ढोरपाटन: बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ । बजारबाट निस्कने फोहर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशक अघि बुर्तिबाङ बजार सानो थियो । फोहर पनि थोरै निस्कन्थ्यो । सबै फोहर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए । र त्यही जलाउने गरेका थिए । तर अहिले बजारबाट निस्कने फोहर व्यवस्थापनमा समस्या भएको छ । नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ । बजारको फोहर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ । खोलाले बगाएर फोहर पुनः बजारसम्म पुर्याउँछ । फोहरले तमानखोला प्रदूषित बनेको छ । तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ । देशकै नमूना सहर भनिए पनि फोहर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ । आर्थिक वर्ष २०६७÷६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेका छैनन् । खोलामा बग्ने फोहरका कारण जलचर जीवलाई असर पुगेको छ । फोहरकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरु बताउँछन् । हाल फोहर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको छ । बुर्तिबाङ बजारको फोहर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ । कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फालिँदै आइएको छ । खोला छेउमा फोहर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए । बजारबाटै गाडीले फोहर सडक भरी खसाल्दै ल्याउने र जथाभावीरुपमा फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ छ । वर्षौंदेखि बजारको फोहर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउँछन् । हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ छ । बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ । जनघनत्व बढ्दै गएको छ । तर बजारको फोहर व्यवस्थापन भने हुन सकेको छैन । सबै फोहर खोलाले बगाएर जताततै पुर्याउँछ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको बताए । आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ । जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहर व्यवस्थान हुने उपप्रमुख कायतको विश्वास छ
प्युठान: प्युठानको ऐरावती गाउँपालिका–२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका (३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार नाच्दै गाउँदै हिँडिरहेका जन्तीलाई जीपले ठक्कर दिएको थियो। एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले ठक्कर दिदा ५ जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल बिजुवारमा सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको हो । प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।
भूकम्प प्रभावित जिल्ला जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० जनाभन्दा धेरै भूकम्पपीडितलाई झाडापखाला देखिएको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुईरतीन दिनयता पखालाले सताइरहेको छ । गाउँमा झाडापखाला देखिएपछि बालबालिका र वृद्धावृद्धा अलि धेरै जोखिममा छन् । उपचारका लागि सम्बन्धित निकायमा खबर गर्दा पनि अहिलेसम्म कोही नपुगेका र बिरामी त्रिपालमै रहेका वडासदस्य विकले बताउनुभयो । घुयलनेटाका साथै डौरीकाँडा, भुनलगायत गाउँमा पनि पखालाका बिरामी देखा परेका छन् । एक सय जनाभन्दा धेरै घरधुरी रहेका ती गाउँमा धेरैजसोलाई चिसोले सताएको छ। आफू दुई दिनदेखि पखालाले थला परेको र छ वर्षको छोरालाई पनि पखाला लागेको स्थानीय धर्मशीला विकले बताउनुभयो । नजिकमा स्वास्थ्य संस्था नहुँदा बिरामीको उपचारमा समस्या परेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार हिजो दिउँसो २ बजेपछि घुयलनेटा गाउँमा झाडापखाला तथा वान्ताले धेरैलाई बिरामी पारेको जानकारी आएको र अलि विकट ठाउँ हुनाले तत्काल जान नसकेको बताउनुभएको छ । आज औषधि र स्वास्थ्यकर्मीसहितको टोली प्रभावित क्षेत्रमा पुग्ने पनि डा. भारतीले बताउनुभयो ।
तुलसीपुरमा बालक दुई दिनदेखि सम्पर्कविहीन छन्। तुलसीपुर उपमहानगरपालिका– ५ विशालनगरका १३ वर्षीय युवराज वली दुई दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा उजुरी दिएका छन्। उनी त्रिदेव बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत थिए। हिजो बिहान साढे ५ बजे ट्युसन पढ्न हिँडेका युवराज अझै घर नफर्किएपछि परिवारले प्रहरीमा उजुरी दिएको उनकी आमा सिता वलीले बताइन्। ‘हिजो बिहानै टिउसन पढ्न भनेर दिदी भाइ संगै घर बाट निस्किएका थिए,’ सीताले भनिन् ‘ तर, दिदी मात्रै स्कुल गइछन् र ऊ स्कूल नै गएनछ ।’ छोरा सम्पर्कविहीन भएपछि बुवा मोहवीर वली विहीबार बिहानै खोजीका लागि भनेर काठमाडौंतर्फ लागेको सीताले बताइन्। वली परिवारले बुधबार नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा छोरा हराएको भन्दै खोजी गरिदिन आग्रहका साथ निवेदन दिएको छ । इप्रकाका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिउँसो अभिभावक आएर छोरा खोजी गरिदिन भन्दै निवेदन दिएको बताए।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम, ऐन, कानुन बनाउन आवश्यक रहेको बताउनुभएको छ । हस्तकला दिवसको अवसरमा आयोजित २० औं हस्तकला व्यापार मेला तथा १८ औं हस्तकला प्रतियोगिताको बिहीबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सृजना गर्न आवश्यक रहेको औंल्याउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचिन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् सम्वर्द्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवम् गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने मलाई लागेको छ ।’’ राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू हाम्रा विभिन्न जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने भएकाले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रतिलिपि अधिकार सुरक्षित गर्दै नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्न आवश्यक छ ।’’ प्रत्यक्ष–अप्रत्यक्ष गरी झण्डै ११ लाख व्यक्तिलाई रोजगारी दिएको यो क्षेत्र अर्थव्यवस्थाको पहिचानमा आधारित उद्योग व्यवस्था भएको हुँदा यसको उत्पादनले मुलुकको पहिचान विश्वरभर फैलाउन योगदान पुर्याउने पनि राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, ‘‘हाल करिब ८५ देशमा हस्तकला उद्योग व्यवसायबाट उत्पादित वस्तुहरूको निकासी भएको छ भने कतिपय देशहरूमा निकासी गर्न बाँकी छ । थोरै पूँजी, स–सानो प्रविधि तथा स्थानीय कच्चा पर्दाथ, श्रम र सीपमा आधारित हस्तकला उद्योग व्यवसाय कृषि पछि देशमा गाँउ, बस्ती, दुर्गम क्षेत्रमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र हो । सहजै स्थानीयस्रतमा गर्न सक्ने व्यवसाय पनि यो हो । यति महत्त्वपूर्ण व्यवसाय भएर पनि युवा पुस्तामा हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरण हुन सकिरहेको छैन ।’’ उहाँले हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरणका लागि आवश्यक पर्ने कार्यक्रम, तालिमहरू सञ्चालनार्थ संघ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘मौलिक कला र संस्कृति झल्कने स्थानीय हस्तकलाका सामग्रीले हाम्रो पर्यटन व्यवसायमा पनि योगदान पुर्याएको छ । हस्तकला सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको हुनाले पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरूबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी छ ।’’ स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु उत्पादन गर्ने भएकाले यो व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्दछ । राष्ट्रपति पौडेलले विश्ववजार प्रतिस्पर्धी बन्दै गइरहेको बेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा क्रियाशील उत्पादन, बजारको माग, वस्तुको डिजाईन र विकास गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजीङ्ग, व्यापारमेला र प्रर्दशनीमा सहभागी, प्रचार, प्रवर्द्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो मेलाले उद्यमी, कलाकार, कालीगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र नयाँ नयाँ निर्यात योग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्न मद्दत पुर्याउने मैले विश्वास लिएको छु ।’’ सो क्रममा राष्ट्रपति पौडेलले प्रर्दशनीमा राखिएका विभिन्न स्टलहरूको अबलोकन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले उतकृष्ट हस्तकला निर्यात कर्तालाई सम्मान गर्नुभएको थियो ।
नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभा चुनावको मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको छ । हिजो बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफू निकट नेतालाई मात्रै टिकट दिएको भन्दै यसपटक मापदण्डलाई ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको हो । यसअघिको चुनावमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै भेलाले अबको राष्ट्रिय सभा चुनावमा मापदण्ड र न्यायोचित टिकट वितरणका लागि दबाब दिने निर्णयसमेत गरेको छ । भेलामा महामन्त्री गगन थापाले नेता कोइरालालाई संसदीय दलको नेताका लागि अघि बढ्न प्रस्ताव पनि गर्नुभएको छ । भेलामा भोलि बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक र पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तय भएको महासमिति बैठकबारे पनि कुरा भएको थियो । कोइराला पक्षका नेताहरुले महासमिति बैठक तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएका छन् ।
पोखरा: पोखरा महानगर आर्थिक महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग एवम् शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ को आयोजना आजदेखि ३९० घण्टाको सैलुन(कपाल काट्ने) तालिम आजदेखि शुरु भएको छ । तालिममा महानगरपालिकाका बिभिन्न वडाका दुईजना महिला सहित २० जना युवाको सहभागिता रहेको छ । स्वदेशमै पेशा व्यवसाय गर्ने र सिपका आधारमा विदेश जाने सहभागिको सामुहिक भनाई रहेको छ । पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले तालिमको उद्घाटन गर्दै सिकेको ज्ञान र सिपको भरपुर उपयोग गरि व्यवसायि एवम् स्वरोजगार बन्न सहभागिलाई आग्रह गर्नुभयो । स्वदेश होस वा विदेशमा दक्ष जनशक्ति वेरोजगार वस्नु नपर्ने हुँदा महानगरले सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताउँदै उहाँले तालिममा प्रत्येक घण्टाको महत्व हुने हँुदा त्यसमा सहभागि र प्रशिक्षक सचेत रहनु पर्ने आवश्यकता औल्याउनुभयो । पोखरा महानगरपालिका आर्थिक महाशाखा व्यापार प्रवद्र्धन केन्द्र प्रमुख नवराज अधिकारीले सिप प्रमाणपत्रका आधारमा महानगरले दुई देखि पाँच लाखसम्म विनाधितो ऋण प्रदान गर्दै आएको जानकारी दिनुभयो । २०७९ पुस महिनादेखि कार्यविधि निर्माण गरेर शुरु गरेको व्यवसायिक एवम् रोजगार कार्यक्रम अन्तर्गत महानगरले ३०७ जनालाई तालिम प्रदान गरि विनाधितो साता करोड ५० लाख लागनी गरेको उहाँको भनाई छ । उहाँका अनुसार तालिम प्राप्त युवाहरुले विशेष गरि कफिसप, कृषि, टिसुपेपर, आइटी ,नौमती बाजा, बालबालिका सहजकर्ता, सैलुन सञ्चालन, मोटरसाईकल, ट्याक्टर मर्मत लगायत बिभिन्न १३ विधामा तालीम सञ्चालन गरि ऋण लगानी गर्ने योजना रहेको छ । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार कृषकका लागि सरकारी स्तरबाट अनुदानमा वितरण गरिएका हाते ट्याक्टर मर्मत एवम् सञ्चालन गरेर प्रवद्र्धन केन्द्रबाट उत्पादिन जनशक्ति स्वरोजगार भई कृषि पेशामा लाग्न समेत प्रेरित गर्दै आएको बताउनुभयो । राइट फर चिल्ड्रेन कार्यक्रम संयोजक पशुपति चौधरीले तालिमको महत्व माथि प्रकाश पार्नुभएको कार्यक्रममा व्यूटी सैलुनका प्रोपाईटर विजेन क्षेत्री र शिशिर व्यूटीपार्लर एण्ड ट्रेडिङ सेन्टर पोखरा १७ का शिशिर गोदार कपाल काट्ने, फेवास, थ्रेडिङ, फिसिल लगायत विभिन्न विधामा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको महानगर प्रवद्र्धन केन्द्रका सिर्जना वस्ताकोटीले जानकारी दिनुभयो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको बताएका छन् । संघ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सररकाले बनाएका कानुन कार्यन्वयनमा पनि समस्या भएको उनले बताए । ‘कानुन निर्माणमा माथिबाट सहजिकरण गरिदिनु पर्ने आवश्यकता छ, संघ सरकारले बनाउनुपर्ने कानुन नबनाएको कारण प्रदेश र स्थानीय सरकारले काम गर्न अफ्ठ्यारो परेको छ’ प्रदेश बिकास समस्या समाधान समितिको बुधवारको बैठकमा मुख्यमन्त्री पाण्डेले भने । निजामती सेवा ऐन, प्रहरी समायोजना ऐन, जग्गा प्राप्ती ऐन, शिक्षा ऐन आउला भन्ने आशा लागेको तर संघ सरकारबाटै यी विषय कार्यान्वयन नभएको गुनासो मुख्यमन्त्री पाण्डेको छ । ‘संघियताको नाममा प्रदेशले यो भन्दा बढी गाली खाने अवस्था अब रहँदैन, चाँहदा चाँहदै अधिकार नहुँदा, कानुन नहुँदा काम गर्न सकिएको छैन’ उनले भने । यसअघि पोखरामा भएको राष्ट्रिय समस्या समाधान समितिको बैठकमा उठेका विषय केही समाधान भएको र धेरै बाँकी रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले छ महिना भित्र कार्यान्वयन हुनुपर्ने विषय हुन्छ कि भन्ने आशा अझै रहेको बताए । संघ सरकारले कानुन निर्माण गरिदिनुपर्ने या संघियताको बारेमा पुर्नबिचार गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । संविधान अनुसार एकल र साझा अधिकारको सुचीमा लेखिएको कुरालाई कानुन बनाएर लिपिवद्ध गरि अधिकार बाँडफाँट गर्दा संघियता ‘सिस्टम’ मा जाने मुख्यमन्त्री पाण्डेको भनाई छ । संघिय सांसदहरुलेपनि प्रदेशलाई बनाईदिनुपर्ने कानुन निर्माणमा संघ सरकारलाई सहजिकरण नगरेको गुनासो उनको छ । प्रदेश बिकास समस्या समाधान समितिको बैठकमा गण्डकी प्रदेश भित्रका विषयगत मन्त्रालयहरुले भोग्नुपरेको समस्या, स्थानीय तहका गुनासो, समाधानका उपाएका बारेमा छलफल भएको थियो । नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाले यस अघिको बैठकका निर्णय कार्यान्वयनको अवस्था र मन्त्रालयगत समस्याका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
पोखरा: लामाचौरबाट उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुगेका संगम मिश्र बेपत्ता भएका छन् । आफ्नो बुवा औषधी लिन गएको समयमा तनहुँ स्थायी घर भएका संगम मिश्र बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘तनहुँ स्थायी घर भएका हाल लामाचौर बस्दै आएका मिश्र ज्वरो आएपछि उपचारका लागि मणिपाल अस्पताल गएका रहेछन्’, सूचना अधिकारी बिकले सुनगाभा न्यूजसँग भने, ‘अस्पतालमा उपचार गराइराखेका मिश्रका बुवा औषधी किन्न गएको समयमा अस्पतालबाट हराएका हुन् ।’ उनले इमजेन्सी वार्डमा उपचार गराइराखेका संगम आफ्नो बुवा औषधी लिन गएको समयमा अस्पतालबाट हराएको सूचना आएको बताए । मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड भेटिएको उनले बताए । ‘अस्पतालबाट हराएका मिश्रको खोजतलास गर्ने क्रममा नदीपुरतर्फ आउने पुलमा आइडीकार्ड फेला परेको छ’, उनले भने, ‘भोलि पोखरा–१६स्थित ड्याम खोलेर खोजतलास गर्छौं ।’ उनले सेतीको ड्याम खोलेर मिश्रको खोजीकार्य गर्ने भएकाले भोलि सेती नदीमा पानीको बहाव बढ्ने भएकाले नदी किनारामा नजानसमेत आग्रह गरे ।

