सुनिल उलक पोखरा, पुस १०: भूपि शेरचनको जन्म बि.सं. १९९२ पौष १० गते मुस्ताङ जिल्लाको टुकुचेमा भएको थियो । जन्मको नाम भुपेन्द्रमान शेरचन भए पनि शुरूमा भुपेन्द्रमान शेरचन्द ‘सर्वहारा’ नामबाट कविता लेखेका थिए । ‘घुम्ने मेच माथि अन्धो मान्छे’को प्रकाशन गर्दा भूपि शेरचन लेख्न थालेका हुन् र यहि नामले सर्वाधिक चर्चित पनि भए । राणाकालमा बि.सं. १९०७ तिर जंगबहादुरले सरकारी कर्मचारीलाई थाकखोलामा थकालीहरूलाई भरियाको रूपमा भर्ना गर्न पठाए तर कोबाङका बलबिर तथा धन्साराम थकालीले त्यस बिरूद्ध उजुरी गरे । त्यसपछि थकालीलाई सैनिकको रूपमा मात्र राख्ने त्यसबेलाको राणा सरकारले सम्झौता गरे । बलबीर थकालीले भोटसंगको युद्धमा दोभाषेको रूपमा काम पाए । यो जंगबहादुरको समय थियो । युद्धमा उनको योगदानलाई कदर गर्दै बौद्ध धार्मिक ग्रन्थ काङ्ग्यूर र टेङ्ग्यूरको पाण्डुलिपि उपहार दिए । १९१७ मा भोटको नुन तथा अन्य बस्तुको बिक्रीको कर उठाउने ठेकेदारी पाएका चम्पासिंह खड्का क्षेत्रीको सहयोगीकारूपमा बलबीरले काम पाए । उनलाई बिभिन्न आरोपमा समातेर जेलमा राख्दा भागेर काठमाडौ गई जंगबहादुरलाई बिन्तिपत्र चढाए पछि उनका दुश्मनहरू सबै समातिए साथै ब्यापारको सीमा पनि कास्कीसम्म भयो । यहि समयमा २ सय १६ थकाली परिवारहरू थाकखोलाबाट बाहिर कास्की तथा लमजुङमा बसाइ सरे । बि.सं. १९२५ मा दानामा भोटको ब्यापारको भन्सार रकम उठाउने ठेकेदारी यिनै बलबरि थकालीले पाएपछि परिवारको जीवनस्तर निकै उकासिन थाल्यो । यिनै बलबीर थकाली नै भूपी शेरचनका बुढा जिजुबाजे हुन् । उनका जिजुबाजे कविराम कोवाङबाट टुकुचेमा बसाइ सरेका थिए । थाकखोला, कोवाङ तथा टुकुचेमा सर्वाधिक धनी तथा राणाबाट सुब्बाको पद पाएका परिवार भएकोले भूपीको शान पनि कुनै राणाको भन्दा कम थिएन । उनकै जेठो दाजु अनंगमान शेरचनले पनि निकै समय भैरहवा भन्सारको ठेकेदारी पाएका थिए । यसरी पारिवारिक रूपले सम्पन्न भूपीले भने बाल्यकाल रमाइलो गरी बिताउन पाएनन् । भूपि भन्दा माथि चार छोराको जन्म भइसकेकोले उनका बाबु हितमान शेरचन छोरीको चाहनामा थिए । तर छोराको जन्म त्यो पनि मूल (औसी) मा परेको भनि बाबुको उपेक्षा रह्यो । एउटै माया गर्ने आमाको पनि पाँच वर्षको हँुदा नै मृत्युले अझ मायाको अभावमा हुर्के । १०–१२ वर्षको उमेरबाटै बनारस पढ्न गएका उनको त्यहिबाट नै चुरोट तथा रक्सीको लत लाग्यो । यहि नै माक्र्सवादी चिन्तनको प्रभावमा परे जसको असर उनका कविताहरूमा स्पष्ट देख्न सकिन्छ । २०१२ मा सानै उमेरमा पारिवारिक दबाबमा बिबाह बन्धनमा बाँधिएका उनी पछि स्वेच्छाले राणा परिवारसंग बिबाह बन्धनमा गाँसिए । चालीस हजारमा बाबु हितमान शेरचनले किन्नु भएको राणा वडाहाकिम धनशम्शेरको पोखराको सेतो दरबार नै उनको निवास भए पनि कान्छी बिबाह गरे पछि अधिकांश समय काठमाडौ नै बसे । उनले आफुलाई यसरी वर्णित गर्थे ‘औंसीमा जन्मी मूलमा पर्नु, किशोरावस्थामा कम्युनिस्ट भएर भूलमा पर्नु र अहिले कर्मनिस्ट हुनु ।’ यसरी बिभिन्न आरोह–अवरोहपछि २०४६ जेठ १ गते सदाको लागि संसारबाट बिदा लिए ।
पोखरा: पोखरामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– पस्र्याङ स्थित कारले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बागलुङ बसपार्कबाट जिरो किमी तर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पस्र्याङमा ठक्कर दिँदा बागलुङका ढालेन्द्र छन्त्याल र अर्का पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट बागलुङको ढोरपाटन नगरपालिका–६ घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का परिचय नखुलेको ३५ वर्षीय जस्तो देखिने पुरुष गम्भिर घाइते भएका थिए । कारको ठक्करबाट गम्भिर घाइते भएका दुवैजनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पैदल यात्रुलाई ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक फरार रहेको कास्की प्रहरीले जनाएको छ । पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दोस्रो संस्करणको एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा पुगेको छ । आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराउँदै धनगढी उपाधि नजिक पुगेको हो । धनगढी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाडौं रेजर्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पोखरा र धनगढीले १–१ गोल गर्दै खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । खेलको ५ औँ मिनेटमा पोखराका आयुष घलानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ५४ औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएको थियो । खेलको १०२ औँ मिनेटमा स्टेफेन कोजोले गोल गर्दै पोखरालाई फेरि अग्रता दिलाए । तर अतिरिक्त समयको अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गरेपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो । यो खेल हारे पनि पोखराले फाइनल पुग्न अर्को मौका पाउनेछ । अब पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलको विजेतासँग खेल्नेछ । काठमाडौं र ललितपुरबीचको खेल भोलि मङ्गलवार हुनेछ । यस्तै दोस्रो क्वालिफायर आउँदो बिहीवार हुनेछ । एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।
पोखरा: पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने विषय लामो समयदेखि बहसमा छ । गण्डकी प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पर्यटकीय राजधानी घोषणाका लागि गत महिना अध्ययन समिति गठन गरेपछि यो विषय थप चर्चामा आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएपछि प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणाका लागि थप पहल लिएको हो । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा गठित ११ सदस्यीय उक्त अध्ययन समितिले आफ्नो अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिन तयारीमा जुटेको छ । पर्यटन विज्ञसहितको सो अध्ययन समितिलाई पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता वृद्धि, घोषणाको प्रक्रिया पहिचान र संघ सरकारसँगको समन्वय गर्ने कार्यादेश तोकिएको थियो । “समितिको पहिलो बैठकबाट पर्यटकीय राजधानी घोषणाको अवधारणा र अध्ययन प्रतिवेदनको मस्यौदा तयार गर्र्यौ”, अध्ययन समितिका अध्यक्ष डा।देवकोटाले भन्नुभयो, “समितिको पछिल्लो बैठकले प्रतिवेदनमा समेटिने विषयवस्तुको टुङ्गो लगाएको छ, सरोकारवालाहरुसँगको थप छलफलपछि अध्ययन प्रतिवदेनलाई अन्तिम रुप दिन्छौँ ।” समितिले तयार पारेको अध्ययन प्रतिवेदनलाई यही पुस २६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेस गरिने उहाँले बताउनुभयो । “पर्यटनमन्त्री, सचिवलगायत मन्त्रालयका पदाधिकारी पनि यस कार्यमा तल्लीन भएर लाग्नुभएको छ, पर्यटन क्षेत्रका विज्ञ र सरोकारवालाहरुको सुझाव प्रतिवेदनमा समेटिन्छ”, अध्ययन समितिका अध्यक्ष डा।देवकोटाले भन्नुभयो । नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचार(प्रसार, पर्यटकीय पूर्वाधारको विकास तथा विविधीकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको नीतिलाई कार्यान्वयन गर्न समितिले अध्ययन थालेको उहाँको भनाइ छ । पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने सम्बन्धमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यसअघि तयार पारेको अवधारणापत्रलाई आधार मानेर समितिले थप अध्ययनको काम गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले समितिको अध्ययन प्रतिवेदन आएपछि सोअनुसार पर्यटकीय राजधानीको घोषणाका लागि आवश्यक पूर्वाधार तयारीका काममा प्रदेश सरकार केन्द्रित हुने बताउनुभयो । “पर्यटकीय राजधानी घोषणाका लागि चाहिने पूर्वाधार र मापदण्ड पूरा गरेपछि संघ सरकारकोसँगको समन्वयमा घोषणाको प्रक्रिया अगाडि बढ्छ,” उहाँले भन्नुभयो । मन्त्री थापाले पोखरालाई पर्यटकीय राजधानी बनाउन गण्डकी प्रदेश आफैँ पनि सक्षम र तम्तयार रहनुपर्ने धारणा राख्नुभयो । मन्त्री थापाले पोखरा विश्वमै ख्याति कमाएको पर्यटकीय गन्तव्य भएकाले गुणस्तरीय सेवा र पूर्वाधारमा ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेशको समृद्धिको पहिलो आधारका रुपमा पर्यटन क्षेत्रलाई लिइएकाले पर्यटकीय राजधानी घोषणाले पर्यटनमा