तनहुँ: मुग्लिनबाट पोखरा आउँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२, कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइते हुनेमा तनहुँ भानु नगरपालिका–१, साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका–३, चाम्बासका २१ वर्षीया सविता सुनार, १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका–२ का ३० वर्षीय प्रदीप गोदार छन् । त्यस्तै, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९, हिलेखर्कका ४० वर्षीय सुरन राई, व्यास नगरपालिका–२ का ३४ वर्षीया पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका–१ का ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका–२ का २१ वर्षीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् । साथै भानु नगरपालिका–१, साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीया नविन थापा, १२ वर्षीया दुर्गा थापा, सात वर्षीया नविना थापा, व्यास नगरपालिका–२, डाङग्रे खोल्सीका ४० वर्षीया दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका–९, हिलेखर्कका ५० वर्षीया सुमित्रा राई, व्यास नगरपालिका–११ मूलपानीका ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णिमा भट्टराई छन् । घाइतेमध्ये १० जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
म्याग्दी: म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५औँ शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले सयौं वर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिनुभयो । “यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्”, उहाँले भन्नुभयो । बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बङ्गुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बङ्गुर बिक्री र काटमार पनि गर्न पाइँदैन । तत्कालीन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थालेको छ । गाजने गाउँमा कुखुरा, बङ्गुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन् । जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजापताकाको सट्टामा पहेँलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेँलो र सेतो धजा चढाउने गरिन्छ । तत्कालीन राजा दिलीपबमले १५औँ शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो । पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसँगसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको हो ।
गण्डकी: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याउनुभयो । “कतिपय दलहरुले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो रु”, महामन्त्री शर्माले भन्नुभयो,“२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरुबीच छलफल गरौँ ।” उहाँले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाउनुभयो । महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताउनुभयो । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उहाँले बताउनुभयो । “देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्वपूर्ण कुरा होइन”, उहाँले भन्नुभयो, “अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।” उहाँले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
काठमाडौं: नेपाल सुपर लिग एनएसएल फुटबलमा वीरगञ्ज युनाइटेडलाई हराउँदै पोखरा थन्डर्स दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा पोखराले दशरथ रंगशालामा वीरगञ्ज युनाइटेलाई २(१ ले हरायो । पोखरालाई जिताउन जोए आइडु र स्टेफेन कोजो एनोरले गोल गरे । जोए आइडुले खेलको छैटौं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् । सुरुमा आयुष घलालने बक्सको दायाँ साइडबाट स्टेफेन एनोरलाई पास दिएका थिए । एनोरले मोसेस ग्याबाहलाई पास दिए । त्यसपछि मोसेसलले हान्ने खोजेको बल वीरगंजका खेलाडीले थोरै क्लियर गरे पनि बक्स बाहिर आइडुले भेटे र उनले कन्ट्रोल गर्दै सिधा प्रहार गरेको बलले जाली चुम्यो । वीरगञ्जका किपर दीप कार्कीले रोक्ने अवसर पाएनन् । त्यसको ५ मिनेट पछि नै वीरगञ्जले बराबरी गोल फर्कायो । सुशील लामाको प्रहार गरेको फ्रिकिकमा अकिन्स के बाफोउरले हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । तर पहिलो हाफको अन्त्यतिर स्टेफेन कोजो एनोरको क्रसमा मोसेस ग्याबाहले हेड गोल गर्दै पोखरालाई २(१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा दुवै टिमले गोल गर्न केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् र खेल पोखराले जित्यो । यो जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको धनगढी समान अंक भए पनि पोखरा गोल अन्तरमा पछि छ । वीरगञ्ज भने ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै यथावत छ ।
