काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)मा राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा धनगढी एफसीसँग बराबरी खेलेको पोखराले पहिलो स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको छ । यस खेल अघि नै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरिसकेको पोखराले शुक्रबार खेलमा १/१ को बराबरी सँगै पहिलो स्थान सुरक्षित गरेको हो । पोखराले भने ८ खेलमा ४ जित, ३ बराबरी र १ हार सहित १५ अंकमा पहिलो चरण टुङगायो । धनगढीको कुल ८ खेलमा ३ जित, ४ बराबरी र १ हार संगै १३ अंक बनायो । धनगढीले भने आफ्नो अन्तिम वरियता थाहा पाउन बाँकी खेलको परिणाम कुर्नु पर्ने भएको छ । झापा एफसीले आजको दोस्रो खेलमा एफसी चितवन विरुद्ध जित हासिल गरेमा हेड टू हेडका आधारमा धनगढीलाई उछिन्दै दोस्रो स्थान हासिल गर्ने छ । यस्तै भोलिको खेलमा ललितपुर सिटी एफसीले काठमाडौं विरुद्ध जित हासिल गरे पनि धनगढी भन्दा अघिल्लो स्थानमा रहँदै यस चरण अन्त्य गर्ने छ । पहिलो र दोस्रो स्थानको टिमले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा पराजित हुने टिमले तेस्रो र चौथो स्थानको टिमबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरि खेल्ने मौका पाउने छ । ललितपुर सिटी, झापा एफसी, काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड मध्येका २ टिम प्ले अफको दौडमा छन् ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको एक समारोहका विच उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । कृषि उत्पादनमा अनुदान दिने प्रदेश सरकारको योजनामा सहभागी हुन अनुरोध गर्दै युवाहरू रहर या बाध्यताले विदेश जानुपरेको र पहाडी क्षेत्रका जग्गा बाँझो बसेको भन्दै उत्पादनमा जोडिएर सरकारको कार्यक्रममा सहभागी हुन आग्रह गरे । उहाँले गाँजालाई वैधता दिन प्रदेश सरकारले तयारी गरिरहेको वताउँदै यसलाई लागूपदार्थ भन्दा पनि औषधीको रुपमा अपनाउनुपर्ने वैधता दिने विषयमा सहयोग गर्न प्रतिपक्ष दललाई आग्रह समेत गरेका थिए । गाजाको उत्पादन बढाउने र दुरुपयोग कसरी नियन्त्रण गर्ने भन्ने विषयमा विभिन्न छलफल समेत भएको बताए । गण्डकी प्रदेशमा घरेलु मदिरा धेरै प्रयोग र उत्पादन हुने गरेकोमा घरेलु मदिरा उत्पादनलाई पनि कानुनी मान्यता दिन प्रदेश सरकार लागिरहेको बताए । उनले विदेशबाट ठुला मदिरा आयात हुन्छ तर स्थानीय मदिरालाई मान्यता नदिँदा आर्थिक रूपमा समेत यसले प्रभाव पार्ने बताए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौडेलको नामनै मेटाउने गरि महानगरपालिका बनाए पनि यहाँका जनतामा भने त्यो पाच्य नभएको बताउदै यहाँ देखिएको विविधाताले भरिएका झाँकी ¥यालीले पनि एकताको सन्देश दिएकाले लेखनाथलाई नमुना योग्य शहर बनाउन सामुहिक भावनाले अगाडी बढ्नु पर्ने वताएका थिए । यस्तै गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा उर्जा तथा सिंचाई मन्त्री सरस्वती अर्यालले महोत्सवमा महिला आमा दिदिबहिनीहरुको सहभागिता उत्साहजनक देखीएको वताउँदै महिलाहरुको शसक्तिकरणका लागी पनि सबैल सोच्नुपर्ने वताएकी थिईन । संघिय सांसद मन बहादुर गुरुङले लेखनाथलाई कृषि र पर्यटनको माध्यमबाट कसरी बिकास गर्न सकिन्छ भन्ने तर्फ सोच्नु पर्ने आवस्यकता औल्याएका थिए भने पुर्व मन्त्री यज्ञ बहादुर थापाले उत्पादन र उद्यमशितालाई अग्रभागमा राखेर अगाडी वढ्नका लागि सवैलाई अनुरोध गरेका थिए । उक्त अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकुष्ण बैद्यले सरकारले राष्ट्रिय उत्पादनलाई ध्यान नदिने र आयातित वस्तुमा मात्र निर्भर हुदाँ देशको अर्थतन्त्र कमजोर हुदै गएको संकेत गरेका थिए भने महासंघ कै वस्तुगत उपाध्यक्ष हेमराज ढकालले युवा पुस्तालाई उद्योग र ब्यापारका बारेमा पढाउन नसक्दा विदेशिने क्रम बढेकाले यसलाई कसरी रोक्न सकिन्छ भन्ने तर्फ तिन तहको सहकारका विच सहकार्य आवस्यक रहेको धारणा राखेका थिए । गण्डकी प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष अमृत भट्टचनले सरकारी तहबाट ब्यवसायीका समस्या नवुझदाँ अव ब्यवसायीहरु