स्रोतसाधनको पहुँच र लगानी विस्तार हुने उहाँको भनाइ छ । पोखराका पर्यटन सम्बद्ध संघसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वर्षौ भइसकेको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा पूर्वाधार सम्पन्न पर्यटन गन्तव्य रहेकाले पर्यटकीय राजधानी घोषणाको माग गरिएको बताउनुभयो । “पोखराका पर्यटन सम्बद्ध संघसंस्था र व्यवसायीले धेरै पहिलेदेखि नै उठाउँदै आएको माग हो यो, तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा यसले दूरगामी महत्व राख्छ ।” पर्यटकीय गतिविधि, सहज पहुुँच, पर्यटकीय सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधारभूत पूर्वसर्त मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ बताउ छन् । हिमाल र ताल तलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जीजम्प, केबलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सवलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन् । उत्तरपट्टि लहरै देखिने हिमशृङ्खला पोखराका मुख्य आकर्षण हुन् । तालतलैयाको सहरको उपमा पनि पोखरालाई दिइन्छ । फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन् । प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ । प्राचीन कला, सभ्यता र सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटक लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ । पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास (होमस्टे), सुविधायुक्त रेष्टुराँ, कफी सप, बार, लाउन्ज बार, सभा(सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन् । हवाई र सडक दुवै मार्गबाट सहजरुपमा पोखरा आवतजावत गर्न सकिने सुविधा छ । पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ । पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोशाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि पर्याप्त रहेका छन् । बैंक, एटिएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउन्टर उपलब्ध छन् । संकटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्टर सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन् । पर्यटकको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक संगठन क्रियाशील छन् । पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन् । प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ । पर्यटनका यिनै प्रचुरताका कारण पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने आवाज उठ्दै आएको हो । नेपाल आउने विदेशी हुन् या स्वदेशी पर्यटक कम्तीमा एकपटक पोखरा जान नै खोज्छन् । स्वदेशी अर्थात् आन्तरिक पर्यटक त एक पटक मात्र पोखरा पुगेर अघाउँदैनन् । कलेज या विद्यालयका विद्यार्थीको शैक्षिक भ्रमण होस् या अन्य विभिन्न संघसंस्था या व्यक्तिको घुमघामको कार्यक्रम सबैभन्दा पहिलो रोजाइ पोखरा नै हुने गर्दछ । पोखराको पर्यटनसम्बन्धी एक अनुसन्धानका अनुसार नेपाल आएका कम्तीमा पनि ४५ प्रतिशत विदेशी पर्यटक पोखरा आउने गर्दछन् । नेपालका ट्रेकिङ एजेन्टस् या पर्यटन व्यवसायीले आफ्ना पर्यटकलाई पोखरा लैजाने प्याकेज अनिवार्य बनाउन चाहेका हुन्छन् । नेपालमा आउने पर्यटकको बसाइ लम्ब्याउन पनि पोखरालाई भ्रमण गन्तव्यमा पार्नु जरुरी छ । त्यसैले पोखरालाई पर्यटनको राजधानी बनाउन यहाँका सरोकारवाला व्यवसायी, स्थानीय तह तथ प्रदेश सरकार नै लागेको हो । यस विषयमा अध्ययन जारी रहेकाले छिट्टै नै यस कार्यले पूर्णता पाउनेमा यहाँका पर्यटन व्यवसायीहरु विश्वस्त रहेका छन् ।
