहरका कारण जलचर जीवलाई असर पुगेको छ । फोहरकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरु बताउँछन् । हाल फोहर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको छ । बुर्तिबाङ बजारको फोहर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ । कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फालिँदै आइएको छ । खोला छेउमा फोहर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए । बजारबाटै गाडीले फोहर सडक भरी खसाल्दै ल्याउने र जथाभावीरुपमा फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ छ । वर्षौंदेखि बजारको फोहर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउँछन् । हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ छ । बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ । जनघनत्व बढ्दै गएको छ । तर बजारको फोहर व्यवस्थापन भने हुन सकेको छैन । सबै फोहर खोलाले बगाएर जताततै पुर्याउँछ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको बताए । आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ । जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहर व्यवस्थान हुने उपप्रमुख कायतको विश्वास छ
प्युठान: प्युठानको ऐरावती गाउँपालिका–२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका (३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार नाच्दै गाउँदै हिँडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो। एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो । प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।
भूकम्प प्रभावित जिल्ला जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० जनाभन्दा धेरै भूकम्पपीडितलाई झाडापखाला देखिएको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुईरतीन दिनयता पखालाले सताइरहेको छ । गाउँमा झाडापखाला देखिएपछि बालबालिका र वृद्धावृद्धा अलि धेरै जोखिममा छन् । उपचारका लागि सम्बन्धित निकायमा खबर गर्दा पनि अहिलेसम्म कोही नपुगेका र बिरामी त्रिपालमै रहेका वडासदस्य विकले बताउनुभयो । घुयलनेटाका साथै डौरीकाँडा, भुनलगायत गाउँमा पनि पखालाका बिरामी देखा परेका छन् । एक सय जनाभन्दा धेरै घरधुरी रहेका ती गाउँमा धेरैजसोलाई चिसोले सताएको छ। आफू दुई दिनदेखि पखालाले थला परेको र छ वर्षको छोरालाई पनि पखाला लागेको स्थानीय धर्मशीला विकले बताउनुभयो । नजिकमा स्वास्थ्य संस्था नहुँदा बिरामीको उपचारमा समस्या परेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार हिजो दिउँसो २ बजेपछि घुयलनेटा गाउँमा झाडापखाला तथा वान्ताले धेरैलाई बिरामी पारेको जानकारी आएको र अलि विकट ठाउँ हुनाले तत्काल जान नसकेको बताउनुभएको छ । आज औषधि र स्वास्थ्यकर्मीसहितको टोली प्रभावित क्षेत्रमा पुग्ने पनि डा. भारतीले बताउनुभयो ।
तुलसीपुरमा बालक दुई दिनदेखि सम्पर्कविहीन छन्। तुलसीपुर उपमहानगरपालिका– ५ विशालनगरका १३ वर्षीय युवराज वली दुई दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा उजुरी दिएका छन्। उनी त्रिदेव बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत थिए। हिजो बिहान साढे ५ बजे ट्युसन पढ्न हिँडेका युवराज अझै घर नफर्किएपछि परिवारले प्रहरीमा उजुरी दिएको उनकी आमा सिता वलीले बताइन्। ‘हिजो बिहानै टिउसन पढ्न भनेर दिदी भाइ संगै घर बाट निस्किएका थिए,’ सीताले भनिन् ‘ तर, दिदी मात्रै स्कुल गइछन् र ऊ स्कूल नै गएनछ ।’ छोरा सम्पर्कविहीन भएपछि बुवा मोहवीर वली विहीबार बिहानै खोजीका लागि भनेर काठमाडौंतर्फ लागेको सीताले बताइन्। वली परिवारले बुधबार नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा छोरा हराएको भन्दै खोजी गरिदिन आग्रहका साथ निवेदन दिएको छ । इप्रकाका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिउँसो अभिभावक आएर छोरा खोजी गरिदिन भन्दै निवेदन दिएको बताए।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम, ऐन, कानुन बनाउन आवश्यक रहेको बताउनुभएको छ । हस्तकला दिवसको अवसरमा आयोजित २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिताको बिहीबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सृजना गर्न आवश्यक रहेको औंल्याउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचिन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् सम्वर्द्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवम् गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने मलाई लागेको छ ।’’ राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू हाम्रा विभिन्न जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने भएकाले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक छ ।’’ प्रत्यक्ष–अप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको यो क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वरभर फैलाउन योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, ‘‘हाल करिब ८५ देशमा हस्तकला उद्योग व्यवसायबाट उत्पादित वस्तुहरूको निकासी भएको छ भने कतिपय देशहरूमा निकासी गर्न बाँकी छ । थोरै पूँजी, स–सानो प्रविधि तथा स्थानीय कच्चा पर्दाथ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषि पछि देशमा गाँउ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो । सहजै स्थानीयस्रतमा गर्न सक्ने व्यवसाय पनि यो हो । यति महत्त्वपूर्ण व्यवसाय भएर पनि युवा पुस्तामा हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरण हुन सकिरहेको छैन ।’’ उहाँले हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरणका लागि आवश्यक पर्ने कार्यक्रम, तालिमहरू सञ्चालनार्थ संघ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘मौलिक कला र संस्कृति झल्कने स्थानीय हस्तकलाका सामग्रीले हाम्रो पर्यटन व्यवसायमा पनि योगदान पुर्याएको छ । हस्तकला सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको हुनाले पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरूबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी छ ।’’ स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु उत्पादन गर्ने भएकाले यो व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्दछ । राष्ट्रपति पौडेलले विश्ववजार प्रतिस्पर्धी बन्दै गइरहेको बेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा क्रियाशील उत्पादन, बजारको माग, वस्तुको डिजाईन र विकास गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजीङ्ग, व्यापारमेला र प्रर्दशनीमा सहभागी, प्रचार, प्रवर्द्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो मेलाले उद्यमी, कलाकार, कालीगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र नयाँ नयाँ निर्यात योग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्न मद्दत पुर्याउने मैले विश्वास लिएको छु ।’’ सो क्रममा राष्ट्रपति पौडेलले प्रर्दशनीमा राखिएका विभिन्न स्टलहरूको अबलोकन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले उतकृष्ट हस्तकला निर्यात कर्तालाई सम्मान गर्नुभएको थियो ।