विदेशिने पर्ने अवस्था सृजना भएको तर्फ संकेत गरेका थिए भने पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जुदेवि गुरुङले युवाहरु कसरी स्वदेशमा नै रोजगार सृजना गर्न सकिन्छ भन्ने तर्फ सचेत हुदै उद्यमशिलताका बारेमा युवा र महिला लक्षीत कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी गराएकी थिईन । महोत्सवमा स्थानिय आमा÷महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं भाषा भाषीहरुको ४ सय भन्दा वढि संख्यामा झाँकी र्याली निकालीएको थियो भने मातृशक्तिको सम्मानमा प्रस्तुत गरिने रत्यौली प्रतिोगिताको लागी ३५ समुहमध्येबाट छनोट हुन सफल २० समुहको नाम घोषण गरिएको थियो । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित अन्तर्गत कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।
पोखरा: पोखरामा सुनको सिक्री चोरी गरेको आरोपमा सुमन परियारलाई प्रहरीले प्रकाउ गरेको छ । सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले सुमनलाई बुधबार सिद्धार्थ चोकबाट प्रकाउ गरेको हो । पोखरा महानगरपालिका–२७ बस्ने हेमन्त पुनले घाटीमा लगाएको सुनको सिक्री सुमनले महेन्द्रपुलबाट चोरी गरेर फरार भएका थिए । सुनको सिक्री चोरी भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र महेन्द्रपुल प्रहरी बिटबाट खटिएको प्रहरीको टोलीले सुमनलाई पोखरा ४ सिद्धार्थ चोकबाट प्रकाउ गरेको हो । प्रकाउ परेका सुमनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । गण्डकीले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहोराले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी रचना चौधरीले २ विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो । गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीले अर्धशतक बनाए । अञ्जली ४८ बलमा ५१ र ज्योत्स्निका ४० बलमा ५० रन बनाएर आउट भइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु र अञ्जु गुरुङले समान २ विकेट लिए । यो जितसँगै गण्डकी २ खेलमा २ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । गण्डकी पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । कर्णाली लगातार दोस्रो हारसहित तालिकाको पुछारमा छ ।
ढोरपाटन: बागलुङको काठेखोला गाउँपालिकामा सागसब्जी तथा दुध उत्पादन गर्दै आएका किसानको सङ्ख्या धेरै छ । विशेष गरी वडा नं २, ५ र ६ का किसानले बाह्रै महिना दुध उत्पादन गर्छन् । ब्राह्मण समुदायले घरबाटै दुध बिक्री गर्छन् तर दलित समुदायले सहकारीमार्फत पनि दुध बिक्री गर्न पाएका छैन । गाउँमा दुध सङ्कलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दुध नउठाइदिने गुनासो बढिरहेको छ । सरोकारवाला निकायले नै चासो नदिँदा दुध बिक्री गर्न नसकिएको दलित अधिकारकर्मी बताउँछन् । काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दुध बिक्रीमा आनाकानी गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ । गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले दलित समुदायका किसानले उत्पादन गरेको दुध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानुनअनुसार कारबाही गर्ने राससालाई बताउनुभयो । काठेखोला गाउँपालिकामा दुध बिक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको भन्दै प्रवक्ता विकले गाउँपालिकाले पनि उनीहरूको सहजगताका लागि गाउँपालिका–२ अक्षतेमा दुध सङ्कलन केन्द्र स्थापना गर्ने बताउनुभयो । काठेखोलाको दुध बागलुङ बजारसँगै पोखरामा पनि बिक्री हुने गरेको छ । “सङ्घसंस्था हुन् वा व्यक्ति कसैले पनि जातीय विभेद गरेर असामाजिक गतिविधि गर्न पाइँदैन, पछिल्लो समय छुवाछूत र विभेदका कारण दलित समुदायले उत्पादन गरेको दुध बिक्री नभएको गुनासो बढेको छ”, प्रवक्ता विकले भन्नुभयो । “गाउँपालिकाले यसलाई गम्भीररूपमा लिएको छ । अब जातीय विभेद भयो भने कानुनी दायरामा ल्याउन पालिका नै अग्रसर हुने कार्यपालिकाले निर्णय गरेको छ । हरेक नागरिकको पेसा व्यवसाय गरेर बाँच्न पाउन अधिकार हुन्छ । किसानको सहजगताका लागि गाउँपालिकाले पनि