झापा: डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको मृत्यु भइसकेको छ । मेचीनगर नपा–४ का हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेलका अनुसार गत कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए । हात्तीको बथानमा छावा पनि छन् । ती हात्ती हालसम्म नफर्किएको उनले बताए । हिउँद याममा बर्सेनि यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन् । लुइँटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए । डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले हाल ती हात्ती मोरङको कानेपोखरी जंगलमा आश्रय लिएर बसेको बताए । उनका अनुसार चार छावासहित आएका हात्तीलाई सो क्षेत्र आसपासमा दिनहुँ देखिने गरेका छन् । मोरङको कानेपोखरी जङ्गल आसपासका बस्ती र खेतमा मकैलगायत हात्तीलाई मन पर्ने खाद्यान्न प्रशस्त पाइने गरेका कारण तिनीहरु भारततिर नफर्किएको अनुमान गरिएको छ । सडक छेउछाउ र बजारमा पोलेर बिक्रीका लागि सो क्षेत्रमा बेमौसमी मकैको खेती हुने गरेको छ । बेलबारी नगरपालिका–८ र १० का स्थानीय किसानले ठूलो क्षेत्रफलमा मकै खेती लगाएका छन् । ‘मकै हात्तीले असाध्यै मन पराउँछ’, डिभिजन वन कार्यालय मोरङका प्रमुख घिमिरेले भने, ‘मोरङको अन्य पालिकाभन्दा यहाँ मकै खेती प्रशस्त हुने गरेको छ, हात्तीले प्रशस्त आहार पाएका कारण यतै बसेका हुन् कि भन्ने अनुमान छ ।’ उनले बिहान–बेलुका हिँड्डुल गर्दा र जङ्गल प्रवेशमा सतर्कता अपनाउन तीन जिल्लाकै बासिन्दालाई आग्रह गरेका छन् । वन कार्यालय, प्रहरी र स्थानीय बासिन्दाले हात्ती धपाउन प्रयास गरे पनि सम्भव भएको छैन । गत वर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ हात्तीमध्ये १२ वटा मात्रै भारत फर्किएको हात्तीको गणना र अध्ययनसमेत गर्दै आएका अभियानकर्मी लुइँटेलले बताए । भारत नफर्किएका २० हात्ती झापा र मोरङकै जङ्गलमा छारिएर रहेको उनको भनाइ छ । उनले हाल तीन जिल्लामा ६० देखि ६५ हात्ती जङ्गलभित्र रहेको दाबी गरे ।
दाङ: दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई गएराति घोराही–१० झारबैरा चोकमा ठक्कर दिँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते भएका प्युठानको झिमरुक गाउँपालिका–४ बाङ्गे बस्ने १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–लुङका १८ वर्षका सागर केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए । टिपर चालक रोल्पा रुन्टीगढी–९ का २६ वर्षका ईश्वर बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् । अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यस विशेषमा ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख गरें । प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “ सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै बताएका हुन् । पौडेलले सरलिकृत अनुदान रकम बितरण प्रक्रिया सर्बसाधारण कृषकको पहुचमा नपुगेसम्म कुनै पनि कृषि उत्पादनमा देश आत्मनिर्भर हुन नसक्ने र समृद्धिका नारा निरर्थक हुने जिकिर गरे । उनले श्रम र बजारलाई जोड्ने नीति निर्माण गरि कृषि उत्पादनको बजारीकरण गर्न तदारुकता राज्यले देखाउनु पर्ने बताए । कर्जा प्रक्रिया सरल बनाउन रास्ट्र बैंकले समेत विशेष नीति बनाउनु पर्ने उनको जोड थियो ।
काठमाडौं: सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको मुद्दा दोहोर्याएर हेर्न अनुमति प्रदान गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मुद्दा दाहोर्याएर हेर्न अनुमति दिएको हो । सर्वोच्चले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानमा रहेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी उच्च अदालत पोखराले गत वर्षको फागुन ११ मा फैसला गरेको भन्दै पलबारेको उक्त फैसला दोहोर्याउन निस्सा प्रदान गरेको हो । उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो। शाहले बलात्कार गरेको भन्दै एक नाबालिग पीडितले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।
पोखरा: सेती नदीमा माछा मार्न गएका एक युवकको मृत्यु भएको छ । शुक्रबार माछा मार्न सेती नदीमा गएका सुनिल श्रेष्ठको भीरमाथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा तुलसीघाटको सेती नदीमा (हिजो शुक्रबार) सेती नदीमा माछा मार्न गएका श्रेष्ठलाई भीरमाथिबाट खसेको ढुंगा लागेर गम्भिर घाइते भएको थिए । उनको उपचारको क्रममा चित्किसकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यसैबीच, पोखरा रामघाटमा भेटिएको शवको पहिचान भएको छ । बिहीबार रामघाटमा भेटिएको शव पोखरा–३ उमेश गुरुङको भएको उनका दाजु दिनेशले सनाशत गरेको कास्की प्रहरीले जनाएको छ ।