सिन्धुली: सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको छ । मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो । आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो । त्यसैगरी सो मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अब ४ खेल बाँकी रहेका छन् । त्यसमध्येको पहिलो क्वालिफायरमा आज (सोमबार) पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगको आज हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । ८ खेलको लिग चरणमा पोखरा शीर्ष स्थान र धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेका थिए । ललितपुरले काठमाडौं विरुद्ध लिगको अन्तिम खेलमा जित हासिल गर्न नसकेपछि धनगढीको दोस्रो स्थान पक्का भएको हो । पोखराले भने अन्तिम खेल अगावै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरिसकेको थियो । धनगढी लगातार दोस्रो र पोखरा पहिलो पटक क्वालिफायरमा पुगेको हो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।
संघीयतापछि मुलुक शक्ति पृथक्कीकरणको बाटोमा गएपनि गाउँपालिकाले भने संघ र प्रदेश सरकारबाट आवश्यक बजेट पाउन नसकेको ठहर गरेको छ । मुख्यत: स्थानीयस्तरमा भएका श्रोत र साधनबाट उठाइएका करमा माथिल्ला सरकारले आफुखुशी प्रयोग गरेकोमा रोष प्रकट गर्दै गापा (गाउँपालिका) प्रमुखहरुले हालै ‘११ बुँदे माछापुच्छ्रे घोषणा’ जारी गर्दै आफ्नो आवाज सार्वजनिक गरेका छन् । देशैभरका गापा जनप्रतिनिधिको छाता संगठन ‘गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल’ केन्द्रीय कार्यसमितिको पाँचौ बैठकले विविध निर्णयसहित घोषणापत्र जारी गरेको हो । कास्कीको माछापुच्छ्रे गापास्थित घलेलमा भएको बैठकले मुलतः अन्नपूर्ण संरक्षण क्षेत्रलगायत देशैभरका संरक्षित क्षेत्रबाट उठाइएका राजश्व, रोयल्टी स्थानीय सरकारमा पनि बाँडफाँड हुनुपर्ने माग गरेका छन् । उनीहरुले राजश्वमा स्थानीय सरकारको अधिकार सुनिश्चित गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको ध्यानाकर्षण समेत गरेका छन् । त्यस्तै, घोषणापत्रमा महासंघले पटकपटक उठाउँदै आएको दूरसञ्चार फ्रिक्वेन्सीको राजश्व स्थानीय तहलाई पनि तत्काल उपलब्ध गराउनुपर्ने बताएको छ । स्मरणीय छ, उक्त राजश्व बाँडफाँड गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयमा सिफारिश गरिसकेको छ । सिफारिश कार्यान्वयन नभएपछि महासंघले अर्थ मन्त्रालयलाई पुनः ध्यानाकर्षण गराएको जनाएको छ । महासंघले घोषणामा उल्लेख गरे अनुसार राष्ट्रिय भूमि आयोगबाट पनि रजिष्ट्रेशन शूल्कमार्फत उठाइएको रकममा पनि दाबी गरेको छ । आयोगले अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गर्दा उठाउने राजश्वलाई रजिष्ट्रेशन शूल्ककारुपमा परिभाषित गरी पालिकालाई पनि दिन भूमि व्यवस्था तथा सहकारी र अर्थ मन्त्रालयलाई जानकारी गराएको छ । देशभर निर्माण गर्ने भनिएका २ सय ५९ अस्पताल, प्रशासनिक भवन, सडक, पुललगायत बहूवर्षीय ठेक्का लागेका तर सामग्री र बजेट अभावमा सम्पन्न हुन नसकेका योजनालाई यथाशीघ्र सम्पन गर्न महासंघले सचेत गराएको छ । यसैगरी, गाउँपालिकाको लेटरहेड, बोर्ड आदिमा गाउँपालिकाको लेटरहेड, बोर्ड आदिमा ‘स्थानीय सरकार’ लेख्न र छाप प्रयोग गर्न स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा उल्लेख भएअनुसार हुनुपर्ने पनि माग रहेको छ । महासंघका अनुसार हाल देशभरका करिब १ सय बढी पालिका प्रमुख प्रशासकीय अधिकृतवीहिन छन् । जसकारण दैनिक कार्यसञ्चालनमा समेत कठिनाई भएको छ । यस समस्या हल गर्न तत्काल अधिकृतको व्यवस्था गर्न र सरुवा प्रणाली व्यवस्थित गर्न महासंघले माग गरेको छ । कतिपय जिल्लामा एउटै अधिकृतले तीनवटासम्म पालिकाको जिम्मेवारी लिनुपर्ने समस्या यथावत छ । यही कारण अधिकृतहरु सकेसम्म छिटो सरुवा मिलाउने ध्याउन्नमा लाग्ने गरेको पाइएको छ । यसर्थ, सरुवा प्रणालीमा समेत महासंघले सुधार चाहेको अध्यक्ष लक्ष्मीदेवी पाण्डे बताउँछिन् । महासंघको बैठकमा विद्यालय शिक्षासम्बन्धी विधेयक, सार्वजनिक खरिद ऐन तथा नियमावली, संघीय निजामति विधेयकउपर छलफल भएको छ । यसअघि निर्माण भइसकेका ऐन कार्यान्वयन गर्न र प्रक्रियामा रहेका ऐन निर्माण तत्काल पुरा गर्न निरन्तर दबाब दिइने महासंघका महासचिव खिमबहादुर थापाले जनाए । बित्तीय हस्तान्तरणसम्बन्धी विद्यमान कानूनलाई जनसंख्यामात्र हैन भूगोलको आधारमा पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै महासचिव थापा भन्छन् ‘पाँच–पाँच वर्षमा बित्तीय हस्तान्तरण सूत्रको समीक्षा गरी कामका आधारमा पनि स्रोतको बाँडफाँड हुनुपर्छ ।’

