पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९ औं संस्करणको लेखनाथ महोत्सवको आठौं दिनसम्म २ लाख ३० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ८ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र चौंथो दिन ६० लाख र पाँचौ दिन सोमबार १ करोड भन्दा माथी छैंटौं ८० लाख, सातौं दिन ४० लाख र आठौं दिन ६० लाख गरी हालसम्म झण्डै ८ करोड बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए । बिहिबार लोकदोहोरी कलाकारहरु, प्रिति आले, तेजस रेग्मी, बालचन्द्र बराल, सरला पाण्डे, प्रेमराज अधिकारी, बालकृष्ण वाग्ले, ज्योती लोहनी लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा कमल खत्री, एञ्जिला रेग्मी र सृजना खत्री ‘हाउडे माया’ लगायतले स्टेज तताएका थिए । महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु रामजी खाँण, आशा बिसी, तारा थापा, मनु राना, लोकनाथ सापकोटा, वसन्त लम्साल र नवराज अधिकारी लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ दिनेश काफ्लेको प्रस्तुती रहनेछ । यस्तै बेलुका लाईभ कन्सर्टमा आश्षि राना ‘लाउरे’ र एलिना चौहान व्यण्डले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ । साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।
पोखरा: पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । पोखराको लेकसाइडमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराद्वारा आयोजित महोत्सवको उद्घाटनपछि बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरेली पर्यटनको प्रमुख आधारका रूपमा रहेको प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण बताए । “जहाँसम्म प्याराग्लाइडिङको जुन समस्या छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, प्रमुख आचार्यले भने, ‘पछिल्लो समय स्थानीय सरकार, नागरिक उड्यन प्राधिकरण वा प्रशासनको कारणले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुगेको होइन, यसमा व्यवसायीहरू बिचको टकराबले विभिन्न अड्चनहरू देखिएका छन् ।” व्यवसायीहरू बिचको इगो (प्रतिसोध)का कारण प्याराग्लाइडिङलाई प्यारालाइसिस (क्षयपूर्ण) गराउन नहुने उनले चेतावनी दिए । “पर्यटन क्षेत्रको एउटा महत्त्वपूर्ण प्रडक्टका रूपमा रहको प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन हुँदैन, यसमा सम्बन्धित क्षेत्रमा रहेका साथीहरूले आफू भित्र रहेको इगोलाई हटाइदिनुहोला, र एउटा उपयुक्त सोलुसन (समाधान) लिएर आउनुहोला, प्रमुख आचार्यले भने, होइन भने सिडिओ साव यही हुनुहुन्छ, म यही छु, हामीले आदेश गर्नुपर्ने हुन्छ, त्यति बेला त्यो अलिकता नमिठो हुनसक्छ ।” उनले सडक महोत्सव पोखराको पहिचान बनेको बताए । “लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुने महोत्सव पोखराको पहिचान बनेको छ, सबै सिजनका लागि पोखरा उपयुक्त छ भन्ने सन्देश दिन यो महोत्सव सफल भएको छ, प्रमुख आचार्यले भने, अन्तर्राष्ट्रिय सहरको रूपमा स्थापित पोखराको प्रवद्र्धनका खातिर सडक महोत्सव एक महत्वपूर्ण अवसर बन्ने गरेको छ ।” पछिल्लो समय पोखरामा पर्यटन गतिविधिहरूमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरदान साबित भएको बताए । विगतका वर्षहरूको तुलनामा हवाई सेवा मार्फत पोखरा र यस आसपासको क्षेत्रमा आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको उनले बताए । विमानस्थलले क्षमताभन्दा धेरै यात्रुहरूलाई सेवा दिइरहेको बताउँदै अब छिट्टै पोखराबाट उपयुक्त गन्तव्यहरूमा सिधा उडान हुने विश्वास समेत व्यक्त गरे । रजत वर्षको उपलक्ष्यमा पोखरालाई चिनाउन महल्वपूर्ण योगदान गर्ने दिग्गज व्यक्तित्वलाई सम्मान गरिएको छ, भने संस्थाद्धारा प्रकाशित रजत स्मारिका समेत विमोचन गरिएको छ । महोत्सवको पुर्वसन्ध्यामा लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्म सांस्कृतिक झाँकीसहितको र्याली गरिएको छ । महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात् पुस १६ गतेसम्म चल्नेछ । महोत्सव पाँच लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