अक्षते बजारमा दुध सङ्कलन केन्द्र स्थापना गर्नेछ ।” काठेखोला गाउँपालिका(१ पालकाकी अस्मिता विकले दुध उत्पादन भए पनि बिक्री गर्न निकै समस्या भएको बताउनुभयो । हिउँदमा कम भए पनि वर्षा याममा बढी दुध उत्पादन हुने तथा त्यो खेरजाने दुखेसो गर्नुभयो । छरछिमेकीको घरको दुध बिक्री भए पनि दलित परिवारको नहुने उहाँले गुनासो पोख्नुभयो । आफूहरू अन्यायमा पर्दा पनि सरोकारवाला निकाय मौन रहेको विक बताउनुहुन्छ । सरकारले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको हो । त्यसयता पनि हाम्रो समाजमा छुवाछूत र जातीय विभेद कायमै छ । काठेखोला गाउँपालिका(२ भीमापोखराका चिन्तामणि विकले लामो समयदेखि दुध बिक्री नभएकामा सङ्घर्ष गर्दै आएको बताउनुभयो । गाउँमा दुध सङ्कलन र बजारसम्म पुर्याउनका लागि सहकारी स्थापना भएपनि आफूहरूलाई शेयर सदस्यसमेत बन्न नदिएको बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिका–६ का वडासदस्य दिपेन्द्र पहारीसहित ४ जना ठगी सम्बन्धी मुद्धामा ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । लेकसाइड फुट्ट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले वडा सदस्य पहारीसहित ४ जनालाई ठगी मुद्धामा प्रकाउ गरेको थियो । प्रहरीले ठगी सम्बन्धी मुद्धामा वडासदस्य पहारीसहित, लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार अप्पे भन्ने अभिषेक बराललाई प्रकाउ गरेको थियो । ठगी मुद्धामा प्रकाउ परेका ४ जनालाई ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा अनुसन्धान गरी जिल्ला अदालत कास्कीमा मुद्धा पेश हुँदा पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार उनीहरुले लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत धम्काई प्रति फोटोग्राफर साढे १३ हजार असुल गरि ठगी गर्दै आएका थिए । उनीहरु विरुद्ध १५ जना व्यक्तिहरुले जाहेरी दर्ता गरेका थिए ।
पोखरा: पोखरामा धाराको टुटी चोरी गरेको आरोपमा प्रहरीले सुरज थापा मगरलाई प्रकाउ गरेको छ । धाराको टुटी चोरी भएको खवरपछि अनुसन्धानको क्रममा शंस्कापद अवस्थामा भेटिएका सुरज थापा मगरलाई चोरी भएको धाराको टुटी सहित हिजो प्रकाउ गरेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । पोखरा महानगरपालिका–२५ हेम्जास्थित नेवारेखोला तथा झाँक्री खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानीय उपभोक्ताहरुलाई वितरण गर्न लागिएको खानेपानीको धारा चोरी भएको खवरपछि शंस्कापद अवस्थामा भेटिएको सुरजले भिरेको झोलाबाट २८ थान धाराको टुटी, रेगुलेटर ३ थान र टिकाको थाली ३ थान फेला पारेको छ । नेवारेखोला तथा झाँक्री खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानीय उपभोक्ताहरुलाई वितरण गर्न लागिएको खानेपानीको धाराको ६० थान धाराको टुटी र रेगुलेटरको भल्भ १८ थान चोरी भएपछि समितिले प्रहरीलाई खवर गरेको थियो । धाराको टुटी चोरी गरेको आरोपमा प्रकाउ परेका सुरजलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा म्याद थप गरेको अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेशको तीन सरकारी निवासको लाइन काटेको छ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनका सूचना अधिकारी प्रदिप कुमार भुवाजीले गण्डकी प्रदेश सरकारको तीन सरकारी निवासको लाइन काटेको जानकारी दिए । उनले गण्डकी प्रदेश प्रमुख निवास, आन्तरिक तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री निवासको लाइन काटेको जानकारी दिए । ‘विद्युत महशुल नबुझाएपछि आज हामीले गण्डकी प्रदेशका तीन सरकारी निवासको लाइन काटेका हौं’, भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘ तीन मन्त्रालयको करिव २ लाख ५६ हजार बक्यौता उठ्न बाँकी छ, महसुल बुझाएपछि मात्र कार्यालयको लाइन जडान गछौं ।’ उनका अनुसार प्रदेश प्रमुख सरकारी निवासको ८६ हजार १ सय ८३, आन्तरिक मामिला तथा कानून मन्त्रालय मन्त्री निवासको ७७ हजार ९ सय ६३ र भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्री निवासको ९१ हजार ९ सय ५७ रुपैयाँ विद्युत महशुल तिर्न बाँकी छ ।