पोखरा: १२ औं संस्करणको पोखरा महोत्सवलाई भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले प्रायोजकमा रहेर साथ दिने भएको छ । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजक रहेको १२ औं संस्करणको पोखरा महोत्सवलाई पोखराको अमरसिंह चोकमा रहेको भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले प्रायोजकमा रही महोत्समा सहकार्य गर्न लागेको हो । बिहीबार महोत्सव आयोजक यूनाइटेड क्लबका बरिष्ठ उपाध्यक्ष तथा बाह्रौं पोखरा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रवन्ध निर्देशक पूर्ण कुमार श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै कन्सल्टेन्सीका प्रवन्ध निर्देशक पूर्ण कुमार श्रेष्ठले जापानिज, कोरियन, जर्मनी र चाइनिज भाषा अध्ययन गर्न चाहनेहरुका लागि महोत्सव अवधिभर विशेष छुट दिने वताए । श्रेष्ठका अनुसार महोत्सव अवधि पुष २६ देखी माघको ८ गते सम्म कन्सल्टेन्सीमा भर्ना हुन आउने विद्यार्थीहरुलाई ३० प्रतिशत छुट दिइने छ । कन्सल्टेन्सीले हाल जापानिज, एसएसडब्ल्यू जापानिज, कोरियन, जर्मनी, आइइएलटीएस र पिटिई क्लास, चाइनिज लगायतका भाषा संगै विद्यालय स्तरका ट्युसन र कम्प्युटर कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । बाह्रौ पोखरा महोत्सवका सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले पोखरा महोत्सव प्रायोजक र सहयोगीहरुकै कारण सफल महोत्सव बन्न पुगेकाले सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सम्पूर्णको सहयोग आवश्यक रहेको बताए । बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुडेस प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवको अफिसियल मिडियामा एबिसी टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज र आदर्श समाज राष्ट्रिय दैनिक रहेका छन ।
पोखरा: प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा अन्तरक्रिया गरिएको छ । अमेरिकी सरकारको सहयोग र निल हिरा समाजको समन्वयमा बिहीबार (आज) पोखरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको परिभाषा, बुझाई, समस्या तथा समाधानका विषयमा समुदायले कास्की प्रहरीसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भुुमिका श्रेष्ठले लैङ्गिक पहिचान, यौन अभिमुखिकरण र यौन विशेषता सम्वन्धि बुझाईको विषयमा आफ्नो प्रस्तुती राखेकी थिइन् । समुदायको उचित परिभाषाका साथमा समाजमा भोग्नु परेको समस्याका विषयमा उनले अन्तरक्रियामा जानकारी गराइन् । त्यस्तै निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समुदायले समाज तथा परिवारबाट भोग्नु परेको विभेदका विषयमा प्रस्ट्याएकी थिइन् । परिवारहुँदै समाजबाट विभेद भोग्नुपरेका कारण समुदायका व्यक्तिले प्रगती गर्न नसकेको उनको भनाई थियो । साथै पहिचानसहितको नागरिकता प्राप्त गर्न निकै कठिन रहेको उनले बताइन् । त्यसैगरि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक श्रवण कुमार बिकले प्रहरीको भूमिका विषयमा प्रस्तुती राखेका थिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विषयमा प्रहरी निकै संवेदनशिल रहेको र सबैलाई समान नजरले हेर्ने गरिएको उनले बताए । कोही कसैले हिंसा भोग्न नहुने र स्वतन्त्ररुपमा सम्मानजनक तरिकाले बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न प्रहरी कटीवद्ध रहेको उनको भनाई थियो । यता राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका अधिकृत मोहन काफ्लेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा राज्य तथा सरोकारवालाहरुले गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए । यस समुदायका विषयमा समाजमा अझै सचेतना फैलाउनु पर्ने उनको भनाई थियो । नौलो बिहानी पोखराकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले समुदायको बुझाईमा सुधार आएको बताइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुले आफुले भोगेका समस्या अन्तरक्रियामा सुनाएका थिए । अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीहरु, मानवअधिकारकर्मी, सञ्चारकर्मी र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।
पोखरा: पोखरामा जलवायु परिवर्तनबारे ३ दिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को जलवायु परिवर्तन साझेदारी कार्यक्रम अन्तरगत आदिवासी जनजाति समुदायलाई लक्षित गर्दै राष्ट्रिय कार्यशाला आज सम्पन्न भएको हो । कार्यक्रमको समापन सत्रमा बोल्दै महासंघका संघीय महासचिव दिवश किरात राईले तीन दिनसम्म चलेको कार्यशाला अत्यन्तै महत्वपूर्ण भएको धारणा राखे । उनले पछिल्लो समय जलवायु परिवर्तनको विषयबारे विश्वव्यापी चर्चा भइरहेको बताउदै नेपालमा सबैभन्दा बढी आदिवासी जनजाति चनाखो हुनुुपर्ने उल्लेख गरे । ‘क्लाइमेट चेन्जको विषय अहिले हट केकको रुपमा विश्वभर चर्चा र चिन्ता व्यक्त भइरहेको छ, महासचिव राईले भने, ‘यसको प्रभावबाट नेपालका आदिवासी जनजाति प्रत्यक्ष ग्रसित हुने देखिएको छ । त्यसैले सचेत हुन आवश्यक छ ।’ हरितगृह ग्यासको वृद्धि भएसँगै जलवायु परिवर्तन भएको बताउदै विश्वभर चिन्ताको विषय बनेको बताए । ‘यसको प्रभाव नेपालमा मात्रै होइन । अन्य मुलुकका पनि प्रभाव पर्ने भएकाले यसको न्यूनीकरण र अनुकुलनका लागि विभिन्न संस्थाले कार्यक्रम गर्दै आएको छ ।’ उनले जलवायु परिवर्तनको असर नेपालमा आदिवासी जनजातिलाई प्रत्यक्ष प्रभाव पर्ने बताउदै सचेत हुन आवश्यक रहेको बताए । महासचिव राईले जलवायु परिवर्तनका कारण संस्कृतिको विनाश हुने बताउदै नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुको पहिचान मेटिन सक्ने धारणा राखेका थिए । ३ दिनसम्म सञ्चालन भएको कार्यशालामा जलवायु परिवर्तन रोक्नका लागि विभिन्न संघ संस्थाहरुको योजना र प्रयासबारे चर्चा गरिएको थियो । उक्त कार्यशालामा जलवायु परिवर्तनको संकेत, कारण तथा असरहरु, यसको न्यूनीकरण र अनुकुलनहरुबारे छलफल भएको थियो । तालिममा नेफिन जलवायु पविर्तन साझदाी कार्यक्रमका निर्देशक टुंग राई, धनमान गुरुङ, छिरिङ वाङ्मो गुरुङ, रेड कार्यान्वयन केन्द्रका नवराज पुडासैनी, एइएसीका मुक्ति विक्रम क्षेत्री र आइयुसिएनका युवराज गुरागाँई लगायतले प्रशिक्षण दिएका थिए । गत १० गतेदेखि १२ गतेसम्म लेकसाइडस्थित होटल ल्याण्डमार्कमा सञ्चालित राष्ट्रिय कार्यशालामा देशभरबाट २० जना पुरुष र २० जना महिला गरी कुल ४० आदिवासी जनजातिको सहभागिता रहेको थियो ।
पोखरा: आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने तय भएको दशौं राष्ट्रिय खेलकुदलगायत, राष्ट्रपति कप र बागमतीमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेशमा बजेट अभाव भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराले बिहीबार खेलकुदसँग सम्बन्धित सरोकारवालासँगको छलफल कार्यक्रमको आयोजना गरेर यो विषयमा जानकारी गराएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार यसको तयारी गर्न हुने दोस्रो गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरीय छनोट तथा प्रदेश स्तरीय प्रतियोगिता र बन्द प्रशिक्षणका लागि ५ करोड रुपैयाँ २४ लाख ८७ हजार रुपैयाँ बजेट आवश्यक हुनेमा जम्मा २ करोड रुपैयाँ मात्र बजेट छुट्याइएपछि समस्या भएको हो । नपुग रहेको ३ करोड २४ लाग ८७ हजार रुपैयाँको व्यवस्था नहुने हो भने समस्या आउने देखिएको उनले खुलाए । छलफलबाट कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रदेश खेलकुद विकास बोर्ड वागमती प्रदेशद्धारा फागुन २४ देखि ३० गते सम्म १४ वटा खेलहरुको अन्तर प्रदेश खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको टीम सहभागीका लागि खेलाडी छनौट प्रतियोगिता, विशेष प्रशिक्षण तथा सहभागिताको लागि आवश्यक बजेट प्रयाप्त नभएकोले थप बजेट निकासाको लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँग अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश खेलकुद परिषदका सल्लाहकार, विभिन्न राजनितिक दलका खेलकुद भातृ संघका अध्यक्षहरु, खेल संघका प्रतिनिधि, खेलसँग सम्बन्धीत विभिन्न क्लब तथा संस्थाका प्रतिनिधि र सञ्चारकर्मी समेतको उपस्थितीमा भएको छलफलका सहभागीले नवौं संस्करणको खेलकुद प्रतियोगितामा कुल ३२ वटा स्वर्ण सहित प्रदेशतर्फ सर्वोत्कृष्ट भएर गण्डकीले बनाएको रेकर्डलाई कायम गर्दै त्यो भन्दा सुधारिएको खेलको माध्यमबाट पदक संख्या बढाउन आजैदेखि मिहिन ढंगले लाग्नुपर्ने बताए । यसैगरी छलफलबाट प्रदेश खेलकुद परिषद गण्डकीबाट जिल्ला खेलकुद विकास समितिहरुको आम्दानी व्यवस्थापन र प्रदेश तथा जिल्ला खेलकुद संघ संस्थाहरुको नविकरण आवद्धताको व्यवस्था रेफ्री, जज, खेल सञ्चालक प्राविधिक तथा प्रशिक्षकहरुको सूचिकरण सम्बन्धी प्रयास सम्बन्धी जानकारी प्राप्त गरी उक्त कार्यमा सबै सरोकारवालाबाट सहयोगको लागि अनुरोध गर्ने र जिल्ला खेलकुद विकास समितिहरुले पालिका तहसम्म समन्वयको भूमिका वृद्धि गर्न जिल्ला खेलकुद विकास समितिहरुलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । अहिले गण्डकी प्रदेशमा ५ सय ९४ जना रेफ्री, जज, खेल सञ्चालक प्राविधिक तथा प्रशिक्षकहरु सूचिकृत भएका छन् । यसरी सूचिकृत हुनेमा कास्कीका मात्र २ सय ७४ जना छन् । प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति पनि हेरफेर भएको छ । यसअगाडि यहीं पौष २६ देखि २८ गतेसम्म आयोजना गर्नेगरी मिति तय भएको थियो । मनाङ, मुस्ताङ, नवलपुर, गोरखा, तनहुँ, स्याङजा र कास्की जिल्लामा मात्र पूर्व निर्धारित पौष १५ गते भित्र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न हुन देखिएको छ । बाँकी जिल्लामा उक्त मिति पछि मात्र जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुने भएको देखिएकोले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फागुन १६ देखि १८ गतेस्म्मको मितिलाई मध्यनजर गरेर फागुन १२ गते भित्र उक्त प्रतियोगिता सम्पन्न हुने व्यवस्था मिलाउने निर्णय भएको छ । पोखरा रंगशालाको व्यवस्थापन आम्दानी, खर्च, मर्मतसम्भार र सुरक्षाको लागि प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा गठन भएको सहजीकरण तथा व्यवस्थापन समिति गठन भएको छ । सो कार्यको लागि कार्यविधि–मापदण्ड निर्माण भई लागू नहुँदासम्म उक्त समितिबाट भएको निर्णय बमोजिम रंगशालाको आम्दानी र खर्चलाई कार्यान्वयन गर्ने समेत छलफलबाट निर्णय गरिएको छ । छलफलमा बोल्दै राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङले प्रदेश खेलकुद परिषदले गर्ने गतिविधिमा आफ्नो साथ सर्मथन रहने बताए । यहाँ रहेका पूर्वाधारको बारेमा जानकारी संकलन गर्न आफ्नो संयोजकत्वमा समिति बनेको २१ दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने भएकोले काम थालनी गरिसकेको उनले खुलाए । सबै मिलेर पोखरा रंगशालाको संरक्षण गर्नुपर्ने उनको भनाई थियो । आफ्नो कार्यकालमा भए गरेका गतिविधि तथा अब गर्नुपर्ने केही कार्यक्रमको बारेमा परिषदका संस्थापक सदस्य–सचिव तेजबहादुर गुरुङले भनाई राखेका थिए । पछिल्लो समयमा खेलसंघ नविकरण हुने क्रम समेत घटेको पाइएका कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर वानीयाँले बताए । उनका अनुसार कास्की जिल्लामा १ सय १७ खेलकुद संघ रहेकोमा अहिले २७ ले मात्र नविकरण गरेका छन् । छलफलमा सहभागी सबैले गण्डकी प्रदेशको खेल क्षेत्रको विकासको लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । पोखरा रंगशालाको व्यवस्थापनको लागि केही काम सुरु भएकोमा उनीहरुले त्यसको प्रशंसा गर्दै गरिएका निर्णय अनुसारको काम प्रयोगात्मक रुपमा गर्नूपर्नेमा जोड थिए ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा गुरुङ जातिको मौलिक चाड ल्होछार पर्वको अवसरमा आयोजित ल्होछार पुजा आजबाट सुरु भएको छ । २६ औं ल्होछार पर्वको अवसरमा ङग्युर दोर्जे साङाग छयोएलिङ्ग गुम्बामा ल्होछार पर्वको अवसरमा पुजासँगै सांस्कृतिक कार्यक्रम सुरु भएको हो । ल्होछार पुजा पुष १५ गतेसम्म सञ्चालन हुनेछ । २६ औं ल्होछार पर्वको अवसरमा विरालो वर्गको विदाई र गिद्ध वर्गको आमगनको अवसरमा घान्द्रुकमा पुस ११ देखि १५ गतेसम्म ल्होछार पर्व मनाउन लागेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए । बुधबार धर्म गुरुहरुको आगमनसहित जगे (किलखोर) स्थापना गरिएको छ । यस्तै आजदेखि १४ गतेसम्म ह्युमपत पुस्तक पाठन वाचनसँगै बिहान र साँझ साङ र डोल्मा पुजा हुने गुरुङले बताए । यस्तै १४ गते तोनाम घोसुस (ग्रह) शान्ति पुजा, १५ गते पितृ पुजा, बिहान १०देखि १२ बजेसम्म कङग्युर (त्रिपिटक) ह्युम पुस्तकसहित गाउँ परिक्रमा र १ बजेदेखि गुरु ढकर रिन्पोछे बाहुल्यबाट आयु छेवाङ (अभिषेक) दिने कार्यक्रम रहेको छ । २६ औं ल्होछार पर्वको अवसरमा विरालो वर्गको विदाई र गिद्ध वर्गको आमगनको अवसरमा घान्द्रुक गुम्बा परिसरमा ल्होछारको सुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गुरुङले बताए ।
पोखरा: अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेस्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान)को पोखराको लेकसाइडमा २५औँ संस्करणको सडक महोत्सव आज देखि सुरु भएको छ । आज देखि सुरु भएको सडक महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुने रेवान पोखराले जनाएको छ । महोत्सवमा मुख्य आर्कषकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता आयोजना गरेको रेवानका प्रथम उपाध्यक्ष एवम महोत्सवका संयोजक विश्वराज पौडेलले बताए । पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरुको विषयमा टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको पौडेलले बताए । महोत्सवमा बालबालिकाहरुका लागि चित्रकला र साहसिक खेलकुदहरुको वृत्त चित्र प्रर्दशनका साथै पर्यटकीय गन्तव्यको प्रवद्र्धन महोत्सव क्षेत्रभित्र विभिन्न तरिकाका सजावट गरिएको छ । करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सडक महोत्सवमा ३० प्रकारका स्थानीय खाना रहने छन् ।
पोखरा: पोखरामा आफ्नै श्रीमतीलाई तोरी बारीमा लगी घाटी थिचेर हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले प्रकाउ गरेको छ । बिहीबार दिउँसो श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई प्रकाउ गरेको हो । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम स्थायी घर भई पोखरा–२९ नौबिसे चोक बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्तीले आफ्नै २९ वर्षीय श्रीमती रेखा घर्तिलाई घर नजिकको तोरी बारीमा लगेर हत्या गरेको आरोपमा प्रकाउ गरेको हो । प्रहरीले नौबिसे चोक बस्दै आएका रत्नबहादुर विश्वराज पौडेलको तोरी बारीको कान्लामा श्रीमतीको घाटी थिचेर हत्या गरेको आरोपमा प्रकाउ गरेको हो । श्रीमतीको हत्या गरेको आरोपमा प्रकाउ परेका रत्नबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

